पुस्तक साभार शृङ्खला- ३
‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनबाट २०८० सालमा प्रकाशित सोही पुस्तकमा रहेका २२ कथामध्येबाट एउटालाई साभार गरी ‘सन्धान’ ले हरेक शुक्रबार प्रकाशन प्रसारण गर्ने गरेको छ । पुस्तकमा सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन र समेटिन नसकेका २२ जनाका जीवनभोगाइ छन् । कथाहरू ‘न्यारेटिभ थेरापी’ विधिबाट उत्खनन् गरिएका हुन् ।
न्याय संवाददाताको भूमिकामा क्रियाशील द्वन्द्वपीडित महिलाको सहयोगमा सम्बन्धित महिलाहरूबाट आ–आफैँ लेखिएका समेत हुन् । यसैले पुस्तकमा समेटिएका कथालाई महिला इतिहासमा विशिष्ट सामग्रीका रूपमा लिन सकिन्छ । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले द स्टोरी किचेनको पहलमा तयार गरिएका हुन् । कतिपय व्यक्तिका हकमा कथाकारले वास्तविक नाम, थर र ठेगाना नै खुलाएको भए पनि सम्बन्धित व्यक्तिको गोपनीयतालाई सम्मान गर्दै कथामा व्यक्तिबोधक बोलचालको नाता, पद, संस्था जस्ता नाम, ठामलाई मात्र उल्लेख गरिएको छ । २०८० जेठ २५ गतेदेखि ‘कर्णाली गाथा’ का कथालाई हरेक शुक्रबार प्रकाशन प्रसारण गर्ने तय भएअनुसार आजको शृङ्खलामा प्रस्तुत छ, जुम्लाकी कृष्णमाया रावतको ‘श्रीमान्सँग नबोलेको त्यो दिन’ शीर्षकको स्वकथन ।
जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ८ उमखालामा मेरो जन्म भएको हो । म चार वर्षकी हुँदा बुवा बित्नुभएछ । आमाले हामी चार भाइबहिनीलाई दुःख गरेर हुर्काउनुभयो । त्यति बेला छोरीलाई पढाउने चलन नभएको हुनाले दिदीहरू कसैले पनि पढ्नुभएको छैन ।
मेरो कान्छो दाइ १६ वर्षको उमेरमा नौ कक्षामा पढ्दै हुनुहुन्थ्यो । एक दिन एक्कासि पेट दुख्यो भनेर अस्पताल लैजाँदालैजाँदै बाटोमा नै बित्नुभयो । कान्छो दाइ बितेको पिरले आमा धेरै दुःखी हुनुभयो ।
आमाले कान्छो दाइको झोला बोकाएर ‘आजबाट तैँ मेरो छोरा होस्, मेरो सपना पूरा गर’ भनेर मलाई स्कुल पठाउनुभयो । म ठुली भइसकेपछि स्कुल गएकोले १६ वर्षको उमेरमा म कक्षा ७ मा पढ्थेँ ।
कक्षा ७ मा पढ्दापढ्दै मैले तातोपानी गाउँपालिका वडा नम्बर ५ श्रीनगर घर भएको केटासँग आफैँ मन पराएर भागी विवाह गरेँ । म घरकी जेठी बुहारी थिएँ । ससुरा जुम्लाकोट स्वास्थ्य चौकीमा अ.हे.व.को जागिरमा हुनुहुन्थ्यो ।
सशस्त्र द्वन्द्वको बेला थियो । माओवादीले मेरो ससुरासँग चन्दा माग्ने र मेरो श्रीमान्लाई पार्टीमा पठाइदिन दबाब दिन्थे । एक दिन उनीहरूले मेरो श्रीमान्लाई पार्टीमा लगे । हामी उहाँलाई लिन गएम् । ‘अब म आइसकेँ, फेरि फर्केर जाँदा झन् दुःख दिन्छन् । मेरो कारणले गर्दा सबैलाई दुःख नदिम्’ भनेर उहाँ फर्किन मान्नु भएन ।
मेरो श्रीमान् माओवादी पार्टीमा गए पनि एकछिन फुर्सद भयो भने राति वा दिनमा घरमा भेट्न आइहाल्नुहुन्थ्यो । ‘नजानुहोस्’ भनेर म रुँदा उहाँ पनि मसँगै धेरै रुनुहुन्थ्यो । ‘मैले तिमीलाई सानै उमेरमा बिहे गरेर पाप गरेको छु । घरमा सँगै बस्न दिएनन् । बाध्यताले जानुपरेको हो, केही दुःख नमान्नू’ भनेर मलाई सम्झाउनुहुन्थ्यो । ‘तिम्रो माइतमा दाइभाइ छैनन् भनेर चित्त नदुखाउनू, म छँदैछु दाइभाइ जे भए पनि सबैथोक तिम्रो लागि म हुँ’ भनेर भन्नुहुन्थ्यो, रुनुहुन्थ्यो ।
आएर ‘म त बाँच्दिनँ होला, म मरे पनि तिम्रो पेटमा मेरो एउटा चिनो छ । यसैलाई हेरेर बस्नू’ भन्नुहुन्थ्यो । म रुँदै यस्तो कुरा नगर्नू, हजुरलाई केही हुँदैन भन्थेँ ।
म र मेरो सासू २०६० साल कार्तिक १२ गते मेरो माइतीघरमा धान काट्न गएका थियौँ । त्यस दिन मलाई मेरी आमाले ‘तिमी दुइजिउकी मान्छे, धान काट्न गाह्रो होला, घरमै नास्ता बनाएर बस’ भन्नुभएको थियो ।
धान काट्ने ठाउँमा पाल चाहिएकोले मलाई मामाको घरमा लिन पठाउनुभयो । मामाको घरमा जाँदाखेरि बाटोमा श्रीमान्सँग भेट भयो । मलाई ‘एकछिन यता आऊ त’ भनेर बोलाउनुभयो । गाउँका ससुरा पर्ने त्यही बाटोमा हुनुहुन्थ्यो ।
त्यति बेलाको चलन अहिलेको जस्तो थिएन । सासू, ससुरा, गाउँघर, छिमेकीको अगाडि श्रीमान्सँग बोल्न लाज मान्ने चलन थियो । त्यसैले श्रीमान्ले बोलाउँदाबोलाउँदै पनि मैले नसुने जस्तै गरी हिँडेँ । उहाँले बोलाउँदा पनि लाजले नबोलेको क्षण नै मेरो श्रीमान्सँगको अन्तिम भेट हुन पुग्यो ।
आर्मीको सिभिल गस्तीले मेरो श्रीमान् सहित तीन जनालाई बाटोबाटै समातेर लगेछ र केही पर पुर्याएर गोली हानेर मारेछ । सासू खेतमा काम गरिरहनुभएको थियो । गाउँका मान्छे आएर ससुरा बिरामी हुनुहुन्छ भन्ने बहाना बनाई उहाँलाई खेतबाट नै घरमा लगेछन् ।
मलाई भने मेरो माइतीघरका सबैले सम्झाउन थाले । धेरै हल्लाखल्ला भयो । मेरो होस हरायो । बेला बेलामा बेहोसीबाट बाहिर निस्कँदा भर्खर बाटोमा भेट भएको थियो, यो कुरा साँचो हैन होला जस्तो लाग्थ्यो । त्यस्तै गर्दागर्दै रात पर्याे । पोइलीघरको परिवारबाट कोही पनि लिन आएनन् । म आफैँले ‘म घर जान्छु’ भनेर गएँ । मलाई छोड्न आमा पनि जानुभयो ।
माइत हुँदासम्म श्रीमान्काे मृत्यु भएको कुरामा विश्वासै लागेको थिएन । घरमा आएपछि सबै घरपरिवार रुँदै कराउँदै यताउता ढलेको देख्दा सत्य रहेछ भन्ने थाहा भयो ।
म फेरि त्यहीँ बेहोस भएछु । पछि होसमा आउँदा गाउँका छिमेकी कोही पनि थिएनन् । हामी सबै परिवार एक्लै एक्लै कोठामा बसेर रुँदै थियौँ । आर्मीले दुःख दिन्छन् भनेर चाहेर पनि कोही घरमा आउन सकेनन् । कसैको साथ सहयोग नपाउँदा झनै पीडा भयो ।
मलाई आमाले छोराको सपना पूरा गर्न भनेर पढाउनुभयो । सानैमा अन्जानमा बिहे भयो । न त आमाको सपना पूरा भयो, न त त्यति धेरै माया गर्ने जीवनसाथी रह्यो । बिहे भएको नौ महिनामा श्रीमान् बित्नुभयो । म जता गयो त्यहीँ टोलाएर बस्ने भएको थिएँ । बच्चा पेटमा थियो । रुँदारुँदै दुब्लाएर म ४० किलोकी भएँ ।
श्रीमान् बितेको तीन महिनामा छोरा जन्मियो । छोरा जन्मेपछि सासू ससुरा खुसी हुनुभयो । ‘मेरो जेठो छोरा बिते पनि यो कान्छो छोरा भयाे’ भन्नुहुन्थ्यो । जिन्दगी सकियो भनेर हरेस खाएकी मान्छे म पनि छोरा जन्मेपछि खुसी भएँ । छोरा ठुलो भएर स्कुल जान थालेपछि स्कुलमा साथीहरूले ‘तिम्रो बुवा खोइ ?’ भनेर सोध्ने रहेछन् ।
छोराले मलाई घरमा आएर ‘मेरो बुवा खोइ ?’ भनेर सोध्थ्यो । म केही नबोली रुन्थेँ मात्रै । उसले झन् ’किन रुनु भयो ? बुवा कहाँ जानुभएको छ ?’ भनेर सोध्थ्यो । मैले सुर्खेत जानुभएको छ, पछि आउनुहुन्छ भन्न थालेँ । ठुलो भएपछि छोराले उसको साथीहरूबाट नै यो कुरा थाहा पाएछ र सोध्न छाड्यो ।
सासू ससुरा पनि जान्नेबुझ्ने हुनुहुन्थ्यो । छोरा जन्मेको सात–आठ महिनापछि मलाई पनि फेरि स्कुलमा आठ कक्षामा भर्ना गरिदिनुभयो । ‘पछि कतै जागिर खाएर जिन्दगी चलाउन सजिलो हुन्छ, पढ्’ भन्नुभयो । घरपरिवारको साथ पाएर मैले १२ कक्षासम्म पढेँ ।
नेपाल सरकारबाट मृतकको नाममा आएको राहतले गर्दा घरमा पनि अलि फाटो आयो । मैले ’बाबुलाई पढाउनको लागि बचत गर्ने हो । अहिले त्यो पैसा घरखर्चमा नचलाउने’ भनेपछि त्यही कुरामा घरमा मनमुटाव भयो । अनि म एक्लै बस्न थालेँ । अहिले मैले दुःखसुख गरी छोरालाई काठमाडौँमा साइन्स विषय लिएर पढाइरहेको छु ।
अन्तिम चोटि भेट हुँदा मलाई श्रीमान्ले बोलाएको सधैँ याद आउँछ । म लाजले नबोलेर गएँ । अहिलेसम्म पनि गल्ती गरेँ जस्तो लाग्छ । मनमा केही कुरा थियो होला, केही भन्न मन लागेको थियो होला । त्यो दिन अन्तिम रहेछ । अहिले पछुतो लाग्छ ।
‘सधैँ माया दिने दाइभाइ श्रीमान् जे भने पनि म छु’ भनेर सम्झाउनुहुन्थ्यो । त्यही उहाँको वचन सम्झेर १७ वर्षको उमेरमा विधवा भएकी म कतै हलचल भएकी छैनँ । अहिले म ३२ वर्ष भएँ ।
पहिलाको सबै दुःख, पिर, एक्लोपन सम्झियो भने त आजको अवस्थामा आइँदैन जस्तो लाग्थ्यो । मेरो दुःख भुलाउने सबथोक मेरो छोरा हो । अहिले आमा छोरा साथी जस्तै छौँ । पहिले जे जस्तो भए पनि अहिले हामीहरूले खुसीका दिन बिताइरहेका छौँ । तर, म न्यायको पर्खाइमा छु ।
प्रकाशन मिति : २०८१ असार ७ गते, शुक्रवार
याे पनि पढ्नुहाेला