Home Stories आँट जुटाउँदै अघि बढेको जीवन

आँट जुटाउँदै अघि बढेको जीवन

136
0

पुस्तक साभार शृङ्खला- ५

‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनबाट २०८० सालमा प्रकाशित सोही पुस्तकमा रहेका २२ कथालाई ‘सन्धान’ ले साभार गरी हरेक शुक्रबार प्रकाशन प्रसारण गर्दै आएको छ । पुस्तकमा सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन र समेटिन नसकेका २२ जनाका जीवनभोगाइ छन् । कथाहरू द स्टोरी किचेनकै पहलमा ‘न्यारेटिभ थेरापी’ विधिबाट उत्खनन् गरिएका हुन् र न्याय संवाददाता समेत बनेका द्वन्द्वपीडित महिलाको सहयोगमा तयार भएका हुन् । कतिपय भुक्तभोगीले आफ्ना कथा आफैँले लेखेका पनि हुन् । यसैले पुस्तकमा समेटिएका कथालाई महिला इतिहासमा विशिष्ट सामग्रीका रूपमा लिन सकिन्छ ।

कतिपय व्यक्तिका हकमा कथाकारले वास्तविक नाम, थर नै खुलाएको भए पनि सम्बन्धित व्यक्तिको गोपनीयतालाई सम्मान गर्दै कथामा व्यक्तिबोधक बोलचालको नाता, पद, संस्था जस्ता नामलाई मात्र उल्लेख गरिएको छ । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् । २०८० जेठ २५ गते सुरु गरिएको ‘कर्णाली गाथा’ अन्तर्गत आजको शृङ्खलामा प्रस्तुत छ, जुम्लाकी शोभा डाँगीको ‘आँट जुटाउँदै अघि बढेको जीवन’ ।

मैले पढ्न पाइनँ । तर, अहिले प्रौढ शिक्षा पढेर सामान्य हिसाब गर्न, आफ्नो नाम लेख्न र सही गर्न आउँछ । १६ वर्षकै उमेरमा मेरो विवाह भएको हो । माइतीमा सुखले बसेकाले पोइलीघरमा गएपछि केही समय काम गर्न साह्रै अप्ठ्यारो भयो ।

पहिले पहिले त जेठानीले सहयोग गर्नुभयो । पछि आफैँ बानी पर्‍यो । मेरो जन्म जुम्ला जिल्लाको तातोपानी गाउँपालिकामा भएको हो । अहिले पनि म यहीँ बस्छु । मेरो चार जनाको परिवार छ । म अहिले ४६ वर्षकी भएँ ।

बिहे भएको केही समयपछि मेरो श्रीमान् व्यवसाय गर्ने भनी बजारतिर आउनुभयो । म घरतिरै बसेँ । श्रीमान्‌ले जुम्ला बजारको जिल्ला प्रहरी कार्यालयको अगाडि होटेलसँगै पसल खोल्नुभयो । पछि मलाई पनि बोलाउनुभयो । हामी दुवैले जेनतेन एउटा होटेल चलाएर बसिरहेका थियौँ ।

द्वन्द्व बिस्तारै बढ्दै थियो । माओवादीलाई खाना खुवाउने भनेर सेना प्रहरीले दुःख दिने, माओवादीले चन्दा मागेर दुःख दिने । यस्तै चल्दै थियो । २०५७ साल पुस महिना २५ गतेको कुरा हो । मेरो श्रीमान्‌लाई प्रहरीले लगेर थुनामा राख्यो । उहाँलाई सोधपुछको लागि लिएको होला, फर्किहाल्नुहुन्छ होला जस्तो लागेको थियो । तर, उहाँलाई त एक महिनासम्म त्यहीँ थुनेर राख्यो । त्यो एक महिनाभरि प्रहरीले हामीलाई होटेल पसल केही पनि चलाउन दिएन ।

आम्दानी केही नभएर मेरो एक वर्ष पनि नपुगेकी छोरीको बेहाल भयो । खानै पनि गाह्रो भयो । उनीहरूले हाम्रो दुःख देखेपछि माघ २८ गते श्रीमान्‌लाई तारिखमा छोडे । हरेक दिन एकचोटी हाजिर हुन जानुपर्थ्याे ।

जुम्लाको खलङ्गामा २०५९ साल कार्त्तिक २८ गतेको राति आक्रमण भयो । स्थिति एकदम तनावपूर्ण भएको थियो । त्यो राति हामी होटेलमा नै थियौँ । होटेलमा बस्ने ग्राहक कोही पनि थिएनन् ।

माओवादीले राति ढोका ढ्याक ढ्याक गरेर ‘ढोका खोल’ भनेपछि मेरो श्रीमान्‌ले ढोका खोल्नुभयो । माओवादीका एक ग्रुप आएर ‘होटलमा को को बसेका छन् ?’ भनेर सोधे । मेरो श्रीमान्‌ले ‘आज होटेलमा कोही छैन’ भन्नुभयो । तर, होटेलको झ्याल फोरेर प्रहरी हाम्रो होटेलको कोठामा लुकेर बसेका रहेछन् ।

हामीलाई त्यो थाहा भएन । जताततैबाट गोली पड्केको आवाज आएकाले हामीले केही थाहा पाएका थिएनौँ । श्रीमान्‌ले ‘कोठा हेरे पनि हुन्छ, ल हेरौँ’ भनेर उनीहरूसँग कोठा खोल्न जाँदा त प्रहरी लुकेर बसेको देखियो । ‘उनीहरू को हुन् ?’ भनेर माओवादीले सोधे । मेरो श्रीमान्‌लाई गाह्रो परेछ । ‘मैले चिन्दिनँ’ भनेर भन्नुभयो ।

‘प्रहरी लुकाएर चिन्दैन भन्ने ?’ भनेर माओवादीले मेरो श्रीमान्‌लाई होटेलको तेस्रो तलाबाट तल खसालिदिए । भाग्यवश, मेरो श्रीमान् बाँच्न सफल हुनुभयो । माओवादीले ती लुकेर बसेका प्रहरीलाई समातेर लगेका थिए । के गरे हामीलाई थाहा भएन । हाम्रो होटेलको सबै सामान पनि लुटेर लगे । मलाई पनि महिला माओवादीले लात्तीले हानिन् । डरले केही बोलेनौँ ।

भोलिपल्ट बल्लतल्ल ज्यान बचाउन पाइयो । चोटका कारण एक हप्तासम्म मेरो श्रीमान् सुतेकोसुत्यै हुनुभयो । अस्पतालको सेवा सबै बन्द थियो । जिल्ला जताततै ध्वस्त थियो । त्यसैले घरेलु औषधि गर्‍यौं । सबै श्रीसम्पत्ति गए पनि सिन्दुर रह्यो भनेर मैले चित्त बुझाएँ ।

हामीलाई त्यो समयमा कतै निवेदन गर्न पर्छ भन्ने पनि थाहा थिएन । मानव अधिकार आयोग, रेडक्रस र स्थानीय संस्थाले सोधपुछ र सहयोग गरेका थिए । खाद्यान्न, अन्न, भाँडाकुँडाका अलावा बि ग्रुपले बच्चाहरूलाई अलि अलि पैसा पनि दिएको थियो ।

होटेलको सामान सबै लुटएिकोले फेरि होटेल गर्ने अवस्था थिएन । गाउँको घर फर्किए पनि माओवादीले दुःख दिने डरले हामी बजारमै सानो खुद्रापसल थापेर बस्यौँ ।

गाउँमा २०६१ सालमा फेरि माओवादीले चन्दा तोकेछन् । ससुराले गाउँको हाम्रो भागको जग्गा बेचेर ३० हजार रूपैयाँ उनीहरूलाई चन्दा दिनुभएछ । पछि देशमा शान्ति आइसकेपछि हामी सबै घर फर्कियौँ ।

त्यतिखेरको चोटले गर्दा श्रीमान्‌काे ढाडमा नसा च्यापिएको छ । इन्डियामा चेक गर्दा ढाडको तल फिलामा मासु कुहिएको जस्तो देखिएको छ । श्रीमान्‌ले ऋण गरेर गाडी हाल्नुभयो । त्यही गाडीको कमाइले श्रीमान्‌काे उपचार खर्च जेनतेन धानेको छ ।

छोरी नौ कक्षामा पढ्दै गर्दा मैले दुई हजार सात सय रूपैयाँको लगानीमा प्लास्टिक किनेर ‘ग्रिनहाउस’ तरकारी खेती सुरु गरेकी थिएँ । हाम्रो जग्गा जमिन केही छैन । त्यसैले मैले तरकारी खेतीको लागि भनेर एउटा जग्गा भाडामा लिएकी छु । वर्षको १३–१४ हजार रूपैयाँ तिर्न पर्छ ।

गाउँको विद्यालयमा क्यान्टिन पनि चलाएका छौँ । पोहोर साल कृषिबाट ४० हजार रूपैयाँ अनुदान पाएको थिएँ । त्यो सबै पैसा श्रीमान्‌काे उपचारको लागि भनेर सबै उहाँकै खातामा पठाइदिएँ । मैले आफैँले मेहेनत गरेर तरकारी फलाएँ । तरकारी खेतीले छोराछोरीलाई पढ्नमा सहयोग पुगेको छ ।

अहिले छोरा भेट्नरी जेटिए र छोरी भेट्नरी डाक्टर पढ्दैछन् । छोराछोरीको पढाइ खर्च म एक्लैले बेहोर्ने गरेकी छु । छोरी छात्रवृत्तिमा बंगलादेशमा पढ्दैछिन् । छोरीलाई बाहिर पठाउनको लागि गाउँका एक जना छोरा नाता पर्नेले सहयोग गरेका हुन् । उनकै सल्लाहबाट छोरीले मेहेनत गरेर छात्रवृत्तिमा नाम निकाली । त्यसैले त्यो बाबुलाई त म भगवान् नै सम्झन्छु ।

पढाइ सकेपछि छोरीलाई डाक्टर बनाएर जुम्ला फर्काउने हो । छोरीसँग कहिलेकाहीँ भिडियो कल गर्छु, छोरीले मलाई सम्झाउँछे । ‘आमा, म तपाईंको मेहेनत खेर जान दिन्नँ । म डाक्टर बनेरै आउँछु ।

अझ पैसा भएको भए त पिएचडी पनि गर्ने मन छ तर के गर्ने आमा ? हाम्रो अवस्था कमजोर छ तर तपाईं चिन्ता नगर्नू’ भन्छे । छोरीले त्यति भनेपछि अलिकति भए पनि मलाई आँट आउँछ ।

अहिलेसम्म महँगो ठाउँमा श्रीमान्‌लाई उपचार गर्न लाने आँट गर्न सकेका छैनौँ । उपचार गर्न जाँदा पैसा पनि त्यस्तै लिएर जानुपर्छ । जिल्ला प्रशासनले २५ हजार रूपैयाँ राहत भनेर दिएको थियो ।

त्यसले म र मेरो परविारलाई के राहत हुन्थ्यो र ? नेपाल सरकारले मेरो श्रीमान्‌लाई उपचार, छोराछोरीलाई पढ्न चाहेजतिको शिक्षा, मलाई कृषिसम्बन्धी तालिम जस्ता सिपमूलक कामहरू दिएको भए त्यतिखेरको पीडालाई केही हदसम्म बिर्सन सकिन्थ्यो ।

प्रकाशन मिति : २०८१ असार २१ गते, शुक्रवार

कर्णाली गाथाका थप कथाहरू