पुस्तक साभार शृङ्खला- ६
‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनबाट २०८० सालमा प्रकाशित सोही पुस्तकमा रहेका २२ कथालाई साभार गरी ‘सन्धान’ ले २०८१ जेठ २५ गतेदेखि हरेक शुक्रबार प्रकाशन प्रसारण गर्दै आएको छ । पुस्तकमा सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन र समेटिन नसकेका २२ जनाका जीवनभोगाइ छन् । द स्टोरी किचेनको पहलमा ‘न्यारेटिभ थेरापी’ विधिबाट उत्खनन गरी तयार गरिएका कतिपय कथाहरू द्वन्द्वपीडित भइसकेपछि न्याय संवाददाता भएर आ–आफैँ लेखिएका हुन् ।
कतिपय कथाहरू न्याय संवाददाताको सहयोगमा भुक्तभोगी महिलाले आफैँ लेखेका हुन् । यसैले पुस्तकमा समेटिएका कथाहरू सशस्त्र द्वन्द्वकालीन महिला इतिहासका लागि विशिष्ट सामग्री हुन सक्छन् । कतिपय व्यक्तिका हकमा कथाकारले वास्तविक नाम र थर नै खुलाएको भए पनि सम्बन्धित व्यक्तिको गोपनीयतालाई सम्मान गर्दै कथामा व्यक्तिबोधक बोलचालको नाता, पद जस्ता नामलाई मात्र उल्लेख गरिएको छ । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् । आजको शृङ्खलामा प्रस्तुत छ, रुकुमकी खिमा डाँगीको ‘कथा एक, भोगाइ अनेक’ शीर्षकको स्वकथन ।
‘कहानी मैले सुरु गरौँ कहाँबाट बरिलै’ भन्ने गीत जस्तै मेरो जीवन छ । जीवनको कथा कहाँबाट सुरु गरौँ ! साधारण, सिधा र गरिब परिवारमा जन्म भएको मेरो बाल्यकाल सङ्घर्षपूर्ण बित्यो ।
आमाको गर्भ रहने, कोही गर्भमा नै खेर जाने, कोही जन्मिसकेपछि मर्ने गर्दा मेरो अगाडि र पछाडिका दिदीबहिनी र भाइ बाँच्दै बाँचेनन् । मेरो भाइ र म मात्र बाँच्न सक्यौँ । हरेक वर्ष बच्चा जन्मिने र खेर जाने भएकै कारण आमाको शरीर रोगी थियो । बिहान बेलुका छाक टार्नको लागि चौबिसै घण्टा काम गरी खानुपर्ने हुन्थ्यो ।
‘छोरीले पढ्न हुन्न’ भन्ने रूढिवादी मूल्य मान्यताका कारण मैले स्कुल पढ्न जान पाइनँ । मेरो उमेर बढ्दै जाने क्रममा गाउँमा प्रौढ शिक्षा खुल्यो । म हर्ष र उल्लासका साथ प्रौढ कक्षामा पढ्न गएँ । तर, त्यहाँ दुई महिना मात्र पढ्न पाएँ ।
प्रौढ कक्षामा अलिअलि अक्षर लेख्न सिकेको आधारमा घरमा स्व–अध्ययन गरेर एकैचोटि पाँच कक्षाको परीक्षा दिएँ । त्यसपछि घरको काम गरेर स्कुल पढ्न जान थालेँ ।
नेपालमा सशस्त्र द्वन्द्व सुरु भइसकेको थियो । कमरेडहरूले ‘बुर्जुवा शिक्षाको काम छैन, जनवादी शिक्षा ल्याएर देश स्वीजरल्यान्ड बनाउनुपर्छ’ भनेर प्रशिक्षण दिन्थे । म पनि प्रभावित भएर विद्यार्थी सङ्गठनको काममा लागेँ । बुवाआमा नेपाली कांग्रेस भएको कारण त्यति बेला माओवादी पार्टीमा लाग्ने कुरा घरमा स्वीकार्य थिएन । तैपनि मैले विभेदमुक्त समाज बन्छ, देश र दुनियाँको मुक्तिको लागि माओवादी आन्दोलनमा लाग्नुपर्छ भनेर आफ्नो अडान छोडिनँ । पुलिसको दमन, घरको दबाब र चिन्ताग्रस्त जीवन गुजार्दै पार्टीको काम पनि गर्दै दुई वर्ष पढेँ । सात कक्षासम्म पढेपछि स्कुल अध्ययन यत्तिकैमा सीमित रह्यो ।
म २०५७ सालमा भूमिगत भएर पार्टीमा लागेँ । पार्टीभित्रै कमरेडहरूको प्रेम प्रस्ताव आउँथ्यो । जनवादी बिहेको प्रशिक्षणबाट म प्रभावित पनि थिएँ । पार्टीभित्रकै जनमुक्ति सेनाका इमानदार र बफादार नेता कमान्डर डाक्टरसँग मेरो जनवादी बिहे भयो । बिहे गरेको एक वर्षमा रुकुमका गाउँ र बस्तीमा देश र जनताको मुक्तिको काममा हिँड्दाहिँड्दै छोरीको जन्म भयो ।
नाबालक छोरीलाई चुबाङको हिउँ र अर्माको पानीले दिनुसम्म दुःख दियो । छोरीलाई खाना र हेरचाह राम्रो नपुगेर होला, कुपोषण नै भइसकेको थियो । छोरी एक वर्ष भएपछि (उसलाई) उसको मामाघरको जिम्मामा छोडेर म पार्टीकै काममा लागिरहेँ ।
भेटघाटका लागि २०६२ साल माघको पहिलो हप्ता घरमा आएको थिएँ । त्यही बेलामा गाउँमा सेनाको गस्ती आएको रहेछ । ‘वनको बाघले भन्दा मनको बाघले खायो’ भने जस्तै सेनाले मलाई नदेख्दै म डरले भाग्ने क्रममा हामफाल्दा मेरो पाठेघर खस्यो । लामो समयसम्म रिङ प्रेसरी राखेँ । पछि शान्ति सम्झौता भएपछि ब्यारेकमा बसेको बेलामा अप्रेसन गरेँ । यस्ता दुःखका कुरा त खपी नसक्नु छन् । अनगिन्ती छन् ।
सुरुमा मन मिलेर बिहे गरेको श्रीमान्सँग पनि बिस्तारै कुरा मिल्न छोड्यो । २०६५ सालमा सम्बन्धविच्छेद भयो । २०६८ मा जनमुक्ति सेनाबाट स्वेच्छिक अवकाशमा निस्किएर म मेरो माइतीघरमा आएँ । म रुकुमको पार्टी जिल्ला समितिमा जोडिएर काम गर्दै थिएँ ।
मैले मेरो कुरा कसैलाई भन्ने मौका पाएको थिइनँ । कल्याणी दिदीले आएर मेरो भोगाइको बारेमा सोध्दा मलाई भगवान नै भेटे जस्तो भएको थियो । किनकि, मैले यसरी मेरो बारेमा मन खोलेर कुरा गर्ने अवसर कहिल्यै पनि पाएको थिइनँ ।
पछि २०७२ सालमा हामी (म लगायत अरू दिदीबहिनी) द स्टोरी किचेनको कथाशाला कार्यक्रममा नेपालगन्ज गयौँ । त्यति बेलासम्म पनि आर्मी पुलिसका परिवार र माओवादीको परिवार एक अर्कासँग कुरा गर्न सक्ने अवस्था थिएन । तर, त्यो कथाशालामा हामी दुवै पक्षका पीडित महिलाहरू एकै ठाउँमा थियौँ ।
सबैले एक अर्काको दुःख पीडा सुन्यौँ । जुन पक्ष भए पनि हामी महिला त पीडित रहेछौँ, मिलेर हाम्रो आवाज उठाउनुपर्ने रहेछ भन्ने भावना आयो । दुवै पक्षका पीडितहरू साथी साथी बन्यौँ । यसपछि मलाई अब म कमजोर छैन र म मात्र पीडित रहेनछु भन्ने भाव आएको थियो ।
म महिला मानव अधिकार रक्षक सञ्जाल रुकुममा पनि जोडिएँ । त्यति बेला मैले किरानापसल पनि सुरु गरेकी थिएँ । गाउँ विकास समिति (गा.वि.स.) मा महिलाको अन्तरपार्टी सञ्जालको अध्यक्ष, विद्यालय व्यवस्थापन समितिको सदस्य, महिला सशक्तीकरण बहुउद्देश्यीय सहकारी संस्थाको सल्लाहकार, तरकारी तथा फलफूल बिउ उत्पादन सहकारीको केन्द्रीय समिति जस्ता धेरै सञ्जालमा म आबद्ध थिएँ ।
म केही काम नगरी बस्न नसक्ने स्वभावको थिएँ । त्यति नै बेला अखिल नेपाल महिला संघ क्रान्तिकारी रुकुम जिल्ला सचिवालय समितिमा रहेर काम पनि गरिरहेको थिएँ ।
घरमै स्व–अध्ययन गरेर १२ कक्षासम्म पास गरेँ । हिजो बुर्जुवा शिक्षाको काम छैन भनेर माओवादीमा प्रवेश गरेकी थिएँ तर मलाई त्यही बुर्जुवा शिक्षाको सर्टिफिकेट नभएसम्म काम नपाउने अवस्था भयो ।
हामी आमाबुवाका दुई सन्तान मात्र थियौँ । भाइले काठमाडौँमा सर्वे इन्जिनियर पढिरहेको थियो । घरमा आर्थिक अभाव थियो । त्यसपछि मैले रुकुमेली समाज विकास केन्द्रमा पोषण सहजकर्ताको रूपमा तीन वर्ष काम गरेँ ।
सम्बन्धविच्छेद गरेर म माइतमा नै बसिरहेको थिएँ । माइतमा बस्दा सामाजिक लाञ्छनाहरू धेरै तरिकाले भोगियो । जीवन धेरै लामो छ । समाजको यस्तै दृष्टिकोण र लाञ्छना भोगेर बस्न सकिँदैन भनेर मेरो आमाबुवाले मेरो दोस्रो बिहे गरिदिनुभयो । मेरो श्रीमान् शिक्षक हुनुहुन्छ ।
जनयुद्धको बेलामा विद्यार्थी सङ्गठनमा काम गरेका कारण २०५७ सालमा श्रीमान्ले पनि नौ महिना जेल जीवन बिताउनुभएको थियो । जेलभित्रको यातनाको कारण अहिले उहाँलाई धेरै स्वास्थ्य समस्या छ ।
देशमा गणतन्त्र आयो । माओवादी पार्टी पनि सरकारमा पुग्यो । ‘हाम्रो सपनाहरू अब साकार हुन्छन्’ भन्ने लागेको थियो । माओवादी पार्टीको ‘महिला नै पहिला’ भन्ने नारालाई गाउँपालिका, वडासम्म महिलाहरू अध्यक्ष हुनुपर्छ भनेर आवाज घन्काइयो ।
२०७९ सालको स्थानीय निर्वाचनमा मैले पनि लामो समय माओवादीमा काम गरेको कारण बाँफिकोट गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेद्वारी दाबी गरेँ । तर, पार्टीभित्र पनि कामको मूल्याङ्कन भएन ।
हिजो आफ्नो ज्यानको पर्वाह नगरी ट्रिगर चलाउने, बारूद बम बनाउने यी हातले के एउटा वडा पालिका चलाउन नसक्ने थिए होला र ? हिजो आफू परिवार नभनी पार्टीमा लागेको योगदानको कुनै मूल्याङ्कन आफ्नै पार्टीले नगर्दा चित्त पनि दुख्ने रहेछ ।
त्यसपश्चात् मैले पार्टी त्याग गरी नेकपा एमालेको तर्फबाट बाँफिकोट गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दिएँ । चुनाव जित्न सकिनँ । उम्मेदवारी दर्ता गराएकै कारण बाइक दुर्घटना गराउने, मार्ने जस्ता धम्की पनि (मैले) सहनुपर्यो । राजनीतिमा स्थायी शत्रु पनि हुँदैन, स्थायी मित्र पनि हुँदैन भन्ने सुनेको थिएँ । तर, मलाई त्यति बेला त्यस्तो लागेन ।
आज पनि कति दिदीबहिनीहरू शरीरमा बमको छर्रा बोकेर बाँचिरहेका छन् । जीविकोपार्जन सहज छैन । गिट्टी कुटेर जीवन गुजारेका छन् । यो अवस्था देख्दा सारै मन दुख्छ । सहयोग गर्न मन लाग्छ तर आफ्नै पनि अवस्था त्यस्तै छ । समयसँग बढिरहेको महँगी, गाँस, बास, कपास, स्वास्थ्य, शिक्षाको अभाव छ । छिटोभन्दा छिटो गाँस, बास, कपास, स्वास्थ्य, शिक्षाको व्यवस्था हुनुपर्ने कुराको सुनुवाइ होस् !
द्वन्द्वको समयमा अनायासै पीडित बनाइएका उनीहरू र उनका परिवारका आँखाको आँसु कहिले सुक्ला त ? आन्तरिक पीडाले शरीर थला परेको छ ।
आज शान्ति सम्झौता भएको र हामीले बन्दुक बिसाएको १७ वर्ष पूरा भइसक्दा कति मन्त्रीको घर फेरिए, जीवनस्तर बदलियो तर सशस्त्र द्वन्द्वका घाइते र आफ्नो ज्यान फालेर लडाइँ लडेकाहरूको जीवनस्तर कहिले फेरिन्छ त ?
प्रकाशन मिति : २०८१ असार २८ गते, शुक्रवार
कर्णाली गाथाका थप कथाहरू
- पचास रुपैयाँले मोडिएको जीवन
- मेरो सङ्घर्ष परिवारदेखि देशसम्म
- श्रीमान्सँग नबोलेको त्यो दिन
- एउटा प्रश्न
- आँट जुटाउँदै अघि बढेको जीवन