Home Stories नखुलिसकेको जीवनको कहानी

नखुलिसकेको जीवनको कहानी

143
0

पुस्तक साभार शृङ्खला–१०

‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनबाट २०८० सालमा प्रकाशित सोही पुस्तकमा रहेका २२ कथामध्येबाट एउटालाई साभार गरी ‘सन्धान’ ले २०८१ जेठ २५ गतेदेखि हरेक शुक्रबार प्रकाशन प्रसारण गर्दै आएको छ । पुस्तकमा सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन र समेटिन नसकेका २२ जनाका जीवनभोगाइ छन् ।

कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले द स्टोरी किचेनको पहलमा न्यारेटिभ थेरापी’ विधिबाट उत्खनन गरी तयार गरिएका हुन् । यसमा न्याय संवाददाता बनेका द्वन्द्वपीडित महिलाका र तिनको सहयोगमा अरू भुक्तभोगी महिलाले आ–आफैँ लेखेका कथा पनि छन् । यी कथालाई महिला इतिहासमा विशिष्ट सामग्रीका रूपमा लिन सकिन्छ । कतिपय कथाकार र व्यक्तिका हकमा द स्टोरी किचेनलाई वास्तविक नाम, थर र ठेगाना बताइएको भए पनि सम्बन्धित व्यक्तिको सुरक्षा संवेदनशीलता र गोपनीयतालाई सम्मान गरिएको छ । यसैले कतिपय ठाउँमा व्यक्तिबोधक बोलचालको नाता, पद, संस्था जस्ता नाम, ठामलाई मात्र उल्लेख गरिएको हो । आजको शृङ्खलामा प्रस्तुत छ, आफूमाथि भएको घटनाको न्यायका लागि सङ्घर्षरत किशोरी/महिला, जसलाई पुस्तकमा ‘साहसी १८’ भनी कोडनाम दिइएको छ, उहाँको ‘नखुलिसकेको जीवनको कहानी’ । :

मेरो जन्म २०३० सालमा भएको हो । मेरो बुवा र मेरो उमेर ६० वर्षको फरक छ । म सात वर्षको हुँदा मेरी दिदी बित्नुभयो । दिदीकै पिरले दुई वर्षपछि आमा पनि बित्नुभयो । आमा बित्दा बुवा पनि निकै बुढो भइसक्नुभएको थियो । आमा बितेपछि मैले निकै दुःख पाएको महसुस गर्न थालेँ ।

आमा नहुँदा र बुवा बुढो भएको कारण मेरो जिम्मेवारी दाइ भाउजूमाथि आयो । म घरको सबै काम सकेर पढ्न जान्थेँ । मेरो सबैभन्दा ठुलो इच्छा नै पढ्ने र शिक्षक बन्ने थियो । अरू चिटिक्क परेर जागिर गर्न हिँडेको देखेर मलाई पनि जागिर खान मन लाग्थ्यो । तर, काम धेरै गर्नुपर्ने भएको हुनाले म पढाइमा कमजोर भएँ । त्यति बेला एसएलसी पास गरेपछि नै जागिर खान पाइन्थ्यो । त्यसैले एसएलसी जसरी पनि पास गर्छु भनेर मैले पढ्न छाडिनँ ।

म १० कक्षामा पढ्दै गर्दा दाइ भाउजूले मेरो बिहेको निम्ति केटा देखाउन सुरु गरिसक्नुभएको थियो । मलाई भने पढ्न मन थियो । मैले धेरै पटक नाइँ भनेँ । बुवालाई पनि म बिहे गर्दिनँ भनेँ । तर, बुढो बुवाले ‘दाजु भाउजूले भनेको मान, तिम्रो बिहे गरेको देखेँ भने म सजिलै मर्न सक्छु’ भन्नुभयो । मलाई केटा मन परेको थिएन तर पनि दाइ भाउजूले फकाइफुल्याई बिहे गरिदिनुभयो । जागिर खाएपछि मात्र बिहे गर्ने भन्ने मेरो इच्छा अधुरो रह्यो ।

बिहेपछि म टेस्टमा पास भएको खबर पाएँ । मलाई एसएलसी पनि दिन मन लाग्यो । मैले घरमा कुरा राखेँ । घरमा ‘ठिकै छ, जाँच देऊ’ भन्नुभयो । एसएलसीको जाँच दिएँ तर म फेल भएँ । मैले हिम्मत हारिनँ । अर्को अर्को पटक पनि जाँच दिइ नै रहेँ । ट्युसन पढ्न नपाएको र स्कुल पनि जान नपाएको कारण म तीन चोटिसम्म फेल भएँ । त्यसै समयमा मेरो पहिलो सन्तानको जन्म भयो । बच्चा जन्मिए पनि मैले जाँच दिन छोडिनँ । म फेल भएपछि घरमा सबैले ‘अब नपढ्, बच्चा हेरेर घरमा बस्’ भन्नुभयो । त्यसपछि मैले पढाइको सपना छाडेर घरव्यवहार धान्नतिर लागें ।

श्रीमान् जागिरको सिलसिलामा बाहिर हुनुहुन्थ्यो । कहिलेकाहीँ घरमा आउँदा सासूले कुरा लगाएको कारण धेरैजसो झगडा परिरहन्थ्यो । एक पटक भने हाम्रो ठुलै झगडा पर्यो । त्यो झगडा भएपछि म माइती गएर बसेँ । यसपालि म घर जाँदिनँ भन्दा दाइले ‘ठिकै छ, यही घरमा बस, मन लागे जानू नत्र एउटी बहिनी म पालिहाल्छु’ भन्नुभयो । त्यसैकारण म दाइ भाउजूसँगै बस्न थालेँ ।

त्यति बेला नेपालमा द्वन्द्व चर्किरहेको थियो । माओवादीहरू आएर मलाई कार्यक्रममा जान भन्थे तर म जाँदैनथेँ । २०५८ साल असोजको कुरा हो । म नुहाउन र कपडा धुन घर नजिकैको खोलामा गएकी थिएँ । एक्कासि १०–१५ जना माओवादी आएर ‘हिँड्, हाम्रो कार्यक्रममा जानुपर्छ’ भन्न थाले । म स्कुल पढ्दादेखि नै माओवादीले आफ्नो कार्यक्रममा जान र पार्टीमा लाग्न दबाब दिइरहन्थे तर मैले मानेको थिइनँ । त्यति बेला पनि ‘म किन जाने ? जान्नँ’ भनेर कराएँ । उनीहरूले जबरजस्ती मलाई लान खोजे । म भाग्न खोज्दा उनीहरूले मलाई च्यापचुप समातेर जबरजस्ती गर्न लागे । कुटपिट गरे । उनीहरूले खोलामा पछारे र मलाई बलात्कार गरे । दुई–तीन जनासम्मले त्यस्तो व्यवहार गर्दा मलाई होस नै थियो । पछि म बेहोस भएछु । उनीहरूले मलाई बलात्कार गरेर खोलाको नजिकै फालेका रहेछन् । त्यसरी फालेको केहीबेरमा मलाई एकछिन होस आएको थियो तर पछि दुखाइले फेरि बेहोस भएछु ।

म साँझसम्म घर नजाँदा दाइ, भाउजू र बुवा मलाई खोज्दै खोलासम्म पुग्नुभएछ । मलाई भेट्टाएपछि नजिकैको मेडिकलमा लानुभएछ । होस आउँदा मेरो कपडा पूरै च्यात्तिएको थियो । ठाउँ ठाउँमा नीलडाम थिए र पेट दुखिरहेको थियो । मलाई घटना हुनुभन्दा अगाडि उनीहरूले ‘कार्यक्रममा हिँड् नत्र बलात्कार गरिदिन्छु’ भनेको याद आउन थाल्यो । मैले माइतमा सबै घटना भनेँ तर घरमा भने केही थाहा दिइनँ । माइत नजिकैको मेडिकलमा एक महिना औषधि गर्दा पनि मेरो तल्लो पेट दुख्न र सेतो पानी बग्न कम भएन । त्यसैले दाइ भाउजूले बजारको ठुलो अस्पतालमा ल्याएर उपचार गराउनुभयो । त्यसपछि बलात्कारको कारण मेरो पाठेघरमा घाउ भएको कुरा थाहा भयो । तीन महिनासम्म माइतमै बसेर औषधि उपचार गरेँ ।

दाइले ‘एउटी बहिनीलाई म पालिहाल्छु’ भन्नुहुन्थ्यो तर पनि, त्यो घटनापछि मैले घर जाने निर्णय गरेँ । लामो समयपछि म आफैँ घर गएँ । तर, घरमा किन आजसम्म नआएको भनेर कसैले सोधेनन् । त्यो घटनापछि म झनै काम गर्न नसक्ने भएको थिएँ । मेरो घटनाको बारेमा परिवारले थाहा पाउने हुन् कि भन्ने मनमा डर थियो । घरका सबैलाई म ‘लोटेर (लडेर ) चोट लागेको छ काम गर्न नै सक्दिनँ’ भनेर झुट बोल्थेँ । औषधि खाएर पनि मैले घरको सबै काम गर्थें । पछि पारिवारिक समस्या झन् बढ्यो । जीवनमा धेरै नै दुःख भोगेँ ।

दुःख मात्र सम्झने हो भने त मान्छे बाँच्नै सक्दैन । त्यसैले म पुरानो पीडा भुल्नका लागि कहिले टिभी हेर्छु, कहिले नाचगान हेर्न जान्छु । कहिलेकाहीँ छिमेकीको घर गएर मन भुलाउँछु । अहिले म आत्मनिर्भर भएकी छु । दुध, तरकारी बेच्छु । आफ्नै कमाइ गर्छु । बेला बेलामा श्रीमान्‌लाई पनि बचेको पैसा दिन्छु । त्यो घटनाका कारण अहिले पनि बेला बेला हातखुट्टा दुख्छ, टाउको दुख्छ, पाठेघर पनि दुख्छ । सधैँ औषधि खाइरहनुपर्छ । मेरो औषधि उपचारका लागि अहिलेसम्म एकल महिला–डब्लुएचआर, स्टोरी किचेन र नागरिक आवाजले सहयोग गरेका छन् । त्यसले गर्दा केही राहत मिलेको छ ।

म द्वन्द्वपीडित भएर पनि द्वन्द्वपीडितको सूचीमा परेकी छैनँ । सरकारले दिएको राहत मैले पाएको छैनँ । मेरो जस्तो बलात्कारमा पारिएका पीडितले सरकारबाट राहत पाउने व्यवस्था छैन । आफ्नो घटनाका बारेमा खुलेर आउने वातावरण पनि छैन । द्वन्द्वमा हामी जस्तो घटना भोगेका महिलालाई खुलेर बाहिर आउने वातावरण राज्यले कहिले बनाइदिन्छ ?

प्रकाशन मिति : २०८१ साउन २५ गते, शुक्रवार

कर्णाली गाथाका थप कथाहरू