Home Stories द्वन्द्वमा आमाको जीवन

द्वन्द्वमा आमाको जीवन

111
0

पुस्तक साभार शृङ्खला –१४

‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा प्रकाशित सो पुस्तकमा २२ जनाको जीवनभोगाइका कथा छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् । सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन र समेटिन नसकेका व्यक्तिका जीवनभोगाइलाई ‘न्यारेटिभ थेरापी’ विधिबाट उत्खनन गरिएको थियो । पछि न्याय संवाददाता बनेका द्वन्द्वपीडित महिला र उनीहरूको सहयोगमा अरू भुक्तभोगी महिलाले आफैँ कथाकार बनेर लेखेका यी भोगाइलाई महिला इतिहासमा विशिष्ट सामग्रीका रूपमा लिन सकिन्छ ।

पुस्तकमा कतिपय व्यक्तिका हकमा कथाकारले वास्तविक नाम र थर नै खुलाएको भए पनि सम्बन्धित व्यक्तिको गोपनीयतालाई सम्मान गर्दै कथामा व्यक्तिबोधक बोलचालको नाता, पद जस्ता नामलाई मात्र उल्लेख गरिएको छ । ‘सन्धान’ ले २०८१ जेठ २५ गतेदेखि ‘कर्णाली गाथा’ का कथालाई हरेक शुक्रबार प्रकाशन प्रसारण गर्दै आएको यहाँलाई थाहै छ । यसै क्रममा आजको शृङ्खलामा प्रस्तुत छ, कर्णालीकै कृष्ना शर्माको भोगाइमा ‘द्वन्द्वमा आमाको जीवन’ ।

म एउटा ब्राह्मण परिवारकी छोरी हुँ । मेरो जन्म २०२० साल माघमा भएको हो । मेरो बुवा जजमानको काम गर्नुहुन्थ्यो । आमाले घरको सम्पूर्ण काम गर्नुपर्थ्याे । त्यसमाथि वर्षैपिच्छे बच्चा पनि जन्माउनुपर्थ्याे । त्यसैले मैले तीन वर्षको हुँदादेखि नै घरधन्दाको काममा आमालाई सघाउँथेँ । मैले भाइबहिनीको धरालो हुने (हेरचाह गर्ने), गाईभैँसी–बाख्राको गुवाला जाने, घाँस काट्ने, घट्ट पिस्ने, भान्साको सबै काम गर्थें । बुवाआमाले हामी छोरीले पकाएको भात खानुहुन्नथ्यो । त्यसैले मैले खाना पकाउन चाहिँ परेन । यस्तै काममा व्यस्त हुनुपरेको कारण मैले पढ्न पाइनँ । तर, मेरा अरू भाइबैनीले चाहिँ पढेका छन् ।

मेरो १६ वर्षमा मागी विवाह भएको हो । सामाजिक परम्परा अनुसार पञ्चेबाजा सहित ५०–६० जना जन्ती सहित मलाई मङ्गलवारका दिन घर भित्र्याइएको हो । मेरा तीन जना छोरा छन् । छोराहरू आ–आफ्नो काममा छन् । श्रीमान् राजनीति गर्नुहुन्थ्यो र नेकपा माओवादीमा आबद्ध हुनुहुन्थ्यो ।

श्रीमान् २०५२ सालमा सशस्त्र ‘जनयुद्ध’ सुरु भएपछि राजनीतिको कामले धेरैजसो घरबाहिर नै हुनुभयो । तीनभाइ छोराहरूसँग पुलिसको निगरानीमा बस्दाको मेरो जीवन साह्रै कहालीलाग्दो छ । हजार पटक पुलिस आएर ‘तेरो श्रीमान्‌लाई कहाँ पठाएकी छस् ? भन्ने भए भन् नभन्ने भए तेरा तीन वटै छोरालाई मारिदिन्छौँ’ भनी रातदिन दिएको यातना म कहिल्यै पनि बिर्सन सक्दिनँ । त्यो कुरा अहिले सम्झँदा आङ फुलिन्छ । जिउ मरेर आउँछ । मेरो श्रीमान्, छोरा, जेठाजुहरू केन्द्र, प्रदेश, स्थानीय तहका महत्त्वपूर्ण जिम्मेवारीमा बसे पनि यो विषयमा बोल्लान् जस्तो मलाई लाग्दैन । एक दिन बोहरा गाउँबाट आएको आर्मीले हाम्रो घर घेरा हाले । घरभित्र पसेर मेरो माइलो र कान्छो छोरालाई लिएर गए । त्यतिखेर मेरो माइलो छोरा १६ वर्ष र कान्छो छोरा १४ वर्षको थियो । जेठो छोरा १८ वर्षको थियो तर ऊ शारीरिक अपाङ्गता भएका कारणले उनीहरूले लिएर गएनन् । छोराहरूलाई मारिदिन्छन् भन्ने मानेर म पनि रुँदै उनीहरूको पछि पछि गएँ । तर मेरो रुवाइको त उनीहरूलाई के वास्ता थियो र ! ठाडै ‘भोलि क्याम्पमा आइज’ भनेपछि साँझ घर फर्कें । त्यही आर्मी क्याम्पतिर हेरेर रात बिताएँ ।

बिहानै उठेर आर्मी क्याम्प गएँ । ‘यी मेरा छोरा नाबालक छन् यिनी माओवादी हैनन् सर, यिनीहरूलाई छोडिदिनू’ भनेर हजार बिन्ती गरेपछि एउटालाई दया लागेछ । छोरालाई लिने भए स्कुलको प्रधानाध्यापकलाई बोलाएर ल्याउन भने । त्यसपछि म त्यो स्कुलका प्रधानाध्यापकलाई त्यो कुरा भन्न गएँ । मैले हजार बिन्ती गर्दा पनि उहाँले जान मान्नु भएन । फर्केर फेरि आर्मी क्याम्प गएँ । ‘सर त व्यस्त छु भन्नुहुन्छ’ भनेँ तर पनि छोडेन । म फेरि एक्लै घर फर्कें । झ्यालबाट क्याम्पतिर हेरेरै मैले त्यो रात पनि बिताएँ ।

छोराहरू लगेको छ दिन भइसकेको थियो । स्कुलका सरलाई फेरि भन्नुपर्यो भनेर म उहाँकै घरमा गएर घर फर्कंदै थिएँ । त्यो दिन आर्मीले मेरा छोराहरूलाई छोडिदिएछ । म घर पुग्दा उनीहरू नुहाउन लागेका रहेछन् । देख्नेबित्तिकै म भक्कानिएर रुन थालेँ । उनीहरू पनि रुन थाले ।

अर्कोपटक एक दिन राति २०५६ सालतिर पुस महिना जस्तो लाग्छ । मेरो एक जना छिमेकी र मेरो दुई वटै घर पुलिसले घेरा हाल्यो । केही घरभित्र पसे, केही बाहिर बसे । घरभित्र भएको धान, गहुँ, मकै, कोदो, चामल सबै सँगै मिसाएर लथालिङ्ग बनाइदिए । मलाई कुट्नसम्म कुटेर प्रहरी कार्यालयमा हिरासतमा राखे । पुस महिनामा हिरासतको बसाइ र त्यहाँ पाएको यातनाको म कुनै बयान नै गर्न सक्दिनँ । पानीमा सिस्नु चोपल्दै चुट्थे । त्यसका कारण मेरो जिउ तीन दिनमा सुन्निएर म उठ्न बस्न नसक्ने भएकी थिएँ । तीन दिनपछि मलाई कारागार चलान गर्यो ।

कारागारमा थुप्रै माओवादी कार्यकर्ता रहेछन् । उनीहरूले मलाई चिन्थे । कारागारमा पर्खालबाहिर महिलाहरूलाई र अर्कोतिर पुरूषहरूलाई राखेका थिए । उनीहरूसँग गाईको घिउ रहेछ । मेरो जिउ सुन्निएको देखेर त्यही घिउ दिन्थे । एक जना दुलीकी साथी पनि थिई । उसले मलाई त्यही घिउले मालिस गर्दिन्थी । केही दिनमा शरीर ठिक हुँदै गयो । २८ दिनसम्म त मेरो दुई वटा आँखा नै जोडिएनन् । रातदिन हेरेको हेरै बिताएँ । पछि घमाएपछि अलि तातो पनि भयो । अनि बल्लबल्ल अलिअलि निद्रा लाग्यो । यसरी तीन महिनासम्म कारागारमा बसेर म घर आएँ ।

म घर नहुँदा मेरा तीनभाइ छोराले कहिले खाने, कहिले भोकै बस्ने गरेर बाँचेका रहेछन् । म घर आएपछि मलाई भेट्न मेरो फुपूका छोरा आउनुभएको थियो । राति म बर्बराएको सुनेर मलाई गाह्रो भएको सबै कुरा फुपूसँग भन्नुभएछ । फुपूले मलाई गाईको दुधमा अनदीको चामल र भेली हालेर बनाएको खिर पठाइदिनुभयो । त्यो खाएपछि दुखाइ अलि कम भयो । जीवनका ती दुःखका दिन सम्झँदा त धेरै नै गाह्रो हुन्छ ।

अहिले अरू त घरमा सबै राम्रो छ । छोरा बुहारी आ–आफ्नो ठाउँमा कमाइ गर्छन् । मलाई अहिलेसम्म नराम्रो केही भन्दैनन् । बुढेसकाल लाग्यो । जिउ साह्रै दुख्छ । हातखुट्टा दुख्छन् । सिस्नाले पोलेको जस्तो हुन्छ । निद्रा कम लाग्छ । राति बर्बराउने हुन्छ ।

द्वन्द्वको समयमा हाम्रो परिवारले धेरै कुरा गुमाउनुपर्यो । मेरी प्यारी काइँली बहिनी यमुना शर्मालाई २०५६ सालमा स्कुलबाट फर्किंदै गरेको बेलामा पुलिसले खोलागाउँमा गोली हानेर मारिदियो । भाइ माओवादी पार्टीको कैलाली जिल्ला इन्चार्ज थिए । कैलालीको भिडन्तमा परेर उनको पनि मृत्यु भयो । मेरो सासूको मृत्युपछि मैले हुर्काएको मेरो देवर पनि बाग्लुङ जिल्लाको झडपमा परेर बित्नुभयो । मैले नै हुर्काएको मेरो देवरको २३ वर्षको उमेरमा भएको मृत्युको घटनाले पनि मलाई ज्यादै दुःखी बनायो ।

सहिद परिवारहरूले केही भए पनि राहत प्राप्त गरेका छन् । हामी जस्तो यातना भोगेकोले अहिलेसम्म केही राहत पाएका छैनौँ । सकेसम्म ‘हामीले भोगेको भोगाइ अरूले नभोगून्’ भन्ने मेरो कामना छ ।

प्रकाशन मिति : २०८१ भदाै १४ गते, शुक्रवार

कर्णाली गाथाका थप कथाहरू