पुस्तक साभार शृङ्खला –१९
‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा प्रकाशित सो पुस्तकमा २२ जनाको जीवनभोगाइका कथा छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् । सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन र समेटिन नसकेका व्यक्तिका जीवनभोगाइलाई ‘न्यारेटिभ थेरापी’ विधिबाट उत्खनन गरिएको थियो । पछि न्याय संवाददाता बनेका द्वन्द्वपीडित महिलाका र उनीहरूको सहयोगमा अरू भुक्तभोगी महिलाले आफैँ लेखेका यी भोगाइलाई महिला इतिहासमा विशिष्ट सामग्रीका रूपमा लिन सकिन्छ ।
पुस्तकमा कतिपय व्यक्तिका हकमा कथाकारले वास्तविक नाम र थर नै खुलाएको भए पनि सम्बन्धित व्यक्तिको गोपनीयतालाई सम्मान गर्दै कथामा व्यक्तिबोधक बोलचालको नाता, पद जस्ता नामलाई मात्र उल्लेख गरिएको छ । ‘सन्धान’ ले २०८१ जेठ २५ गतेदेखि ‘कर्णाली गाथा’ का कथालाई हरेक शुक्रबार प्रकाशन प्रसारण गर्दै आएको यहाँलाई थाहै छ । यसै क्रममा आजको शृङ्खलामा प्रस्तुत छ, जाजरकोटकी बिन्देश्वरी शाहीको जीवनभोगाइमा उब्जिएको एउटा भावना ‘त्यो समय कहिल्यै नफर्कियोस्’ ।
मेरो जन्मघर जाजरकोटको चईया टाले गाविस (हालको कुशे गाउँपालिका वडा नम्बर ६) मा पर्छ । म अहिले ५३ वर्षकी भएँ । छ भाइबहिनीमध्ये म परिवारकी माइली छोरी हुँ । हाम्रो परिवारमा खेती किसानी गरेर खान र लाउन मात्र ठिक्क हुन्थ्यो । मैले एसएलसीसम्म पास गरेकी छु । मेरो विवाह २४ वर्षको उमेरमा आफ्नै फुपूको छोरासँग भएको हो । हाम्रोमा मामाकी छोरी, फुपूको छोरासँग विवाह गर्ने चलन छ । अहिले ‘रिटायर्ड’ भइसक्नुभयो । अहिले पाँचौँ तहसम्म पुगेकी छु ।
मेरो श्रीमान् नेपाल राष्ट्र बैंकको कर्मचारी हुनुहुन्थ्यो । उहाँ जुम्ला जिल्लाको सदरमुकाम खलङ्गामा बसेर काम गर्नुहुन्थ्यो । म गाउँमै बसेर साबिकको कुडारी गाविसको हेल्थपोष्टमा जागिर गर्थें । म जनस्वास्थ्य सेवाको स्थायी जागिरे थिएँ । हाम्री छोरी पनि उहाँसँगै बजारमा बसेर पढ्थी । म छोरी र श्रीमान्लाई भेट्न बेलाबेलामा खलङ्गामा गइरहन्थे ।
माओवादीले २०५९ कार्तिक २८ मा जुम्लाको जिल्ला सदरमुकाम खलङ्गामा आक्रमण गर्यो । त्यो दिन मेरो श्रीमान्काे बैंकमा राति ड्युटि परेको थियो । कसैले फलानाको सहयोगमा बैङ्क लुट्न सफल भइयो भनेर सुराकी गरिदिएछ । भोलिपल्ट सोधपुछ गर्ने निहुँमा श्रीमान्लाई आर्मीले लग्यो ।
श्रीमान्लाई लगेपछि केही छिनमा फर्काइहाल्लान् भनेर उहाँको लागि त्यो दिन खाना पनि पकाएँ । तर उहाँ फर्किनु भएन । त्यसपछि डर लाग्न थाल्यो । भनसुनको लागि जिल्लाका ठुला मान्छे, आफन्तकोमा धाउन सुरु गरेँ । कुनै ठाउँमा ‘मेरो श्रीमान्लाई छुटाइदिनुस्’ भनेर दिनको दसचोटि पनि जान्थेँ । सबैले सान्त्वना दिनुहुन्थ्यो । वीरबहादुर शाही दाइले त्यति बेला मलाई खाना खुवाउने, सम्झाउने, बुझाउने आदि धेरै सहयोग गर्नुभयो । उहाँ अहिले यो संसारमा हुनुहुन्न । दाइलाई म अहिले पनि सम्झन्छु ।
आर्मीले मेरो श्रीमान्लाई सात दिनसम्म राख्यो । उनीहरूले आँखामा पट्टी बाँध्ने, पछाडिबाट हात बाँध्ने, पिट्ने जस्ता यातना दिन्थे रे ! सात दिनपछि उहाँलाई छोडिदियो । छोड्ने बेलामा हामी लिन गएका थियौँ । त्यहाँ एक जना आर्मीको मेजरले मेरा श्रीमान्लाई ‘तपाईंलाई कसैले यातना दियो कि, खान दिएनन् कि ?’ भनेर सोध्नुभयो । त्यसरी सोध्दा मेरो श्रीमान्ले पीडा लुकाएर डरका कारण सही कुरा गर्नु भएन ।
बाहिर आउँदा सबैले ‘कस्तो भयो ?’ भनेर सोध्दा श्रीमान्ले ‘राम्रोसँग खान पाएँ, सुत्न पाएँ, पिटेनन्, सोधपुछ मात्रै गरेर पठायो’ भन्नुहुन्थ्यो । साँझपख घरमा लुगा फेर्दा मैले उहाँको शरीरमा नीलडाम देखेँ । मेरो श्रीमान्लाई धेरै नै यातना दिएको रहेछ । डरले केही भन्नु भएन ।
त्यति बेला माओवादीको एक परिवार हाम्रो गाउँको घरमा दुई वर्षदेखि सल्लाहमै बसिरहेका थिए । द्वन्द्वको अवस्था चर्किंर्दै गएपछि मैले उनीहरूलाई ‘अब हाम्रो घर छोडिदिनुहोस्’ भनेँ । त्यसपछि उनीहरूले मलाई दुःख दिन सुरु गरे । पटक पटक चन्दा तोक्ने, चन्दा पनि हरेक व्यक्तिपिच्छेले मागेको समयमै दिनुपर्ने, उनीहरूको कार्यक्रममा जानुपर्ने, बाटो बाटोमा थुनेर हैरानी दिने गर्न थाले । सधैँ झैँ २०६१ साल भदौ १ गतेको दिन म अफिस जानको लागि घरमा तयार हुँदै थिएँ ।
माओवादीहरू आएर मलाई ‘अब तपाईं हामीसँग हिँड्नुहोस्’ भन्न थाले । भर्खरै नुहाएको कपाल मैले कोर्न पाएको थिइनँ । धोएर सुकाएको लुगा र सुकाउन राखेको धानसमेत उठाउन बाँकी थियो । दुई शब्द बोलौँ भने मार्ने हुन् कि भन्ने डरले सबै कुरा त्यसै लथालिङ्ग छाडेर म उनीहरूसँग हिँडेँ । मेरै अफिसको स्टाफ एक जना र अन्त कताबाट ल्याएका दुई जना पुरुषलाई पनि उनीहरूले सँगै ल्याएका थिए । त्यो गुरुपमा महिला म मात्र थिएँ । उनीहरूले हामी सबै जनालाई सुर्की भन्ने गाउँमा काम गराउँदै सर्मी भन्ने ठाउँसम्म लगे । त्यहाँ पुगिसकेपछि बाटोमा झाडीहरू सफा गर्न लगाए । कतै कसैको भत्किएको ट्वाइलेट बनाउन लगाए । ढुङ्गा पनि बोकाए ।
भोलिपल्ट बाटोमा कतै भत्किएको पर्खाल बनाउँदै, जनताको कामहरू गर्दै चार दिनपछि हामीलाई सापुल्ली भन्ने ठाउँमा पुर्याइयो । अझै कहाँ लाने हुन् ? अन्त्यमा पिट्ने मार्ने हुन् कि भन्ने डर मनमनै लागिरहेको थियो । म मात्रै एक जना महिला भएकोले कतै केही गर्ने पो हुन् कि भन्ने डर थियो । त्यसै ठाउँमा एउटा चिनजानको माओवादी भाइ आयो । उसले ‘यिनीहरूलाई यहाँ किन ल्याएको ?’ भनेर आफ्नो साथीलाई गाली गर्यो अनि सानो चिठ्ठी पनि तयार गरिदियो । फर्कंदा बाटोमा भेट्टाएका माओवादीहरूलाई त्यही चिठ्ठी देखाएर हिँड्नुपर्थ्याे । बाटोभरी चिठ्ठी देखाउँदै हामी घर फर्कियौँ । अब त बाँचियो जस्तो लाग्यो । सबै जना खुसी भयौँ ।
मलाई माओवादीले अपहरण गरेको दिन २०६१ भदौ १ गते नै मेरो दाइको अचानक मृत्यु भएछ । त्यति बेला मोबाइल फोन हुँदैन थियो । पि.सि.ओ. (पब्लिक कल अफिस) मा गएर लाइन लागेर फोन गर्नुपर्थ्याे । दाइको मृत्युको दुई दिनअगाडि मात्रै मैले उहाँसँग लामो कुरा गरेको थिएँ । उहाँले गाउँको सबै जनाको बारेमा सोध्नुभएको थियो । अनि मलाई पिर नगर्न भन्नुभएको थियो । अपहरणमा परेकोले दाइ बितेको खबर मकहाँ आइपुगेन । मैले नुन बार्न पाइनँ । त्यो घाउ अझै आलै छ ।
मलाई अपहरणपछि आफ्नो गाउँमा फर्किने आँट आएन । मेरो श्रीमान्काे भनसुनले बजार नजिकैको हेल्थपोस्टमा दुई वर्ष काजमा बसेँ । सबै परिवार बजारमै बस्न थाल्यौँ ।
मेरी छोरी नौ वर्षकी थिई । ऊ बजारको कनिका बोर्डिङ स्कुलमा चार कक्षामा पढ्दै थिई । २०६१ साल कार्तिक ७ गतेको दिन थियो । स्कुलको पछाडिपट्टि चौरमा बेवारिसे बम फ्याँकिएको रहेछ । मेरो छोरी बाटोमा आउँदै गर्दा अरू दुई जना बच्चाहरूले खेलाउँदै गरेको त्यो बम विस्फोट भएछ । मेरो छोरीसँगै उसको एउटा साथी र ती बम खेल्ने बच्चाहरू घाइते भएछन् । त्यो दिन म घरमा लाखबत्ती बाल्ने भनेर प्रसादको लागि पिठो मुछिरहेकी थिएँ ।
मैले त्यो सुनेपछि पिठो मुछेको हातसमेत नधोई हत्तपत्त अस्पताल पुगेँ । आर्मीले घाइते बच्चाहरूको उद्धार गरेछ । जुम्लामा उपचार सम्भव नभएपछि बच्चाहरूलाई एयरपोर्ट पुर्याइसकेछन् । अस्पतालबाट एयरपोर्ट लगेको खबर पाएपछि म दगुर्दै एयरपोर्ट पुगेँ । छोरीको टाउकोमा चोट लागेको थियो । रगतले मुछिएकी छोरीको अनुहार हेरेर रोएँ, कराएँ । छोरीसँग मेरो श्रीमान्लाई हेलिकप्टरबाट नेपालगन्ज पठाइयो । म रुँदै घर फर्किएँ । चार महिना जति नेपालगन्जको भेरी अस्पतालमा छोरीको उपचार गरियो । टाउकोको चोट गम्भीर भएकाले दुई महिना लखनउमा राखेर उपचार गरियो । पहिलो पटक तीन जना नै गयौँ । पछि धेरै खर्च हुने भएकोले दुई बाबुछोरी मात्र जाने आउने गरे ।
छोरीको टाउकोको छालाभित्र छाम्दाखेरि बमको छर्रा अझै छ जस्तो लाग्छ । त्यो ‘पछि आफैँ जान्छ’ भनेर डाक्टरले भनेका छन् । जिउभरि पनि बमका छर्राहरू लागेकाले छोरीलाई जिउ चिलाउने समस्या पछिसम्म देखियो । डाक्टरले लेखिदिएको एउटा मलम लगाइदिने गरेका छौँ । त्यही लगाएपछि अहिले केही सन्चो भएको छ । छोरीलाई टाउको दुख्ने र छिटो बिर्सने समस्या अझै छ ।
हामी कसैको जीवन तलमाथि केही भएको भए यी साना छोराछोरी कहाँ जान्थे ? टुहुरा हुने थिए, अलपत्र पर्ने थिए । अहिले छोरी उच्च शिक्षा पढ्दैछ । उसले आजसम्म कुनै पनि द्वन्द्वपीडितसम्बन्धी राहत पाएकी छैन । नेपाल सरकारले उसले चाहे जतिको शिक्षा आर्जन गर्नको लागि आर्थिक सहयोग गरिदिए हुन्थ्यो ।
मैले स्थानीय शान्ति समितिमा उजुरी गरेँ । अपहरण गरेको सामान्य घटना रहेछ भनेर छानबिनमा नपर्न सक्छ भनेर मैले सत्य निरूपण तथा मेलमिलाप आयोगमा गोप्य चिठ्ठी पनि रजिस्टर गरेर पठाएँ । तर, त्यसको आजसम्म केही सुनुवाइ भएको छैन । हामीलाई दुःख दिने व्यक्तिहरू अहिले हाम्रैसामु हिँडिरहेका छन् । उनीहरूले ‘त्यतिखेर हामीले जानेनौँ’ भनी क्षमा मात्र मागे पनि अलिकति न्याय मिले जस्तो हुने थियो ।
अहिले आफ्नो जीवन हेर्दा बालबच्चाहरू सबै सकुशल छन् । हामी बुढाबुढी जेनतेन बाँचेकै छौँ । सबै परिवार एउटै ठाउँमा बस्न पाएका छौँ । यसैमा सन्तुष्टि मानेकी छु । समय बित्दै जाँदा घाउ आलो छैन, पुरानो भएको छ । तर त्यो समय कहिल्यै पनि फर्किएर नआओस् जस्तो लाग्छ ।
प्रकाशन मिति : २०८१ असाेज २५ गते, शुक्रवार
कर्णाली गाथाका थप कथाहरू
- पचास रुपैयाँले मोडिएको जीवन
- मेरो सङ्घर्ष परिवारदेखि देशसम्म
- श्रीमान्सँग नबोलेको त्यो दिन
- एउटा प्रश्न
- आँट जुटाउँदै अघि बढेको जीवन
- कथा एक, भोगाइ अनेक
- सम्झना र साहस
- प्रहरीको जीवन
- विभेदविरुद्धको सङ्घर्ष
- नखुलिसकेको जीवनको कहानी
- आफैँले चलाएको जीवन
- द्वन्द्वले दुःख मात्रै दियो
- मैले सामन्ती जस्तो के गरेँ ?
- द्वन्द्वमा आमाको जीवन
- अझै न्याय पाइएन
- चरम अन्यायको भोगाइ
- सास कि लासको सङ्घर्ष
- सेतो देखी डर लाग्छ