Home Stories आफैँले चलाएको जीवन

आफैँले चलाएको जीवन

83
0

पुस्तक साभार शृङ्खला–११

‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा प्रकाशित सो पुस्तकमा २२ जनाको जीवनभोगाइका कथा छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् ।

सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन र समेटिन नसकेका व्यक्तिका जीवनभोगाइलाई ‘न्यारेटिभ थेरापी’ विधिबाट उत्खनन गरिएको थियो । पछि न्याय संवाददाता बनेका द्वन्द्वपीडित महिला र उनीहरूको सहयोगमा अरू भुक्तभोगी महिलाले आफैँ कथाकार बनेर लेखेका यी भोगाइलाई महिला इतिहासमा विशिष्ट सामग्रीका रूपमा लिन सकिन्छ । पुस्तकमा कतिपय व्यक्तिका हकमा कथाकारले वास्तविक नाम र थर नै खुलाएको भए पनि सम्बन्धित व्यक्तिको गोपनीयतालाई सम्मान गर्दै कथामा व्यक्तिबोधक बोलचालको नाता, पद जस्ता नामलाई मात्र उल्लेख गरिएको छ । ‘सन्धान’ ले २०८१ जेठ २५ गतेदेखि ‘कर्णाली गाथा’ का कथालाई हरेक शुक्रबार प्रकाशन प्रसारण गर्दै आएको यहाँलाई थाहै छ । यसै क्रममा आजको शृङ्खलामा प्रस्तुत छ, रुकुमकी कौशिला दमाईंको भोगाइ र लेखाइमा ‘आफैँले चलाएको जीवन’ ।

मेरी आमाको आठौँ गर्भबाट म जन्मिँदा मेरो बुवाले ‘यसलाई ज्युँदै मारिदेऊ भन्नुभा’को रहेछ । तर, आमाले ‘जन्मी त सकी, यसकै भाग्य खाली !’ भनेर मार्न नदिएको कथा सुनाउनुहुन्थ्यो । अहिले म रुकुम (पश्चिम) चौरजहारी नगरपालिका वडा नम्बर ९ मा बस्छु । मेरो जन्म २०२६ सालमा रुकुम जिल्लाको आठबिसकोट नगरपालिकामा भएको हो । म जन्मेपछि दुई भाइको जन्म भयो । त्यसपछि भने मलाई ‘भाइ ल्याउने भाग्यमानी छोरी’ भन्न थाले । ‘यसले भाइ बोलाकी’ भनेर बुवाले पनि मलाई धेरै माया गर्न थाल्नुभयो । मेरा तीन दिदीहरू सानैमा मरेका रहेछन् । हामी १० भाइबहिनी जन्मिसकेपछि बुवाको पनि मृत्यु भयो ।

दलित भएका कारण हामीलाई गाउँमा असाध्यै हेप्थे । त्यो हेपाइ सहेर हुर्किंदा कति कठिन भयो भन्ने कुरा सम्झिँदा कहाली लागेर आउँछ । खान लाउन पुग्दैनथ्यो । अभावका कारण मेरा दिदीहरू ‘खैर’ (कमाउन विदेश/इन्डिया) जाने, कमाउने र जीवन चलाउने गर्थे । हामी सबै अर्काको घरमा काम गर्थ्याैं र गुजारा चलाउँथ्यौँ । पछि भाइहरू अलि ठुला भए ।

दिदीहरूले खैरबाट एउटा लुगा सिलाउने मेसिन ल्याइदिनुभयो । त्यो मेसिन ल्याएपछि भाइले लुगा सिलाउन थाल्यो । हाम्रा धेरै ’विष्टवान’ भए । खलो धेरै उठ्न थाल्यो र हामी सजिलै पालिन थाल्यौँ ।

चार दिदीबहिनीहरूको विवाह भइसकेको थियो । म मात्र बाँकी थिएँ । मेरी साइली दिदीको गर्भबाट एउटा छोरा र एउटी छोरीको जन्म भइसकेपछि दिदीको मृत्यु भयो । त्यसपछि भिनाजु मलाई माग्न आए । आमाले दिदीबाट जन्मेका छोराछोरी राम्रोसँग स्याहार्नका लागि मेरो विवाह भिनाजुसँग गराइदिनुभयो । बिहे गरेर मैले दिदीले जन्माएको छोराछोरीको स्याहार गरेँ । म विवाह गर्दा १६ वर्षकी थिएँ र भिनाजु २५ वर्षको हुनुहुन्थ्यो । मेरो जीवनले भिनाजुलाई श्रीमान् मानेपछाडि मेरो पनि तीन वटा छोराको जन्म भयो । मलाई मेरो श्रीमान्‌ले कहिले पनि नराम्रो गर्नु भएन । मन लागेको कुरा खानलाउन छुट थियो । मसँग उहाँ कहिल्यै पनि रिसाउनु भएन । मेरो जस्तो राम्रो जीवन कसैको पनि छैन जस्तो लाग्थ्यो । परिवारमा सबै जना खुसी थिए । मेरा तीन जना देवरहरू छन् । उनीहरूले मलाई आमाको जस्तै माया गर्थे र अहिले पनि गर्छन् ।

कुरा २०५८ साल माघ महिनाको हो । त्यति बेला माओवादी खोज्न भन्दै पुलिस गाउँगाउँमा आउने गर्थे । एक दिन बिहान साढे छ बजेतिर म रोटी पकाउन लागेको थिएँ । छोराछोरी सुतिरहेका थिए । श्रीमान् उठेर भैँसी, बाख्रा बाहिर सार्दै हुनुहुन्थ्यो । खोलागाउँबाट आएको गस्तीको पुलिस एक्कासि हाम्रो घरभित्र पस्यो । ३० जना जति थिए होलान् । उनीहरूले घरमा भएको धान, गहुँ, मकै सबै एकै ठाउँमा मिसाइदिए । उनीहरू घरका सबै कोठामा पसे । सुतिरहेका छोराछोरीलाई हान्दै उठाउँदै गर्न थाले । श्रीमान् बाहिर हुनुहुन्थ्यो । छोराछोरीलाई हानेको देखेपछि म कराएँ । ‘किन बोलेकी ?’ भन्दै एउटा पुलिस आएर मलाई बन्दुकको कुन्दाले हान्यो । बेस्सरी हान्न थाल्यो । बुटले मेरो दाहिने गोडामा थिचेर हानेको कारण आजभोलि यो खुट्टा निदाउँछ, राम्रोसँग चलाउन सक्दिनँ । मलाई हानेको देखेर मेरो श्रीमान् कराउनुभयो । उहाँलाई घरबाहिर लगेर निर्घात कुटपिट गर्दै हाम्रो नजिकैको एक जना छिमेकीको घरसम्म लगेका थिए । त्यसै बेला चौरजहारीबाट आएको पुलिसको अर्को गस्तीले ‘यो ठाउँबाट माओवादी कोही पनि आएका छैनन्, यो कपडा सिलाएर घरपरिवार चलाउने मान्छे हो, यसलाई छोडिदे’ भनेपछि उनीहरूले छाडे । नत्र त्यो दिन मेरो श्रीमान्‌लाई मार्थे होला ।

त्यही कुटाइका कारण मेरो श्रीमान् पछि बिरामी पर्नुभयो । उहाँको औषधि उपचार गर्दै थिएँ । एक दिन माओवादी मेरो घरमा आएर ‘तेरा छोराहरूलाई माओवादी सेनामा पठाइदिनुपर्छ’ भने । मेरा छोराहरू जाजरकोट जिल्लामा सिलाइ फर्म खोलेर आफ्नो जीविका चलाइरहेका थिए । हामीले पठाउन मानेनौँ । ‘माओवादी सेनामा जानुपर्छ, छिटो बोला’ भनेर उनीहरूले हाम्रो घरमा जबरजस्ती ताल्चा लगाइदिए । मेरो श्रीमान्, म, मेरो कान्छो छोरा र देवरको परिवारलाई उनीहरूले १५ दिनसम्म घरमा बस्न पनि दिएनन् । त्यो बेला ढोकामा माओवादीले ठोकेको साङ्लो अहिलेसम्म पनि छ । द्वन्द्वका बेला पुलिसले पनि हामी जस्तै गरिबलाई माओवादी भन्ने गर्थ्याे । माओवादीले पनि हामी जस्तै गरिबका छोराछोरीलाई आफ्नो पार्टीमा जबरजस्ती लिन खोज्थे ।

श्रीमान्‌काे रोग बढ्दै गयो । उहाँ अशक्त हुनुभयो । उपचार गर्न कोहलपुर, नेपालगन्ज र चितवन क्यान्सर अस्पतालसम्म पुर्‍याउँदा घाँटीमा क्यान्सर देखियो । क्यान्सर छ भनेपछि म बेहोस भएछु । घर आएर ऋण सापटी गरी उपचारको लागि केही रकम लिएर गएँ । एक महिनासम्म अस्पतालमा राखेर उपचार र किमो चढाउने काम भयो । एक एक महिनाको फरकमा किमो लगाउने भएपछि हामी घर फर्कियौँ । औषधि उपचार कसरी गर्ने ? ऋण कसरी तिर्ने ? अर्को समस्या पर्‍यो । दुवै जनाको सल्लाहमा ठाँटी बजारमा पसल खोलेर कपडा सिलाउने काम सुरु गर्‍याैँ ।

चितवन गएर दोस्रो किमो चढायौँ । त्यसपछि मेरो श्रीमान्‌काे बोली बन्द भयो । पाँच वटा किमो चढाएपछि घर फर्कियौँ । केही दिनमै मेरो श्रीमान्‌काे मृत्यु भयो । आफ्नो उपचारमा लागेको ऋण तिर्न कपडा सिलाउँदासिलाउँदै मेरो श्रीमान् मलाई एक्लै छोडेर जानुभयो ।

मेरा सबै छोराछोरीको बिहे भइसकेको छ । उनीहरू आ–आफ्नै जहानपरिवारसँग बजारमा सिलाइ पसल खोलेर बसेका छन् । मेरी छोरीलाई उसको श्रीमान्‌ले सौता ल्याएको छ र ऊ दुःखमा छे । आजभोलि मेरो श्रीमान्‌ले मलाई छोडेर गएको भन्दा पनि ज्वाइँले छोरीलाई गरेको घरेलु हिंसाले बढी दुःखी बनाउँछ । दिउँसो भोक लाग्दैन । राति निद्रा लाग्दैन ।

म १६ वर्षको उमेरमा विवाह गरेर यो घरमा आएकी हुँ । यो घरमा मैले थुप्रै दुःख गरेकी छु । मलाई यो घर छोड्न मन लाग्दैन । त्यसैले म एक्लै बस्छु । मेरो गुजारा म आफैँ गर्छु । १५–१६ वटा बाख्रा पालेकी छु । चार वटा खसी पनि छन् । एकल महिलाको भत्ता आउँछ । त्यसैबाट मेरो घर खर्च चलाएकी छु । श्रीमान्‌लाई उपचार गर्दा लागेको बाँकी ऋण सबै तिरिसकेकी छु । मेरो श्रीमान्‌काे हर उजेलो पारेर मर्ने आशा राखेकी छु । मैले आफूलाई द्वन्द्वपीडित भनेर कतै निवेदन पनि दिएको छैनँ । मेरो गोडाको उपचार पाउन पाए मलाई अलि सहज हुने थियो ।

प्रकाशन मिति : २०८१ साउन ३२ गते, शुक्रवार

कर्णाली गाथाका थप कथाहरू