पुस्तक साभार शृङ्खला –१२
‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा प्रकाशित सो पुस्तकमा २२ जनाको जीवनभोगाइका कथा छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् ।
सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन र समेटिन नसकेका व्यक्तिका जीवनभोगाइलाई ‘न्यारेटिभ थेरापी’ विधिबाट उत्खनन गरिएको थियो । पछि न्याय संवाददाता बनेका द्वन्द्वपीडित महिला र उनीहरूको सहयोगमा अरू भुक्तभोगी महिलाले आफैँ कथाकार बनेर लेखेका यी भोगाइलाई महिला इतिहासमा विशिष्ट सामग्रीका रूपमा लिन सकिन्छ । पुस्तकमा कतिपय व्यक्तिका हकमा कथाकारले वास्तविक नाम र थर नै खुलाएको भए पनि सम्बन्धित व्यक्तिको गोपनीयतालाई सम्मान गर्दै कथामा व्यक्तिबोधक बोलचालको नाता, पद जस्ता नामलाई मात्र उल्लेख गरिएको छ । ‘सन्धान’ ले २०८१ जेठ २५ गतेदेखि ‘कर्णाली गाथा’ का कथालाई हरेक शुक्रबार प्रकाशन प्रसारण गर्दै आएको यहाँलाई थाहै छ । यसै क्रममा आजको शृङ्खलामा प्रस्तुत छ, जुम्लाकी रामलक्ष्मी खनालको जीवनभोगाइमा ‘द्वन्द्वले दुःख मात्रै दियो’ शीर्षक स्वकथन ।
माइतीमा हामी छ भाइबहिनीसहित आठ जनाको परिवार थियो । तर पनि, बुवाले मलाई ‘पढ् न, पछि कस्ता कस्ता दिनहरू आउँछन् !’ भनेर भन्नुहुन्थ्यो । आमाले भने ‘अर्काको घरमा जानेले किन पढ्न पर्यो, भोलि पोइलीघरमा पढ्न पाइने होइन, काम गर्नुपर्छ’ भनेर भन्नुहुन्थ्यो । मलाई पढ्न एकदमै मन लाग्थ्यो । आमालाई घरको काममा सघाउनुपर्थ्याे । भाइबहिनीलाई बोक्नुपर्थ्याे । बहिनीले पिसाब गरेर च्यापच्याप भएको ढाड छामछुम गर्दै म स्कुल जान्थेँ । घरमा काठको चौखी थियो । त्यसैमा मसिनो माटो र खरानी मिसाएर काठको टुक्राले क, ख, एक, दुई लेखेर मैले पढ्न सिकेको हुँ ।
हाम्रो घरमा ‘छोराछोरी धेरै भए, आमा भइन् रोगी, खाने लाउने धेरै भए, बाबा भए जोगी’ भने जस्तै थियो । आमा बिरामी परिरहने भएकाले बुवालाई साह्रै दुःख थियो । आमा छिटै बित्नुभयो । दाइले काम गर्न नजान्ने ! त्यसैले घरको काम सबै बुवाले नै गर्नुपर्थ्याे ।
मेरो विवाह १९ वर्षको उमेरमा भयो । मैले मन मिलेरै विवाह गरेँ । विवाह भएको केही समयपछि श्रीमान्ले मालपोत कार्यालयमा जागिर खानुभयो । एउटा छोरी, दुई छोरा, सासू, हामी दुई जनाको सुखी परिवार थियो । तर, द्वन्द्वले हाम्रा सपना योजना सबै चकनाचुर पार्यो । बुवा २०५७ सालमा कालगतिले बित्नुभयो । साथीहरूको लहलहैमा लागेर २०५८ साल साउनको महिनामा मेरी छोरी निशा खनाल (जसलाई घरमा सबैले ‘नानीमैया’ भनेर बोलाउँथे) माओवादीमा गई । तर गएको एक महिना नबित्दै, छोरीसँग हाम्रो कुराकानी बन्द भयो । पार्टीमा सोध्दा ‘छोरीले पार्टी छोडेर भागेको भन्छन् । तर अहिलेसम्म, छोरीको केही अत्तोपत्तो छैन । मेरी छोरी बेपत्ता भई । अहिलेसम्म न सास थाहा छ, न लास नै देखेको छ । धेरै मान्छेहरूले ‘तपाईंको छोरी जीवितै छ’ भनेर भुल फालिदिए । तर, आजसम्म उसको अवस्था थाहा छैन । दुःख पर्दा दुःखै थपिने रहेछ, २०५९ साल कार्तिक २८ गते श्रीमान्काे पनि दोहोरो भिडन्तमा मृत्यु भयो ।
मेरो श्रीमान् जिल्ला मालपोत कार्यालय जुम्लामा राति डिउटी बस्न जानुहुन्थ्यो । एक एक महिनाको अन्तरमा डिउटी पर्थ्याे । जुम्ला जिल्लाको सदरमुकाम खलङ्गामा आक्रमण भएको दिन उहाँको डिउटी परेको थियो । राति नौ–दस बजेतिर बजारतिर एक्कासि जताततै गोली चलेको र बम पड्किएको आवाज सुनियो । ओहो ! आज त भिडन्त हुन लाग्यो भन्ने भयो । मैले हत्तपत्त घरको झ्यालको सानो प्वालबाट पारि श्रीमान्काे कार्यालयतिर हेरेँ । त्यो कार्यालय त पूरै आगोले जलिरहेको थियो । त्यसपछि त मेरो जिउ पूरै काँप्न थाल्यो । पछि सोचेँ, मेरो श्रीमान् बाठो हुनुहुन्छ पक्कै बाँच्ने उपाय केही गर्नुहुन्छ । त्यो रात आँखा चिम्म पनि गरिनँ ।
भोलिपल्ट बिहानै के कसो भएछ भनेर बुझ्न बजारतिर गएँ । पुलमा प्रहरीले बार लगाएको रहेछ । त्यो बार कसले खोल्ने ? म बजार जान सकिनँ । घरै फर्किएँ । सासूले ‘पानी घरमा फालेर जा’ भन्नुभयो । त्यतिखेर धारा पनि टाढा थियो । पानी दैलो गर्दासम्म त गाउँका छिमेकीहरू बजार गई घटना भएको थाहा पाइसकेछन् ।
सुरुमा मेरो श्रीमान्लाई माओवादीको लाससँगै लाइनमा राखिएको थियो रे ! पछि ‘उनी त सरकारी कर्मचारी हुन्’ भनेर भनेपछि उहाँलाई सारेछन् । म फेरि बजार जाँदै गर्दा स्ट्रेचर बोकेर जान लागेको हाम्रो घर नजिकैको एउटा भतिजालाई बाटैमा भेटेँ । भतिजाले ‘अलिअलि खुट्टामा चोट लागेको छ अरे, त्यसैले तपाईं बजार नगए पनि हुन्छ’ भन्यो । म त आकाशबाट खसे झैँ भएँ । त्यसपछि म मेरो घरदेखि कुलाको बाटोमा कसरी पुगेँ मलाई थाहा नै भएन । पछि गाउँका सबै जना केटाहरूले ‘तपाइँ बजार नजानुहोस्’ भनी घर फर्काउँदा मैले अब मेरा श्रीमान् बाँचेनन्, मरिसके भनेर थाहा पाएँ । त्यसपछि मलाई कसले घर ल्यायो, के भयो, केही थाहा पाइनँ ।
दाहसंस्कार गरिसकेपछि छरछिमेक र आफन्त सबैले सहयोग गरे । आखिर मर्दापर्दा छिमेकी र आफन्त नै चाहिने रहेछन् । त्यो बेला मेरो भाइले मलाई धेरै सहयोग गर्यो । ऊ त्यतिखेर मुगुमा बसेर काम गरिरहेको थियो । त्यहाँबाट जुम्ला आएर कागजपत्र प्रमाणहरू जुटाउने, काठमाडौँमा गएर पेन्सन बनाउने, राहत निवेदन दिनेलगायतका सबै काम उसैले गरिदियो । त्यति बेला मेरा छोराहरू १२ र नौ वर्षका मात्रै थिए ।
द्वन्द्वको बेला जो जसलाई पनि माओवादीको शङ्का गर्ने अवस्था थियो । एक पटक मेरो भाइलाई पुलिसहरूले नुहाउँदै गरेको बेलामा देखेछन् । भाइ दुब्लो पातलो थियो । चिसोमा नुहाउँदा काँपेछ । ‘यो पक्कै माओवादी हो, हामीलाई देखेर किन काँपेको ?’ भनेर पुलिसहरूले छातीमा बन्दुक तेर्स्याएछन् । बहिनी र बुहारीले ‘हालसालै भिनाजुको खलङ्गा भिडन्तमा डिउटी बसेको समयमा मृत्यु भयो, त्यसकै चिन्ताले दुब्लाएका हुन्, चिसोले काँपेका हुन्, बरु यिनलाई मार्ने भए हामीलाई मार्नू’ भनेर भनेपछि उनीहरूले केही गरेनछन् । मेरो भाइ पनि धन्न नमरेको !
हाम्रो घरमा खान लाउन, अन्नपातको लागि कसैसँग जान नपर्ने थियो, योजनाहरू धेरै थिए । छोराहरूलाई पढाउने, जागिर खुवाउने, घर लगाउने जस्ता सपनाहरू थिए । द्वन्द्वमा श्रीमान्काे मृत्यु भएपछि सबै सपना चकनाचुर भयो । छोराहरूले जेनतेन पढे । अहिले जेठो प्रहरीको जागिर खान्छ । आफ्नो परिवार पालेको छ । जेठाका परिवार छुट्टै बसेका छन् । कान्छो मसँग छ । कान्छोले डिग्री पास गरेको छ तर अझै जागिर पाएको छैन । मैले घर खर्च श्रीमान्काे पेन्सनले चलाउने गरेको छु ।
म २०४७ सालमा महिला सहकारी संस्थामा लागेको थिएँ । त्यही संस्थामा म अहिलेसम्म बचत गर्ने गर्छु । मैले घरेलुबाट २०४६ सालमा झोला, चौरीपोट चाँदले बुन्ने निःशुल्क तालिम लिएको थिएँ । तालिमपछि घरमा झोला, चौरीपोट बुन्न थालेँ । म आफूले सिकेको सिप अरूलाई सिकाउन पनि सक्छु । मसँग सिप छ, तर सिप मात्रै भएर नपुग्ने रहेछ, लगानी गर्ने रकम छैन ।
म अहिले ६५ वर्षकी भएँ । छोरीको र श्रीमान्काे यादले साह्रै सताउँछ । छोरीको लागि केही पनि न्याय गर्नसकेकी छैनँ जस्तो लाग्छ । ऊ बाँचेकी भए पनि यस्तो नेट इन्टरनेटको जमानामा केही खबर आउनुपर्ने तर केही अत्तोपत्तो छैन । पार्टीमा नै मारेर दबाए कि पार्टी छोडी बाहिर कतै कसैले केही गरे ? खाली त्यही कुराले मन पिरोलिरहन्छ ।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगमा मैले उजुरी हालेकी थिएँ । ती आयोगले पनि अहिलेसम्म केही जानकारी दिएका छैनन् । श्रीमान्काे त मृत्यु देखियो, तर छोरीको लास पनि छैन, सासको पनि अत्तोपत्तो छैन । मेरो सास रहुन्जेलसम्म छोरीको केही जानकारी पाउन पाए मेरो आत्माले शान्ति पाउने थियो ।
प्रकाशन मिति : २०८१ भदाै ७ गते, शुक्रवार
कर्णाली गाथाका थप कथाहरू
- पचास रुपैयाँले मोडिएको जीवन
- मेरो सङ्घर्ष परिवारदेखि देशसम्म
- श्रीमान्सँग नबोलेको त्यो दिन
- एउटा प्रश्न
- आँट जुटाउँदै अघि बढेको जीवन
- कथा एक, भोगाइ अनेक
- सम्झना र साहस
- प्रहरीको जीवन
- विभेदविरुद्धको सङ्घर्ष
- नखुलिसकेको जीवनको कहानी
- आफैँले चलाएको जीवन