पुस्तक साभार शृङ्खला –२०
‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा प्रकाशित सो पुस्तकमा २२ जनाको जीवनभोगाइका कथा छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् ।
सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन र समेटिन नसकेका व्यक्तिका जीवनभोगाइलाई ‘न्यारेटिभ थेरापी’ विधिबाट उत्खनन गरिएको थियो । पछि न्याय संवाददाता बनेका द्वन्द्वपीडित महिलाका र उनीहरूको सहयोगमा अरू भुक्तभोगी महिलाले आफैँ लेखेका यी भोगाइलाई महिला इतिहासमा विशिष्ट सामग्रीका रूपमा लिन सकिन्छ । पुस्तकमा कतिपय व्यक्तिका हकमा कथाकारले वास्तविक नाम र थर नै खुलाएको भए पनि सम्बन्धित व्यक्तिको गोपनीयतालाई सम्मान गर्दै कथामा व्यक्तिबोधक बोलचालको नाता, पद जस्ता नामलाई मात्र उल्लेख गरिएको छ । ‘सन्धान’ ले २०८१ जेठ २५ गतेदेखि ‘कर्णाली गाथा’ का कथालाई हरेक शुक्रबार प्रकाशन प्रसारण गर्दै आएको यहाँलाई थाहै छ । यसै क्रममा आजको शृङ्खलामा प्रस्तुत छ, दैलेखकी गीता अधिकारीको दृष्टिमा ‘चेपुवामा मेरो बुबा’ शीर्षकको आत्मकथा ।
बुवाले मलाई सधैँ ‘गितु’ भनेर बोलाउनुहुन्थ्यो । म सानैबाट बुवाकी प्यारी छोरी थिएँ । मेरो बुवाले दुई वटा बिहे गर्नुभएको थियो । मेरो आमाबाट हामी चार भाइबहिनी थियौँ भने सानीआमाबाट दुई भाइबहिनी थिए । म जेठी छोरी हुँ । मेरो बुवाले दुई बिहे गरे पनि हामी छोराछोरीबिच कुनै भेदभाव गर्नु भएन । मेरो जन्म २०३८ साल भदौ २६ गते बर्दिया जिल्लामा भएको हो । म सानैदेखि कम बोल्ने र गम्भीर स्वभावकी थिएँ ।
म स्कुल पढ्दै थिएँ । घरको काम गर्दै पढ्दै मेरो जीवन चलिरहेको थियो । मेरो बुवा सरकारी स्कुलमा स्थायी शिक्षक हुनुहुन्थ्यो । द्वन्द्वका समयमा सरकारी मानो खाने र तीनका परिवारलाई माओवादीबाट झन् धेरै डर हुन्थ्यो । २०५५ सालतिरको कुरा हो । एक दिन मेरो बुवालाई उहाँसँगै पढेको तर त्यति बेला माओवादीमा लागेको साथीले चिठ्ठी पठाएको रै’छ । त्यो चिठ्ठीमा माओवादीको ‘कार्यक्रममा आउनू’ भनेर निमन्त्रणा गरिएको रै’छ । कसैले हाम्रो बुवालाई त्यो चिठ्ठी जबरजस्ती थमाएछ । हाम्रो मामा पर्ने एक जना, जो पुलिसमा थिए, उनले त्यो चिठ्ठी माओवादीले पठाएको थाहा पाएछन् ।
चिठ्ठी थमाएको एक हप्तापछि एक साँझ त्यही पुलिस मामाले त्यो चिठ्ठी लेख्ने माओवादीको ठेगाना भन्न मेरो बुवालाई कर गरेछन् । ‘कि घर चिनाइदे कि आफैँ मर्न तयार भइ’ भनेर धम्की नै दिएपछि बुवाले आफ्नो ज्यान बचाउन चिठ्ठी लेख्ने मान्छेको नाम, घरको ठेगाना भनिदिनुभएछ । त्यसपछि पुलिसले त्यहाँ गएर त्यो मान्छेलाई घरबाट लिएर गएछन् । यो घटनापछि बुवा माओवादीको नजरमा पर्नुभयो । बुवालाई त्यो ठाउँमा बस्न पहिलाभन्दा पनि गाह्रो भयो । त्यही कारणले होला, बुवाले मेरो बिहेको कुरा गर्नु भो । मैले भर्खरै एसएलसी पास गरेको थिएँ र अरू पढ्ने इच्छा थियो । त्यो बेला मलाई बिहे गर्न मन थिएन । बुवालाई कतै केही हुन्छ कि भन्ने डर पनि लागिरहन्थ्यो । बुवाको अवस्थाको अगाडि मेरा इच्छाहरू हराए ।
मेरो विवाह २०५६ साल कार्तिक १ गते भयो । मेरो बिहे भएको घर दैलेखको चुप्रा भन्ने ठाउँमा थियो । म बर्दियाबाट त्यहीँ गएँ । त्यहाँ हाम्रो ठुलो फेन्सी पसल थियो । म बिहेकै साल गर्भवती भएँ । डाक्टरले २०५७ साल भदौ २९ गते मेरो बच्चा जन्मने मिति दिएको थियो । सबै राम्रै चलिरहेको थियो ।
म भान्सामा काम गरिरहेको थिएँ । त्यो २०५७ सालको भदौ २९ गतेकै दिन थियो । ससुरा बुवा रेडियो सुन्दै हुनुहुन्थ्यो । रेडियोमा मेरो माइती नजिकैको मान्छेले मेरो बुवाको घटनाको बारेमा बताइरहेको मैले भान्साबाटै सुनेँ । म आत्तिएर रेडियो नजिक पुगेँ । रेडियोले मेरो बुवा तुलाराम शर्मा कँडेलको हत्याको खबर सुनायो । म छानाबाट खसे झैँ भएँ । रुन कराउन थालेँ । सबैले मलाई समाते । मेरो बच्चा जन्मने मिति नजिक भएकाले मलाई घरका मान्छेले माइत जान दिएनन् । भोलिपल्ट मेरो श्रीमान् बर्दिया पुग्नुभयो तर बुवाको लास पनि देख्न पाउनु भएन । मेरो बुवाको लासलाई गुलरियाको अस्पतालमा पोस्टमार्टम गरेर ‘सतिगति’ पनि गरिसकेको रहेछ । मैले छोरीले गर्नुपर्ने सबै विधि दैलेख घरमै बसेर गरेँ ।
बुवाको हत्या भएको एक हप्तापछि मेरी छोरी जन्मिई । छोरीको सुख त पाएँ तर बुवाको माया ममता मैले गुमाएँ । बुवाको ४५ दिनको दिन म एक महिनाको सुत्केरी थिएँ । जिद्दी गरेर म माइती गएँ । माइतीघरमा धेरै मान्छे जम्मा भएका थिए । आमा र सानीआमालाई देख्दा मलाई गाह्रो भयो । त्यसपछि पो मैले बुवाको घटनाको बारेमा अझ विस्तृतमा थाहा पाएँ ।
मेरो विवाहपछि स्कुलमा सल्लाह गरेर बुवा दुई वर्षका लागि इन्डिया जानुभएको रहेछ । कहिलेकाहीँ मात्र लुकेर घर आउने गर्नुहुन्थ्यो रे ! इन्डियामा लुकेर बसेको बेलामा दुई जना केटाले बुवालाई नै सोधेछन्, ‘तुलाराम शर्मालाई चिन्नुहुन्छ ?’ बुवाले ‘म चिन्दिनँ’ भनेपछि उनीहरूले ‘हामीलाई त्यो मान्छे चाहिएको छ, खोजीमा छौँ’ भनेछन् । त्यसपछि बुवाले इन्डियामा बसिरहेको त्यो कोठा डरले छोड्नुभएछ । ‘त्यति टाढाबाट खोज्न आएछन्, अब मलाई मार्ने त होलान्, मेरो काल आएकै त होला’ भन्ने जस्तो लागेर उहाँ कोठा सर्नुभएछ । अर्को कोठामा बस्न थालेपछि एक दिन एउटा बिरालो आयो रे ! त्यो बिरालो बाघ जस्तै थियो रे ! त्यसले बुवालाई झम्टियो रे ! ‘आज बन्द कोठाभित्र यसरी बिरालो आएर मलाई झम्टियो । पक्कै मेरो काल आएको हो, म अब यहाँ बस्न उचित छैन । यहीँ मरेँ भने मेरो बालबच्चा र परिवारले लाससमेत भेट्न पाउने छैनन् । मरे पनि आफ्नै परिवारको अगाडि मर्छु ।’ भन्ने सोचेर बुवा आत्तिएर घर आउनुभएछ । यो सबै कुरा बुवाले घर आएपछि भन्नुभएको रहेछ ।
बुवा आएको एक हप्तासम्म बाहिरबाहिरैबाट माओवादीहरूले हेर्ने गर्थे रे ! भाइबहिनीहरूलाई ‘खै त तेरो बुवा ?’ भनेर सोध्ने रहेछन् । गाउँमा अरूसँग ‘एक हप्ताभित्रमा तुलाराम शर्मालाई मार्ने हो’ भन्दै उनीहरू हिँडेका रहेछन् । यो कुरा बुवाको घटनापछि मात्र हामीले थाहा पायौँ । घटनाको दिन बुवा पढाउन स्कुल जाँदै हुनुहुन्थ्यो । माओवादीहरू गाउँको एउटा घरमा लुकेर बसेका रहेछन् । बुवा आएको देखेर ‘तुले आ’छ, तुले आ’छ’ भनेर आवाज दिएछन् तर बुवा हिँडिरहनुभएछ । बुवासँग तीन जना अरू साथी थिए रे ! ती माओवादीहरूले बुवाको अरू साथीलाई भाग्न भनेछन् । त्यसपछि तीन जना माओवादीहरूले धारिलो खुकुरीले बुवाको हत्या गरेछन् र नालीमा फालिदिएछन् । बुवासँग हिँडेका अरू तीन जनाले स्कुल गएर अरूलाई बोलाएर ल्याएछन् । एक जना सरले त ती माओवादीले बुवालाई धारिलो खुकुरीले हान्दै गरेको देख्नुभएछ । स्कुलबाट सबै आएर हेर्दा बुवा नालीमा छटपटाइरहनुभएको थियो रे ! बुवा त्यसको केही समयमा नै बित्नुभएछ । बुवाको घटना देख्ने अरू चार जनालाई पनि केही बोलेमा मार्ने धम्की दिएपछि कोही पनि केही नबोली बसेछन् । त्यसपछि बुवाको लासलाई पोस्टमार्टम गर्न भुरीगाउँ प्रहरी चौकीको सहयोगमा स्कुलका शिक्षकसहित समाजका मान्छेहरूले बर्दियाको सदरमुकाम गुलरिया लगे रे ! बुवाको हत्या भएको प्रस्ट देखिएको छ भनेर त्यहाँ पोस्टमार्टम गरिदिएनन् रे ! रीतिथितिअनुसार बुवाको सद्गत गरिएछ ।
बुवाको हत्या हुँदा भाइबहिनी सानै थिए । घरमा कमाउने मान्छे नहुँदा सबै जिम्मेवारी भाइमाथि आयो । मेरो बिहे भइसकेको हुनाले म आफ्नै घरपरिवार सम्हाल्न नै व्यस्त थिएँ । भाइ कहिले कसको घरमा त कहिले कसको घरमा काम गर्दै पढ्न थाल्यो । बुवाको घटनापछि सरकारले एकचोटि एक लाख ५० हजार रुपैयाँ र चार वर्षपछि एक लाख रुपैयाँ राहत दियो । बुवा सरकारी स्कुलमा स्थायी जागिर खानुहुन्थ्यो । बुवाको स्कुलले पनि ५० हजार रुपैयाँ राहत दियो । सरकारी जागिरे भएकाले बुवाको घटनापछि हामीले जागिरको लागि लड्न मिल्दो रहेछ । त्यहाँको सरले ‘एसएलसी पास गरेको छौ गीता, तिमीले यो जागिर गर’ भन्नुभएको थियो । तर, बच्चा सानो र घर टाढा भएकाले मैले जागिर गर्न सकिनँ । आज आएर किन त्यो जागिर नगरेको होला भनेर पछुतो लाग्छ ।
सरकारले एसएलसीसम्म भाइबहिनीलाई निःशुल्क पढ्ने व्यवस्था गरिदियो । त्यसपछि भने मैले श्रीमान्सँग सल्लाह गरेर भाइलाई आफ्नै घरमा राखेर पढाउन थालेँ । त्यति बेला हामी सुर्खेत बस्न थालेका थियौँ । भाइलाई आफ्नो घरमा राखेर कोरियन भाषा पढाएँ । त्यसपछि भाइको पनि नाम निस्कियो र कोरिया गयो ।
माइतीमा दुई आमाहरू मिलेरै बस्नुहुन्थ्यो । भाइ केही वर्ष विदेश बसेर अहिले नेपाल फर्केको छ र आफ्नो फेन्सी पसल सुरु गरेको छ । आमाले पहिला त आफ्नो श्रीमान्काे ठाउँ छोड्न मान्नुभएको थिएन । पछि भाइले सँगै बसेपछि सुख पाइन्छ भनेर आमालाई सम्झायो । त्यसैले आमा अचेल सुर्खेतमा बस्न थाल्नुभएको छ । सानीआमा पनि बर्दिया रोडको नजिक राम्रो घर हालेर बस्नुभएको छ ।
बुवा गुमाए पनि आमालाई आफ्नो ठाउँमा नजिकै राख्न सफल भयौँ । अहिले त आमा पनि खुसी नै हुनुहुन्छ । भाइले बिहे गर्यो र आमाको लागि साथी नाति जन्मेको छ । बुवा गुमाए पनि अहिले भाइलाई हेर्दा बुवालाई हेरे जस्तो हुन्छ । भाइले सानैमा बुवा गुमाएर पनि सबै कर्तव्य गर्दै आइरहेको छ । अहिले हामी खुसी छौँ । तर, हाम्रो बुवालाई खुकुरी प्रहार गरी निर्ममतापूर्वक हत्या किन गरियो यो कुरा जान्न चाहन्छौँ । यसको उत्तर आजसम्म पनि हामीले पाउनसकेका छैनौँ ।
प्रकाशन मिति : २०८१ कात्तिक २ गते, शुक्रवार
कर्णाली गाथाका थप कथाहरू
- पचास रुपैयाँले मोडिएको जीवन
- मेरो सङ्घर्ष परिवारदेखि देशसम्म
- श्रीमान्सँग नबोलेको त्यो दिन
- एउटा प्रश्न
- आँट जुटाउँदै अघि बढेको जीवन
- कथा एक, भोगाइ अनेक
- सम्झना र साहस
- प्रहरीको जीवन
- विभेदविरुद्धको सङ्घर्ष
- नखुलिसकेको जीवनको कहानी
- आफैँले चलाएको जीवन
- द्वन्द्वले दुःख मात्रै दियो
- मैले सामन्ती जस्तो के गरेँ ?
- द्वन्द्वमा आमाको जीवन
- अझै न्याय पाइएन
- चरम अन्यायको भोगाइ
- सास कि लासको सङ्घर्ष
- सेतो देखी डर लाग्छ
- त्यो समय कहिल्यै नफर्कियोस्