पुस्तक साभार शृङ्खला- ८
‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा प्रकाशित सो पुस्तकमा २२ जनाको जीवनभोगाइका कथा छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् ।
सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन र समेटिन नसकेका व्यक्तिका जीवनभोगाइलाई ‘न्यारेटिभ थेरापी’ विधिबाट उत्खनन गरिएको थियो । पछि न्याय संवाददाता बनेका द्वन्द्वपीडित महिला र उनीहरूको सहयोगमा अरू भुक्तभोगी महिलाले आफैँ कथाकार बनेर लेखेका यी भोगाइलाई महिला इतिहासमा विशिष्ट सामग्रीका रूपमा लिन सकिन्छ । पुस्तकमा कतिपय व्यक्तिका हकमा कथाकारले वास्तविक नाम र थर नै खुलाएको भए पनि सम्बन्धित व्यक्तिको गोपनीयतालाई सम्मान गर्दै कथामा व्यक्तिबोधक बोलचालको नाता, पद जस्ता नामलाई मात्र उल्लेख गरिएको छ । ‘सन्धान’ ले २०८० जेठ २५ गतेदेखि ‘कर्णाली गाथा’ का कथालाई हरेक शुक्रबार प्रकाशन प्रसारण गर्दै आएको सन्दर्भमा आजको शृङ्खलामा प्रस्तुत छ, जुम्लाकी भावना बुढाले प्रहरी भएर भोगेको जीवनकथा ।
म १८ वर्षको उमेरमा महिला प्रहरीमा भर्ती भएँ । नेपालगन्जमा प्रहरीमा जागिर पाउँदा मलाई जुम्लामा बसेकी मेरी आमालाई सुख दिन्छु भन्ने लागेको थियो । तर, सोचे जस्तो भएन ।
मेरो जन्म जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर १ दान्साँघुमा भएको हो । मेरो बुवा प्रहरीको हवल्दार हुनुहुन्थ्यो रे ! जागिरको सिलसिलामा बाजुरा जानुभएको बेलामा मेरी आमालाई सानै उमेरमा बुवाले भगाएर ल्याउनुभएको रहेछ । मेरी आमालाई ल्याएको धेरै वर्षपछि मात्र म जन्मिएको रे !
बुवाले दोस्रो बिहे गरेकोले मैले राम्रो हेरचाह पाइनँ । आमाले हामीलाई अर्काको काम गरी पाल्नुभयो । स्कुलमा पढ्न जाँदा हाम्रो पालामा काठको सिलेट र चुनाको चक हुन्थ्यो । आमालाई त्यत्ति जुटाउन पनि गाह्रो हुन्थ्यो । सबै साथीहरूको कपडा राम्रो हुन्थ्यो । म च्यातिएको, टालेको, फाटेको कपडा लगाएर खालीगोडा स्कुल जान्थेँ । आमाले मलाई खुवाउन, पाल्न, पढाउन धेरै दुःख गर्नुभयो । मैले आफूले पनि दुःख गरी कक्षा ७ सम्म मात्र पढ्न सकेँ ।
सानै उमेरमा नेपालगन्जमा महिला प्रहरीको जागिर पाउँदा म एकदम खुसी थिएँ । जागिर खाएकै वर्ष मेरो बिहे पनि भयो । तर, मलाई थाहा थिएन उसको त अर्को श्रीमती रहेछ । मेरो विवाह भएको महिनामै पेटमा बच्चा बस्यो । बच्चा पेटमा हुँदा प्रहरीको तालिम लिन मिल्दैन । फेरि, जागिर छुट्छ कि भन्ने डरले मैले यो कुरा लुकाएँ र तालिम गरिरहेँ । यही बिचमा मेरो सौताले ममाथि बहुविवाहको मुद्दा हालेको रहेछ । कति दुःख गरी खाएको जागिर पनि छोड्नुपर्यो । बहुविवाहको मुद्दामा म छ महिना जेल बसेँ । पहिलो तलब मेरी आमाको हातमा पुर्याउँछु भन्ने सोचेकी थिएँ तर पूरा हुन सकेन । जेलबाट छुटेपछि फेरि जागिर सुरु गरेँ । मेरो पोस्टिङ सल्यानमा भएको थियो । म प्रहरीमा जागिरे भएको कारणले घरमा माओवादी आएर मेरी आमालाई ‘तेरी छोरीलाई जागिरबाट छुटा’ भन्दै यातना दिन थाले । माओवादीले घरमा बस्न दिएनन् । भाइलाई राति घरबाट छिताचौर भन्ने जङ्गलमा लगेर, पिटेर, मर्यो भनेर फालेछन् । घरबाट खोज्न जाँदा भाइ काँडाको घारीमा अचेत अवस्थामा भेटिएछ ।
म त सधैँ पोस्टिङमै हुन्थेँ । बुवाआमा, भाइ र बैनी सबैले गाउँको घर छोड्नुभयो । सदरमुकाम खलङ्गा बजारमा एयरपोर्ट नजिकै हाम्रो एउटा सानो घर थियो, उहाँहरू त्यहीँ बस्न थाल्नुभयो । द्वन्द्व चर्किएको थियो । सल्यानबाट मेरो सरुवा दाङमा भयो । त्यसपछि म डोल्पा पुगेँ । बिदामा घर गएको बेलामा माओवादीले ‘ज्यानको आस छ भने जागिरमा नफर्किनू’ भन्ने धम्की दिए । मैले जागिरमा फर्किने आँट गर्न सकिनँ । दुःख गरेर नाम निकालेको जागिर मैले छोड्नुपर्यो ।
त्यसपछि म श्रीमान्सँग नेपालगन्जमा बस्न थालेँ । मेरो श्रीमान्ले मलाई दुःख दिने, पिट्ने, यातना दिने गरिरहन्थ्यो । मैले त्यसको पिटाइ, यातना सहन नसकेर मर्ने प्रयास पनि गरेँ । त्यति बेला ऊ आफैँ आएर समात्यो । केटीहरूलाई झुक्याउँदै बिहे गर्दै हिँड्ने त उसको बानी नै रहेछ । मपछि पनि तीन श्रीमती अरू ल्यायो । त्यसपछि मैले ऊसँग नबस्ने निर्णय गरेँ र अदालतमा मुद्दा दर्ता गरेँ । ऊ कुनै पनि तारिखमा आएन । नआएपछि अन्तिममा मेरो एकलौटी मुद्दा फैसला भयो ।
म छोराछोरीसँग कोठा लिएर छुट्टै बस्न थालेँ । सानो होटल र खुद्रापसल पनि चलाएँ । छोरो ठुलो हुँदै गयो । खर्च धेरै बढ्न थाल्यो । त्यसैले छोराछोरीलाई माइतीमा छाडेर म काठमाडौँ गएँ । एउटा कम्पनीमा काम गर्न थालेँ । त्यो कम्पनीमा राँगा भैँसीको मासु काटेर पिस बनाउने र प्याक गर्ने गर्नुपर्थ्याे । त्यो काममा दुःख धेरै, आम्दानी थोरै थियो । त्यो काम छोडेर म फेरि नेपालगन्जमा आएँ । र, सलाई बनाउने फ्याक्ट्रीमा एक वर्ष जति काम गरेँ ।
माइतीमा छोराछोरीलाई भेट्न जाँदा उनीहरूको मुख निन्याउरो देखेँ । त्यसपछि उनीहरूलाई पनि नेपालगन्ज लगेर आफूसँगै कोठामा राखेँ । सलाईको काम पनि छोडी मैले नेपालगन्जको एउटा होटलमा गार्डको काम गरेँ । ड्युटी गर्न बिहान छ बजे गएर साँझ सात बजे कोठामा फर्कनुपर्थ्याे । खाना खाने समय पनि नदिने दिनभरि १२ घण्टा उभिनुपर्दा त्यो काम पनि मलाई गाह्रो भयो ।
मैले काम छोडेर छोराछोरीसँग माइतीमै बस्न थालेँ । अहिले माइतीमा बसेर वडा तथा पालिकामा आउने योजनाको विकासका काम गरेर छोराछोरीलाई राम्रोसँग पढाएकी छु । तर, स्कुलमा छोराछोरीको नागरिकता खोजेर मलाई गाह्रो भएको छ । मेरो श्रीमान्ले मेरो छोराछोरीको नागरिकता बनाउन मान्दैन । धेरै पटक नागरिकताको लागि र सम्पत्तिको लागि श्रीमान्लाई जिल्ला प्रहरी कार्यालय ल्याइसकेम् तर ऊ मान्दै मान्दैन । कानुन पनि दुःखीलाई नहुँदो रहेछ । दैव पनि दुःखीमाथि लाग्ने, देवता पनि दुःखीमाथि नै लाग्ने रहेछन् ।
अहिले जेनतेन गरी पालनपोषण गरेर छोराछोरी दुवैलाई १२ कक्षामा पढाउँदैछु । सबै दुःखसँग जुध्ने सिप, साहस र आँट मैले मेरी आमाबाट सिकेकी हुँ । उहाँले सानो उमेरमा विवाह गरेकाले आफ्नो माइतीको घर देख्न पाउनुभएन । उहाँलाई आफ्नो माइती बाजुरा हो भन्ने मात्र थाहा छ । बिहे गरेर आएदेखि एक पटक पनि जानुभएको छैन । मैले दुःख पाए पनि माइतमा बस्न त पाएकी छु भनेर गर्व लाग्छ ।
अहिले भाइ प्रहरीको हवल्दार छन् । उनले आमालाई राम्रोसँग पालेका छन् । मलाई कहिलेकाहीँ ठुलो समस्या पर्यो भने उनैले हेर्छन् । म पनि मेरो पहिलेको दुःख हेरी अहिले खुसी छु । आफ्नो मनले काम गरेकी छु । जति काम गरे पनि अहिले दुःख गरे जस्तो लाग्दैन । मज्जाले छोराछोरीलाई समाज अनुसारको जमाना अनुसारको खान लाउन पुर्याएकी छु । म आफैँमा सन्तुष्ट छु । किनकि, अहिले कसैको पिटाइ खानु पर्दैन, कसैबाट यातना खप्नु पर्दैन ।
मेरो जीवन अहिले फूल जस्तो भएको छ, मेरो मन खुसी छ । कथा सुन्दा–सुनाउँदा मेरो पीडा हलुका हुँदै गएको छ ।
प्रकाशन मिति : २०८१ साउन ११ गते, शुक्रवार
कर्णाली गाथाका थप कथाहरू
- पचास रुपैयाँले मोडिएको जीवन
- मेरो सङ्घर्ष परिवारदेखि देशसम्म
- श्रीमान्सँग नबोलेको त्यो दिन
- एउटा प्रश्न
- आँट जुटाउँदै अघि बढेको जीवन
- कथा एक, भोगाइ अनेक
- सम्झना र साहस