Home Stories मैले सामन्ती जस्तो के गरेँ ?

मैले सामन्ती जस्तो के गरेँ ?

139
0

पुस्तक साभार शृङ्खला –१३

तपाईंलाई थाहै छ, ‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा प्रकाशित सो पुस्तकमा २२ जनाको जीवनभोगाइका कथा छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् । सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन र समेटिन नसकेका व्यक्तिका जीवनभोगाइलाई ‘न्यारेटिभ थेरापी’ विधिबाट उत्खनन गरिएको थियो । पछि न्याय संवाददाता बनेका द्वन्द्वपीडित महिला र उनीहरूको सहयोगमा अरू भुक्तभोगी महिलाले आफैँ कथाकार बनेर लेखेका यी भोगाइलाई महिला इतिहासमा विशिष्ट सामग्रीका रूपमा लिन सकिन्छ । पुस्तकमा कतिपय व्यक्तिका हकमा कथाकारले वास्तविक नाम र थर नै खुलाएको भए पनि सम्बन्धित व्यक्तिको गोपनीयतालाई सम्मान गर्दै कथामा व्यक्तिबोधक बोलचालको नाता, पद जस्ता नामलाई मात्र उल्लेख गरिएको छ । ‘सन्धान’ ले २०८१ जेठ २५ गतेदेखि ‘कर्णाली गाथा’ का कथालाई हरेक शुक्रबार प्रकाशन प्रसारण गर्दै आएको हो । यसै क्रममा आजको शृङ्खलामा प्रस्तुत छ, जुम्लाकी कन्यावती उपाध्यायको जीवनभोगाइले उहाँभित्र जन्माएको प्रश्न ‘मैले सामन्ती जस्तो के गरेँ ?’

म एउटा सामान्य किसान परिवारकी छोरी हुँ । म २५ जनाको परिवारमा हुर्किएकी हुँ । मेरो विवाह १३ वर्षको उमेरमा भयो । बिहे गर्दा मेरो श्रीमान्‌काे उमेर ३५ वर्ष जतिको थियो । श्रीमान्‌काे पहिलेको श्रीमतीबाट तीन जना छोरी जन्मिएका रहेछन् । तर, पहिलेकी श्रीमती रोगी भएकीले मेरो श्रीमान्‌काे मलाई चोरेर विवाह गरेका हुन् । मलाई चोर्न मेरो फुपू र भाइबुहारी पर्नेको बुवाले मेरो पोइलीघरका मान्छेलाई सघाएछन् । म रून्छे भनेर मेरो मुखमा रूमाल राखेर चोरीविवाह गरिदिएका थिए । मलाई पोइलीघर सिंजा भन्ने ठाउँमा लगिसकेपछि म रोएँ, कराएँ । मेरी फुपूको पोइलीघर पनि त्यही गाउँमा भएकाले फुपूहरूले मलाई सम्झाइबुझाइ गर्नुभयो ।

पछि माइतीमा पुर्‍याउन ल्याउँदा बुवाले ‘म बालविवाहको मुद्दा हाल्छु’ भन्नुभएको थियो । तर बुवालाई मैले नै सम्झाएँ । मेरो भाग्य यस्तै रहेछ, अब ठिकै छ भनेपछि बुवाले मुद्दा दर्ता गर्नु भएन । मैले पढ्न लेख्न पाएकी छैन । सामान्य प्रौढ कक्षा त पढ़ेँ तर अक्षर चिन्दिनँ ।

मेरो श्रीमान् त्यतिखेर गाउँको मुखिया हुनुहुन्थ्यो । बिहे गरेपछि पोइलीघरमा काम गर्दा श्रीमान्‌ले सघाउनुहुन्थ्यो । मैले यो सानी बच्चीलाई बिहे गरेर ‘हत्या सरहको पाप गरेँ’ भनी आफ्नो गल्ती स्वीकार गर्नुहुन्थ्यो । यसरी कहिले सुख, कहिले दुःख गरी दिनहरू बितिरहेका थिए । मेरो विवाह गरेको सात वर्षपछि २०४७ सालमा क्यान्सर रोगले मेरो श्रीमान्‌काे मृत्यु भयो । २० वर्षको उमेरमा म विधवा भएँ । सौता पनि श्रीमान् बितेको एक वर्षभित्रमा बित्नुभयो । मबाट सन्तान जन्मिएको थिएन । सौताका साना तीन छोरी र एक छोरा मैले नै हुर्काउनुपर्ने भयो ।

मेरो श्रीमान् गाउँको मुखिया भएको निहुँमा मलाई माओवादीले दुःख दिन थाले । २०६० सालबाट माओवादीले घरमा आएर कहिले धान, कहिले चामल त कहिले चन्दा भनेर पैसा माग्थे । उनीहरूको कार्यक्रममा जबरजस्ती लिएर जान्थे । कहिले बाटोमा ‘सेन्टी’ बसाल्थे । वल्लोपल्लो घरका सबैले तपाइँलाई त माओवादीले ‘त्यो सामन्तीकी श्रीमती हो, त्यसको श्रीमान्‌ले सामन्त गरेर कमाएको छ’ भन्छन् भनेर मलाई सुनाउँथे । भागेर माइती जाउँ जस्तो लाग्थ्यो तर माइती पनि माओवादीले दिएको दुःख खप्न नसकेर विस्थापित भएका थिए । कसैले केही गरिदिने हुन् कि, कतै म बलात्कारमा पर्ने हुँ कि भन्ने डर सधैँ लागिरहन्थ्यो ।

कुरा २०६० साल पुस ८ गतेको हो । छोरा एसएलसी दिनको लागि नेपालगन्जमा थियो । अर्को सानी छोरी पुसको भैली खेल्न मामाघर गएकी थिई । म पल्लो घरकी नौ–दस वर्षकी सानी नानीलाई साथी ल्याएर सुतेकी थिएँ । राति ९ बजेतिर भर्खर निद्रा पर्न थालेको थियो । बाहिर ढोकामा ढकढक आवाज आयो । सानी नानीले ‘ठुली ममी, कसले ढोका ढ्याकढ्याक गर्न थाल्यो’ भनी चिच्याउन थाली । मेरो सारा जिउ काँप्न थाल्यो । ढोका खोल्न जान नपाउँदै ढोका फोरेर एक हुल माओवादी भित्र आइसकेछन् । उनीहरूमध्ये केहीले मुखमा पट्टी बाँधेका थिए । मलाई ओछ्यानबाट ‘उठ् उठ्’ भन्दै पछाडिबाट एउटाले लात्तीले हानिहाल्यो । मैले पेटीकोट मात्र लगाएकी थिएँ । त्यतिकैमा एउटाले ‘तेरो आज अन्तिम दिन हो, आजसम्म जति खाइस् खाइस्, अब हिँड्’ भन्दै घिसार्न थाले । बुट लगाएका खुट्टाले उनीहरूले मलाई अगाडि पछाडि सबैतिर हान्न थाले । मलाई साथी दिन आएकी त्यो सानी नानी कताबाट फुत्किएर आफ्नो घरमा गइहालिछ ।

मलाई त्यो राति हाम्रो लुड्कु गाउँकै एक जना मान्छेको घरमा लिएर गए । अर्को एक जना मान्छेलाई पनि त्यसै दिन त्यो घरमा पुर्‍याइसकेका रहेछन् । त्यो मान्छे र मलाई वल्लोपल्लो राखेर पिट्न थाले । ‘सामन्तीकी छोरी, सामन्तीकी श्रीमती, यिनै सामन्तीका शासनलाई सखाप पार्नुपर्छ’ भन्दै पिट्थे । मैले जसोतसो आँट जुटाएर ‘तपाईंहरू विधवा महिला, टोके (टुहुरा) बच्चाहरूको लागि हामी लड्छौँ भनेर भाषण गर्ने तर म एउटा विधवा महिलालाई अपहरण गर्ने, कुट्ने, पिट्ने ?’ भनेर प्रश्न गरेँ । ‘तपाईंहरूले जे माग्यो, त्यही अन्न दिएकी त छु । तपाईंहरू धनसँग लड्ने हो कि मान्छेसँग लड्ने हो ? धनसँग लड्ने हो भने जग्गा जमिन यहीँ छ, के गर्ने इच्छा छ, त्यही गर । मान्छेसँग लड्ने भए मान्छे मरेर गइसके, मसँग के छ ? खाली उसका टुहुरा छोराछोरी मात्र छन् । मैले सामन्ती जस्तो के गरेकी छु ?’ भनेर सोधेँ । मैले यसो भनेपछि ‘बढ्ता बोल्ने रहिछ’ भनेर मलाई उभिन लगाए । हात माथि बाँधेर लौराले हिर्काए । अनि अगाडि पछाडिबाट लात्ती–लात्तीले हाने । म उभिन नसकेर भुईंमा लडेँ । त्यही घरमा ४०–५० वटा पाकेका फर्सी रहेछन् । तिनै फर्सीले मलाई हिर्काउन थाले । त्यसपछि मलाई तानेर लछारपछार गर्न थाले । मलाई ‘हिँड् बाहिर’ भनेर भन्थे । मैले ‘मार्ने भए यहीँ मार, म बाहिर जान्नँ’ भनेपछि झन् पिट्न थाले । बाहिर गएपछि मलाई बलात्कार गर्ने हुन् कि भन्ने डर थियो । त्यो रात पिटाइ खाएरै बित्यो ।

भोलिपल्ट बिहानै उनीहरूले मलाई तेल मोसो दलेर सामन्तीकी श्रीमती भनेर ढाडमा लेखेर गाउँ घुमाउने सल्लाह गरे । त्यसपछि एउटाले हात तान्ने, अरूले पछाडिबाट धकेल्ने, लात्तीले हान्ने गर्दै मलाई त्यो घरबाट बाहिर निकाले । मेरो हिँड्न नसक्ने अवस्था भइसकेको थियो । मसँगै यातना पाएको त्यो अर्को मान्छे पनि त्यस्तै अवस्थामा थियो ।

यसरी मलाई तेल मोसो दलेर घिसार्दै बन्दुकको कुन्दाले हिर्काउँदै रोकायाबाँडा भन्ने गाउँबाट सुन्नेलबाँडा लार्जा पुर्‍याए । पछि मेरो गाउँ लुड्कुको ठुलो मन्दिरमा लगेर घुमाए । त्यहाँ मेरो आफन्तलाई ‘आओ, यसको आज अन्तिम दिन हो’ भन्दै बोलाए । यसरी पाँच गाउँ डुलाउँदै, पिट्दै, घिसार्दै हाडसिंजाको मेरो देवर पर्ने मान्छेको घर नजिकै पुर्‍याए । म बेहोस भएपछि उनीहरूले मलाई त्यही ठाउँमा छोडेर भागेछन् । देवर पर्ने ती मान्छे त्यतिखेर गाउँमा रहेनछन् । मलाई त्यही घरकी महिलाले कुरेर बसिछन् । मेरो तीन दिनपछि होस आएछ । म मरे पनि मेरै घरमा मर्छु, मलाई आफ्नै घरमा छोडिदिनुहोस् भनेर बिन्ती गरेपछि आफन्त छिमेकीहरूले मलाई बोकेर मेरो घरसम्म पुर्‍याइदिए । त्यसपछि मलाई कसैले सहयोग गर्न चाहेर पनि औषधि दिन सकेनन् ।

कसैले सहयोग गरेको थाहा पाए माओवादीले तिनलाई पनि यातना दिने हुन् कि भन्ने डर थियो । खाना पकाएर दिने पनि कोही भएन । कहिले भोकै, कहिले पानी पनि खान नसकेर घरको एक कुनामा घोप्टो परेर सुतिराखेँ । उनीहरूले पिटेका चोटहरू दुख्न थाले । गाउँको एक जना मान्छेले सल्लाको रूखको खोटो लुकी लुकी ल्याइदिन थाले । त्यही खोटोलाई जिउभरि लगाई कपडाले बेरेर बाहिरबाट लुगा लगाउन थालेँ । जिल्लाबाट मानव अधिकारमा काम गर्ने व्यक्तिहरू ‘माओवादीले यहाँ दुई जनालाई यातना दिएका छन् भन्ने सुनेर आएका हौँ’ भन्दै आएका थिए । मलाई उनीहरूले धेरै कुरा सोधे । तर मलाई, माओवादी नै मानव अधिकारको नाटक गरेर आएका हुन् कि भन्ने डर लाग्यो । यदि माओवादी रहेछन् भने मैले सही कुरा बताएपछि मलाई मारेर जान्छन् भन्ने लाग्यो । त्यसैले मैले उनीहरूलाई एउटा कुरा पनि बताइनँ । उनीहरूले बाहिर अरू मान्छेसँग गफ गर्दा ‘तिनी आमालाई साह्रै पीडा छ, तर हामीलाई त्यो पीडा भन्न सक्नु भएन’ भनेर गए रे !

माओवादीले माइतमा पनि मेरो बुवालाई सामन्ती भनेर विस्थापित हुनुपर्ने बनाए । उहाँलाई पनि त्यसरी नै यातना दिएका रहेछन् । ‘मेरी विधवा छोरीलाई पानी दिने मान्छे पनि भएन’ भनेर बुवा मेरै पिरले बित्नुभयो । त्यति बेला मेरो घटना नभइदिएको भए उहाँ सायद अझै बाँच्नुहुन्थ्यो होला जस्तो लाग्छ ।

मैले छोरालाई पढाउनुपर्ला भनी दुई मुरी खेत बेचेकी थिएँ । खेत बेचेर आएको दुई लाख २० हजार रूपैयाँ माओवादी आएको दिन घरमै थियो । मेरो सौताको मुगा थियो । मुगामा एक तोला सुन राखेको थियो । श्रीमान्‌काे एक तोलाको सुनको औँठी थियो । चाँदीको बाला र कल्ली थियो । त्यो सबै माओवादीले लगेछन् । त्यो घटनाले गर्दा छोराको भविष्य बिग्रियो ।

मेरो अवस्था देखेर पनि छोराले पढाइ अधुरै छोड्यो । अहिले छोराले विवाह गरेको छ । अलिअलि भएको जग्गा बेचेर बुहारीले नेपालगन्जमा सानो होटल व्यवसाय चलाउँछिन् ।

अहिले म भारी बोक्न सक्दिनँ । ढुङ्गा, गिट्टी, रोडा बसी–बसी फुटाल्ने काम गर्छु । यस्तै काम गरी आएको पैसाले घर खर्च चलाउने गरेकी छु । माइतीले सानोतिनो सहयोग गर्नुहुन्छ । एक दुई समूहमा बचत गरेकी छु । कहिले आवश्यक परे खर्च गरौँला भनेर ऋण निकालेकी छैनँ । समूहमा बसे मन रमाइलो हुन्छ तर घरमा आएपछि फेरि त्यस्तै त हो नि एक्लै बस्नुपर्छ ।

विगतको कुरा मनमा बल्झिन्छ । ती पिटेका घाउले हरेक काम गर्दा जिउ दुख्ने, खुट्टा दुख्ने, टाउको दुख्ने हुन्छ । विनाकारण यसरी माओवादीले मलाई आधा जिउको मान्छे बनाए । यसको उपचार गरिदिएको भए मलाई न्याय हुने थियो । त्यतिखेर लुटिएको पैसा, सुनचाँदी फिर्ता गरिदिए हुन्थ्यो । छोरालाई योग्यता अनुसारको रोजगारको व्यवस्था, मलाई सानोतिनो व्यवसाय गर्नको लागि सहयोग भए हुन्थ्यो ।

अहिले म ५२ वर्षकी भएँ । मैले शान्ति समितिमा र सत्य निरूपण तथा मेलमिलाप आयोगमा उजुरी पनि दिएँ । त्यसको सुनुवाइ आजसम्म केही भएको छैन । मलाई त्यतिखेर यातना दिने एक–दुई जना कहिलेकाहिँ यतै हिँडेको देख्छु । उनीहरूलाई मेरो सामु ल्याएर ‘त्यति बेला हामीले जानेनौँ, तपाईंलाई यातना दियौँ’ भनी माफी माग्न लगाए भने म बुढीले अलिकति भए पनि न्याय पाएको अनुभव गर्ने थिएँ । मैले त्यति बेला पाएको पीडाको न्याय कसले देला र कहाँ गए न्याय पाइएला भन्दै यो मन भौँतारिरहन्छ ।

प्रकाशन मिति : २०८१ भदाै १४ गते, शुक्रवार

कर्णाली गाथाका थप कथाहरू