Home Stories सेतो देखी डर लाग्छ

सेतो देखी डर लाग्छ

99
0

पुस्तक साभार शृङ्खला –१

‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा प्रकाशित सो पुस्तकमा २२ जनाको जीवनभोगाइका कथा छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् । सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन र समेटिन नसकेका व्यक्तिका जीवनभोगाइलाई ‘न्यारेटिभ थेरापी’ विधिबाट उत्खनन गरिएको थियो । पछि न्याय संवाददाता बनेका द्वन्द्वपीडित महिलाका र उनीहरूको सहयोगमा अरू भुक्तभोगी महिलाले आफैँ लेखेका यी भोगाइलाई महिला इतिहासमा विशिष्ट सामग्रीका रूपमा लिन सकिन्छ । पुस्तकमा कतिपय व्यक्तिका हकमा कथाकारले वास्तविक नाम र थर नै खुलाएको भए पनि सम्बन्धित व्यक्तिको गोपनीयतालाई सम्मान गर्दै कथामा व्यक्तिबोधक बोलचालको नाता, पद जस्ता नामलाई मात्र उल्लेख गरिएको छ । ‘सन्धान’ ले २०८१ जेठ २५ गतेदेखि ‘कर्णाली गाथा’ का कथालाई हरेक शुक्रबार प्रकाशन प्रसारण गर्दै आएको यहाँलाई थाहै छ । यसै क्रममा आजको शृङ्खलामा प्रस्तुत छ, दैलेखकी महेन्द्रकुमारी खड्काको ‘सेतो देखी डर लाग्छ’ शीर्षकको आत्मकथा ।

मेरो कान्छो छोराले ‘मेरो बुवा खोइ ?’ भनेर सोधिरहन्थ्यो । ‘हाम्रो अङ्कल त बाँच्नु भा छ, बुवालाई किन मारेको ? म भएको भए मेरो बुवालाई मार्न दिँदैन थिएँ’ जस्ता कुरा गरिरहन्थ्यो । छोराले ‘बुवा मरेर भगवान् हुनुभा छ रे, म पनि मर्छु अनि भगवान् भएर बुवालाई भेट्छु ।’ भन्दा मलाई निकै पीडा हुन्थ्यो । अनि मैले ‘तिम्रो बुवा विदेश जानु भा छ, मर्नु भा छैन’ भनेर छोरासँग झुठ बोल्न थालेँ । तर, त्यो अबोध बालकलाई के थाहा ? उसले मसँग बुवाको नम्बर माग्न थाल्यो र ‘म बुवालाई फोन गर्छु । खाना खानुभयो कि नाइ भनेर सोध्छु’ भन्न थाल्यो ।

छोराहरूसँग बोल्ने मसँग कुनै शब्द थिएन । त्यति बेला जेठो छोराले मसँग केही नभने तापनि भाइसँग कुरा गरेको सुन्थेँ । उसले भाइसँग ‘बुवा भएको भए म काठमाडौँ पढ्न जान पर्दैनथ्यो । बुवा भएको भए हामीलाई बाइक किनिदिनुहुन्थ्यो होला, हामी पनि अरू जस्तै बुवासँग घुम्न जान्थिम् होला है ?’ भनेर कुरा गथ्र्यो । यस्तो कुरा सुन्दा म निकै रुन्थेँ र भित्रभित्रै पिर लिइरहन्थेँ । आजभोलि त छोराहरू पनि ठुला भइसके । कुरा बुझ्ने भइसके ।

मेरो जन्म २०३७ साल चैत १५ गते दैलेख रावतकोट–६ मा भएको हो । मलाई पढ्न, लेख्न, साथीहरूसँग खेल्न मन पथ्र्यो । १९ वर्ष नपुग्दै मेरो बिहे भयो । जिल्ला एउटै भए पनि मेरो बिहे भएको घर मेरो माइतीघरबाट धेरै टाढा थियो ।

मलाई सुरुसुरुमा घरव्यवहार धान्न गाह्रो हुन्थ्यो । रातिको ३–४ बजे नै उठेर घाँस, दाउरा, मेलापात जानुपर्ने जिम्मेवारी मैमाथि थियो । मलाई बिहेपछि पनि पढ्न मन थियो । श्रीमान्‌ले पढाउन मान्नु भएन । घरमा ‘उनले पढेर के गर्ने हो र ? म पढिहाल्छु’ भन्नुहुन्थ्यो । उहाँलाई म पढेपछि बाठी हुन्छु कि भन्ने पनि डर थियो होला !

मेरो बिहे भएको तीन महिना नपुग्दै श्रीमान् नेपाल प्रहरीमा भर्ती हुनुभयो । ‘म कमाउँछु, तिमी घरव्यवहार सम्हाल’ भन्नुहुन्थ्यो । उहाँको पोष्टिङ नेपालगन्जमा थियो । म पनि पछि उतै गएँ । दुई छोरासहित म श्रीमान्‌सँग नेपालगन्जमा भाडामा बस्न थालेँ । दिनहरू रमाइलै बितिरहेका थिए । तर, हाम्रो हाँसीखुसी केही समयको पाहुना जस्तो भइदियो ।

म खाना पकाएर श्रीमान्‌लाई कुरिरहेकी थिएँ । त्यो २०६० साल फागुन २७ गतेका दिन थियो । त्यति बेला मेरो श्रीमान् नेपालगन्ज त्रिभुवनचोकको प्रहरी पोस्टमा ड्युटी गर्नुहुन्थ्यो । उहाँ सधैँ साँझ ५ बजे खाना खान आउनुहुन्थ्यो तर त्यो दिन आउनु भएन । साँझ ५ बजेतिर नै माओवादीहरूले मेरो श्रीमान्‌लगायत ड्युटीमा बसेका अन्य तीन जना प्रहरीलाई लुकिछिपी गोली हानेछन् । केही बेरपछि घरबेटीले ‘हजुरको श्रीमान् कहाँ हुनुहुन्छ ? उहाँ त घटनामा पर्नुभयो रे भन्ने खबर सुनेँ’ भन्नुभयो ।

म आत्तिँदै एक जना बच्चा काख र अर्को हातमा गर्दै इलाका प्रहरी कार्यालय पुगेँ । त्यहाँ गएर ‘मेरो श्रीमान् खोइ ?’ भनी सोध्दा सबैले ‘यहीँ हुनहुन्छ, केही भा छैन’ भनेर मलाई सान्त्वना दिए । मेरो मनले मानेन । मैले ‘कहाँ हुनुहुन्छ ? म त्यहीँ जान्छु’ भनेँ । सबैले ‘अस्पतालमा हुनुहुन्छ’ भनेर मलाई कोठामा लगेर सम्झाउन लागे । मैले कुरा बुझिहालेँ । म त्यहीँ बेहोस भएछु । त्यति बेला अब मेरो कोही छैन जस्तो लाग्यो ।

भोलिपल्ट मैले नाता पर्ने ससुरासँग कुरा गरेँ र श्रीमान्‌काे लास दैलेख लैजाने निर्णय गरेँ । तर, दैलेखमा द्वन्द्व निकै चर्किएको थियो । मेरो श्रीमान्‌काे दाहसंस्कार गर्न दैलेख लग्दा अफ्ठ्यारो हुनसक्ने भनेर लास दैलेख लान दिइएन । त्यसैले सुर्खेतको भेरीमै दाहसंस्कार गरिम् । माओवादीले मलाई काजकिरिया गर्न पनि दिँदैन भन्थे तर मैले कसैको कुरा नसुनी जसोतसो काजकिरिया भने दैलेखमै गरेँ । द्वन्द्वको कारण त्यहाँ बस्ने अवस्था थिएन । त्यसैले म १३ दिन पुगेपछि सुर्खेतमा आएर भाडामा बस्न थालेँ ।

श्रीमान्‌काे हत्यासँगै परिवारले मलाई विभिन्न किसिमका आरोप लगाउन थाले । ‘छोरा त मरिहाल्यो, अब छोराको पैसामा ऐसा गर्ने भई’ भन्ने जस्ता कुराहरू सुन्नुपथ्र्यो । ‘एक छोरा लगेर कतै गइदे नि हुने’ पनि भन्थे । मेरा माइला जेठाजुले भने मलाई निकै मद्दत गर्नुभयो । श्रीमान्‌काे घटनापछि सरकारले साढे सात लाख रुपैयाँ राहत उपलब्ध गराएको थियो । त्यो रकम प्राप्त गर्न पनि जेठाजुले सहयोग गर्नुभयो । पाएको राहतमा एक लाख रुपैयाँ हालेर एउटा घर किनेँ । म र मेरा छोराहरू त्यही घरमा बस्न थालिम् । घरको माया नपाए पनि मेरा छोराहरूले मामाघरको धेरै माया पाए ।

मेरा केही साथी र आफन्तहरूले मलाई ‘जिन्दगी लामो छ, अर्को बिहे गर’ भन्ने गर्थे । तर मलाई श्रीमान्‌काे काजकिरिया गर्दा लगाएको सेतो कपडाको याद आउँथ्यो । सेतो कपडा देखी डर लाग्थ्यो । बिहे गरेर पनि मैले फेरि सेतै लगाउन पर्यो भने… भन्ने डरले मलाई अर्को बिहे गर्न आँट आएन । मैले बच्चाहरू सम्झँदै आफ्नो व्यवहार गर्दै गएँ ।

सरकारले द्वन्द्वपीडितका छोराछोरीलाई पढाउने व्यवस्था गरेको थियो । मेरो आर्थिक अवस्था राम्रो नभएको कारण राम्रो शिक्षा हासिल गर्ला भनेर मैले पनि ठुलो छोरालाई काठमाडौँ पठाएँ । तर, त्यहाँ हरियो सागपात र पौष्टिक तत्वको कमीका कारण छोराले आँखा कम देख्न थालेछ । आठ कक्षा पढ्दापढ्दै मैले छोरालाई सुर्खेतमा ल्याएर उपचार गरेँ र यतै पढाउन थालेँ । मैले एक्लै सङ्घर्ष गरेर श्रीमान्‌काे पेन्सन र घरभाडाले घरखर्च चलाएँ र छोराहरू पढाएँ । छोराहरू जति धेरै कक्षा चढे, खर्च पनि त्यति नै बढ्न थाल्यो । अहिले कान्छो छोराले होटल म्यानेजमेन्ट पढ्छु भनेको छ । धेरै खर्च लाग्ने भएर मैले पढाउन सकेकी छैनँ । पेन्सन र आएको घरभाडाले जीवन धान्न धौधौ हुन्छ ।

द्वन्द्वपीडितको लागि काम गर्ने संस्थाले मलाई सिलाइकटाइको तालिम पनि दिएको थियो । तर मेरो गोडा दुख्ने समस्याको कारण त्यो तालिमलाई उपयोगमा ल्याउन सकिनँ । सरकारले मेरो स्वास्थ्य उपचार, छोराहरूको पढाइखर्च र रोजगारीको व्यवस्था गरिदिए केही न्याय पाएको अनुभव हुन्थ्यो ।

श्रीमान्‌ले प्रहरीको जागिर गर्दा माओवादीले धम्की दिई ‘जागिर छोड्’ भन्थे । अहिले सोच्दा लाग्छ, त्यतिखेर उनीहरूले भनेको मानेर श्रीमान्‌ले जागिर छोडेको भए अहिले हामी सँगै हुन्थ्यौँ होला । एकल महिला भएर यो समाजमा बाँच्न धेरै गाह्रो हुने रहेछ । तर, छोराहरू र माइतीको सहयोगको कारण मलाई हौसला मिल्छ ।

प्रकाशन मिति : २०८१ असाेज १८ गते, शुक्रवार

कर्णाली गाथाका थप कथाहरू