नगरपालिकाभित्र परेर पनि एम्बुलेन्स सेवासमेत सहज र सुलभ नभएको ठाउँ हो डुम्रिबोट । यो ठाउँ रामेछाप नगरपालिका वडा नम्बर ८ मा पर्छ । रामेछाप जिल्ला र बागमती प्रदेशमा पर्ने यो ठाउँमा दलित समुदायको बसोबास छ । यहाँका बासिन्दा वषौँदेखि विकासका पूर्वाधारबाट टाढा छन् । यहाँ पुग्नका लागि मोटरबाटो खनिएको भए पनि नियमित सवारी साधनको आउजाउ छैन । भिरालो जमिन भएकाले बर्खामा पहिरो जान्छ, बाटो पनि भत्किन्छ । पहिरो सफा गर्यो भने हिउँदमा पनि बल्लतल्ल अटो अथवा बोलेरो गाडी मात्रै चल्छ । महँगो एम्बुलेन्स पनि आउजाउ गर्न सक्दैन । २०८१ असोजको भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर बाटो झनै बिग्रियो । वडा नम्बर ८ की स्थानीयवासी तथा वडा सदस्य मीना मगरातीले भन्नुभयो, “असोज दोस्रो साता आएको पानीले ठाउँठाउँमा पहिरो गएर बाटो छैन, म बिरामी भएर रामेछाप बजारमा रहेको अस्पताल छु, यहाँ आउँदा मन्थली झरेर गाडी चढेर आएँ, हिउँदमा अटोहरू चले पनि पानी परेपछि चल्दैन ।”
डुम्रिबोटबाट विद्यालय पुग्न पनि एक–डेढ घण्टाको उकालो हिँड्नुपर्छ । जङ्गलैजङ्गलको लामो बाटो छ । जङ्गली जनावरको त्रासका कारण बालबालिकालाई विद्यालय पुर्याउन र लिन अभिभावक नै जानेआउने गर्छन् । दैनिक उकालोओरालो हिँड्नुपर्ने भएकाले बालबालिका दैनिक विद्यालय जान मन गर्दैनन् । स्थानीय महिलाहरूका अनुसार, सानालाई बिहानबेलुकै बोकेर स्कुल लग्ने र ल्याउने गर्नुपर्छ । छोराछोरी बोकेर स्कुल पुर्याउने काम प्रायः आमाहरूले गरेको देखिन्छ । भुक्तभोगी महिलाहरूको भनाइमा बच्चा बोकेर फटाफट हिँड्न सकिँदैन, अलि ठुला बच्चाहरूको झोला पनि बोकिदिनुपर्छ । यसैले बिहान ८ बजेतिरै हिँड्नुपर्छ, दिउँसो पनि बच्चा लिन ३ बजेपछि घरबाट निस्किनैपर्छ । त्यही भएर साना छोराछोरी भएका महिलाहरूको कामको बोझ बढेको छ । खानेपानीको अभावले पनि आफूहरूमाथि नै कामको बोझ थपिएको उनीहरूको अनुभव छ । घरमा धारो त छ तर पानी एक सिजनमा मात्रै आउँछ, धेरै महिना त एकडेढ घण्टाको बाटो हिँडेर खोलाको पानी बोक्नुपर्छ । पानीको सख्त अभाव भएपछि गाईवस्तु पाल्न पनि कठिन भएको महिलाहरूको भनाइ थियो ।
खानेपानी र विद्यालयको मात्रै समस्या होइन, अकस्मात् कोही बिरामी पर्यो भने एम्बुलेन्स आइपुग्ने बाटो नभएकाले बोकेरै लग्नुपर्ने अवस्था छ । स्थानीय सुनमाया बस्यालले पनि भन्नुभयो, “कोही अपर्झट बिरामी पर्यो भने उपचारका लागि घण्टौँ हिँडेर अस्पताल पुग्नुपर्छ ।” उहाँका अनुसार, हिउँदमा बोलाउँदा आउने गाडी पनि पाइन्छन् तर तिनको भाडा तिर्नै नसक्ने महँगो हुन्छ ।
स्थानीय महिलाहरूका अनुसार, डुम्रिबोटवासीको आर्थिक अवस्था कमजोर छ । कमाइ खाने खेतबारी कम छ । लगाएको अन्नबाली पनि बाँदरले खाइदिन्छ । स्थानीयवासीको जीविकोपार्जनको बाटो भनेको बाख्रा र कुखुरापालन हो । अब त त्यो काम पनि गर्न सक्ने जतिले गाउँ छोडेर हिँडिसकेको र कतिपयले बसाइँ नै सरेर गइसकेको महिलाहरूले बताए ।
शिक्षा, स्वास्थ्य, खानेपानी र मोटरबाटो जस्ता विकासका पूर्वाधार नहुँदाको समस्या डुम्रिबोटका स्थानीयवासीले दैनिक भोगिरहेका पाइयो । समस्याको अत्यधिक भार खेपिरहेका महिलाहरूमा सामूहिक छलफलका बेला नेतृत्वप्रतिको आक्रोश पनि देखिन्थ्यो । फुलमाया मगरातीले भन्नुभयो, “चुनावका बेला नेताहरू आएर बाटोघाटो, पानीको सुविधा दिन्छौँ भनेर जान्छन् तर चुनावपछि फर्केर आउँदैनन् ।” यसैले अधिकांश महिलाले आफूहरूको अभाव र समस्यापूर्ण दैनिकीलाई सरकारसमक्ष पुर्याइदिन आग्रह पनि गरेका थिए ।
‘सन्धान’ टोली २०७९ कात्तिकमा रामेछापका विभिन्न ठाउँमा स्थलगत रिपोर्टिङका लागि जाने क्रममा डुम्रिबोट पुगेको थियो । वडा सदस्य मीनाको समन्वयमा उक्त बस्तीका महिलाहरूसँग छलफल पनि गरेको थियो । करिब दुई वर्षअघि छलफलमा दर्साइएको त्यो अवस्था हिजोआज पनि उस्तै रहेको मीनाले बताउनुभयो । सो छलफलमा सुभद्रा विक, सुनमाया बस्याल, फुलमाया मगराती, भुमा बस्याल, पार्वती बस्याल, पूर्णमाया बस्याल सहभागी हुुनुहुन्थ्यो । उहाँहरूसँग आ–आफ्ना दिनचर्याका साथै अनुभव र जीवनभोगाइलाई बताइदिन अनुरोध गरिएको थियो । प्रस्तुत छ, डुम्रिबोटका महिलाहरूसँग ‘सन्धान’ का तर्फबाट गार्डिका बज्राचार्य, मुकुन्द बोगटी र समीक्षा गाहाले तयार गर्नुभएको सोही छलफलको भिडियो अंश :