Home Opinion महँगो राजनीतिले महिलालाई अप्ठ्यारो पारिरहेको छ (भिडियो सहित) – विभा ठाकुर

महँगो राजनीतिले महिलालाई अप्ठ्यारो पारिरहेको छ (भिडियो सहित) – विभा ठाकुर

623
0

सन्दर्भ : संसदीय निर्वाचन २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि २०७९ साल मङ्सिर ४ गते निर्वाचन हुँदैछ । निर्वाचन आउन अब ३२ दिन बाँकी छ । आगामी निर्वाचनमा प्रत्यक्षतर्फ १० प्रतिशतको हाराहारीमा मात्रै महिलाहरूको उम्मेदवारी परेको छ । अहिलेका ठुला सबैजसो पार्टीमा स्थापनाकालदेखि नै महिलाहरूको योगदान र सहभागिता रहँदै आएको छ ।

संसदीय निर्वाचनकै कुरा गर्ने हो भने २०१५ सालमै एक जना महिला सांसद निर्वाचित भएको इतिहास छ । ‘नेपाल अधिराज्यको संविधान, २०१५’ अनुसार २०१५ साल फागुन ७ गते १०९ वटा निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा द्वारिकादेवी ठकुरानी निर्वाचित हुनुभएको थियो । निर्वाचन क्षेत्र नम्बर ६६ डडेल्धुराबाट नेपाली कांग्रेसको उम्मेदवार बन्नुभएकी द्वारिकादेवीले तीन हजार ९०३ मत पाएर निर्वाचित हुनुभएको थियो । यसअनुसार २०१५ सालको संसदीय निर्वाचनमा झण्डै एक प्रतिशत (०.९१ प्रतिशत) महिला निर्वाचित भएको देखिन्छ । संघीय संसद सचिवालयबाट प्रकाशित ‘संसदमा महिला सहभागिता २०१५–२०७४’ पुस्तिकामा द्वारिकादेवी २०१५ फागुन १६ गते निर्वाचित भएको उल्लेख छ । उहाँ नेपालकै पहिलो महिला मन्त्री पनि बन्नुभयो ।

एक प्रतिशतभन्दा कम महिला निर्वाचित भएको २०१५ सालदेखि अहिले २०७९ सालसम्म आइपुग्दा उम्मेदवार महिलाको सङ्ख्या बल्ल १० प्रतिशतको हाराहारीमा पुगेको छ । यसमा स्वतन्त्र उम्मेदवारी दिएका महिला समेत रहेका छन् । ठुला भनिएका राजनीतिक पार्टीहरूका महिला उम्मेदवार कम छन् । यसमा नेकपा एमालेबाट ११, नेकपा माओवादी केन्द्रबाट सात, नेपाली कांग्रेसबाट पाँच, नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक एक जना गरी २५ जना मात्रै छन् । तराई मधेसका जनताको अधिकारका लागि स्थापना भएको भनिएका मधेस केन्द्रित ठुला दलहरूले त झन् प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार नै बनाएका छैनन् ।

राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका हरेक आन्दोलनहरूमा महिलाहरू अग्रमोर्चामै रहँदै आएका छन् । तर, मुख्य–मुख्य पदहरूका लागि होस् वा प्रत्यक्ष निर्वाचनमा उम्मेदवार चयन गर्ने बेलामा होस् महिलाहरूलाई सकेसम्म पन्छाइएको पाइन्छ । राजनीतिकर्मी महिलाहरूको साझा गुनासो छ– नेतृत्वले महिलालाई अवसर नै दिँदैन । कहिले गठबन्धनको नाममा त कहिले ‘जित्ने उम्मेदवारलाई उठाउने नीति’ भन्ने जस्ता बहानामा महिलाहरूलाई वञ्चितीमा पार्ने गरिएको छ । यसैले निर्वाचनमा कमै मात्र महिलाहरू उम्मेदवारका रूपमा देखिन्छन् । गणतन्त्र आइसकेपछि दुई वटा स्थानीय निर्वाचन भए । २०७४ र २०७९ सालमा भएका ती निर्वाचनमा पनि एकदमै कम मात्र महिलाले प्रमुख पदमा उम्मेदवारी दिन पाए । महिला राजनीतिकर्मीप्रति राजनीतिक नेतृत्वले गर्ने यस खालको विभेद र अन्यायपूर्ण व्यवहार कहिलेसम्म ? ‘सन्धान’ ले यही मूल प्रश्नसहित पुराना राजनीतिज्ञ महिलाहरूको अनुभव र पार्टी एवं राजनीतिक सामाजिक आन्दोलनहरूमा महिलाको योगदानलाई प्रस्तुत गर्न थालेको छ । यसै सन्दर्भमा आज हामीसँग हुनुहुन्छ, धनुषा जिल्लाकी विभा ठाकुर ।

विभा ठाकुर मधेस आन्दोलनको बेला अग्रणी भूमिकामा रहनुभएकी एक नेता हुनुहुन्छ । उहाँ २०५१ सालदेखि नै राजनीतिमा लाग्नुभएको थियो । उहाँका अनुसार, मधेसी समुदायको भएकै कारण राज्यले विभेद गरिरहेको छ भन्ने सोच आएपछि विभेदमा पर्दै आएका मधेसी जनताका लागि आफूले पनि केही गर्नुपर्छ भन्ने लाग्यो । विभेद हटाउने सोचलाई व्यवहारमा ल्याउने बाटो खोज्दै उहाँ तत्कालीन नेपाल सद्भावना पार्टीका अध्यक्ष गजेन्द्र नारायण सिंहसँग नजिकिनुभयो । उहाँले २०५१ सालमा सोही पार्टीमा लागेर पार्टी राजनीति गर्न थाल्नुभयो । अहिले उहाँ तराई मधेसकै फरक पार्टीमा आबद्ध हुनुहुन्छ ।

विभा ठाकुर तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) की केन्द्रीय सदस्यको हैसियतमा हुनुहुन्छ । ‘सन्धान’ ले उहाँसँग तराई मधेसको राजनीति, त्यो राजनीतिभित्र महिलाको स्थान र भूमिका, महँगो हुँदै गएको चुनावी गतिविधिकै कारण राजनीतिकर्मी महिलाहरूलाई परिरहेको अप्ठ्यारो आदिका बारेमा कुराकानी गरेको छ । साथै, तराई मधेसका महिलाको अवस्थाका बारेमा पनि उहाँसँग कुराकानी गरिएको छ । प्रस्तुत छ, विभा ठाकुरसँग ‘सन्धान’ का तर्फबाट मुकुन्द बोगटीसमीक्षा गाहाले हालै जनकपुरमा भेटेर गरेको कुराकानी :

भिडियाे हेर्न क्लिक गर्नुहाेस्

नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू

सन्धान प्रकाशन मिति : २०७९ कात्तिक ३ गते, बिहीवार


Previous articleअरूले देख्छ भनेर राति चित्र बनाउँथेँ –मधुमाला मण्डल
Next articleपहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी