महिला असफल होऊन् भनेर हेरिराख्नेहरू पनि छन्

सन्धान संवाद शृङ्खला–१८

विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित स्थानीय सरकार प्रमुखहरूमध्ये एक हुनुहुन्थ्यो, चन्द्रकुमारी पुन । उहाँ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिकाको पहिलो नगरप्रमुख (मेयर) हुनुभएको थियो ।

विसं २०७२ असोज ३ मा नेपालको संविधान जारी भएसँगै मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरित भयो । नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहने गरी नयाँ संविधान जारी भएको १७ महिनापछि २०७३ फागुन ९ मा स्थानीय तह निर्वाचनको मिति घोषणा गरियो । मिति घोषणा गरिँदा २०७४ वैशाख ३१ गते मुलुकभर एकै चरणमा निर्वाचन सम्पन्न गर्ने भनियो ।

विविध कारणले एकै चरणमा निर्वाचन हुन सकेन । २०७४ साल वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा निर्वाचन भयो । पहिलो चरणमा साबिक प्रदेश नं. ३ (पछि बागमती प्रदेश नामकरण), प्रदेश नं. ४ (पछि गण्डकी प्रदेश नामकरण) र प्रदेश नं. ६ (पछि कर्णाली प्रदेश नामकरण) का ३४ जिल्लाका २८३ स्थानीय निकायका लागि निर्वाचन भयो । दोस्रो चरणमा साबिक प्रदेश नं. १ (पछि कोशी प्रदेश नामकरण), प्रदेश नं. ५ (पछि लुम्बिनी प्रदेश नामकरण) र प्रदेश नं. ७ (पछि सुदूरपश्चिम प्रदेश नामकरण) का ३५ जिल्लाका ३३४ स्थानीय निकायका लागि निर्वाचन भयो । यस्तै, तेस्रो चरणमा साबिक प्रदेश नं. २ (पछि मधेश प्रदेश नामकरण) का आठ जिल्लाका १३६ स्थानीय निकायका निर्वाचन भयो । यसरी तीन चरणमा गरी कुल ७५३ स्थानीय तहका लागि निर्वाचन सम्पन्न भयो ।

स्थानीय तह निर्वाचनमा ७४.१६ प्रतिशत मतदाताले मतदान गरे । ३५ हजार ४१ स्थानीय प्रतिनिधिको छनोट भयो । मुलुक सङ्घीयतामा गइसकेपछिको स्थानीय तहको पहिलो कार्यकाल २०७४–२०७९ मा गाउँपालिका अध्यक्षका हैसियतले ११ र नगरपालिका प्रमुखका हैसियतले सात गरी कुल १८ महिलाले पालिकाको नेतृत्व गर्ने अवसर पाए ।

नेपालकै पहिलो निर्वाचन भने २००४ जेठ २९ गते भएको थियो । काठमाडौं म्यूनिसिपलिटीको उक्त निर्वाचनमा महिलाहरूले उम्मेदवारी दिन त के भोट खसाल्न पनि पाएका थिएनन् । महिलाहरूलाई मताधिकार नै दिइएको थिएन । देशकै पहिलो निर्वाचन भएको छ वर्षपछि २०१० सालमा अर्को निर्वाचन भयो । त्यस निर्वाचनमा महिलाहरूले मताधिकार मात्र नभएर उम्मेदवारीको अधिकारसमेत पाए ।

महिलाले यस्तो अधिकार पाएको साढे छ दशक हुनै लाग्दा २०७४ सालमा भएको स्थानीय निर्वाचनमा त ५७ हजार ८४३ महिला चुनावी मैदानमा नै उत्रिए । तीमध्ये १४ हजार ३५१ महिला पालिकाका विभिन्न पदहरूमा निर्वाचित पनि भए ।

स्थानीय तह निर्वाचन २०७४ बाट महिलाले कुल प्रतिनिधित्वको ४०.९५ प्रतिशत हिस्सा प्राप्त गरे । यत्तिको प्रतिनिधित्व वैधानिक प्रावधानको कारण सम्भव भएको थियो । त्यति हुँदाहुँदै पनि बिर्सन नहुने कुरो के रह्यो भने महिलाहरूले पाउनुपर्ने जति महत्त्व र अधिकार अझै पाएका थिएनन् ।

देशका कुल ७५३ स्थानीय तहका प्रमुख/अध्यक्ष पदका लागि भएको निर्वाचनमा सात महिला नगरपालिका प्रमुखमा र ११ महिला गाउँपालिका अध्यक्षमा निर्वाचित भए । यसरी जम्मा १८ महिलाले मात्र पालिका प्रमुख वा अध्यक्षमा निर्वाचित भएर स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाए ।

‘स्थानीय तह निर्वाचन ऐन, २०७३’ मा दफा १७ को उपदफा ४ मा उम्मेदवारको मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान छ । त्यतिबेला पालिकाको उपप्रमुख/उपाध्यक्ष पद महिलाकै लागि तोकिए जस्तो गरी उम्मेदवारी थमाइएको थियो ।

समग्रमा ५० प्रतिशतको परिणाम भने महिलाको हातमा परेन । कुल एक हजार ५०६ स्थानमा पुरुष ७८८ हुँदा महिला ७१८ जना मात्र विजयी भए । महिलाको सम्भाव्य प्रतिनिधित्व पनि ३५ स्थानले कम हुन पुग्यो । यसले महिलालाई न्याय नभएको स्पष्टै देखायो । त्यस्तो अवस्थामा पनि पालिकाको नेतृत्वमा उम्मेदवार बनेर निर्वाचित हुन पुगेका १८ महिलाहरू सामान्य पक्कै थिएनन् ।

कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा निर्वाचित भएर पालिका हाँकेका सारथी महिलाहरूमध्ये चन्द्रकुमारी पुन साबिक प्रदेश नम्बर ४ स्थित नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिका प्रमुख निर्वाचित हुनुभयो । २०७५ असार २२ मा गण्डकी प्रदेश नाम राखिएको उक्त प्रदेशबाट नगरपालिका प्रमुखमा दुई र गाउँपालिका अध्यक्षमा चार गरी छ जना महिला निर्वाचित भए । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिका प्रमुख र हुप्सेकोट गाउँपालिका अध्यक्षमा महिला निर्वाचित भए ।

कावासोती नगरपालिका प्रमुख पदका लागि भएको निर्वाचनमा एक महिलासहित नौ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चुनावी मैदानमा उत्रिएकी चन्द्रकुमारी १३ हजार ४१ मत प्राप्त गरी विजयी हुनुभयो । १८ हजार ७० महिला, २० हजार ८५७ पुरुष र दुई तेस्रो लिङ्गी गरी कुल ३८ हजार ९२९ मतदाता रहेको कावासोती नगरपालिकामा ३० हजार १८० मत खसेको थियो । खसेकामध्ये सदर मत सङ्ख्या २९ हजार ८९३ थियो ।

माग्दी जिल्लाको तत्कालीन राम्चे गाउँ पञ्चायत वडा नं. २ मा २०१७ असार ११ मा जन्मिएकी चन्द्रकुमारी २०३४ सालमा परिवारसहित कावासोतीमा बसाइँसराइ गरेर आउनुभयो । हाल उहाँ कावासोती नगरपालिका वडा नं. ३ मा बसोबास गर्दै आउनुभएको छ ।

चन्द्रकुमारीका अनुसार, जन्मथलोबाट बसाइँ सरेर आएपछि २०३७ सालको राष्ट्रिय जनमत सङ्ग्रहको दौरान उहाँलाई पनि राजनीतिले छोयो । उहाँले २०३७ सालको अन्त्यतिर तत्कालीन नेकपा मालेमा आबद्ध भई राजनीतिक जीवन सुरु गर्नुभयो । उहाँले भूमिगत भएर राजनीति गर्नुपर्ने समयमा महिला सङ्गठनमा रहेर काम गर्नुभयो । २०४३ सालमा अखिल नेपाल महिला संघको (अनेमसंघ) जिल्ला (तत्कालीन नवलपरासी) को उपाध्यक्ष र २०४८ सालमा अध्यक्ष बन्नुभयो ।

साथै, अनेमसंघको तीन वर्षको कार्यकाल हुँदा लगातार तीन कार्यकालको अध्यक्ष भएर काम गर्नुभयो । २०५४ सालमा उहाँ तत्कालीन जिल्ला विकास समितिमा एमालेको तर्फबाट मनोनीत सदस्य हुनुभयो । पार्टीका विभिन्न भ्रातृ सङ्गठनमा रहँदै आएकी चन्द्रकुमारीले जिल्लामा महिला जागरण नामक संस्था स्थापना गरेर महिलाहरूको हकअधिकार र महिला जागरणको कामलाई सँगसँगै अगाडि बढाउनुभयो ।

नगरपालिका प्रमुखमा निर्वाचित भएपछि जिम्मेवारी निर्वाहनको पाटो त्यति सहज थिएन । नयाँ शासकीय स्वरूप, नयाँ अभ्यास, वैधानिक तथा भौतिक पूर्वाधारहरूको अपर्याप्तता/अभाव जस्ता कारणले सबै पालिकामा एक प्रकारको अन्योल थियो । त्यस्तो बेला पुरुषहरूकै बाहुल्य रहेको संरचनामा नवनिर्वाचित प्रमुख/अध्यक्ष बनी नेतृत्वदायी भूमिका निर्वाह गर्नु महिलाका लागि झनै चुनौतीपूर्ण थियो । नागरिकका अपेक्षा चुलिएका थिए । उहाँका सामु पनि चुनौतीका पहाड खडा थिए ।

विभिन्न चुनौतीका बिचमा प्रश्नहरू पनि उठ्ने नै भए । नगरपालिका प्रमुखको जिम्मेवारी निर्वाह गरी दायित्व पूरा गर्दाको चन्द्रकुमारीको अनुभव कस्तो रह्यो त ? विशेष गरी उहाँको नेतृत्वमा पालिकाले हासिल गरेका उपलब्धि के थिए ? उहाँको नेतृत्वशैली, बाधाअवरोध पन्छाउने उपाय के कस्ता थिए ? आफूले आफ्नो कार्यकाल र आफैँलाई फर्किएर हेर्दा उहाँले के पाउनुभयो ? भावी जनप्रतिनिधिलाई उहाँका सुझाव के के थिए ?

पालिकाका सारथीहरूसँग यिनै प्रश्नहरूको जवाफ खोतल्ने क्रममा विसं २०८१ असोज ३ गते संविधान दिवसको सन्दर्भ पारेर हामीले ‘सन्धान संवाद शृङ्खला’ अन्तर्गत ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भ सुरु गरेका थियौँ । सोही दिनदेखि एक बिहिवार संवाद र अर्को बिहिवार रिपोर्ट पर्ने गरी हरेक हप्ता पालिकाका सारथी महिलाहरूसित सम्बन्धित सामग्री प्रस्तुत गर्दै आएको थियो । प्रस्तुत सामग्री ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू ’ स्तम्भको संवाद खण्डको अठारौँ अर्थात् अन्तिम भाग हो ।

द स्टोरी किचेनले तयार पारेको निर्देशिकाका आधारमा मूलतः यी र यस्ता प्रश्नका साथ ‘सन्धान’ को तर्फबाट प्रणेताले चन्द्रकुमारीसँग २०८१ मङ्सिर ३ गते कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ, चन्द्रकुमारी पुनसँग गरिएको सोही कुराकानीको अंश ।

स्थानीय तह निर्वाचन २०७४ बाट निर्वाचित भएपछिको करिब पाँच वर्षमा तपाईंले गर्नुभएका चार– पाँच वटा एकदमै महत्त्वपूर्ण काम के के हुन् ?

हामी नयाँ संरचनाको पहिलो जनप्रतिनिधि थियौँ । हिजो पञ्चहरूले के गर्थे ? कस्ता कर्मचारी राखेर कसरी चलाएका थिए ? यसबारे हामीलाई केही थाहा थिएन । यो बुझ्न पनि समय लाग्यो । पहिलो काम त कानुन बनाउनु थियो । सङ्घले बनाउनुपर्ने कानुनसमेत खेस्रा मात्रै आउँथ्यो । प्रदेशले धेरै कानुन बनाएन । त्यसैले हामी, कर्मचारी र बौद्धिक साथीहरूबिच सहकार्य गरेर ऐन, कानुन, कार्यविधि, मापदण्ड सबै बनाउनमा व्यस्त भयौँ ।

दोस्रो, हाम्रो पालिकाका १७ वटा वडामध्ये तीन वटाको मात्रै कार्यालय थियो । त्यसो भएर तुरुन्तै बजेट विनियोजन गरेर बाँकी १३ वटा वडा कार्यालयहरू बनायौँ । जग्गा नभएका कारण एउटा वडा कार्यालय बन्न चाहिँ रोकियो । हामीले बजेट विनियोजन पनि एकदमै पारदर्शी ढङ्गबाट गर्‍यौँ ।

तेस्रो, महिलाहरूका लागि दिगो र आर्थिकरूपले आत्मनिर्भर बनाउन के काम गर्ने भन्नेमा बढी केन्द्रित भयौँ । पहिलो वर्ष नै १७ वडाका टोलटोलमा आमा समूह बने । ती आमा समूहका प्रतिनिधिहरू ‘हाम्रो समूहको भवन बनाउन पर्‍यो’ भनेर आउनुहुन्थ्यो । सिलाइबुनाइ, कटाइ तालिम र भवनको माग धेरै आउँथे ।

महिलाहरूको बारेमा सिटिइभिटीसँग सहकार्य गरेर तालिम दिनुपर्छ भनियो । छलफल र विमर्शपछि धेरै तालिम पनि दिइयो तर त्यति उपलब्धिमूलक भएन । बरु इलेक्ट्रिसियन बन्ने गरी तालिम दिएका महिलाहरूले केही गरेर खानुभएको छ । ड्राइभिङको तालिम पनि दियौँ । महिलाहरूले अटो चलाएर कमाउन थाल्नुभएको छ । खुसी लाग्छ ।

ठेक्कापट्टामा ज्यामी भएर काम गरिरहेकामध्ये अलि राम्रो गर्नसक्ने अनुभवी महिला दिदीबहिनीहरूलाई मिस्त्री तालिम दिने व्यवस्था गर्‍यौँ । ‘निर्माणको काममा हिँड्ने तपाईंहरू सधैँ इँटा मात्रै बोक्नुहुन्छ, मिस्त्री पनि बन्नुस् न’ भनेपछि उहाँहरूले रुचि लिएर त्यो तालिम लिनुभयो ।

चौथो, घरै नहुनेहरूलाई विपन्न आवास कार्यक्रम थियो । विशेषतः नारायणी नदीको छेउछाउ बस्ने, बोटे, मुसहर तथा दलित समुदायका मानिसहरू दिनभरि नारायणी नदीमा माछा मार्न पाए बेचेर खाने, नपाए यसै बस्ने, झाडीभित्र सुत्ने जस्तो बिजोग अवस्थामा बाँचेका थिए । हामीले बोटे, मुसहर समुदायलाई पहिलो प्राथमिकतामा राखेर १६० वटा घर बनाइदिने काम सम्पन्न गर्‍यौँ ।

पाँचौँ, कावासोती नगरपालिकाको ‘बफरजोन’ सँग जोडिएका अन्य जिल्लाका पालिकाहरूका नागरिकलाई वन्यजन्तुले असाध्यै दुःख दिने गर्छ । बाली लगाएर खान नपाइने, राति सुत्न नपाइने तथा धनजनको क्षति हुने एकदमै ठुलो समस्या थियो । हामीले वन्यजन्तु छिर्न नसक्ने गरी अग्लो पर्खाल लगाउने योजना ल्यायौँ अनि लगभग १२ किलोमिटर जति मेसजाली लगायौँ ।

मध्यविन्दु र देवचुली नगरपालिकाको बिचमा रहेको यस कावासोती नगरपालिकाको वरिपरि १८ किलोमिटर जति पर्खाल उठाउनुपर्छ र त्यसमाथि मेसजाली राखी जनतालाई सुविधा दिनुपर्छ भनेर मेसजाली लगाइएको हो । हाम्रो कार्यकाल सकिने बेलासम्म सम्पन्न हुन थोरै बाँकी भए पनि मेरो विचारमा यो काम पनि महत्त्वपूर्ण थियो ।

तपाईंले यस्ता महत्त्वपूर्ण काम गर्न आफूलाई कसरी तयार गर्नुभयो ?

हामी निर्वाचित भएर यही काम गर्न आएका हौँ र यी सबै काम जसरी पनि गर्नैपर्छ भन्ने खालको भावना लिएँ । यही भावनाका साथ आँट पनि गरेँ । काम गर्न दिनु हुँदैन भनेर चुनौती खडा गर्ने र गर्न खोज्ने मान्छेहरूसँग हामीले समन्वय र सहकार्य गर्‍यौँ । यसरी नै यस्ता महत्त्वपूर्ण र उपलब्धिमुलक काम गर्‍यौँ ।

तपाईंलाई यस्ता उपलब्धिमुलक काम गर्नुपर्छ भन्ने किन लाग्यो ? पहिलेदेखि नै ती काम गर्नुपर्छ भन्ने लाग्थ्यो कि पछि कुनै घटना वा केही कुराले प्रभाव पारेको हुनाले गर्नुभयो ?

राजनीतिमा लागेपछि सामाजिक काम, विकासको काम सबै गर्नुपर्छ भन्ने पहिल्यै थाहा थियो । त्यहीअनुसार मानसिकरूपमै तयार पनि थिएँ । निर्वाचित भएपछि जनताकै निम्ति काम गर्नुपर्छ भन्ने भावना मनमा थियो ।

जनताका लागि भनेर यतिका वर्ष राजनीतिमा लागेपछि अब जनताकै निम्ति काम गर्नुपर्छ भन्ने सोचले मैले यस्ता काम गरेको हो । इमानदाररूपमा राजनीति गर्दै आएको थिएँ । यसैले मलाई जनताका निम्ति यस्ता कामहरू गर्नुपर्छ भन्ने लाग्यो । यसरी मनदेखि नै लाग्दा धेरै काम गरिँदो पनि रहेछ ।

तपार्ईंले गरेका कामले पालिकावासीको जीवनमा कस्तो प्रभाव परेको छ ? के परिवर्तन भएको छ जस्तो लाग्छ ? यसबारे कसैले तपाईंलाई केही भनेका पनि छन् कि ?

काम गर्दागर्दै पाँच वर्षको अवधि पनि बित्यो । काम गर्दै जाँदा अवधि एकदम छोटो लाग्दो रहेछ । जति वडामा पर्खाल खडा गरेर जङ्गली जनावरलाई छेकियो, त्यहाँ आनन्द छ । अहिले त्यहाँ पुग्दा तपाईंले यति गरिदिनुभयो भनेर एकदम खुसी हुन्छन् वडावासी । अर्को वडामा पनि पर्खाल खडा गर्ने काम सिध्याइदिनुभएको भए हामीलाई अझै सहज हुन्थ्यो भन्छन् ।

अर्को चाहिँ तालिम लिएका महिलाहरूलाई पुरुष ठेकेदारले काम गराउन चाहिँ खोजेरै लैजाने तर दिनभरिको ज्याला मात्र दिने गर्दा रहेछन् । त्यो थाहा पाएर हामीले उनीहरूलाई राखेर ‘तपाईंले थुप्रै घरहरू ठेक्कामा लिइरहँदा महिलाहरूलाई पनि स–सानो घरहरू पेटि ठेक्का जस्तो दिनुपर्छ, उहाँहरूको सिप र विज्ञतालाई तपाईंहरूले सम्मान गर्नुपर्छ’ भन्यौँ ।

हामीले महिलाहरूलाई पनि ‘तपाईंहरूले ठेक्का लिएर पनि काम गर्छु भन्नुस्’ भन्यौँ । त्यसो भन्दा कसैले ‘मैले त अहिले घर वायरिङ गर्ने ठेक्का लिएको छु नि दिदी’ भन्नुभएको थियो । पछि अन्य केही महिलाहरूले ठेक्कापट्टा आफैँ लिने, घर बनाउने, वायरिङ गर्ने, अरूलाई काम गराउने, सिकाउने गर्न थाल्नुभएको थियो । त्यसरी काम गर्ने उहाँहरूमध्ये केही त पछि विदेश जानुभएछ ।

नेतृत्वमा आउँदा तपाईंलाई केही कुराको डर थियो कि थिएन ? थियो भने त्यो डर हटाउन तपाईंले के के गर्नुभयो ?

म अलिक मूर्खखाले मान्छे हुँ (हाँस्दै), त्यसैले डर लागेन । मेरो बाबाले छोराले यो काम र छोरीले त्यो काम गर्नुपर्छ भनेर कहिल्यै भन्नु भएन । उहाँले हामीसँग ‘मेरो छोरा र छोरी उस्तै हुनुपर्छ । केटी मान्छे हुँ भनेर डराउनु हुँदैन । छोराले यो काम र छोरीले त्यो काम गर्ने भन्ने हुँदैन’ भन्नुहुन्थ्यो ।

राम्रो काम गर्ने र राम्रो काम गर्दा कसैसँग डराउनु हुँदैन भनेर सिकाउनुहुन्थ्यो । बुबाले दिनुभएको आँटले पनि होला, म सानैदेखि निडर भएँ । निडर भएपछि डर हटाउन भनी मैले त्यस्तो केही गर्न पनि परेन । बुबाले दिनुभएको त्यही आँटलाई नै पूर्वतयारी गरेको भनेर मान्न चाहिँ सकिन्छ ।

मलाई कहिल्यै पनि ‘चुनाव हारे कहाँ जाने होला, जिते कसरी काम गर्ने होला’ भन्ने लागेन । चुनाव हारेँ भने पार्टीको काम, सामाजिक काम गर्छु भन्ने थियो । जितेँ भने मसँग कर्मचारी हुनुहुन्छ, पार्टीको टिम छ, समाजमा बौद्धिक व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूबाटै सहयोग लिएर गर्छु भन्ने लाग्थ्यो । त्यसैले मैले डराउने र आत्तिने गरिनँ ।

सरकार प्रमुख भएर कुनै काम गर्दा तपाईंलाई डर नलागे पनि कुनै बेला कुनै प्रकारका चुनौती तथा बाधा व्यवधानहरू आइपरेका थिए कि ?

नगरसभाबाट योजनाहरू पास गर्दा बेस्कनी चुनौतीपूर्ण भएको थियो । त्यो पास भइसकेपछि योजना होस् या बजेट यहाँ परेन, त्यहाँ पनि परेन भन्ने मात्र नभएर यो काम हुनै दिनु हुँदैन भन्ने खालका विरोधहरू पनि गरिएको थियो । धेरै खालको अप्ठ्यारो पनि बनाउँथे केही मान्छेले ।

जनताका माग र अपेक्षाहरू एकदमै धेरै थिए । एकातिर ‘यो महिला भएको कावासोती नगरपालिकाले केही गर्न सक्दैन’ भन्ने, अर्कातिर यो त्यो सबै गर्नुपर्‍यो भनेर ‘डिमान्ड’ पनि त्यत्तिकै आउने । हामी चाहिँ जसरी हुन्छ, चुनौती पार गरेर काम गर्नैपर्छ भन्ने हिसाबले अघि बढेका थियौँ ।

हामीलाई एकदमै चुनौतीका साथ गर्नुपरेको काम फोहोरमैला व्यवस्थापनको रह्यो । सरकारी जग्गा, ऐलानी जग्गा दुवै छ तर जग्गा नजिकैको बस्तीले हामीलाई फोहोर गन्हाउँछ, स्वास्थ्यमा असर गर्छ भनेर काम गर्नमा बाधा गरेको थियो । त्यतिबेला अति दुःख गरियो । कतिले पिटम्ला झैँ गरी बोल्थे, कति त पिट्न पनि आए ।

प्रदेशको अधिकार रहेको हुनाले खोलाको ठेक्कापट्टामा जानलाई असाध्यै गाह्रो पर्‍यो । गिट्टी, ढुङ्गा चोर्नेको लाइन पनि उस्तै थियो तर हामी सदरमुकाममा भएको र जिल्लास्तरीय प्रशासन, प्रहरी कार्यालयहरू पनि यहीँ भएको हुनाले उहाँहरूसँग सहकार्य गरेर काम गर्दा त्यति गाह्रो लागेन ।

सुरुमा ऐन, कानुन छैन, कहाँबाट थाल्ने, कसरी गर्ने होला भनेर बाधा महसुस भएको थियो । पछि ऐन, कानुन, कार्यविधि, मापदण्ड निर्माण गरेपछि त्यसमै टेकेर काम गर्न सहज हुँदै गयो । त्यसरी काम गर्दा पनि ठेकेदारले समयमा काम नगर्ने चुनौती भने थियो ।

तपाईंको विचारमा यस्ता चुनौती र बाधाहरू आउनुका कारण के थिए होलान् ?

कतिपय विषयमा बुझाइमै तलमाथि भएर पनि चुनौती र बाधाहरू भएका होलान् भन्ने लाग्छ । यसका साथै, काम गर्ने बेला हुनैपर्ने समन्वय र सहकार्य नभएर पनि चुनौती र बाधाहरू आउन सक्छन् ।

उदाहरणका लागि गिट्टी, ढुङ्गा स्थानीय तहले संरक्षण गर्नुपर्ने हुन्छ । स्थानीय तहले ठेक्कापट्टा लगाउने अनि पैसा चाहिँ प्रदेशमा पठाउनुपर्ने हुन्छ । प्रदेश तहले प्रतिशत कटाएर नगरपालिकामा पठाउने, ‘तेरो खोला होइन’ पनि भन्ने गर्छ ।

प्रहरीले ढुङ्गा गिट्टीसहितको ट्र्याक्टर समातेर ल्याउँछ अनि गाउँले उल्टिएर स्थानीय सरकार प्रमुखकहाँ झगडा गर्न आउँछन् । यस्ता यस्ता कतिपय विषय हुन्छन्, जसले काम गर्नलाई केही बाधा गर्छन् तर तिनलाई बिस्तारै मिलाउँदै लग्नुपर्छ भन्ने लाग्छ ।

तपाईंले ती चुनौती र बाधाहरू पन्छाउन के के गर्नुभयो ? बाधा पन्छाउने रणनीतिहरू के थिए ?

पालिकाले गर्नैपर्ने काम तर निर्माण गरिएका ऐन, कानुनकै कारण अप्ठ्यारो परेका बेला नगरसभा बसेर त्यसलाई संशोधन गरेर पनि गर्‍यौँ । कस्तो खालको समस्या छ, त्यसैअनुसार छलफलबाटै चुनौतीहरूलाई पार लगाउने गर्थ्यौं ।

विकास निर्माणको काममा एक ठाउँमा बाटो खन्दा उसको थोरै खनियो, मेरो धेरै खनियो भन्ने खालका विवादहरू त कति आउँथे कति ! त्यस्ता विवादलाई सकेसम्म वडाले मिलाउँथ्यो, वडाले नसके हामी गएर छलफल गरेर विवाद मिलाएर काम गरिन्थ्यो ।

एकचोटि प्रहरीले गिट्टी, ढुङ्गासहितको ट्र्याक्टर पक्रेछ । पालिकावासीहरू मसँग आक्रोशित भएर आए तर, उहाँहरूसँग म रिसाइनँ । बरु उहाँहरूलाई ‘हेर्नुस्, खोलाको गिट्टीमा हाम्रो नगरपालिकाको पनि अधिकार छैन, तपाईंहरूको पनि अधिकार छैन । त्यसैले हामी यहाँ झगडा नगरौँ’ भनेर हाँसीहाँसी सम्झाएर पठाएँ ।

रणनीतिको कुरामा कस्तो खालको विवाद, विरोध, माग छ, त्यसमा भर पर्छ । त्यहीअनुसार बुझेर काम गर्नुपर्छ । मैले पनि त्यही गर्थें ।

बाधा पन्छाउने सिप/रणनीतिहरू तपाईंले कसरी सिक्नुभयो ? निर्वाचित हुनुअघि पनि तपाईंले यिनको प्रयोग गर्नुभएको थियो ? केही उदाहरण छन् भने बताइदिनुस् न !

पार्टीको सङ्गठनमा विगतमा काम गर्दा महिलाहरूको क्षेत्रमा पनि काम गर्थें । महिलाहरूको क्षेत्रमा विभिन्न खालका समस्या आउँथे । अप्ठ्यारोमा परेका ती महिलाहरूका बारेमा छलफल गर्ने, समस्या समाधान गर्ने काम गर्दा पनि मलाई धेरै कुरा थाहा भएको रहेछ भन्ने लाग्छ ।

राजनीति मात्रै गरेको थिएँ भने कति ठाउँमा लडाइँ झगडा हुन्थ्यो, कति ठाउँमा मुद्दामामिला पनि हुन्थे होला । तर, आज ६५ वर्षको उमेर हुँदासम्म मैले त्यो खालको बाधा खेप्नुपरेको छैन । राजनीतिलाई पनि समाज सेवासँग जोडेर काम गर्दाका सिप र अनुभवले मलाई स्थानीय पालिकाको नेतृत्वमा रहेर काम गर्न सहज भयो भन्ने लाग्छ ।

पालिकामा निर्वाचित भएपछि तपाईंले कसरी नेतृत्व गर्नुभयो ? कस्तो प्रकारको नेतृत्व शैली अपनाउनुभयो ? किन ?

पालिकामा निर्वाचित भएर जाँदा मसँग कर्मचारी र जनप्रतिनिधिको टिम थियो । हामी जनप्रतिनिधिले कर्मचारीहरूसँग सहकार्य गर्नैपर्छ । एक्लै काम गर्छु भनेर हुँदैन । कतिपय ‘म निर्वाचित भएर आएको हुँ, सबैभन्दा ठुलो हुँ, मैले भनेको अनुसार हुनुपर्छ’ भन्ने पनि हुन्छन् । तर, ‘तैँले यो गर्, गरेनस्’ भन्दै धम्काएर त चल्दैन ।

हामी जनप्रतिनिधि साथीहरू एकअर्काबिच पनि ‘हेर्नु है साथीहरू, हामीले कुनै पनि ठाउँमा विवाद आउन नदिई काम गर्नुपर्छ, केही चित्त नबुझेको भए पहिला बाहिर जाने होइन, नगरपालिकामै बैठक बसेर छलफल गरौँ’ भनेर सल्लाह गर्थ्यौं ।

म जिल्ला विकास समिति सदस्य हुँदा प्रशासकीय प्रमुखहरूसँगै बसेर नेतृत्व शैलीका बारे कुरा गर्थें । कर्मचारी चलाउने प्रशासकीय प्रमुखले हो, जनप्रतिनिधि चलाउने नगरप्रमुखले हो । कर्मचारीले काम बिगारे वा काम नगरेमा मैले तलको कर्मचारीसँग सोध्ने होइन, हाकिमसँग सोध्ने हो ।

जनप्रतिनिधि पनि कोही नीति, नियम र कार्यविधिअनुसार गएन भने उनीहरूलाई भन्ने, मिलाउने जिम्मेवारी म प्रमुखको हो भनेर भन्ने गर्थें । यसरी पुरानो अनुभव एकातिर थियो, अर्कोतिर प्रशासन प्रमुखसँग बसेर स्पष्टसँग कुरा गरेर काम गर्दा हाम्रो नगरपालिकामा साह्रै अप्ठ्यारो भएन ।

मलाई लाग्छ, सहकार्य गरिएन भने कर्मचारी र जनप्रतिनिधि कोही पनि सफल हुँदैन, त्यो सबैले बुझ्नुपर्छ । त्यसैले सहकार्य गरेरै काम गर्नुपर्छ । मैले त्यसो पनि गरेँ ।

सहकार्य गरी नेतृत्व गर्ने शैली तपाईंले कहाँबाट सिक्नुभयो अथवा कोही कसैबाट प्रेरित पनि हुनुहुन्छ कि ?

म आफैँभित्र थाहै नपाइकन आयो यस्तो शैली । अरूले के गर्दैछन् भनेर हेर्ने पनि गर्थें । सानो छँदा पनि मामाघर, सानिमाको घरमा जाँदा घर चलाउनेहरूले कसरी चलाइरहेछन्, कसको घरमा कति लडाइँ–झगडा पर्छ, कसकोमा राम्रैसँग घर चलेको छ, कसले कस्तो भूमिका खेल्छन्, कसले के बोल्छन् भनेर सुन्थेँ, हेर्थें र घोरिएर सोच्थेँ ।

राजनीतिमा लागेपछि त झन् सबै सिक्नुपर्दो रहेछ । कामका सिलसिलामा विभिन्न ठाउँमा हिन्दाहिन्दै, गर्दागर्दै धेरैतिरका धेरै कुरा देखियो, सुनियो अनि आफ्नै हिसाबले बुझियो र सिकियो । मेरो कोही ‘रोलमोडल’ छैन । मैले कोही कसैबाट प्रेरित भएर नेतृत्वको यो शैली अपनाएको पनि होइन ।

तपाईंले जुन खालको नेतृत्व शैलीको अभ्यास गर्नुभयो, त्यसले तपाईंलाई आफ्नैबारेमा पनि नयाँ कुरा केही सिकायो कि ?

नेतृत्वमा रहेको व्यक्तिले आवेगमा आएर मान्छेहरूसँग ‘डिल’ गर्ने होइन । उसले ‘टिमवर्क’ गरेर टिमसँग सल्लाह गरेर सबैलाई सहमतिमा ल्याएर काम गर्‍यो भने चाहिँ यसरी बनाइएका योजनाहरू पूरा हुँदै जाने रहेछन् भन्ने सिकाइ मलाई भयो ।

प्रमुख भए पनि एक्लै गर्ने काम केही पनि छैन यहाँ । आफ्नो टिमसँग राम्रो सहकार्य छैन वा आफूले सहकार्यको भावना राख्न सकिएन भने काम बन्दैन । नगरपालिकामा जति जनाले जिम्मेवारी लिएर भित्र पस्नुभएको छ, उहाँहरू र हामीहरू सबैले नगरपालिकाभित्र अथवा पालिकाभित्र पर्ने जुनसुकै ठाउँमा गएर सबैको सल्लाह, रायअनुसार चलिएन भने हुँदैन, गाह्रो हुन्छ । मलाई यही सिकाइ भयो ।

जुनसुकै पार्टीबाट जितेको भए पनि, एकछिन तँ तँ र म म गरे पनि, आपसमा भनाभन भए पनि अन्त्यमा हामी एकदमै सौहार्दपूर्ण वातावरणमा सहमतिमा पुग्थ्यौँ । हामी मात्र होइन, सबै यसरी नै सहमतिमा पुग्नुपर्छ । नत्र भने पालिकाभित्र कसरी काम हुनसक्छ र ? यसरी पालिकाभित्र गएर काम यसरी गर्न सकिने रहेछ भन्ने पनि सिकियो ।

तपाईंसँगै रहेर काम गर्नेहरूलाई तपाईंको यस्तो तौरतरिका र शैलीले कस्तो प्रभाव पार्‍यो जस्तो लाग्छ ?

राम्रै प्रभाव पारेको जस्तो लाग्छ । मेरो कार्यकाल सकिइसकेपछि ‘हिजो तपाईंले राम्रोसँग चलाउनुभएको थियो । मिलाएर लग्नुभएको थियो’ भन्ने मान्छेहरू थुप्रै छन् । मसँग भेट भएका बेला धेरैले यस्तो भनेको सुन्दा खुसी लाग्छ ।

तपाईंको नेतृत्वलाई अझै प्रभावकारी बनाउन आफूमा थप के कस्ता ज्ञान र सिप भएको भए अझ सहज हुन्थ्यो होला ?

काम गर्दै जाँदा मेरो शैक्षिक योग्यता धेरै नभएकाले यसको अभाव सबैभन्दा धेरै खड्कियो । मैले धेरै पढ्न र लेख्न पाएको भए नेतृत्वमा रहेर काम गर्न अझ सहज हुन्थ्यो होला भन्ने लागेको थियो तर धेरै पढेलेखेकाले र टाठाबाठाले मात्रै पालिका चलाउन सक्छन्, राम्रो काम गर्न सक्छन् भन्ने मान्यतासँग म पूरै सहमत छैन ।

पुरुषले मात्र पालिका चलाउन सक्छन् भन्ने कुरासँग पनि म सहमत छैन । मलाई महिलाले राम्रोसँग नेतृत्व गर्न सक्छन् भन्ने लाग्छ र गरियो पनि । इमानदार भएर काम गर्न चाह्यो भने धेरै पढेलेखेको नभए पनि महिलाले राम्रोसँग नेतृत्व गर्न सकिन्छ भन्नेमा म विश्वास गर्छु ।

तपाईंले चुनावमा उठ्दा गर्नुभएको प्रतिबद्धता र परिकल्पनालाई पूरा गर्नसके जस्तो लाग्छ ?

म एउटा पार्टीबाट चुनाव लडेर जितेको जनप्रतिनिधि भएकाले निर्वाचित भएपछि घोषणापत्रमा जे छ त्यसलाई सकेसम्म पूरा गर्नुपर्छ भन्ने मान्यता थियो मेरो । चुनावमा मैले जनतासँग तपाईंले भोट दिनुभयो भने तपाईंका सबै आवश्यकता पूरा गर्न सक्छु त भन्दै भनिनँ ।

मैले हाम्रो पार्टीको घोषणापत्रअनुसार र पालिकाको आवश्यकताका काम गर्छु भन्दै भोट मागेको थिएँ तर पनि घोषणापत्रमा भए जति सबै कुरा पाँच वर्षमा पूरा हुन सक्ने अवस्था भएन । बजेट सीमित थियो तर पनि त्यसबाट जे जति गर्न सकिन्थ्यो त्यो काम भने इमानदारीका साथ गरियो । बजेट अपुग भएका कारणले अधुरै रहेका, बहुवर्षीय योजनामा लैजानुपर्ने काम पनि थिए ।

सीमित बजेटले पनि धेरै कामहरू भएका छन् । यसैले हाम्रो नगरपालिकामा सङ्घ र प्रदेशले दिएर आउने बजेट, स्थानीय स्रोत साधनबाट आउने बजेट जे–जति थियो, त्यसलाई कहीँ कतै तलमाथि नगरी, जुन ठाउँमा जुन शीर्षकका लागि बजेट छुट्ट्याइएको थियो, त्यसलाई त्यही ठाउँ र त्यही शीर्षकमा एकदमै सदुपयोग गरेर काम गर्‍यौँ भनेर गर्वका साथ भन्न सक्छु अहिले ।

पालिकावासीले तपाईंलाई अहिले देख्दा कस्तो महसुस गर्छन् होला ?

राम्रो महसुस गर्छन् होला भन्ने मलाई लाग्छ । म कतै जाँदा ‘पहिलो जनप्रतिनिधि हुँदा काम गर्न अप्ठ्यारो थियो तैपनि गरेथ्यौँ । हामीले कम ठानेका थियौँ तर धेरै र राम्रो काम भयो’ भन्छन् । बाटोतिर हिँड्दा पनि ‘दिदी, राम्रो काम गर्नुभा’थ्यो हजुरले त’ भन्दै बोल्छन्, नजिकिन्छन् । उहाँहरूसँग भेट हुँदा मलाई पनि खुसी लाग्छ ।

स्थानीय सरकार प्रमुख हुँदा अझै क–कसको कस्तो कस्तो सहयोग भएको भए नेतृत्व गर्न झनै सहज हुन्थ्यो जस्तो लागेको छ ?

मलाई घरबाट बाधा हाल्ने काम कहिल्यै पनि भएन । पहिल्यैदेखि पूरा ‘सपोर्ट’ थियो । पार्टीदेखि विपक्षी पार्टीमा भोट हाल्ने नागरिक, छरछिमेक, बौद्धिकवर्ग सबैले आ–आफ्नो ठाउँबाट मलाई सहयोग गर्नुभएकै हो । शिक्षा र स्वास्थ्य हेर्न सर्वदलीय विज्ञहरू भएको एउटा समिति थियो । कृषिको अलि कम थियो । अप्ठ्यारो पर्दा विज्ञहरूसँग सल्लाह गर्नैपथ्र्यो, गर्थ्यौं । सबैलाई बोलाउँथ्यौँ ।

एक–दुई जनाले केही विषयमा किचलो निकाल्ने काम गरेका पनि हुन् । मलाई खड्किएका एक दुई वटा कुरा छन् । त्यसमा महिलाहरूलाई आत्मनिर्भर बनाउन उद्योग खोल्ने, करारमा होस् या लोकसेवामा कावासोती नगरपालिकाका महिलाहरूलाई अगाडि बढाउने सोच थियो । त्यसका लागि चाहिने जति बजेट विनियोजन गर्न सकेनौँ ।

हामीले वन्यजन्तु र मानवबिचको द्वन्द्व न्यूनीकरण गर्ने भन्ने कार्यक्रमलाई सोचे अनुसार सम्पन्न गर्न सकेनौँ । बजेटको अभाव नहुने हो र सरोकारवाला सबैले समानता र समयको मागलाई बुझेर बाधा खडा नगरी काममा साथ दिने हो भने स्थानीय सरकार प्रमुख भएर महिलाका लागि मात्र होइन, सम्पूर्ण पालिकावासीका लागि धेरै गर्न सकिने रहेछ जस्तो लाग्छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको परिवेशमा स्थानीय सरकार प्रमुखको भूमिकामा एक जना महिला निर्वाचित भएर नेतृत्व गर्नु भनेको के रहेछ जस्तो लाग्छ तपाईंलाई ?

मलाई पहिल्यैदेखि जिम्मेवारी दियो भने महिलाले गर्न सक्छन्, यो काम पुरुषको, त्यो काम महिलाको हो, यो काम गर्न सकिन्छ, त्यो काम सकिँदैन भन्ने धारणा राख्नु हुँदैन भन्ने लाग्थ्यो । हाम्रो पितृसत्तात्मक समाजले भने महिलाला भनेर विभिन्न छेकबार लगाइरहेको हुन्छ तर पनि जिम्मेवारी पाएमा जस्तो काम पनि गर्नुपर्छ, गर्न सकिन्छ र गरिन्छ भन्ने मानसिकता बनाउँदै आएको थिएँ ।

मैले उम्मेदवारी दिइसकेपछि एक–दुई जनाले ‘यहाँ सकिँदैन, मधेसी, थारु, पहाडी भएको सबै मिसिएको जिल्ला हो, अप्ठ्यारो छ’ भनेका थिए । म पुन (जनजाति) हो । जनजाति सोझा हुने भएकाले हुनुपर्छ, निर्वाचनका बेलामा यिनीहरू टाठाबाठा हुँदैनन् भने जसरी कुरा गर्थे । त्यसले ममा झन् ऊर्जा थपिन्थ्यो ।

केही मान्छेले म निर्वाचित हुँदा ‘यत्रो नगरपालिकामा पहिलोपल्ट निर्वाचित हुनु छ, नगरपालिका हाँक्नु छ, कानुन छैन, यो एउटा आइमाई मान्छेले के गर्न सक्छ ?’ समेत भने । त्यो सुन्दा ‘हेर न ! चुनाव जितिसकेपछि काम गरेर देखाउँछु’ भन्ने ऊर्जा मभित्रैदेखि धेरै आउँथ्यो ।
‘हत्तेरिका, मलाई यिनीहरूले यसो भने, गर्न सकिँदैन कि’ भनेर म कहिल्यै पनि निरास भइनँ । ‘यो मान्छेले के गर्न सक्ला र भोट दिने हामीले, यस्ताले यस्तो ठाउँमा के गर्छ’ भनेर होच्याउँथे । उनीहरूले मलाई शब्दले धेरै घोच्थे ।

मलाई भने त्यतिबेला ती शब्दले नै आँट र हिम्मत दिइरहेका हुन्थे । ‘एक पटक निर्वाचित भएर, झुक्न परे कसैसँग झुकेरै भए पनि यिनीहरूकै लागि काम गरेर देखाउनुपर्छ’ भन्ने लाग्थ्यो । एक प्रकारको आँट र हिम्मत मिल्थ्यो ।

तपाईंहरूले पनि थाहा पाउनुभयो होला, देशभरिका धेरै उपमेयर, खासगरी उपमेयर महिलाहरूले हामीलाई अधिकार भएन, जम्मै अधिकार मेयरलाई भयो भन्दै आएका छन् । यो हुने नै भयो तर मलाई महिला भनेर हेपेर र घोचर भनेकोमा मैले त्यसलाई ठुलो कुराको रूपमा लिइनँ ।

संविधानले र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारले नै हाम्रो अधिकार कति हो भन्ने बताइहाल्छ । त्यसैले जहाँ जति दिएको छ, हाम्रो अधिकार त्यति नै हो । ‘त्यही अधिकार प्रयोग गरेर काम गर्ने हो है साथी हो’ भन्थेँ । हाम्रो नगरपालिकामा त्यस्तो विवादको अवस्था थिएन । आजभोलि चुनावका बेला उनीहरूले मलाई त्यो नभन्दिएको भए के हुन्थ्यो, के हुन्थ्यो होला जस्तो लाग्छ ।

आफ्नै कार्यकालमा तपाईंलाई कुन कुराले सबैभन्दा धेरै गर्व लागेको छ ?

म धेरै पालिका पुगेँ, धेरै पालिकाले गरेका काम पनि हेरेँ । मलाई थाहा भएसम्म, तराईका जिल्लामा फोहोर व्यवस्थापन गर्नेमा पहिलो पालिका कावासोती हो । मलाई यस्तो लाग्छ । अहिले पनि फोहोरमैलाको गाडी कराउँदै आउँदा ‘आहा ! यो त हामीले सुरु गरेको हो नि’ जस्तो लाग्छ । मलाई एकदमै गर्व लाग्ने एउटा विषय यो पनि हो, अरू पनि छन् ।

अब निर्वाचित भएर स्थानीय सरकारको नेतृत्वमा आउने जनप्रतिनिधिका लागि तपाईंका सुझाव के के छन् ?

मैले महिलाहरूलाई के भन्ने गरेको छु भने महिलाहरूमा ‘म चुनावमा जान्छु, निर्वाचित भएर आउँछु’ भन्ने खाले आँट र हिम्मत हुनुपर्छ । म समानुपातिकमा जान्छु, मनोनीतमा जान्छु भन्ने खालको मानसिकता बोकेर जाने हो भने महिलाहरूलाई एकादुई हार्ने ठाउँहरू छानेर दिइन्छ । अहिले जुनसुकै पार्टीले जति ठुला कुरा गरे पनि यस्तै गरिरहेको देखिन्छ ।

यसो हेर्ने हो भने महिलाहरू पनि पुरुषहरू सँगसँगै जानसकेका छैनन् । महिलाहरूको आर्थिक अवस्था कमजोर छ । महिलाले अझ बढी मिहिनेत गर्नुपर्छ । पुरुषहरू एक ठाउँमा बसेर गफ लाए पनि त्यो काम अलिअलि बनेको हुन्छ । महिलाहरू यो नेतृत्वको कामबाट असफल होऊन् भन्ने ठुलो चाहना छ उनीहरूको ।

एकखाले पुरुषहरूलाई अगाडि बढ्न लागेका महिलाहरू सफल भएनन् भने एक किसिमको आनन्द आउँछ । महिलाको असफलतामै आनन्द मान्छन् । हामी महिला असफल होऊन् भनेर हेरिराख्नेहरू पनि छन् । त्यसो भएर महिलाहरूले मिहिनेत गर्नुपर्छ । मिहिनेत नगरी गफ लाएर मात्रै कहाँ काम हुन्छ ?

अर्को कुरा, कुनै पनि लोभलालच नगरिकन जे कामका लागि गइएथ्यो, इमानदार भएर हिम्मत र आँटसहित त्यही काममा लाग्ने हो भने पनि काम गर्न सकिन्छ, सफल पनि भइन्छ भन्ने लाग्छ । अहिले महिलाहरू पुरुष सँगसँगै पढिरहेका छन् । पढेलेखाका महिलाहरू कस्सिने हो भने धेरै काम गर्न सक्छन् ।

महिलाहरूले अझ सभ्य तरिकाले राम्रो काम गर्न सक्छन् भन्ने विश्वास लाग्छ मलाई तर पुरुष–महिला जो भए पनि इमानदार भएर आफ्नो दायित्व र अधिकार रहेको क्षेत्रमा काम गर्नुपर्छ । कसैले विरोध गरे भने ‘कसरी सकुँला र ?’ भनियो भने काम हुँदैन ।

मान्छेले असफल भइन्छ कि, गर्न सकिँदैन कि भने जस्तो बनाउन त बनाउँछन् तर त्यसलाई आफूले फरक ढङ्गले लिनुपर्छ । उनीहरूसँग भेटघाट गरिरहने, छलफल गर्ने गरेमा खुसी भएर आफूसँग सहमत हुन सक्छन् । खासमा जति नै चुनौती भए पनि आफू इमानदार भएर काम गर्ने हो भने महिलाले नेतृत्वमा रहेर राम्रो काम गर्न सकिन्छ ।

आफ्नो कार्यकाललाई यसरी पछाडि फर्केर हेर्दै विश्लेषण पनि गरिरहँदा तपाईंलाई कस्तो महसुस भइरहेको छ ?

पहिलो कुरा, हामीले पाँच वर्ष काम गर्दा कुनै पनि मुद्दामा फसिएन । यो कुराले मलाई गर्व लाग्छ । मेरो कार्यकालमा बेस्सरी काम गर्न नसके पनि स्रोत साधनले जे जति भ्यायो, त्यति राम्रैसँग गरियो भनेर खुसी लाग्छ । मेरो कार्यकालमा भएका काम सम्झिएर सबैले प्रशंसा गर्दा खुसी लाग्छ ।

म बिरामी भएर आन्द्रा नै काटेर फाल्न परेको थियो । लगभग १० महिना जति कार्यालय जान पनि सकिनँ । कहिले घर, कहिले अस्पताल बसेँ । मलाई अहिले ‘हत्तेरी ! त्यत्रो दस–दस महिना कार्यालयबाहिर बस्नु नपरेको भए त जति अधुरा कामहरू थिए, ती सम्पन्न गरिन्थ्यो होला’ भन्ने पनि लाग्छ ।

कतिपय ठाउँमा सिक्दै, गर्दै जाने गर्दाखेरि पनि सानातिना कमी–कमजोरी पनि भएको होला जस्तो लाग्छ । हामीलाई दुई वर्षसम्म कोरोनाले बेस्सरी ‘डिस्टर्ब’ गर्‍यो । धेरै काम गर्नै पाइएन ।

अरू पनि केही भन्न मन लागेको छ ?

यत्रो लामो समयसम्म धेरै गनगन गरियो हाहाकक । केही छैन । प्रेसरले हानेपछि सम्झने शक्ति (मेमोरी) पनि हराए जस्तो हुने रहेछ । म कोही बोल्दा पनि मेसो नपाएको जस्तो हुने अवस्थामा थिएँ । सबैले ‘हिजो गरेका कामबारे बोल्दिनुपर्‍यो दिदी’ भन्नुहुन्थ्यो । मैले ‘कुराहरू सम्झिन सकेको छैन’ भन्थेँ । धेरै पछि तपाईंहरूसँग कुराकानी गर्न पाइयो ।

मैले द स्टोरी किचेनले तयार गरेको निर्देशिकाका आधारमा तपाईंलाई केही प्रश्न गरेँ । यसरी कुराकानी गर्दा तपाईंलाई कस्तो अनुभव भयो ?

खुसी लाग्यो ।

प्रकाशन मिति : २०८२ जेठ १ गते, बिहीवार

पालिकाका सारथी महिलाहरूका थप कथाहरू

Share this :

Leave a Reply

Your email address will not be published. Required fields are marked *