पालिकाका सारथी महिलाहरू–३०
विसं २०७२ असोज ३ मा नेपालको संविधान जारी भएसँगै मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरित भयो । नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहने गरी नयाँ संविधान जारी भयो । त्यसको १६ महिनापछि २०७३ माघ २३ मा स्थानीय तह निर्वाचन ऐन, २०७३ जारी भयो । निर्वाचन ऐनले दिएको अधिकार प्रयोग गरी २०७३ फागुन ९ मा स्थानीय तह निर्वाचनको मिति घोषणा गरियो । घोषणामा २०७४ वैशाख ३१ गते मुलुकभर एकै चरणमा निर्वाचन सम्पन्न गर्ने भनियो ।
विविध कारणले एकै चरणमा निर्वाचन हुन सकेन । २०७४ वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा निर्वाचन भयो । पहिलो चरणमा साबिक प्रदेश नं. ३ (हालको बागमती प्रदेश), प्रदेश नं. ४ (हालको गण्डकी प्रदेश) र प्रदेश नं. ६ (हालको कर्णाली प्रदेश) का ३४ जिल्लाका २८३ स्थानीय निकायका लागि निर्वाचन भयो ।
दोस्रो चरणमा साबिक प्रदेश नं. १ (हालको कोशी प्रदेश), प्रदेश नं. ५ (हालको लुम्बिनी प्रदेश) र प्रदेश नं. ७ (हालको सुदूरपश्चिम प्रदेश) का ३५ जिल्लाका ३३४ स्थानीय निकायका लागि निर्वाचन भयो । तेस्रो चरणमा साबिक प्रदेश नं. २ (हालको मधेश प्रदेश) का आठ जिल्लाका १३६ स्थानीय निकायका निर्वाचन भयो ।
तीन चरणमा कुल ७५३ स्थानीय तहका लागि निर्वाचन सम्पन्न भयो । त्यसमा ७४.१६ प्रतिशत मतदाताले मतदान गरे । ३५ हजार ४१ जना स्थानीय प्रतिनिधिको छनोट भए । मुलुक सङ्घीयतामा गइसकेपछिको स्थानीय तहको पहिलो कार्यकाल २०७४–२०७९ मा गाउँपालिका अध्यक्षका हैसियतले ११ र नगरपालिका प्रमुखका हैसियतले सात गरी कुल १८ महिलाले पालिकाको नेतृत्व गर्ने अवसर पाए ।
नेपालकै पहिलो निर्वाचन भने २००४ जेठ २९ गते भएको थियो । काठमाडौं म्यूनिसिपलिटीको उक्त निर्वाचनमा महिलाहरूले उम्मेदवारी दिन त के भोट खसाल्न पनि पाएका थिएनन् । महिलाहरूलाई मताधिकार नै दिइएको थिएन । देशकै पहिलो निर्वाचन भएको छ वर्षपछि २०१० सालमा अर्को निर्वाचन भयो । त्यस निर्वाचनमा महिलाहरूले मताधिकार मात्र नभएर उम्मेदवारीको अधिकारसमेत पाए ।
महिलाले मताधिकार पाएको साढे छ दशक हुनै लाग्दा २०७४ सालमा भएको स्थानीय निर्वाचनमा ५७ हजार ८४३ महिला चुनावी मैदानमा नै उत्रिए । तीमध्ये १४ हजार ३५१ महिला पालिकाका विभिन्न पदहरूमा निर्वाचित पनि भए । स्थानीय तह निर्वाचन २०७४ बाट महिलाले कुल प्रतिनिधित्वको ४०.९५ प्रतिशत हिस्सा प्राप्त गरे । वैधानिक प्रावधानको कारण महिलाको यत्तिको प्रतिनिधित्व सम्भव भएको थियो ।
बिर्सन नहुने कुरो यहाँ के रह्यो भने महिलाहरूले पाउनुपर्ने जति महत्त्व र अधिकार व्यवहारमा पाएका थिएनन् । ‘स्थानीय तह निर्वाचन ऐन, २०७३’ मा दफा १७ को उपदफा ४ मा उम्मेदवारको मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान भए पनि पालिकाको उपप्रमुख/उपाध्यक्ष पद महिलाकै लागि तोकिए जस्तो गरी उम्मेदवारी थमाइयो ।
समग्रमा ५० प्रतिशतको परिणाम पनि महिलाको हातमा परेन । कुल एक हजार ५०६ स्थानमा पुरुष ७८८ हुँदा महिला ७१८ जना मात्र विजयी भए । महिलाको सम्भाव्य प्रतिनिधित्व पनि ३५ स्थानले कम हुन पुग्यो । यसले महिलालाई न्याय नभएको स्पष्टै देखायो ।
अन्यायकै अवस्थामा पनि १८ महिलाहरू पालिकाको नेतृत्वमा उम्मेदवार बनेर निर्वाचित हुन पुगे । उनीहरूका भोगाइहरू सामान्य पक्कै थिएनन् । कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा निर्वाचित भएर पालिका हाँकेका सारथी महिलाहरूको लहरमा देखापर्ने नामहरूमध्ये एक हो, दीपा बोहरा दाहाल ।
दीपा साबिक प्रदेश नम्बर ३ स्थित सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभयो । २०७६ पुस २७ मा बागमती प्रदेश नाम राखिएको उक्त प्रदेशबाट नगरपालिका प्रमुखमा दुई र गाउँपालिका अध्यक्षमा तीन गरी पाँच जना महिला निर्वाचित भए । दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुली जिल्लाबाट पालिकाको नेतृत्व गर्नेमा उहाँ एक जना मात्र महिला हो ।
सुनकोशी गाउँपालिकाको अध्यक्ष पदका लागि भएकोे निर्वाचनमा पाँच जना उम्मेदवार प्रतिस्पर्धामा थिए । नेकपा माओवादी केन्द्रबाट चुनावी मैदानमा उत्रिएकी दीपा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै तीन हजार ४३३ मत प्राप्त गरी निर्वाचित हुनुभयो । सात हजार २३१ महिला र सात हजार ४४० पुरुष गरी कुल १४ हजार ६७१ मतदाता रहेको सुनकोशी गाउँपालिकामा १० हजार ४१४ मत खसेको थियो । खसेकामध्ये सदर मत सङ्ख्या नौ हजार ४१२ थियो । निर्वाचनका लागि उम्मेदवारी दिँदा उहाँ ३६ वर्षको हुनुहुन्थ्यो ।
दीपाको जन्म २०३८ सालमा रोल्पा जिल्लामा भएको थियो । दीपाकै भनाइमा २०३९–४० सालतिर उहाँलाई लिएर बुबाआमा भारतको पंजाब जानुभयो । त्यहाँ नै उहाँको लेखपढ भयो । प्रवासमा रहँदा नै नेपाली विद्यार्थीहरूले खोलेको सङ्गठनमा आबद्ध हुनुभयो । त्यतिबेला उहाँ १२–१३ वर्षको हुनुहुन्थ्यो ।
सङ्गठनमा आबद्ध हुन बुबाले नै प्रेरित गरेको बताउने दीपाको भनाइमा १५–१६ वर्षको हुँदा बल्ल आफू आबद्ध भएको सङ्गठन माओवादी पार्टीको सङ्गठन रहेको थाहा पाउनुभयो । यस्तैमा म्याट्रिक परीक्षा दिएपछि २०५४–२०५५ सालतिर दीपा नेपाल फर्कनुभयो । त्यतिबेलासम्ममा नेपालमा माओवादी सशस्त्र द्वन्द्व सुरु भइसकेको थियो ।
दीपा पनि विद्यार्थी राजनीति र महिला सङ्गठनमा जोडिनुभयो । यसबिच बुबाले पढाइका लागि बोलाउनुभयो र उहाँ पुनः पंजाब जानुभयो । इन्टरमिडियट लेभलमा पढ्दै गर्दा आफूले सशस्त्र द्वन्द्वका क्रममा घाइते भएकाहरूको भारतमा उपचारका लागि सहजीकरण गर्ने खालको काम बढी गर्नुभयो । उहाँका अनुसार, उहाँलाई पार्टीले दिएको मुख्य जिम्मेवारी त्यही थियो ।
गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि जिम्मेवारी निर्वाहको पाटो फेरियो । त्यो काम त्यति सहज भने थिएन । नयाँ शासकीय स्वरूप, नयाँ अभ्यास, वैधानिक तथा भौतिक पूर्वाधारहरूको अपर्याप्तता/अभाव जस्ता कारणले सबै पालिकामा एक प्रकारको अन्योल थियो । त्यस्तो बेला पुरुषहरूकै बाहुल्य रहेको संरचनामा नवनिर्वाचित प्रमुख/अध्यक्ष बनी नेतृत्वदायी भूमिका निर्वाह गर्नु महिलाका लागि झनै चुनौतीपूर्ण थियो ।
नागरिकका अपेक्षा चुलिएका थिए । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको अध्यक्षमा निर्वाचित दीपाका सामु पनि विभिन्न खालका चुनौती थिए । महिला भएकै कारण उहाँमाथि पनि खटेर काम गर्न नसक्ने हो कि भन्ने पूर्वाग्रहजन्य आशङ्का थपिएको थियो ।
सुनकोशी गाउँपालिकामा दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा निर्वाचित दीपाको मुख्यतः पहिलो कार्यकालको अनुभव कस्तो रह्यो ? विशेष गरी उहाँको नेतृत्वमा पालिकाले हासिल गरेका उपलब्धि के के थिए ? उहाँको नेतृत्वशैली कस्तो थियो ? बाधा अवरोध पन्छाउन उहाँले अवलम्बन गरेका उपायहरू के कस्ता थिए ? आफूले आफ्नो पहिलो कार्यकालतिर फर्किएर हेर्दा उहाँले खासमा के पाउनुभयो ? भावी जनप्रतिनिधिलाई उहाँका सुझाव के के थिए ?
जवाफ खोतल्ने क्रममा द स्टोरी किचेनले तयार पारेको निर्देशिकाका आधारमा मूलतः यी र यस्ता प्रश्नका साथ ‘सन्धान’ को तर्फबाट लक्ष्मी बस्नेतले दीपासँग २०८१ माघमा काठमाडौँमा भेटेर कुराकानी गर्नुभएको थियो ।
प्रस्तुत सामग्री ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भको संवाद खण्ड हो । यो स्तम्भ गत वर्ष २०८१ असोज ३ गते संविधान दिवसको सन्दर्भ पारेर हामीले ‘सन्धान संवाद शृङ्खला’ अन्तर्गत सुरु गरेका थियौँ । सोही दिनदेखि एक बिहिवार संवाद र अर्को बिहिवार रिपोर्ट पर्ने गरी हरेक हप्ता पालिकाका सारथी महिलाहरूसित सम्बन्धित सामग्री प्रस्तुत गर्दै आएका थियौँ ।
पछिल्लो समयमा एक साता बिराएर बिहिवारकै दिन संवाद खण्ड मात्रै दिइँदै आएकामा अब अर्को एक अङ्कमा यो शृङ्खलाको समापन हुनेछ । आज प्रस्तुत छ, दीपा बोहरा दाहालसँग गरिएको कुराकानीको अंश ।
तपाईं २०७४ सालको स्थानीय तहको चुनाव जितेर गाउँपालिका अध्यक्ष हुनुभयो र पाँचवर्षे कार्यकाल पूरा गर्नुभयो, त्यो कार्यकालमा तपाईंले गर्नुभएका महत्त्वपूर्ण काम तथा उपलब्धिहरू के के हुन् ?
नीतिगत रूपमा भन्ने हो भने स्थानीय सरकारलाई चाहिने लगभग सबै कानुन २०७४ सालमै बनाइसक्यौँ । केही परिमार्जन र थप गर्नुपर्ने कामलाई गर्दै अघि बढ्यौँ । स्थानीय नागरिकसँग प्रत्यक्ष जोडिने कामहरू गरियो । गाउँपालिकाको सबै ठाउँमा विद्युतीकरण गर्यौँ । हामी निर्वाचित भएर जाँदा हाम्रो पालिकामा शायद १० प्रतिशत जति विद्युतीकरण थियो हो । पहिलो पाँच वर्षमा लगभग ८० प्रतिशत घरसम्म विद्युत् पुर्याउने काम भयो ।
वडा ७ को मजुवा र गौरीगाउँमा अनि ६ वडाको खाल्टे र चैनपुरमा मात्र विद्युतीकरण गरिएको थियो । पहाडका घर टाढा टाढा छन् । हेर्दा बिपी हाइवेसँग जोडिएको तर डाँडामा घर टाढा मुख्य लाइन दिँदा बढी खर्चिलो हुने देखिएर पनि गाह्रो भइरहेको थियो । तर, अब लगभग सबैतिर बिजुली पुगेको अवस्था छ ।
‘एक घर एक धारा’ नीति लिएर अगाडि बढेका थियौँ तर बजेट अभावले पहिलो कार्यकालमै सबै घरमा धारा पुर्याउन सम्भव भएन । बजेटले भ्याए जति गर्यौँ । त्यसैलाई सदुपयोग गर्दै अगाडि गयाैँ । स्वास्थ्य सेवा, सिँचाइ सुविधा, विद्यालय भवन निर्माणसँगै गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्नेमा पनि काम गर्यौँ । अलि धेरै भौतिक पूर्वाधार र भौतिक विकासमा पहिलो वर्ष बित्यो ।

हाम्रो पालिकामा स्वास्थ्यचौकी पाँच वटा मात्र थिए । थप स्वास्थ्य चौकी बनायौँ । दुर्गम ठाउँमा महिलाहरू सुत्केरी हुन, चेकजाँच गराउन, बच्चाहरूलाई खोप लगाउन धेरै टाढा पुग्नुपर्ने बाध्यता थियो । त्यसकारण आधारभूत स्वास्थ्य इकाइहरू पनि निर्माण गर्यौँ । पाँच वटा स्वास्थ्य इकाइ, दुइटा आधारभूत इकाइ र स्वास्थ्यसंस्थाहरू गरेर १४ वटा छन् ।
स्वास्थ्यसेवामा सहज पहुँच हुनुपर्छ भन्ने हाम्रो प्राथमिकता थियो । पाँच वटा एम्बुलेन्स पनि स्वास्थ्यसंस्थाहरूलाई वितरण गर्यौँ ।
मैले सामाजिक समावेशीकरणको क्षेत्रलाई पनि प्राथमिकतामा राखेको थिएँ । गाउँका महिलाहरू पहिला धेरै बोल्दैनथे । अहिले न्यायिक समिति, पालिका र भन्नुपर्ने ठाउँमा आफ्नो कुरा राख्न सक्ने भएका छन् । यो देख्दा खुसी लाग्छ । सामाजिक क्षेत्रको कामको परिणाम अलि ढिला देखिने हो । त्यो बेलाको कामको परिणाम अहिले देखिन थालेको छ ।
अनि, विभिन्न खालका महिलाको सवाललाई कत्तिको प्राथमिकतामा राख्नुभयो ?
हामीले गर्यौँ । महिला सशक्तीकरण, बालविकासको पक्षमा धेरै काम गर्यौँ। महिला तथा बालबालिका शाखाबाट पनि काम गर्यौँ। पालिकास्तरमा महिला सञ्जाल पनि गठन गर्यौँ र त्यही सञ्जाललाई बजेट दिन्थ्यौँ । उहाँहरूले महिलाका लागि विभिन्न खालका तालिम, क्षमता अभिवृद्धि गर्दै आर्थिक उपार्जन गरी जीविकोपार्जनका लागि सहज होस् भन्ने उद्देश्य राख्यौँ ।
पालिकाबाट बसाइँसराइ ‘जिरो’ बनाउने भनेर काम गर्यौँ । हाम्रो पालिकामा सामुदायिक विद्यालयबाट जिल्लामै उत्कृष्ट विद्यार्थीहरू निस्किरहेका छन् । एसइईमा राम्रो गरिरहेका छन् । एमबिबिएसमा तीन जनाले छात्रवृत्तिमा नाम निकाल्नुभयो ।
पालिकालाई ‘जिरो डेलिभरी’ (घरमा सुत्केरी हुने अवस्थालाई शून्यमा झार्ने काम) पनि गरेका छौँ । त्यो गर्दा एम्बुलेन्स पनि निःशुल्क गरेका छौँ । स्वास्थ्यचौकीमा सुत्केरी हुने महिलालाई दुई हजार रुपैयाँ पनि दिन्छौँ । काठमाडौँ नै जानुपर्ने अवस्था भए पनि एम्बुलेन्स सेवा निःशुल्क हुन्छ ।
हामी २०७२ सालको भूकम्प भएको दुई वर्षपछि निर्वाचित भएका थियाैँ । पुनर्निर्माणको काम हुँदै गर्दा कोरोना महामारी आयो । अलि पछि बाढी पनि आयो । यी तीन प्रमुख समस्यासँगै काम गर्नु सजिलो थिएन । कोरोनाको समयमा म पनि कोरोना पोजिटिभ भएँ तर आराम गरेर बस्न पाइनँ ।

लकडाउनका बेला काठमाडौँमा भएका हाम्रो पालिकाका जनतालाई लिएर घर जानेदेखि धेरै खालका तयारी र प्रतिकार्य गर्यौँ । कोरोनाको समयमा धेरै पालिकावासी घर फर्किएर दुई वर्ष लगभग गाउँमै बसे । त्यो बेला बाँझो जमिन हरियाली भयो । तर, कोरोना महामारी कम भएसँगै फेरि गाउँ छोडेर हिँड्न सुरु भयो ।
हरेक घरका कोही न कोही आयआर्जनमा लाग्नुपर्छ भनेर प्रत्येक घरबाट एक जनालाई सिलाइकटाइ, ब्युटिपार्लर, कपाल काट्ने, मौरीपालन, बाख्रापालन, आलुखेती आदि जस्ता कामलाई प्रोत्साहन गरेर तालिम लिनेलाई आयआर्जनमा लाग्न सहजीकरण गर्यौँ । त्यो अहिलेसम्म पनि निरन्तर छ ।
हाम्रो पालिकाबाट एकचोटि नौ करोड रुपैयाँ जतिको आलु निर्यात गरेर काठमाडौँ पठायाैँ । बाढीले असर पुर्यायो नत्र १५ करोडसम्मको हुन्थ्यो । हाम्रो लागि त्यो ठुलो उपलब्धि हो । आयआर्जन र उद्यमशीलताका लागि आवश्यकता अनुसार तालिम दिने गरिएको छ ।
सङ्घीय सरकारको ‘राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रम, बागमती प्रदेशको गृहिणी महिलालाई उद्यमशीलतामा लगाउने कार्यक्रमको फाइदा हाम्रो पालिकावासीले लिइरहेका छन् । हाम्रो पालिकामा पाँच हजार घरधुरी छ । यी घरधुरीलाई लक्षित गरेर र पालिकाको भौतिक विकासका लागि महत्त्वपूर्ण कामहरू धेरै भएका छन् । यो कुरा जनताले पनि अनुभूत गरेका छन् ।
यस्ता कामका लागि आफूलाई कसरी तयार गर्नुभयो ?
सबैभन्दा पहिला आफ्नो अधिकार क्षेत्र कहाँ कहाँ पर्छ भनेर थाहा पाउनुपर्यो । स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै संविधानले दिएको अधिकार दिलाउने गरी काम गर्नुपर्छ भन्ने मुुख्य लक्ष्य राखेर काम गरेँ ।
विभिन्न संघसस्था, विज्ञहरूसँग छलफल र परामर्श गर्यौँ । पालिकाको प्राथमिकता पहिचान गरेपछि त्यो पूरा गर्नका लागि गुरुयोजना बनायौँ । त्यसमा ‘प्लान नेपाल’ ले पनि सहयोग गरेको थियो । कतिपय काम योजना बनाएर गरियो भने कतिपय काम परेपछि गर्नुपर्ने पनि हुन्छ भनेर काम गरेँ ।
यसरी यस्ता काम गर्नुपर्छ भनेर तपाईंलाई किन लाग्यो ? पहिलेदेखि नै गर्नुपर्छ भन्ने लागेको थियो कि ?
केही त आफ्नै ठाउँ भएकाले थाहा पनि थियो तर चुनावमा भोट माग्न जाने क्रममा फिल्डमा जाँदा जनताको समस्या आफैँले देखियो । गर्भवती, सुत्केरी महिला समयमा अस्पताल नपुर्याउँदा मरेका छन् । विद्युत् पनि छैन । बोल्दा बोल्दै कति बेला मोबाइल ‘स्विचअफ’ हुने हो थाहा छैन । समस्याहरू यस्तै थिए ।
मलाई कहिलेकाहीँ आउँदा त यस्तो समस्या पर्यो भने सधैँ बस्ने त झन् समस्यामा परेको हुन्छ भन्ने भयो । पालिकावासीले पनि आफ्नो ठाउँको समस्या राख्नुहुन्थ्यो । कार्यपालिका सदस्य, वडाध्यक्षहरू र उपाध्यक्षसँग समन्वय र छलफल हुन्थ्यो ।

छलफलमा सहभागी हुनेमा कोही पहिला पनि जनप्रतिनिधि भइसकेका व्यक्ति हुनुहुन्थ्यो । विभिन्न पार्टीका राजनीतिकर्मीहरूसँग पनि छलफल राख्थेँ । म त्यो बेला पार्टीको ‘पालिका इन्चार्ज’ पनि थिएँ ।
तपाईंले गरेका कामको प्रभाव कस्तो रह्यो ? पालिकावासी आमनागरिकमा के परिवर्तन भएको छ भन्ने लाग्छ ?
काम गर्नका लागि पाँच वर्ष पर्याप्त समय हो तर बजेट अभावले गर्दा सोचेको जस्तो परिणाम दिन सकेनौँ । पूर्णरूपमा जनताको माग पूरा गर्नका लागि त पैसा अथाह हुनुपर्ने रहेछ । जनताले कर पनि समयमा नदिने । कर उठाउन गाह्रो भयो । करमा जाने नियम पनि नयाँ नयाँ भयो ।
प्रत्येक वर्ष कर तिर्नुपर्छ भनेर भन्दा पनि तिर्न अलि गाह्रो मान्ने । त्यहाँ पाँँच वर्षदेखि २० वर्षसम्मको कर पनि पछि एकैपटक तिर्ने हो भन्नुहुन्छ । नयाँ नियममा लिएर जाँदा अलिकति गाह्रो पनि भयो तर अहिले सकारात्मक परिवर्तन हुँदै गएको छ ।
महिलाले काम गर्छन् र नेतृत्व पनि गर्न सक्छन् भनेर विश्वास गर्न थाल्नुभएको छ । मेरो स्वभाव अलि रुखो छ तर यसले पालिकावासीको हितमा काम गर्छे भन्ने छाप परेको छ । महिलाहरू प्रायः को स्वभाव त्यस्तै हो किनकि प्रायः महिलाहरू हन्डर ठक्कर खाएर माथिल्लो पदसम्म पुग्ने हो ।
माथिल्लो पदमा पुगेर पनि घरपरिवारदेखि बाहिरको कामसम्म सबै महिलाले नै मिलाउनुपर्ने हुन्छ । त्यसकारण महिलाहरू कठोरै हुन्छन् तर काम गर्छन् है भन्ने विश्वाससम्म पुर्याइयो । अब चुनावमा उठ्ने महिलालाई सहज हुन्छ । महिलाले काम गर्न सक्दैन भन्ने भाष्य चिर्न सफल भएको छु ।
पहिलो पटक पालिकाको नेतृत्वमा आउँदै गर्दा तपाईंलाई केही कुराको डर थियो कि ?
डर त हुने रहेछ किनकि थाहा थिएन, बुझेको पनि थिएन । नयाँ संरचनापछि अधिकारसम्पन्न स्थानीय सरकार पहिलो पटक बनेको हो । पार्टीले विश्वास गरेर टिकट दियो र जितियो तर काम गर्ने वातावरण त्यति प्रस्ट थिएन, अन्योल थियो ।
कहाँबाट काम सुरु गर्ने ? काम बिग्रियो भने एक जना जनप्रतिनिधिभन्दा पनि आममहिलालाई हेर्ने दृष्टिकोण नै नकारात्मक होला । महिलाले गर्न नसक्ने रहेछन् भन्ने मेसेज (सन्देश) जाला भन्ने चाहिँ लागेको थियो ।
त्यो डर हटाउन के के गर्नुभयो ?
त्यो डर हटाउन ठोस ठोस काम गर्यौँ । यो काम यसकारण ठिक छ, यही गराँै भनेर सरसल्लाह, समन्वय गर्दा पनि विश्वास बढ्दै, डर हट्दै गयो । पहिला कांग्रेस र एमाले हाबी भएको ठाउँ हो । त्यसैले माओवादीप्रति विश्वास कम भएको ठाउँ हो । माओवादीलाई पहिलो चोटि यसरी सरकार चलाउने ठाउँमा आएको देखेका छन् ।
अझ पहिला त यहाँ कम्युनिस्टलाई नै हेर्ने दृष्टिकोण अलि फरक थियो । यतिसम्म कि कम्युनिस्टहरूलाई बस्नै नदिने चौताराहरू पनि थिए यो पालिकामा तर पछि बिस्तारै त्यस्ता सोचाइहरू हट्दै गए । त्यही चौतारा हामीले नै मर्मतसम्भार गर्दियौैँ । त्यो बेला त माओवादी र एमाले एउटै पार्टी थियो ।
दुई पार्टी एउटै हुँदा झन् आफ्नो कामले सिङ्गो कम्युनिस्ट पार्टीकै बदनाम हुने हो कि भन्ने पनि लाग्थ्यो । कहिले महिला आन्दोलनलाई नै धक्का पुग्ने हो कि जस्तो लाग्ने । मैले केही बिगारेँ भने कम्युनिस्टले यसो गर्यो अथवा महिलाले यसो गर्यो वा गर्न सकेन भनेर आरोप आउँछ कि जस्तो लाग्थ्यो । तर, सोचेकोभन्दा सजिलो भयो विश्वास जित्न ।
प्रत्येक चुनावमा झगडा पर्ने ठाउँ हो यो । तर, म लडेको दुवै चुनाव (२०७४ र २०७९ साल) मा झडप भएन । सङ्घ र प्रदेशको चुनाव भयो । त्यो पनि राम्रोसँग भयो । त्योभन्दा अगाडिका सबै चुनावमा कम्युनिस्ट र कांग्रेसको झडप हुने । मेरो पालामा झडप नभएपछि जनताले ममाथि विश्वास गरे कि भन्ने पनि लाग्यो ।

मलाई धेरैले यसो गर्दा यसो हुन्छ भनेर सल्लाह दिनुभयो । म पनि आएका सुझावलाई मनन गर्ने गर्थें । नजानेको कुरा सोध्दा सानो भइँदैन भन्ने विचाराधाराको मान्छे हुँ । प्रशासकीय प्रमुख र अरू अधिकृतहरू पनि मभन्दा लगभग सानै उमेरका । कोही ३०/३२, कोही ३५/३६ वर्षका ।
हामी लगभग उस्तै उस्तै उमेरकाले पालिका चलायौँ । कर्मचारीहरूबाट पनि सल्लाह सुझाव लिन्थेँ । अध्यक्ष भएर पनि कर्मचारीहरूको कुरा सुन्ने, सल्लाह, सुझाव लिँदारहेछन् भन्ने पनि परेको थियो ।
पहिलो पटक स्थानीय सरकार प्रमुख भएर काम गरिरहँदा कस्तो अनुभव भयो ? बाधा अवरोधहरू पनि आएका थिए कि ?
सुरुसुरुमा त पालिका अध्यक्ष भेट्न आउनेहरू ‘अध्यक्ष को हो’ भनेर मसँगै सोध्ने । ‘म अध्यक्ष’ भन्दा पनि नपत्याउने । सिधै प्रशासकीय अधिकृतकोमा जाने र अध्यक्ष भेटाइदिनू भन्ने । यसो गर्नेहरू प्रायः पुरुष हुन्थे । त्यस्तो हुँदाचाहिँ ‘डोमिनेट’ भए जस्तो महसुस पनि हुन्थ्यो । महिला प्रमुख पोस्टमा हुन्छन् भन्ने पुरुषहरूमा कल्पना नै छैन भन्ने पनि लाग्थ्यो ।
पालिकाको काम गर्ने क्रममा बाधाहरू त्यस्तो खासै भएन । यो तरिकाबाट काम गर्दा सजिलो हुन्छ, जनताको भलाइका लागि भनेपछि सल्लाह बमोजिम भयो । पार्टी फरक भए पनि जनताको काम गर्ने भनेर उद्देश्य एउटै भएपछि अप्ठेरो नहुने रहेछ । अरू पार्टीका जनप्रतिनिधिहरूले आफैँ पनि भन्नुहुन्थ्यो, ७५३ स्थानीय तहमध्ये नमुना बन्नुपर्छ भनेर ।
अहिलेसम्म सिन्धुलीका नौ वटा पालिकामध्ये केही निर्णय गर्दा झगडा नभएको पालिका हाम्रै हो भन्ने लाग्छ । २०७४ सालको निर्वाचन हुँदा माओवादीकै अध्यक्ष र उपाध्यक्ष भयौँ अनि दुई जना वडा अध्यक्ष हुनुभयो ।
कहिलेकाहीँ मिटिङमा ‘डिसकस’ पर्थ्याे । ‘झगडा गर्ने भए यहीँ मिटिङमा गरौँ, बाहिर गएर नगरौँ’ भन्थेँ म पनि । छलफलका लागि खुला ठाउँ छोडेपछि झगडा कम हुँदै जाने रहेछ । ७४ सालमा चुनाव लड्दा म ३६ वर्षको थिएँ ।
एक जनाबाहेक सबै वडा अध्यक्ष उमेरमा मभन्दा बढी पाको हुनुहुन्थ्यो तर पनि उहाँहरूले मलाई ‘दिदी’ भन्ने । म पनि कसैलाई ‘दाइ’ भन्थेँ, कसैलाई ‘भाइ’ भन्थे । सम्बन्ध राम्रो थियो । सबैले बहिनी, दिदी, छोरी भन्ने र त्यसरी काम गर्न सजिलो पनि भयो ।
अर्काे कुरा, रातिको बेलुकाको मिटिङमा महिलाहरू बस्न नसक्ने समस्या हुने रहेछ । मलाई कहिलेकाहीँ गाह्रो हुन्थ्यो तर पनि बस्थेँ । अध्यक्ष पदमा हुँदा पनि आफूलाई अप्ठेरो लागेको फिल हुँदो रहेछ ।
अप्ठेरो र बाधालाई हटाउँदै काम गर्न के कस्ता रणनीति लिनुभयो ? आफूले गरेको अभ्यासको उदाहरण दिन मिल्छ भने त्यो पनि भन्दिनुस् न !
मुख्य त बुझाइको कुरा हो । स्वार्थ बाझिनु भएन । एकल स्वार्थ राख्नु भएन । सामूहिक स्वार्थ राखेर काम गर्दा सजिलो हुन्छ । कुनै ठाउँमा खानेपानीको समस्या छ भने त्यो कुराको अनुभूति पहिले आफूलाई हुनुपर्यो अनि कार्यपालिकालाई अनुभूति गराउन पर्यो । त्यो त मेरो व्यक्तिगत समस्या होइन । सामूहिक स्वार्थ त जसले पनि पूरा गर्दिन्छ । पहिले त्यो कुराको बुझाइ गर्नुपर्छ । राजनीतिकर्मीहरू आफ्नो आफ्नो एजेन्डा राखेर नै निर्वाचित भएका हुन् ।

अर्को कुरा, बजेट बाँडफाँटको बेला मैले एमाले, कांग्रेस, माओवादी सबैको घोषणापत्रसँगै राखेर हेरेँ । सबैले घोषणापत्रमा खानेपानीको धारा दिन्छौँ भनेका छन् । त्यो कुरा मिलिहाल्यो । सडक, विद्युतीकरण पनि सबैले दिन्छु भनेका छन् । यसरी हेर्दा प्रायः एजेन्डा सबैका एउटै हुने हुन् । अरू पनि सबैसँग सल्लाह सुझाव मागेँ र काम गर्दै गएँ ।
बाधा अवरोध पन्छाउँदै अघि बढ्ने यस्ता उपाय तथा रणनीतिका बारेमा कसरी जानकारी पाउनुभएको थियो ?
बजेट बाँडफाँट पनि कुरा नमिल्ने एउटा विषय हो, जुन पहिले पार्टी काम गर्दा पनि देखिन्थ्यो । तर, बजेटको प्रक्रियामा राजनीतिक दलहरू मिलेर बजेट बनाउने, विशेष गरेर पहिला गाविसमा हुँदा त्यसो गरेको देखिएको थियो । ती कुराबाट पनि सिकाइ भयो ।
अर्को कुरा, अल्पमतको पनि कदर गर्नुपर्छ भनेको पनि हामीले राजनीति गर्दै गर्दा सुन्दै आएको कुरा हो । मैले अल्पमतको कुरा सुनेँ । अर्को भनेको, म यो पदमा सधैँ हुने होइन, पाँच वर्षपछि म पनि जनता नै हुने हो । त्यो ठाउँमा हुँदा म के गर्छु त भनेर सोच्दै काम गरेँ ।
हामीले बजेट बनाउने बेला अरू पार्टीसँग घोषणापत्र माग्दा दिन मानिरहेका थिएनन् तर मैले होइन, सबैको लिनुपर्छ भनेर सबै एकै ठाउँमा बसेर पढ्यौँ । यो यो योजना मिल्छ । यो यो योजना लिएर अगाडि जाऊँ । यो प्राथमिकतामा काम गरौँ भनेपछि कुरा मिल्यो ।
कहिलेकाहीँ बैठकमा कुरा मिल्दैन । त्यस्तो बेलामा छुट्टै छलफल गरेर सहमतिको प्रयास गरौँ भनेर त्यो दिनको मिटिङ सकेर अर्काे दिन यति बजे बैठक बस्ने भन्थेँ । असहमतिका विषयलाई अनौपचारिक छलफलमा मिलाएर अर्को दिन बैठक बस्दा मिलिहाल्थ्यो ।
हामीले जे काम गरे पनि हाम्रा जनता त त्यही पालिकाकै हुन् भने त्यहाँको आधारभूत आवश्यकता वा समस्या पनि एउटै हो भन्ने कुरामा एकमत भएर काम गर्यौँ ।
पालिका अध्यक्षमा निर्वाचित भएपछि तपाईंले कस्तो खालको नेतृत्वशैली अपनाउनुभयो ?
मलाई सबैलाई साथमा लिएर जाने नेतृत्वशैली सजिलो लाग्छ । सबैको विचारको कदर गरेर सँगै लिएर जाँदा राम्रो नेतृत्व र कामको परिणाम दिन सकिन्छ जस्तो लाग्छ । त्यसरी नै गर्ने प्रयास गर्दै आइरहेको छु । सफल पनि भइरहेको छु कि जस्तो लाग्छ ।
सबैलाई साथ लिएर गर्नुपर्छ भन्ने किन लाग्यो ?
विकासको काम गर्नु छ भने मिलेर गर्नुपर्छ । सबैको चित्त पनि बुझाउनु पर्यो । चित्त बुझेपछि काम गरेको ठिक भन्छ । चित्त नबुझे राम्रो काम पनि नराम्रो भन्छ । जस्तो, सडक बनाइँदै छ भने सडक कालोपत्रे गर्ने कि ढलान गर्ने कि ग्राभेल मात्र गर्ने भनेर जनतासँग सोध्यो भने भन्छन् । अनि त्यही अनुसारले काम गरियो भने जनता पनि खुसी हुन्छन् ।
पालिकाले मसँग पनि सोधेको थियो, सल्लाह बमोजिम भएको भन्ने हुन्छ । त्यसको माया पनि हुन्छ र उहाँहरूलाई अपनत्व महसुस हुन्छ । थाहै नदिई बाटो ढलान वा ग्राभेल गर्दा त जे मन लाग्यो त्यही गर्छ भन्नुहुन्छ । उहाँहरूलाई त्यसको माया पनि हुँदैन । बरु जनप्रतिनिधिसँग टाढिनुहुन्छ । त्यो भएर पनि मलाई सबैको कुरा सुनेर काम गर्नुपर्छ भन्ने लाग्छ र त्यही गर्दै आएको छु ।
सबैलाई साथमा लिएर जाने नेतृत्वशैली प्रयोग गर्नुपर्छ भन्ने चाहिँ कसरी सिक्नुभयो ? कसैबाट प्रेरित हुनुभएको थियो कि ?
यो काम गर्दै जाँदा सिकेको कुरा पनि हो । पालिकाका कामहरू सबैसँग सल्लाह गरेर गर्नुपर्छ भन्ने पनि हो । एक पटक शिक्षा क्षेत्रमा काम गर्दै जाँदा विद्यालय ‘मर्ज’ गर्नुपर्छ भन्ने भयो । पहिला उपाध्यक्षसँग सल्लाह गरेँ अनि सबै दलका प्रतिनिधि र शिक्षकहरूको महासंघ छ, त्यहाँबाट पनि प्रतिनिधि बोलायौँ ।

काम गर्दा शिक्षक र कर्मचारीलाई यसले केही असर पर्छ कि भन्नेबारेमा छलफल भयो । सबैले सल्लाह दिनुभयो र हामीले विद्यार्थी सङ्ख्या न्यून भएका चार–पाँच वटा विद्यालय ‘मर्ज’ गर्यौँ । मलाई लाग्छ, त्यहाँ स्थानीय वासिन्दा, अभिभावक तथा शिक्षकहरूलाई थाहै नदिई गरेको भए त विरोध हुन्थ्यो नि !
सुरुमै छलफल गरेर कुन शिक्षकलाई कहाँ पठाउने भन्ने कुरा पनि भयो र सबैको विचार सुनेर काम गरेपछि सजिलो भयो । कतिपय कुरा चाहिँ गर्दै सिक्दै फेरि गर्दै गर्नुपर्ने रहेछ भने कतिपय चाहिँ आफ्नो नेतृत्वशैलीमा पनि भर पर्ने रहेछ ।
नेतृत्वलाई अझ प्रभावकारी बनाउनको लागि आफूमा थप के कस्ता ज्ञान, सिप भएको भए अझ सहज हुन्थ्यो भन्ने पनि लाग्यो कि ?
सुरुसुरुमा त धेरै कुरा जानिएको हुँदैन, गर्दै गर्दा जान्ने हो तर अझै कति कुरामा अन्जान पनि छौँ । सबै कुरा जाने जस्तो लागे पनि जनताले बोलेपछि कति कुरा, कति विषय जानेका रहेनछौँ भन्ने पनि महसुस हुने रहेछ ।
सिपको कुरा गर्ने हो भने नेतृत्वमा रहनेहरूको बोल्ने कला राम्रो हुनुपर्छ । जनतामा गएपछि त मेरो पनि बोल्ने बानी भैसक्यो तर बोल्दा वा कुनै पनि निर्णय लिँदा एउटा खुसी हुन्छ, अर्काे निरास हुन्छ । मिलाएर राम्रोसँग बोल्ने र दुवैलाई व्यवस्थापन गर्न जान्नुपर्ने रहेछ ।
मेरो छिट्टै ‘रियाक्ट’ गर्ने बानी छ । त्यो आफैँले सुधार गर्नुपर्ने छ । राजनीतिमा फकाइरहनुपर्ने, मिलाएर बोल्नुपर्ने जस्तो हुन्छ तर मेरो बानी चाहिँ त्यस्तो छैन । हुन्छ भने हुन्छ, हुन्न भने हुन्न भन्ने खालको छ । यस्तो बानीले अलिकति गाह्रो पार्छ ।

समवन्य गर्न पनि जान्नुपर्छ । कामको प्राथमिकता निर्धारण गर्ने क्षमता पनि नभई हुँदैन । विकास निर्माणमा पनि सडक निर्माणलाई प्राथमिकता दिने कि खानेपानीलाई दिने ? मठमन्दिरको पनि माग हुन्छ । त्यसमा बजेट दिने भन्ने हुन्छ ।
मैले चाहिँ प्राथमिकता निर्धारण गरेर गर्दा पहिलो दुई वर्ष मठमन्दिर निर्माण नगर्ने निर्णय गरेको थिएँ । त्यसो गरेपछि विरोध पनि आयो तर पहिलो प्राथमिकतामा के पर्छ, नम्बरमा राखेर हेर्यौँ । खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, बिजुली, विपद्सँग कसरी जोगिन सकिन्छ भनेर पहिला काम गर्ने कुरा भयो । त्यसपछि मठमन्दिरको पालो भनेपछि विरोध गर्नेहरूले मान्नुभयो ।
अर्को, मलाई लाग्ने भनेको चाहिँ जनतासँग नजिक भइरहनका लागि अध्यक्षको सचिवालयमा एक दुई जना साथीहरू भए हुन्थ्यो भन्ने लाग्छ । कहिले त पालिकावासीको फोन उठाउन पनि भ्याउँदिनँ । कुनै कुनै मिटिङ, कार्यक्रममा बस्दा पाँच, सात घण्टा पनि लाग्न सक्छ । त्यो फोन उठाउनाका लागि कर्मचारी राखेका छैनौँ ।
पछि त ‘रिप्लाइ’ गर्छु । फोन उठेन भनेर कतिपय त मसँग रिसाउँछन् तर पछि ‘रिप्लाइ गर्छु’ भन्ने धेरैलाई थाहा भैसक्यो । तर पनि सहयोगी साथी वा कुनै कर्मचारीको आवश्यकता महसुस हुन्छ । मलाई मात्र नभएर प्रमुख, उपप्रमुखहरूलाई आवश्यकता रहन्छ तर त्यो व्यक्ति ज्ञानसहितको भरिपूर्ण हुनुपर्छ । हामी अध्यक्षको सचिवालय हुन्छ तर मैले विविध कारणले गर्दा कर्मचारी राखिनँ, राखेको छैन ।
पहिलो पटक पालिका अध्यक्षको चुनावमा लड्दै गर्दाको अनुभव कस्तो थियो, एक पटक सम्झिदिनुस् न !
म सुनकोशी गाउँपालिकाकै पार्टी इन्चार्ज थिएँ । यहाँ सात वटा वडा छन् । सातवटै वडाका पार्टी अध्यक्ष र कार्यकर्ताहरूले दीपा नै पालिका अध्यक्ष हुनुपर्छ भनेर कुरा राख्नुभयो तर टिकटको कुरा टुङ्ग्याउने ठाउँमा त महिलाहरू थिएनन् । त्यो भएर बार्गेनिङ त गर्नुपर्यो नि !

दीपालाई दिऊँ, महिलाहरूले पनि राम्रो गरिरहेका छन् । महिलाहरूले मन्त्री, सांसद भएर चलाइरहेका छन् भने पालिका अध्यक्षमा पनि दिऊँ न भन्ने कुराहरू आए र मेरो नाममै कुरा मिल्यो तर माथि त टिकट टुङ्ग्याउने ठाउँमा केन्द्रीय स्तरमा पुगेका जिल्लाकै नेताहरू हुनुहुन्थ्यो । केहीले ठिक छ भन्नुभएको थियो । केही नेता मान्नुभएको थिएन ।
नमानिसकेपछि मैले पनि सोधेँ, ‘हुँदैन भने किन ? मेरो गल्ती के छ देखाउनुपर्यो कि पार्टीको कारबाहीमा परेको हुनुपर्यो । त्यो पनि छैन । आन्दोलनमा पनि सानैदेखि लागेको हो’ भनेँ तर उपाध्यक्ष दिने भनेर कुरा टुङ्गिएछ । मैले उपाध्यक्ष भए उठ्दिनँ भन्दिएँ । उपाध्यक्षमा उठ्न मानिनँ ।
पछि मध्यराततिर बल्ल यो पालि मलाई नै अध्यक्षमा दिने अनि उपाध्यक्षमा जनजाति समुदायबाट पुरुषलाई दिँदा राम्रो हुन्छ भन्ने छलफल भएपछि अध्यक्षमा म र उपाध्यक्षमा देवी सिंह मोक्तानको नाममा कुरा टुङ्गियो । पछि फेरि माथि केन्द्रमा पुग्दा पनि धरमर धरमर नै थियो तर जे भए पनि हाम्रै नाम आयो । चुनावमा होमिने भइयो ।
म चुनाव लडेको पहिलो पटक । नोमिनेसन गरियो । टिम कसरी तयार गर्ने र कसरी खटाउने भन्ने थाहा छ तर चुनावमा खर्च बढी लाग्ने रहेछ । निर्वाचन आयोगले तीन लाखभन्दा बढी खर्च नगर्नु भनेको थियो । यो विषयमा साथीभाइहरूसँग सल्लाह गरेर मिलाएर खर्चको व्यवस्थापन गर्यौँ । साथीहरूबाट पनि पूर्ण सहयोग पाऐँ ।
श्रीमान् पनि मसँग भोट माग्दै जाँदा ‘कुन उम्मेदवार ?’ भनेर हेर्ने अनि मैले ‘म हो’ भनेपछि ‘श्रीमान् उठेको भए दिन्थ्यौँ’ भन्ने पनि भेट्यौँ । महिलाले गर्न सक्लान् र ? भनेर शङ्काले हेर्ने पनि भेटिए । यस्तो चाहिँ अलि बढी ब्राह्मण क्षेत्रीको बाहुल्य भएको ठाउँमा पाएँ । त्यस्तो हुँदा खिन्नता पनि हुने रहेछ । चुनाव लड्न चुनौती पो रहेछ भन्ने भयो ।
फेरि, वडा नम्बर १, २ र ४ मा ८०–९० प्रतिशत जति जनजाति समुदायको बसोबास छ । त्यसपछि अरू ब्राह्मण, क्षेत्री, दलित समुदाय छन् । ती वडाहरूमा भने ‘तिमीले गर्न सक्छौ’ भनेर सबैले हौसला बढाइदिनुभयो । महिला, बुढाबुढी मलाई देखेर खुसी हुनुभयो । ‘अहिले गर्छु भन्ने, पछि नगर्ने अरू जस्तो नहुनू तिमी’ भन्नुभयो ।
अर्को पनि के देखेँ भने सामान्य जनताले हौसला दिने तर पढेलेखेकाहरूबाटै निरुत्साहित गर्ने काम भयो । जे होस्, चुनाव लडियो र जितियो पनि । चार जना पुरुषसँग प्रतिस्पर्धा थियो । पुरुषहरूसँग प्रतिस्पर्धा छ, महिलालाई हेर्ने दृष्टिकोण समाजको त्यस्तै हो भनेर डर पनि थियो । त्यही पनि झिनो मतले जितियो । २८१ मतले जितेर २०७४ जेठ ६ गते शपथग्रहण गरेको हो ।
शपथग्रहणपछि त्यहाँ सबै राजनीतिक दललाई बोलाएका थियौँ । यो पहिला हाम्रो पार्टीको १० नम्बर इलाका थियो । कांगे्रस, एमालेका प्रतिनिधिले यो इलाका माओवादीकै जिम्मामा छ, सुधार्ने, बिगार्ने तिम्रै हातमा छ भन्नुभयो । मैले पनि ठिकै छ भनेँ । शपथग्रहण समारोहमा पनि सबैबाट राय, सल्लाह, सुझाव लियौँ ।
शपथपछिको पहिलो मिटिङमा हाम्रो प्राथमिकता के गर्ने हो भनेर मिटिङ बस्यौँ । सडक, खानेपानी र विद्युतीकरणलाई प्राथमिकतामा पारेर अगाडि बढ्ने निर्णय भयो । त्यसै अनुसार बजेट विनियोजनको प्रोसेसमा लाग्यौँ ।
तपाईंले चुनावमा उठ्दा गर्नुभएको प्रतिबद्धता र परिकल्पना अघिल्लो कार्यकालमा कति पूरा गर्नसके जस्तो लाग्छ ?
मलाई ७०–८० प्रतिशत जति पूरा गरेँ जस्तो लाग्छ । जनताका आधारभूत आवश्यकतालाई प्राथमिकता दिएर विकासको काममा लागियो । अहिले सबै ठाउँमा विद्युत् पुगेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी र सडक निर्माण पनि धेरै ठाउँमा भइसक्यो । यो ठुलो उपलब्धि हो । मलाई दोस्रो पटक चुनाव जित्नका लागि आधार पनि बनेको थियो, मेरो पहिलो कार्यकालको काम ।
पालिकावासीले तपाईंलाईं अहिले देख्दा पहिले जस्तो उत्साह प्रकट गर्छन् कि फरक भाव प्रकट गर्छन् होला ?
राम्रै महसुस गर्नुहुन्छ । लगभग लगभग काम गरेको छ भनेर सन्तुष्ट हुनुहुन्छ । विरोधीहरूले त विरोध मात्र गर्ने हुन्, कतिपय विरोधै गरिरहने पनि हुन्छन् । तर, आधारभूत जनताले राम्रो काम भएको छ भन्ने महसुस गर्नुभएको छ भन्ने लाग्छ ।
तपाईं पदमा हुँदा सहकर्मी, घरपरिवार, साथीभाइ, पालिकावासीले कस्तो खालको सहयोग गरेको भए काम गर्न अझ सहज हुन्थ्यो भन्ने लाग्छ ?
काम गर्दा धेरैतिर ध्यान, विचार पुर्याउनुपर्ने हुन्छ । पार्टीका साथीहरूले केही निर्णय गर्दा पार्टीलाई पनि ‘ह्याम्पर’ नहुने र जनताको हितमा हुने गरी गरेको भए हुन्थ्यो भन्ने लाग्छ । कहिलेकाहीँ पार्टी निर्णयले हामी जनप्रतिनिधिलाई गाह्रो पनि हुने रहेछ । तपाईंको पार्टीले त यस्तो गर्यो नि भनेर प्रश्न उठ्दा जवाफ दिने ठाउँमा हामी हुन्छौँ । त्यो भएर पार्टीले गर्ने निर्णयहरू राम्रो भए हुन्थ्यो भन्ने लाग्छ ।

घरपरिवारबाट सासूससुरा, भाइबहिनी, देवरदेउरानी सबै जनाको सहयोग छ । म र मेरो श्रीमान् दुवैजना राजनीतिमा भएपछि छोरीहरूलाई समय दिन चाहिँ नपाइने रहेछ । कहिलेकाहीँ उनीहरूको गुनासो पनि आउँछ तर उनीहरू पनि बुझ्ने खालका छन् । त्यो पनि सहयोग नै हो ।
सिन्धुली जिल्लाको परिवेशमा स्थानीय सरकार प्रमुखको भूमिकामा एक जना महिला निर्वाचित भएर काम गर्नु भनेको वास्तवमा के रहेछ ?
महिला भन्नेबित्तिकै समाजले स्विकार्दैन । काम गरेर देखाइसकेपछि मात्रै विश्वास गर्छन् । पुरुष हो भने उसको क्षमता कस्तो छ भनेर सोचिँदैन । जहाँ महिला हुन्छन् त्यहाँ बेथिति कम हुन्छ भन्ने चाहिँ छ ।
महिलाहरूले भ्रष्टाचार गर्दैनन् । अनुशासनमा रहेर काम गर्छन् भन्ने विश्वास जनतामा लगभग भइसकेको छ । नेपालमा मन्त्री महिला र मन्त्री पुरुष हुँदाको कामलाई तुलना गरेर हेर्दा पनि हुन्छ । महिलाहरूले परिवार र समाजलाई कसरी बचाउन सकिन्छ त्यो तरिका, उद्देश्यका साथ काम गर्छन् ।
हामी महिला प्रमुख भएपछि पालिका, टोल, गाउँ मेरो परिवार हो । परिवारलाई बचाउन जसरी दुःख गर्नुपर्छ, त्यसरी नै यो पालिका बनाउन, हुर्काउन दुःख गर्नुपर्छ भनेर अगाडि बढ्छौँ । केही पुरुषमा पनि काम गर्नुपर्छ भन्ने विचार र सोच छ तर बढी जस्तो हेल्चेक््रयाइँ गर्ने गरेको पाइन्छ । अर्को कुरा, महिलाले गर्न सक्छन् भनेर हेर्ने बुझ्ने सकारात्मक सोचको विकास समाजमा भएको छ ।
पहिलो कार्यकाललाई फकिएर हेर्दा तपाईंलाई कुन कुराले सबैभन्दा बढी गर्वको महसुस गराउँछ ?
महिलाहरू आफूमाथि भएको अन्याय र अत्याचारको विरोधमा बोल्न सक्ने भएका छन् । मुख्यतः विरोध गर्न सिकाउने हो । कसैले मलाई हिंसा गरिरहेको छ भने त्यसको जवाफ दिनसक्ने खालको हुनुपर्छ । पालिकामा न्यायिक समिति छ, त्यहाँ गएर उजुरी दिएपछि न्याय पाउँछु भन्ने बनाएका छौँ ।
महिलाको आर्थिक, राजनीतिक सशक्तीकरण तथा सचेतनाका कार्यक्रमहरू थुप्रै गर्यौँ । नेपाली कांग्रेस पार्टीको दिदी सुशीला थिङ (हाल नेपाली कांगे्रसको सचेतक) वकिल पनि हुनुहुन्छ । उहाँलाई प्रशिक्षक बनाएर महिला अधिकारको बारेमा संविधानमा लेखिएका कुरा तथा महिलाले जान्नै पर्ने कानुनी सचेतनाका बारेमा धेरै ठाउँहरूमा गएर क्लास दिने व्यवस्था गर्यौँ ।
महिलाहरूले पनि बुझ्न खोजेर अगाडि आउने, बोल्ने, आफूलाई लागेको कुरा भन्ने गर्नुभएको छ । त्यस्तो देख्दा गर्व लाग्छ । पहिला म एक जना उम्मेदवार थिएँ । कानुनी सचेतनाका क्लास दिएपछि आफ्नो पार्टीभित्र र अरू पार्टीमा पनि पालिका प्रमुख, उपप्रमुखमा उठ्न सक्ने अरू महिलाहरू पनि तयार हुनुभयो । यस्तो देखेर खुसी लाग्छ ।
कांग्रेस, एमाले पार्टीमा पनि मलाई यो पद चाहिन्छ भनेर दाबी गर्ने महिलाहरू धेरै हुनुभएको छ । यो देखेर खुसी भएको हुन्छु । प्रश्नहरू उठाउन सक्ने र मैले यो पोस्ट किन पाउन सकेन भनेर आफ्नो कुरा राख्न सक्ने महिलाहरू तयार भएका छन् । साथै, पालिकाको विकासका लागि पनि थुप्रै काम भए । यसमा गर्व लाग्छ ।
तपाईंको पहिलो कार्यकालको अनुभवको आधारमा स्थानीय तहको नेतृत्वमा रहेका अन्य जनप्रतिनिधिलाई के के सुझाव दिन चाहनुहुन्छ ?
सबैभन्दा पहिलो, स्थानीय तहको कानुनको अध्ययन गर्नुपर्छ । हामीले कानुनकै ‘पेरिफेरी’ मा रहेर काम गर्ने हो । त्यसैले त्यसको बारेमा जानकारी लिनुपर्छ । अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष जो भए पनि आफ्नो पदीय अधिकारका बारेमा जानकारी लिएर काम गर्दा सजिलो हुन्छ । कहीँ अप्ठ्यारो आए पनि ‘ट्याकल’ गर्न सक्छन् ।
अर्को कुरा, जनताको कुरा सुन्नुपर्यो, त्यसका लागि प्रत्यक्ष फिल्डमा रहेर काम गर्नुपर्छ । जनताको विश्वासिलो पात्र बन्नुपर्छ । समन्वय र सहकार्य गर्ने र एकल निर्णय नगरी सरसल्लाह लिएर काम गर्नुपर्छ । आर्थिक प्रलोभनमा पर्नुहुँदैन । आफू पनि भ्रष्टाचारमुक्त हुने र पालिकालाई पनि भ्रष्टाचारमुक्त बनाउँछु भनेर काम गर्नुपर्छ ।
जनप्रतिनिधिहरूलाई आफ्नो पालिकाको आधारभूत आवश्यकता के हो भनेर राम्ररी बुझ्न र त्यसको आधारमा प्राथमिकताका क्षेत्रहरू निर्धारण गरेर बजेट ल्याउनुपर्छ पनि भन्न चाहन्छु ।
पहिलो कार्यकाललाई पछाडि फर्केर हेर्दा समग्रमा कस्तो महसुस हुन्छ ?
आफ्नो विगत हेर्ने हो भने मैले राम्रै काम गरेर यहाँसम्म आइपुगेको छु जस्तो लाग्छ । यसले गर्दा हाम्रो पालिकामा अन्य महिलालाई पनि अब स्थानीय तहका कुनै पनि पदमा निर्वाचित हुन बाटो सहज भएको छ भन्ने लाग्छ ।
काम गर्दा बाधाअड्चन भए पनि सरल तरिकाले नै अवतरण गरियो भन्ने लाग्छ । सुरुसुरुमा महिला भएकै कारण जनताले विश्वास नगरे पनि पछि विश्वास गर्ने वातावरण बनाइयो । त्यसै कारण दोस्रो पटक पनि टिकट पाएर जित्न सकेँ भन्ने लाग्छ । समग्रमा पहिलो कार्यकाललाई फर्किएर हेर्दा राम्रो लाग्छ ।
अरू पनि केही भन्न मन लागेको छ ?
महिलाहरू नेतृत्व पङ्क्तिमा आउनका लागि पहिला आफू तयार हुनुपर्छ । म बलियो छु, म गर्न सक्छु, अरूभन्दा कम छैन भनेर आफूमाथि विश्वास हुन पर्यो । त्यसपछि मात्र जनताले विश्वास गर्छन् । आफूले आफूमाथि विश्वास गर्ने वातावरण बनाउन सक्नुपर्छ ।

मानसिक, शारीरिक र आर्थिकरूपमा कमजोर छु भन्नु हुँदैन । घर, परिवार र बाहिरको कामको व्यवस्थापन गर्नका लागि समयतालिका बनाएर काम गर्नुपर्छ । घरमा सबैको साथ सहयोगले गर्दा पनि होला, मैले पारिवारिक झन्झट केही पनि नलिई काम गर्न पाएको छु । यसले गर्दा झन् सजिलो भएको छ ।
मेरो सानो छोरीलाई ममीले हेर्नुहुन्छ । ठुली छोरी बाबासँग काठमाडौँ बस्छे । म सिन्धुलीमा छु । चुनाव जित्दा सानो नानीको उमेर दुई वर्षको थियो । ठुली छोरीको जन्म २०६२–६३ को आन्दोलनका समयतिर भएको हो । त्यो बेला त गरेँ भने अहिले त दुवै छोरी ठुला भइसके । अलि सजिलो छ ।
मैले द स्टोरी किचेनले तयार गरेको निर्देशिकाका आधारमा तपाईंलाई केही प्रश्न गरेँ । यसरी कुराकानी गर्दा तपाईंलाई कस्तो अनुभव भयो ?
यो कुराकानी गर्दाको अनुभव त धेरै राम्रो लाग्यो । एकदम आफ्नोपन जस्तो लाग्यो । म धेरै मिडियामा बोल्दा पनि बोल्दिनँ तर यो त विशुद्ध महिलाहरूको भएका कारणले गर्दा बोलेँ । बोल्ने क्रममा मैले बितेको कार्यकालमा देखे, भोगे र गरेका कुरालाई सम्झन पाएँ । प्रश्न सोधेर सहजीकरण गर्दिनुभयो ।
प्रश्न सोध्दा पनि एकदम सजिलो तरिकाले सोधेर बोल्न सहज बनाइराख्नुभयो भन्ने ‘फिल’ भइराखेको छ । यो कुरा दिमागमा चलिरहेको थियो अघिदेखि । यो मिडिया मेरो आफ्नै भोगाइको कुरा राख्ने ठाउँ हो, म जस्तै महिलाहरूको लागि हो भन्ने चाहिँ लागेको छ । कुराकानी भयो, धन्यवाद !
प्रकाशन मिति : २०८२ बैशाख १८ गते, बिहीवार
पालिकाका सारथी महिलाहरूका थप कथाहरू
- मैले केही गर्नुपर्छ भन्ने सोचेर काम गरेँ
- सुरुदेखि नै असल सोच राखेर धैर्यपूर्वक मिहिनेत गरियो
- सफल हुन पुरुषले भन्दा दोब्बर काम गर्नुपर्ने रहेछ
- जसले भुल्न सकेनन् समुदायप्रतिको जिम्मेवारी
- सुरुदेखि नै असल सोच राखेर धैर्यपूर्वक मिहिनेत गरियो
- उपस्थितिसहित अर्थपूर्ण सहभागिता भए झनै राम्रो
- उपप्रमुख पद महिलाका लागि मात्रै ठानियो
- हामीलाई दिइएका अधिकारले मात्रै नपुग्ने अनुभव भयो
- प्रयोग नहुने चेतका साथ पदीय भूमिकाको खोजी
- सक्दो खटेर काम गरियो र मन जितियो
- उत्तरदायी र जवाफदेही प्रतिनिधित्वको अभ्यासमा
- सडक र विद्युत् नै थिएन तर अहिले भयो
- अविश्वास र विभेदको जगमा कोटाको राजनीतिक पिरलो
- आफू जस्तै युवाका समूहहरूसँग बढी घुलमिल भएँ
- विभेद र अपमानको बोझ कार्यस्थलमा पनि थोपरिँदा
- धेरै त कुरै नबुझेर बाधा गर्न आउने हो कि जस्तो लाग्छ
- नयाँ संरचनाको थालनी गर्दाका केही भोगाइ र सिकाइ
- महिला भएरै नजानेको भन्ठान्नेहरूले मलाई पनि लैङ्गिक विभेद गरे
- मतदाताको मतलाई कदर गर्ने गरी नेतृत्व शैली अपनाएँ
- चितवनमा महिला जनप्रतिनिधिले गरेका अनुभव र उत्कृष्ट काम
- पालिका बनाउनलाई मेरो आफ्नै योजना थियो
- स्थानीय स्रोतसाधनमा मुस्लिम महिलाको पनि पहुँच र पकड
- अनुशासनमा रहेर थुप्रै काम महिला नेतृत्वले गर्न सक्छ
- जानियो, बुझियो र सकेसम्म राम्रै गरियो
- निष्ठापूर्वक काम गरे सफल भइँदो रहेछ
- विषम परिस्थितिमा पनि केही सकारात्मक काम
- कोही कसैबाट प्रेरित नभई काम गर्दै नेतृत्व गर्न सिकेँ
- गुणस्तर, जवाफदेहिता र पारदर्शिता बढाउन सफल