Home Insight आन्तरिक बेचबिखनको जोखिममा महिला र किशोरी (भिडियो सहित)

आन्तरिक बेचबिखनको जोखिममा महिला र किशोरी (भिडियो सहित)

262
0

सिन्धुपाल्चोक जिल्लामा लामो समयदेखि महिला तथा किशोरी बेचबिखन र महिला हिंसाविरुद्ध क्रियाशील महिलामध्येमा पर्ने एक जनाको नाम हो, जयन्ती खड्का । उहाँ तीन दशकअघि स्थापित गैरसरकारी संस्था ग्रामीण महिला सृजनशील परिवारको संस्थापक अध्यक्ष हुनुभयो । अहिले पनि आफू सोही संस्थाको अध्यक्ष भएको र महिला अधिकारका लागि क्रियाशील रहेको उहाँले बताउनुभयो ।

देशमा २०४६ सालको जनआन्दोलन सफल भएर बहुदल आइसकेपछि अधिकारका क्षेत्रमा काम गर्ने उद्देश्यले जिल्ला जिल्लामा विभिन्न गैरसरकारी सङ्घसंस्था खुल्न लागे । महिला समूहहरू पनि खोलिए । जयन्तीको नेतृत्वमा २०४८ सालमा सिन्धुपाल्चोकमा स्थानीय महिलाहरूले एउटा समूह बनाएका थिए । त्यही समूहलाई २०५० सालमा गैरसरकारी संस्थाको रूपमा दर्ता गरियो । उहाँका अनुसार, संस्थाको मुख्य उद्देश्य नै महिला तथा किशोरीको बेचबिखनविरुद्ध लाग्ने, महिलामाथि हुने गरेका घरेलु हिंसाको अन्त्य गर्ने र समग्रमा महिला सशक्तीकरण गर्ने थियो ।

जयन्तीको भनाइमा सिन्धुपाल्चोक मानव बेचबिखन, त्यसमा पनि खासगरी महिला, किशोरी र बालिका बेचबिखन धेरै हुने जिल्लाको रूपमा पहिलेदेखि नै चिनिन्थ्यो । यसैले उहाँहरूले त्यसको विरुद्धका कामलाई संस्थाको उद्देश्यमा समावेश गर्नुभयो । यद्यपि, तीन दशक बितिसक्दा पनि बेचबिखन कम नभएको र त्यसको स्वरूप बदलिँदै आएको उहाँले पाउनुभयो । उहाँका अनुसार, पछिल्लो समय देशबाहिरभन्दा पनि देशभित्रै आन्तरिक बेचबिखनमा पनि बालबालिका परिरहेका छन् ।

संस्था स्थापना गर्दाको समयलाई सम्झँदै जयन्तीले भन्नुभयो, “आजभन्दा ३२–३३ वर्षअगाडि मानव बेचबिखनभन्दा पनि चेलीबेटी बेचबिखन भनिन्थ्यो । सिन्धुपाल्चोकबाट धेरै चेलीबेटी बेचबिखनमा पर्ने गरेकाले संस्था नै खोलेर काम गर्न थाल्यौँ ।” उहाँका अनुसार, बेचबिखनबाट उद्धार गरी फिर्ता ल्याइएकालाई परिवार र समाजले नै नस्विकार्ने अवस्था थियो । त्यस्तो बेला उद्धार गरी ल्याइएका महिला तथा किशोरीका लागि परिवारमा पुनर्स्थापना हुने वातावरण तयार गर्नुअघि सुरक्षित आवासगृह पनि चाहिने रहेछ भन्ने महसुस भयो । उहाँले भन्नुभयो, “बेचबिखनमा परेकालाई बल्लबल्ल फिर्ता ल्यायो घरपरिवारले नै नस्विकारेपछि सुरक्षित आवासगृह पनि चाहिने रहेछ भन्ने आवश्यकता महसुस भयो ।” त्यसपछि आवासगृह खोलियो, जुन अहिलेसम्म पनि चलिरहेको उहाँले बताउनुभयो ।

आफूले नेतृत्व गरी स्थापना गरेको उक्त संस्था जिल्लाकै पुरानो भएको दाबी पनि उहाँले गर्नुभयो । संस्थाले हिजोआज महिला सशक्तीकरणका कामसँगै महिला तथा किशोरी बेचबिखनविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्ने, बेचबिखनमा परेकालाई उद्धार गरी घरमा पुपुनर्स्थापना तथा परिवारमा पुनर्मिलन गराउने र बालविवाह अन्त्यका लागि काम गरिरहेको उहाँले बताउनुभयो । उहाँको दृष्टिमा अहिले पनि साथीको लहलहैमा लागेर हिँड्ने तथा परिवारको आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय छुटेका बालबालिका आन्तरिक बेचबिखनमा परिरहेका छन् । यसैले यस्ता घटनालाई कम गर्न संस्थाले स्थानीय सरकार र पालिकाहरूसँग समन्वय गरेर काम गरिरहेको पनि उहाँले बताउनुभयो ।

‘सन्धान’ टोली २०८० असोजमा सिन्धुपाल्चोक गएका बेला जयन्तीसँग भेटेर कुराकानी गरेको थियो । सिन्धुपाल्चोकमा महिला तथा किशोरीमाथि भइरहेका आपराधिक घटना र सरोकारवाला निकायको भूमिकासँगै संस्थाले तीन दशकभन्दा अघिदेखि गर्दै आएको काम र समाजमा भएको परिवर्तनका विषयमा सो कुराकानी केन्द्रित थियो । प्रस्तुत छ, ग्रामीण महिला सृजनशील परिवारकी अध्यक्ष जयन्ती खड्कासँग ‘सन्धान’ का तर्फबाट क्यामेरामा मुकुन्द बोगटीको साथमा लक्ष्मी बस्नेतले गर्नुभएको सोही कुराकानीको भिडियो अंश :

प्रकाशन मिति : २०८१ असाेज २१ गते, साेमवार