शोभा सुनुवार आदिवासी जनजाति महिलाहरूको हकअधिकारका लागि दुई दशकभन्दा अघिदेखि काम गर्दै आउनुभएको छ । उहाँ अहिले राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको केन्द्रीय महासचिवका साथै २०५६ सालमा स्थापित सुनुवार सेवा महिला समाजको अध्यक्ष हुनुहुन्छ । सुनुवार सेवा समाज सङ्घीय समितिको उपाध्यक्षसमेत रहेकी उहाँ आदिवासी जनजाति, त्यसमा पनि सुनुवार जातिको अस्तित्व, पहिचान र अधिकारका लागि क्रियाशील हुनुहुन्छ । यसैले उहाँसँग भेटेर समग्रमा आदिवासी जनजाति महिला तथा सुनुवार जाति, सो जातिभित्र महिलाको स्थान र अवस्थालगायतका विषयमा कुराकानी गरिएको थियो ।
आज अगस्त ९ तारिख विश्व आदिवासी दिवस पनि हो । यसै सन्दर्भमा प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले आदिवासी जनजाति महिला अधिकारकर्मी शोभा सुनुवारसँग हालै गर्नुभएको कुराकानीको सम्पादित अंश :
आदिवासी जनजातिभित्र पर्ने सुनुवार जातिको बारेमा सङ्क्षेपमा बताइदिनुस् न !
आदिवासी कोइँच सुनुवार जातिको बसोबास विशेष गरी दोलखाको खिम्ती खोला, ओखलढुङ्गाको मोलुङ यलुङ, रामेछापको लिखु खोला र रोल्वालिङ हुँदै बग्ने नदीहरूको वारिपारि रहेको छ । उनीहरू सिन्धुली, सोलुखुम्बु, उदयपुर, खोटाङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर, सङ्खुवासभालगायत अन्य जिल्लाहरूमा पनि बसोबास गर्छन् ।
अन्य सुनुवारहरूको आफ्नै जीवनशैली छ । पहिला पहिला खोरिया फाँडेर, खेती गरेर, सिकार गरेर, कन्दमूल खाएर जीवन निर्वाह गर्थे । सुनुवारहरूको आफ्नै भाषा, धर्म, संस्कृति हुन्छ । ओखलढुङ्गा र रामेछाप सिमाना भएर बग्ने लिखु खोला आसपासका सुनुवारहरूको किपट भूमि थियो रे ! किपट भूमि भनेको आदिमकालदेखि बसेको ठाउँ अथवा उहाँहरूको थातथलो हो । २०७८ सालको जनगणनामा सुनुवार जातिको जनसङ्ख्या ७८ हजार ९१० छ । यो जनसङ्ख्या अनुसार सुनुवार जाति अल्पसङ्ख्यक समुदायमा पर्छ ।
तपाईं आदिवासी जनजाति महिलाहरूको अधिकारका लागि काम गर्नुहुन्छ, आदिवासी जनजाति महिलाको अवस्था कस्तो छ ? खासगरी नीति निर्णयको हिसाबले ?
आदिवासी जनजातिभित्र महिला र पुरुषबिच विभेद कम हुन्छ । निर्णय गर्ने अधिकार पनि महिलाहरूमा हुन्छ । हाम्रो समुदायमा महिला र पुरुषको स्थान बराबरी जस्तै हुन्छ । श्रीमान्ले कमाएको पैसामा पनि महिलाहरूको हकअधिकार हुन्थ्यो, अहिले पनि छ । महिलाहरूलाई नसोधी पुरुषले मात्र एकतर्फी निर्णयले घर, जग्गाजमिनदेखि गाईवस्तुको पनि एकलौटी निर्णयमा किनबेच गर्दैनन् । सरसल्लाहमै निर्णय हुन्छ । घर, घडेरी किनेको अवस्थामा पनि महिलाहरूको नाममा राख्ने चलन बढेको छ । यसरी भन्दा महिलाको कुरा झन्डै ८० प्रतिशत लागु हुन्छ भन्न सकिन्छ ।
सुनुवार समुदायका महिलाहरूको आयआर्जनको माध्यम के हो ? पुर्ख्याैली पेसाको निरन्तरता छ कि छैन ?
आदिवासी समुदायमा आ–आफ्नो जाति अनुसार फरक पेसा हुन्छ । सुनुवार महिलाहरूको कुरा गर्ने हो भने पहिले पहिले आफ्नो परम्परागत सिपलाई प्रयोग गरेर आयआर्जन गर्थे । हाम्रो पुर्ख्याैली पेसा एउटा त रक्सी बनाउने हो । रक्सी बनाउन प्रयोग गरिने मर्चा बनाएर बेच्ने पनि हो । यो काम अहिले पनि गरिन्छ तर कम हुँदै गयो । सुनुवार महिलाहरूले रक्सी बनाएर बेचेरै आफ्ना बालबच्चालाई पढाउने खर्च जुटाउँथे । त्यस्तै, भाङ्ग्राबाट कपडा बनाएर बेच्ने गर्थे । यो पेसा अहिले पनि छ । त्यसैगरी, बुन्नेतुन्ने, आफ्नै सांस्कृतिक कपडा सिलाएर/बनाएर बेच्ने, मौसम अनुसारका फलफूल फलाएर बेच्नेदेखि वस्तुभाउ पालेर दुध, घिउ बेचेर पनि आयआर्जन गर्नुहुन्छ । विगतमा जसरी ती सबै काम अहिले हुन नसके पनि स्वावलम्बी हुनुपर्छ भनेर महिलाहरू आयआर्जनमा लागिरहनुहुन्छ । खेतीपातीको काम पनि हुन्छ ।
कतिपय परम्परागत पेसालाई निरन्तरता दिन नसकिएको भन्नुभयो नि, त्यसको कारण के हो ?
परम्परागत पेसामा सुनुवार महिलाहरूको आफ्नै दक्षता र आदिवासी ज्ञान हुन्छ । त्यसको उपयोग गर्न नपाउनु वा त्यो पेसा छोड्नुपर्ने अवस्था आउनुमा राज्य दोषी छ । जस्तै, सरकारले मदिरा उत्पादन र बेचबिखन गर्न नपाइने भन्छ । विभिन्न ठाउँमा उत्पादित रक्सी पोखाउने, नष्ट गर्ने काम भइरहेको छ । रक्सी हाम्रो संस्कृतिसँग पनि जोडिएको कुरा हो । हाम्रो जाति समुदायमा यसको महत्त्व नै छुट्टै छ । त्यो राज्यले बुझेन । समग्र आदिवासी महिलाहरूको आयआर्जनको बाटो राज्यले खोसेको छ ।
हाम्रा अघिल्ला पुस्ताहरूले सबै कुरा हस्तान्तरण गर्दै हाम्रो पुस्तासम्म त आइपुग्यो तर हामीले अहिलेको युवा वा हाम्रा बालबच्चाहरूलाई हस्तान्तरण गर्न सकिँदैन कि भन्ने चिन्ता छ ।
सुनुवारको छुट्टै भाषा छ ? नयाँ पुस्ताले कत्तिको प्रयोग गर्छन् ?
हाम्रो भाषा छ, लिपि छ । गाउँघरमा अहिले पनि आफ्नै भाषा बोल्नुहुन्छ । जो बोजूहरू, आमा, बासँग हुर्केका छन्, उनीहरू आफ्नो भाषा बोल्ने, बुझ्ने गर्छन् । तर युवा पुस्ताले आफ्नो भाषा बोल्न छोड्दै गएका छन् । भन्नुको मतलब हामी सहरमुखी र खसआर्य भाषामा केन्द्रित भइरहेका छौँ । हामीसम्मको पुस्तामा आफ्नो भाषा बोल्नुपर्छ, जान्नुपर्छ, संरक्षण गर्नुपर्छ भन्ने छ तर हामीभन्दा पछिल्लो पुस्ताले त्यसरी आफ्नो भाषालाई माया गरेको छैन । अनि लोप हुने अवस्थामा पुग्न सक्छ । हामी सुनुवार समाज, सुनुवार महिला समाजले पनि भाषाको संरक्षण र नयाँ पुस्तालाई यसको महत्त्व बुझाउने काम गरिरहेका छौँ । स्थानीय तहहरूले पनि भाषा कक्षाहरू सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो माग छ ।
तपाईंहरूले यस्तो गरिरहेको अवस्थामा आफ्नो भाषा, संस्कृति भेषभूषाप्रति युवा पुस्ताले कत्तिको चासो र चिन्ता व्यक्त गरेको पाउनुहुन्छ ?
समयसँगै आधुनिकताले परम्परागत सबै कुरा हराएर जान थाल्यो । पहिले जस्तो अहिले छैन । पहिले हाम्रो समुदायले अल्लोबाट बनाउने विभिन्न कपडाहरूको प्रयोग गर्थे । खेसको पटुका, छिपाको गुनिया, फरिया बनाउँथे । अहिले यस्ता सामान पाईंदैन । तर पनि हाम्रो समुदायमा अग्रज बुढापाकाहरूमध्ये कतिले त अहिले पनि यस्ता कपडा लगाउने गर्नुभएको छ । आधुनिक सोचाइ र विदेशी नक्कलको प्रभावले उबेलाका धेरै कुरा अहिले पाइँदैन । अहिले गाउँगाउँमा बजार पुग्यो । सबै छिटो र सजिलो चाहिने भयो । त्यसैमा रमाउन थाले । हाम्रा अघिल्ला पुस्ताहरूले सबै कुरा हस्तान्तरण गर्दै हाम्रो पुस्तासम्म त आइपुग्यो तर हामीले अहिलेको युवा वा हाम्रा बालबच्चाहरूलाई हस्तान्तरण गर्न सकिँदैन कि भन्ने चिन्ता छ । युवामा पनि कोही आफ्नो सांस्कृतिक भेषभूषा जोगाउने कुरामा सकारात्मक पनि छन् । यसका लागि सचेतना कार्यक्रमहरू हुन जरुरी छ । एकातिर राज्यको जिम्मेवारी छ, अर्कोतिर पुस्तान्तरण र हस्तान्तरणलाई प्रभावकारी बनाइनुपर्छ ।
सुनुवार जातिको शैक्षिक अवस्था चाहिँ कस्तो छ ? राज्यका विभिन्न निकायमा कहाँ कहाँ पुगेका छन् सुनुवार महिलाहरू ?
पहिलेभन्दा अहिले केही हदसम्म शिक्षाको अवस्थामा सुधार भएको छ । पहिले छोरालाई मात्र पढाउने, छोरीमान्छेलाई नपढाउने भन्ने सोचाइ थियो । अहिले छोराछोरी दुवैलाई स्कुल पढ्न पठाइन्छ । तर, अलि ठुलो कक्षा पुग्दै गर्दा पढाइभन्दा पनि युवा पुस्ताकोे लक्ष्य भनेकै विदेश जाने भन्ने देखिन्छ । नेपालमै बसेर सरकारी जागिर खाने, लोकसेवा पढ्ने, प्रशासन, राज्यको विभिन्न निकायमा जागिर खाने सोच नै छैन । बेलायत, अमेरिका, अस्ट्रेलिया जाने मात्रै लक्ष्य देखिन्छ ।
हामीले पाएको आरक्षणको कोटाको सदुपयोग गर्नुपर्छ, पढेलेखेर असल नागरिक भएर देशकै लागि केही गर्नुपर्छ भन्ने चेतना पुर्याउनु अहिलेको आवश्यकता हो ।
हाम्रो जस्तो समुदायका लागि सरकारले निजामती सेवालगायत विभिन्न क्षेत्रमा आरक्षणको सुविधा दिए पनि युवा पुस्ताका मानिस यसतर्फ आकर्षित हुनसकेका छैनन् । हुन त यसमा आर्थिक पाटोदेखि हाम्रो शिक्षा प्रणालीकै पनि कुरा आउन सक्ला । जस्तै, स्टाफ नर्स पढ्न दस लाख रुपैयाँ लाग्छ । जागिर खाँदा मासिक १०–१५ हजारमै काम गर्नुपर्छ । यस्तो अवस्थाले पनि विदेशमा गएर काम पनि गर्ने, कमाउने पनि भन्ने सोचको विकास भएको हुनसक्छ ।
हामीले पाएको आरक्षणको कोटाको सदुपयोग गर्नुपर्छ, पढेलेखेर असल नागरिक भएर देशकै लागि केही गर्नुपर्छ भन्ने चेतना पुर्याउनु अहिलेको आवश्यकता हो । अहिले नै पनि केही सुनुवार महिलाहरू उच्च ठाउँमा पुग्नु भएको छ । राजनीतिको अलि माथिल्लो तहमा भने कमै छन्, सुनुवार महिलाहरू ।
तपाईं आदिवासी महिलाको अधिकारको क्षेत्रमा कसरी लाग्नुभयो ? यसैमा लाग्नुपर्छ भन्ने किन लाग्यो ?
म एउटा किपटमा हुर्केको मान्छे । म त्यो बेलै एसएलसी पास भइसकेको थिएँ । ब्राह्मण जातिको बाहुल्य भएको ठाउँमा हुर्कें । नेपाली भाषा बढी बोल्ने भएँ । त्यति बेलासम्म आफ्नो अधिकारको बारेमा खासै ध्यान दिएको थिइनँ । जब म काठमाडौँ आएँ, त्यसपछि आफ्नो भाषा, संस्कार, संस्कृतिका बारेमा जातीय संस्थाहरूबाट बुझ्न थालेँ । सुनुवार सेवा समाज भन्ने संस्था २०४४ सालमा स्थापना भएको थियो ।
हामी सुनुवार हो । भए पनि पहिले ‘सुनार’ भनेर दलित समुदाय ठान्थे । दलित भनेरै पनि हामीले धेरै ठाउँमा ठक्कर खानुपर्याे । दलित भनेर पहिले त अहिलेभन्दा पनि धेरै विभेद थियो, जुन विभेदलाई हामीले पनि विभिन्न हिसाबले भोगेका छौँ । त्यो अवस्थाले गर्दा पनि सुनुवार जातिको आफ्नो पहिचान बनाउनुपर्छ भनेर लागियो । सँगसँगै अधिकारको कुरा उठाउन थालियो । यसरी गर्दागर्दै ‘मैले नगरे कसले गर्छ ?’ भन्ने भावना आउँदो रहेछ र निरन्तर अधिकारको क्षेत्रमै क्रियाशील छु ।
अधिकारकर्मी भएर काम गर्न सहज, असहज कस्तो रहेछ ?
जुनसुकै काम पनि गर्ने क्रममा सहज असहज वातावरण त सिर्जना हुन्छ नै । तर, समुदायमा काम गर्दा रमाइलो पनि हुन्छ । आफ्नो र आफ्नो समुदायको पहिचान, अस्तित्व र आफ्नो मौलिक अधिकारका लागि लडिराख्दा खुसी लाग्छ । छोरी, बुहारी भएर घरको काम र बाहिर अधिकारकर्मी भएर काम गर्दा चुनौती पनि नआउने त होइन तर घरपरिवारमा बुझाउँदै अधिकारको आन्दोलनमा लाग्न सक्नुपर्छ ।
सुनुवार महिलाको विगत र हालको अवस्थामा कस्तो परिवर्तन पाउनुभएको छ ?
विगतमा सुनुवार समुदायका महिलाले उच्च शिक्षा लिने अवसर पाउनुभएको थिएन । तर पनि उहाँहरू आफ्नो भाषा, परम्परागत सिप, ज्ञान, संस्कारमा पोख्त हुनुहुन्थ्यो । त्यो शिक्षाको हस्तान्तरण, पुस्तान्तरण भएकाले अहिलेसम्म सुनुवार भएर बाँच्न पाएका छौँ । परम्परागत ज्ञान र सिपलाई भनेजसरी अघि बढाउन नसके पनि अहिलेका महिलाले अधिकारका कुरा बुझ्न थालेका छन् ।
जातजातिका थप कथाहरू
- आदिवासीका अधिकारबारे युवालाई बुझाउन जरुरी (भिडियो सहित) – निमी शेर्पा
- “बहुरूपी शोषण र विभेदहरूको सही पहिचान र सम्बोधन आवश्यक छ ।” – कैलाश राई
- कमलरी प्रथा : मुक्तिको इतिहास र वर्तमान
- दलहरुको घोषणापत्रमा राखिएका महिला तथा समावेशी मुद्दा यस्ता छन्
- हायुको पहिचान र महिला अधिकारका लागि काम गरिरहेको छु – कुमारी हायु (भिडियो सहित)
- नेपालको महिला आन्दोलनमा मुस्लिम महिलाको योगदान र सहभागिता
- मेरो प्राथमिकता शिक्षा र स्वास्थ्य – स्यानी चौधरी (भिडियो सहित)
- मेचेको अवस्थामा परिवर्तन आइरहेको छ (भिडियो सहित) – कुमारी मेचे
- तराई मधेसमा महिलाका मुद्दा : विगत र वर्तमान
- के छ त महिला, सीमान्तकृत र अल्पसङ्ख्यकका लागि ?
- बहुल पहिचानमा राज्यको समबुझाइ र समभाव हुनुपर्छ – प्रतिमा गुरुङ (भिडियो कुराकानी)
- समानताको खोजीमा सङ्घर्षरत दलित महिलाहरू
- परिवार धान्न नसकेपछि छोरीलाई कमलरी पठाउँथे – कौशिला चौधरी (भिडियो सहित)
- वनकरिया : जग्गाको स्वामित्व नै नभएका ‘धर्तीपुत्र’
- नेपालको राजनीतिमा सीमान्तीकृत महिलाको प्रतिनिधित्व, अवस्था र चुनौति
- हाम्रो जङ्गलको बास कहालीलाग्दो नै हुन्थ्यो –सन्तमाया वनकरिया (भिडियोसहित)
- वादी महिलाको पहिचान र अधिकार आन्दोलन
- परिवर्तनका लागि सचेत र सक्रिय दलित महिला
- घोषणापत्रमा महिला, सीमान्तकृत र अल्पसङ्ख्यक समुदायका सवाल
- ‘आत्मसम्मानका लागि महिला आफैँ सक्रिय हुनुपर्छ :आङ दाली शेर्पा’
- सांसद हुँदा पनि दलित महसुस गरायो समाजले (भिडियो सहित) – चमेली देवी दास
- चेपाङ महिलामा प्रजनन स्वास्थ्य ज्ञानको कमी
सन्धान प्रकाशन मिति : २०८० साउन २४ गते, बुधवार