Home Elaborations वनकरिया : जग्गाको स्वामित्व नै नभएका ‘धर्तीपुत्र’

वनकरिया : जग्गाको स्वामित्व नै नभएका ‘धर्तीपुत्र’

944
0

संसारमा इतिहास बलियाको मात्र लेख्ने गरियो । हेपिएका, पछाडि पारिएका, कमजोर र पराजित भएकाहरूको इतिहास खोज्न र लेख्न बाँकी छ । पछाडि पारिएका सबै जातजाति र समुदायको उत्पत्ति, विकास र जीवन पद्धतिका बारेमा यथोचित खोजतलास र विधिवत् अनुसन्धान गर्नै बाँकी छ । उनीहरूलाई बलिया जाति एवं शासकहरूले नै दपेटेर लोपोन्मुख पार्दै लोप बनाउने गर्छन् ।

कुनै पनि जाति समुदायको भाषा र संस्कृति लोप बनाएपछि सो जातिको अस्तित्व नै लोप हुने गर्छ । शक्तिमा रहेका कथित उपल्ला जातका मानिसहरूले जनसङ्ख्यामा थोरै र निर्बलिया मानिसहरूको इतिहासँंगसँगै अस्तित्व नै लोप गराइदिने गर्छन् ।

लामो समयसम्म शासनको बागडोर कथित उपल्ला जातिका मानिसहरूले नै कब्जा गरे । यसैले वनकरिया, फ्री, चेपाङ, कुसुन्डा, राउटेलगायत सीमान्तीकृत र लोपोन्मुख जातिहरूको उत्पत्ति र इतिहासका बारेमा पहिले नै खोजी गरिएन । उत्पत्ति र इतिहासकै खोजी नगर्ने शासकहरूले उनीहरूको भाषा र संस्कृतिको संरक्षण गर्ने कुरै थिएन र भएन । यद्यपि, पछिल्लो समय राज्यले लोपोन्मुख वनकरियालाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्ने काम गरेको छ ।

सूचीकरण राज्यले दिएको पहिचानको आधारभूत तह हो । यसपछि वनकरियाहरूका बारेमा मानवशास्त्रीय तथा समाजशास्त्रीय अध्ययन अनुसन्धानको व्यवस्था हुनुपर्छ । यस्तो हुन सकेको छैन । आदिवासी जनजाति समुदायका क्षेत्रमा काम गर्ने केही बुद्धिजीवी, गैरसरकारी सङ्घसंस्था र सञ्चारकर्मीहरूबाट भने वनकरिया समुदायको प्रचारप्रसारका साथै उनीहरूको उत्थानका लागि केही प्रयास भएको देखिन्छ । त्यही प्रयासका कारण वनकरियाहरू आफ्नो पहिचान दिन सफल भएका छन् । अब वनकरियाहरूको उत्पत्ति, विकास, भाषा र संस्कृतिबारे पनि पर्याप्त अध्ययन र अनुसन्धान हुनुपर्ने देखिन्छ ।

घुमन्ते अवस्थाका कुरा

सामूहिक भेलामा वनकरिया समूदायका महिलाहरु । तस्विर :प्रताप विष्ट

वनकरिया जातिका अगुवाहरूका अनुसार, उनीहरूका पुर्खा चुरेघाँच क्षेत्रमा जन्मिए र त्यतै हुर्किए । चुरेघाँचभित्र स्याउले छाप्रो बनाएर बसे पनि मूलतः घुमन्ते जीवन बिताए । घुमन्ते जीवन बिताउनाको पछाडि उनीहरूले मृत्युको घटनालाई कारक मानेको पाइन्छ । बसेको ठाउँमा कुनै एक जनाको मृत्यु भयो भने वनकरियाले त्यो ठाउँ छोड्थे । अर्को ठाउँमा गएर छाप्रो बनाएर बस्ने गर्दथे । यो समुदाय कसरी जङ्गलमा बस्न पुग्यो र वनकरिया नाम कसरी रह्यो भन्ने प्रश्नमा आधारित तथ्यको खोजी अझै भइसकेको छैन ।

वनकरियाहरू ‘वनदेवता’ माथि अगाध विश्वास गर्छन् । उनीहरू वनदेवता खुसी रहुन्जेल मात्र जङ्गलमा गुजारा गर्ने बताउँछन् । वनदेवता खुसी रहुन्जेलसम्म आफूहरूलाई बाघ, भालु, सर्प र अन्य वन्जयजन्तुले पनि केही नगर्ने ठान्छन् । हुरीले छाप्रो पनि नउडाउने उनीहरूको विश्वास रहेको पाइन्छ । १९९० सालमा भूकम्प हुँदा वनकरियाहरू जङ्गलकै छाप्रोमा थिए । त्यतिबेला भूकम्पले उनीहरूको छाप्रो जोडसँग हल्लायो तर भत्काउन सकेन भन्ने उनीहरूको भनाइ छ ।

मकवानपुर जिल्लाको सदरमुकाम हेटौँडाबाट १२ किलोमिटर पश्चिममा रहेको सान्नानीटारबाट उत्तरतर्फ १० घन्टा जतिको पैदल यात्रा गरेपछि चुरेघाँचको जङ्गलमा पुगिन्छ । त्यहाँ उनीहरू छाप्रो बनाएर बसेका हुन्थे । उनीहरू त्यहाँ कसरी पुगे भन्ने तथ्य र प्रमाण वा आधिकारिक कुरा भेटिएको छैन । तर, राणा प्रधानमन्त्री जुद्धशमशेरले वनकरियाहरूलाई हाँडीखोलाको जङ्गल र वन्यजन्तु सखाप पारे भनेर त्यहाँबाट हटाएको कुरा छ । हटाएपछि उनीहरूलाई चुरेको जङ्गल दोराम, कामीखोला, शीतलपुर र मगुवातिर लखेटेको भनाइ स्थानीय वृद्धवृद्धाको छ ।

साबिकको हाँडीखोला गाविस वडा नम्बर ७ डाँडागाउँमा वनकरियाहरूका छाप्रा थिए । छाप्रा थाकल र स्याउलाबाट बनाइएको हुन्थ्यो । उनीहरू ती छाप्रामा वर्षमा ४५ दिन पनि बस्दैनथे । सधैँजसो जङ्गलमा नै घुमफिर गरी बस्थे । उनीहरूले जङ्गलबाट कुरिलो खोजेर छाप्रामा ल्याई उसिनेर बोक्रा ताछ्थे अनि त्यसलाई डाँडागाउँमा लगेर बेच्ने गर्थे । जङ्गलमा कुरिलो, खरेटो र गिट्ठा, भ्याकुुर खोज्ने कामलाई वनकरियाहरू ‘थकरीमकरी ज्यारपास बङ्ला आसमान’ भन्छन् ।

यसरी भेट्यौँ वनकरिया

विं.स. २०५१ वैशाखमा चुरेघाँच क्षेत्रमा वनकरियाहरूसँगको पहिलो क्षण । तस्विर :प्रताप विष्ट

आदिवासी जनजाति प्रतिष्ठानले प्रकाशन गरेको आदिवासी जनजातिहरूको परिचयसहितको सूचीमा लोपोन्मुख वनकरिया जातिका जेठा वनकरियाको परिवारको तस्बिर छापिएको थियो । उक्त तस्बिर तत्कालीन जिल्ला विकास समिति मकवानपुरका सभापति रामेश्वर रानाले उपलब्ध गराएका थिए । तस्बिरको साथमा हाँडीखोलाको चुरेघाँचमा वनकरिया जाति बस्दै आएको उल्लेख थियो ।

नेपाल टेलिभिजनका सञ्चारकर्मी पुष्पहरि क्याम्पा राई, नेपाल टेलिभिजन हेटौँडाका सञ्चारकर्मी महेन्द्र श्रेष्ठ र म २०५१ वैशाख १३ गते वनकरिया जातिका बारेमा खोजी गर्न सान्नानीटार हँुदै चुरेघाँच पुगेका थियौँ । त्यतिबेला हुरीबतासले छाप्राको छानो उडाएको रहेछ । जेठा वनकरिया र माहिला वनकरिया हुरीबतासले छानो उडाएको छाप्राभित्र फेला परेका थिए । त्यतिबेला उनीहरू ढिडो पकाएर सालको पातमा हालेर राता कमिलाको अचार बनाएर खाइरहेका थिए । उनीहरू हामीसँग बोल्न डराए । निकै बेरपछि मात्र जेठा वनकरियाले हामीसँग थोरै कुरा गरे ।

अहिलेसम्मको जानकारीका आधारमा भन्नुपर्दा, वनकरियाले सञ्चारकर्मीहरूसँग भेटेको त्यो पहिलो थियो । त्यतिबेलासम्म उनीहरू हेटौँडासम्म पनि पुगेका थिएनन् । चुरेघाँचमा भेटिएका जेठा वनकरियाले त्यतिबेला पूरै च्यातिएको ज्वारीकोट र टोपी लगाएका थिए । उनका पैताला नराम्रोसँग फुटेका थिए र फुटेका पैतालामा ढुङ्गा र काठसमेत पसेको देखिन्थ्यो । उनलाई आफूहरूलाई किन वनकरिया भनिएको भन्ने पनि थाहा थिएन । त्यतिबेला उनले लजाउँदै भनेका थिए, “वनमा बस्ने भएकाले नै हामीलाई वनकरिया भनेका होलान् ।”

जेठा वनकरियाको अहिले मृत्यु भइसकेको छ । हामी सञ्चारकर्मीहरू पुग्दा हाँडीखोला मसिनेमाथिको चुरे जङ्गलका घाँचमा जेठा वनकरियाका भाइहरूका समेत गरी १२ जनाको बसोबास थियो । १२ मध्ये चार महिला र आठ पुरुष थिए । बालबालिकाहरू अर्धनग्न थिए । वनकरिया समुदायको अहिलेका अगुवा सन्तमाया वनकरिया हुन् । उनले चुरेघाँचमा नै ७ जना सन्तान जन्माएकी थिइन् । दुई जनालाई मात्र हाँडीखोलाको ट्वाङ्ग्रास्थित छाप्रामा जन्माएकी हुन् ।

वनकरिया समुदायका बारेमा २०५१ वैशाखमा ‘कान्तिपुर’ दैनिकको पहिलो पेजमा समाचार प्रकाशित भएपछि मानिसहरूको ध्यान उनीहरूमाथि गयो । हाँडीखोलाका स्थानीय अगुवाहरूले गाउँमा नै छाप्रो बनाएर उनीहरूका लागि बस्ने व्यवस्था गरिदिए । त्यति हुँदा पनि उनीहरू जङ्गलमा नै बस्न रुचाउँथे । सञ्चारकर्मी र स्थानीय अगुवाहरूले उनीहरूका विषयमा लगातार चासो राखेर गाउँमा नै बस्ने व्यवस्था मिलाएपछि उनीहरूले २०५२/५३ सालमा चुरेघाँचलाई छाडेका हुन् । आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा उल्लिखित आदिवासी/जनजातिमध्ये वनकरिया पनि एक हो ।

वनकरिया जातिका बारेमा समाजशास्त्री डा. कृष्ण भट्टचनले लामो अध्ययन अनुसन्धान गरेका छन् । उनले यो जाति लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । डा. राजेश गौतम र अशोक थापाद्वारा लिखित ‘ट्राइबल इथ्नोग्राफी अफ नेपाल’ नामक पुस्तकमा पनि उक्त जाति चुरेघाँच जङ्गलमा बस्दै आएको उल्लेख छ । खोज अनुसन्धान र संरक्षण नभएका कारण वनकरिया जाति लोप हुन लागेको डा. गौतमले आफ्नो कृतिमा उल्लेख गरेका छन् । मुलुकका अन्य भागमा बसोबास नभएको वनकरिया समुदायको मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मुसेधापस्थित २१ घरधुरीमा बसोबास गर्छन् ।

फेरिँदै छन् वनकरिया

खेतीपातीमा सहभागी हुँदै वनकरिया समुदायका महिलाहरु । तस्विर :सन्धान

मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ४ मुसेधापमा अहिले वनकरियाहरूको बस्ती छ । विगतको उनीहरूको स्याउले छाप्राको ठाउँमा जस्तापाताको छाना भएको काठको घर छ । सोचदेखि संरचनासम्ममा परिवर्तन आएको छ । विगतमा दसैँतिहारमा मिठो मसिनो खान पनि अरूको भर पर्नुपर्ने वनकरियाहरूको अवस्था अहिले आफ्नै कमाइमा अडिएको छ । आफ्नै कमाइ र उत्पादनले प्राण धान्नसक्ने भएका छन् ।

जिल्ला वन कार्यालय हेटौँडाले वनकरियाहरूलाई २०६२ साल चैत २८ गते कबुलियती वनको ९ हेक्टर जमिन उपलब्ध गराएको थियो । त्यही जमिनमा खनीखोस्री गरेर उनीहरू खाद्य बालीदेखि तरकारी बालीसमेत लगाउँछन् । भूकम्प जाँदा भत्किएका घरहरूको पुनर्निर्माण गर्नदेखि उनीहरूलाई साक्षर बनाउनेलगायतका काममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले सहयोग गरिरहेको छ । हिजोआज पढ्ने उमेरका सबै बालबालिका स्कुल जाने गरेका छन् ।

वनकरियाहरूमध्ये पाँच जना छात्रा र एक जना छात्रले एसईई उत्तीर्ण गरिसकेका छन् । तीन छात्राले यसै वर्ष एसईई उत्तीर्ण गरेका हुन् । सबैभन्दा पहिला एसईई उत्तीर्ण गर्ने पम्फा ल्याब टेक्निसियन बनेकी छन् भने सन्तोषी जेटिएको अध्ययन सकेर समुदायकै अगुवाको रूपमा क्रियाशील छन् । अनिल भेटेनरी विषय अध्ययन गर्दैछन् । यो समुदायमा पुरुषभन्दा महिलाहरू सक्रिय र सक्षम छन् । शिक्षादेखि अरू सामाजिक कामहरूमा पनि महिलाहरू अगाडि रहेका देखिन्छन् ।

नागरिकता, सामाजिक सुरक्षा भत्ता र आत्मनिर्भरता

महिला हुन् या पुरुष, उमेर पुगेका वनकरियाहरूलाई ‘धर्तीपुत्र’ मानेर २०६२ सालमा नागरिकताको प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसअघि उनीहरू कसैसँग पनि नागरिकता प्रमाणपत्र थिएन । अहिले त्यही प्रमाणपत्रका आधारमा वनकरियाहरूले सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् । जन्मदर्ता गर्नेबित्तिकै वनकरियाले मासिक ४ हजार रुपैयाँका दरले चार चार महिनामा सामाजिक सुरक्षा भत्ता पाउँछन् । २०६६ सालदेखि उनीहरूले सामाजिक सुरक्षा भत्ता पाउन थालेका हुन् । सरकारले लोपोन्मुख वनकरियासहित १० जातिलाई राष्ट्रको मूलधारमा ल्याउने उद्देश्यले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।

सामाजिक सुरक्षा भत्ता लिएपछि वनकरिया समुदायका महिलाहरू । तस्विर :प्रताप विष्ट

छोटो समयमा ठुलीमाया वनकरियाको जीवनमा उनले कल्पनासमेत नगरेको परिवर्तन आएको छ । उनका अनुसार, परिवर्तनको मुख्य आधार सरकारले १२ वर्षदेखि दिँदै आएको सामाजिक सुरक्षा भत्ता हो । ठुलीमायाका परिवारमा आठ जना सदस्य छन् । सबैको जोड्दा उनको परिवारले सामाजिक सुरक्षा भत्ताबापत मासिक ३२ हजार रुपैयाँ बुझ्छ । भत्ता पाउनुअघि बिहान बेलुका हातमुख जोर्न समस्या रहेको ठुलीमायाको परिवारलाई अहिले त्यो समस्या टरेको छ । आर्थिक उपार्जनका गतिविधि पनि बढेका छन् । उनको घरमा अहिले एक हल गोरु, पाँच वटा गाई, १३ वटा बाख्रा र दुई वटा सुँगुर छन् । खानको निम्ति दुई मुरी मकै पनि छ । नातिनातिना स्कुल पढ्न जाने गरेका छन् । उनले गाउँकै सहकारीमा मासिक ५० रुपैयाँ बचत पनि गर्दै आएकी छन् ।

अध्ययन गर्दै वनकरिया समुदायका बालबालिकाहरू । तस्विर :सन्धान

ठुलीमायाको जस्तै विष्णुमाया वनकरियाको पनि सामाजिक सुरक्षा भत्ता अहिले जीवन धान्ने आधार भएको छ । उनको ११ जनाको परिवार छ । विष्णुमायाको घरमा मासिक ४४ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता भित्रिने गर्छ । त्यसबाट आयआर्जनका निम्ति उनले गाई, बाख्रा र सुँगुर किनेर पालेकी छन् । कबुलियती वनले दिएको जग्गामा माछापालन पनि गरेकी छन् । विष्णुमायाको घरको छाना फेरिएको छ । सुरुसुरुमा भत्ता बुझेपछि उनले गाई, गोरु, बाख्रा र सुँगुर किनेकी थिइन् । तिनै गाईवस्तु पनि उनको आम्दानीका स्रोत भएका छन् । उनको घरबाट अहिले छोराछोरी र नातिनातिना गरेर पाँच जना पढ्न स्कुल जान्छन् ।

ठुलीमाया, विष्णुमायाको जस्तै सन्तमाया वनकरियाको परिवार पनि अहिले आत्मनिर्भर भएको छ । सन्तमायाले भनिन्, “सरकारले दिएको भत्ताले गाई, गोरु, बाख्राले गोठ पनि भरिएको छ, खान लाउन पनि समस्या छैन ।”

जग्गाविहीन समुदाय

वनकरियाहरू घरजग्गाको मामिलामा भने स्वामित्वविहीन अवस्थामा छन् । झन्डै साढे दुई दशकदेखि बस्दै आएको मुसेधापको छाप्राले ओगटेको जग्गा पनि उनीहरूको नाममा छैन । त्यो जमिन र कमाइ गर्दै आएको जग्गा पर्सा राष्ट्रिय निकुन्जभित्र पर्छ । निकुन्जले उनीहरूलाई त्यहाँबाट हटाउन विभिन्न किसिमका दबाब दिँदै आएको छ । त्यसैले अहिले अस्तित्व, पहिचान र स्थायी बसोबासको दोभानमा उभिएका छन् वनकरिया समुदाय ।

लेखक विष्ट मकवानपुरमा बसेर पत्रकारिता गर्छन् ।

याे पनि पढ्नुहाेस्

सन्धान प्रकाशन मिति : २०७९ भदाै २८ गते, मङ्गलवार