नेपालका १० वटा लोपोन्मुख जातिमध्ये एक मेचे पनि हो । मेचे जातीय समुदायको बसोबास झापा जिल्लाको विभिन्न स्थानमा छ । २०७८ सालको जनगणना अनुसार मेचेको जनसङ्ख्या पाँच हजार १९३ छ । लोपोन्मुख जातिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । यसले मेचे समुदायका लागि शिक्षा र स्वास्थ्यमा राहत पुगेको भनाइ मेचे समुदायका अगुवाहरूको छ ।
केही वर्ष अघिसम्म जीवन धान्नकै लागि रक्सी पार्ने र बेच्ने गर्दै आएका मेचे समुदायका मानिसको आयस्रोतको बाटो हिजोआज फराकिलो बनेको छ । उनीहरू सरकारी सेवामा समेत पुगेका छन् भने वैदेशिक रोजगारी तथा राजनीतिक क्षेत्रमा पनि कार्यरत छन् । मेचे समुदायकी कुमारी मेचे सानैदेखि कम्युनिस्ट राजनीतिमा लागेर प्रतिनिधिसभा सदस्यसम्म हुनुभएको पाइन्छ ।
हाल मेचीनगर नगरपालिका वडा नम्बर १२ मा घर भएकी कुमारी मेचेको जन्म २०२० सालमा झापाको बाहुनडाँगी गाउँ विकास समितिमा भएको थियो । एक त विकट क्षेत्र, त्यसमाथि मेचे परिवारमा पञ्चायत कालमा सर्वसाधारणले पढ्न पाउने अवस्था थिएन । यसै कारण कुमारीलाई पनि पढ्ने अवसर मिलेन । १५ वर्षमै उहाँको बिहे भयो । पाको उमेरमा भने उहाँलाई प्रौढ शिक्षा लिने अवसर मिल्यो । प्रौढ शिक्षाकै कारण उहाँ आफ्नो नाम लेख्न, हस्ताक्षर गर्न र केही अक्षर पढ्न सक्ने हुनुभयो । २०४५ सालमा कुमारीका श्रीमान्काे मृत्यु भयो । त्यतिबेला उहाँ २५ वर्षकी हुनुहुन्थ्यो । त्यसपछि तीन छोराछोरीको लालनपालनदेखि घरव्यवहार चलाउने जिम्मा कुमारी एक्लैको काँधमा आइपर्यो ।
कुमारीका श्रीमान्ले राजनीतिमा चासो राख्ने गर्नुहुन्थ्यो । पञ्चायत व्यवस्था जाने र बहुदलीय व्यवस्था आउने कुरा २०४५ सालतिरै श्रीमान्ले भनेको कुमारी अहिले सम्झिनुहुन्छ । “तर, बहुदल आएको श्रीमान्ले देख्न पाउनु भएन,” कुमारी भन्नुहुन्छ ।
बहुदल आएपछि बोल्न र पढ्न पाइन्छ होला भन्ने कुमारीलाई लाग्थ्यो । गाउँकै अग्रजहरू प्रेमबहादुर विष्ट, रामबाबु मेचेहरूको साथमा उहाँ पनि बहुदल ल्याउनका लागि हिँड्नुभयो । दिनभरि घर र मेलापातको काम गरेर रात परेपछि ११ महिनाको सहित अरू दुई बच्चालाई बहिनीको जिम्मा लगाएर आफू बैठकहरूमा जाने गरेको कुमारी बताउनुहुन्छ । उहाँका अनुसार, त्यतिबेला रातिराति बैठक बस्नुपर्थ्याे । महिलाहरूको पनि भेला र बैठक हुन्थ्यो । बहुदल आउनुअघि नै सङ्गठनमा महिलालाई आबद्ध गराउने काम पनि उहाँले गरेको बताउनुहुन्छ । उहाँका अनुसार, त्यतिबेला त्यसरी राजनीतिमा लाग्ने महिला मेचे समुदायबाटै उहाँ एकजना मात्र हो ।
कुमारी २०४६ सालमा बहुदल आएपछि राजनीतिमा झनै सक्रिय हुनुभयो । सुरुमा उहाँ पार्टीमा लागेर गाउँ कमिटीको सदस्य हुनुभएको थियो । सँगसँगै गाउँसमाजका सामाजिक कामतिर लाग्नुभयो । यस क्रममा उहाँले विद्यालय व्यवस्थापन समितिमा रहेर पनि काम गर्नुभएको छ ।
नेकपा एमालेबाट २०७४ सालमा समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधि सभा सदस्य भएर कुमारी संसद्मा पुग्नुभयो । बहुदल प्राप्तिका लागि आन्दोलनमा सहभागी भएकाले पार्टीले आफ्नो योगदानको मूल्याङ्कन गरेको र सोही कारण आफू संसद्मा पुग्नसकेको कुमारीको भनाइ छ । लोपोन्मुख जातिकी उहाँ मेचे सुमदायबाट राजनीतिबाट लाग्ने र संसद्सम्म पुग्न सफल पहिलो महिला पनि हुनुहुन्छ ।
‘सन्धान टिम’ ले लोपोन्मुख समुदायको बस्तीमै पुगेर रिपोर्टिङ गर्ने क्रममा झापाको मेचीनगर पुगेर कुमारीलाई हालै भेटेको थियो । भेटमा उहाँसँग व्यक्तिगत जीवनभोगाइसँगै राजनीतिक अनुभव तथा मेचे जातिको अवस्थाबारे कुराकानी गरियो । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट गार्डिका बज्राचार्य र समीक्षा गाहाले पत्रकार सुजाता ढुङ्गानाका साथमा कुमारी मेचेसँग गर्नुभएको कुराकानी ।
याे पनि पढ्नुहाेस्
- हाम्रो जङ्गलको बास कहालीलाग्दो नै हुन्थ्यो –सन्तमाया वनकरिया (भिडियोसहित)
- छोरीछोरा दुवैलाई अंश दिन्छु भनेर उबेलै बोलेँ र दिएँ –दुइजे हायु
- एसइई पार गर्दा समुदाय नै खुसी भयो –पम्फा वनकरिया (भिडियाेसहित)
- हायुको पहिचान र महिला अधिकारका लागि काम गरिरहेको छु – कुमारी हायु (भिडियो सहित)
- वनकरिया समुदाय आफ्नो खुट्टामा उभिने भएको छ– प्रताप विष्ट
- सकुन्जेल स्वयंसेविका भइरहन पाए हुन्थ्यो जस्तो लाग्छ – कृष्णदेवी हायु (भिडियो सहित)
- बिहे गर्दिएको भन्ने थाहा पाइनँ, भोलिपल्टै भागेर आमा भएको ठाउँमा आएँ (भिडियो सहित)
सन्धान प्रकाशन मिति : २०८० असार १३ गते, बुधवार