Home Stories ‘आत्मसम्मानका लागि महिला आफैँ सक्रिय हुनुपर्छ :आङ दाली शेर्पा’

‘आत्मसम्मानका लागि महिला आफैँ सक्रिय हुनुपर्छ :आङ दाली शेर्पा’


विगतमा विभिन्न सङ्घसंस्था, व्यक्ति र समूहहरूले प्रकाशन/प्रसारण गरेका महिलाका जीवन कथाहरूलाई हामीले ‘सन्धान सहकार्य’अन्तर्गत साभार गरी हामीले सन्धानमा नियमित रूपमा प्रकाशन/प्रसारण गर्छौं । आज ‘इको हिमाल’द्वारा प्रकाशित ‘सेलिब्रेटिङ् वुमनहुड’ अर्थात् ‘नारीत्व सम्मानित गर्दै’ पुस्तकमा छापिएको आङ दाली शेर्पाको जीवनी ल्याएका छौँ ।

शक्तिको चिनारी गर्ने ‘नारीत्व सम्मानित गर्दै’ अभियानले शिक्षा, कला, सामाजिक सेवा, सञ्चार, स्वस्थ, खेलकुद, निजामति, वातावरण तथा व्यवसायी महिलाहरुलाई समेटेर उनीहरुको सत्प्रयासलाई सम्मान गर्ने गरी शक्तिको रूपमा पुजिने नवदेवीहरूबाट प्रेरित भई नौ वटा देवीहरू अन्नपूर्ण, भगवती, भवानी, दुर्गा, करुणा, लक्ष्मी, महामाया, सरस्वती र शक्तिका नाममा सम्मान प्रदान गर्दछ । सोही अन्तर्गत सन् २००४ मा नवदेवी ‘शक्ति’ (आफूले रोजेको क्षेत्रमा अद्वितीय साहस र आँट देखाउने विविध क्षेत्रका महिला) को विधाबाट उहाँ सम्मानित हुनुभएको हो ।  यस जीवनी पुस्तकको यो लेख ‘आत्मसम्मानका लागि महिला आफैँ सक्रिय हुनुपर्छ: आङ दाली शेर्पा’ शीर्षकमा विष्णु शर्माले लेख्नुभएको हो । प्रस्तुत छ, आङ दाली शेर्पाको जीवनकथा :

जीवनमा दुःखले सबै कुरा सिकाउँछ, भोगाइ नै सबैभन्दा ठूलो पाठ हो भन्ने विश्वास उहाँ गर्नुहुन्छ । निरन्तर तीस वर्षदेखि एउटै व्यवसायमा लागेर सफल पनि हुनुभएको छ । तर, चर्चामा आउन चाहनुहुन्न । उहाँ हुनुहुन्छ, सफल पर्यटन व्यवसायी– आङ दाली शेर्पा ।

नेपालमा पर्यटन क्षेत्रमा यति लामो समयसम्म रहेर पुर्‍याउनु भएको योगदानका लागि उहाँलाई क्रिएटिभ स्टेटमेन्टस्ले ‘सेलिब्रेटिङ् वुमनहुड’ अन्तर्गत सन् २००४ मा नवदेवी ‘शक्ति’बाट सम्मानित गरेको छ । उहाँको चाहना छ–  मान–सम्मानभन्दा काम, लगनशीलता र इमानदारीलाई सधैँ ध्यान दिनुपर्छ । वि.सं.२००७ मा सोलुखुम्बु जिल्ला, जुबिङ गाउँ विकास समितिमा आमा पेम्बा दिकी शेर्पा र बुबा पासाङ नुरु शेर्पाकी जेठी छोरीका रूपमा आङको जन्म भएको हो । आङले आङ कामी शेर्पासँग विवाह गरेपछि श्रीमान् कामीको अध्ययनका लागि उहाँ पहिलो पटक काठमाडौँ आउनु भएको थियो । उहाँहरूलाई काठमाडौँमा खर्च चलाउन मुस्किल पर्यो । श्रीमान् कलेजमा पढ्ने हुनाले घरबाट खर्च ल्याएर काठमाडौँमा धानिन कठिन भयो । त्यसपछि उहाँले पर्यटन व्यवसाय चलाउन सुरु गर्नुभएको थियो । यद्यपि, यस क्षेत्रमा लागि परिएला भन्ने उहाँसँग कुनै योजना थिएन । आर्थिक समस्यालाई टार्ने उपायको खोजी गर्दै जाँदा शेर्पा यस क्षेत्रमा लागिपर्नुभएको हो । सोलुखुम्बुस्थित घरबाट पठाइने २० रुपियाँ र क्याम्पसमा पढ्दाका बखत शिक्षक तालिम लिँदा प्राप्त हुने ३५ रुपियाँबाट परिवारको खर्च टर्न छाडेपछि आरम्भ गर्नुभएको पर्यटन व्यवसायलाई अहिलेसम्म आङ दालीले निरन्तरता दिइरहनु भएको छ ।

पर्यटन व्यवसायमा पाइला हाल्दा सुरुमा उहाँले हिमाल चढ्दा आवश्यक पर्ने सामग्री बेच्ने पसल सञ्चालन गर्नुभएको थियो । पर्यटन व्यवसायका क्षेत्रमा चाहिने सामग्रीहरूको पसल सुरु गर्दा इजरायली पर्यटकहरूको सुझाव (पर्यटकहरूलाई चाहिने सामग्री, त्यसको प्रयोग, महत्व र आयआर्जनका बारेमा दिइएको जानकारी) बाट ट्रेकिङसम्बन्धी धेरै कुराहरू थाहा पाएको सम्झना छ, उहाँसँग । सोही कारण पर्यटन व्यवसायका लागि दिशानिर्देश गर्ने ती इजरायली पर्यटकलाई केही जस दिनुहुन्छ शेर्पा । यसैबीच, शेर्पाका श्रीमान् क्याम्पसको अध्ययन सकेपछि शिक्षणका लागि जिल्ला लाग्नुभयो । जिल्लाबाट अध्यापन गराएर फर्किदा उहाँले पैसाको साटो ऋणको भार लिएर आउनुभयो । श्रीमान्को पेशाबाट परिवारमा सहयोग नहुने देखेपछि आङले श्रीमान्लाई शिक्षण पेशा छोडेर पर्यटन व्यवसायमा लाग्न प्रेरित गर्नुभयो । र, आङकै सल्लाहबमोजिम उहाँका श्रीमान् शिक्षण पेशा छोडेर पर्यटन व्यवसायतर्फ लाग्नुभयो । व्यवसायलाई व्यवस्थित र स्थापित गराउन आङले दर्ता गर्नुभएको ‘शेर्पा सोसाइटी प्रा. लि.’ को मेनेजिङ डाइरेक्टर उहाँका श्रीमान् र अध्यक्षका हैसियतले आङले पयर्टन व्यवसाय चलाउन थाल्नुभयो । त्यसपछि आङ दम्पतिले आफ्नो व्यवसायलाई व्यवस्थित गर्नुभयो । शेर्पा सोसाइटी प्रा.लि. २०२९ सालमा स्थापना भएको हो ।

सोलुखुम्बुबाट काठमाडौँ आएपछि दुई छाक खानकै लागि आफूहरूले आर्थिक अभाव र त्यसबाट  भोग्नुपरेको दुःखले धेरै सिक्ने मौका पाएको उहाँको अनुभव छ । 

उहाँको मान्यता छ– अभावले निकास खोज्न थाल्छ र जीवनका वास्तविकतालाई पहिचान गराउन सहयोग पुर्‍याउँछ । त्यसकारण अभावग्रस्त जीवनलाई बिर्सनुहुँदैन, तिनले धेरै कुरा सिकाउँछन् । आफूले झेलेका अनगिन्ती ठूलासाना दुःखमध्ये एउटा घटनाले भने उहाँलाई सधैँ पिरोल्ने गर्छ ।

घटना २०३७ सालतिरको हो, अस्ट्रेलियाका कूटनीतिज्ञ हिमाल हेर्न नेपाल आए । संयोगवस उहाँकै ट्रेकिङ संस्थामार्फत् उनीहरू ट्रेकिङ जाने निधो भयो । आङका श्रीमान्ले सबै तयारीका साथ उनीहरूलाई हिमालतिरको गन्तव्यका निम्ति पठाउनुभयो । हिमाल चढ्ने सिलसिलामा पथ–प्रर्दशकले खाना पकाउन थाल्दा केही बेर बाहिर घुम्न निस्कन्छु भनेर गएका ती पर्यटक लामो समयसम्म फर्केनन् । ती कुटनीतिज्ञ नआएपछि हल्लीखल्ली भयो । पैदल हिँडेर हप्ता दिनसम्म खोजी गर्दा पनि उनीहरूको पत्तो लागेन । पछि हेलिकप्टर चार्टर गरेर दुई तीनदिनसम्म खोजी गरियो र ती कुटनीतिज्ञको शव भेटियो । आङका दुःखपूर्ण दिन तिनै व्यक्ति हराए भन्ने कारणले सुरु भए । कुटनीतिज्ञको राम्रो हेरविचार नगरेको आरोप लगाउँदै कूटनीतिज्ञको मृत्युको कारण बुझ्न भनी आङका श्रीमान्लाई तीन हप्ता थुनामा राखियो । एकातिर त्यस घटनाको झमेला, अर्कोतिर घरभरि एक–डेढ वर्षको फरकका ६ जना छोराछोरी हेरविचार गर्ने जिम्मेवारी आङलाई थपियो । सन्तानलाई हेरविचार गर्न र श्रीमान्को सफाइका लागि बाहिरतिर दौडधुप गर्न उहाँका लागि कम चुनौतीपूर्ण थिएन । किनकि, खोजीका क्रममा घरको सबै सम्पत्ति बेचेर नपुगेपछि आङको परिवार ऋणमा डुबिसकेको थियो । त्यसै घटनाको मानसिक पीडाले जेलबाट छुटेको केही समयपछि २०३८ सालमा आङका श्रीमान् बित्नुभयो । 

ain-dali-sherpa-newspaper-crop

साधारण लेखपढ गर्न मात्र सक्ने भए पनि मीठो अंग्रेजी बोल्ने उहाँ महिला जागरणका बारेमा भन्नुहुन्छ– ‘महिलाको उत्थानका लागि सबैले सोच्नुपर्ने बेला भएको छ ।’ आङलाई आफूले व्यवसाय सुरु गर्दाको समयमा सधैँ घरमा खाना पकाउने छोराछोरी, इष्टमित्रलाई हेर्ने कामदेखि कार्यालय कामको चटारो हुन्थ्यो । छरछिमेकका दिदीबहिनीसँग बसेर गफ गर्ने समय उहाँलाई कहिल्यै जुरेन । अनि तत्कालीन समयमा आफू महिला भएर बाहिरको काम गर्दा अरूले कुरा काटे–नकाटेको पत्तै पाउन सक्नुभएन । आङले पर्यटन व्यवसायका साथै एघार वर्ष अगाडिदेखि नै मुस्ताङ र डोल्पाका दुई परिवारका १५ जना बालबालिकाको पढाइ खर्चस्वरुप वार्षिक बीस हजार व्यहोर्दै आउनुभएको छ । गाउँ जाने क्रममा दुर्गम गाउँका ती बालबालिकाको घरपरिवारकोे दयनीय अवस्था देखेपछि कम्तिमा पढाउने खर्च दिन सके उनीहरूले आँखा देख्ने र भविष्य उज्यालो हुने ठानी ती निम्नवर्गका परिवारका छोराछोरीलाई खर्च दिन थाल्नुभएको हो आङले ।

साधारण र मिलनसार चरित्र बनाउन सक्नु नै जीवनको सफलता हो भन्ने लाग्छ आङलाई । आफ्नो वास्तविक धरातललाई मानिसले कहिल्यै छोड्नुहुन्न भन्ने मान्यता उहाँको छ । सबै काम लाग्न सकून् र आफूले कमाएको आफ्नो मात्र नभई अरूलाई काम लाग्न सकोस् भन्ने चाहना आङको छ । आफ्नो आत्मसम्मानका लागि महिला आफैँ सक्रिय हुनुपर्ने धारणा राख्नुहुन्छ, दाली । शेर्पा जातिमा जन्मिएको हुनाले महिला भएकै कारण भेदभाव भोग्नुपरेको अनुभव भने उहाँसँग छैन । अहिले भएको अधिकार नै महिलाका लागि पर्याप्त भएको उहाँको बुझाइ छ । पाएका हकलाई आफूले गर्नुपर्ने कर्तव्यको ख्याल राख्दै विवेकशील रूपमा प्रयोग गर्ने र तिनको संवेदनशीलतामा विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

नेपालको पहिचान हिमाल मात्र नभएर यहाँका विविधताले भरिपूर्ण भौगोलिक परिवेश पनि हो, यसलाई विश्वमा चिनाउन जरुरी छ भन्नुहुन्छ आङ । 

उहाँले पर्यटन व्यवसायका धेरै उकाली ओरालीहरू देखिसक्नुभएको छ आङ दालीले । उहाँ पर्यटन व्यवसाय फस्टाउनका लागि पर्यटन बोर्डको सदाशयता अपरिहार्य देख्नुहुन्छ । पर्यटन क्षेत्रका परम्परागत मान्यता र विधिमा परिवर्तन गर्नु जरुरी भइसकेको र त्यसका लागि पर्यटनसम्बद्ध शिक्षा र प्रशिक्षण दिने स्कुलको स्थापना गर्नुपर्ने उहाँको सुझाव छ । नेपालमा पर्यटकहरूलाई लोभ्याउन सक्ने हिमाल डाँडाकाँडा, जंगलहरू प्रशस्त छन् तर पनि उनीहरूलाई लामो समयसम्म बसाउन किन सकिएको छैन ? आङ यसबारेमा प्रायः सोच्नुहुन्छ र योजनाहरू बुनिरहनु हुन्छ ।

माउन्टेरिङ स्कुलमार्फत् पर्यटकप्रति गरिने व्यवहार, हिमाल चढ्ने जानकारी, खाना पकाउने तरिका, ट्रेकिङका बेला आवश्यक पर्ने सम्पूर्ण विषयमा जानकारी दिइने शिक्षाले पर्यटन व्यवसायमा धेरै सहयोग पुग्ने उहाँलाई लागेको छ । यद्यपि, अहिले तालिम दिने प्रचलन नभएको होइन तर त्यस्ता तालिम व्यावहारिक रूपमा त्यति सफल नभएको उहाँको अनुभव छ ।

अहिले आफ्नो संस्था पारिवारिक सदस्यको सहकार्यबाट नै सञ्चालन गरिएको र संस्थामा छोरीको भूमिकासमेत अहम् रहेको आङ बताउनुहुन्छ । ‘कुखुरीले अण्डा कोरल्नु अघि नै चल्ला नगन्नु’ भन्ने उखानजस्तै पैसा आउने काम गरे पनि काम सुरु गर्नुभन्दा अगाडि नै यति आउँछ भनेर अन्दाज लगाउनु हुँदैन भन्ने उहाँको मान्यता छ । बाटो बनाएपछि हिँड्ने प्रशस्तै हुन्छन्, जुनसुकै व्यवसायमा पनि कामप्रति लगाव र दृढताको खाँचो पर्ने बताउँदै आङ भन्नुहुन्छ- सबै पक्षले समान पहल गरेमा हरेक क्षेत्रको विकास सहज हुन्छ ।

साभार: इको हिमालद्वारा प्रकाशित ‘नारीत्व सम्मानित गर्दै’ पुस्तकबाट ।

सन्धान प्रकाशन मिति : २०७८ चैत ४ गते शुक्रबार


Previous article‘नारीवादबारे गहन छलफलको प्रयास नै भएन ।’ -प्रा.डा. मिरा मिश्र
Next article‘२८ वर्ष अगाडि किताब निकालेँ तर डरले लुकाएर राखेँ’ –सीमा खान