व्यास नगरपालिका–११ राम्चेकी १८ वर्षीया प्रीति चेपाङ तीन सन्तानकी आमा हुनुहुन्छ । १४ वर्षमै विवाह गरेकी उहाँ फेरि अर्को सन्तान जन्मन्छ कि जन्मँदैन भन्नेमा अनभिज्ञ देखिनुहुन्छ । प्रीति भन्नुहुन्छ, “तीन बच्चा पनि मेरो रहरमा जन्मिएका होइनन्, अब अर्को बच्चा के हुन्छ भन्ने पनि थाहा छैन ।”
प्रीति मात्रै होइन, यहाँका अधिकांश चेपाङ महिला गर्भ नियन्त्रण र जन्मान्तरबारे जानकार देखिँदैनन् । उनीहरूलाई न त प्रजनन अधिकारबारे थाहा छ, न त प्रजननबारे कुनै निर्णय लिने छुट नै । यहाँको समाजले महिलालाई ‘बच्चा जन्माउने साधन’ को रूपमा बुझ्ने र व्यवहार गर्ने गर्दै आएको छ ।
राम्चेकै मनिषा चेपाङ २८ वर्ष नपुग्दै सात सन्तानकी आमा हुनुभयो । २१ वर्षमा पहिलो सन्तान जन्माएकी मनिषाले बर्सेनि बच्चा जन्माइरहनु पर्यो । परिवारले कुलको बिँडो थाम्न छोरा नै चाहिन्छ भनेपछि होला त नि भन्ठानेर उहाँ वर्षैपिच्छे सन्तान जन्माउन राजी हुनुभयो । त्यो त उहाँले तीन छोरीपछि जुम्ल्याहा छोरा जन्माउनुभएको थियो । त्यतिबेलासम्म परिवार नियोजनको अस्थायी साधनबारे पनि थाहा रहेनछ उहाँलाई । छोराहरू जन्मिइसकेपछि पनि उहाँले फेरि दुई छोरीहरू जन्माउनुभयो ।
प्रीति र मनिषाको अवस्थाले आम चेपाङ समुदायको स्थितिलाई लगभग दर्शाउँछ । ‘दुई सन्तान ईश्वरको वरदान’ भन्दै बन्ध्याकरण र जन्मान्तरको सचेतना अभियान तीव्र भइरहेको यो समयलाई उहाँहरूको अवस्थाले गिज्याइरहेको छ । मनिषाकी सासू अश्रीमायाका अनुसार, मनिषाका सात सन्तान धेरै होइनन् । उहाँ भन्नुहुन्छ, “मैले त १० वटा जन्माएकी थिएँ । पाँच वटा मात्रै बाँचे, अरू बचाउनै सकिनँ ।”
अहिले मनिषालाई सात जना बच्चा हुर्काउन हम्मेहम्मे परिरहेको छ । न त उहाँ बच्चाहरूलाई अघाउँजी खाना दिन सक्नुहुन्छ, न त लगाउने अत्यावश्यक कपडा नै । जेनतेन हुर्किरहेका केटाकेटीलाई हेर्दै उहाँ भन्नुहुन्छ, “यहाँ त धेरै बच्चा कलिलैमा मर्छन्, पछि मर्छन् कि भनेर पनि धेरै बच्चा पाउने चलन छ ।”
जन्मिएका सन्तान सबै पूर्ण रूपमा स्वस्थ भएर हुर्किने र बाँच्ने विश्वास नहुँदा पनि धेरै सन्तान जन्माउने गरेको देखिन्छ ।
जन्मिएका सन्तान सबै पूर्ण रूपमा स्वस्थ भएर हुर्किने र बाँच्ने विश्वास नहुँदा पनि धेरै सन्तान जन्माउने गरेको देखिन्छ । त्यसमाथि चरम गरिबी छ । अधिकांश अभिभावक ज्याला मजदुरी गर्छन् । यसैले यहाँका बालबालिकाले उचित लालनपालन र शिक्षादीक्षा पाउने अधिकारको भोग गर्नबाट समेत वञ्चित हुनुपरेको देखिन्छ ।
पारिवारिक खर्चको बोझ, खाद्यान्न र उचित स्याहारसुसारको अभावले सन्तानहरू निन्याउरा र अपहेलित जस्ता हुन थालेपछि भने अब थप सन्तान नजन्माउने सोचमा पुग्नुभएको छ मनिषा । पछिल्लो समय आफूले अस्थायी गर्भ निरोधक साधन नरप्लान्ट प्रयोग गरिरहेको पनि उहाँले बताउनुभयो । ज्ञानकै अभाव, स्वास्थ्य संस्था र सेवामा पहुँचको अभावका कारण न त उहाँले गर्भावस्थामा सामान्य चेकजाँच गराउनुभयो न त सुरक्षित सुत्केरी सेवा नै लिन पाउनुभयो । छ पटक गर्भवती हुँदासम्म अस्पताल तथा स्वास्थ्य चौकी नटेकेकी उहाँ सातौँ गर्भ रहेपछि मात्र स्वास्थ्य चौकीमा नियमित जाँचका लागि जानुभएको रहेछ । उहाँ भन्नुहुन्छ, “त्यहाँ पुग्दा बल्ल थाहा भयो, बच्चालाई गर्भमा आउनै नदिने उपाय पनि हुँदो रहेछ ।” त्यसपछि आफूले नरप्लान्ट प्रयोग गरेको उहाँले बताउनुभयो ।
मनिषाका अनुसार, श्रीमान्लाई स्थायी बन्ध्याकरणको लागि स्वास्थ्यकर्मीले अनुरोध गरेका थिए तर श्रीमान्ले मान्नु भएन । स्वास्थ्य स्थिति कमजोर हुने तथा शारीरिक रूपमा असर पार्ने भन्दै श्रीमान्ले बन्ध्याकरण गराउन नमानेपछि आफूले नै अस्थायी साधन प्रयोग गरेको उहाँ बताउनुहुन्छ ।
विपन्न तथा सीमान्तकृत चेपाङ समुदायमा परिवार नियोजन नगरी धेरै सन्तान जन्माइने हुँदा सन्तानको उचित लालनपालन गर्नमा नै समस्या हुन्छ । यस्तो थालेपछि सानैमा विवाह गरिदिने प्रचलन बढेको हुनसक्ने बताउनुहुन्छ, बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ ।
राम्चेको चेपाङ गाउँमा ८० जना महिला छन् भने ११८ जना बालबालिका छन् । राम्चेको मात्र होइन, बन्दीपुरका चेपाङ महिलाको पनि स्थिति उस्तै भेटिन्छ । बन्दीपुर गाउँपालिकाको १ र ३ नम्बर वडामा गरी कुल ६९ जना महिला र ७० जना पुरुष छन् । ती दुईटा वडामा कुल १२० जना बालबालिका छन् । बालबालिकामध्ये छोरी ६२ र छोरा ५८ जना छन् । यो तथ्याङ्कले बन्दीपुरमा जन्मदर उच्च रहेको प्रस्ट पार्छ । जन्मदर उच्च भए पनि मनिषा जस्तै कलिलै उमेरमा आमा बनेका र बन्दै गरेका यहाँका अधिकांश महिला गर्भावस्थाको नियमित चेकजाँचका लागि स्वास्थ्य संस्था जाने गरेको भने पाइँदैन ।
विपन्न तथा सीमान्तकृत चेपाङ समुदायमा परिवार नियोजन नगरी धेरै सन्तान जन्माइने हुँदा सन्तानको उचित लालनपालन गर्नमा नै समस्या हुन्छ । यस्तो थालेपछि सानैमा विवाह गरिदिने प्रचलन बढेको हुनसक्ने बताउनुहुन्छ, बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ । उहाँका अनुसार, चेपाङ गाउँमा अझै पनि प्रजननसँगै जन्मान्तरबारे पर्याप्त चेतना पुगेको छैन । विगतको स्थितिमा केही सुधार आए पनि चेतना विकासका लागि अझै उल्लेख्य काम गर्न बाँकी रहेको उहाँको बुझाइ छ ।
विशेषगरी तनहुँको व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा बसोबास गर्दै आएका चेपाङ महिलाले भोगेका पीडा र समस्या एकको भन्दा अर्कोको फरक छैन ।
अहिले पनि धेरै महिलामा कति सन्तान जन्माउने, जन्मान्तर कति राख्ने, परिवार नियोजनका कस्ता साधन प्रयोग गर्ने भन्नेबारे जानकारी रहेको पाइँदैन ।
गर्भावस्थामा नियमित स्वास्थ्य जाँचका लागि र सुत्केरीपछि शिशुलाई आवश्यक सुई तथा खोपका बारेमा जानकारी लिन नजिकको स्वास्थ्य संस्थामा जानसमेत महिलाहरू हिचकिचाउँछन् । स्वास्थ्य संस्थामा जाँदा धेरै बच्चा जन्माएको भनेर स्वास्थ्यकर्मीले गाली गर्ने भन्दै उनीहरू लुकीछिपी घरमै असुरक्षित तवरमा बच्चा जन्माउँछन् । नियमित स्वास्थ्य जाँच नगर्दा बच्चा सानो जन्मिने, सुत्केरीमा रक्तस्राव बढी हुने, समय नपुगी गर्भपतन हुने जस्ता समस्या भोगिरहेको उनीहरू बताउँछन् ।
अहिले पनि धेरै महिलामा कति सन्तान जन्माउने, जन्मान्तर कति राख्ने, परिवार नियोजनका कस्ता साधन प्रयोग गर्ने भन्नेबारे जानकारी रहेको पाइँदैन । कलिलो उमेरमै धेरै बच्चा जन्माउनुपर्ने, धेरै बच्चा हुँदाहुँदै पनि छोरा नभएमा परिवारले छोरा जन्माउन दबाब दिने र स्वास्थ्य संस्था जानभन्दा घरमै बच्चा जन्माउन उनीहरूलाई प्रेरित गर्ने गर्छन् । मनिषाकी सासू अश्रीमाया भन्नुहुन्छ, “हामीले अस्पतालमै नटेकी बच्चा जन्माएका हौँ । छोरी, बुहारीलाई पनि अस्पताल पठाएका छैनौँ ।” यस क्षेत्रका महिलाहरूलाई सुत्केरी भएपछि पाइने सेवाबारे पनि जानकारी नभएको पाइन्छ ।
बालविवाह गरी धेरै सन्तान जन्माउने प्रचलन घटाउन आफूहरूले निरन्तर जनचेतनामूलक कार्यक्रम गर्दै आएको कुरा चेपाङ उत्थान संघ जिल्ला कार्यसमिति, तनहुँका अध्यक्ष क्षेत्रलाल चेपाङ बताउनुहुन्छ । उहाँका अनुसार, उचित शिक्षाको अभावमा महिलाहरूले अझै पनि पाँचदेखि सात जनासम्म बच्चा जन्माउने चलन रहेको छ । यो र यसबाट उत्पन्न हुने समस्या अन्त्यका लागि अभियान नै चलाएको पनि उहा बताउनुहुन्छ । चेपाङ बस्तीमा पहिला अभिभावकले छिटो विवाह गरिदिने चलन थियो भने अहिले कलिलै उमेरमा प्रेम सम्बन्धमा रहेर भागीविवाह गर्नेहरू बढेको उहाँको अवलोकन छ ।
संविधानको धारा ३८ को उपधारा (२) मा ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ’ भन्ने व्यवस्था छ । तर चेपाङ महिलाले भोग्दै आएको समस्याले नेपालको संविधान र कानुनी व्यवस्थालाई नै गिज्याइरहेको भान हुन्छ ।
अहिले पनि एकै दम्पतीका आठ जनासम्म बच्चाको जन्म दर्ता हुने गरेको जानकारी वडा सचिव रामप्रसाद खनाल दिनुहुन्छ । उहाँका अनुसार, हालै शिखर थुम्कीकी एक महिलाले वडा कार्यालयमा आफ्नो आठौँ सन्तानको जन्म दर्ता गराएको घटना पनि छ । चेपाङ बस्तीमा अहिले पनि धेरै सन्तान जन्माउने समस्या यथावत् रहेको उहाँ बताउनुहुन्छ ।
चेपाङ महिलाले भोग्दै आएको समस्याले नेपालको संविधान र कानुनी व्यवस्थालाई नै गिज्याइरहेको भान हुन्छ । यहाँका महिलाहरूलाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हकबारे जानकारी भएको देखिँदैन । संविधानको धारा ३८ को उपधारा (२) मा ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ’ भन्ने व्यवस्था छ । यो व्यवस्थाबाट लाभान्वित हुनुपर्ने चेपाङ महिलाहरू त्यसबारे आफूलाई जानकारी नै नभएको बताउँछन् ।
प्रजनन स्वास्थ्य र शिक्षाको अभावमा वर्षैपिच्छे ज्यान जोखिममा राखेर आमा बन्न तयार हुने गरेका यहाँका महिलाहरू गर्भपतनलाई डर, त्रास र लाजको विषय मान्छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली, २०७७ ले सुरक्षित गर्भपतनलाई महिलाको अधिकारको रूपमा सम्बोधन गरेको भए पनि गर्भपतन गराउने या बच्चा जन्माउने भन्ने विषय महिलाहरूले आफूले भनेर नहुने उनीहरूको बुझाइ र भोगाइ छ ।
महिलाको प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न सरकारले सानै उमेरमा विवाह गर्न नपाउने, उमेर नपुगी बच्चा नजन्माउने, सुत्केरी हुँदा दक्ष स्वास्थ्यकर्मी र प्राविधिकको सहयोग अनिवार्य व्यवस्था गर्ने नीति लिएको छ ।
किशोरी अवस्थादेखि नै यौन तथा प्रजनन स्वास्थ्य र आफ्नो शरीरको अधिकार आफैँसँग भन्ने बारेमा शिक्षाको व्यवस्था पनि गरेको छ । अझ गर्भवती महिलाले कम्तीमा चार पटक गर्भजाँच सहज रूपले गर्नसक्ने वातावरण निर्माण, गर्भवतीदेखि सुत्केरी अवस्थासम्म महिलाले उपयुक्त खाना, स्याहारसुसार र मायाममता पाउने अधिकार, सुत्केरी बेथा लाग्नासाथ नजिकको स्वास्थ्य केन्द्रमा लैजानसक्ने पूर्वाधारको व्यवस्था गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकार अन्तर्गतका निकायहरूले अभियान नै चलाएका छन् । बच्चा कहिले र कति जन्माउने भन्ने कुराको निर्णय महिलाले नै गर्न पाउने हक, पाठेघर खसेमा महिलाको शल्यक्रिया सही तवरले गर्ने तथा नियमित अनुगमनको व्यवस्थालगायतका सुविधा प्रदान गरेको भए तापनि यहाँका कुनै पनि चेपाङ महिलालाई यसबारे जानकारी छैन ।
जनस्वास्थ्य सेवा ऐन, २०७५ र जनस्वास्थ्य सेवा नियमावली, २०७७ ले गर्भपतन सेवालाई आधारभूत स्वास्थ्य सेवाको रूपमा व्याख्या गरेको भए पनि अधिकांश ग्रामीण भेगका महिलाहरूले गर्भपतन सेवा लिने निर्णय गर्न नसकेको अधिवक्ता सरिता भण्डारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुरक्षित गर्भपतन सेवालाई महिलाको स्वास्थ्य अधिकारको रूपमा लिइएको भए पनि महिलाहरूले अझै पनि गर्भमा आएका हरेक सन्तान जन्माउनुपर्ने मान्यता राख्छन् ।”
महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी हकको सम्मान, संरक्षण र परिपूर्तिका लागि नेपाल सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन र नियमावलीको व्यवस्था गरेको भए तापनि अधिकांश महिलाले यसको उपभोग नगरेको अधिवक्ता सरिताको अनुभव छ । उहाँका अनुसार, अझै धेरै महिला यी अधिकारका विषयमा अनभिज्ञ छन् । विशेषतः कानुनी सचेतना कमजोर भएका ग्रामीण भेगका महिलाहरूलाई आफ्नो प्रजनन अधिकारबारे ज्ञानसम्म हुन्न । उहाँ भन्नुहुन्छ, “सरकारले मातृ शिशु सुरक्षाका लागि बनाएका कानुन नै महिलाहरूसम्म नपुग्दा यसको प्रभावकारिता पनि न्यून देखिएको छ ।”
नेपाल सरकारले २०५८ सालमा सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिएको हो । साथै, यस सेवालाई सर्वसुलभ तथा पहुँचयोग्य बनाउन २०७३ सालदेखि सबै सूचीकृत सरकारी स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवालाई निःशुल्क रूपमा उपलब्ध गराउँदै आएका छन् । तर, सरकारले महिला प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्वका सन्दर्भमा जे–जस्ता कानुनी व्यवस्था गरे पनि त्यसको व्यावहारिक पक्ष कमजोर हुँदा प्रभावकारिता नदेखिएको अधिवक्ता सरिताको भनाइ छ ।
कानुनलाई व्यवहारमा कार्यान्वयन गर्न चेतनाको स्तर कमजोर रहेका गाउँबस्तीमा कानुनी साक्षरताका लागि प्रजनन तथा यौनका बारेमा निरन्तर सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको पनि उहाँको ठम्याइ छ ।
लामो समयदेखि नेपाली समाजमा पुरुषले महिलाको प्रजननमा समेत आफैँले निर्णय गर्दै आएकाले अहिले पनि महिलाहरूले आफ्नो मौलिक हकको उपभोगमा समेत पुरुषको अनुमति लिने गरेको सरिता बताउनुहुन्छ । अबको समयमा महिलाहरूलाई आफ्नो शरीर र स्वास्थ्यमाथि स्वयं निर्णय लिनसक्ने गरी सक्षम बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
त्यसो त केही वर्ष अघिसम्म १४ वर्षमै बिहे गर्ने चलन रहेकोमा बिस्तारै यो उमेर बढेर १७–१८ सम्म पुगेको स्थानीय सरिना चेपाङ बताउनुहुन्छ । बिहे गर्ने उमेर बढेको भए तापनि सासू र उहाँको पुस्तासम्म चेतनाको स्तरमा भने खासै परिवर्तन नआएको उहाँको भोगाइ छ ।
चरम गरिबी र कमजोर चेतना स्तर भएको चेपाङ बस्तीको अवस्थामा खासै परिवर्तन नभएको रामलाल चेपाङ बताउनुहुन्छ । २० वर्ष पहिलाको अवस्थामा केही परिवर्तन त भएको तर अहिले पनि चेपाङ बस्ती निकै पछाडि रहेको उहाँको ठम्याइ छ । “चेपाङ गाउँमा ११ वटासम्म सन्तान जन्माउनु त सामान्य थियो । यो क्रम केही घटेर पाँच–सातसम्म पुगेको छ,” उहाँ भन्नुहुनछ, “बालविवाह, बहुविवाह, गरिबी, अशिक्षाबाट थलिएको हाम्रो गाउँमा केही परिवर्तन त भयो होला तर हामीले परिवर्तनको अनुभूति अझै गर्न पाएका छैनौँ ।”
मुलुकी अपराध संहिता, २०७४ ले उमेर नपुगी भएको विवाह स्वतः बदर हुने व्यवस्था लागु गरेपछि चेपाङ गाउँमा पनि बालविवाह गर्नेको सङ्ख्या घटेको व्यास नगरपालिका–११ का वडा सदस्य गोकुल दुरा बताउनुहुन्छ । उहाँका अनुसार, नेपालको कानुनले नै बालविवाहलाई गैरकानुनी करार गर्दै दण्डनीय बनाएपछि चेपाङ गाउँमा चार–पाँच वर्षको अन्तरालमा बालविवाह अन्त्यका लागि विभिन्न प्रयास भइरहेको छ ।
स्त्रीरोग विशेषज्ञ डा. दीपक काफ्ले उमेर नपुगी बिहे गरी धेरै सन्तान जन्माउँदा आमा र बच्चा दुवैलाई जोखिम हुने बताउनुहुन्छ । उहाँका अनुसार, वर्षैपिच्छे बच्चा जन्माउँदा बालबालिकाको विकास असामान्य हुने तथा गर्भपतन हुने सम्भावना पनि बढी हुन्छ । साथै, बालबालिकाको स्तनपान र विकास राम्रोसँग नहुँदै अर्को बच्चा गर्भमा आउँदा आमाले पनि पौष्टिक तत्व नपाउने, गर्भ र काखका बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने उहाँ बताउनुहुन्छ ।
सुत्केरी अवस्थाबाट पार नहुँदै अर्को बच्चा जन्माउने तयारीमा लाग्दा महिलामा रक्तअल्पता, बच्चाको तौल कम हुनेलगायत स्वास्थ्य जटिलता देखापर्ने डा. दीपक बताउनुहुन्छ । उहाँका अनुसार, गर्भावस्थामा सामान्यतया चार पटक स्वास्थ्य जाँच गर्ने गरिएको भए पनि हरेक वर्ष बच्चा जन्माउने महिलाहरूलाई विशेष स्वास्थ्य जाँच आवश्यक पर्ने हुन्छ । “नियमित जाँच नै नगर्नु त ठुलो जोखिम हो,” उहाँ भन्नुहुन्छ ।
सबैभन्दा पहिले त चेपाङ समुदायका सरोकारका यी विषय र समस्याप्रति देशको कार्यकारिणी, व्यवस्थापिका, कानुन कार्यान्वयन गर्ने गराउने निकाय, नागरिक समाज र सरोकारवाला सबै सङ्घसंस्था, समूह र व्यक्तिहरू परिचित हुन जरुरी छ ।
विभिन्न स्वास्थ्य जटिलताबिच चेपाङ महिलाहरूले स्वास्थ्य परामर्श र सेवाविना घरमै बच्चा जन्माउँदा उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । जानकारका अनुसार, अधिकांश ज्याला मजदुरी गर्ने महिला भएकाले धेरै जना पाठेघरसम्बन्धी समस्याबाट पीडित पाइएका छन् । कम उमेरमा विवाह हुनु, गर्भावस्थामा पोसिलो खानेकुरा खान नपाउनु र असुरक्षित तवरमा बच्चा जन्माउनु जस्ता कारणले पाठेघर खस्ने समस्या बढी देखिने गरेको डा. दीपक बताउनुहुन्छ ।
आर्थिक अवस्था कमजोर भएका कारण सुत्केरी भएपछि १५ दिन पनि राम्रोसँग आराम गर्न नपाउँदै आफैँले सबै काम गर्नुपर्ने चेपाङ महिलाहरू बताउँछन् । सुत्केरी भएको बेला कडा श्रम गर्नुपर्ने र पर्याप्त पोषणयुक्त खानेकुरा खान नपाउने अवस्थामा पाठेघर खस्ने, उच्च रक्तस्राव हुने, रक्तअल्पता हुने लगायतका जटिल समस्या चेपाङ महिलाहरूले भोग्दै आएका छन् ।
तनहुँको विभिन्न ठाउँमा गरी १६७ घरधुरी चेपाङ छन् । व्यास नगरपालिकामा १००, बन्दीपुर गाउँपालिकामा ५० र आँबुखैरेनी गाउँपालिकामा १७ चेपाङ परिवार बसोबास गर्दै आएका छन् । उनीहरूको समग्र विकासका निम्ति आउने दिनहरूमा चेपाङ महिलाहरूलाई लक्षित गर्दै समुदायमा शिक्षा र सूचनाका साथै महिला सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ । किशोरकिशोरीहरूलाई विद्यालयमा बृहत् यौनिकता शिक्षा प्रदान गर्नु पनि जरुरी हुन आउँछ ।
सबैभन्दा पहिले त चेपाङ समुदायका सरोकारका यी विषय र समस्याप्रति देशको कार्यकारिणी, व्यवस्थापिका, कानुन कार्यान्वयन गर्ने गराउने निकाय, नागरिक समाज र सरोकारवाला सबै सङ्घसंस्था, समूह र व्यक्तिहरू परिचित हुन जरुरी छ । सीमान्तकृत र विपन्न समुदायको रूपमा रहेको चेपाङ समुदायमा परिवर्तन ल्याउनको निम्ति सामाजिक सचेतनामूलक गतिविधि गर्नका लागि बजेट विनियोजन गर्नुपर्छ । नागरिक समाजले अन्तरक्रियात्मक कार्यक्रम गरी सामाजिक जागरण ल्याउने र आर्थिक सशक्तीकरणका उपायहरू अवलम्बन गर्ने गराउने वातावरण निर्माण गर्नसक्छ । सीमान्तकृत र विपन्न समुदायका महिलाहरूको अवस्थामा सुधार ल्याउन झनै बढी ध्यान दिएर काम गर्नुपर्ने हुन्छ ।
विगतमा विभिन्न सङ्घसंस्था, व्यक्ति र समूहहरूले प्रकाशन प्रसारण गरेका महिलाका जीवन कथा तथा महिला सवालका विषयहरूलाई हामीले ‘सन्धान सहकार्य’ अन्तर्गत साभार गरी प्रकाशन प्रसारण गर्दै आएका छौँ । यसै क्रममा आज आइपास नेपालको सहयोगमा सञ्चारिका समूह नेपालले प्रकाशन गरेको ‘अभियान : यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुनिश्चितता’ नामक पुस्तकबाट ‘चेपाङ महिलामा प्रजनन स्वास्थ्य ज्ञान न्यून’ शीर्षकको सुनिता आचार्यले लेख्नुभएको कथा साभार गरेका छौँ । यस सामग्रीलाई सामान्य सम्पादन गरिएको छ । प्रकाशन अनुमति दिइएकामा आइपास नेपाल र सञ्चारिका समूहलाई धन्यवाद !
लाेपाेन्मुख जातीका थप कथाहरू पढ्न यहाँ क्लिक गर्नुहाेला
सन्धान प्रकाशन मिति : २०८० असार २२ गते, शुक्रवार