Home Insight मिथिला कलामा महिलाको योगदानलाई बेवास्ता गरिएको छ (भिडियो सहित)

मिथिला कलामा महिलाको योगदानलाई बेवास्ता गरिएको छ (भिडियो सहित)

99
0

मिथिला कलाका अधिकांश कलाकारहरू महिला छन् । महिला कलाकारको बाहुल्य हुुनु मिथिला कलाको एउटा महत्त्वपूर्ण पाटो पनि हो । अधिकांश महिलाले अघि बढाएको मिथिला चित्रकलालाई कला–साहित्य क्षेत्रमै मौलिक र महत्त्वपूर्ण मानिन्छ । ‘मिथिला आर्ट’ को नामले पनि चिनिँदै आएको यो कलाको इतिहास पाँच हजार वर्षभन्दा पुरानो पाइएको छ ।

मधेश प्रदेशका विभिन्न जिल्लाका गाउँ र सहरमा प्रचलित यो कला मैथिली भाषी मानिसको संस्कृति र जीवनशैलीकै अभिन्न अङ्ग बन्दै आयो । औपचारिक शिक्षा नै नपाएका अधिकांश महिला कलाकारले यही कलासँग सम्बन्धित सिपबाट आफ्नो संस्कृति र जीवनशैलीलाई जोगाउँदै आए । मिथिला कलाका अधिकांश कलाकार महिलाहरू औपचारिक शिक्षा पाउनबाट वञ्चित देखिए । तिनले आफ्नो प्रेरणा र गुरुका रूपमा आफ्नै आमा र हजुरआमालाई पाए । आमा र हजुरआमाबाटै घरव्यवहारका कामसँगै मिथिला चित्रकलाको सिप पनि सिकेको उनीहरूको भनाइ रह्यो । पाँच हजार वर्षअघिका आमा र हजुरआमाहरूले आफ्नो घरमै संस्कार मनाउन यो कलाको प्रयोग गरेका थिए । मैथिल संस्कृतिमा मानिसको जन्मदेखि विभिन्न संस्कारमा मिथिला कलाको प्रयोग हुँदै आयो । एवं रीतले यो कला मैथिली भाषी समुदायका मानिसको संस्कार र जीवनशैलीकै अभिन्न अङ्ग बनिरह्यो । फलतः परिवारका पाका महिलाहरूबाट ज्यादातर छोरी र नातिनीहरूमा यो कलाको सिपसँगै संस्कृतिको हस्तान्तरण र पुस्तान्तरण हुँदै आयो ।

पछिल्लो कालखण्डमा ज्ञान र सिपको ढोका व्यापक हुँदै आयो । गाउँघरमा विद्यालयहरू पनि खुले तर अधिकांश कलाकार महिलाले पढ्नका लागि विद्यालय जान पनि पाएनन् । तिनले आफूले प्रयोग गरिरहेको मिथिला कलाको क्षेत्रमा पनि औपचारिक रूपमा केही पढ्ने र बुझ्ने मौका पाएनन् । यद्यपि, उनीहरूले मिथिला कलाको माध्यमबाट आफ्नो संस्कृतिसँगै जीवनशैलीलाई गति दिँदै आए । तिनैमध्येका दुई कलाकारको नाम हो, सुरेखा कर्ण र आभा सुमन । उहाँहरू तीन दशकभन्दा लामो समयदेखि मिथिला चित्रकारका रूपमा क्रियाशील रहँदै आउनुभयो ।

जनकपुर उपमहानगरपालिका वडा नम्बर २४ की सुरेखा २०४८ सालदेखि र आभा २०५१ सालदेखि मिथिला चित्रकलामा सक्रिय हुनुभयो । उहाँहरू दुवै जनाले जनकपुरस्थित मिथिला चित्रकार महिलाहरूद्वारा नै स्थापित संस्था ‘नारी विकास केन्द्र’ का पदाधिकारी र सदस्यका रूपमा पनि योगदान गर्दै आउनुभयो । उहाँहरूका अनुसार, सो केन्द्र औपचारिक रूपमा २०५१ सालमा दर्ता भयो र मिथिला चित्रकलामार्फत महिलाहरूले धेरथोर आम्दानी गरून् भन्ने उद्देश्यले नै सो संस्थाको स्थापना भएको थियो ।

केन्द्रका अध्यक्ष सुरेखाले सो संस्थाबाट मिथिला कलाको सिप हस्तान्तरणका काम भइरहेको जानकारी दिँदै महिलाहरू घरायसी काम सकेपछि दिउँसोको समयमा केन्द्रमा आउने र सिप सिक्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाको उमेरका महिलाहरू हरेक दिन १० बजेपछि जम्मा हुन्छन्, कोही कागजमा चित्र कोर्छन्, कोही कपडामा पेन्टिङ गर्छन् भने कोही सेरामिक (माटोको कला) पेन्टिङ गर्ने गर्दछन् ।”

भारतको मधुवनीमा जन्मिएको र गाउँमा हाइस्कुल नभएको हुनाले आफूले आठ कक्षासम्म पढेर छोडेको सुरेखाले बताउनुभयो । उहाँका अनुसार, घरमा आमा र हजुरआमाहरूले पेन्टिङ गर्नुहुन्थ्यो । घरमा विदेशी पाहुनाहरू आइरहन्थे र आमा हजुरआमाले गरेको पेन्टिङ तथा चित्रहरू किनेर लैजान्थे । त्यही भएर सानैदेखि आफूले पनि पेन्टिङ गर्न थालेको उहाँले बताउनुभयो । मैथिल लबजमा बोल्ने उहाँको भनाइ थियो– १४/१५ वर्षको हुँदादेखि कागजमा गमला, हात्ती, घोडा आकारका मूर्तिहरू बनाउँथेँ । ती चित्रहरू १०/२० रुपैयाँदेखि सय दुई सय रुपैयाँ भारुमा बिक्री हुन्थ्यो । विदेशीहरूले पनि किन्थे । आफूले बनाएको चित्र बिक्री भएर पैसा पाउँदा निक्कै खुशी हुन्थेँ र त्यसैको ऊर्जाले चित्रकलातिर लागिरहेँ ।

सुरेखाको बिहे २०४७ सालमा भयो । त्यसपछि पनि आफूले घरधन्दा र बालबच्चाको स्याहार गर्दै चित्रकलालाई निरन्तरता दिएको उहाँको भनाइ थियो । उहाँले सिटिइभिटीलगायत विभिन्न ठाउँबाट तालिमसमेत लिएको बताउनुभयो । तालिमपछि व्यावसायिक रूपमा मिथिला चित्रकलामा लागिरहेको पनि उहाँले जानकारी दिनुभयो । मिथिला कलाको काम नयाँ पुस्ता तथा विभिन्न ठाउँबाट आउने विद्यार्थीहरूलाई सिकाउँदै आएको र बढीजसो सेरामिक कलाबाट बन्ने माटाका विभिन्न सामग्री बनाउने गरेको उहाँको भनाइ थियो । साथै, उहाँले सेरामिक कलाबाट कप, गिलास जस्ता सामान, सुगा, खजनचुरया, कौवा जस्ता चरा, विभिन्न खालका जनावर, सजावटका सामग्रीलगायत दर्जनौँ खालका सामग्री आफूले बनाउँदै आएको बताउनुभयो ।

आभाले आफूलाई सेरामिक पेन्टिङमा दख्खल राख्ने कलाकारको रूपमा चिनाउँदै सेरामिकको व्यापक क्षेत्र रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो जीवनकहानीदेखि भातभान्साका सबै वस्तु तथा जस्तोसुकै क्रियाकलापलाई पनि आकार दिन सकिन्छ ।”

सन्धान टोली २०७९ साउनमा जनकपुरस्थित केन्द्रको कार्यालयमा पुग्दा भेटिएका थुप्रै महिलामध्ये पाको उमेरका र अनुभवीमध्येमा पर्न्हुन्थ्यो, सुरेखा र आभा । पछिल्लो कालखण्डमा मिथिला कलामा खारिएर स्थापित भइसकेका उहाँहरूले सन्धान टोलीसँग नेपालले मिथिला कलालाई राम्रोसँग नचिनेकोमा दुःख पनि प्रकट गर्नुभयो । उहाँहरूको भनाइको सार थियो– विदेशीले मिथिला कला र यसको सिर्जनशीलतालाई विश्वमा पुर्‍याइदिएका छन् तर नेपालकै सरकारसँग केही कुरा राख्यो भने त्यो सुनिँदैन । उहाँहरूका अनुसार, जनकपुरका विभिन्न खालका चित्रकला तथा पेन्टिङहरू काठमाडौँदेखि विभिन्न छिमेकी मुलुकहरू भारत र चीनका साथै समुद्रपारका मुलुकहरू जापान, बेलायत र बेल्जियमसम्म पुगेको छ । अमेरिका, स्पेनलगायत देशमा यहाँका उत्पादनको प्रदर्शनीसमेत भएको थियो । उहाँहरू दुवै जनाले मिथिला कलामा महिलाको योगदानलाई राज्यले चिन्न नसकेको निष्कर्ष सुनाउनुभयो । उहाँहरूसँगको भेटमा नेपालमा मिथिला चित्रकलाको अवस्था, चुनौती र महिलाको योगदान र कलाकारितामा महिलाले गरेका अनुभवका बारेमा कुराकानी गरिएको थियो ।

प्रस्तुत छ, मिथिला कलाकार सुरेखा कर्णआभा सुमनसँग ‘सन्धान’ का तर्फबाट गार्डिका बज्राचार्यलक्ष्मी बस्नेतले गर्नुभएको सोही कुराकानीको भिडियो अंश :

प्रकाशन मिति : २०८१ असाेज ७ गते, साेमवार

मधेशका थप कथाहरू