Home Stories सारङ्गी बजाउनमा गतिलो अपवाद

सारङ्गी बजाउनमा गतिलो अपवाद

79
0

छोरीमान्छेले सारङ्गी बजाउनु हुन्न भन्ठान्ने समुदायका लागि एउटा गतिलो अपवाद हुनुहुन्छ, बर्त गन्धर्व । भोजपुरमा जन्मिएकी उहाँले सात वर्षको उमेरमै सारङ्गी बजाउन थाल्नुभएको थियो । सारङ्गी बजाउनु उहाँको परिवार र समुदायको परम्परागत पेसा हो । यो काम छोरालाई सिकाए पनि छोरीलाई सिकाउने चलन थिएन । बर्तका बुबाले सारङ्गी बजाएरै जीविकोपार्जन गर्नुहुन्थ्यो । बुबाले बजाएको सानैदेखि देख्दै आएको हुनाले आफूले सानै उमेरमा सारङ्गी बजाउन थालेको बर्तले बताउनुभयो । उहाँका लागि सानै उमेरमा परिस्थिति पनि फरक भइदियो । आमामाथि बर्तले सारङ्गी रेटेकै भरमा उठेको कमाइले सात जनाको परिवार पाल्नुपर्ने अवस्था आइपर्‍यो। परिवारकी जेठी छोरी बर्तले त्यो काममा आमालाई जानी नजानी सघाउनु पनि भयो । त्यही मिहिनेत, अनुभव र साधनाका कारण बर्तले १० वर्षको उमेरमा छात्रवृत्ति पाएर काठमाडौँको ‘नेपाल सङ्गीत विद्यालय’ मा पढ्ने अवसर पाउनुभयो । सोही विद्यालयमा आफूले सङ्गीत पढ्दै सारङ्गी सिकाउने अवसर पनि पाएको उहाँले बताउनुभयो । सारङ्गी बजाउँदै र सिकाउँदै गर्दा उहाँ साङ्गीतिक समूह ‘कुटुम्ब ब्यान्ड’ र ‘श्रीतारा ब्यान्ड’ मा आबद्ध हुनुभयो । ‘श्रीतारा ब्यान्ड’ सङ्गीतमा लागेका महिलाहरूको समूहले खडा गरेको हो ।

बर्तले सारङ्गी प्रशिक्षक भएर नेपालका विभिन्न ठाउँमा मात्रै होइन, विदेश पुगेर पनि सिप हस्तान्तरण गर्नुभयो । उहाँसँग ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले वि.स. २०८१ साउनमा किर्तिपुरमा भेटेर कुराकानी गर्नुभएको थियो । सो कुराकानी सारङ्गीसँग जोडिएको जीवनभोगाइ र सारङ्गीयात्राका बारेमा केन्द्रित रह्यो । प्रस्तुत छ, सोही कुराकानीका आधारमा तयार गरिएको सारङ्गीवादक बर्त गन्धर्वको स्वकथन :

हाम्रो गन्धर्व जातिको परम्परागत पेसा सारङ्गी बजाउने हो । त्यही भएर बुबाले सारङ्गी बजाउने गरेको सानै हुँदादेखि देख्यौँ । सारङ्गी हाम्रो आयआर्जनको माध्यम पनि हो । त्यसैले गाउँघरमा मात्रै होइन, बुबा भारतको दार्जिलिङ, सिक्किमलगायतका सहरहरूमा सारङ्गी बजाउन जानुहुन्थ्यो र कमाइ गरेर ल्याउनुहुन्थ्यो । सारङ्गीको आम्दानीकै कारण हाम्रो परिवारलाई खान लगाउन धौ थिएन । राम्रै थियो । बुबा सारङ्गी बजाएरै कहिले कता कहिले कता हिँडिरहनु हुन्थ्यो । गन्धर्व समुदायमा पुरुषहरूले मात्र सारङ्गी बजाउनुपर्छ, महिलाले गर्नु हुँदैन भन्ने मान्यता नै थियो, जुन अहिले पनि कायम छ भन्दा हुन्छ ।

सानाे उमेरमा बुबासँग सारङ्गी बजाउँदै बर्त गन्धर्व

छोरीमान्छेहरूले यो काम गर्नु हुँदैन भन्ने नै थियो । त्यही भएर सारङ्गीवादक महिला निस्किन सकेका छैनन् । मलाई लाग्छ, म नै पहिलो छोरी हुँ, जसले सारङ्गी बजाएर परिवारलाई केही समय भए ’नि आर्थिक रूपमा सहयोग गरेँ । एक पटक बुबा सारङ्गी बजाउने र गीत गाउने सिलसिलामा सिक्किम, दार्जिलिङतिर जाँदा एक वर्षसम्म घर आउनु भएन । घरबाट गएको एक वर्ष जस्तो उहाँ उतै बस्नुभयो । पैसा पनि पठाउनु भएन । घरमा हामी सात जना उहाँकै कमाइले पालिएका थियौँ । बुबा घर नआएको कारणले गर्दा हाम्रो घरमा खर्च गर्न पुग्ने गरी कमाइ गर्ने कोही भएन । आमाले दैनिक ज्यालादारी त गर्नुहुन्थ्यो तर त्यसो गरेर हामी छोराछोरीको पालनपोषण गर्न आमालाई गाह्रो हुन थाल्यो । हामीलाई खान लाउन धौ धौ हुन थाल्यो ।

घरमा म ठुली थिएँ । मैले अलिअलि सारङ्गी बजाउने पनि गरेको थिएँ । त्यही भएर मलाई आमाले सारङ्गी किन्दिनुभयो र सारङ्गी बोकाएर गाउँघरमा हिँडाउन थाल्नुभयो । मसँगै आमा पनि पिरिङ्गोमा सानो नानी (बहिनी) बोकेर हिँड्नुभयो । आमाले बास बस्दा चाहिने ओढ्ने, ओछ्याउने, पकाउने र खाने भाँडाकुँडासमेत बोक्ने गर्नुहुन्थ्यो । यसरी एकचोटि हिँडेपछि एक हप्ता जति हिँडेपछि हामी घर फर्किन्थ्यौँ । त्यसरी हिँड्न थाल्दा मेरो उमेर सात वर्षको थियो रे ! त्यति सानैमा मैले घर चलाउनका लागि सारङ्गी रेटेर हिँड्नुपरेको थियो ।

मैले सारङ्गी बोकेर आमासँगै हिँडेको देखेपछि ‘गन्धर्व आए’ भनेर दया लाग्नेहरूले चामल र कसैले समयअनुसारको अन्न दिन्थे । कुनै घरमा पुगेपछि आमाले मलाई ‘सारङ्गी रेट’ भन्नुहुन्थ्यो । आमाको कहरमा म नजानी नजानी पनि सारङ्गी रेट्थेँ । यसरी आमासँग गाउँघरमा हिँड्यो, सारङ्गी बजायो र दिएको चामल सँगाल्दै हिँड्यो । त्यस्तै गर्नुपर्ने अवस्था थियो त्यति बेला । सुरुसुरुमा नजानी नजानी सारङ्गी रेट्दै गर्दा पछि बिस्तारै मैले पनि राम्रोसँग बजाउन सक्ने भएँ । आफूले बजाएको सारङ्गीको धुन सँगसँगै मैले गीत गाउन पनि जान्ने भएँ ।

अघि पनि भनेँ, हामी एकचोटि घरबाट हिँडेपछि एक हप्ता जति गाउँ डुल्थ्यौँ । आमा, बहिनी र म तीन जना सँगसँगै हुन्थ्यौँ । त्यो बिचमा हामीले गाउँमै बास बस्नुपर्थ्याे । बास बस्नका लागि आमाले आवश्यक खाना बनाउने भाँडाहरू, ओढ्ने र ओछ्याउने लुगाहरू बोकेर हिँड्नुहुन्थ्यो । सानो नानीका लागि चाहिने सामान पनि आमाले साथमै बोक्नुहुन्थ्यो । बेलुका बास माग्दा कसै कसैले बास दिन गाह्रो पनि मान्थे । एउटा त, आमासँग सानो बच्चा पनि भएको भएर बच्चाले फोहोर गर्छन् भनेर पनि होला । अर्को कुरा, हामी गन्धर्व अर्थात् दलित समुदायको भएका कारण पनि होला सायद ! जातीय छुवाछुत अहिले त हुन्छ, त्यो बेला झन् गाह्रो थियो हामीलाई । हामी दलित समुदायका मानिसलाई जहाँकहीँ बास पाउन गाह्रो थियो । त्यही बेला नै लाग्थ्यो, हामी दलित भएकाले बास पाउन पनि गाह्रो परेको होला भनेर । त्यसैले हामी केही चामल सङ्कलन भएपछि र ‘अब केही दिनलाई खान पुग्छ’ भन्ने लागेपछि आफ्नै घरमा फर्किन्थ्यौँ । सात जनाको परिवार थियो । मैले नै सारङ्गी बजाएर एक वर्ष परिवार पालेँ ।

एक वर्षपछि बुबा घर आउनुभयो । बुबा आउँदासम्म म सारङ्गी बजाउँदै गीत गाउनसमेत जान्ने भइसकेको थिएँ । बुबा आइसकेपछि बुबासँगै म पनि विभिन्न ठाउँमा गएँ । सानो मान्छे देखेर होला मलाई ‘कति राम्रो गाउने नानी’ भनेर कसैले पैसा पनि दिनुहुन्थ्यो । एक दिन सङ्खुवासभा एयरपोर्टमा गीत गाउँदै गरेको अवस्थामा डा. गोपाल सिवाकोटी चिन्तन सर भेटिनुभयो । उहाँले मलाई ‘यसरी गीत मात्र गाएर हिँडेर हुँदैन, पढ्नुपर्छ, सङ्गीत सिक्नुपर्छ’ भन्नुभयो । उहाँको कुरापछि आमाबुबासँगको सल्लाहमा पढ्न भनी म काठमाडौँ आएँ । गोपाल सरकै सहयोगमा काठमाडौँमा मैले पढ्न पाएँ । पहिले गाउँमा पढ्न नपाएको । काठमाडौँमा पढ्न पाउँदा साह्रै खुसी लाग्यो । १० वर्षको उमेरमा पहिलो पटक मैले पढ्ने अवसर पाएको थिएँ ।

पढाइलाई निरन्तरता दिँदै जाँदा एसएलसी उत्तीर्ण गरेँ । त्यसपछि झनै धेरै सारङ्गी र सङ्गीतको महत्त्व बुझ्न थालेँ । कलेजको पढाइलाई पनि निरन्तरता दिएँ । बिहान कलेज पढ्ने र दिउँसो एउटा कार्यालयमा सहयोगीको काम गरेँ । यसले गर्दा मेरो पढाइ पनि छुटेन, पढ्ने खर्च पनि जुट्यो । कुटुम्ब ब्यान्डका सदस्यहरूले गाउने मौका दिनुभयो । ब्यान्डसँग जोडिएर काम गर्न पाउँदा मलाई साङ्गीतिक क्षेत्रमा चिनिन धेरै सहयोग गर्‍यो ।

नेपाल सङ्गीत विद्यालयमा सङ्गीत र ‘भोकल’ (गायन) पढ्ने अवसर पाएँ । बस्ने, खाने सुविधासहित छात्रवृत्तिमा पढेँ । पढाइ सकेपछि त्यहीँ सारङ्गी सिकाउन पनि थालेँ । त्यहाँका मेरा गुरु अमेरिका जानुभएको थियो । यता चार वर्ष मैले सारङ्गी सिकाएँ । हुन त मैले विद्यार्थी हुँदै पनि सारङ्गी सिकाउँथेँ । तीन–चार घण्टामा तीन–चार वटा समूहलाई सिकाउँथे । एक समूहको लागि दिनमा एक घण्टाको कक्षा हुन्थ्यो ।

त्यसै बेला सन् २०१२ मा नर्वेका लागि प्रशिक्षक बनेर जानुपर्ने एउटा अवसर आयो । हामी त्यहाँका प्रशिक्षकहरूबिच नै प्रतिस्पर्धा भयो । प्रतिस्पर्धामा मेरो नाम निस्कियो र म गएँ । र, १० महिना नर्वे बसेर सारङ्गी सिकाएँ । आफ्नो सिर्जनामा पनि काम गरिरहेँ । त्यहीँ हुँदा आमाको सम्झनामा आफ्नै शब्द, सङ्गीत र स्वरमा ‘हे मेरी आमा’ शब्दको बोलको गीत लेखेँ र गाएँ । नर्वे जाँदा पनि राम्रो फोनको सुविधा मसँग थिएन । आमाको धेरै याद आउँथ्यो तर सजिलै कुराकानी गर्न सक्दिनथेँ । त्यही भाव र आमादेखि टाढा हुनुको पीडालाई गीतमा उतारेर ‘हे मेरी आमा’ भन्ने गीत तयार गरेँ । जुन गीत युट्युबमा पनि सुन्न पाइन्छ ।

नर्वेबाट फर्केपछि यो गीत आमालाई सुनाएँ । आमा रुनु पनि भयो । सन् २०१८ तिरको समयमा म ठमेलमा सारङ्गी सिकाउँथेँ । त्यहाँ नेपाली र विदेशी विद्यार्थीहरू हुन्थे । बाजाहरूको पसल पनि थियो । त्यहाँ एक दिन म्युजिक डाइरेक्टर करणराज कार्की सर आउनुभयो । उहाँले मलाई भेटेपछि तपाईं ‘भ्वाइस अफ नेपाल’ को प्रतिस्पर्धामा जानुपर्छ भन्नुभयो । ‘सिजन १’ को भ्वाइस अफ नेपाल भइरहेको थियो । त्यो प्रतिस्पर्धात्मक गायन कार्यक्रम थियो । म पनि गएँ र ‘ब्लाइन्ड अडिसन’ सम्म पुगेँ । त्यहाँ गएर म धेरै चिनिएँ । त्यसपछि मलाई अफर आयो र धेरै गीतहरू गाएँ । कुटुम्ब ब्यान्डसँग आबद्ध भएर लामो समय काम गर्ने अवसर मिल्यो । कुटुम्ब ब्यान्डले ठाउँठाउँमा स्टेज कार्यक्रमहरू गर्दा सारङ्गी पनि राख्यो । त्यसपछि बल्ल अन्य जातका मानिसले पनि सारङ्गी सिक्न थालेका हुन् । त्यसपछि अझ राम्ररी धेरैले सारङ्गीबारे थाहा पाएका हुन् भन्ने लाग्छ । त्यो ब्यान्डमा सारङ्गी बजाउने म मात्रै थिएँ । ‘सितारा’ भन्ने अर्को ब्यान्डमा पनि आबद्ध भएँ । त्यो केटीहरूको मात्रै साङ्गीतिक समूह थियो ।

पहिलेदेखि सारङ्गी बजाउने काम छोरीमान्छेको होइन भनिँदै आएको छ । त्यसका पनि विविध पाटा होलान् । छोरीमान्छेहरू त्यसरी सारङ्गी बजाएर एक्लाएक्लै हिँड्दा असुरक्षित हुने भएकाले पनि त्यसो भनिएको होला जस्तो लाग्छ । त्यति बेलाको अवस्था त्यस्तो पनि थियो । हाम्रा पालामा जस्तो लगाउन खानलाई अहिलेका पुस्तालाई गाह्रो छैन । त्यही भएर पनि यस पेसातर्फ आकर्षित नभएका हुन् कि जस्तो पनि लाग्छ । अहिले साँझ बिहान के खाने ? भोलि के खाने होला भन्ने छैन । गाउँतिरका केही केटाहरूले भने सिक्नलाई चासो देखाए जस्तो गर्छन् । बजाउँछन् पनि तर केटीहरू भने रहर गर्दैनन् । छोरीलाई पनि सारङ्गीवादक बनाउँछु भन्ने सोच अभिभावकमा नभएर पनि रहर नगरेको हुन सक्छ ।

पछिल्लो समय हाम्रो समुदायले भन्दा पनि अन्य समुदायका मानिसले सारङ्गी बजाएको देखेर बजारमा हुने गन्धर्व समुदायका मानिसले यसको महत्त्व बुझ्दै गएका छन् । मलाई चाहिँ यो जमानामा छोराले यो गर्ने र छोरीले यो गर्ने भन्नुभन्दा पनि काम नै हो जसले गरे पनि हुन्छ जस्तो लाग्छ । अहिले समयसँगै सोच पनि परिवर्तन हुँदै आइरहेको छ ।

आफ्नो संस्कृतिको संरक्षण पनि हुने, आर्थिक आत्मनिर्भर हुने बाटो पनि हुने भएकाले गन्धर्व समुदायका छोराहरूले मात्र होइन, छोरीहरूले पनि सारङ्गी सिक्ने र बजाउने गर्नुपर्छ भन्ने मलाई लाग्छ । अहिले सबै समुदायका मानिसले काम गरिरहेको अवस्थामा लैङ्गिकताका आधारमा पेसालाई हेरिनु हुँदैन । महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर भएर सशक्त हुनुपर्छ । मैले सारङ्गीकै कारण सानै उमेरमा परिवारलाई हेर्न सक्ने भएँ । म आफैँ रमाउन पनि सक्या’ छु । पहिले र अहिले मलाई हेर्ने मानिसको दृष्टिकोणमा फरक परेको महसुस गरेको छु ।

प्रकाशन मिति : २०८१ भदाै २७ बिहीबार