दुई दशक अघिदेखि दलित महिलाको अधिकारका लागि क्रियाशील जानकी नेपालीले भूमिहीन दलित समुदायको अधिकारका पक्षमा पनि काम गर्दै आउनुभयो । बझाङ जिल्लाकै बासिन्दा उहाँले स्थानीय भूमिहीन दलितहरूले सुरक्षित आवासबाट वञ्चित भई सेती नदी किनारमा रहन बाध्य हुँदा झेल्नुपरेका चुनौती र जीविकोपार्जनलगायतका विषयमा विभिन्न ठाउँमा आवाज उठाइरहनु पनि भयो । यसरी सामाजिक अभियन्ताका रूपमा चिनिँदै आएकी उहाँ दलित उत्थान युवा समाज बझाङको कोषाध्यक्ष पनि हुनुहुन्थ्यो । दलित महिला संघ (फेडो) लगायत विभिन्न गैरसरकारी संस्थामा आबद्ध हुँदै आएकी उहाँले गरिबी, जातीय छुवाछुत र विभेद तथा भूमिहीनहरूको अवस्थालाई आफूले बाल्यकालदेखि नै नजिकबाट देखे/भोगेको बताउनुभयो ।
जानकीसँग ‘सन्धान’ का लागि प्रणेताले २०८० फागुनमा काठमाडौँमा भेटेर कुराकानी गर्नुभएको थियो । त्यति बेलाको कुराकानी उहाँको जीवनभोगाइसँगै दलित समुदाय र सेती किनारका भूमिहीन दलितका अवस्था र अधिकारका विषयमा केन्द्रित रह्यो । प्रस्तुत छ, सामाजिक अभियन्ता जानकी नेपालीसँगको सोही कुराकानीमा आधारित स्वकथन :
म बझाङ जिल्ला छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ को बासिन्दा हुँ । करिब दुई दशकदेखि म दलित महिला अभियन्ताको रूपमा सक्रिय छु । आफूले पढ्न नपाए पनि छोरीलाई पढाउनुपर्छ भन्ने सोच आमाबुबामा भएका कारण मैले पढ्न पाएँ । एक दिन मेरो जस्तै नाम गरेको एक जना दिदी हाम्रो घरमा आउनुभएको थियो रे ! उहाँ निकै टाठी भएको बुबालाई लागेछ । अनि मेरो छोरीलाई पनि पढाएर उहाँ जस्तै टाठो बनाउँछु भन्ने सोचेर मलाई पढ्न पठाउनुभएको रे ! जे होस् मैले पढ्न पाएँ । स्कुल जाँदा सानै भएकीले हजुरबुबाले मलाई बोकेर स्कुल पुर्याएको सम्झना छ ।
हामी दलित समुदायका बालबालिकालाई विद्यालयमा पनि विभेद र छुवाछुत हुन्थ्यो । मलाई कक्षा १ मा पढ्दाको घटना याद छ । एक दिन एक जना गैरदलित केटी साथीले स्कुलमा लाइन लाग्ने क्रममा आफ्नो ब्यागमा बोकेको रोटी छोइदिएको भनेर कक्षामा पुगेपछि लेख्ने पाटी (सिलोट) ले मेरो टाउकोमा हानी । त्यसरी हान्दा रगत नै आएको थियो । त्यो घटनाका कारण एक वर्ष मैले स्कुल छोडेँ र त्यसपछि फेरि जान थालेको हुँ । सानैदेखि आफूले भोगेको जातीय छुवाछुतको पीडाका घटना बिर्सिन नसकिने रहेछ । गाउँघरमा पानीको सुविधा थिएन । त्यसैले सबै विद्यार्थीहरू पानी खान सेती नदीमै जान्थ्यौँ । स्कुलमा पानीको धारा आइसकेपछि पनि पहिले गैरदलित साथीहरूले भाँडो थाप्थे र खान्थे अनि बल्ल हाम्रो पालो आउँथ्यो । यस्ता घटनाको भोगाइ धेरै छन् तर पनि मैले आफ्नो काम र पढाइलाई छोडिनँ ।
मलाई जागिर खान त्यति सहज थिएन । बाहिरतिर हिँड्नुपर्छ भनेर घरमा आमाहरू डराउनुहुन्थ्यो । फिल्डमा काम गर्ने छोरीले कतै बदनाम हुने, उहाँहरूको भनाइमा ‘नाक काटिने’ काम गर्छे कि भनेर पनि डराउनुहुन्थ्यो ।
मलाई चाँडै विवाह गरिदिन खोजिएको थियो तर मानिनँ । पढाइलाई निरन्तरता दिइरहेँ । २०६० सालमा एसएलसी (अहिलेको एसइई) पास गरेँ । त्यसपछि मैले कक्षा ११ पनि पढ्न थालेँ । पढाइसँगै केयर नेपालमा काम गर्ने अवसर मिल्यो । केयरको विज्ञापनमा प्राविधिकतर्फ दलित समुदायबाट महिला हुनुपर्ने भन्ने रहेछ । त्यसमा आवेदन दिएँ र म छनौट भएँ । त्यहाँ तीन वर्ष काम गरेँ । त्यति बेला काम गर्दादेखि नै मैले समुदायको निम्ति आवाज उठाउन सुरु गरेको हुँ । संस्थामा काम गर्दा जनचेतनामूलक कार्यक्रमहरू गर्ने, महिलाहरूलाई पैरवीसम्बन्धी तालिम दिने गरिन्थ्यो । दलित समुदायका बालबालिका धेरै भएका विद्यालयमा खानेपानी र शौचालयको व्यवस्था गर्नका लागि हामीले पहल गरेका थियौँ ।
हुन त मलाई जागिर खान त्यति सहज थिएन । बाहिरतिर हिँड्नुपर्छ भनेर घरमा आमाहरू डराउनुहुन्थ्यो । फिल्डमा काम गर्ने छोरीले कतै बदनाम हुने, उहाँहरूको भनाइमा ‘नाक काटिने’ काम गर्छे कि भनेर पनि डराउनुहुन्थ्यो । ‘म विवाह गर्दिनँ, पढ्छु र अघि बढ्छु’ भनेर मैले घरमा सम्झाएँ र जागिर खाँदै पढेँ । मैले ढिलै बिहे गरेँ । त्यतिखेरको समयमा बिस वर्ष पुगेपछि मात्रै बिहे गरेको । हामी चार बैनी सबैले पढ्न पायौँ । मेरो एउटा बैनी जिल्लामै ‘स्टाफ नर्स’ छिन् । अर्की बैनी कृषि ‘जेटिए’ पढ्दैछिन् । भाइ शिक्षाशास्त्र सङ्कायमा स्नातक तह पढ्दैछ । बुबाले आफ्नो परम्परागत सिलाइकटाइ पेसाबाट हामीलाई पढाउने र घरव्यवहार चलाउने गर्नुभयो । मैले पनि पाँच कक्षा पढ्दापढ्दै बालकक्षामा पढाउन थालेँ । त्यसैबाट आफ्नो पढाइ खर्च जोहो गर्थें ।
हाम्रो ठाउँको दलित बस्ती सेती नदीको किनारमा रहेको छ । २०७८ सालको दसैँताका आएको बाढीले गर्दा खेती गर्ने जमिन बगर बन्यो । सेती नदीको झोलुङ्गे पुल बगायो । बाढीले पुल बगाउँदा जिल्लाकै थलारा गाउँपालिका वडा नम्बर १ र २ का बासिन्दालाई असर पर्यो । खासगरी झोलुङ्गे पुलबाट वारपार गर्ने, रोजगारीका लागि धनगढी हुँदै इन्डिया जाने, देउराबजारबाट सामानहरू ओसारपसार गर्नेहरू सबैलाई असर गर्यो । कलङ्गा गाड खोला र सेती नदीको दोभानमा अवस्थित देउराबजारमा रहेका दलितहरू पनि बाढीका कारण जोखिममा परे । देउराबजार नै सर्नुपर्ने स्थिति आयो । त्यति बेला बाढीले बगाएको पुल अहिले तीन वर्ष पुग्नै आँट्दा पनि बनेको छैन ।
हामी बाढीबाट विस्थापित भएपछि लामो समय त्यहीँ साबिकको सुगाला गाउँमै बस्यौँ । अहिले दुई दशक बितिसक्दा पनि नदी आसपासमा बस्नेहरूलाई उही चुनौती छ ।
हिउँदमा काठेपुल हालेर र अलिक माथिको पुलबाट आवातजावत हुन्छ । सेती नदीको आसपासमा हाम्रो घर छ । नदी आसपासमा बस्नुका आफ्नै चुनौती छन् । २०५७ सालतिर म सात कक्षामा पढ्थेँ । त्यो साल आएको बाढीले हाम्रो जमिन बगायो । हाल थलारा गाउँपालिकामा पर्ने साबिकको मालुमेला गाविस वडा नम्बर ९ मा एउटा दलित बस्ती थियो । त्यो बस्ती त बाढीले मरुभूमि जस्तै बनाएको थियो । त्यतिखेर मेरो परीक्षा चलिरहेको थियो । हामीले केही सामानहरू गैरदलितका घर भएका क्षेत्रतिर र केही सामानहरू मालुमेलास्थित स्कुलमा सारेका थियौँ । बाढीले लथालिङ्ग पारेको घरका सामान ओसार्दाओसार्दै म परीक्षा दिने ठाउँमा ढिला उपस्थित भएकी थिएँ । धन्न मैले त्यो दिन परीक्षा दिन भने पाएँ ।
हामी बाढीबाट विस्थापित भएपछि लामो समय त्यहीँ साबिकको सुगाला गाउँमै बस्यौँ । अहिले दुई दशक बितिसक्दा पनि नदी आसपासमा बस्नेहरूलाई उही चुनौती छ । साउन, भदौको महिना नदी किनारामा बस्ती भएका सुगालाका मानिसहरू बास बस्नका लागि विद्यालयमा जान्छन् । दसैँ मनाउन आफन्तकहाँ गएको बेलामा पनि बाढी आयो । त्यति बेला हामी विद्यालयमा व्यवस्थापन गरेर बसेका थियौँ ।
हरेक वर्ष बाढीले दुःख दिँदा नदी किनारवासीहरू सुरक्षित स्थानमा घर भएका गैरदलितका बस्ती वरपर सामानहरू राखेर बस्छन् । त्यसरी बस्न नमिले अरू वैकल्पिक बाटो रोज्नुपर्ने हुन्छ । पछिल्लोपटक २०७८ सालमा आएको बाढीले चर्पी र करेसाबारी सबै बगायो । घरहरू मात्र रहे । फेरि २०८० असोजमा ठुलो भूकम्प आयो । ६.३ रेक्टर स्केलको भूकम्पले हल्लाउँदा भएका घरहरू कमजोर भए । अहिले ती बस्न लायक छैनन् । फेरि यस्तै भूकम्प र ठुलो बाढी आयो भने के गर्ने ? कुनै उपाय छैन ।
व्यवस्थापन गर्ने भन्ने कुरा आश्वासनमा मात्रै सीमित छ । त्यही भएर बाढीपीडितहरू आफ्नै हिसाबले ‘थाकथलो’ छोडेर हिँड्ने गरेका छन् ।
सेतीको बाढीले हामीलाई धेरै वर्ष अघिदेखि दुःख दिइरहेको छ । २०५७ सालमा आएको बाढीले मेरो माइतीघर हालको छबिसपाथिभेरा गाउँपालिका साबिकको मटेला गाविस वडा १ स्थित सेती किनारको दलित बस्ती बगाएको थियो । त्यतिखेर विस्थापित भएका मानिसहरूले दुई दशक बितिसक्दा पनि कतै पुनः स्थापित हुन पाएका छैनन् । न त राहत, न त सहयोग नै केही पाइएको छ । १०–१२ परिवार दलित र ५०–६० परिवार गैरदलित सुकुम्बासीहरू बाढीपीडित भएका थिए । उनीहरूलाई ‘तराईमा लगेर व्यवस्थापन गर्छौं’ भनेर कैलाली जिल्लाको अत्तरिया भन्ने ठाउँमा लगियो । ‘सुकुम्बासीहरूलाई जमिन दिन्छौँ’ भनेर फाराम पनि भराइयो । राजनीतिक दलहरू आएर हेरे जस्तो गर्ने र रिपोर्टिङ गर्ने काम भयो । त्योभन्दा अरू काम भएको छैन । अहिले उनीहरूलाई केही वास्ता गरिएको पाइँदैन । स्थानीय र प्रदेश सरकारले पनि केही गरेको छैन । व्यवस्थापन गर्ने भन्ने कुरा आश्वासनमा मात्रै सीमित छ । त्यही भएर बाढीपीडितहरू आफ्नै हिसाबले ‘थाकथलो’ छोडेर हिँड्ने गरेका छन् । कोही इन्डिया गए । कोही अन्यत्रै सिलाइकटाइ गरेर बस्छन् । अरू ठाउँ कतै जान पनि नसकेका बुढाबुढीहरू समस्यामा छन् । एक जना बुढीआमा एक्लै हुनुहुन्छ । उहाँ ‘म मरेपछि लास उठाउने मान्छे पनि हुन्न’ भनेर चिन्ता गर्नुहुन्छ ।
बिहे, व्रतबन्ध जस्ता शुभकार्यहरू गर्दा शुभसाइतमा नगरा बजाउन दलित समुदायलाई लगाइन्छ । नगरा एक प्रकारको बाजा हो । त्यसबाहेक अरू ठाउँमा जातकै कारण उनीहरूलाई विभेद र छुवाछुत गरिन्छ । दलित समुदायका कोही मरे भने गैरदलितहरू मलामी नजाने चलन छ । लास उठ्दाखेरी चामल, पैसा, कपडा, धुप दिन्छन् तर उनीहरू मलामीको रूपमा भने जाँदैनन् । ‘गैरदलितहरू दलित समुदायको मलामी बन्नु हुँदैन’ भन्ने अन्धविश्वास कायम छ । विवाह महोत्सवमा दलितहरू नगरा बजाउँदै अगाडि लाग्नुपर्ने, सुनारहरूले तयार गरेको गहना दुलहा–दुलहीले लाउने, नगरा बाजा नबजुन्जेल साइत नगर्ने तर बिहेमा बास बस्नुपर्ने ठाउँमा गइयो भने बाजा लिएर गएका दलितहरूले घरबाहिरै परालमा वा गोठमा बस्नुपर्ने चलन अझै छ । हामीले सिलाएका लुगाहरू व्यासीकोट दरबार, देवीदेउताका मन्दिरका पुजारी र धामीहरूले लगाउँछन् । हामीले काटेका कपडा ध्वजापताकास्वरूप चढाउँछन् । हामीले नगरा नबजाएसम्म धामीलाई देउता चढ्दैनन् तर हामीलाई विभेद गरी पर राखिन्छ ।
पढाइका सन्दर्भमा र कामको सिलसिलामा बझाङको विभिन्न पालिकामा पुग्दा मैले हाम्रो दलित समुदायभित्र छोरा र छोरीमा अलग व्यवहार गरेको देखेको छु । छोरीहरू मात्र होइन, छोराहरूलाई पनि पढ्न नपठाएको अवस्था छ । छोराहरूलाई आफूसँगै बाजा बजाउन हिँडाल्ने गरिन्छ । त्यस्तो गरिएका कतिपय छोराहरू त्यतैबाट इन्डिया जाने गरेका छन् । तर, केही दलित परिवारमा छोरीहरूलाई स्कुलमा पढाउनुपर्छ भन्ने चेतना पनि जागेको छ । कतिपय अभिभावकहरू छोराछोरीलाई घरमै छोडेर कमाउनका लागि भारत जान्छन् ।
आजकल कामअनुसारको ज्याला दिने क्रम सुरु भएको छ तर पनि त्यतिले सबैलाई पुगेको छैन । परम्परागत सिलाइबुनाइको कामले मात्र नधान्ने र बालीप्रथामा चल्नुपर्ने भएपछि कामको खोजीमा इन्डिया जाने प्रचलन बढ्दो छ ।
यता छोरीहरू सानैमा बालविवाह गरेर भागेको पनि देखिन्छ । साथी–साथी स्कुल जाँदा बाटैमा भाग्ने र बिहे गर्नेहरूलाई देख्दा बालविवाह बढेको अनुमान गर्न सकिन्छ । कामअनुसारको ज्याला नदिइने बालीप्रथा विगतको तुलनामा धेरै हदसम्म हटिसक्यो । आजकल कामअनुसारको ज्याला दिने क्रम सुरु भएको छ तर पनि त्यतिले सबैलाई पुगेको छैन । परम्परागत सिलाइबुनाइको कामले मात्र नधान्ने र बालीप्रथामा चल्नुपर्ने भएपछि कामको खोजीमा इन्डिया जाने प्रचलन बढ्दो छ ।
मैले २०६३ सालमा हालको खप्तडछान्ना गाउँपालिकाको पाटादेवल ६ मा बिहे गरेँ । बिहे भएर म आउँदा पाटादेवलमा ५०–६० दलित परिवारहरूको बसोबास थियो । अहिले बसाइँसराइले त्यो गाउँ रित्तिएको छ । सबैजसो परिवारले छोराछोरी पढाउन र जागिर खान भन्दै गाउँ छोडिसके । काम खोज्दै भारत पस्नेहरूले ‘लेबर’ बनी ज्यालादारीमा श्रम गर्ने हो । खासगरी पुरुषहरूले गाडी धुने, महिलाहरूले सरसफाइ गर्नेदेखि घरायसी कामसमेत गर्ने गरेको पाइन्छ । जिल्लाकै ‘महिला विकास’ भन्ने संस्थाले मेरो काकी र आमालाई भ्रमणमा लगेका थिए । त्यो बेला ‘छोरीहरूलाई पढाउनुपर्छ, आफ्नो करेसाबारीमा सागपात बोटबिरुवा लगाउनुपर्छ’ भनेर सिकाइएछ । त्यसपछि हामीले करेसाबारीमै तरकारी लगाएर खान थाल्याैँ । नपुगेको बेला मात्र किन्थ्यौँ ।
म २०७० सालदेखि फेडोमा आबद्ध छु । संस्थामा कर्मचारीको रूपमा काम गरेँ । अरू विभिन्न संस्थासँग मिलेर पनि जनचेतना र हकअधिकारको लागि काम गर्ने गर्थें । वनसम्बन्धी काम गर्दा रेन्जरहरूसँग मिलेर वनको कार्ययोजना, विधानहरू बनाउनेदेखि जिपिएसबाट डाटा लिएर नक्साङ्कन गर्दा पनि सहयोग गर्यौँ। त्यहाँ समितिको महत्त्वपूर्ण पदमा महिला र पुरुषहरूलाई ५०–५० प्रतिशत ठाउँ छुट्ट्याएर समावेशी समूह गठन गर्ने गरिन्थ्यो । तर, समूहमा बस्न कोही नमान्ने । कति खम्बाको रूपमा मात्र बस्ने ? निर्णयहरू पुरुषले मात्र गर्ने गर्थे । महिलाहरूलाई हस्ताक्षर गर्न मात्र लगाइन्थ्यो । हामीहरूले सामुदायिक वनको विकास र संरक्षण गर्ने हेतु दलको समिति बनाइएको हो भनेर महिलाहरूलाई समितिमा बस्न मनाउँथ्यौँ । समितिमा जङ्गल फँडानी नहोस्, नमासियोस्, ननासियोस् भनेर काम गरिन्थ्यो ।
सेती नदीबाट निरन्तर बालुवा, गिट्टी उत्खनन पनि भइरहेको छ । यसले गर्दा बलौटे माटो खुकुलो भएको छ । यसकारण सेती नदी किनारावासी बाढीको बढी जोखिममा छन् ।
हामीले दलितका सवालमा काम गर्ने एउटा संस्था र वन डिभिजन कार्यालयको साझेदारीमा जलवायुसम्बन्धी काम गर्यौँ । जङ्गल, घरबस्ती र खेतीयोग्य जमिन कहाँ छ भनेर स्थानीय नक्सा बनाउने र त्यो जग्गाको उपयोग गर्ने काम पनि भइरहेको छ । अहिले वृक्षरोपणको कामहरू पनि भइरहेका छन् । यसर्थ विकास त गर्छौं तर सँगसँगै विनाश पनि भइरहेको छ । विकासको रूपमा हेर्दा यातायात, बिजुलीबत्तीको सुविधा पुगेको छ तर सेती नदीबाट निरन्तर बालुवा, गिट्टी उत्खनन पनि भइरहेको छ । यसले गर्दा बलौटे माटो खुकुलो भएको छ । यसकारण सेती नदी किनारावासी बाढीको बढी जोखिममा छन् । जयपृथ्वी राजमार्ग जोड्ने शाखा बाटाहरू र पक्की पुल निर्माण भइरहेका छन् । त्यहाँ ठेकेदार, सम्बन्धित पालिका र वडाका मान्छेहरूले पनि गिट्टी र बालुवा सेती नदीबाटै उठाइरहेका हुन्छन् । यसले अझ बढी जमिन कटान हुन्छ । भिरालो जमिन कटान भएपछि बाढी आउन, पहिरो जान सहज हुन्छ ।
स्थानीय बाटाहरू तिनका शाखा बाटाहरू काट्दा पनि कुन पार्टीले काट्ने भन्ने हुन्छ । फलस्वरूप एउटै ठाउँमा दुई पार्टीका दुईतिरबाट बाटोघाटो बनेको अवस्था पनि छ । अर्को कुरा, जथाभावी सडक बाटो बनाउनका लागि जमिन काट्दा भिरालो ठाउँ बन्यो । लगातार पाँच–छ दिन पानी पर्दा भिरालो ठाउँ पूरै बगेर खोलाहरूमा मिसियो । आखिर ती खोलाहरू सेती नदीमै मिसिन्छन् । यसले गर्दा नदी बढ्दै जाँदा नदी किनारमा भएका घाटहरू पनि अचेल देखिँदैनन्, हराए ।
अधिकांश घरमा खानेपानी पुगेको छ तर दलित समुदायको अधिकांश घरमा पानी छैन । पाटादेवलका मानिसहरू कहिले खोलाको त कहिले ढुङ्गेधाराको पानी खान्छन् ।
‘जलस्रोत’ भन्ने संस्थाको एक घर एक धारा कार्यक्रमअनुसार अधिकांश घरमा खानेपानी पुगेको छ तर दलित समुदायको अधिकांश घरमा पानी छैन । पाटादेवलका मानिसहरू कहिले खोलाको त कहिले ढुङ्गेधाराको पानी खान्छन् । कहिले माथिको अस्थायी इलाका प्रहरी चौकी नजिकको पानी ल्याउँछन् । प्रहरीले धेरै टाढाको मुहानबाट चौकीसम्म पानी ल्याएको छ । तल बस्तीसम्म पानी नपुर्याइँदा चौकीकै पानी ल्याएर जोहो गर्ने गरिएको छ । नजिकका पानी आउने मुहानलाई बाढीले पुरेको छ । केही धारा र ढुङ्गेधाराको मुहान सुकिसक्यो । पानीको दुःख त मेरो माइतीघरमा पनि त्यस्तै थियो । सानो हुँदा धमिलो पानी गाग्रीमा हालिराख्ने र सङ्ग्लिएपछि खाने गर्थ्याैं । हामी मात्रै होइन, धेरैले गर्ने त्यही हो । त्यतिखेर मलाई पत्थरीको समस्या पनि भएको थियो । फोहोर पानीको कारणले हो कि भनेर डाक्टरले पनि शङ्का गरेका थिए ।
बझाङको ‘दलित उत्थान युवा समाज’ भन्ने संस्थाको परियोजनाबाट २०६५/६६ सालतिर पाटादेवल गाउँमा आठ वटा धारा ल्याएका थियौँ । म त्यति बेला संस्थाको कोषाध्यक्ष थिएँ । एउटा संस्थाको पहलमा ल्याएको धारा पनि राम्ररी रहन र पानी खान दिएनन् । गाउँकै अलि बदमासी गर्ने गैरदलित समुदायका केही व्यक्तिहरूले पानी आउने पाइप काटिदिने, कसैले आ–आफ्नो घर लगेर व्यक्तिगत धारा बनाएर दुःख दिए ।
हिजोआज अभिभावकले आफ्ना बालबालिकालाई हामी दलित नै हौँ, बिहेबारी गर्ने बेला सोचौँ भनेर हुर्काइँदैछ । दलित र गैरदलित समुदायका व्यक्तिले विवाह गरिहालेमा समाज र परिवारले नस्विकार्ने अवस्था उस्तै छ । भागी बिहे गरेकालाई श्रीमान्कै घरमा पस्न पनि दिइँदैन । त्यही भएर हुर्किंदो पुस्ताले पनि यसबारे सोच्छ । हामी दलित नै हौँ, गैरदलितहरूसँग बिहेबारी गर्नु हुँदैन रहेछ भनेर बच्चादेखि नै छाप पारिएको छ । सहरमा त छुवाछुत कम होला तर हाम्रोतिर छुवाछुत गर्ने अवस्था उस्तै छ । अहिलेसम्म पनि ‘नाउलो’ वा कुवाहरूमा र देवताको धारामा दलितले पानी थाप्न नपाइरहेको अवस्था छ । एकदमै गढेको छ छुवाछुत ।
ग्रामीण भेगका होटेलहरूमा नास्ता खाएको भाँडा दलितहरूले आफैँ धुनुपर्ने अवस्था छ । यो दलित हो भनेर चिनेकाहरूले भाँडा मझाउँछन् । २०६० सालमा एसएलसी दिन गएको बेला एक जना दलित साथीसँगै होटलमा नास्ता खान बसेको थिएँ । त्यस बेला त्यो दलित साथीलाई ‘किन होटेलमा खान बसेको ?’ भनेर रुखो शैलीमा भनेको सम्झना छ । नचिनेको ठाउँ अथवा सहरका होटेलमा नचिनेर छुवाछुत नगर्ने अर्कै कुरा भयो तर चिनेसम्म अझै गर्छन् । गाईको घ्यु हालेर फ्राइ गरेको खानेकुरा दलित समुदायलाई दियो भने देउता रिसाउँछन् र गाईभैँसी बिग्रिन्छन् भनेर पनि होटेलमा खान दिइएन ।
हाल मस्टा गाउँपालिकामा पर्ने साबिकको भातेखोला भन्ने ठाउँमा एउटा संस्थामा काम गर्दा कार्यालय प्रमुख तथा मलगायत सबै जना जनचेतना अभिमुखीकरणको कार्यक्रम लिएर गाउँ गएका थियौँ । यो २०६४ सालतिरको कुरा हो । कार्यक्रम हुने होटेलमा परिचयका क्रममा साथीहरूले वास्तविक परिचय दिनुभयो । त्यसपछि होटेल मालिकले ‘देउता रिसाउँछन्, गाईभैँसी बिग्रिन्छ’ भनेर होटेलको टिनको टहरामा मलाई भित्र बस्न दिएनन् । मज्जाले हिउँ परेको थियो । म रुँदै बाहिर बसेँ त्यति बेला । पछि हाम्रो टिमले दलित परिवारकै एउटा घरमा बसेर तालिम सकेर फर्किएका थियौँ । दलितकै हकमा काम गर्ने संस्था भएर पनि होला । म आबद्ध संस्थाका साथीहरूबाट विभेद भएको छैन तर समुदायबाट बाल्य अवस्थादेखि भोग्दै आएको छुवाछुत अहिलेसम्म पनि जारी छ । मनमनै प्रश्न उठ्छ, कहिलेसम्म रहन्छ यो छुवाछुत ?
यो समाजमा एउटा जनावरले प्रेमपूर्ण व्यवहार पाउँछ तर आफू जस्तै अर्को मान्छेलाई बराबरी गर्दैन मान्छेले ।
म अलि गोरो वर्णकी छु । मलाई देखेपछि तपाईं कुन जातको हो भन्ने गर्छन् मान्छेहरू । ‘हामी दलित हो’ भनेपछि कसैले ‘होइन होला’ भन्छन् । कसैले ‘हो र ?’ भन्छन् । ‘तपाईंले जात ढाँट्नुभयो’ भन्नेहरू पनि धेरै भेटेको छु । मानौँ कि गोरो वर्ण भनेको गैरदलितको वर्ण हो भने जस्तो ! जात नबताउँदासम्म सम्मान दिएर बोल्ने उनीहरू जात बताएपछि हेपेर बोल्छन् ।
यो समाजमा एउटा जनावरले प्रेमपूर्ण व्यवहार पाउँछ तर आफू जस्तै अर्को मान्छेलाई बराबरीको व्यवहार गर्दैन मान्छेले । हामीले त भोग्यौँ, भोग्यौँ । अहिलेको पुस्ताले समेत यस्तै व्यवहार भोगेर, हेपिएर बाँच्नुपरिरहेको छ, कस्तो विडम्बना !?
अर्को कुरा, दलितलाई गैरदलितबाट मात्रै होइन दलित समुदायभित्रका एक जाति र अर्को जातिका बिचमा छुवाछुत छ । दमाइले छोएको विश्वकर्माले खाँदैनन् । दलितभित्रका विविध जातजातिका बिचमा पनि ठुलो र सानो भन्ने व्यवहार कायम छ । त्यसैले जातीय छुवाछुत अन्त्यका लागि दलित समुदायका साथीहरू अधिकारकर्मी वा नेता जे भए पनि उनीहरूले आफ्नो हितमा मात्र काम गर्न छोडेर समग्र समुदायबारे सोचिदिएमा छुवाछुत हट्न समय लाग्ने थिएन कि !
प्रकाशन मिति : २०८१ भदाै ३१ गते, साेमवार