महिलावाद–संवाद शृङ्खला ६ ।
विश्वमा १८औँ शताब्दीमा प्रारम्भ भएको महिलावाद (फेमिनिज्म) को बहस नेपालमा भने २०औँ शताब्दीमा देखियो । यहाँ अझै पनि व्यक्तिगत तह, ससानो समूह र विश्वविद्यालयको पाठ्यक्रममा मात्रै यो सीमित छ । महिलावादले समाजमा सकारात्मक प्रभाव पार्न बाँकी रहेकाले ‘महिलावादी’ शब्दप्रति पनि नकारात्मक दृष्टिकोण हाबी रहेको पाइन्छ । खासमा महिलावाद भनेको के हो ? यो कसका लागि हो र? यसको आवश्यकता किन पर्यो ? यसको महत्त्व के छ ? महिलावादी को हुन् र को होइनन् ? नेपालमा महिलावादी आन्दोलन कुन रूपमा आरम्भ भयो र कहाँ आइपुग्यो आदि विषयमा स्पष्ट हुनका लागि हामीले ‘महिलावाद–संवाद शृङ्खला’ सुरु गरेका थियौँ । यसअघि महिलावाद र महिलावादी मुद्दासँग जोडिएर काम गर्दै आएका विभिन्न व्यक्तित्वसँगको कुराकानी प्रस्तुत गरिसकिएको छ ।
आजको शृङ्खलामा नेपालका मुस्लिम महिलाका अधिकारको क्षेत्रमा करिब दुई दशकदेखि क्रियाशील व्यक्तित्व सीमा खानलाई ल्याएका छौँ । उहाँ करिब दुई दशकदेखि अधिकारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । विशेष गरी मुस्लिम समुदायका महिलाको अधिकारको क्षेत्रमा कार्यरत उहाँ नेपाल मुस्लिम महिला कल्याण समाजकी संस्थापक तथा अध्यक्ष पनि हुनुहुन्छ । उहाँ अन्तरधार्मिक शान्ति महासंघको उपाध्यक्ष र बियोन्ड बेइजिङ कमिटीकी महासचिव हुनुहुन्छ । विभिन्न सञ्चारमाध्यममा लेखहरू लेख्दै आएकी सीमाले २०५० सालमा ‘बुहारीको मोटरसाइकल’ नामक पुस्तक पनि प्रकाशित गर्नुभयो । नेपालकी प्रथम मुस्लिम महिला लेखक मानिएकी सीमासँग ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतले २०७८ माघ र पछिल्लो पटक २०८१ भदौमा कुराकानी गर्नुभएको थियो । आजको शृङ्खलामा प्रस्तुत छ, महिलावाद, यसको अभ्यास, नेपालको महिलावादी आन्दोलन र सो आन्दोलनले उठाएका मुद्दामा केन्द्रित भएर गरिएको सोही कुराकानीको अंश :
महिलावाद भनेको के हो ? तपाईं महिलावादलाई कसरी बुझ्नुहुन्छ ?
महिलावादबारे सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा, पुरुषविरोधी हुनु, पुरुषको विपक्षमा हुनु हो भन्ने धेरैको बुझाइ छ तर त्यो होइन । महिलावाद भनेको महिलाको अस्तित्व, महिलाको विचार, महिलाले पाउनुपर्ने सम्मानजनक पहिचान हो । घरभित्र होस् वा बाहिर होस्, महिलाको पहिचान र सम्मानलाई कायम राख्ने र उसलाई सम्मानजनक तरिकाले चिन्नु र चिनाउनुलाई महिलावाद भनिन्छ । मेरो बुझाइमा महिलावाद भनेको यही हो । महिलालाई नेपाली समुदायसँग जोडेर हेर्यौँ भने त्यहाँभित्र विविधता देखिन्छ । महिला–महिलाका बिचमा पनि विविधता छ । जसरी हरेक महिला फरक छन्, त्यसरी नै उनीहरूको फरक भोगाइ छ । महिलाका चुनौती पनि फरक छन् । उनीहरूमाथि फरक किसिमको विभेद हुन्छ । त्यसविरुद्ध सचेत भएर बोल्नका लागि जुन किसिमको सैद्धान्तिक आधार पनि छ, त्यो नै मेरो विचारमा महिलावाद हो ।
महिलावादको आवश्यकता किन पर्यो ?
महिलावाद किन आवश्यक पर्यो भन्दा महिलामाथि हिंसा भयो, विभेद र अपमान भयो । महिलाको मानव अधिकार हनन भयो । महिलालाई दोस्रो दर्जाको रूपमा हेरेर अपमानजनक व्यवहार पनि गर्न थालियो । महिलामाथि हिंसा, विभेद, अपमानको अवस्था हुनुहुँदैन भनेर महिलाहरू सचेत भएर महिला पनि मानव हुन् भन्ने किसिमले बोल्नका लागि महिलावादको आवश्यकता पर्यो ।
नेपालमा महिलावादको अवधारणा, यसको औचित्य र आवश्यकताका बारेमा बहस, छलफलहरू कत्तिको भएका छन् जस्तो लाग्छ ?
नेपालमा यसबारेमा बृहद् छलफल भएको छ र भइराखेकै छ । नभएको भए संसद्मा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ भनेर सङ्कल्प गरिएको र लेखिएको हुने थिएन । अधिकार प्राप्तिको सङ्घर्ष नेपालमा लामो समयदेखि हाम्रा अग्रज महिलाहरूले गर्दै आउनुभयो । नेपालमा सहाना प्रधान, मङ्गलादेवी सिंहलगायतको पालामा कस्ता चुनौती थिए ? त्यसको सामना गर्दै जुन प्रकारले महिला आन्दोलन अगाडि बढ्दै गयो, त्यो सराहनीय र महत्त्वपूर्ण छ । त्यसले नेपाली महिलाहरूको पक्षमा आवाज बुलन्द गर्यो र महिला आन्दोलनको आवश्यकताको बोध गराउँदै अस्तित्वको लडाईंका बाटाहरू खोलिदियो । अहिले आएर संविधानमा उल्लेख भएबमोजिम समग्र सीमान्तकृतका मुद्दा पनि समेटिनुपर्छ भन्ने खालका बहसहरू भइरहेका छन् । प्रारम्भिक चरणमा ‘महिला’ शब्द लिएर गरिएका आन्दोलनहरू महत्त्वपूर्ण थिए । अब सबै खालका महिलाको समानताको सवाल उठेको छ । अहिले मूलधारबाट हामी किन पछाडि पर्यौँ र हामी किन छुट्यौँ भन्ने प्रश्नहरू आइरहेका हुन् । यसमा बहस र छलफलहरूको आवश्यकता छ । महिलावादका लागि महिलाहरूले नबोलेका होइनन् । नेपाली महिलाहरूले पार्टीगत र सामाजिक दुवै रूपमा बोलेका छन् । यस्ता बोलीले बहसको रूप लिनुपर्छ र बहसहरूले निरन्तरता लिन जरुरी छ । मेरो विचारमा अहिलेसम्म पनि महिलावाद र महिलावादी मुद्दामा बहसहरू गर्न पुगेको छैन, यो अलि बढी हुनुपर्छ ।
अहिले विभिन्न जातजाति, पछाडि पारिएका महिलाहरूले आ–आफ्नो सरोकारका विषयमा आवाजहरू उठाइरहेको सन्दर्भमा नेपालको महिला आन्दोलनलाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ?
अहिलेको नेपाल संवैधानिक गणतन्त्रात्मक नेपाल हो । समानता र समावेशिताको अडान लिएर अहिलेको राज्य संरचना बनेको हो । सबैका आवाज समेटिएर यो निर्माण भएको छ । हामीले कुनै पनि आन्दोलनलाई समानुपातिक समावेशीको दृष्टिकोणबाट हेर्नुपर्छ । पहिला समग्र महिलाले अधिकारका लागि सङ्घर्ष गरे । त्यहाँ सबै खालका महिलाले आफ्नो ठाउँबाट साथ दिए तर त्यतिले पुगेन । त्यसबाट महिलाभित्रका विविध महिलाका मुद्दालाई समावेश गरिएको देखिएन । महिलाको नेतृत्व हुँदै गर्दा त्यहाँ जनजाति महिला, मुस्लिम, मधेसी महिला, थारुलगायतका महिला देखिएनन् । दलितको पनि प्रतिनिधित्व तोकेबमोजिम त्यो समुदायभित्रका महिलाको प्रतिनिधित्व भएन । प्रारम्भिक चरणमा आन्दोलनमा मूलधारका महिलाहरूको सङ्घर्ष थियो र त्यसमा उठेका आवाजबाट उपलब्ध भएका ठाउँमा पहुँच पनि उनीहरूकै मात्र भयो । परिणामस्वरूप महिलाभित्रको विविधताको सवाल ओझेलमै रह्यो । विविधताको सवाल ‘नेपालको संविधान’ २०७२ मा लेखिएको छ । यही संविधानको आधारमा सीमान्तकृत महिलाका आवाजहरू उठिरहेका छन् । उनीहरूबाट आ–आफ्ना सरोकारका विषयमा आवाज उठ्नु अहिले एकदमै आवश्यक छ ।
हेर्ने हो भने २०६२/२०६३ कै आन्दोलनमा महिलाहरू पनि बराबरी लडेको देखिन्छ तर अवसर पाउने बेलामा महिलाहरू सोही मात्रामा समेटिन सकेनन् । त्यसमा पनि निश्चित जाति, क्षेत्र, समुदायकै पुरुष र सोही खालका महिलाको पहुँच अधिक देखियो । यद्यपि विगतदेखिको महिला आन्दोलन बल र राजनीतिक दलहरूको इमानदारीले संविधानमा पछाडि पारिएका तथा उत्पीडनमा परेका/पारिएकाहरूको अधिकार र प्रतिनिधित्वको कुरा संविधानमा लेखिएको छ । त्यसको कार्यान्वयनका लागि पार्टीहरूले आफ्नो समूहमा महिलाहरूको खोजी गर्न थाले । मुस्लिम महिला, मधेसी महिला वा सीमान्तकृत महिला पनि चाहिन्छ भनेर खोज्ने अभ्यास सुरु भयो । यसले राज्यका निकायहरूमा महिला सहभागिता देखाउनमा योगदान पुगेको छ । यसबाट महिलालाई घरबाहिर ल्याउनुपर्छ, सार्वजनिक क्षेत्रमा महिलाहरू पनि आउनुपर्छ भन्ने मान्यता स्थापित भयो । यो मान्यता राजनीतिसँग जोडिएको कारणले पुरुषहरूले पनि महिलाहरूलाई घरबाहिर निस्किन एक हिसाबले ‘अनुमति’ दिए । मेरो घर परिवारका महिला पनि सभासद भए हुन्थ्यो, जनप्रतिनिधि भए हुन्थ्यो भन्ने सोच मधेसी, मुस्लिम समुदायमा आउन थाल्यो । परिवारका पुरुषहरूले महिलालाई घरबाहिरको सार्वजनिक जिम्मेवारीमा जानका लागि साथ दिन थाले । दलित समुदायमा पुरुषले महिलालाई अगाडि बढाउन मद्दत गरे । २०७४ सालको स्थानीय चुनावमा हरेक वडामा एक जना दलित महिला वडा सदस्य हुनुपर्ने कानुनी प्रावधानले गर्दा धेरै दलित महिलाले घरबाहिर निस्किन पाए । त्यसमा दलित समुदाय र परिवारका पुरुषहरूले पनि साथ दिन बाध्य भए । यसलाई महिला आन्दोलनको उपलब्धि मान्नुपर्छ । यसैगरी महिलाभित्रका सीमान्तकृत महिलाको सवाल पहिचान गरेर महिला आन्दोलन अघि बढ्नुपर्छ ।
नेपालको महिला आन्दोलनभित्र मुस्लिम समुदायका महिला र उनीहरूको सवाल चाहिँ कहाँ छ जस्तो लाग्छ ?
महिला आन्दोलनमा मुस्लिम महिलाहरू पनि कुनै न कुनै हिसाबले सँगै थिए । त्यसलाई हामीले नकार्न सक्दैनौँ । नेपालको कुल जनसङ्ख्यामध्ये करिब ५.०९ प्रतिशत मुस्लिम छन् । त्यो जनसङ्ख्यामा आधा जति त महिला नै छन् । ती महिलाहरूले ठाउँठाउँबाट सङ्घर्ष गरेर सार्वजनिक जिम्मेवारीमा सहभागी हुन आएका छन् । योगदानमा केही कम वा बढी त हुन सक्ला तर उनीहरूको योगदान भुल्न मिल्दैन । पछाडि पारिएको सीमान्तकृत समुदायबाट महिलाहरू घरबाहिर निस्किनु नै अहिलेको सन्दर्भमा ठुलो कुरा हो ।
राजनीतिकरूपमा हेर्दा पहिलो र दोस्रो संविधानसभामा सभासद बन्न अगाडि आएका मुस्लिम महिलाहरूलाई घरपरिवारबाट समर्थन थियो । राजनीतिसँग जोडिएका र राजनीतिक परिवारका महिलाले त्यो बेला अवसर पाए । विभिन्न निकायमा महिला अनिवार्य हुनुपर्ने प्रावधानका कारण पुरुषले नै महिलालाई अगाडि बढ्न प्रेरित गर्दै पनि गए । श्रीमान् पछाडि बसेर भए पनि श्रीमतीलाई अगाडि बढ्न लगाए । यो हाम्रो समुदायको अधिकार हो, त्यसमा मुस्लिम महिलाको पहुँच हुनुपर्दछ भन्ने कुरा कम्तीमा पनि बुझेका थिए । यस्तै, मुस्लिम महिलाहरू पार्टीमा लाग्दा, जनप्रतिनिधि हुँदा श्रीमान्हरूले साथ दिएका छन् । घरमा झगडा गरेर महिलालाई सहभागी हुन नपठाउनुभन्दा साथ दिनु उचित हो भन्ने सोच आयो । पुरुषहरूको सोचमा यस प्रकारको परिवर्तन आउनु पनि उपलब्धि हो भन्छु म । किनभने, घरपरिवारबाट साथ नहुँदा पदमा पुगेर पनि महिलाहरूले थुप्रै चुनौती र सङ्घर्षहरू गरिरहेका छन् । यस्तो हामीले देख्न सक्छौँ । अर्को कुरा, राजनीतिमा लाग्नेभन्दा सामाजिक आन्दोलनमा लाग्ने महिलालाई चुनौती धेरै छ । राजनीतिक नेतृत्वमा पुगेकालाई घरपरिवारबाट साथ सहयोग भइरहँदा सामाजिक आन्दोलनमा लागेकालाई त्यो सहयोग छैन । त्यसैले राजनीतिक महिला र सामाजिक आन्दोलनमा लागेका महिलाका बिचमा भिन्नता छ । महिलाकै लागि पनि यो फरक सङ्घर्ष हो । मधेसी समुदायमा सामाजिक आन्दोलनमा लागेका महिला नेताहरू कम छन् । मुस्लिम समुदायबाट पनि सामाजिक अभियन्ता भएर महिलाहरू घरबाहिर निस्किन अझै बाँकी छ ।
तपाईं त सामाजिक आन्दोलनमै झन्डै २० वर्षदेखि लागिरहनुभएको छ, सुरुवाती दिनका अनुभवहरू पनि भनिदिनुहुन्छ कि ?
गाह्रो थियो त्यो बेला । घरबाट बाहिर सडकमा जानु अनि सडक हुँदै मञ्चमा बसेर महिलाले बोल्नु । यो काम गाह्रो थियो । मलाई लाग्छ, त्यो बेला मुस्लिम महिलाहरू जम्मा भएर सडकमा र्याली निकाल्नु र मञ्चमा पुगेर बोल्नु ठुलो कुरा हो । त्यसरी र्यालीमा सहभागी हुने सबैभन्दा पहिलो संस्था हाम्रो हो । २०६८ सालमा महिला आयोगले मार्च ८ को अवसरमा र्याली निकालेको थियो । त्यही र्यालीमा हामी चार जना गएका थियौँ । सङ्ख्या थोरै भए पनि हामी सडक र्यालीमा हिँड्नु हाम्रो समुदायको आँखाबाट हेर्ने हो भने त्यो ठुलो परिवर्तन थियो । त्यहाँ हामी मुस्लिम महिलाको संस्थाको तर्फबाट छुट्टै ब्यानर बोकेर हिँडेका थियौँ । हाम्रो लागि फरक खालको अनुभूति थियो त्यो । त्यसले आफूमा राष्ट्रियताको फरक खालको बोध गराएको थियो । हरेक महिलाका अधिकार उसका सम्बन्धित समुदायका आधारभूत मूल्य र मान्यताअनुसार सुनिश्चित हुनुपर्छ भन्ने हाम्रो सामूहिक आवाज थियो । तर, घर पुगेपछि के होला भन्ने डर मनभित्र अलगै थियो । हाम्रो समुदाय र समाजमा आन्दोलनको गहिरो प्रभाव देखिन बाँकी नै थियो । त्यो बेला खासगरी धार्मिक अगुवाहरूले समर्थन गरे । त्यसै कारण धेरैले समर्थन गरे तर कतिपयले विरोध पनि गरे । त्यो बेला मेरो त कोही आफन्त पनि थिएन । तिनीहरूले मेरो सङ्गत नगर्न भनी घरका महिलालाई चेतावनी पनि दिए । मेरो मतलब त्यो बेला त्यसरी सडक आन्दोलनमा सहभागी हुन हाम्रो लागि सजिलो थिएन ।
तपाईंलाई सामाजिक अभियानमा लाग्दा घरपरिवारले सहयोगी व्यवहार गर्यो कि असहयोग र विरोध नै गर्यो ? व्यक्तिगत अनुभव थप केही बताउन चाहनुहुन्छ ?
मेरो व्यक्तिगत जीवनमा धेरै सङ्घर्ष छ । शिक्षा हासिल गर्दादेखि नै मैले सङ्घर्ष गर्नुपरेको थियो । म सानो हुँदा नै मेरो आमा र बुबाको ‘डिभोर्स’ भएको थियो । उहाँहरूको सम्बन्धविच्छेदले गर्दा मेरो पढाइमा ठुलो असर पुग्यो । सानो हुँदा मैले इन्डियामा पढेँ । नौ कक्षामा पुग्दा बुबाले मलाई नेपालमै पढ्ने भनेर काठमाडौँ ल्याउनुभयो तर यहाँ ल्याएर पढाउनु भएन । उहाँले दाइहरूलाई स्कुल पठाउँदा मलाई भने स्कुल पठाउनु भएन । यो सन् १९९० तिरको कुरा हो । त्यसैले मेरो जीवनको महत्त्वपूर्ण एक दशक शिक्षाका लागि घरभित्रको सङ्घर्षमै बित्यो ।
बुबाको विचारमा छोरीले बिहे गरेर जानुपर्छ भने किन पढ्नु भन्ने थियो । उहाँले बरु हाम्रो संस्कार दिएर धेरै दाइजो दिएर मलाई बिहे गरी पठाउनुपर्छ भन्ने सोच राख्नुहुन्थ्यो । मैले पढ्न जान्छु भन्दा कहिले फेरि इन्डियामा नै गएर पढाउने भन्नुहुन्थ्यो, कहिले अलि पछि नेपालमै पढ्ने भनेर झुलाइरहनुभयो । अहिले सम्झिँदा लाग्छ, मप्रति उहाँको माया त थियो तर अलि फरक खालको । एक्ली छोरीलाई दाइजो दिनुपर्छ भनेर सानैदेखि सरसामानहरू जोड्नुहुन्थ्यो । सुनका गरगहनादेखि कुनै नयाँ कुरा बजारमा देख्नुभयो भने मलाई दाइजोको लागि भनेर किनिहाल्नुहुन्थ्यो । तर, मलाई त्यस्तोमा इच्छा थिएन । मलाई पढ्नु थियो तर पढ्ने अवसर पाइनँ ।
बुबाको २०४८ सालमा निधन भयो । बुबाको निधन भएको करिब एक वर्षपछि मेरो विवाह भयो । विवाहपछि पनि मलाई पढ्न पाए हुन्थ्यो भन्ने नै थियो । मैले पढ्न पाएँ र एसएलसी पास गरेँ । एसएलसी पास गरेपछि पद्मकन्या क्याम्पस बागबजारमा ‘आइए’ (प्रमाणपत्र तह) र ‘बिए’ (स्नातक तह) पढेँ । त्यो बेला जुन चुनौतीका साथ मैले पढेँ, त्यसलाई म मेरो जीवनको ठुलो उपलब्धि मान्छु । छोरी हुँदा पढ्न नपाएको मैले बुहारी भएर पढ्नु कम चुनौतीपूर्ण थिएन । ‘बुहारी भएर पढेको’ भनेर आफन्त र समाजले अनावश्यक ठान्थ्यो ।
बिहे गरेको अर्को वर्षमा बच्चा जन्मियो । परीक्षाको बेला म बच्चा छोडेर परीक्षा दिन जान्थेँ । बच्चा छोडेर हिँडेको भनेर ससुराले गाली मलाई गर्नुहुन्थ्यो तर पनि मेरा बच्चाहरूलाई उहाँले माया गरेरै हेरिदिनुहुन्थ्यो । त्यो मेरो लागि उहाँको ठुलो सहयोग हो । स्नातक तह सकेपछि केही न केही जागिर गर्ने कुरा श्रीमान्लाई भनेँ । उहाँले ‘तिम्रो नेचरले पनि काम गर्न दिँदैन, धेरै धैर्यता र समयनिष्ठा चाहिन्छ’ भन्नुभयो । अर्को कुरा, ‘हाम्रो घरको मान्यताले पनि दिँदैन, बरु आफ्नै केही काम गर’ भन्नुभयो । उहाँको कुरापछि मैले पनि आफैँ केही गर्नु ठिकै हो भन्ने सोचेँ र मुस्लिम महिलाको क्षेत्रमा काम गर्ने गरी संस्था खोल्ने विचार गरेँ । २०६३ सालमा संस्था दर्ता पनि गरेँ ।
संस्थामार्फत र व्यक्तिगत रूपमा पनि विकासका लागि साझेदार विभिन्न संस्था तथा मिडियाहरूसँग जोडिन पुगेँ । मिडियाहरूले मुस्लिम महिलाका विषयबारे चासो राख्थे । त्यही भएर पत्रिकाहरूमा लेखहरू पठाउन थालेँ । प्रकाशित पनि भए । लेख प्रकाशित भएपछि त कसकसको फोन आउने रहेछ । मैले लेखेँ तर लेख छापिएको पत्रिका घरमा ल्याउँदा ससुराबुबाले च्यातिदिने, फाल्दिने गर्नुहुन्थ्यो । लेखसँगै मेरो फोटो पनि पत्रिकामा आउँथ्यो । बुहारीको फोटो पत्रिकामा छापिनु उहाँको लागि राम्रो कुरा थिएन । महिलाका लागि उहाँ निक्कै कट्टर हुनुहुन्थ्यो । मुस्लिम समुदायकै पहिलो लेखक भन्दै रेडियोहरूमा अन्तर्वार्ताका लागि पत्रकारहरूले मलाई फोन गर्नुहुन्थ्यो । ससुराबुबाकै नेतृत्वमा घर चलेको थियो । एकपटक तालिममा जाँदाको घटना हो, जुन मैले कहिल्यै पनि बिर्सन सक्दिनँ । राति पनि बस्नुपर्ने ‘रेसिडेन्सिएल’ तालिम थियो । म जान चाहन्थेँ तर उहाँ मलाई पठाउने पक्षमा हुनुहुन्न थियो । तर पनि त्यहाँ काम सिक्न पनि म जानैपर्छ भनेर गएँ ।
आफ्नो कामको महत्त्वबारे ससुराबुबालाई बुझाउने प्रयास पनि गर्नुहुन्थ्यो कि ?
ससुरासँग बोल्न हुँदैन भन्ने हाम्रो संस्कार थियो । यसैले बोलेको थिइनँ तर तालिमबाट फर्केपछि मलाई धेरै नै पीडा हुने गरी गाली गरेपछि म उहाँसँग बोलेँ । पहिलो पटक ससुरासँग सवाल–जवाफ गरेँ । त्यसपछि दुई वर्षसम्म उहाँसँग बाल्दै बोलिनँ ।
अनि ?
घरमा मलाई यस प्रकारको गाह्रो भए पनि समुदायबाट सहयोग पाउँथेँ, मेरो प्रशंसा हुन्थ्यो सबैबाट । मैले विभिन्न धार्मिक गुरुहरूको पनि साथ पाएँ । काम गर्दै, बुझ्दै, अध्ययन गर्दै जाँदा हाम्रो धर्ममा महिलालाई पछाडि राख्नुपर्छ, शिक्षा दिनु हुँदैन भनेको पाइनँ । महिलालाई आत्मनिर्णय गर्ने तथा नेतृत्व लिने कुरामा कुनै रोकटोक नै थिएन । समुदायको सहयोगले गर्दा थुप्रै चुनौतीका बाबजुद पनि काम गर्न चाहिँ मलाई सहज बनायो । काम गर्दै आइरहेको छु तर पनि हुनुपर्ने जति परिवर्तन हाम्रो समुदायका महिलाका लागि भइसकेको छैन ।
घरभित्रैको अप्ठ्यारो अवस्थाबाट सामाजिक परिवर्तनका लागि काम गर्नुपर्छ भन्ने सोच र साहस कसरी आयो ?
म आफ्नै जीवनलाई हेर्थें । पढ्न खोज्दा स्कुल जान नपाएको र राम्रो कामका लागि पनि छोरीमान्छेले घरबाहिर जान नपाउने अवस्था थियो । काठमाडौँमा त यस्तो छ भने गाउँगाउँका महिलाहरूलाई कस्तो रोकटोक होला ? हाम्रो समुदायका दिदीबहिनीहरू सबै जनाले कहिले स्कुल पढ्न जान पाउने ? कहिले आत्मनिर्भर हुने ? कहिले राजनीतिलगायत विभिन्न ठाउँको जिम्मेवारीमा सहभागी हुन पुग्ने ? मैले यस्तै सोच्थेँ । तर सोचेर मात्र त हुँदैन यसैले जति सक्छु मैले मेरो ठाउँबाट गर्नुपर्छ भन्ने लाग्यो र संस्थाको काम गर्न थालेँ । बोलेर, लेखेर आफ्नो समुदायका महिलाहरूको अवस्था र अधिकारको आवाज उठाएँ । जुन अहिलेसम्म निरन्तर छ ।
आफूले सङ्घर्ष झेल्दाझेल्दै पनि तपाईंले उठाउनुभएको अधिकारको आवाजबाट लक्षित समुदायका महिलामा के कस्तो परिवर्तन भए जस्तो लाग्छ ?
मेरो व्यक्तिगत कुरा गर्ने हो भने मलाई राजनीतिक पार्टीका नेताहरूले राजनीतिमा आउन निकै अवसर दिनुभएको थियो । तर संस्थालाई कसले हेर्छ भनेर पनि म राजनीतितिर लागिनँ । मेरो विचारमा राजनीतिक अवसर त आज आउँछ, भोलि जान्छ । संस्था भनेको रहिरहन्छ र रहिरहनुपर्छ । यसै भनेर म कतै गएको छुइनँ । हाम्रो संस्था भनेको सामाजिक रूपान्तरणमा आधारित संस्था हो । कतिले यस संस्थालाई ‘कमर्सियल’ रूपमा चलाएर काम गरौँ पनि भने तर हामीले त्यस्ता व्यक्तिहरूको हातमा संस्था दिन चाहेनौँ । हामीले मुस्लिम महिलाहरूको सामाजिक रूपान्तरण र अधिकारका लागि नै काम गर्छौं भनेर सुरु गरेको संस्था हो । अहिलेसम्म पनि त्यही गरिरहेका छौँ । एउटा दीर्घकालीन र जायज उद्देश्य लिएर अगाडि बढिरहेका छौँ । पछिसम्म पनि गाउँगाउँमा मुस्लिम समुदायका छोरीहरूलाई घरबाहिर कुनै कार्यक्रमतिर पठाउँदैनथे तर सीमा खानको कार्यक्रममा जान लागेको भनेपछि घरपरिवारले केही नभनी पठाउँथे । अलि पहिलासम्म सप्तरी र पर्सा जिल्लामा तालिमहरूमा श्रीमान्ले श्रीमतीलाई ल्याएर छोड्दिनुहुन्थ्यो । के कार्यक्रम रहेछ भनेर एकछिन बसेर हेरेर पनि जानुहुन्थ्यो र पछि फेरि कार्यक्रम सकिने बेला आएर लैजानुहुन्थ्यो । अहिले त महिलाहरूलाई पहिलेभन्दा सामाजिक काम गर्न, घरबाहिर निस्किन धेरै सजिलो भइरहेको छ ।
मुस्लिम समुदायमा घरभित्र महिलाको जिम्मेवारी के हुन्छ र समग्रमा महिलाको स्थान कस्तो छ ? यसमा तपाईंलाई लागेको कुरा पनि बताइदिनुहुन्छ कि ?
समग्रमा दक्षिण एसियाली देशहरूमा महिलाहरू अझै पनि घरबाट बाहिर निस्कनु हुँदैन, घरभित्रै बस्नुपर्छ र घरभित्रका सबैजसो काम महिलाले नै सम्हाल्नुपर्छ भन्ने गलत मान्यता नै कायम छ । हाम्रोमा पनि घरको काम महिलाले नै गर्नुपर्छ । खाना महिलाले नै बनाउनुुपर्छ र परिवारका सदस्यहरूलाई खुवाउनुुपर्छ भन्ने चलन छ । दिनभरि खेतमा बराबरी काम गरेर आएका श्रीमान्श्रीमती घर पुगेपछि श्रीमान्ले काम गर्दैनन् । प्रायः खाना पकाउने, खुवाउनेदेखि घरका सबै काम श्रीमतीले नै गर्नुपर्छ । पुरुषले अझै घरभित्रको काम गर्नुहुँदैन भन्ने सङ्कुचित सोचाइ धेरै छ । महिलाले बाहिर जागिर गर्यो भने पनि आफ्नै रहरले गरेको भन्ने सोचाइ छ । घरको काम पनि उनैले गर्नुपर्छ । अझै पनि ‘घरको काम महिलाको’ भन्ने सोचबाट प्रायः घरहरू मुक्त भएका छैनन् । मुुस्लिम महिलाहरू धर्म र संस्कारको नाममा आफ्नै समुदायबाट ठगिएका छन् । घरभित्र बस्नु, घरपरिवारको सेवा गर्नु, परिवारका ठुलाले भनेको मान्नुपर्छ भन्ने कुरा मात्र महिलालाई सिकाउँदै ल्याइएको छ । यस्तो अवस्थामा घरबाहिर जागिर गर्ने महिलाको स्थान पनि समानतामा आधारित देखिँदैन । जब कि पुरुषले गर्दै आएको काम महिलाले गरिरहेका छौँ भने त पुरुषले पनि महिलाको भनिएको काम गर्नुपर्यो भन्ने हाम्रो कुरा हो । मेरो विचारमा महिलाका अधिकारको हनन तिनको आफ्नै परिवारबाटै भइरहेको छ । जब कि हाम्रो धर्ममा महिला अधिकार हनन गर्नुपर्छ, महिलालाई घरभित्रै सीमित राखी तिनमाथि दमन, अत्याचार गर्नुपर्छ भनिएको छैन । बिहे गर्दा मुस्लिम समुुदायमा दाइजो लिनुु हुँदैन भन्ने छ, तर पनि व्यवहारमा लिनेदिने गरिन्छ । यस्ता समस्या र विकृतिलाई सानो भनेर सोच्ने र महिलाले आफ्नो इच्छाअनुसार गर्नु हुँदैन भन्ने अवस्था अझै छ । महिलाको शिक्षाको अधिकार हनन भइरहेको छ । स्कुल पढ्न जान त नपाएपछि उनीहरू स्वेच्छाले घरबाहिर निस्कन पाउने कुरै भएन । छोरीमान्छेले आत्मनिर्भर हुने गरी आफूलाई तयार गर्नै पाएका छैनन् । आफूभित्र रहेको क्षमताको पहिचान गरेर प्रयोग गर्ने अवसर पाएका छैनन् । खासमा हाम्रो धर्मसंस्कृतिले छोरीले पढ्न हुन्न, घरबाहिर निस्किनु हुँदैन भनेको छैन । तर, गलत बुझाइ भएर महिलाहरू घरबाहिर निस्किन पाएनन् । महिलामाथि अब यस्तो अवस्था हुनु हुँदैन भनेर हामी काम गरिरहेका छौँ ।
मुस्लिम समुदायमा प्रचलित मदरसा शिक्षा र मूलप्रवाहीकरणको शिक्षाका सन्दर्भमा छोरीमान्छेको पहुँच र त्यसले तिनको भविष्यमा पार्नसक्ने असरका बारेमा के भन्नुहुन्छ ?
मदरसा शिक्षा लिनु राम्रो हो तर मदरसा शिक्षाको गुणस्तर अहिले पनि राम्रो छैन । मेरो विचार त बालबालिकालाई मदरसामा पनि पढाउँ, उर्दू भाषा पढाउँ, यो सँगसँगै नेपाली, अङ्गे्रजी, गणित, विज्ञान जस्ता विषय त झन् पढ्नैपर्छ भन्ने हो । त्यही भएर हामीले शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रसँग छलफल गरी मदरसा शिक्षालाई पनि मूलप्रवाहीकरणमा लिएर जाने भनेर पाठ्यक्रम बनायौँ तर पनि त्यसअनुसारका पाठ्यपुस्तकहरू सरकारले छापेर दिएको छैन । यो काममा मुस्लिम आयोगले सरकारसँग समन्वय गरेर पहल लिनुपर्ने हो तर अहिले पनि पुरानै ‘सिलेबस’ अध्ययन/अध्यापन भइरहेको पाइन्छ । शिक्षामा धेरै काम गर्न बाँकी छ । पाठ्यक्रम एउटा कुरा भयो, मदरसाका लागि पर्याप्त शिक्षक दरबन्दीको अभाव छ । मदरसाको पढाइ शुल्क पनि थोरै छ । त्यसमा कापी, कलम, किताब पनि दिन्छ । मुस्लिम समुदायको एउटा ठुलो समूह मदरसालाई प्राथमिकता दिन्छ । यसले गर्दा पनि मानिसहरू मदरसामा जाने गर्दछन् । मदरसा जानु बेठिक त होइन तर मदरसा मात्रै पढ्ने मुस्लिम समुदायका बालबालिका विशेष गरी छात्राहरूको लागि भोलिका दिनमा गएर असर पर्नसक्ने देख्छु म । मदरसाको शिक्षाको अहिलेकै ‘क्वालिटी’ ले भविष्यमा अन्यत्र उच्च शिक्षाका लागि चाहिने आधार कमजोर हुन्छ । छोराहरूलाई दुइतीन कक्षासम्म मदरसा पढाएर बाहिरको सरकारी अथवा निजी विद्यालयमा पठाउँछन् । छोरीलाई भने पैसा नलाग्ने ठाउँमा पढाउने चलन हटिसकेको छैन । छोराहरूका लागि जग्गा जमिन बेचेर भए पनि डाक्टर, इन्जिनियर वा उसले चाहेको विषय पढाइन्छ तर छोरीबेटीको हकमा त्यो लागु हुँदैन । दाइजो दिनु छ, किन पढाउने ? पढाइमा पनि किन खर्च गर्ने भन्ने सोचले छोरीहरूलाई अगाडि बढ्न गाह्रो हुन्छ । छोराले कमाएर खुवाउँछ र छोरी अरूको घरमा पठाउनुपर्ने भएकाले ‘पराईको नासो’ भन्ने सोचले अझै जकडिराखेकै छ । त्यसैले मदरसा शिक्षालाई मूलप्रवाहीकरण गरेर शैक्षिक स्तर उकास्न र उच्च शिक्षाको प्राप्तिका लागि सहज, सुलभ, कम खर्चिलो बनाउन विशेष पहलको आवश्यकता छ ।
मदरसाका शिक्षकहरूले मदरसामै पढिरहेका छात्रा तथा छोरीमान्छेलाई धेरै पढ्नुपर्छ, अगाडि बढ्नुपर्छ भनेर हौसला दिन्छन् कि के गर्छन् होला ? यसबारे तपाईंको जानकारीमा भएको कुरा बताउन सक्नुहुन्छ कि ?
मदरसा भनेको धार्मिक शिक्षा प्राप्त गर्ने शैक्षिक स्थल हो । नेपालमा गुरुकुल, गुम्बा र मदरसाको पढाइ सरकारको नीतिअन्तर्गत नै पर्दछन् । धार्मिक शिक्षा मुस्लिमका लागि अनिवार्य भएको हुनाले नेपालमा विभिन्न ठाउँहरूमा मदरसा सञ्चालित छन् । समुदाय स्वयंले यसको व्यवस्था गरेको छ । मदरसामा बालिकाहरूलाई पढाउने व्यवस्था प्रायः हुन्छ । तपाईंले भनेको जस्तो हौसला दिने काम नहुने होइन तर छोरीहरूको शिक्षाको निरन्तरतालाई त्यति महत्त्व दिइँदैन । सुनसरी, कपिलवस्तु जिल्लामा ठुलाठुला मदरसा स्कुल छन्, त्यहाँको पढाइ राम्रो छ । त्यहाँ केटीहरूले बुर्का लगाएरै स्नातक तहसम्म पढिरहेका छन् । मेरो जानकारीमा आएअनुसार, त्यहाँको पढाइ पनि राम्रो छ । मदरसा शिक्षालाई त्यसरी गुणस्तरीय बनाएर अघि बढाउनुपर्छ । त्यहाँ धर्म र संस्कृतिको कुरा मात्र पढाएर समय सान्दर्भिक हुँदैन । त्यहाँ पढ्ने बालबालिकाको भविष्यका बारेमा पनि ख्याल गरेर पढाउन सक्नुपर्छ भन्ने हाम्रो कुरा हो ।
खासमा त पढेपछि त हामीलाई धर्मको नाममा बाँधिएर राखेको छ कि हामी स्वतन्त्र छौँ भनेर आफ्नो मानवअधिकारको कुरा आफैँ बुझ्नसक्ने हुनुपर्छ ! इस्लाम धर्ममा महिलाको मानव अधिकारका कुरा धेरै छन् । यसले छोराछोरीलाई समानता दिन्छ, बराबरी सम्पत्ति दिनुपर्छ भनेको छ । बिहे गरेको भए पनि नगरेको भए पनि छोरीलाई सम्पत्ति दिन्छन् । तर अहिलेसम्म पनि छोरीलाई पढाएर जागिर खाएर आफ्नो खुट्टामा उभिने भएपछि मात्र उसको बिहे होस् भन्ने चाहना खासै राखिँदैन । यो कुरा इस्लाम धर्म विपरीत हो । बरु छोरी जन्मेदेखि नै उनको बिहेका लागि भनेर सामानहरू जोडेर राख्ने चलन भने थियो । एकै पटक सामान किन्दा गाह्रो हुन्छ भनेर पनि समय समयमा किन्दै र जम्मा पार्दै राख्ने गरिन्छ । यो चलन खासगरी मधेसी र मुस्लिम समुदायमा अझै छ ।
मुस्लिम आयोगले मुस्लिम महिलाको सवाललाई कत्तिको प्राथमिकतामा राखेको छ जस्तो लाग्छ ?
यो संवैधानिक आयोगले प्रत्यक्ष रूपमा गरेका कामको वर्णन गर्ने हो भने विभिन्न शीर्षकमा तालिमहरू सञ्चालन गरेको जानकारी सामाजिक सञ्जालतिर देखिन्छ । तालिम सिलाइ र लोकसेवाको परीक्षाका लागि दिने गरेको छ । आयोगमा अहिले महिला सदस्य नै छैनन् । त्यसैले मुस्लिम महिलाको सवालमा आयोगले गरेको काम यही हो भनेर भन्नसक्ने अवस्थामा म छैन । आयोगहरूको स्थापना हाम्रै आन्दोलनको एक उपलब्धि हो तर सबै आयोगहरूको अवस्था उस्तै छ । त्यसैले मुस्लिम मात्रै होइन, सबै आयोगहरूलाई सरकारले स्रोतसम्पन्न बनाएर समुदाय र महिलाको अधिकारका दायरा बढाउनुपर्छ । सबै आयोगहरूको प्रभावकारिताका लागि सबैभन्दा पहिले त सरकारको ध्यानाकर्षण गर्नु जरुरी छ भन्ने लाग्छ ।
तपाईंको दृष्टिमा नेपालको महिला आन्दोलनले मुस्लिम समुदायका महिलाको सवालमा कत्तिको काम गरेको छ ? अब के गर्नुपर्ने अवस्था छ ?
नेपालको महिला आन्दोलनले मुस्लिम समुदायका महिलाको आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । यो एक प्रकारको सामूहिक आन्दोलन थियो । त्यसै आन्दोलनले हरेक समुदायका महिलालाई उनीहरूको स्वअस्तित्वको अनुभूति गराएर अधिकारमुखी बनाएको हो । तर, अहिलेसम्म आइपुग्दा ‘मूलप्रवाह’ का महिला तथा सीमान्तकृत समुदायका महिलाहरूका बिचमा ठुलो खाडल छ । यो खाडललाई बुझ्न र त्यसलाई पुर्नका लागि सङ्गठित भएर आफैँले बोल्नुपर्छ भनेर सिकाएको छ । विभेदका विरुद्ध आवाज उठाउन र आफ्नो अधिकारबारे आफैँ बोल्नुपर्छ भन्ने कुराको अनुभूति गर्न पनि सघाएको छ ।
अचेल समावेशिताको सवालमा सबैले काम गर्ने भन्छन् । कार्यक्रमहरूमा मुस्लिम महिलाको सहभागिता आवश्यक छ भनेर बोलाइन्छ । तर, हाम्रो मुद्दाबारे न हामीलाई बोल्न दिइन्छ, न उनीहरूलाई थाहा हुन्छ । बरु हाम्रा मूल मुद्दा छोडेर पहिरन र बुर्काप्रति बढी चिन्तन गरेको पाइन्छ । त्यसैको फोटो खिचिन्छ/खिचाइन्छ । त्यसो गरी ‘डकुमेन्ट’ मा राम्रो देखाइन्छ होला । हामी सम्बन्धित समुदाय चाहिँ धेरै काम गर्ने तर ‘डकुमेन्टेसन’ को पाटोमा कमजोर हुने रहेछौँ । अरूले चाहिँ कामभन्दा बढी ‘डकुमेन्ट’ मा देखाएर धेरै अवसर लिइरहेका छन् । यही कारणले आफ्ना लागि आफैँ बोल्नुपर्छ भन्ने सबै समावेशी समूह तथा समुदायका महिलालाई महसुस भइसकेको छ । ‘मूलधार’ का महिलाहरूको सोचाइ र मुद्दा एक खालको छ, हाम्रो अर्को खालको छ । त्यसैले ‘मूलधार’ को आन्दोलन र सरकारसँग हामी सीमान्तकृत समुदाय र यस्ता समुदायका महिलाको सङ्घर्ष अझै बाँकी छ ।
महिला आन्दोलनमा छुटाउनै नहुने मुस्लिम महिलाका मुद्दा के के हुन् ? ती मुद्दालाई कसरी उठाउनुपर्ने ठान्नुहुन्छ ?
समानता र समावेशी मुद्दा अबको प्राथमिकतामा राख्नुपर्छ । हरेक क्षेत्रमा समान पहुँच, शिक्षादेखि राजनीतिक संरचनाहरूलाई जनसङ्ख्याको आधारमा समान प्रतिनिधित्व हुनुपर्छ भन्ने महत्त्वपूर्ण सवाल हो । किसान महिलाका समस्या, विपन्न महिलाको समस्या के छ भनेर पहिले पहिचान गर्नुपर्छ अनि त्यसअनुसार अघि बढ्नुपर्छ । अर्को भनेको, नयाँ युवापुस्तालाई देशमै केही गर्नुपर्छ भनेर सिकाउनु जरुरी भइसकेको छ । प्लस टु सक्ने भनेकै विदेश जान हो भन्ने आमबुझाइ भइसक्यो । यो बुझाइबाट उनीहरूलाई बाहिर ल्याउन राज्यले गम्भीर कदम चाल्न आवश्यक देख्छु । त्यसका लागि विभिन्न खालका आन्दोलनहरूको पनि जरुरी हुनसक्छ । त्यस्तै अर्को भनेको, विगतमा हाम्रा अग्रज महिलाहरूले गरेको आन्दोलनको इतिहास अहिलेका पुस्ताले थाहा पाउनुपर्छ । ‘महिलाले पनि पढ्न पाउनुपर्छ’ भन्ने आन्दोलनको इतिहास पाठ्यपुस्तकमा राखेर अहिलेका पुस्तालाई पढाउनुपर्छ । अहिलेको समाज कसरी यहाँसम्म आइपुगेको हो भन्ने अहिलेका युवापुस्ताले जान्न जरुरी छ । अधिकारको लडाईंको महत्त्व बुझाउँदै अझै ‘मूलधार’ मा आउन नसकेका र पछाडि नै पर्न बाध्य समुदाय तथा त्यो समुदायका महिलाको पक्षमा महिला वा सम्बन्धित समूह मात्रै होइन आमयुवा जमात लाग्नसक्ने वातावरण पनि बनाउनुपर्छ ।
हामी ‘सन्धान’ को ‘महिलावाद–संवाद शृङ्खला’ को लागि कुराकानी गर्दैछौँ । यसमा महिलावादको अभ्यास कहाँ र कसरी गर्नुपर्छ भन्ने सन्दर्भलाई कसरी जोड्न चाहनुहुन्छ ?
महिलावादको अभ्यासको सन्दर्भलाई सबैभन्दा पहिले त म परिवार संरचनामा लगेर जोड्न चाहन्छु । हरेक महिलाको छुट्टाछुट्टै नातामा सोहीअनुसारको भूमिका हुन्छ । एउटै महिलाले छोरी, बुहारी, श्रीमती, आमा, सासू आदिको रूपमा परिवारमा विभिन्न खालका भूमिका निर्वाह गर्नुपर्छ । त्यसमाथि पनि हरेक परिवारमा महिलाको महत्त्वपूर्ण भूमिका छ । नातागोताको दृष्टिकोणबाट हेर्दा, जिम्मेवारीको पक्षबाट हेर्दा परिवारमा महिलाको अत्यन्त महत्त्वपूर्ण भूमिकासँगै महत्त्वपूर्ण स्थान पनि छ । तर, जब ती महिला परिवारबाट घरभित्रै अन्यायमा पर्छिन्, त्यहीँनिर ‘महिलावाद’ शब्दलाई चिनाउनुपर्ने र बुझाउनुपर्ने हुन्छ । महिलाको स्थान हरेक घर र परिवारमा कति महत्त्वपूर्ण छ, एकचोटि राम्ररी सोचौँ त ! हो, त्यसैले महिलासँग त्यसअनुसारको सम्मान र समानताको अभ्यास गरिएको हुनुपर्छ । यो अभ्यास घरबाटै सुरु हुनुपर्छ र परिवारका सदस्यबाटै गरिनुपर्छ । महिला स्वयंले आफ्नो कुरा बोलेर र परिवारका अरू सदस्यले महिला पनि मानव हुन् भनेर बुझेर घरभित्रबाटै महिलावादको अभ्यास गर्नुपर्छ । ‘सन्धान’ ले महिलावादको अभ्यास गर्दा ओझेलमा परेका समुदायका महिलाका सवाल र ती सवालसँग जोडिएका समस्याको निराकरणको बाटोसम्म पुगेर वकालत गर्न जरुरी छ । यसले आवाजविहीन बनिरहेका विभिन्न समुदायका महिलाहरूको आवाजलाई खोजेर बाहिर ल्याउने काममा महत्त्वपूर्ण भूमिका खेल्नसक्छ र खेल्नु पनि पर्छ भन्न चाहन्छु ।
प्रकाशन मिति २०८१ भदाै १९ गते बुधवार
याे पनि पढ्नुहाेस्
- “बहुरूपी शोषण र विभेदहरूको सही पहिचान र सम्बोधन आवश्यक छ ।” – कैलाश राई
- ‘नारीवादबारे गहन छलफलको प्रयास नै भएन ।’ -प्रा.डा. मिरा मिश्र
- ‘समानता र न्याय नै फेमिनिस्ट दृष्टिकोण हो ।’ -सन्जोग ठकुरी
- महिलावादी आन्दोलनले यौनिक तथा लैङ्गिक समुदायको मुद्दा उठाएको भनेको ‘टोकनिज्म’ मै सीमित छ । –गौरी नेपाली
- महिलावादको अभ्यास घरबाटै सुरु गर्नुपर्छ- दुर्गा सोब