मैनामोती चौधरी मुक्तकमलरीहरूको महिला तथा मानव अधिकार र पुनर्स्थापनाका लागि क्रियाशील हुनुहुन्छ । उहाँले कमैया तथा कमलरीको मुक्ति अभियान र मुक्तिपछिको अधिकारका लागि काम गर्दै आएको झन्डै दुई दशक भइसकेको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ की बासिन्दा उहाँ इन्सेकको जिल्ला प्रतिनिधिका रूपमा पनि काम गर्नुहुन्छ ।
मैनामोतीले आमाबुबा कमलरी र कमैया भएका कारण आफ्नो बाल्यकाल साहुकै घरमा बितेको र बिहे पनि कमैया परिवारमै भएको बताउनुभयो । उहाँको बिहे हुँदाताका कमैया प्रथा उन्मूलन वा कमैयाहरूको मुक्तिका लागि आवाज उठिसकेको थियो । २०५२/५३ सालमा कमैया प्रथा उन्मूलनको लागि आन्दोलन नै गर्नुपर्ने आवाज उठेकाले उहाँ पनि पारिवारिक रूपमै त्यसमा जोडिन पुग्नुभयो । आन्दोलनका सुरुवाती दिन सम्झिँदै उहाँले भन्नुभयो, “हामी (तत्कालीन) धनगढी नगरपालिका वडा नम्बर ८ का कमैयाहरू जुटेर त्यहीँकै एउटा विद्यालयको जग्गा कब्जा गरेर बस्यौँ र त्यहीँ बसेर आन्दोलन गथ्र्यौं ।” यसरी भएको आन्दोलन केही वर्षसम्म चलिरह्यो र त्यसको प्रभाव र दबाब बढ्दै गएपछि २०५७ सालमा सरकारले कमैया मुक्तिको घोषणा ग¥यो । त्यति बेला कमलरीको मुक्तिका बारेमा सरकारले कुनै सम्बोधन गरेन ।
कमलरीका बारेमा २०५७ सालमा सरकारले सम्बोधन नगरेपछि उनीहरूको स्वतन्त्रताका बारेमा समाजमा अलमलको अवस्था सिर्जना हुँदै गयो । त्यति बेला उनीहरूको महिला तथा मानव अधिकारको सन्दर्भ पनि विभेदमा पर्न गयो । फलतः कमैया प्रथा उन्मूलनको आन्दोलनमा सहभागी भइसकेकी मैनामोतीले कमलरी प्रथा उन्मूलनतिर पनि आफूलाई सक्रिय बनाउन थाल्नुभयो । खानलाउनकै लागि परिवारै अर्काको घरमा बस्नुपर्दा ब्यहोर्नुपर्ने दुःखकष्टलाई नजिकबाट देखेभोगेकी उहाँले २०६४ सालमा ‘कमैया महिला जागरण समाज’ भन्ने संस्था स्थापना गर्नुभयो । त्यसपछि कमलरी मुक्तिको लागि थप क्रियाशील हुनुभयो । उहाँ जस्तै तत्कालीन मुक्तिकामी कमलरीहरू र सामाजिक अभियन्ताहरूको सक्रिय सहभागिता र निरन्तरको पहलबाट २०७० सालमा कमलरी प्रथाको पनि अन्त्य भयो । त्यसपछि मुक्तकमैया परिवारका महिला तथा बालिकाहरू साहुकारको बन्धनबाट स्वतन्त्र हुँदै पूर्वकमलरीमा परिणत भए । त्यसपछि उनीहरूलाई ‘मुक्तकमलरी’ भन्न थालियो ।
सरकारले कमैया र कमलरी प्रथाको अन्त्य गरे पनि मुक्त भइसकेका व्यक्तिहरूलाई व्यवस्थापन गर्नको लागि तत्काल गर्नुपर्ने अत्यावश्यक काम गरेको देखिएन । यसैले मुक्तकमैया र कमलरीहरू आफूहरूको पुनर्स्थापनादेखि अधिकारका सवाल उठाउँदै पछिसम्म पनि आन्दोलित भइरहे । एक दशकसम्म पनि पुनर्स्थापनाको काम सकिएन । यसैले आफूले मुक्तकमलरीलाई राज्यले दिने भनेको परिचयपत्र, शिक्षा, रोजगारी, सिप तथा आवास, भूमिलगायत अधिकारका लागि काम गरिरहेको र पुनर्स्थापनासँग जोडिएका सवाललाई प्राथमिकताका साथ अगाडि ल्याइरहेको मैनामोतीले बताउनुभयो ।
‘सन्धान’ टोली २०८० असोजमा कैलालीको धनगढीस्थित मुक्तकमैयाहरूको बस्तीमा पुगेको थियो । त्यति बेला मैनामोतीको व्यक्तिगत र सामाजिक जीवनभोगाइका बारेमा जिज्ञासा राखियो । उहाँसँगको कुराकानी कमैया तथा कमलरी प्रथाविरुद्धको आन्दोलनका साथै अधिकार र पुनर्स्थापनाको अभियानसँग सन्दर्भित छ । प्रस्तुत छ, मुक्तकमलरी तथा सामाजिक अभियन्ता मैनामोती चौधरीसँग ‘सन्धान’ का तर्फबाट क्यामेरामा मुकुन्द बोगटीको साथमा गार्डिका बज्राचार्यले गर्नुभएको सोही कुराकानीको भिडियो अंश :