– नुमा मेचे, केन्द्रीय अध्यक्ष, मेचे महिला उत्थान संघ
मेचे महिला उत्थान संघकी केन्द्रीय अध्यक्ष नुमा मेचे आफ्नो जातीय पहिचान र महिला अधिकार प्राप्तिका लागि क्रियाशील हुनुहुन्छ । झापा जिल्लाको हल्दीबारी गाउँपालिका वडा नं. ३ की बासिन्दा उहाँले यसअघि टोल विकासको क्षेत्रमा नेतृत्व पनि गर्नुभएको थियो । पहिले गरिबी र अभावमा रहेका भए पनि पछिल्लो समयमा मेचे बस्तीका बालबालिकाहरू सबै विद्यालय जाने गरेको उहाँले बताउनुभयो । मेचे समुदायलाई सरकारले लोपोन्मुख जातिको रूपमा सूचीकृत गरेर मासिक हिसाबले सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेपछि सबै बालबालिकालाई पढ्न पठाउन थालियो । त्यसपछि क्रमशः उच्च शिक्षा लिनेको पनि सङ्ख्या बढ्दै गयो । उच्च शिक्षाका लागि सिटिइभिटीले छात्रवृत्ति दिएर एसइई उत्तीर्ण भएकाहरूलाई स्टाफ नर्स र इन्जिनियरिङ विषय पढ्न सघायो । त्यसरी पढिसकेकाहरूले नर्स र इन्जिनियर भएर स्वदेशमै जागिर खान पनि थाले । शिक्षा लिँदै उनीहरू रोजगारीका नयाँनयाँ क्षेत्रमा पनि जान थाले । यसै बेला मेचे समुदायका वयस्क मानिसहरू आफ्नो भाषा, संस्कृति र भेषभूषा संरक्षणको अभियानमा पनि लागे । नयाँ पुस्ताले आफ्नो भेषभूषा, भाषा र संस्कृति बिर्सिन थालेको भन्दै अगुवाहरू त्यसको संरक्षणमा जुटे र आफ्नो स्थानीय सरकारको रूपमा रहेको हल्दीबारी गाउँपालिकालाई घचघच्याए । पालिकासँगको सहकार्यमा उनीहरू अघि पनि बढ्दै आए ।
पालिकाको पहलमा एकातिर भाषा संरक्षणका लागि विद्यालयमा मेचे भाषाको पढाइ सुरु गरियो भने अर्कातिर जातीय पोशाक ‘डोखना’ बनाउने उद्योग स्थापनाका लागि पनि पालिकासँग समन्वय गर्दै पहल गर्न थालियो । आफूहरूको सांस्कृतिक पहिरन डोखना हराउँदै गएको र भारतको आसामबाट महँगो मूल्य हालेर लगाउनुपरेको बताउँदै नुमाले सुझाउनु पनि भयो, “जातीय पहिरन उत्पादन गर्ने उद्योग स्थापना गरेर प्रशिक्षण दिएमा मेचे समुदायका महिलाको लागि आर्थिक उपार्जनको अवसर खुल्ने थियो ।” यसबाट आफ्नो जातीय पहिचान झल्काउने सांस्कृतिक पहिरनको पनि जगेर्ना हुने विचार उहाँले व्यक्त गर्नुभयो ।
मेचे जातिको जनसङ्ख्या २०७८ सालको जनगणनाअनुसार पाँच हजार १९३ रहेको छ । आफ्नो जातिको जनसङ्ख्या घटिरहेकोमा मेचे समुदायका अगुवाहरूले चिन्ता व्यक्त गरे । मेचे समुदायको मुख्य पेसा कृषि थियो । पछिल्लो पुस्ताले पढ्न पाएपछि विभिन्न क्षेत्रमा जागिर खाने र वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गयो । कृषि पेसा ओझेलमा गर्दै गयो । समावेशी सिद्धान्त बोकेको राज्य पुनर्संरचनाको प्रभाव पनि मेचे समुदायमा पर्ने नै भयो । केही दशकअघिसम्म घरबाट बाहिर ननिस्किएका मेचे महिलाहरू देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदै गर्दा औपचारिक कार्यक्रममा सहभागी हुन थाले । उनीहरू विभिन्न समूह र सङ्घसंस्थाहरूमा आबद्ध पनि हुन थाले । राज्यका विभिन्न संरचनामा मेचे महिलाहरूको पनि प्रतिनिधित्व भयो । कुमारी मेचे २०७४ सालमा सांसद हुनुभयो । यस समुदायका महिलामा आएको यसखालको परिवर्तनलाई सकारात्मक मान्दै नुमाले भन्नुभयो, “गाउँपालिकाको कार्यपालिका सदस्यदेखि संसद्सम्म पनि मेचे महिला पुगे, यो पाटो एकदमै सकारात्मक छ ।”
‘सन्धान’ टोली मेचे समुदायको बसोबास रहेको झापाको हल्दीबारी गाउँपालिका ३ मा २०७९ चैतमा पुगेको थियो । नेपालका लोपोन्मुख जातिमध्येको एक मेचे जातिका महिलाको जीवनभोगाइ र दृष्टिकोण सङ्कलन गर्ने क्रममा त्यहाँ पुग्दा टोलीले नुमा मेचेलाई पनि भेटेको थियो । प्रस्तुत छ, मेचे महिला उत्थान सङ्घकी केन्द्रीय अध्यक्ष नुमा मेचेसँग पत्रकार सुजाता ढुङ्गानाका साथमा ‘सन्धान’ का तर्फबाट गार्डिका बज्राचार्य र समीक्षा गाहाले त्यति बेला गर्नुभएको कुराकानीको भिडियो अंश :