सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ को धुस्कुनमा महिलाहरूको एक समूहले २०७९ सालमा हाते कागज उद्योग स्थापना गरी सञ्चालन गर्यो । १२ जना महिला आबद्ध रहेको ‘महिला उद्यमी हाते कागज’ उद्योगको नेतृत्व सावित्रीकुमारी खत्रीले लिनुभयो । सुरुवातदेखि नै समूहको अध्यक्षको भूमिकामा रहनुभएकी सावित्रीका अनुसार, उद्योग वडा नम्बर ३ स्थित धुस्कुन नजिकै स्थापना गरियो । समूहका महिलाले उद्योगमा काम गर्न थालेको र दैनिक कामकाजका लागि समूह बाहिरबाट केही सहयोगीहरू राखिएको पनि उहाँले बताउनुभयो ।
कागज उद्योगमा आबद्ध भएर १२ जना महिलाले लेकबाट कच्चा पदार्थ सङ्कलन गर्नेदेखि बजारमा पठाउने सामान उत्पादन गर्नेसम्मको काम गरेर आम्दानी लिन थालेसँगै खुसीको अनुभव पनि गरे । उनीहरूले घरायसी काम, बालबच्चाको स्याहारसुसार, खेतीपाती र धेरथोर गाईवस्तु र बाख्रापालनको कामसमेत सकेर बाँकी रहेको समयलाई सदुपयोग गरी आफ्नै हातमा पैसा थाप्ने काम गरेकाले जीवनमा फरक अनुभव पनि गर्दै आएको पाइयो ।
सुन्तली थामीलाई पहिले खेतीपाती र घरायसी कामले खान पुगे पनि हातमा पैसा खेलाउन पुग्दैनथ्यो । अहिले भने आफूले उद्योगमा लेकबाट लोक्ता ल्याउने, केलाउने, पानीपोखरीमा भिजाउने, भिजेको लोक्तालाई झिकेर पकाउने अनि कागज बनाउने काम गरेर हातमा खेलाउन पुग्ने गरी आयआर्जन गरिरहेको बताउनुभयो । ५६ वर्षीया उहाँले यसरी कागज उद्योगमा काम गरेदेखि आफ्नै हातले पैसा खेलाउन पाएको र हातमा पैसा आउने काम गर्न थालेपछि आफूलाई निकै खुसी लागेको पनि बताउनुभयो ।
सुन्तलीकै जस्तो अनुभव सोही उद्योगमा सुरुवाती दिनदेखि नै आबद्ध अम्बिका थामीको पनि पाइयो । कोषाध्यक्षको भूमिकासमेत निर्वाह गर्दै आएकी अम्बिकाले उद्योगमा संलग्न भएपछि घरव्यवहारमा मात्र सीमित हुने आफ्नो दैनिकी फेरिएको पनि बताउनुभयो । “कहिले बैठक, कहिले तालिममा जान पाइन्छ । यसले गर्दा घरबाहिरको माहोल पनि बुझ्ने अवसर पाइरहेको छु,” उहाँले भन्नुभयो ।
सो उद्योगमा विनिता थामीले सचिवको जिम्मेवारीसँगै कागज बनाउने काम पनि गर्दै आउनुभयो । काम गर्न थालेदेखि आफूलाई घरव्यवहार चलाउन आर्थिक सहयोग पुगेको बताउने उहाँले समूहमा आबद्ध १२ जनाले नै तालिम लिएर हाते कागज बनाउने सम्पूर्ण चरणको सिप पाइसकेको जानकारी पनि दिनुभयो ।
त्रिपुरासुन्दरी गाउँपालिकामा चार वर्षअघि केही व्यक्तिहरू उद्यमशीलताको सम्भावनाको खोजी गर्दै हिँडेका रहेछन् । ती व्यक्तिहरूसँग भएको आफूहरूको भेटको स्मरण गर्दै अध्यक्ष सावित्रीले भन्नुभयो, “गाउँमा केही गर्न चाहने महिलाहरूलाई सहयोग गर्ने गरी पालिकाको कार्यालयमा केही व्यक्तिहरू पुगेका रहेछन् । पालिकाले हामीलाई खबर गर्यो । के गर्न सकिन्छ भन्ने छलफल हुँदा नेपाली हाते कागज बनाउने कुरा भयो ।” त्यसरी सुरु भएको कामलाई आफूहरूले निरन्तरता दिइरहेको पनि उहाँले बताउनुभयो ।
हाते कागज उद्योग सञ्चालन गरी काम गर्न महिलाहरूलाई परिवारका सदस्यहरूका साथै स्थानीय केही अगुवाको पनि सरसल्लाह र सहयोग प्राप्त थियो । यसका लागि विशेष गरी वन उद्यमबाट महिलाहरूको आर्थिक सशक्तीकरण परियोजनाले आवश्यक सहयोग गर्यो । उक्त परियोजनाकी सामाजिक परिचालक राधिका सापकोटाले समूहमा रहेर उद्यमसँगै मिहिनेत गर्दै रहेका महिलाहरूमा आएको परिवर्तनलाई नजिकबाट देख्नुभयो । उहाँको भनाइ थियो– उद्योग सञ्चालनबाट घरव्यवहार र खेतीपातीमा मात्रै सीमित भइरहेका महिलाहरूको हातमा पैसा त परेको छ नै, त्योभन्दा ठुलो कुरा त उनीहरूले बाहिर अरूसँग बोल्न सक्ने, आफ्नो कुरा राख्न सक्ने पनि भए । सामाजिक परिचालक भएर करिब दुई वर्षको अनुभव सँगालेकी उहाँले समूहमा आबद्ध भएर काम गरिरहेका महिलाका सन्दर्भमा यो पनि भन्नुभयो, “आफैँले कमाएको दुई–चार पैसा आफूले मन लागेको ठाउँमा खर्च गर्ने हुनुभएको छ ।”
कागज बनाउन चाहिने कच्चा पदार्थ लोक्ता र अर्गेली हुन् । ती पदार्थलाई महिलाहरूले पालिकाकै खाजिलिङ भन्ने लेकमा गएर सुरुदेखि नै सङ्कलन गरी ल्याउन थाले । त्यसरी लोक्ता र अर्गेली ल्याइसकेपछि आफूहरूले नै पखाल्ने, भिजाउने, पकाउने र सुकाउने जस्ता विभिन्न प्रक्रियाबाट तयारी कागज बनाउने गरेको र उत्पादित कागजको बजारीकरणमा खासै समस्या नभएको पनि उनीहरूले बताए । बजारका सम्बन्धमा अध्यक्ष सावित्रीले भन्नुभयो, “बरु घरव्यवहार र खेतीपातीबाट भने जति समय निकाल्न नपाउँदा कहिलेकाहीँ अर्डर आए पनि काम गर्न सकिएको छैन ।”
‘सन्धान’ टोली २०८० असोजको अन्तिम साता सिन्धुपाल्चोक पुगेका बेला अध्यक्ष सावित्रीकुमारी खत्रीसँगै विनिता थामी, सुन्तली थामी, अम्बिका थामी तथा स्थानीय सामाजिक परिचालक राधिका सापकोटासँग भेट भयो । उहाँहरूसँग विनापैसा घरघरायसी तथा खेतीपातीको काम गर्दा र हातमा पैसा आउने गरी उद्योगको काम गर्दाको फरक अनुभवबारे छोटकरीमा बताइदिन आग्रह गरिएको थियो । प्रस्तुत छ, क्यामेरामा मुकुन्द बोगटीका साथमा लक्ष्मी बस्नेत र समीक्षा गाहाले हाते कागज उद्यमी तथा कामदार महिलाहरू र सामाजिक परिचालकसँग त्यति बेला गर्नुभएको कुराकानीको भिडियो अंश :