दुलारी हरिजनले तह तहको विभेदका कारण समाजले दिने अनगिन्ती दुःख र पीडा भोग्दै आउनुभयो । एक त मधेसको, त्यसमाथि दलित समुदायको, त्यसमाथि पनि महिला हुनाको विभेदलाई उहाँले नजिकबाट देख्नु मात्र भएन, केही त आफैँले भोग्नु पनि भयो । स्कुले जीवनदेखि उच्चशिक्षित भएर नीतिनिर्माण तहमा पुगिसक्दा पनि बाल्यकालदेखि नै भोगेका छुवाछुत, भेदभाव, तिरस्कार जस्ता दुर्व्यवहारले कुनै न कुनै रूपमा उहाँको पिछा गर्न छाडेनन् । त्यस्ता दुर्व्यवहारविरुद्ध लाग्नुपर्छ भनेर नै उहाँ सानैदेखि राम्रो लेखपढका साथ हुर्किएर सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रमा क्रियाशील हुनुभयो । २०७० सालमा भएको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट माओवादी पार्टीको उम्मेदवार भएर उहाँ सभासद् पनि हुनुभयो ।
नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य उहाँ पार्टीकै भ्रातृ सङ्गठन दलित मुक्ति मोर्चा तथा मधेशी राष्ट्रिय मुक्ति मोर्चाको सदस्य पनि हुनुहुन्छ । यसका साथै उहाँ दलित महिलाहरूको अधिकारको लागि काम गर्ने संस्था दलित महिला केन्द्र नेपालको उपाध्यक्ष हुनुहुन्छ । दुलारीसँग नवलपरासी जिल्लाको परासीस्थित उहाँकै घरमा २०८१ वैशाख दोस्रो साता पत्रकार सम्झना विकले ‘सन्धान’ का लागि कुराकानी गर्नुभएको थियो । कुराकानी उहाँको व्यक्तिगत जीवनभोगाइसँगै सामाजिक र राजनीतिक क्षेत्रमा लाग्दा गरिएका तितामिठा अनुभवमा केन्द्रित थियो । प्रस्तुत छ, सोही कुराकानीका आधारमा तयार पारिएको दुलारी हरिजनको स्वकथन :
मेरो जन्म मध्यम वर्गीय परिवारमा २०४० सालमा साबिक पञ्चनगर गाविस–१ भानुनगर हाल बर्दघाट नगरपालिका वडा नम्बर ८ भुतहा भन्ने ठाउँमा भएको हो । नागरिकतामा मेरो जन्म साल २०३८ लेखिएको छ । मधेशी दलित समुदायको भए पनि मेरो हुर्काइ पहाडिया समुदायसँगै भयो । मेरो परिवारमा आमा, बुबाका साथै तीन जना दिदी र एक जना दाइ हुनुहुन्छ । मेरो आमाबुबाले हामी चार छोरीहरूमा कसैलाई पनि ‘छोरी जन्मिए’ भनेर खानलाउनमा भेदभाव गर्नु भएन । मलाई सबैले कान्छो सन्तान भनेर धेरै माया गर्नुहुन्थ्यो । त्यसैले नाम पनि दुलारी राखिदिनुभयो । दाइले सात कक्षासम्म मात्रै पढ्नुभयो । मेरा तीन जना दिदीहरूले भने विद्यालय जान पाउनु भएन । मैले विद्यालय गएर पढ्न पाएँ । मलाई ‘छोरालाई जति पढ्छ पढाइदिने’ भन्नुहुन्थ्यो । त्यति बेला परिवारले मलाई कम्तीमा छ–सात कक्षासम्म पढाइदिने सोच राखेको थियो । त्यति बेला गाउँघरमा चिठीपत्र चल्थ्यो । जागिरको उद्देश्यले होइन, चिठी पढ्ने र लेख्ने भए पुग्छ भन्ने सोच थियो । त्यही सोचले म आठ वर्षको हुँदा बुबाले मलाई जनता प्राथमिक विद्यालय भुतहामा भर्ना गरिदिनुभएको थियो । त्यो स्कुल घरदेखि तीन किलोमिटर टाढा भगजोगनी भन्ने ठाउँमा थियो । हातमा किताब, कक्षामा बस्ने प्लास्टिक, बोराले बनाएको चकटी लिएर हिँडेर पढ्न जान्थेँ । ‘हामीले पढ्न नपाए पनि तिमी पढ’ भनेर दिदीहरूले मलाई भन्नुहुन्थ्यो । उहाँहरूको प्रेरणाले मैले पढ्दै गएँ ।
कक्षा १ मा ४० जना विद्यार्थीमा म एक जना मात्र दलित समुदायको थिएँ । म पढ्न जान्ने थिएँ । कक्षा २ मा जाँदा म प्रथम भएँ । प्रथम भएको भनेर पुरस्कारका रूपमा मैले आठ वटा कापी पाएँ । मलाई फूलको माला पनि लगाइदिनुभयो स्कुलमा । घर फर्किने बेलामा गैरदलित समुदायका विद्यार्थीहरूले ‘है चमैनिया पाछे आइल फस्ट भइल, चमैनियाके आगे बैठन ना देही’ भन्दै मेरो कापी थुतेर लैदिए । उनीहरूले मेरो कपाल लुछे र फूलको माला छिनाल्दिए, मलाई विद्यालयबाट भगाउनका लागि । त्यसपछि कक्षामा मलाई कहिल्यै अगाडि बस्न दिएनन् । मलाई गैरदलित विद्यार्थीले मात्र होइन, ब्राह्मण शिक्षकले पनि मानसिक तथा शारीरिक यातना दिन्थे । संस्कृत विषय म राम्रोसँग पढ्ने र लेख्ने गर्थें तर पनि ब्राह्मण शिक्षकले ‘गल्ती बोलाता डे’ भन्दै मलाई कुट्थे ।
बर्खामा भुतहाचापी खोला तरेर स्कुल जानुपर्थ्यो । म पढ्न भने जान्ने थिएँ र कक्षा ५ सम्म प्रथम भइरहेँ । त्यसले गर्दा मैले ड्रेस, कापी, कलम कहिल्यै किन्नु परेन तर धेरै दुःख खेपेँ । गैरदलित समुदायका छात्रछात्राले मसँग छोइए पनि उनीहरूको जात सानो हुन्छ जस्तो व्यवहार गर्थे । म अलि कालो वर्णको छु । उनीहरूले मेरो कालो रङ सर्छ भन्ने गर्थे । त्यस्तो कुरा सुनेर पनि मैले हरेस खाइनँ । कक्षा ५ सम्म मैले साथीभाइबाट एक प्रकारको यातना भोग्दै पढेँ तर पनि राम्रो अङ्क ल्याएर नै पास गरेँ । कक्षा ६ पछिको अध्ययन मैले श्री राजा माध्यमिक विद्यालयमा गरेँ । त्यो विद्यालयमा मलाई केही सहज भयो । त्यहीँबाट २०६० सालमा एसएलसी पास गरेँ । त्यतिले मात्र मेरो पढ्ने धोको पूरा भएन । यसैले पढिरहेँ । मैले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेको छु ।
हिम्मत नहारी मैले पनि केटाहरूले चलाउने जस्तै मोटरसाइकल चलाउँछु भनेर २०६३ सालमा लाइसेन्स लिएँ । मैले कुर्ता सलवार लगाएरै आरएक्स बाइक चलाउँथेँ ।
जिल्लामा एउटा संस्था थियो, इन्द्रेणी विकास सामाजिक मञ्च नामको । त्यसको अध्यक्ष राम सुवेदीसँग मेरो दाइ सुधामा हरिजनको माध्यमबाट मेरो चिनजान भएको थियो । त्यही चिनजानबाट २०६० सालदेखि त्यो संस्थामा जागिर खान थालेँ । एसएलसी पास गरेपछि मलाई दाइले लेडिज साइकल किनिदिनुभएको थियो । म त्यही साइकल चलाएर क्याम्पस पढ्न जान्थेँ र संस्थाको काम पनि गर्थें । संस्थामा ‘समर्पण’ भन्ने महिला सशक्तीकरणको कार्यक्रम आएको थियो । त्यसको लागि पन्ध्रदिने टट (TOT) तालिमको लागि नेपालगन्ज जानुपर्ने थियो । म त्यहाँ जाने भएँ र गएँ । २० वर्षको उमेरमा बल्ल मलाई बाहिरी संसार देख्न पाएँ जस्तो भयो । त्यो तालिमपछि नवलपरासी र रूपन्देही जिल्लाका सीमा क्षेत्रमा काम गरेँ ।
कुनै पनि जिम्मेवारी पाएपछि त्यसलाई म मसिनो गरी गहिरिएर पूरा गर्छु । मेरो काम नहर विकास गर्ने, महिलाका समस्यालाई कसरी समाधान गर्ने, आवाज उठाउने, तालिम चलाउने यस्तै यस्तै थियो । त्यति बेला सिमानामा महिलालाई काम गर्न सजिलो थिएन । म भने त्यहाँ तालिम चलाउँदै हिँड्थेँ । काम गर्दा महिला मात्रै होइन, पुरुषहरूसँग पनि बोल्ने, सँगै हिँड्ने गर्नुपर्थ्यो । कहिलेकाहीँ चिनेका पुरुष साथी र चिनेजानेका व्यक्तिहरूसँग मोटरसाइकलमा पनि हिँड्नुपर्थ्यो । त्यसरी हिँड्दा ‘यसको चक्कर राम्रो छैन’ भनेर गाउँघरमा कुरा काट्थे । त्यो सुनेपछि मलाई नराम्रो पनि लाग्यो र केही गर्छु भन्ने पनि लाग्यो । त्यही भएर हिम्मत नहारी मैले पनि केटाहरूले चलाउने जस्तै मोटरसाइकल चलाउँछु भनेर २०६३ सालमा लाइसेन्स लिएँ । मैले कुर्ता सलवार लगाएरै आरएक्स बाइक चलाउँथेँ ।
संस्थाको काममा मलाई तराई क्षेत्र नवलपरासी र रूपन्देहीको सीमावर्ती क्षेत्रको काममा खटाइएको थियो । माओवादीको विरुद्धमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सिमानामा प्रतिकार समूह खटाएका थिए । मलाई ‘मधेशी महिला भएर बाइक चलाएकी छे, यो पक्कै माओवादी हो, त्यस्तै हाउभाउ छ’ भनेर उनीहरूले घेरा हाल्थे । मैले पटक पटक ‘म माओवादी हैन’ भनेर स्पष्टीकरण दिनुपर्थ्यो । एकपटक त मेरो निधारमा प्रतिकार समूहका कसैले बन्दुक ताकेका थिए । त्यति बेला त्यो प्रतिकार समूहमा भुतहाकै एक जना दाइ पनि हुनुहुँदो रहेछ र उहाँले मलाई बचाउनुभयो ।
हुन त मेरो माइतीले माओवादीलाई पहिलेबाटै सहयोग गर्थे । खाना खान र बास बस्न दिने गर्थे । मेरो दाइको साइकल पसल थियो । उहाँले साइकल बनाइदिने गर्नुहुन्थ्यो । माओवादी पार्टीको एजेन्डा हामी दलित, महिलाको लागि निकै राम्रो थियो । त्यही भएर मैले पनि अप्रत्यक्ष रूपमा सहयोग गर्थें । माओवादीलाई चन्दा उठाउनको लागि ‘सामन्ती’ को घर देखाउन उनीहरूसँग रातिराति म हिँड्थेँ । मेरो समाजले दलितले लेख्न, पढ्न, बोल्न सक्छ भनेर सोच्न पनि सक्दैनथ्यो । मलाई पढेलेखेको देखेर आश्चर्य मान्थ्यो । मेरो आत्मविश्वास समाजलाई मन पर्दैनथ्यो । तर पनि मैले निडर भएर संस्थाको जागिर गरिरहेँ । माओवादीलाई पनि गर्ने सहयोग गरिरहेँ ।
म माइतीमा कान्छो सन्तान भएकाले एकदमै मायामा हुर्किएँ । ठुलो हुँदै जाँदा पनि पढ्ने, लेख्ने र स्वतन्त्र भएर काम गर्ने वातावरण पाएँ । महिलाका मुद्दामा काम गर्ने मान्छे भएँ । महिला सशक्तीकरणको लागि मैले धेरै काम गरेको पनि छु । महिलाले भोगेको पीडा देखेर ‘मलाई कसैको हात थाप्न पर्दैन, म आफ्नो जीवन चलाउन सक्छु, घुमेर हिँड्छु, विवाहले महिलालाई बन्धक बनाउँछ’ जस्तो लाग्थ्यो । मेरो पारिवारिक जीवनमा भने त्यस्तो भएन । म जागिर खाने संस्था इन्द्रेणी सामाजिक विकास मञ्चको पूर्वकर्मचारी हाल मेरो जेठाजु दाइ वीरेन्द्र हरिजनको पहलमा उहाँकै भाइ जीतेन्द्रसँग २०६४ सालमा मेरो बिहे भयो । म त्यति बेला २४ वर्षको थिएँ ।
मेरो जेठाजु माओवादी पार्टीको सक्रिय कार्यकर्ता पनि हुनुहुन्थ्यो । उहाँको कार्यक्षेत्र भुतहा नै थियो । मेरो बुबासँग विवाहको कुरा गर्न जाँदा श्रीमान्काे परिवारले विनादाइजो बिहे गर्ने भनेर प्रस्ताव राख्नुभयो । सोहीअनुसार विनादाइजो मेरो बिहे भयो । हाल म, श्रीमान्, छोरी, छोरा, सासू, आमाजू, भान्जा र भान्जी सँगै बस्छौँ । आमाजू घरेलुहिंसाबाट पीडित हुनुहुन्छ । त्यसैले उहाँ हामीसँगै बस्नुहुन्छ ।
मैले माइतीमा जस्तै स्वतन्त्रता श्रीमान्काे घरमा पनि पाएँ । केही आफन्तले मलाई ‘बिग्रेको बुहारी’ पनि भन्थे । मैले त्यसलाई वास्ता गरिनँ ।
मेरो राजनीतिक यात्रा विवाहपछि बल्ल सक्रिय भएको हो । म सामाजिक काम गर्ने मान्छे । मलाई माओवादी पार्टीको एजेन्डा पहिलेदेखि नै मन पर्थ्यो । माओवादीले उठाएको एजेन्डाकै कारण म संविधानसभामा पुगेँ । म जस्तै अरू पनि धेरै दलित महिलाले सभासद् बन्न पायौँ । माओवादी आएपछि दलित समुदायको आत्मबल बढेको हो जस्तो लाग्छ । जब २०६४ सालमा माओवादी खुला भयो, तब म झन् कार्यक्रममा जान्थेँ । मैले माइतीमा जस्तै स्वतन्त्रता श्रीमान्काे घरमा पनि पाएँ । केही आफन्तले मलाई ‘बिग्रेको बुहारी’ पनि भन्थे । मैले त्यसलाई वास्ता गरिनँ । मेरो राजनीतिक यात्रामा मेरो परिवारबाट पूरा सहयोग भए पनि अलि टाढाका आफन्त र समाजले कुरा काट्थ्यो । अझै पनि बाहिरीले मेरो कडा आलोचना गर्छन् ।
इन्द्रेणी संस्थामा केही समय जागिर खाएपछि २०६६ सालमा म शिक्षक भएँ । स्थानीय पाल्ही भगवती प्राथमिक विद्यालयको राहत कोटामा २०७० सालसम्म पढाएँ । २०७० सालको संविधानसभा निर्वाचन आयो । मेरो कामप्रतिको लगनशीलताले र अन्तरिम संविधानको प्रावधानले गर्दा होला, नेताहरू घनश्याम यादव र वीरेन्द्र हरिजन, जो मेरो जेठाजु पनि हुनुहुन्छ, ले समानुपातिक उम्मेदवारमा मेरो नाम सिफारिस गरिदिनुभयो । अनि म संविधान बनाउने ठाउँमा पुग्न सफल भएँ ।
मेरो जिल्लामा कसै कसैलाई हरिजन महिला सभासद् वा सांसद भएको मन परेको थिएन । उनीहरू मलाई सांसद भएको हेर्न चाहँदैनथे । समानुपातिकको प्रमाणपत्र लिन काठमाडौँ जाँदा पार्टी अध्यक्ष पुष्पकमल प्रचण्ड कमरेडले मसँग हात मिलाउँदै ‘दुलारी कमरेड, तपाईंको बारेमा विरोध पनि आएको छ तर माओवादीको एजेन्डा यही हो कि दलित, सीमान्तकृत समुदायका महिलाले अवसर पाउनुपर्छ । समानुपातिक समावेशी सिद्धान्तबाट गरिब सर्वहारा वर्गका महिलाहरू नेतृत्वमा आउनुपर्छ’ भन्नुभयो । मैले पनि अध्यक्ष प्रचण्ड कमरेडसँग ‘छ महिनासम्म पनि सांसदको भूमिका राम्रोसँग निर्वाह गर्न सकिनँ भने मलाई निकालिदिनुहोला, छ महिना मेरो परीक्षणकाल भएको ठान्छु, पार्टीको विधि र नीतिमा रहेर काम गर्छु’ भनेर जवाफ दिएको थिएँ । गर्न पनि त्यसै गरेँ ।
दोस्रो संविधानसभा सदस्यमा दलित सभासद् ४० जना थियौँ । हरिजन समुदायबाट मसहित चार जना महिला थियौँ । मलाई जिल्लामा ‘यो बोल्न सक्दैन’ भन्थे । जेठाजुको नामले अवसर पाएको पनि भन्थे तर मैले ती सबैलाई ‘म को हुँ र के गर्न सक्छु’ भनेर कामै गरेर देखाएँ । मैले सभासद् र सांसदको भूमिका राम्रोसँग निभाएँ भन्ने मलाई लाग्छ । संविधान बनाउन सजिलो थिएन । मैले पिछडिएको, दलित सीमान्तकृतका अधिकारको कुरा गर्थें । संसद्मा एक मिनेटको समयमा पनि म यी कुरा पटक पटक राख्थेँ । म समयको सदुपयोग गर्थें, वर्गको कुरा गर्थें । आज हाम्रो प्रयासले गर्दा नै प्रत्येक वडामा एक जना अनिवार्य दलित महिला सदस्य हुनुहुन्छ । म यसलाई आफ्नो उपलब्धि मान्छु ।
मलाई लाग्छ, श्रीमान् र परिवारको हृदयदेखि नै साथ र सहयोग छ भने पुरुषले जसरी राजनीति गर्छन् हामी महिलाले पनि गर्ने त्यस्तै हो, त्यसरी नै हो । परिवारको साथ र सहयोग छैन भने महिलालाई मात्र होइन, पुरुषलाई पनि कठिन नै हुन्छ ।
म संविधानसभा सदस्य भएपछि मेरो क्षेत्रमा थुप्रै विकासका काम गरेको छु । अरू जातिका नेताहरूले दलित बस्तीका समस्यालाई खासै हेर्दैनथे । चुनावको बेला आश्वासन दिने मात्रै हुन्थ्यो । त्यही भएर मैले पाल्हिनन्दन सनई दलित बस्तीको विकास निर्माणलाई प्राथमिकता दिएर काम गरेँ । गाउँका विद्यालयका लागि बजेट छुट्ट्याउनलाई पहल गरेँ । यति गर्दा पनि मेरो आलोचना र विरोध गर्नेहरू अन्य पार्टीका मात्रै होइन, आफ्नै पार्टीका पनि थुपै्र पाएँ । काम गर्ने क्रममा अरू बेला मात्रै होइन, संविधानसभाको सदस्य हुँदासमेत मलाई विभेद भएको महसुस हुन्थ्यो । त्यस्तो भए पनि ती घटनालाई अहिले सम्झिएर दुःखी नहुने बरु अघि बढ्ने प्रण गरेकी छु ।
मलाई लाग्छ, श्रीमान् र परिवारको हृदयदेखि नै साथ र सहयोग छ भने पुरुषले जसरी राजनीति गर्छन् हामी महिलाले पनि गर्ने त्यस्तै हो, त्यसरी नै हो । परिवारको साथ र सहयोग छैन भने महिलालाई मात्र होइन, पुरुषलाई पनि कठिन नै हुन्छ । मैले सक्रिय भएर पार्टीमा लागेर राजनीति गरेको ११ वर्ष भयो । मलाई घरबाहिर चुनौती छ तर घरमा धेरै सहज छ । म हरेक ठाउँमा भन्छु, मलाई यहाँसम्म आइपुग्न मेरो माइतीसँगै श्रीमान्, जेठाजु र सासूआमा र आमाजूको साथ समर्थन छ । म पार्टीको बैठकमा जाँदा मलाई पुर्याउनुपर्याे भने श्रीमान्ले खुसीसाथ पुर्याइदिनुहुन्छ । सासूआमाले पनि म जागिरे हुँदा होस् या राजनीति गर्दा सधैँ माया र सहयोग गर्नुभयो । अहिले पनि छोरीलाई जसरी व्यवहार गर्नुहुन्छ ।
म सांसद हुँदा नै हो । भैरहवामा मधेशी आयोगको कार्यक्रम थियो । त्यहाँ सिडिओलगायत थुपै्रको उपस्थिति थियो । मलाई ‘भारतबाट सर्टिफिकेट ल्याएको हो ?’ भनेर सोधियो । मधेशी दलित महिलाले पढेलेखेकै हुँदैन भन्ने सोच अहिले पनि धेरैमा छ ।
माओवादी पार्टीले समावेशी समानुपातिकको सिद्धान्त उठाए पनि पूर्णरूपमा कार्यान्वयन भएको छैन । एउटा पुरुषलाई चुनावमा टिकट पाउन सहज छ तर महिलालाई त्यही टिकट पाउन पनि गाह्रो छ । पार्टीमा ‘महिला उठेपछि जित्दैन’ भन्ने अविश्वासयुक्त सोच नेताहरूमा अझै छ । ‘महिलासँग धनसम्पत्ति हुँदैन, त्यही भएर चुनावमा मनग्गे खर्च गर्न सक्दैन’ भनेर पनि महिलाको उम्मेदवारीलाई पाखा लगाइन्छ । एउटा पुरुष ‘क्यान्डिडेट’ को लागि महिला कार्यकर्ताले दिनरात नभनी खटिरहन्छन् तर पुरुष कार्यकर्ताले त्यही स्थानमा महिला ‘क्यान्डिडेट’ भए भने त्यसरी खटेर सहयोग गर्दैनन् । मैले यो देखेको वास्तविक कुरा भनिरहेको छु । कुनै पार्टीकै कार्यक्रममा चार जना पुरुषलाई बोल्नका लागि समय दिन भ्याउँदा एक जना महिलाका लागि ‘समय पुगेन’ भन्ने बहाना बनाउँदै बोल्न दिँदैनन् ।
एउटा उदाहरण दिन्छु, म सांसद हुँदा नै हो । भैरहवामा मधेशी आयोगको कार्यक्रम थियो । त्यहाँ सिडिओलगायत थुप्रैकाे उपस्थिति थियो । मलाई ‘भारतबाट सर्टिफिकेट ल्याएको हो ?’ भनेर सोधियो । मधेशी दलित महिलाले पढेलेखेकै हुँदैन भन्ने सोच अहिले पनि धेरैमा छ । मैले यस्तो प्रश्नको सामना पनि गर्नुपर्छ समय समयमा ।
मैले ‘छलछाम गर्न हुँदैन, भ्रष्टाचार गर्न हुँदैन, निष्ठाका साथ काम गर्नुपर्छ’ भनेर नै काम गर्दै आएँ । हामी दुवै जना श्रीमान्श्रीमतीले स्नातकोत्तर तह पास गरेका छौँ । हाल म पालिकाहरूमा बजेट माग गरेर स्थानीय स्तरमा तालिम चलाउँछु, संविधानमा भएका हकअधिकारका कुरा बुझाउँछु । मेरो काममा श्रीमान्ले पनि सहयोग गर्नुहुन्छ । हाम्रो आफ्नो खेतबारी छैन । त्यसैले हामीले मेरो माइती भुतहामा एक बिघा जमिन अधियाँ लिएर खेती गरिरहेका छाैँ । दलित महिलाको सवालमा काम गर्नका लागि भनेर २०७२ सालमा ‘दलित महिला केन्द्र नेपाल’ स्थापना गरेका थियौँ । म त्यसको हाल उपाध्यक्ष छु । यो संस्थाले सात वटै प्रदेशमा जनप्रतिनिधि महिलालाई तालिम चलाउँछ । म त्यसका लागि पनि हिँड्छु । कामको सिलसिलामा एक महिनामा १५ दिन त घरबाट बाहिर नै हुन्छु ।
घरबाहिरको कामले गर्दा मैले भान्छाको काम गर्न राम्रोसँग भ्याउँदिनँ । मेरो सासू र आमाजूले बालबच्चा र भान्साको काम सम्हाल्नुहुन्छ । मैले गरेको काममा दुवै जनाले गर्व गर्नुहुन्छ । मेरो श्रीमान् छ वर्षको हुँदा नै ससुरा बित्नु भएको रे । त्यति बेलादेखि एकल जीवन बिताउँदै आएकी मेरी सासूआमाले पनि धेरै दुःख गर्नुभएको रहेछ । अरूको खेतमा काम गर्ने, ज्याला मजदुरी गरेरै उहाँले तीन जना छोराछोरी हुर्काउनुभएको रहेछ । त्यति मात्र होइन, उहाँले मेरो हरेक कामको प्रतिक्रिया दिनुहुन्छ । मञ्चमा बोल्दा कस्तो भयो र अझै कसरी राम्रो गर्न सकिन्थ्यो भनेर प्रतिक्रिया दिनुहुन्छ । घरपरिवारको पूरा साथ पाएको छु तर समाजले म र मेरो परिवारकै कुरा काट्छ । यस्तो देख्दा मलाई दुःख लाग्दैन बरु कुन्ती मोक्तानको, ‘म त हिँड्छु, मेरै बाटो, खुट्टा तान्दै गर’ भन्ने गीत सम्झिँदै अघि बढिरहेको छु ।
म आबद्ध पार्टीको कुरा गर्नुपर्दा, वास्तविक दलित, पिछडिएका सीमान्तकृतको मुद्दा उठाउने माओवादीले नै हो । माओवादी पार्टीले मुद्दा नउठाएको भए, संविधानमा नलेखिएको भए म जस्तो मान्छे सभासद् र सांसद हुनु भनेको कल्पनाबाहिरको कुरा थियो । अहिले गरिब परिवार, दलित, सीमान्तकृत समुदायका मानिसहरू सांसद र मन्त्री बन्न पाएका छन् । महिला र दलित महिलाले विभिन्न ठाउँमा नेतृत्व गर्न र सहभागी हुन पाएका छन् ।
हामीले आफूलाई ‘महिला हो, केही गर्न सक्दिनँ कि’ भनेर सोच्नु हुँदैन । जस्तोसुकै परिस्थितिलाई पनि डटेर सामना गर्न सक्नुपर्छ र गर्छु भन्ने आत्मविश्वास आफूमा जगाउनुपर्छ ।
अन्तिममा मेरो अनुभवको कुरा भन्छु । आर्थिक रूपमा महिला सक्षम भयो भने घर सक्षम हुन्छ । मेरो १५ वर्षकी छोरीलाई र अरूलाई पनि म यही शिक्षा दिन्छु । दलित समुदायका महिलाहरू शिक्षित हुनुपर्छ । आज म शिक्षित भएर नै पार्टीमा अवसर पाएँ । हामीले आफूलाई ‘महिला हो, केही गर्न सक्दिनँ कि’ भनेर सोच्नु हुँदैन । जस्तोसुकै परिस्थितिलाई पनि डटेर सामना गर्न सक्नुपर्छ र गर्छु भन्ने आत्मविश्वास आफूमा जगाउनुपर्छ । जसरी सफल पुरुषको पछाडि महिलाको हात हुन्छ भनिन्छ नि, त्यसरी नै सफल महिलाको पछाडि पुरुषको सहयोग हुन अनिवार्य छ । यसैले आफ्नो घरपरिवारमा भएका महिला सदस्यहरूलाई अघि बढ्न सहयोग गर्न सबै दाजुभाइलाई म आग्रह पनि गर्छु ।
प्रकाशन मिति : २०८१ भदाै १० गते, साेमवार