सन्धान संवाद शृङ्खला १०
कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, मेनुका काफ्ले । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर १ स्थित झापा जिल्लाको कमल गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । १४ वटा जिल्ला रहेको प्रदेश नम्बर १ मा एक महानगरपालिका, दुई उपमहानगर पालिका, ४६ नगरपालिका र ८८ गाउँपालिका गरी १३७ स्थानीय तहका लागि निर्वाचन भएको थियो । २०७९ फागुन १७ मा कोशी प्रदेश नाम राखिएको उक्त प्रदेशबाट पालिका प्रमुख/अध्यक्ष निर्वाचित उहाँ एक मात्र महिला हुनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चुनावी मैदानमा उत्रिएर अन्य सात प्रतिस्पर्धीलाई पछि पार्दै मेनुका आठ हजार २७५ मत प्राप्त गरी विजयी हुनुभएको थियो । २०७४ वैशाख ३१ गते भएको सो निर्वाचनमा कुल २० हजार ७४० मत खसेकोमा सदर मतको सङख्या १९ हजार ४४ थियो । निर्वाचनका लागि उम्मेदवारी दिँदा उहाँ ५३ वर्षको हुनुहुन्थ्यो ।
कमल गाउँपालिका वडा नं. ३, झापा बस्ने मेनुकाले २०३५ सालको विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनीति सुरु गर्नुभएको थियो । त्यस बेला उहाँ कक्षा ८ मा अध्ययन गर्दै हुनुहुन्थ्यो । त्यही बेलादेखि उहाँ नेकपा (एमाले) मा आबद्ध भएर काम गर्न थाल्नुभयो । उहाँ पार्टी केन्द्रीय सदस्य, अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी सचिव र मदन भण्डारी प्रतिष्ठानको सदस्य पनि रहनुभयो । वामपन्थी विचारधाराबाट प्रभावित भएर राजनीतिमा लागेको उहाँको भनाइ थियो ।
मेनुकालाई स्थानीय सरकारको नेतृत्वमा पुर्याउने मूल आधार बन्यो, नेपालको संविधान । २०७२ सालमा जारी सो संविधानले मुलुकलाई सङ्घीय संरचनामा रूपान्तरण गर्यो । २०८१ असोज ३ गते संविधान दिवसको सन्दर्भ पारेर हामीले ‘सन्धान संवाद शृङ्खला’ अन्तर्गत ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भको सुरुवात गरेका थियौँ । सोही दिनदेखि एउटा बिहिवार संवाद र अर्को बिहिवार रिपोर्ट पर्ने गरी हरेक हप्ता पालिकाका सारथी महिलाहरूसित सम्बन्धित सामग्री प्रस्तुत गर्दै आएका छौँ । प्रस्तुत सामग्री ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू ’ स्तम्भको संवाद खण्ड हो ।
मुलुक सङघीय संरचनामा गइसकेपछि तीन चरणमा स्थानीय तहको निर्वाचन भयो । पहिलो चरणमा २०७४ वैशाख ३१ गते ३४ जिल्लाका २८३, दोस्रो चरणमा २०७४ असार १४ गते ३५ जिल्लाका ३३४ र तेस्रो चरणमा २०७४ असोज २ गते आठ जिल्लाका १३६ गरी कुल ७५३ स्थानीय तहका लागि निर्वाचन भएको थियो । नेपालकै पहिलो निर्वाचन भने २००४ जेठ २९ गते भएको थियो । काठमाडौं म्यूनिसिपलिटीको उक्त निर्वाचनमा महिलाहरूले उम्मेदवारी दिन त के भोट खसाल्न पनि पाएका थिएनन् । महिलाहरूलाई मताधिकार नै दिइएको थिएन ।
देशकै पहिलो निर्वाचन भएको छ वर्षपछि २०१० सालमा अर्को निर्वाचन भयो । त्यस निर्वाचनमा महिलाहरूले मताधिकार मात्र नभएर उम्मेदवारीको अधिकारसमेत पाए । यस्तो अधिकार पाएको साढे छ दशक हुनै लाग्दा २०७४ सालमा भएको स्थानीय निर्वाचनमा त ५७ हजार ८४३ महिला चुनावी मैदानमा नै उत्रिए । तीमध्ये १४ हजार ३५१ महिला पालिकाका विभिन्न पदहरूमा निर्वाचित पनि भए । स्थानीय तह निर्वाचनमा महिलाको कुल प्रतिनिधित्व ४०.९५ प्रतिशत रह्यो । यत्तिको प्रतिनिधित्व वैधानिक प्रावधानको कारण सम्भव भएको थियो । त्यति हुँदाहुँदै महिलाहरूले पाउनुपर्ने जति महत्त्व र अधिकार अझै पाएनन् ।
देशका कुल ७५३ स्थानीय तहका प्रमुख/अध्यक्ष पदका लागि भएको निर्वाचनमा सात महिला नगरपालिका प्रमुखमा र ११ महिला गाउँपालिका अध्यक्षमा निर्वाचित भए । यसरी जम्मा १८ महिलाले मात्र पालिका प्रमुख वा अध्यक्षमा निर्वाचित भएर स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाए । ‘स्थानीय तह निर्वाचन ऐन, २०७३’ मा दफा १७ को उपदफा ४ मा उम्मेदवारको मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान छ । त्यति बेला पालिकाको उपप्रमुख/उपाध्यक्ष पद महिलाकै लागि तोकिए जस्तो गरी उम्मेदवारी थमाइएको थियो ।
त्यति गर्दा पनि कुल १५०६ स्थानमा पुरुष ७८८ हुँदा महिला ७१८ जना मात्र विजयी भए । महिलाको सम्भाव्य प्रतिनिधित्व पनि ३५ स्थानले कम हुन पुग्यो । यसबाट ५० प्रतिशतको उम्मेदवारी प्रावधानले मात्र परिणामतः महिलालाई न्याय नहुने देखियो । यस्तो अवस्थामा पनि पालिकाको नेतृत्वमा उम्मेदवार बनेर निर्वाचित हुन पुगेका १८ महिलाहरू सामान्य पक्कै थिएनन् । तिनैमध्ये एकमा मेनुका पनि पर्नुभयो ।
नयाँ शासकीय स्वरूप, नयाँ अभ्यास, वैधानिक तथा भौतिक पूर्वाधारहरूको अपर्याप्तता/अभाव जस्ता कारणले सबै पालिकामा एक प्रकारको अन्योल थियो । त्यस्तो बेला पुरुषहरूकै बाहुल्य रहेको संरचनामा नवनिर्वाचित प्रमुख/अध्यक्ष बनी नेतृत्वदायी भूमिका निर्वाह गर्नु महिलाका लागि झनै चुनौतीपूर्ण थियो । नागरिकका अपेक्षा चुलिएका थिए । मेनुकाका सामु पनि चुनौतीका पहाड खडा थिए ।
चुनौतीहरूबिच गाउँपालिका अध्यक्षको जिम्मेवारी निर्वाह गरी दायित्व पूरा गर्दाको उहाँको अनुभव कस्तो रह्यो त ? विशेष गरी उहाँको नेतृत्वमा पालिकाले हासिल गरेका उपलब्धि के थिए ? उहाँको नेतृत्वशैली, बाधाअवरोध पन्छाउने उपाय के कस्ता थिए ? आफूले आफ्नो कार्यकाल र आफैँलाई फर्किएर हेर्दा उहाँले के पाउनुभयो ? भावी जनप्रतिनिधिलाई उहाँका सुझाव के के थिए ?
द स्टोरी किचेनले तयार पारेको निर्देशिकाका आधारमा मूलतः यी र यस्ता प्रश्नका साथ ‘सन्धान’ को लागि फेलो पत्रकार प्रकृति दाहालले मेनुकासँग उहाँको कार्यकालको अन्तिमतिर टेलिफोन कुराकानी गर्नुभएको थियो । आजको शृङ्खलामा प्रस्तुत छ, मेनुका काफ्लेसँग गरिएको सोही कुराकानी ।
करिब पाँच वर्षको कार्यकालमा तपाईंले गर्नुभएका एकदमै महत्त्वपूर्ण र उपलब्धिमूलक काम के के हुन् भन्ने लाग्छ ?
महत्त्वपूर्ण कामहरूमा पहिलो, मेरो नेतृत्वमा रहेको गाउँपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेँ । झापाका १५ वटा पालिकामा सबैभन्दा पहिले हाम्रो गाउँपालिकाले घोषणा गरेको हुनाले गाउँपालिकाले अवार्ड पनि प्राप्त गरेको थियो । दोस्रो, हामीले अहिले सबै वडामा छुने गरी सडक कालोपत्रे गरेका छौंँ । तेस्रो, कृषि क्षेत्रको गुरुयोजना बनाएर व्यवसाय प्रवर्धन कोष निर्माण गरी दुई करोड रुपैयाँ राख्या छौंँ । त्यो पैसा व्यावसायिक खेती गर्ने किसानहरूलाई सहकारीको माध्यमबाट ऋण अनुदानको रूपमा दियौँ । किसानको माटो परीक्षण गर्ने ल्याबको समेत व्यवस्थापन गर्यौँ ।

हरेक वडामा कार्यालय भवन बनाउँदै कर्मचारीहरूको व्यवस्थापन गर्न पनि सफल भयौँ । यो चौथो काम थियो भने पाँचौँमा हामीले शिक्षा क्षेत्रको काम गर्यौँ । हामीले हरेक विद्यालयका टिनका छानालाई व्यवस्थित गरी पक्की भवन बनायौैँ । जेटिए र भेटनरी पठनपाठनका लागि सहज बनाउन विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गर्यौँ । सीमान्तकृत समुदायका १५ जनालाई हामीले निःशुल्क प्राविधिक शिक्षा अध्ययन गराउने काम गरेका छौंँ । विद्यार्थीहरूलाई लोकसेवा तयारी कक्षा पनि सञ्चालन गर्यौँ ।
महिलाहरूको सवालमा अकालमै ज्यान नजाओस् भनेर स्वास्थ्य मापदण्डअनुसार स्वास्थ्यचौकीमा परीक्षण गराउन र सुत्केरी हुन आउनेलाई एक हजार रुपैयाँ भत्ता दिने व्यवस्था मिलाइएको छ । सुत्केरी भएको ३५ दिनभित्र बच्चाको जन्मदर्ता गराउनेलाई थप एक हजार रुपैयाँ दिने निर्णय पनि हामीले गरेका छौँ । महिलाहरूलाई आयआर्जनको कामसँग जोड्न ड्राइभिङ तालिमको व्यवस्था गर्यौँ । किशोरी आत्मरक्षा तालिम गरेका छौँ । त्यस्तै, गाउँपालिकालाई यही वर्ष फागुनमा बालमैत्री घोषणा गरिसक्ने क्रममा रणनीतिक योजनासहित धेरै कुरा तयार गरिसकेका छौँ । मेरो कार्यकालमा भएका एकदम महत्त्वपूर्ण र उपलब्धिमूलक कामहरू यिनै हुन् ।
यस्ता उपलब्धि प्राप्त गर्न तपाईंले आफूलाई कसरी तयार गर्नुभयो ?
यो म एक्लैले आफूलाई तयारी गरी गर्नेभन्दा पनि सिङ्गो टिमले गर्ने काम हो । मलाई कार्यपालिकाका सबै टिमको सहयोग रह्यो । योजना बनाउने कुरामा हामी सबै लागेर छलफल गरेर अगाडि बढ्यौंँ ।
तपाईंले जे जसरी गरे पनि यस्ता उपलब्धिमूलक काम गर्नुपर्छ भन्ने तपाईंलाई किन लाग्यो ?
सङ्घीयतामा गइसकेपछि हामी नै निर्वाचित पहिलो स्थानीय सरकार हौँ । त्यसकारण जनतालाई हामीमाथि यिनले केही गर्छन् भन्ने आशा थियो । विकास निर्माणका कामलाई अगाडि बढाउने, हरेक वडालाई सडक सञ्जालसँग जोड्ने र थप पूर्वाधारहरूको विकास गर्नुपर्दछ भन्ने सोचाइले नै हामी काममा अग्रसर भइरह्यौँ । जनताको आशा र अपेक्षाका कारण नै हामीलाई जिम्मेवारी महसुस भइरह्यो ।
तपार्ईंले गर्नुभएका कामबाट स्थानीय नागरिकको जीवनमा के परिवर्तन भएको छ जस्तो लाग्छ ? कसैले तपाईंलाई केही भनेको पनि छ कि ?
स्थानीय सरकार आएपछि हरेक नागरिकमा सकारात्मक प्रभाव परेको छ । यति छोटो समयमा धेरै विकास निर्माणका काम भएका छन् । पहिलो कुरा, सडक सञ्जाललाई नै नागरिकहरूले हेर्दा रहेछन् । सबै वडा र बस्तीमा सडक सञ्जाल जोडिएकाले जनताको जीवनस्तरमा सुधार भएको छ । धेरै कामहरू भएको छ भनेर नागरिकहरूको कुरा सुनिन्छ ।

शिक्षामा सुधार भएको छ । विद्यार्थीहरूले राम्रो विद्यालयमा छात्रवृत्तिसहित पढ्न पाएका छन् । यो गाउँपालिका कृषिमा आधारित गाउँपालिका हो । यहाँका किसानहरूले कृषिमा अनुदान पाएका छन् । पालिकाको तर्फबाट स्वास्थ्य बिमा गराएका छौँ । सुत्केरी हुँदा महिलाहरूले पाउने सुत्केरी भत्ताबाट पौष्टिक आहार पाएका छन् । सामान्यतः मानिसहरू सन्तुष्ट त हुँदैनन् तर पनि यहाँका नागरिकहरूले वास्तवमा स्थानीय सरकार आएको महसुस भएको छ भनेर भन्ने गरेका छन् ।
नेतृत्वमा आउँदा तपाईंलाई केही कुराको डर थियो ?
सुरुमा हामी ठुलो जङ्गलमा छोडिएका यात्री जस्तै भयौँ । बाटो पत्ता लगाउन निकै गाह्रो भयो । सुरुमा पार्टीमा राजनीतिक सङ्गठन मात्रै थियौँ । महिलाहरूले नेतृत्व गर्दा कसरी गर्दछन् भन्ने पनि जनतामा थियो । कानुन र जिम्मेवारीमा पनि झमेला नै थियो । सङ्घ र प्रदेशमा काम गर्ने विषयमा अन्योल थियो । जनताका प्रतिनिधि भएर गइसकेपछि प्रतिनिधिकै रूपमा काम गर्नुपर्दछ भन्ने थियो । के कस्ता समस्या आउँछन् भन्ने जानकारी थिएन । आफूभित्र यस प्रकारको परिस्थितिबाट उत्पन्न डर थियो नै ।
अन्योलको परिस्थितिबाट आफूमा उत्पन्न डरलाई हटाउन तपाईंले के गर्नुभयो ?
अन्योल र डर हटाउनका लागि त समूहगत रूपमा छलफल गरेर काम गर्यौँ ।
स्थानीय सरकार प्रमुख भएर काम गर्दा बाधाअड्चन पनि आइपरे कि ?
मैले नेतृत्व गरेको यो कमल गाउँपालिका पूर्वमा कमल खोला र पश्चिममा रतुवा खोलाको बिचमा छ । सुरुमा निर्वाचित भएर पदभार ग्रहण गरेको केही समयपछि नै हामीले प्राकृतिक विपत्ति बेहोर्नुपर्यो । त्यसपश्चात् यो कार्यकालको सबैभन्दा ठुलो चुनौती कोरोना भाइरस भइदियो । कोभिड–१९ महामारी मुख्य चुनौतीको रूपमा खडा भयो । यसबाट जोगिन र नागरिकलाई जोगाउनका लागि के गर्ने भन्ने अन्योल थियो । सङ्घीय सरकारको केही सहयोग भएन । हामीसँग स्वास्थ्य सामग्रीहरू पर्याप्त थिएनन् । स्वास्थ्य चेकजाँच र उपचारका लागि मेसिन किन्नका लागि समन्वय गर्ने स्थान पनि थिएन । हामीलाई महामारी र जलजन्य विपत्को बाधा आइलागेको थियो ।
यी बाधा आउनुपछाडिका कारण के थिए जस्तो लाग्छ ?
यी बाधा आउनुपछाडिका कारण त महामारी र प्राकृतिक विपत् नै हुन् नि !
बाधा पन्छाउनलाई तपाईंले के कस्ता रणनीति लिनुभयो र त्यो सिप कसरी सिक्नुभयो ? केही उदाहरण भए त्यो पनि बताइदिनुस् न !
कोभिड–१९ महामारीबाट नागरिकलाई बचाउन विद्यालयहरूलाई क्वारेन्टाइनमा बदल्यौँ । नागरिकका घरदैलोमा पुग्यौँ र निरास नभई धैर्य गर्न र सङ्क्रमणप्रति सचेत रहेर महामारीसँग जुध्नका लागि हौसला दियौँ । त्यस बेला चाहिँ मलाई ठुलो चुनौती र जिम्मेवारी भएको महसुस भएको थियो । नागरिक समाज, दल, सङ्घसंस्थासँग हामीले आह्वान गर्यौँ । सहयोग माग्यौँ । हामी आफैँ अग्रसर भएर एकद्वार प्रणालीबाट पालिकामार्फत नागरिकहरूलाई राहत वितरण गर्यौँ । परेपछि विपत् र महामारीका विरुद्ध अरूहरू जे जसरी लागेका थिए, हामी पनि त्यसरी नै लागियो । सक्दो गरियो र गर्दागर्दै सिकियो पनि ।
निर्वाचित भएर आएपछि कसरी नेतृत्व गर्नुभयो ? तपाईंको नेतृत्व शैली कस्तो थियो ?
कसरी र कस्तो नेतृत्व भन्नुभन्दा पालिकाको बैठकमा जाँदा एजेन्डा के राख्ने, कसरी प्रस्तुत हुने, कुन विषयलाई कसरी उठाउने भन्ने हुन्छ । पालिकामा विकास निर्माणका कामहरू सरकारका कामहरूसँग जोडिएर गर्नुपर्दछ । त्यसकारण पालिकाको निर्णय, आवश्यकताको आधारमा नेतृत्व गर्नुपर्ने हुन्छ । त्यहीअनुसार मैले पालिकाबाट नेतृत्व दिएको छु ।
नेतृत्व गर्ने त्यो शैली तपाईंले कहाँबाट सिक्नुभएको थियो र कोबाट प्रेरित हुनुहुन्छ ?
म राजनीतिक पार्टीबाट आएको व्यक्ति हुँ । यसअघि २०६२ सालमा संविधानसभाको सदस्यमा उम्मेदवार पनि बनेको थिएँ । त्यसकारण पनि सङ्गठन कसरी सञ्चालन गर्ने भन्ने विषयमा बुझेको थिएँ । त्यसैले पनि मलाई सङ्गठन सहज तरिकाले चलाए जस्तो लाग्ने गर्दछ । म कोबाट प्रेरितभन्दा पनि यहाँको अहिलेसम्मको राजनीतिक माहोलबाटै प्रभावित हुँदै नेतृत्वमा आएको छु ।
नेतृत्वको यस्तो अभ्यासले तपाईंलाई आफ्नै बारेमा केही नयाँ कुरा पनि सिकायो कि ?
नयाँ कुरा त हिजो पार्टीमा एउटा सङ्गठनमा बसेर पार्टीको विधानअनुसार चल्नैपर्ने थियो । स्थानीय सरकारमा विकास निर्माण र आमजनतासँगको सरोकारको कुरा चाहिँ अलिक फरक अनुभव गरेँ मैले । संविधानमा टेकेर त्यसको परिधिभित्र रही आफैँ कानुन बनाएर जानुपर्ने भएकाले पनि धेरै नयाँ कुरा सिक्ने मौका पाएँ ।

शिक्षा र सहकारीमा धेरै समस्या रहेको मैले नयाँ अनुभव गरेँ । सहकारी संस्था प्रदेश र स्थानीय सरकारको मातहतमा रहने भएकाले तिनलाई कसरी व्यवस्थापन गरेर जाने भन्ने कुरा थियोे । हामीले शिक्षा र सहकारीका विज्ञहरूसँग छलफल गरेर समस्या र समाधानका पाटाहरू खोज्दै काम गर्यौँ । यी दुई क्षेत्रमा भने मैले धेरै कुरा बुझ्ने मौका पाएँ । आफ्नैबारेमा नयाँ कुरा त केही सिकेको र अहिलेसम्म सोचेको छैन भन्दा पनि हुन्छ ।
तपाईंको सिकाइको यो तौरतरिका र शैलीले सहकर्मीहरूलाई कस्तो प्रभाव पारेको होला ? केही उदाहरण छन् कि ?
मैले आफूले के महसुस गरेकी छु भने वास्तवमा हिजो महिलाहरूलाई घरबाट ननिस्कने भनेर बुझे पनि आज तिनै महिलालाई स्थानीय नेतृत्वमा देखेपछि आफ्नो घरभित्रका महिलाहरूलाई अगाडि बढाउने काम पुरुषहरूबाट भएको छ । पुरुषहरूले महिलाहरूलाई जिम्मेवारी दिएर अगाडि बढाउनुपर्दछ भन्ने आवाज पनि सुनिने गर्दछ । त्यसले वा भनौँ महिला नेतृत्वका कारण स्थानीय स्तरमा महिलाहरूलाई शिक्षा र सिप सिकेर आत्मनिर्भर हुने र आफूले पनि घरबाहिर निस्किएर कुनै न कुनै क्षेत्रमा उदाहरण बन्न सक्ने प्रेरणा मिलेको छ ।
तपाईंको नेतृत्वलाई अझै प्रभावकारी बनाउन अरू थप के कस्ता ज्ञान र सिप आफूमा भएको भए सहज हुन्थ्यो होला ?
नेतृत्वलाई थप प्रभावकारी बनाउन सङ्घ, प्रदेशहरूले समयमा नै ऐन, नियम, कार्यविधिको बारेमा जानकारी गराएको भए हुन्थ्यो । समयमा नै सबै कुराको जानकारी पाउन सकेको भए थप सहज मात्र होइन, प्रभावकारी पनि हुन्थ्यो होला जस्तो लाग्ने गर्दछ । अर्को कुरा, आफू आबद्ध रहेका पार्टीहरूले पनि पहिल्यै प्रशिक्षण, तालिम दिन सकेको भए नेतृत्वमा गइसकेपछि काम सुरु गर्नलाई अन्योल हुने थिएन बरु सहज हुन्थ्यो जस्तो लाग्दछ ।
तपाईंले मतदाताहरूसँग गर्नुभएको प्रतिबद्धता र परिकल्पनालाई पूरा गर्न सके जस्तो लाग्छ ?
घोषणापत्र हेर्दाखेरि ९५ प्रतिशत प्रतिबद्धता र परिकल्पनालाई पूरा गरे जस्तो लाग्दछ । हामीले प्रतिबद्धता जनाएको घोषणापत्रअनुसारका काम पूरा गर्यौँ भन्ने छ । हामीले तयार पारेका घोषणापत्रमा रहेका ९५ प्रतिशत प्रतिबद्धताहरूलाई पूरा गरेका छौंँ ।
पालिकावासीले तपाईंलाई जुन उत्साहका साथ जिताएका थिए, अहिले पनि त्यही उत्साहको भाव देखाउँछन् कि फरक महसुुस गरेका छन् जस्तो लाग्छ ?
सुरुमा त म कसरी बसेको छु र कसरी काम गरेको छु भनेर हेर्न आउने जनताहरू पनि हुनुहुन्थ्यो । महिलाहरू पनि रातबिरात खट्न सक्छन् र भन्ने थियो । सुरुमा उहाँहरूमा मलाई के भनेर सम्बोधन गर्ने भन्नेमा पनि अलमल थियो । कसैले ‘दिदी’, कसैले ‘म्याडम’, कसैले ‘सर’ भनेर सम्बोधन गर्नुहुन्थो । अहिले त मैले काम गरेको देख्दा महिलाहरूले पनि गर्न सक्ने रहेछन् भन्ने महसुस गर्नुभएको छ । राष्ट्रपति पनि महिला भएको कारणले स्थानीय तहमा महिला नेतृत्वप्रतिको दृष्टिकोणमा परिवर्तन भएको छ । महिलाहरू पारदर्शी र सुशासनमा अब्बल हुँदा रहेछन् भन्ने छाप अहिले आमनागरिकमा छ । महिला नेतृत्वलाई समाजले अपनत्व महसुस गरेको छ जस्तो मलाई लाग्छ ।
झापाको परिवेशमा स्थानीय सरकारको प्रमुखको भूमिकामा एक जना महिला निर्वाचित भएर नेतृत्व गर्नु भनेको के रहेछ जस्तो लाग्छ तपाईंलाई ?
महिला भएर स्थानीय सरकार प्रमुखको नेतृत्व गरिरहँदा वास्तवमा यहाँको सन्दर्भमा हेर्दाखेरि सदियौँदेखि समाजमा रहेको पितृसत्तात्मक सोच, जसमा महिलाहरू चाहिँ दोस्रो दर्जाकै हुन्छन् भन्ने थियो, त्यस्तो सोचलाई अहिले चुनौती दिएको छ जस्तो लाग्छ । नेतृत्वमा पुगेर महिलाहरूले पालिकाको मात्र नभई राष्ट्रको नै नेतृत्व गर्नु भनेको नेपालको महिला आन्दोलनको लागि यो एउटा ठुलो उपलब्धि हो जस्तो लाग्दछ ।
आफ्नै कार्यकालमा भएको कुन कुराले तपाईंलाई सबैभन्दा धेरै गर्व लागेको छ ?
आफ्नो कार्यकालमा भएको विकास निर्माणको कुराले नै मलाई गर्व लाग्दछ । आफ्नो नेतृत्वमा भएका पूर्वाधार निर्माणका कामले पनि सबैतिर गाडी कुद्ने भएका छन् । आफैँलाई हेर्दा यसमा गर्व लाग्दछ ।
अर्को, कोभिड–१९ महामारीको समयमा आफ्ना नागरिकलाई सुरक्षित राख्न सकियो । जनताले पनि त्यति बेला हो, स्थानीय सरकार भएको महसुस गरेको । यसमा मलाई खुसी लागेको छ । महामारीको बिचमा पनि कामलाई अघि बढाएर आफ्ना योजना र परिकल्पनालाई पूरा गर्न सकेकोमा गर्व महसुस हुने गर्दछ ।
स्थानीय सरकार प्रमुख हुँदा तपाईंलाई पार्टी, सहकर्मी, घरपरिवार, साथीभाइ, छिमेकी र पालिकावासीले के कस्तो सहयोग गरिदिए नेतृत्व गर्न अझ सहज हुने थियो जस्तो लागेको छ ?
यसबारेमा अघि पनि केही भनेँ । पार्टीले पहिल्यै पालिकामा जितिसकेपछि यसरी यसरी नेतृत्वको सुरुवात गर्ने, कार्यभार सम्हाल्ने भनेर प्रशिक्षण, तालिम दिइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लागेको हो । अरूबाट त सक्दो सहयोग पाएकै छु जस्तो लाग्छ ।
अब निर्वाचित भएर स्थानीय सरकारको नेतृत्वमा आउने महिला जनप्रतिनिधि र पुरुष जनप्रतिनिधिका लागि मुख्य पाँच वटा के के सुझाव दिन चाहनुहुन्छ ?
पहिलो, अहिले स्थानीय तहमा न्यायिक समितिको अधिकार दिइएको छ । उपप्रमुख महिला भएका कारणले मेलमिलाप गराउने क्रममा महिलाहरूले दुःख पाएर अदालतसम्म जानुपर्यो । यसमा अझै पनि कानुनको अस्पष्टता छ । विज्ञहरू नभएका कारणले समस्या भएको छ । यसलाई समाधान गर्न अब कानुनी ज्ञान भएका वकिलहरूलाई पालिकामा राख्न आवश्यक छ । दोस्रो, कर्मचारीहरू पर्याप्त मात्रामा राख्न जनप्रतिनिधिहरूले पहल गर्नुपर्दछ । तेस्रो, अबका जनप्रतिनिधिले विकास निर्माणका कामभन्दा पनि मानव संशाधन विकासका निम्ति योजनाहरू बनाउन पर्दछ । चौथो, समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि अबका जनप्रतिनिधि त्यो दिशातिर अगाडि बढ्न सक्नुपर्दछ । पाँचौँ, महिला नेतृत्व स्थापित गर्ने क्रममा सकारात्मक भूमिका खेल्न पनि आवश्यक छ ।
आफ्नो कार्यकालमै यसरी पछाडि फर्केर हेरिरहँदा तपाईंलाई कस्तो महसुस भइरहेको छ ?
सङ्घीयतालाई स्थानीय तहबाट संस्थागत गर्ने पहिलो जिम्मेवारी हाम्रो रह्यो । सुरुमा वडा कार्यालयको अभाव थियो । यहाँका सातवटै वडामा कार्यालय सँगसँगै कर्मचारीको व्यवस्था गर्नुपर्ने थियो । हामी निर्वाचित भएर आउँदा हाइवे मात्रै कालोपत्रे थियो । पालिकामा भएका दुई वटा विद्यालयमा पनि शिक्षाको गुणस्तर खस्किएको थियो । हामी निर्वाचित हुँदा विद्यालयका पक्की भवन थिएनन् । पानी चुहिने भइसकेका टिनका छानामुनि विद्यालय चलिरहेका थिए । डेस्क र बेन्चको पनि अभाव थियो । यस्ता कुरामा हामीले काम गर्यौँ ।

अहिले महिला नेतृत्वले पनि राम्रो काम गर्न सक्ने रहेछ भन्ने छाप आमनागरिकमा परिसकेको छ । उहाँहरूलाई महिलाहरूले नेतृत्व गरेको काम राम्रो, पारदर्शी र सुशासन हुँदोरहेछ भन्ने आभास भयो । यसमा म खुसी छु । गर्व लागेको कुरा त अघि पनि भनिसकेँ । अवसर पाए महिलाले पुरुषले भन्दा राम्रोसँग सुशासन र पारदर्शिताका साथ पालिका चलाउन सक्छन् । यसरी नै मैले चुनावका बेला गरेका लगभग सबै प्रतिबद्धतालाई पूरा गर्न सकेकोमा पनि खुसी छु ।
अरू केही भन्न मन लागेको छ ?
महिला नेतृत्व स्थापित गर्ने क्रममा आफू पालिका प्रमुख भएर काम गरिरहँदा हामीभन्दा पछि आउने महिलाहरूलाई सहज होस् । महिलाले प्रमुख भएर काम गर्न सक्दैनन् भन्ने सन्देश नजाओस् । महिलाहरूले नेतृत्व सम्हाल्दा सुशासन र पारदर्शिता वृद्धि हुन्छ भन्ने एउटा सन्देश दिन सकियोस् । आगामी दिनमा महिला नेतृत्वले यही ढङ्गमा नेतृत्व गर्नसके थुप्रै महिलाहरू, जो विभिन्न क्षेत्रमा कार्यरत हुनुहुन्छ, उहाँहरू पनि आ–आफ्ना क्षेत्रको नेतृत्वमा आउन सक्नुहुनेछ ।
मैले द स्टोरी किचेनले तयार गरेको निर्देशिकाका आधारमा तपाईंलाई केही प्रश्न गरेँ । यसरी कुराकानी गर्दा तपाईंलाई कस्तो अनुभव भयो ?
ठिकै छ ।
प्रकाशन मिति : २०८१ माघ १० गते, बिहीवार
पालिकाका सारथी महिलाहरूका थप कथाहरू
- उत्तरदायी र जवाफदेही प्रतिनिधित्वको अभ्यासमा
- सडक र विद्युत् नै थिएन तर अहिले भयो
- अविश्वास र विभेदको जगमा कोटाको राजनीतिक पिरलो
- आफू जस्तै युवाका समूहहरूसँग बढी घुलमिल भएँ
- विभेद र अपमानको बोझ कार्यस्थलमा पनि थोपरिँदा
- धेरै त कुरै नबुझेर बाधा गर्न आउने हो कि जस्तो लाग्छ
- नयाँ संरचनाको थालनी गर्दाका केही भोगाइ र सिकाइ
- महिला भएरै नजानेको भन्ठान्नेहरूले मलाई पनि लैङ्गिक विभेद गरे
- मतदाताको मतलाई कदर गर्ने गरी नेतृत्व शैली अपनाएँ
- चितवनमा महिला जनप्रतिनिधिले गरेका अनुभव र उत्कृष्ट काम
- पालिका बनाउनलाई मेरो आफ्नै योजना थियो
- स्थानीय स्रोतसाधनमा मुस्लिम महिलाको पनि पहुँच र पकड
- अनुशासनमा रहेर थुप्रै काम महिला नेतृत्वले गर्न सक्छ
- जानियो, बुझियो र सकेसम्म राम्रै गरियो
- निष्ठापूर्वक काम गरे सफल भइँदो रहेछ
- विषम परिस्थितिमा पनि केही सकारात्मक काम
- कोही कसैबाट प्रेरित नभई काम गर्दै नेतृत्व गर्न सिकेँ
- गुणस्तर, जवाफदेहिता र पारदर्शिता बढाउन सफल