सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान
‘हनी’ नामले आफूलाई चिनाउन चाहने दिपक महर्जन तेस्रोलिङ्गी महिला हुनुहुन्छ । उहाँ सभ्य समाज नेपालका संस्थापक र सचिव हुनुहुन्छ । उहाँका अनुसार, सो संस्था लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अभिभावक मिलेर खोलिएको हो ।
हनी (दिपक) ले सभ्य समाज नेपालको सचिवको जिम्मेवारी सम्हाल्दै गर्दा नगरप्रमुख पदको लागि उपनिर्वाचनमा उम्मेदवारी पनि दिनुभयो । यही २०८१ मङ्सिर १६ गते देशका ४४ वटा स्थानमा उपनिर्वाचन हुँदै गर्दा उहाँले काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएको हो । कीर्तिपुरमै २०३६ सालमा जन्मिएको बताउने उहाँ कीर्तिपुर नगरपालिका वडा नम्बर ३, कोछेंका स्थायी बासिन्दा हुनुहुन्छ । कोछेंलाई नेपाल भाषामा ‘चाफ्ल’ भनिन्छ ।
हनी (दिपक) क्रुसेड नेपाल (Crusaid Nepal) नामक संस्थाको पनि अध्यक्ष हुनुहुन्थ्यो । उहाँका अनुसार, सो संस्था ‘एलजिबिटिआइक्यु’ अभिभावक र उनीहरूका सन्तानलाई पर्ने समस्या तथा उनीहरूलाई गरिने ‘बुलिङ र ह्यारेसमेन्ट’ का विरुद्ध काम गर्नका लागि खोलिएको हो । उहाँको विचारमा कसैले कतै पनि हिंसा सहेर हुँदैन, हिंसा गर्नेका विरुद्ध लड्न सक्ने भएर अगाडि निस्कन पनि जरुरी छ ।
महिला र पुरुष बाहेकको लैङ्गिक पहिचान भएकाहरूले खुलेर बोल्ने माहोल नेपालमा अझै बनिसकेको छैन । त्यस्तो माहोल हुनका लागि पारिवारिक अर्थात् भित्री साथ र हिम्मत सबैभन्दा महत्त्वपूर्ण हुन्छ भन्दै स्थानीय राजनीतितिरको आफ्नो झुकावका सम्बन्धमा हनी (दिपक) ले भन्नुभयो, “श्रीमतीको सहयोगले नै मेयर पदमा उम्मेदवारी दिन हौसला बढेको हो ।” जनता समाजवादी पार्टी नेपाल (जसपा) का तर्फबाट उहाँ उम्मेदवार बन्नुभयो ।
अहिले लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने विश्वव्यापी अभियान पनि चलिरहेको छ । हनी (दिपक) सँग उम्मेदवारीसँगै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार र यस समुदायले भोग्दै आएका हिंसाका विषयमा २०८१ मङ्सिर दोस्रो साता कुराकानी गरिएको थियो । प्रस्तुत छ, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका क्षेत्रमा क्रियाशील हनी अर्थात् दिपक महर्जनसँग ‘सन्धान’ का तर्फबाट प्रणेताले गर्नुभएको सोही कुराकानीको अंश :
आफ्नो लैङ्गिक पहिचानसहित परिचय दिनुहुन्छ कि ?
म आफूलाई तेस्रोलिङ्गी महिला हनी महर्जन भनेर चिनाउन चाहन्छु । मेरो नागरिकतामा नाम दिपक महर्जन छ, तर दिपकभन्दा केहीमा नअटेको जस्तो, अर्कै दुनियाँमा छु कि जस्तो ‘फिल’ हुन्छ । ‘हनी’ भन्दा मलाई आफ्नो वास्तविक नाम र वास्तविक रूप झल्किएको अनुभूति हुन्छ, राम्रो लाग्छ । यो १८/१९ वर्षअघि मलाई मेरो साथीहरूले ‘तपाईं एकदम राम्रो हुनुहुुन्छ, सबैलाई राम्रो गर्ने, सोचविचार पनि राम्रो छ, त्यसैले हामी तपाईंलाई हनी नाम राख्छौँ’ भनेर राखिदिनुभएको हो ।
नागरिकता चाहिँ पहिल्यै लिएको हुनाले नागरिकतामा दिपक महर्जन नै छ । निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्दा तेस्रोलिङ्गीहरूलाई छुट छ कि भनेर सोधेँ । आयोगमा कीर्तिपुरको ४ नम्बर वडाबाट वडाध्यक्षको उम्मेदवार तेस्रोलिङ्गी महिला मौनी (नागरिकताको नाम राजीव महर्जन) जी र मैले नागरिकतामा ‘पुरुष’ लेखे पनि हामी वास्तविक रूपमा तेस्रोलिङ्गी हौँ । हामीलाई कतैबाट पनि तेस्रोलिङ्गी भनेर परिचयपत्र नदिइएको र नस्विकारेकाले हामीलाई गाह्रो भएको बतायौँ । यसपछि आयोगमा उम्मेदवारी दिँदा लाग्ने मनोनयन दर्ता शुल्कमा ‘यो समुदायका लागि ५० प्रतिशत छुट छ’ भन्नुभयो । अनि हामीले मेयरको लागि मनोनयन दर्ता गर्दा अरूलाई भन्दा आधा शुल्क एक हजार पाँच सयको आधा ७५० रुपैयाँ मैले तिरेँ भने वडाध्यक्षको उम्मेदवार मौनीले एक हजारमा पाँच सय रुपैयाँ तिरेर दर्ता गर्न पायौँ ।
तपाईंले आफूलाई तेस्रोलिङ्गी महिला हुँ भनेर कहिले चिनाउनुभयो ?
मैले तीन/चार वर्षअघि मात्र आफ्नो परिचय परिवारसँग खुलाएँ । समाजको अगाडि महिला भए पनि पुरुष भएरै देखाउनुपर्ने बाध्यता छ । १३ वर्षको उमेरमा आफूलाई परिपक्व भएको लाग्थ्यो । त्यो बेला कीर्तिपुरमा हुने गाईजात्रा, कृष्ण जन्माष्टमीमा महिलाको भेषमा म जान्थेँ । खुल्नको लागि सबैभन्दा पहिला घरभित्रै प्रोत्साहन र हिम्मत चाहिन्छ । मलाई आफ्नो अधिकारको लागि आफ्नो वास्तविक रूप र वास्तविक लैङ्गिक पहिचान के हो भनेर खुल्न मेरो श्रीमतीले पनि ‘सपोर्ट’ गर्नुभयो । उहाँले मेरो मर्म बुझेर गरेको सपोर्टले अहिले तेस्रोलिङ्गी महिला भनेर चुनाव उठेको छु । मेरो श्रीमती जस्तो मान्छे पाउने म एकदमै भाग्यमानी हुँ । मेरो दुई छोराले पनि मलाई सपोर्ट गर्छन् । जेठो १४ वर्ष र कान्छो नौ वर्षका छन् ।
मेयर पदमा तपाईंको उम्मेदवारी किन दिनुभयो ?
अहिले हामी जस्ता तेस्रोलिङ्गीहरू धेरै भए पनि आफ्नो समाज, छिमेकी, आफ्ना नातेदारको कारण उनीहरू लुकेर बसेका छन् । नलुक्नका लागि, अधिकार दिलाउनका लागि र सबै नागरिकको अधिकार एकै हो भनेर उनीहरूलाई हिम्मत दिनको लागि म अगाडि आएको हुँ । आगामी चुनावमा समुदायका साथीहरूलाई उम्मेदवारी दिन प्रेरणा मिलोस् भनेर पनि हो । म तेस्रोलिङ्गी महिला भनेर पत्रकार सम्मेलन गरेर नगरपालिकाको मेयरको उम्मेदवार भनेर घोषणा गर्दा आफूप्रति गर्व महसुस गरेँ । म जितेँ भने सबै समूहका लागि राम्रो काम गर्न सकूँ भन्ने छ । आफ्नो हक र आधारभूत मानवअधिकारबाट वञ्चित हुन नपरोस् भनेर सबैको अधिकार सुनिश्चित गर्नुपर्ने छ । यसैका लागि मेयरमा उम्मेदवारी दिएकी हुँ ।
उम्मेदवारी दर्ता गर्दा भरिने फारम कस्तो रहेछ, के लेख्नुभयो ?
फारममा नाम दिपक महर्जन (हनी), वर्ग आदिवासी जनजाति र लिङ्ग महिला उल्लेख गरेको छु । मेरो नागरिकतामा लिङ्ग पुरुष छ तर मैले फारममा महिला राखेको छु । पार्टीले दिएको पत्रमा दिपक महर्जन (तेस्रोलिङ्गी) उल्लेख छ ।
कीर्तिपुरवासीको लागि के सोच्नुभएको छ त ? तपाईंको घोषणापत्रमा के छ ?
सर्वप्रथम कीर्तिपुरवासीलाई मैले रोजगारीको व्यवस्था गर्नेछु । त्यसैगरी, महिला, सीमान्तकृत महिला, आदिवासी तथा जनजाति, दलितका साथै हामीजस्ता अल्पसङ्ख्यकको अधिकारलाई सुनिश्चित गरी, वृद्धवृद्धाहरूलाई घरदैलो कार्यक्रम गरेर अभिलेख राख्ने काम गर्छु । यसैगरी, टोलटोलमा ६५ वर्ष कट्नुभएका वृद्धवृद्धा कति हुनुहुन्छ, उहाँहरूको स्वास्थ्य स्थिति के छ भनेर हेर्न हरेक हप्ता स्वास्थ्य स्वयंसेवक खटाउने र समस्या भएकाहरूलाई घरदैलोमार्फत कम्तीमा सिटामोल पुर्याउन सकियोस् भनेर काम गर्नेछु । हामी लैङ्गिक पहिचान लुकाएर बस्यौँ भने अधिकारबाट वञ्चित हुनुपर्छ । त्यसकारण लुकेर बसेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई अगाडि बढाएर अरू जनजाति, दलितहरूलाई पनि अगाडि ल्याउने काम गर्नुपर्ने छ । यसैगरी, कीर्तिपुरको वातावरणलाई हरियो/हरियाली बनाउने योजना पनि छ । काठमाडौँ (महानगर) नजिकै कीर्तिपुर छ । पुरातात्त्विक र विश्वसामु चिनिएको कीर्तिपुर सहरलाई काठमाडौँसँग जोड्ने, बाटो राम्रो बनाउने, यहाँ भएका ढल निकासको उचित व्यवस्थापन, गोरेटो बाटो राम्रो नभएकाले असार साउनका बेला मान्छेहरू चिप्लिएर लडिराख्न परेको छ । ती बाटाहरू पनि राम्रो बनाउने छु । मठमन्दिर जस्ता धार्मिक एवं सांस्कृतिक सम्पदालाई जगेर्ना गर्दै लाने भन्ने योजनासहित निर्वाचनमा उठेको हुँ । कक्षा १२ पास भएकालाई विनाब्याजमा ऋण उपलब्ध गराउनेलगायत थुप्रै योजना छन् ।
तपाईंको समुदायका साथी र घरदैलो कार्यक्रममा कस्तो प्रतिक्रिया पाउनुभएको छ ? जनताले भोट दिएर जिताउलान् तपाईंलाई ?
एकदमै राम्रो प्रश्न गर्नुभयो । नेपालमा तेस्रोलिङ्गी समुदायबाट स्थानीय तह प्रमुख (मेयर) को रूपमा पहिलोपल्ट उम्मेदवारी दिएको हुनाले एकदमै राम्रो प्रतिक्रिया पाएको छु । टोलवासीको तर्फबाट पनि सहयोगको आश्वासन पाएको छु । हाम्रो समुदायको व्यक्तिहरूले पनि फोनमार्फत शुभकामना दिनुभयो । उहाँहरूले तपाईंले आँट गरेर तेस्रोलिङ्गी भनेर खुलेर उम्मेदवारी दिनुभयो । हामीसँग आँट छैन, यसैकारण हामी जस्ता धेरै एलजिबिटिआइक्यु अभिभावक र बच्चाहरू लुकिरहन परेको छ । तपाईं विजयी हुनुहोला, मनले चिताएको पुगोस् भन्दै शुभकामना दिनेहरू धेरै हुनुहुन्छ । हामी घरदैलोमा पुगिरहँदा अभियन्ता तथा पारलैङ्गिक महिला मधु केसीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको भावना निःस्वार्थ हुने भन्दै भोट खेर जान नदिने भन्दै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यहाँका वृद्धवृद्धाहरूले पनि ‘पूर्वनिर्वाचित नेताहरूले काम गर्ने आशा देखाएर काम नगरेको’ भन्दै ‘तपाईंले राम्रो काम गर्नू, हामीलाई हेर्नू, छिमेकी पनि हौँ, हामी भोट दिन्छौँ, राम्रो काम गरेर देखाउनुपर्छ’ भन्नुभएको छ । त्यसकारण थप हौसला मिलेको छ । त्यसैले यहाँको मतदाताहरूले मलाई जिताउनुहुन्छ भन्ने आशा छ । त्यही भएर यतिखेर यो काम गर्नैैपर्छ भन्ने सङ्कल्प र आँट लिएर जनताको दैलोमा मत माग्दै हिँडिरहेको छु । उहाँहरूले भोट दिने आश्वासन दिनुभएको छ ।
जसपा पार्टीले तपाईंलाई उम्मेदवार छानेको हो कि, तपाईंले उम्मेदवारीका लागि पार्टी छान्नुभएको ?
जसपाले राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिताका लागि यो समुदायका व्यक्तिहरूलाई अघि सारेको त सुन्नुभएकै होला । पार्टी नेतृत्वले पनि ‘तपाईंहरूका लागि कोटा छ, हामी राख्छौँ र सहयोग गर्छौं’ भन्नुभयो । त्यसपछि उम्मेदवारी दिन लगाउनुभयो । ‘मायाको पहिचान’ नामक संस्थाबाट सुरेन्द्र (समलिङ्गी सुरेन्द्र पाण्डे) ले फोन गरेर मलाई ‘मेयरबाट लड्न सक्नुहुन्छ ?’ भनेर सोध्नुभयो । मैले ‘किन नसक्नु ?’ भनेँ र लडेँ ।
अहिले लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान पनि चलिरहेको छ, यो समुदायमाथि परिवार, समाज र राज्यबाटै विभिन्न खालको हिंसा भइरहेको भनिन्छ । कस्ता कस्ता हिंसा छन् ? भन्दिनुस् न !
विभिन्न थरिका हिंसा हाम्रो समुदायले भोगिरहेको छ । तेस्रोलिङ्गी भएकै कारण मानसिक हिंसाको सिकार बढी भएका छन् । अरू पनि विभेद र हिंसा छन् । रोजगारीका क्षेत्रमा पनि हिंसा हुन्छ । यो समुदायका मानिस भनेर समयमा पारिश्रमिक नदिने, धेरै ठाउँमा देख्नेबित्तिकै नराम्रो व्यवहार गर्ने घटना भइरहेका छन् । सबैभन्दा पहिला त आफ्नै परिवारबाटै हिंसा सुरु हुन्छ । यसै समुदायको मेरो एक जना साथीले केटीको लुगा लगाएर हिँड्यो भनेर घरमा झगडा पर्यो । मैले ‘त्यस्ता समस्या छ भने हामी घरमा आएर सम्झाउँछौँ’ भन्दा उहाँले ‘घरपरिवारसँगको सम्बन्ध बिग्रिन्छ’ भन्नुभयो । अनि ‘अब म घरमै बस्नुपर्छ, म के गरम्, कसो गरम् ?’ भन्नुहुन्छ । हिंसामुक्त गरौँ भने पनि हुन सकिरहेको छैन ।
तेस्रोलिङ्गीको पहिचानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि क्रियाशील हुनुभयो, यस समुदायका व्यक्तिमाथि हुने विविध खालका हिंसा अन्त्यका लागि कसले के गर्नुपर्छ ?
हिंसाविरुद्धको अभियानलाई सोह्रदिने अभियानमा मात्र सीमित नगरी नागरिकको सम्मानजनक हक प्राप्तिका लागि संविधान र कानुनका प्रावधानहरू कार्यान्वयन हुनुपर्छ । यसका लागि मुख्यतः यही समुदायका व्यक्तिहरू अगाडि आएर आफ्नो अधिकारका लागि बोल्नुपर्छ, परिवारमा बोल्नुपर्छ । अनि सबै मिलेर हिंसा कम गर्ने उपायको खोजी गर्नुपर्छ । आफूमाथि हुने हिंसा नसहने, हिंसा भइहाले कानुनी उपचार खोज्ने र आफूले पनि हिंसा गर्नेका विरुद्ध लड्न सक्ने भएर अगाडि निस्किनुपर्छ ।
प्रकाशन मिति : २०८१ मंसिर १३ गते, बिहीवार
याे पनि पढ्नुहाेस्
- अटिजम अवस्थाकी छोरीका आमालाई बढी पिर
- रोकौँ अपाङ्गता भएका महिलामाथिका हिंसा र जोखिम
- बल्ल बुझ्दैछन् सहरी महिलाले आफूमाथिको हिंसा (भिडियो सहित) –महेश्वरी विष्ट
- लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान सुरु
- राजधानीमा पढेलेखेकै परिवारले महिलालाई स्वतन्त्र हुन दिएका छैनन् (भिडियोसहित) – मञ्जली शाक्य (बज्राचार्य)
- आफ्नो हिंसा लुकाएर अरूलाई सहयोग गर्छौँ – श्याम साह (भिडियो सहित)
- हिंसाविरुद्ध अभियानको पुनरावलोकन जरुरी (भिडियो सहित)
- लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान शुरु (भिडियाे/फोटो फिचर)