Home Stories सिलाइकटाइ सिपबाटै थप रोजगारी सिर्जनातिर

सिलाइकटाइ सिपबाटै थप रोजगारी सिर्जनातिर

391
0

– कल्याणी घिसिङ, उद्यमी

झन्डै तीन दशकअघि सिलाइकटाइ उद्यममा लागेकी सिन्धुपाल्चोककी कल्याणी घिसिङले बाह्रबिसेमा गार्मेन्ट उद्योग पनि सञ्चालन गर्दै आउनुभएको छ । उहाँले २०४९ सालमा पहिलो पटक सिलाइकटाइ सिकेको र २०५२ सालमा पर्साको वीरगन्जमा गएर सिलाइकटाइमै व्यावसायिक काम सुरु गरेको बताउनुभयो । आफूले प्रशिक्षार्थीलाई सिपसँगै स्वरोजगारका उपायहरू पनि सिकाउनुपर्छ भनेर काम गर्दै आएको बताउने उहाँले बाह्रबिसेको गार्मेन्टमा पनि चलेको बेलामा एक/डेढ सय जनासम्मलाई काम दिएको दाबी गर्नुभयो । आफूलाई रोजगारदाताको रूपमा पनि चिनाउन चाहने उहाँ सिन्धुपाल्चोकमा विज्ञ प्रशिक्षकको रूपमा पनि परिचित हुन सक्नुभयो । उहाँले हालसम्म झन्डै तीन हजार जनालाई सिलाइकटाइ तथा गार्मेन्टसँग सम्बन्धित सामग्रीहरू सिलाउने र बनाउने तालिम दिइसकेको पनि बताउनुभयो ।

कल्याणीका अनुसार, लामो समय सिलाइकटाइको कामसँगै प्रशिक्षणमा बिताइसकेपछि अझ ठुलो रूपमा काम गर्ने सोच आयो । आफूसँग तालिम लिइसकेका महिला काम खोज्दै आफूकहाँ आउँदा उहाँ सोचमग्न हुनुभयो र सिलाइकटाइ (टेलरिङ) ले मात्र सबैलाई रोजगारी नपुग्ने देखिसकेपछि गार्मेन्टको काम पनि गर्नुपर्छ भन्ने निचोडमा पुग्नुभयो । गार्मेन्टअन्तर्गत सामान्य कपडाबाट कुर्ता, सुरुवाल, चोलो, ब्लाउज आदि सिलाउने कामभन्दा फरक सर्ट, स्वेटर, टिसर्ट, ट्र्याकसुट, ज्याकेट, जुत्ता, विद्यालय तथा कलेजका विद्यार्थीको पोसाकका लागि टाइ, बेल्टसमेत बनाइन्छ ।

गार्मेन्ट खोल्ने निचोडमा पुगेसँगै कल्याणीले सबैभन्दा पहिला गार्मेन्टका सामान उत्पादन गर्ने सिपसम्बन्धी तीनमहिने तालिम लिनुभयो । उद्यमी महिलाको रूपमा परिचित भएकै कारण आफूलाई टेलरिङबाट गार्मेन्ट उद्यमी बनाउनमा नेपालस्थित अस्ट्रेलियाली दूतावासले केही सहयोग गरेको उहाँ सम्झनुहुन्छ । गार्मेन्टका उत्पादन सुरु गर्न लागेपछि उहाँले आफ्नै गाउँ र जिल्लाका विद्यालय तथा कलेजहरूमा सम्पर्क गरी काम लिन थाल्नुभयो । उहाँले भन्नुभयो, “यो बाह्रबिसे नगरपालिकाभरिका स्कुलहरूले जुत्ता, टाइ, बेल्ट, सर्ट, पाइन्ट, कोट, स्वेटर, ब्याग, ट्रयाकसुट, जुत्ता आदि बनाउने काम दिए पनि कम्तीमा पाँच वटा गार्मेन्ट चल्छ ।”

महिलाहरूका लागि रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसमेत आफ्नो प्राथमिकतामा रहेको बताउने कल्याणीले गुडिया, सजाउने खालका फूलहरू, फाइबरको झोलासँगै विभिन्न जातजातिका परम्परागत पोसाक तयारीको काम पनि गर्दै आउनुभएको छ । उहाँले यो पनि भन्नुभयो, “यो बाह्रबिसे बजारमा सिलाइ पसल खोल्ने सबै दिदीबहिनी मेरैमा सिकेर जानुभएको हो । कसैले आफैँ टेलरिङ खोल्नुभएको छ, कति अरूकोमा काम गर्नुहुन्छ ।” यसरी बजारभरि आफ्नै प्रशिक्षार्थीले काम गरेको, कोही प्रशिक्षक पनि भएको र कतिले अरूलाई रोजगारी दिएको देख्दा आफूलाई गर्व लाग्ने उहाँले बताउनुभयो ।

सिलाइकटाइ तथा गार्मेन्टका बारेमा नगरपालिका, घरेलु लघु उद्यम विकास समिति, उद्योग वाणिज्य सङ्घ जस्ता सङ्घसंस्थाले दिने तालिममा आफूलाई नै प्रशिक्षकका रूपमा बोलाउने गरेको कल्याणीको भनाइ थियो । सरकारले उद्यमशीलता प्रवर्धन र उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याइदिए मासिक ३० देखि ५० हजार रुपैयाँसम्म त नेपालमै कमाइने दाबी पनि उहाँले गर्नुभयो । प्रत्येक पालिकाले आफ्ना कर्मचारी र पालिकाभरिका विद्यार्थीहरूले लगाउने पोसाक आफ्नै हुनुपर्ने, सबैलाई नेपालकै उत्पादन प्रयोग गर्न सचेत गराउने, बढी भएका उत्पादित सामानहरूको बजारीकरण गर्ने जस्ता नीति पालिकादेखि अन्य तहका सरकारले लिनुपर्नेमा पनि उहाँको जोड रह्यो ।

करिब अढाइ दशकको उद्यमशील र व्यावसायिक जीवनका सुरुवाती दिनमा कल्याणीले केही तीता र अमिला अनुभव पनि गर्नुर्‍यो । ती अनुभव सिलाइकटाइ पेसालाई ‘गर्ने काम नै होइन’ भन्ने आमसोचाइसँग सम्बन्धित थिए । सन्धान टोली २०८० असोजको अन्तिम साता सिन्धुपाल्चोक पुगेको बेला उहाँ बाह्रबिसे बजारस्थित उहाँकै गार्मेन्ट कार्यालयमा भेटिनुभएको थियो । प्रस्तुत छ, त्यसै बेला उद्यमी व्यवसायी कल्याणी घिसिङसँग क्यामेरामा मुकुन्द बोगटीको साथमा लक्ष्मी बस्नेतले गर्नुभएको कुराकानीको भिडियो अंश :

प्रकाशन मिति : २०८१ साउन २३ गते, बुधबार

याे पनि पढ्नुहाेस्