Home Photo Feature परालमा सिप जोडेर आयआर्जन गर्दै महिला (फोटो फिचर)

परालमा सिप जोडेर आयआर्जन गर्दै महिला (फोटो फिचर)

685
0

सानागाउँका हरेक चोक र गल्लीमा महिलाहरू अहिले जाडो यामको घाम ताप्दै सुकुल बुनिरहेका भेटिन्छन् । ललितपुर जिल्लाको महाङ्काल नगरपालिका वडा नम्बर ६ मा रहेको यस गाउँका महिलाले परालको सुकुल मात्र होइन, चकटी, जुत्ता, मुढा आदि पनि बुन्ने गर्छन् । यो उनीहरूको पहिचान झल्काउने परम्परागत सिपमूलक पेसा हो । यसैलाई प्रयोग गरेर सानागाउँका कतिपय महिलाले आयआर्जन पनि गरिरहेका छन् । स्थानीय कृषिजन्य कच्चा पदार्थमा उनीहरूले परम्परागत सिपलाई जोडेका छन् । त्यसैलाई आम्दानीको स्रोत पनि बनाइरहेका छन् ।

हरेक वर्ष मङ्सिरमा धान भित्र्याएपछि चोक र गल्लीहरूमा साथीसङ्गीसँग सुखदुःखका गफ गर्दै परालको सुकुल बुन्ने काम सानागाउँको पहिचान जोडिएको पुरानो परम्परा हो । त्यही परम्परालाई निरन्तरता दिँदै आएका महिलामध्येकी एक हुनुहुन्छ, तुयुचा महर्जन । उहाँ आफूलाई आवश्यक पर्ने खर्चको जोहो गर्न हरेक दिन न्यानो घाममा बसेर सुकुल बुन्ने गर्नुहुन्छ । आफ्नो उमेर थाहा नभएको बताउने उहाँ परिपक्व देखिनुहुन्छ । “म कति वर्ष भएँ थाहा छैन,” भन्नुहुन्छ, “सानैदेखि सुकुल बुन्न थालेको हो ।” सुकुल बुन्ने सिपसँगको उहाँको सम्बन्ध भने सानै उमेरदेखिको रहेछ ।

सुकुल आदि बुन्नलाई सानागाउँका कुनै महिलालाई पनि उमेरले छेकेको देखिँदैन । ज्येष्ठ नागरिक भत्ता लिँदै आएकी पुतली महर्जन पनि यो काम गर्नुहुन्छ । उहाँलाई आफ्नो उमेरको ख्याल छैन तर सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाए पनि आफूले सकुन्जेल काम गर्नुपर्छ भन्ने मान्यता उहाँको छ । घरको कामबाट फुर्सद पाउनासाथ आफूले चोकमा गएर सुकुल बुन्ने गरेको उहाँ बताउनुहुन्छ । यसरी आफूले बनाएका पराले सुकुल, चकटी, जुत्ता आदिलाई उहाँले ग्राहक पाए बेच्नु पनि हुन्छ ।

त्यसो त पाका पुस्ताका महिलाहरू आफूले बसिबियाँलो गर्दै श्रम र सिप लगाएर उत्पादन गरेको पराले सामानलाई मूल्य तोकेर आम्दानीसँग जोड्न चाहँदैनन् । कोही किन्न आए बेच्छन्, नत्र आफैँ लगाएर काम चलाउँछन् ।

परालका सामानहरू बनाउने सिपको काममा महिलाहरू बढी संलग्न छन् । पुरुषहरूको रचनात्मक संलग्नताको कमीका कारणले अधिकांश परिवारका महिलाको सिप र श्रम भने परम्परा धान्नमै सीमित रहेको देखिन्छ ।

सिकाइन्छ पनि सिप

पछिल्ला पुस्ताका केही महिलाले भने परालबाट बनाइने सुकुल, चकटी, जुत्ता आदिलाई आधुनिकता र बजारको मागसँग जोडेर राम्रो आम्दानीको स्रोत बनाइरहेको पाइन्छ । उनीहरूले व्यावसायिक दृष्टिले नयाँ नयाँ डिजाइनका पराले सामग्री बनाउने काम सिक्न चाहनेहरूलाई सिकाउने पनि गरिरहेका छन् । यस्ता काम सिकाउनेमध्येकी एक हुनुहुन्छ, प्रेममाया महर्जन ।

प्रशिक्षक प्रेममायाका अनुसार, हिजोआज परालबाट सुकुल, चकटी र जुत्ता मात्र होइन, टेबलपोस, मुढा, आँखीझ्याल, फूलदानी, सुकुन्दा, विभिन्न देवीदेवताका आकृति आदिका सामग्रीको माग बढेको छ । परालबाट नयाँ नयाँ वस्तु कसरी बनाउने भनी चासो राखेर सिप सिक्न आउने महिलाहरू पनि बढेका छन् ।

पुरुषको संलग्नता

पछिल्लो समयमा केही पुरुषहरूले पनि परालका वस्तु बनाउने काममा हात हाल्न थालेका छन् । स्थानीय दिलगोविन्द महर्जन यही काम गर्नुहुन्छ । उहाँ बजारको माग अनुसार आधुनिक खालका पराले सामग्री बनाउने काम गर्नुहुन्छ । “हिजोआज पुराना डिजाइनको सामान धेरै जाँदैन,” उहाँ भन्नुहुन्छ, “त्यसैले अलि बढी मेहनत लगाएर सरफ र केमिकल प्रयोग गरेर पराललाई तातोपानीले सफा गरेर बनाउने गरेको छु ।” यसरी बनाएको सामान लामो समयसम्म टिक्ने र ग्राहकले पनि मन पराउने गरेको उहाँको अनुभव छ ।

“यो हातको काम हो, धेरै समय लाग्छ,” प्राइभेट कम्पनीमा कार्यरत दिलगोविन्द भन्नुहुन्छ, “यस्ता सामान परम्परागत डिजाइनमा सञ्चालित होटल, रेष्टुरेन्टदेखि विदेशमा पनि निर्यात हुन्छ ।” आफूले अर्डर आएपछि मात्र परालका सामान बनाउने उहाँ बताउनुहुन्छ ।

पराल कम हुँदै

विगतमा सानागाउँका सबै स्थानीयवासीका खेतमा धान रोप्ने चलन थियो । यसैले पराल पनि प्रशस्त पाइन्थ्यो । अचेल धानखेतहरू घडेरीका रूपमा बिक्री हुन थालेका छन् । धानखेतमा घर बन्न थालेपछि वस्तु उपभोग गर्ने व्यक्ति बढे पनि परालको उत्पादन घट्न गयो । व्यावसायिक रूपमा काम गर्नेहरूका लागि कच्चा पदार्थको रूपमा रहेको पराल नै पाउन कठिन छ अहिले । यसले गर्दा सानागाउँको पहिचान र परम्परादेखि सुकुल बुन्ने काममा पनि कमी आएको स्थानीय तरीमाया महर्जनको आकलन छ ।

मूल्य र पहिचान

स्थानीय उद्यमीबाट प्राप्त जानकारी अनुसार, परालबाट बनाइएका सानो सुकुल र चकटीको मूल्य तीन सयदेखि पाँच सय रूपैयाँसम्म पर्छ । ठुलो र लामो सुकुल तथा आधुनिक खालका कार्पेट, मुढा लगायतका सामग्रीको मूल्य भने एकदेखि डेढ हजार रूपैयाँसम्म पर्छ ।

खेतमा धान लगाउने चलन हराउँँदै जाँदा र नयाँ पुस्ताका महिला र पुरुषको रचनात्मक चासो कम हुँदै जाँदा अहिलेसम्म सानागाउँको पहिचान मानिने परालको सुकुल, चकटी, जुत्ता, मुढा आदि बुन्ने परम्परागत पेसा नै हराउने हो कि भन्ने चिन्ता पाका पुस्ताको छ ।

सन्धान, प्रकाशन मिति : २०८० माघ १४ गते, आइतवार


Previous articleस्थानीय निर्वाचनका सात दशक : महिला सहभागिताको इतिहास
Next articleभलमन्सा भएर काम गर्दाको खुसी (भिडियो सहित)