Home Stories घरैमा गलैँचा बुनेर कमाइ गर्छन् महिला

घरैमा गलैँचा बुनेर कमाइ गर्छन् महिला

46
0

उषा तामाङ गलैँचा उद्यमीसँगै प्रशिक्षक पनि हुनुहुन्छ । उहाँको घर सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १० मा पर्छ । उहाँले २०६५ सालमा गलैँचा बुन्ने तालिम लिनुभयो । सो तालिम देशको राजधानी काठमाडौँमा सञ्चालित थियो ।

उषाले काठमाडौँकै त्रिपुरेश्वरमा रहेको घरेलु उद्योग विभागको सभाकक्षमा नेपाली हस्तकलाका सामग्री बिक्री वितरणका लागि राख्ने गर्नुहुन्थ्यो । कोभिड–१९ महामारी फैलिएपछि भने पसल नै बन्द गर्नुपर्ने अवस्था आयो र उहाँ आफ्नै गाउँ फकर्नुभयो ।

सिन्धुपाल्चोकस्थित गाउँमा फर्किएपछि केही समय उषा घरकै काममा सीमित हुनुभयो । आयआर्जनको काम नगरिरहेको त्यही अवस्थामा उहाँले एउटा संस्थाले जिल्लामै दिएको तालिम लिनुभयो । सो तालिमले गलैँचा बुनाइलाई कसरी उद्यम बनाउने भनेर केही विकल्प पनि देखायो । त्यसपछि गलैँचा उद्यम गर्नतिरै लाग्नुभयो ।

उषाले जिल्ला लघुउद्यमी सङ्घमा प्रतिनिधित्व पनि गर्नुभयो । तीन महिना कार्यवाहक, एक कार्यकाल सचिव र एक कार्यकाल अध्यक्ष भएर काम गर्ने अवसर पाउनुभयो । सात वर्ष पदाधिकारीको हैसियतमा जिम्मेवारी सम्हालेर काम गर्नुभयो । त्यसरी उद्यमको क्षेत्रमा काम गर्ने क्रममा उहाँलाई अरू धेरै ठाउँका उद्यमीहरूसँग चिनजान गर्ने अवसर पनि मिल्यो । उहाँले चिनजान र भेटघाटका क्रममा रोजगारीका लागि कुनै न कुनै बाटो खोजिरहेका महिलालाई गलैँचा बुन्ने कामका लागि प्रोत्साहन गर्नुभयो । उहाँले गाउँमा गलैँचा बुन्ने प्रशिक्षण पनि दिने गर्नुहुन्छ ।

गलैँचा बुन्ने काम सिक्नका लागि करिब तीन महिना लाग्ने गर्छ । काम गर्न इच्छुकलाई उषाले तालिमको व्यवस्था गर्नुहुन्छ । आफूबाट तालिम लिएकाहरूसँगै उहाँ सहकार्य पनि गर्नुहुन्छ । उहाँसँगको सहकार्यमा हाल ८५ जना महिला जोडिएका छन् र तिनले गलैँचा बुन्ने गरेका छन् । त्यसमा आर्थिक रूपमा सबल बन्नका लागि घरायसी कामको व्यवस्थापन र बालबच्चाको स्याहार गरेर बचेको समयमा गलैँचा बुन्ने महिलाहरूको पनि संलग्नता छ ।

उषाका अनुसार, हाल सिन्धुपाल्चोकमा धेरै मानिसले गलैँचा बुन्ने काम गर्छन् । २०७२ वैशाख १२ को भूकम्पपछि काठमाडौँबाट धेरै मानिस गाउँ फर्किएर गलैँचा बुन्ने काममा लागेका थिए । गलैँचाको पसल नै खोलेर व्यापार व्यवसाय गर्न नसक्नेहरू पनि घरमा बसेर बुन्ने र बेच्ने गर्छन् । अहिले दिनभर मन लगाएर गलैँचा बुन्ने काम गरेको अवस्थामा दैनिक एक हजारदेखि १५ सय रुपियाँसम्म कमाइ हुने गर्छ । एउटा गलैँचा बनाउन बिहानदेखि बेलुकासम्म दैनिक लागेर गर्ने हो भने १२ देखि १३ दिन लाग्छ ।

उषाको भनाइमा गलैँचाको बजार राम्रो छ । नेपालका विभिन्न भागबाट सिन्धुपाल्चोकमा उत्पादित गलैँचाको माग हुने गरेको छ । त्योभन्दा पनि बढी त बाहिरी देशमा निर्यात हुन्छ । यसैले माग अनुसार उत्पादन सामग्री पुर्‍याउन नै धौधौ छ ।

गलैँचा सुतीको डोरीको तान लगाएर हातले भेडाको ऊनलाई बुनेर तयार गरिने बाक्लो र नरम बिछ्यौना हो । यो बलियो र लामो समय टिकाउ हुने उपभोग्य सामग्रीमा गनिन्छ । यही भएकाले यसको माग बढ्दो छ । यस काममा बुनकरहरूको स्वास्थ्य सुरक्षाको सवाल पनि जल्दोबल्दो गरी जोडिएको छ । यसलाई ध्यानमा राखी मास्क, पन्जा र एप्रोन लगाएर मात्र गलैँचा बुन्न सल्लाह दिइन्छ । उषाका अनुसार, गाउँघरमा सुरक्षित तरिकाले नै गलैँचा बुन्न सिकाउने गरिएको छ । यसैले पनि सबैले मास्क, पन्जा र एप्रोन लगाएरै गलैँचा बुन्ने गरेका छन् ।

उद्यमी र प्रशिक्षक मात्र होइन, पदाधिकारी समेत भई गलैँचा उद्योगका क्षेत्रमा काम गरिरहँदा उषाले आफू महिला भएकै कारण आइपरेका कतिपय चुनौतीलाई झेल्नु पनि भएको रहेछ । उहाँले गलैँचा उद्यमी, प्रशिक्षक र पदाधिकारी भएर एकै क्षेत्रमा विविध स्वरूपका काम गर्नुभएको छ । उहाँसँग २०८० साल असोज २५ गते गलैँचा उद्योग तथा उद्यमशीलतामा समग्र महिलाहरूको सहभागिता, चुनौती र अवसरका बारेमा कुराकानी गरिएको थियो । साथै लामो समयदेखि गलैँचा उद्यमी, प्रशिक्षण भएर काम गर्नुभएको छ, उहाँको अनुभव, कामलगायतका विषयमा कुराकानी गरीएको छ ।

प्रस्तुत छ, उषा तामाङसँग ‘सन्धान’ का तर्फबाट क्यामेरामा मुकुन्द बोगटीको साथमा लक्ष्मी बस्नेतले गर्नुभएको भिडियो कुराकानी:

प्रकाशन मिति : २०८० चैत्र २९ गते, बिहीबार

Previous articleनेपाली पत्रकारितामा महिला सहभागिता र चुनौती
Next articleसम्बन्ध टुट्दा ओझेलमा परेको सम्पत्तिमाथिको अधिकार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here