रामेछाप जिल्ला तत्कालीन रामेछाप गाउँ विकास समितिका छ जना महिला मिलेर २०५७ सालमा एउटा समूह बनाए । उनीहरूले समूहमा मासिक पाँच रुपैयाँ बचत गर्ने निर्णय पनि गरे । आजभन्दा २४ वर्षअघि गाउँमा पैसा हातमा पर्ने बाटो केही पनि नभएका तर घरधन्दा र खेतीपातीमा व्यस्त हुनुपर्ने महिलाका लागि त्यो पाँच रुपैयाँ पनि ठुलो थियो । त्यति बेला समूहमा बचत गरिराखे आपत् परेको बेला काम लाग्छ भनेर बचत गर्न थालिएको संस्थापक सदस्यहरू सम्झिन्छन् ।
झन्डै एक दशक त्यसरी बचत गरेर नै बित्यो । त्यस बिचमा २०६२ सालमा ५३ महिला संस्थापक भएर सो समूहलाई ‘समाज सेवा बचत तथा ऋण सहकारी’ को रूपमा सहकारीमा दर्ता गराएको सहकारीकी व्यवस्थापक एवं पूर्व अध्यक्ष अप्नाकुमारी श्रेष्ठ बताउनुहुन्छ । हाल सहकारीमा छ सय जनाभन्दा बढी सदस्य छन् । यो सहकारी हाल रामेछाप नगरपालिका वडा नम्बर ८ मा अवस्थित छ । पहिले गाविसभरि रहेको सहकारीको कार्यक्षेत्र अहिले नगरपालिकाको वडा नम्बर ८ र ९ रहेको छ ।
पाँच रुपैयाँबाट बचत सुरु गरेकी संस्थापक सदस्यमध्येकी एक रामेछाप नगरपालिका वडा नम्बर ८ की केशरी श्रेष्ठ अहिले आफूले मासिक एक हजार रुपैयाँ बचत गर्ने गरेको बताउनुहुन्छ । समूहमा आबद्ध भएपछि अप्ठ्यारो परेको बेला धेरै कुरामा सरसहयोगसँगै आफू जस्तै दिदीबहिनीहरूसँग भेटघाट हुने अवसर मिलेको उहाँको अनुभव छ । वडा नम्बर ८ कै भँगेरीकी ललिता श्रेष्ठ २०५७ सालदेखि नै समूहमा हुनुहुन्छ । उहाँले पनि मासिक पाँच रुपैयाँबाट सुरु गरी अहिले मासिक एक हजार रुपैयाँ बचत गर्न थाल्नुभएको छ । सहकारीबाट ऋण लिएर व्यापार व्यवसाय गरिरहेको उहाँको भनाइ छ । वडा नम्बर ८ कै पम्फा कसाहीले पनि समूहबाटै ऋण लिएर बाख्रापालन गर्दै आएको र सावित्री श्रेष्ठले समूहबाट दिदीबहिनीसँग भेटघाट गर्नदेखि आवश्यक पर्दा ऋण लिन सजिलो भएको ‘सन्धान’ लाई बताउनु भयो । उहाँहरू मात्र होइन, समूह हुँदै सहकारीमा आबद्ध भएका धेरैले यति बेला व्यापार व्यवसाय, तरकारी खेती, बाख्रापालन जस्ता काम गरी आयआर्जन गरिरहेका छन् । खेतीपाती गर्नेले पनि दाल, तरकारी, चामल, पीठो आदि बेचेर सानोतिनो खर्च चलाउन थालेका छन् । समूहमा पैसा बचत गरेपछि केही गर्न पैसा चाहिए गाउँघरमा कसैलाई गुहार्न नपरेको समूहका सदस्यहरूको भनाइ रह्यो ।
सहकारीले पनि आफ्ना सदस्यले उत्पादन गरेको सामान बेच्नका लागि बजार नै जान नपरोस् भनेर रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा २०७८ साउनदेखि ‘कोसेली घर’ सञ्चालन गरिरहेको छ । सहकारीका सदस्यबाट उत्पादित सामान तथा खाद्यपदार्थलाई कोसेली घरले नै किनिदिन्छ । यस्ता सामान तथा खाद्यपदार्थहरूमा बाँस तथा निगालोबाट बनेका सामान, मुढा, दुना, टपरीका साथै दाल, चामल, पीठो, अचार आदि रहेका छन् । कोसेली घरलाई प्रभावकारी बनाउनका लागि सहकारीले रामेछाप नगरपालिका र रामेछापका व्यावसायिक महिलाहरूको समुह ‘रामेछाप विजनेस एण्ड प्रोफेसनल वुमन’ सँग सहकार्य गरिरहेको व्यवस्थापक अप्ना कुमारीले जानकारी दिनुभयो ।
‘सन्धान टोली’ २०७९ पुसमा रामेछाप बजार पुगेको बेला संयोगले केशरी, ललिता, पम्फा र सावित्रीसँग भेट भएको थियो । उहाँहरू सहकारीको बैठकका लागि त्यहाँ पुग्नुभएको रहेछ । उहाँहरू सबैलाई समूह र सहकारीमा आबद्ध हुँदै पैसा बचत गर्दाका फाइदा के के हुँदा रहेछन् त भनेर सोधिएको थियो । उहाँहरूको अनुभवमा समूह र सहकारीको माध्यमबाट आयआर्जनमा लागेपछि आफ्नो जीवनमा सकारात्मक परिवर्तन आएको छ भने आयआर्जनको बाटो पनि खुलेको छ । सहकारीले पैसा बचत र आयआर्जनको कामसँगै महिला तथा किशोरीको अधिकार लगायत सामाजिक मुद्दामा बेलाबेलामा छलफल पनि गर्ने गरेको छ । यसले गर्दा महिलामा चेतनाको स्तर पनि विकास भएको उहाँहरूलाई लागेको रहेछ ।
सहकारीको पछिल्लो गतिविधि बुझ्न २०८१ असार २२ मा व्यवस्थापक अप्नाकुमारी श्रेष्ठसँग सम्पर्क गरिएको थियो । त्यस क्रममा उहाँले पाँच रुपैयाँ बचतबाट सुरु भएको समूहको अहिले वार्षिक कारोबार डेढ करोड रुपैयाँ नाघेको जानकारी दिनुभयो । उहाँका अनुसार, देशभरि सहकारी ठगीका घटना र सहकारीहरू समस्यामा पर्यो भन्ने खबर आए पनि ‘समाज सेवा बचत तथा ऋण सहकारी’ मा भने त्यस्तो कुनै समस्या आएको छैन । सदस्यहरूबाट बचत भइरहेको छ भने ऋण दिने/उठाउने जस्ता आर्थिक क्रियाकलाप निर्विघ्न चलिरहेको छ । प्रस्तुत छ, समूह र सहकारीले गरिरहेको कामबारे सहकारीकी व्यवस्थापक तथा पूर्व अध्यक्ष अप्नाकुमारीको हालैको भनाइसँगै सदस्यहरू केशरी, ललिता, पम्फा र सावित्रीले भेटका क्रममा व्यक्त गर्नुभएको अनुभव :