Home Stories धम्मु, रत्नकली र राजलक्ष्मीहरूको उद्यमशीलता

धम्मु, रत्नकली र राजलक्ष्मीहरूको उद्यमशीलता


कर्णाली कथा

जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–३ डाँडाकोटकी धम्मु नेपालीलाई पहिले नुनतेल, बच्चाको कापीकलम किन्न सधैँ श्रीमान्‌को भर पर्नुपर्ने अवस्था थियो । २०७१ सालमा उनले आफ्नो नाममा पसल दर्ता गरी सिलाइकटाइको तालिम लिएर व्यवसाय सुरु गरिन् । अहिले उनी सिलाइकटाइ र फेन्सी पसलबाटै आफूले मासिक ६० देखि ७० लाख रुपैयाँसम्मको आम्दानी गर्दै आएको बताउँछिन् ।

महिलालाई आत्मनिर्भर बनाएर बालबालिकाको कुपोषण घटाउनेलगायतका कार्यक्रम गरी मानिसको जीवनको गुणस्तरमा दिगो सुधार ल्याउने लक्ष्य राखेको इन्टरनेसनल नेपाल फेलोसिप (आइएनएफ) नेपाल नामक संस्थाले २०६८ सालमा जुम्लामा सिलाइकटाइ तालिम चलाएको थियो । त्यस तालिममा धम्मुकी सासू चुच्चे नेपाली जानुपर्ने थियो । सासूले आफू नगएर धम्मुलाई सिलाइकटाइको तालिम लिने मौका दिइन् ।

आफ्नो सिलाइकटाइ र फेन्सी पसलमा काम गर्दै धम्मु नेपाली ।

“तीन महिने तालिम लिएकी हुँ । त्यही तालिमले अहिले यहाँसम्म पुगेको छु,” धम्मु भन्छिन् । तालिमपछि धम्मुले १५ सय रुपैयाँ तिरेर सिलाइ मेसिन ल्याइन् र तालिममा सिकेको सिपलाई व्यावसायिक रूपमा अगाडि बढाइन् । उनले चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाबाट १५ हजार रुपैयाँ ऋण लिएर फेन्सी पसल पनि सुरु गरिन् । उनी सानो छँदा पढ्न पाएकी थिइनन् । यसैले व्यवसाय सञ्चालन गर्दा सुरुमा उनलाई समस्या भयो । उनले मिहिनेत गर्दै सिक्दै गइन् ।

उनलाई पढेलेखेका श्रीमान्‌ले पनि साथ दिएका छन् । उनका श्रीमान् शिक्षक थिए । कमाइ कम थियो । यसैले शिक्षण पेसाबाट छुटाएर श्रीमान्‌लाई पनि यसै व्यवसायमा लगाएकी छन् ।

“अहिले सबै चाहिने कुरा जानिसकेकी छु । सिलाइकटाइ र फेन्सी पसलमा चार जनालाई रोजगारी दिएकी छु,” धम्मु भन्छिन्, “काम गर्नेलाई १५ देखि २० हजारसम्म दिने गरेको छु । वार्षिक रूपमा एक करोड बराबरको आम्दानी हुन्छ ।” अनि त के चाहियो र रु उनलाई पढेलेखेका श्रीमान्‌ले पनि साथ दिएका छन् । उनका श्रीमान् शिक्षक थिए । कमाइ कम थियो । यसैले शिक्षण पेसाबाट छुटाएर श्रीमान्‌लाई पनि यसै व्यवसायमा लगाएकी छन् । आफूले सिकेको सिप अरूलाई पनि हस्तान्तरण गरेकी छिन् ।

आत्मनिर्भर बन्ने धुन

चन्दननाथ नगरपालिका–३ कै रत्नकली नेपालीले पनि कपडा पसल र सिलाइकटाइबाट मासिक ४० देखि ५० हजार रुपियाँसम्म आम्दानी गर्ने गरेकी छन् । भन्छिन्, “महिला आफैँ आत्मनिर्भर हुनुपर्छ भन्ने लागेर २०६० सालमा जुम्ला बजारमा खुद्रा पसल सुरु गरेकी थिएँ । त्यसले घरखर्च पनि चलेन ।” खुद्रा पसलबाट उनको आधारभूत आवश्यकतासमेत पूरा हुन नसकेपछि उनले सिलाइकटाइ व्यवसाय गर्ने विचार गरिन् ।

आफ्नै सिलाइकटाइ व्यवसायमा रत्नकली नेपाली ।

विचार त गरिन् तर उनमा सिलाइकटाइको सिप थिएन । उनले २०६३ सालमा तालिमका लागि रिप भन्ने संस्थालाई अनुरोध गरिन् । रिप गैरसरकारी संस्था हो । आफूले पैसा तिरेर सिप सिक्ने इच्छा व्यक्त गरिन् । २०६३ सालमा जुम्लाकै केही अगुवा महिलाहरूले ‘दिदीबैनी टेलर्स’ खोलेका थिए । त्यसले सिलाइकटाइ सिकाउँथ्यो पनि । रत्नकलीले रिप संस्थाको आधा सहयोग र आधा आफ्नो लगानी गरेर तीन महिने सिलाइकटाइ तालिम लिइन् । उनले अहिले आफ्नै कपडा पसल खोलेकी छन् । “पसलमा महिलाले लगाउने सबै खालको कपडा पाइन्छ,” उनी भन्छिन्, “दुई छोरी र दुई छोरा गरी चार जनाको पढाइ खर्चको आधार पनि यही हो ।” साथै, उनले निःशुल्क रूपमा आफूले सिकेको सिप गाउँका महिलालाई सिकाउँदै पनि आएकी छन् ।

जीवनस्तर बदल्ने सिप

चन्दननाथ नगरपालिका–२ खोलिकोट गाउँकी राजलक्ष्मी बुढ्थापा आयस्तर कम भएको परिवारकी महिला सदस्य हुन् । २०७० सालमा किडार्क नेपाल नामक संस्थाले उनलाई एक महिने सिलाइकटाइ तालिम दिएको थियो । “त्यो तालिम मेरा लागि जीवनस्तर बदल्ने सिप बनेको छ,” उनी भन्छिन् ।

पहिले एक पोका नुन किन्न सक्ने अवस्था थिएन । अहिले लाखौँको कारोबार गर्ने भएकी छु,” उनी भन्छिन्, “घर छोडेर टाढा जान पनि नपर्ने, घरमै बसेर सिलाइकटाइ गर्ने सिप भएकाले महिलाका लागि यो सिप महत्त्वपूर्ण छ ।

राजलक्ष्मीलाई २०७० सालमा किडार्कले सिलाइकटाइमा उत्कृष्ट बनेको भन्दै पुरस्कारस्वरुप २५ हजार रुपैयाँ दिएको थियो । त्यही २५ हजार रुपैयाँमा सिलाइकटाइको पैसा थपेर २०७५ सालमा उनले श्रीरिष्टी ट्रेड्स खोलिन् । त्यसैबाट अहिले आफूले वार्षिक १० लाख रुपियाँ आम्दानी गर्दै आएको उनी बताउँछिन् ।

“पहिले एक पोका नुन किन्न सक्ने अवस्था थिएन । अहिले लाखौँको कारोबार गर्ने भएकी छु,” उनी भन्छिन्, “घर छोडेर टाढा जान पनि नपर्ने, घरमै बसेर सिलाइकटाइ गर्ने सिप भएकाले महिलाका लागि यो सिप महत्त्वपूर्ण छ ।”

राजलक्ष्मी सिलाइकटाइ प्रशिक्षक पनि बनेकी छन् । उनले अहिलेसम्म तीन सयभन्दा बढी प्रशिक्षार्थीलाई तालिम दिइसकेको बताउँछिन् । हालै मात्र पातारासी गाउँपालिका–६ उर्थुगाउँका २० जना महिलालाई उनले प्रशिक्षण दिएकी छन् । प्रशिक्षणका लागि आवश्यक आर्थिक स्रोतका बारेमा उनी भन्छिन्, “मसँग त अरूलाई सिकाउन धेरै आर्थिक स्रोत छैन तर उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आर्थिक सहयोगमा ती महिलालाई सिप सिकाएकी हुँ ।”

सिलाइकटाइ तालिम लिएका अधिकांश महिलाहरू व्यावसायिक रूपमा यस क्षेत्रमा नलागेकोमा भने राजलक्ष्मीको गुनासो छ । उनी भन्छिन्, “धेरै महिलालाई सिकाएको छु । तर, उनीहरूमध्ये एक दुई जनाबाहेक अरू व्यावसायिक रूपमा लागेको देख्दिनँ ।” यसका पछाडि सतहमा नदेखिने व्यवधानहरू पनि होलान् । उनलाई लाग्छ, तालिम पाएका केही महिलामा मात्रै भए पनि उद्यमशीलताप्रतिको आकर्षण भने बढ्दो छ ।

बढ्दै महिला उद्यमीहरू

धम्मु, रत्नकली र राजलक्ष्मी मात्र होइन, जुम्लाका अरू पनि थुप्रै महिलाहरू प्छिल्लो समयमा उद्यमी तथा व्यवसायी बन्न थालेका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका अनुसार, आर्थिक वर्ष २०७८/७९ मा मात्रै महिलाका नाममा ३७६ उद्योग तथा वाणिज्यसँग सम्बन्धित फर्महरू दर्ता भएका छन् । कार्यालयका प्रमुख श्रीकृष्ण देवकोटाका अनुसार, आर्थिक वर्ष २०७८/७९ सम्ममा जुम्लामा वाणिज्यतर्फ दुई हजार ९६० र उद्योगतर्फ तीन हजार ६६० फर्म दर्ता भएका छन् । यसमध्ये वाणिज्यतर्फ १०५ र उद्योगतर्फ ४८१ वटा फर्म महिलाका नाममा दर्ता भएका छन् । उनी भन्छन्, “सिलाइकटाइ व्यवसाय सञ्चालन गर्न अनुमति लिन पर्दैन, उद्यमशीलतासम्बन्धी काम गर्न मिल्ने फर्म दर्ता गरे पुग्छ ।”

सिलाई कटाई तालिम लिएपछि आफूले पाएको प्रमाणपत्र देखाउदैं जुम्लाका महिलाहरू ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले ग्रामीण भेगका महिलाको आयस्तर उकास्न महिला लक्षित कार्यक्रम गर्ने गरेको छ । कार्यालयका अनुसार, अपाङ्गता भएका व्यक्ति, दलित र महिलालाई लक्षित गरी सिलाइकटाइ, हातेहोजरी, कम्प्युटर सिकाइ, स्थानीय बालीका परिकार बनाउनेलगायतका तालिम सञ्चालन भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा ५३ जना महिलालाई सिपमूलक तालिम दिइएको पनि सो कार्यालयले जनाएको छ ।

तालिम लिएका महिलाहरूलाई स्वव्यवसायमा लगाउने कार्य भने चुनौतीपूर्ण रहेको सम्बद्ध अधिकारीहरूको अनुभव छ । प्रमुख देवकोटाका अनुसार, महिला उद्यमी बनाउने उद्देश्यले विभिन्न तालिम सञ्चालन गरिएको भए पनि कार्यान्वयन पक्षमा चुनौती देखिएको छ । उनी भन्छन्, “जुनसुकै उद्योग सञ्चालन गर्न धन चाहिन्छ । तालिम लिएका अधिकांश महिलाहरूसँग धन हुँदैन ।”

पहिलेको तुलनामा महिलाहरू व्यवसाय क्षेत्रमा आएको देखिएको छ । जुम्ला जिल्लाको हकमा २५ प्रतिशत महिला व्यवसायमा लागेका छन् ।

जुम्लामा महिलाहरू विभिन्न समस्यासँग जुध्दै सिपकै भरमा भए पनि उद्योग तथा वाणिज्य क्षेत्रमा लाग्ने क्रम भने बढ्दो छ । जुम्लाका उद्योगपति तथा व्यापारीहरूको छाता सङ्गठन उद्योग वाणिज्य संघ जुम्लामा यस वर्ष ५०५ सदस्यहरूले नवीकरण गराएका छन्, जसमध्ये १३७ महिला रहेको संघका कार्यकारी निर्देशक प्रकाश उपाध्याय बताउँछन् ।

संघको कार्यसमितिमा पनि महिला व्यवसायीहरूको सक्रिय सहभागिता देखिन्छ । विधानअनुसार संघको १८ सदस्यीय कार्यसमितिमा १२ जना निर्वाचित भएर आउने व्यवस्था छ । संघका अध्यक्ष पुरिचन्द देवकोटाका अनुसार, प्रथम उपाध्यक्षमा डम्बरकुमारी खड्का र सहकोषाध्यक्षमा सुनिता श्रेष्ठ निर्वाचित भएर आएका छन् । एक महिला, एक दलित र एक जनजातिको लागि आरक्षणको व्यवस्था पनि छ । अहिले कार्यसमितिमा तीन जना महिला सदस्य छन् । अध्यक्ष देवकोटा भन्छन्, “पहिलेको तुलनामा महिलाहरू व्यवसाय क्षेत्रमा आएको देखिएको छ । जुम्ला जिल्लाको हकमा २५ प्रतिशत महिला व्यवसायमा लागेका छन् ।”

जुम्लामा अर्थतन्त्रसँग सम्बन्धित प्रतिष्ठानहरूमा पनि महिला सहभागिता उत्साहजनक रहेको देखिन्छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार, देशभर सञ्चालनमा रहेका अर्थतन्त्रसँग सम्बन्धित प्रतिष्ठानहरूमध्ये छ लाख ४८ हजार ७७३ अर्थात् ७०.२६ प्रतिशत प्रतिष्ठान पुरुष व्यवस्थापकबाट सञ्चालित छन् । दुई लाख ७३ हजार ४३६ अर्थात् २९.३१ प्रतिशत प्रतिष्ठान भने महिला व्यवस्थापकबाट सञ्चालित छन् । जुम्ला जिल्लामा तीन हजार ७८ प्रतिष्ठान सञ्चालनमा छन् । ती प्रतिष्ठानमा संलग्न महिलाहरूको सङ्ख्या तीन हजार २२८ रहेको छ । जुम्लाका कति प्रतिष्ठान महिलाबाट सञ्चालित छन्, त्यसको जानकारी भने उपलब्ध हुन सकेन ।

आत्मनिर्भरताले घटाउँछ लैङ्गिक हिंसा पनि

जुम्ला जिल्ला इन्सेक प्रतिनिधि मानदत्त रावल महिलामाथिको हिंसा, विभेद र शोषणको जड आर्थिक विपन्नतालाई ठान्छन् । उनी भन्छन्, “नेपाली समाजमा युगौँदेखि महिलाहरूले हिंसा, विभेद र शोषणको सामना गर्दै आएका छन् । यसको मूल जड भनेकै आर्थिक विपन्नता हो ।” उनलाई लाग्छ, जबसम्म महिला श्रीमान्‌माथि निर्भर रहन्छन् तबसम्म महिलाहरूले हिंसा, शोषण र विभेदबाट उन्मुक्ति पाउन सक्दैनन् ।

सिलाई कटाई तालिम लिएपछि आफूले पाएको प्रमाणपत्र देखाउदैं जुम्लाका महिलाहरू ।

अहिले आफूमाथि विभिन्न खालका हिंसाका घटना भएका भनी महिलाले प्रहरीमा उजुरी गर्ने र सो कुरा विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक हुने क्रम बढ्दो छ । यसलाई ध्यानमा राखेर सरकारले महिलामैत्री केही कानुन पनि बनाएको छ । तर, यतिले पुग्दैन भन्ने कुरा पनि स्पष्ट हुँदो छ । इन्सेक प्रतिनिधि मानदत्तको विचारमा बढ्दो महिला हिंसा रोक्नका लागि कानुनले मात्र पुग्दैन, महिलाहरू स्वयं आत्मनिर्भर हुन पनि जरुरी रहेको छ ।

महिला आफैँ आत्मनिर्भर हुनुपर्छ भन्ने रत्नकलीले घरभित्रको लैङ्गिक हिंसा खासै सहनु परेन । धम्मुका श्रीमान् त झन् जागिर छाडेरै धम्मुले गरेको व्यवसायमा साथ दिन अघि सरे । राजलक्ष्मीको पनि उल्लेखनीय समस्या छैन । यसले जनाउँछ, आर्थिक आत्मनिर्भरता महिलाका लागि लैङ्गिक हिंसा घटाउने उपाय पनि हो ।

अनुदान जरुरी

स्थानीय सरकार, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र सामाजिक विकास कार्यालयले महिलाहरूमा उद्यमशीलता बढाउन विभिन्न खालका तालिम बेलाबेलामा दिने गरेको छ तर तालिम लिएका अधिकांश महिलाहरू उद्यमी बन्न भने सकिरहेका छैनन् । अझ उद्योग क्षेत्रमा त महिलाको सहभागिता हुनुपर्ने भन्दा कम छ । उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष देवकोटा भन्छन्, “पुरुषको तुलनामा महिलाको सहभागिता उद्योग क्षेत्रमा न्युन रहेको छ ।”

उद्यमशीलतामा महिलाको सहभागिता बढाउनका लागि विनाधितो ऋण दिने व्यवस्था पनि छ । बैङ्कले धिताविना ऋण दिँदैन । “हामीले उद्योग सञ्चालनका लागि एक जना बराबर पाँच लाख गरी १० जना जतिलाई धितो नराखेर ऋण दिने व्यवस्था गरेका छौँ,” अध्यक्ष देवकोटा भन्छन् । उनका अनुसार, उद्योगहरू सञ्चालनमा नआउनुका अरू कारण पनि छन् । दक्ष जनशक्तिको अभाव, विद्युत्को समस्या आदिले पनि जुम्लामा उद्योगहरू चल्ने र फस्टाउने वातावरण छैन ।

उद्योग र व्यवसायमैत्री वातावरण सबैका लागि हुनुपर्छ । त्यसमा पनि उद्यमशीलताप्रति आकर्षित महिलाका लागि थप व्यवस्था पनि जरुरी हुन आउँछ । इन्सेक प्रतिनिधि मानदत्त भन्छन्, “महिलालाई आर्थिक रूपमा समृद्ध बन्न र आत्मनिर्भर हुनका लागि सहयोग पुग्ने गरी स्थानीय सरकारले पनि कार्यक्रम र नीति ल्याएर कार्यान्वयनमा लैजानुपर्छ ।”

राजलक्ष्मी भन्छिन्, “पछिल्लो समय केही गर्ने इच्छाशक्ति भएका केही महिलाहरू सिप सिकेर आत्मनिर्भर बन्न तम्सिएका छन् ।” तालिमपछि बढेको उद्यमशीलताप्रतिको उनीहरूको यो तत्परतालाई परिवारदेखि राज्यसत्तासम्मले बेलैमा यथोचित टेको दिनु जरुरी छ ।

टेको दिनुपर्ने सन्दर्भमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख देवकोटा राज्यले तालिम दिएका व्यक्तिलाई अनुदान दिनुपर्ने बताउँछन् । महिलाका हकमा उनी भन्छन्, “तालिम दिएर मात्रै हुँदैन । व्यवसाय सञ्चालनका लागि अनुदान दिने व्यवस्था पनि आवश्यक छ ।”

कर्णालीका थप कथाहरू

सन्धान प्रकाशन मिति : २०७९ भदाै १५ गते, बुधवार