रूपक स्वेटर उद्योगकी संस्थापक र सञ्चालक रुक्मिणी देवकोटा महिलाले आत्मनिर्भर हुने बाटो रोज्नैपर्ने मान्यता राख्नुहुन्छ । पाल्पा जिल्लामा २०१८ सालमा जन्मिएकी उहाँले सानैदेखि आत्मनिर्भरताको बाटो खोज्नुभयो र होजियरी तालिम लिनुभयो । तालिमपछि पाल्पामै उद्योग दर्ता गर्नुभयो ।
रुक्मिणीको बिहे २०३४ वैशाखमा भयो । उहाँले २०४० सालमा सुदूरपश्चिमस्थित कैलाली जिल्लाको धनगढीमा पुगेर स्वेटर उद्योग सञ्चालनको सुरुवात गर्नुभयो । श्रीमान्काे जागिर धनगढीमा भएकाले सोही ठाउँलाई नै आफूले कर्मथलो बनाएको सम्झँदै उहाँ भन्नुहुन्छ, “चार हजार आठ सय रुपैयाँमा मेसिन किनेर कोठाबाटै रूपक स्वेटर उद्योग सुरु गरेको हुँ ।”
आफू बस्ने घरकै एउटा कोठामा मेसिन राखेर सुरु गरिएको सो उद्योगमा रुक्मिणीले घरेलु हिंसामा परेका महिलालाई प्राथमिकतासाथ काम दिनुभयो । उद्योगमा काम गर्ने महिला जनशक्तिलाई सिप मात्र होइन, आत्मनिर्भर हुने उपाय पनि सिकाउँदै आउनुभयो । उहाँ भन्नुहुन्छ, “सिप सिकेर रोजगारीमा लाग्नु हुन्छ, सिकाउन पनि सकिन्छ, सधैँ अरूकोमा मात्रै काम गर्नुभन्दा आफैँ पनि व्यवसाय गर्न सकिन्छ ।” यस्ता कुरा कामदार महिलाहरूलाई आफूले सुरुदेखि नै भन्ने गरेको बताउँदै उहाँ थप्नुहुन्छ, “महिलाको आर्थिक सशक्तीकरणमा सहयोग पुर्याउनु मेरो पहिलो उद्देश्य हो ।”
रुक्मिणीका अनुसार, कोभिड–१९ महामारी सुरु हुनुभन्दा अघिसम्म उहाँको उद्योगमा ७०–८० जना महिलाले काम गर्थे । अहिले २८ जना छन् । कामदार सङ्ख्या कम हुनाको कारण स्वचालित मेसिन प्रयोग गर्न थालेर पनि हो । उद्योगबाट जाडामा लगाउने स्वेटर, मफलर आदि बुन्नुका साथै स्कुल, क्याम्पसका पोसाक, टिसर्ट र अर्डर अनुसारका अन्य कपडा सिलाउने काम हुने गरेको उहाँको भनाइ छ ।
सुरुमा उहाँको उद्योगबाट उत्पादित होजियरी सामानले भारतबाट आएका सामानसँग प्रतिस्पर्धा गर्न सकेनन् । यस्तो समस्या देखिएपछि उहाँ आफैँ बजार प्रवर्धनमा पनि लाग्नुभयो । ‘नेपालमा उत्पादित सामानको प्रयोग गरौँ’ भन्दै आफ्नो उत्पादनको बजारीकरण गर्दै ठाउँ ठाउँमा पुग्नुभयो । बजार प्रवर्धनकै लागि उहाँले सुदूरपश्चिमका झन्डै ६० वटा पालिकामा तीनदेखि छ महिनाका होजियरी सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्न थाल्नुभयो । तीमध्ये केहीमा अहिले पनि तालिम चलिरहेको उहाँ बताउनुहुन्छ ।
चार दशकदेखि उद्योग व्यवसायसँगै महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएकी रुक्मिणी २०४३/४४ सालदेखि अखिल नेपाल महिला सङ्घसँग आबद्ध भएर राजनीतिमा पनि लाग्दै आउनुभयो । अहिले उहाँ सुदूरपश्चिमका महिलाहरू आत्मनिर्भर भइरहेको देख्नुहुन्छ । उहाँका अनुसार, उनीहरू हिजोआज होटेल व्यवसाय, पसल सञ्चालन, सिलाइकटाइ जस्ता विभिन्न क्षेत्रका रोजगारी र स्वरोजगारीमा लागेका छन् । तर, महिलालाई हेर्ने समाजको दृष्टिकोण भने साँघुरै भएको उहाँको विश्लेषण छ ।
समाजभन्दा पहिले त महिलालाई घरपरिवारकै सदस्यहरूको बलियो साथ र सहयोग चाहिन्छ । आफ्नो व्यावसायिक यात्रा सफल बनाउन श्रीमान् र घरपरिवारको साथसहयोगको महत्त्वपूर्ण भूमिका रहेको उहाँको अनुभव छ । त्यही कारण आफूले समय व्यवस्थापन गर्न सकेको र आफू पार्टी राजनीतिलाई पनि सँगसँगै लगेको उहाँको भनाइ छ । अहिले उहाँ नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सचिवालय सदस्य तथा अखिल नेपाल महिला सङ्घको केन्द्रीय स्थायी समिति सदस्य हुनुहुन्छ ।
रुक्मिणीसँग करिब चार दशकको उद्यमशील र व्यावसायिक पक्षसँगै राजनीति र केही व्यक्तिगत जीवनभोगाइका बारेमा कुराकानी गर्न ‘सन्धान’ टोली २०८० मङ्सिरमा कैलालीको धनगढीस्थित उहाँकै उद्योगको कार्यालयमा पुगेको थियो । प्रस्तुत छ, उद्यमी व्यवसायी रुक्मिणी देवकोटासँग क्यामेरामा मुकुन्द बोगटीको साथमा लक्ष्मी बस्नेतले गर्नुभएको भिडियो कुराकानीको अंश :
प्रकाशन मिति : २०८१ बैशाख ३१ गते, साेमबार