Home Stories पथप्रदर्शक महिलालाई चुनौतीसँगै अवसर पनि

पथप्रदर्शक महिलालाई चुनौतीसँगै अवसर पनि

396
0

एकादेवी मैनाली, पथप्रदर्शक (ट्रेकिङ गाइड) तथा सम्पदा पथप्रदर्शक (हेरिटेज टुर गाइड) हुनुहुन्छ । बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ७ लिची टोलमा जन्मिएकी उहाँले निजगढबाटै उच्चमाध्यमिक विद्यालय तह उत्तीर्ण गर्नुभयो । स्नातक अध्ययनका लागि काठमाडौँ आएपछि उहाँले एक कम्पनीमा जागिर पनि खान थाल्नुभयो ।

एकादेवीलाई सानैदेखि हिमाल, पहाड घुम्ने, डुल्ने इच्छा लाग्थ्यो तर कहाँ कसरी जाने भन्ने बाटो थाहा थिएन । २०६९ सालको कुरा हो, उहाँले महिलाहरूका लागि पथप्रदर्शक तालिम खुलेको र तालिमकै क्रममा प्रयोगात्मक सिकाइका लागि लाङटाङ लैजाने थाहा पाउनुभयो । आवेदन दिएर सहभागी पनि हुनुभयो । तालिममा उहाँसहित २५ जना महिला सहभागी थिए । उहाँका अनुसार, तालिमको सबै व्यवस्थापन सगरमाथा आरोही समेत रहेकी प्रशिक्षक लाक्फुटी शेर्पाले गर्नुभएको थियो । सैद्धान्तिक तालिमपछि प्रयोगात्मक सिकाइ अन्तर्गत सबैलाई लाङटाङ लगियो । यही बेला सुरु भएको हो, एकादेवीको हिमाली र पहाडी क्षेत्रसँगको निकटता । तालिम सकिएको केही महिनामै उहाँले पथप्रदर्शक बन्ने अवसर पनि पाउनुभयो ।

पहिलो पटक २०७० सालमा पथप्रदर्शकको रूपमा एकादेवीको व्यावसायिक यात्रा अन्नपूर्ण हिमालमा भएको थियो । तर, उहाँका आफन्त र परिवारका सदस्यहरूले तराईमा जन्मिएर हुर्किएको मान्छेले कसरी हिमाल र पहाडको यात्रा गर्न सक्छेस् र भनेर तालिमका बेला नै शङ्काजन्य प्रश्न उठाएका थिए । उहाँले भने गरेरै देखाउनुभयो र यही पेसालाई निरन्तरता दिँदै आउनुभएको छ । केही वर्षपछि उहाँ सम्पदा पथप्रदर्शक (हेरिटेज टुर गाइड) पनि हुनुभयो । समाजशास्त्र र बुद्ध दर्शनमा स्नातकोत्तर गरेकी उहाँको यस पेसामा एक दशकको अनुभव छ । सञ्चार सुविधा र स्वास्थ्यले साथ दियो भने घुमघाममा रुचि हुनेले यो क्षेत्रबाट रमाइलोसँगै पैसा पनि प्राप्त गर्न सक्छन् भन्ने उहाँलाई लाग्छ । महिलाले पथप्रदर्शक भएर काम गर्दा के कस्ता अवसर पाउँछन् र चुनौतीलाई कसरी झेल्छन् त ? आफ्नो व्यक्तिगत जीवनका बारेमा खासै बताउन नचाहेकी उहाँको पेसागत अनुभव के छ ? उहाँले यही क्षेत्रमा निरन्तरता दिँदै अघि बढ्नुको राज के हो ? यस्ता सवालमा केन्द्रित भई उहाँसँग ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले २०८१ वैशाखमा कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ, सोही कुराकानीका आधारमा तयार गरिएको पथप्रदर्शक एकादेवी मैनालीको स्वकथन :

सानैदेखि मलाई हिमाल र पहाड हेर्न खुब मन लाग्थ्यो । मस्तिष्कमा हिमाल र पहाडको दृश्य घुमिरहन्थ्यो । स्कुलेशिक्षा सकेर काठमाडौँमा स्नातक तह अध्ययन गर्दै थिएँ । त्यही बेला पथप्रदर्शकमा महिलाहरूको लागि तालिम सञ्चालन हुने कुरा थाहा पाएँ । तालिम अन्तर्गतको प्रयोगात्मक सिकाइका लागि लाङटाङ लैजाने पनि भनिएको थियो । तालिमकै क्रममा घुम्न पनि पाइन्छ भन्ने कुराले मलाई तान्यो र त्यसबाट थप हौसला मिल्यो । तालिमका लागि आवेदन दिएँ । म तालिममा सहभागी हुँदै गरेको कुरा घरमा थाहा पाउनुभयो । परिवार र आफन्तहरूले मलाई तराईमा जन्मेर हुर्किएको मान्छे, हिमाल, पहाडको उकालो र ओरालो हिँडेर खाने काम गर्न सकिन्छ त भन्ने प्रश्न गर्नुभयो । सामान्यतया तराईमा जन्मिएर त्यहीँ हुर्किएकाहरूले उकालोओरालो गर्न सक्दैनन् भन्ने मानसिकता धेरैमा हुने रहेछ । काम गर्दै जाँदा थाहा पाएँ, हुन पनि पथप्रदर्शकको रूपमा तराईवासी कमै हुने रहेछन् । झन् महिला त नगण्य ! यसरी हेर्दा लाग्छ, परिवार र आफन्तको त्यति बेलाको भनाइ पनि ठिकै थियो ।

अन्नपूर्ण क्षेत्रको यात्रा मेरो लागि पहिलो थियो । यो कुरा ती पर्यटकलाई पनि भनेँ । उहाँले कुरा बुझ्नुभयो र मलाई आफ्नो ‘ट्रेकिङ गाइड’ स्वीकार गर्नुभयो ।

परिवार र आफन्तको प्रश्न र शङ्काकै बिचमा मेरो तालिम चलिरह्यो । त्यस क्रममै हामीलाई प्रयोगात्मक सिकाइका लागि लाङटाङ लगियो । त्यहाँ सिकाइसँगै हामी महिला साथीहरू मिलेर रमाइलो पनि गरेर फर्कियौँ । मलाई कुनै किसिमको अप्ठ्यारो भएन । मेरो स्वास्थ्यमा समस्या भएन । त्यसपछि ममा पथप्रदर्शक बन्न सकिने रहेछ भन्ने आँट र उत्साह थपियो ।

हाम्रो तालिम जेठको महिनाको थियो । तालिम सकिएपछि सर्टिफिकेट पनि पायौँ । त्यसपछि हामीले ट्रेकिङ गाइडको लाइसेन्स लिनुपर्ने थियो । लाइसेन्स लिन खोज्दा केही प्रक्रिया नमिलेको भन्दै लाइसेन्स पाउन मलाई केही समय लाग्यो । यता लाइसेन्स लिने प्रक्रिया भइरहेकै बेला पनि मैले एक जना विदेशी पर्यटकलाई पथप्रदर्शन गर्ने अवसर भने पाइहालेँ । त्यति बेला म विपश्यना ध्यान केन्द्रमा पनि काम गर्थें । त्यहीँ जर्मनीकी एक जना महिलासँग मेरो चिनजान भयो । उहाँलाई अन्नपूर्ण पदयात्रामा जानका लागि ‘गाइड’ चाहिएको रहेछ । मैले पनि आफू ‘ट्रेकिङ गाइड’ भएको बताएँ । अन्नपूर्ण क्षेत्रको यात्रा मेरो लागि पहिलो थियो । यो कुरा ती पर्यटकलाई पनि भनेँ । उहाँले कुरा बुझ्नुभयो र मलाई आफ्नो ‘ट्रेकिङ गाइड’ स्वीकार गर्नुभयो । त्यसपछि उहाँ र म अन्नपूर्ण पदयात्रातर्फ निस्कियौँ ।

अहिलेको जमाना सञ्चार माध्यमले पनि सजिलो बनेको छ । इन्टरनेट सुविधा छ । युट्युब लगायत विभिन्न माध्यममा उपलब्ध सामग्रीका आधारमा मैले अन्नपूर्ण पदयात्राका बारेमा आवश्यक जानकारी लिएँ । अग्रज पथप्रदर्शक तथा त्यही क्षेत्रमा आबद्ध व्यक्तिहरूसँग पनि सोधखोज गरेरै अन्नपूर्ण पुगियो । उहाँ पहिला पनि नेपाल आइसक्नुभएको रहेछ । यसैले पनि मलाई उहाँसँग यात्राको काम गर्न सजिलो भयो । मेरो पहिलो पदयात्रा र पथप्रदर्शकको काम एकसाथ सफल भयो । हामी दुवै जनाले रमाइलोसँग यात्राको समय बिताएर फर्कियौँ र काठमाडौँ आयौँ । त्यो मेरो पहिलो पदयात्रा भए पनि मैले व्यावसायिक पथप्रदर्शकहरूलाई सोधेर चलिरहेकै रेटमा पैसा लिएकी थिएँँ । त्यसपछि अहिलेसम्म यही पेसामै लागिरहेकी छु । हुन त पथप्रदर्शकको काम वर्षभरि चल्दैन । यो सिजनमा मात्र हुने काम हो । फागुनदेखि जेठ महिनासम्म यसको राम्रो सिजन हो । खासगरी पानी पर्ने बर्खाको समय असार, साउन महिनालाई ‘अफ सिजन’ मानिन्छ । भदौको बिचदेखि पुनः पदयात्रा र पथप्रदर्शनको सिजन सुरु हुन्छ । त्यसपछि हिउँ पर्ने हिउँदको समय पुस, माघ पनि ‘अफ सिजन’ नै हो ।

पदयात्रा सधैँ सुखद मात्रै पनि हुँदैन भन्ने अनुभव बटुलेको छु । विशेष गरी भाषा र स्वास्थ्यका समस्या गम्भीर हुन्छन् ।

ट्रेकिङ गाइडको रूपमा यात्रा गर्ने क्रममा २०७० देखि २०८१ सालको वैशाखसम्म यो १० वर्षमा मैले धेरै देशका करिब चार सय पर्यटकलाई गाइड गरेँ । विदेशी र नेपाली पर्यटक दुवैलाई गाइड गर्ने अवसर पाएँ । पोल्यान्ड, जर्मनी, बेलायत, फ्रान्स लगायत धेरै देशका पर्यटकको गाइड भएँ । त्यसले गर्दा धेरै देशका धेरै जनासँग साक्षात्कार गर्ने अवसर पनि मिल्यो । देशविदेशका कुरा बुझ्ने मौका पनि पाएँ । पहिलो पटक अन्नपूर्ण गएर फर्के लगत्तै मैले पुनः अन्नपूर्ण जानुपर्ने भयो । अनि लाङटाङ, कोरी, मार्दी लगायत धेरै हिमाल गएँ । म मनास्लु लगायतका हिमाल धेरै गएको छु । अवसरहरू आइरहे । यो अवधिमा म नगएको भनेको कञ्चनजङ्घा लगायतका थोरै क्षेत्र मात्र छन् ।

पदयात्रामा पथप्रदर्शक भएर हरेक व्यक्तिसँग हिँड्दा फरक फरक अनुभव हुन्छ । त्यही अनुसार आफू चल्नुपर्ने हुन्छ । जे भए पनि उनीहरूसँग धेरैभन्दा धेरै कुरा गर्ने, आफूले पनि सिक्ने र नेपालको बारेमा धेरै कुरा जानकारी दिने अवसर मैले पाएँ । देशको बारेमा धेरैलाई बताउन पाउनु पनि अवसर हो भन्ने लाग्छ ।

पदयात्रा सधैँ सुखद मात्रै पनि हुँदैन भन्ने अनुभव पनि बटुलेको छु । विशेष गरी भाषा र स्वास्थ्यका समस्या गम्भीर हुन्छन् । महिला स्वास्थ्यको नियमित प्राकृतिक अवस्थालाई पनि व्यवस्थापन गर्नैपर्ने हुन्छ । सबै पथप्रदर्शकले महिला पदयात्रीलाई ध्यानमा राखेर भए पनि यो कुरामा पूर्वतयारी गर्नुपर्छ भन्ने लाग्छ । हामी पथप्रदर्शकले प्राथमिक उपचारका सामग्री पनि सँगै बोकेका हुन्छौँ । हामी गाइड आफैँ पनि कुनै बेला ‘डाक्टर’ को भूमिकामा हुनुपर्छ ।

कतिपय पर्यटकसँग भाषाका समस्या आउँछन् । विदेशी भन्ने बित्तिकै जसले पनि अङ्ग्र्रेजी सरर बोल्छन् भन्ने हामी नेपालीको सोचाइ छ तर त्यस्तो हुँदैन । अङ्ग्रेजी भाषा बुझ्न नसक्ने विदेशी पर्यटकहरू पनि थुप्रै हुन्छन् । हामी गाइडले पनि सबै देशको भाषा बोल्न, बुझ्न र बुझाउन सम्भव हुँदैन । अङ्ग्रेजी भाषा बुझ्न नसक्ने पर्यटकहरूसँग यात्रा गर्दा अलि अप्ठ्यारो हुन्छ ।

महिला स्वास्थ्यको सन्दर्भ अलि फरक खालको हुन्छ । यसमा महिनावारीको कुरा बिर्सन मिल्दैन । त्यसैले महिनावारी व्यवस्थापनका सामग्रीसँगै दुखाइ कम गर्ने औषधी पनि साथमा बोकेकै हुन्छु ।

विशेषगरी, एक जना महिलालाई स्वास्थ्यमा समस्या भएको घटना सम्झिन्छु । यो २०७८ सालको कुरा हो । हल्यान्डकी ७२ वर्षकी एक जना आमा हुनुहुन्थ्यो । उहाँलाई सिक्किमबाट पाँचथर हुँदै ताप्लेजुङ, सोलुखुम्बु, लुक्ला हुँदै दोलखाको बिगु गुम्बा पुर्‍याउँदा ४२ दिनको यात्रा गर्नुपर्ने थियो । उहाँमा घुँडाको समस्या रहेछ । बाटामा हिँड्न गाह्रो भयो । फेरि उहाँलाई पखाला पनि लाग्यो । पुगेको ठाउँमा स्थानीय खाना खान भने मन पराउने खालको मान्छे हुनुहुन्थ्यो । स्थानीय खानाले गर्दा पखाला लागेको होला भन्ने पनि लाग्यो । उहाँलाई औषधी खुवाएँ र अन्य सरसहयोग गरेर ठिक बनाएँ । हाम्रो यात्रा पूरा पनि भयो । त्यही भएर होला, अहिले पनि उहाँले मलाई सम्झनुहुन्छ । उहाँका हरेक कार्यक्रमहरूमा मलाई इमेल, एसएमएस गर्ने गर्नुहुन्छ । पदप्रदर्शक बन्दा व्यावसायिकसँगै अर्काे देशको नागरिकसँग भावनात्मक सम्बन्ध पनि स्थापित हुन्छ ।

महिला स्वास्थ्यको सन्दर्भ अलि फरक खालको पनि हुन्छ । यसमा महिनावारीको कुरा बिर्सन मिल्दैन । महिनावारी हुँदा मलाई धेरै पेट दुख्छ । सकेसम्म त्यसलाई सहने प्रयास गर्छु तर गाइड गरिरहेको अवस्थामा छु भने त मैले दुखाइ कम गर्ने औषधि खानैपर्छ । धेरै हिँड्नुपर्छ, कुन बेला कहाँ पुगेको भइन्छ थाहा हुँदैन । त्यसैले महिनावारी व्यवस्थापनका सामग्रीसँगै दुखाइ कम गर्ने औषधी पनि साथमा बोकेकै हुन्छु ।

हिमाली क्षेत्र, बेसक्याम्पमा पुग्दा त प्याड फेरिरहन पनि गाह्रो हुन्छ । त्यसैले महिनावारी हुँदा प्याड प्रयोग नगरेर कपको प्रयोग गर्छु । कहिलेकाहीँ टेम्पोन प्रयोग गर्छु । एकपटक पोल्यान्डका १२–१३ जनाको समूहलाई लिएर एभरेस्ट बेसक्याम्प पुगेको थिएँ । त्यही बेला महिनावारी भएर टेम्पोन राखेको थिएँ । पछि त झिक्नै बिर्सिएछु । महिनावारी भइसकेको पनि तीन दिनपछि मात्रै सम्झिएर निकालेँ । चिसो र धेरै जनासँग गफ गर्दै हिँड्दा आफ्नो स्वास्थ्यको ख्यालै हुँदैन । काठमाडौँ फर्किएपछि सिभिल हस्पिटलमा गएँ । सङ्क्रमण भएको रहेछ, भिडियो एक्सरे गर्दा केही देखिएन तर औषधी खानुपर्छ भनेर डाक्टरले औषधी लेखिदिए ।

महिला गाइड भनेपछि गाइडका क्रममा आइपर्ने हरेक परिस्थितिसँग जुध्न सक्दैनन् होला भन्ने सोचाइ पर्यटन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूको हुन्छ ।

लैङ्गिक समानताका कुरा जति गरे पनि व्यवहारमा देखिँदैन । महिला गाइड भनेपछि गाइडका क्रममा आइपर्ने हरेक परिस्थितिसँग जुध्न सक्दैनन् होला भन्ने सोचाइ पर्यटन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूको हुन्छ । त्यसैले पनि महिलाले काम पाउने अवस्था कम हुन्छ । भन्नुको मतलब केही अप्ठेरो परिहाल्यो भने पुरुष गाइडले जस्तो सामान मात्रै होइन, मान्छे नै बोक्नुपर्ने अवस्था आए पनि बोक्छन् तर महिला गाइडले त्यसो गर्न सक्दैनन् भन्ने सोचाइ छ । यसले गर्दा यो क्षेत्रमा लागे पनि स्थापित भइराख्न महिलालाई अलि गाह्रो पनि हुन्छ । कम्पनीहरूले महिलालाई झट्ट काम दिन खोज्दैनन् । उनीहरूको प्राथमिकतामा पुरुष गाइड नै हुन्छन् । बिहे गरेपछि कतिपय महिलाले पथप्रदर्शकको कामलाई निरन्तरता दिन नपाएको र नसकेको अवस्था पनि छ ।

कतिपय महिला गाइडहरूले स्थापित भएर राम्रो गरिरहनुभएको पनि छ । कति साथीहरू पदयात्राबाट सम्पदा पथप्रदर्शकको कामतिर पनि लाग्नुभएको छ । पर्यटन क्षेत्रमा अलि बढी मङ्गोलियन, आदिवासी समुदायका व्यक्तिलाई अलिकति अवस्था सहज जस्तो लाग्छ । त्यही भएर शेर्पा समुदायका धेरै महिलाहरू पर्यटन क्षेत्रमा स्थापित भएर काम गरिराख्नुभएको छ । उहाँहरू बिहे भएपछि पनि यो कामलाई निरन्तरता दिनुहुन्छ । गर्भवती भएको बेला केही समय विश्राम लिएर फेरि काममा फर्कने गर्नुहुन्छ । परिवारका सदस्यले बच्चाको स्याहारसुसार गरिदिएर बुहारीलाई गाइडको काममै निरन्तरता दिन सहयोग गरिदिने उदाहरणीय परिवार पनि धेरै नै छ ।

असोज कात्तिक पथप्रदर्शक, पदयात्रा गाइडको लागि व्यस्त हुुनुपर्ने सिजन हो । त्यसैले मेरा दसैँ, तिहारहरू धेरै छुटेका छन् ।

पर्यटन क्षेत्रमा रहेर काम गरिरहेका तथा यस क्षेत्रलाई राम्रोसँग बुझेकाहरूले त महिलालाई सकारात्मक रूपमै हेर्नुहुन्छ तर आममानिसको बुझाइ भने अलि नकारात्मक पनि छ जस्तो लाग्छ । मलाई विदेशीसँग हिँडेकी छे, विदेशीलाई घुमायो, हिँड्यो, रमाइलो गरेकी छे, विदेशीलाई घुमाउँदा योसँग त पैसा नै पैसा होला भन्ने पनि गर्छन् । यस्तो सुन्दै आएकी छु । तर, भन्नेले भन्दै गर्छन् भन्ने सोच्छु र आफ्ना काममा अघि बढ्छु । आममानिसका यस्ता कुराले मलाई खासै असर गरेन । अब त झन् जे भने पनि भनून् भन्ने लाग्छ । मेरो अनुभवमा विदेशी पर्यटकलाई गाइड गर्ने बित्तिकै धेरै पैसा पाउने भन्ने हुँदैन । ठिक्क पारिश्रमिक पाउने हो । विदेशबाट आउने भन्ने बित्तिकै पर्यटकहरूले जति पनि पैसा दिन्छन् भन्ने सोच्नु गलत हुन्छ । उहाँहरू पनि घुम्नका लागि योजना बनाएर आउनुभएको हुन्छ । कहाँ कति पैसा खर्च गर्ने भनेर योजना बनाउनुभएको हुन्छ । यस्ता थपै्र कुरा सबैले बुझ्न अलि बाँकी नै छ भन्ने लाग्छ ।

तस्बिरहरू साैजन्यः एकादेवी मैनाली

पथप्रदर्शकका परिवार र आफन्तहरूले अझै धेरै कुरा बुझ्नुपर्ने हुन्छ । असोज कात्तिक पथप्रदर्शक, पदयात्रा गाइडको लागि व्यस्त हुुनुपर्ने सिजन हो । यो मौसममा पदयात्रा राम्रो चलिरहेको हुन्छ । अर्कोतिर हामी हिन्दुहरूका दसैँ तिहार जस्ता महत्त्वपूर्ण चाडबाड पनि यसै बेला पर्छन् । मैले गाइड गर्न थालेदेखि मेरा दसैँ, तिहारहरू धेरै छुटेका छन् । मलाई यी चाडबाड मनाउन छुटेकामा नराम्रो कहिल्यै लागेन । मेरै परिवारका अरू सदस्यलाई त नराम्रो लाग्ला तर मलाई भने काम नै प्राथमिकतामा हुनुपर्छ भन्ने लाग्छ । म आफैँ पनि यात्रामा रमाउने भएर पनि मलाई यस्तो लागेको हो । घरपरिवारमा मनाइने चाडबाड छुटे पनि म पदयात्रामा रमाइरहेको हुन्छु ।

मनदेखि घुमघाम गर्न र गराउन चाह्यो भने यसमा रमाइलो र पैसा दुवै छ ।

विशेषगरी पदयात्रामा लागेर रमाउन चाहनेलाई केही कुरा भन्न चाहन्छु । कुनै पनि विषयमा स्नातक तह पूरा गरेपछि ‘सम्पदा पथप्रर्दशक’ हुनका लागि तालिम लिन पाइन्छ । प्रवेश परीक्षा दिएर नाम निस्किएपछि मैले २०७५ सालमा सम्पदा पथ प्रदर्शक तालिम लिए । हिमाल पहाड धेरै हिँडिसकेकाले हेरिटेज गाइड पनि बन्छु भन्ने सोचेको हुँ । त्यही भएर अचेल काठमाडौँकै वरिपरि चाँगुनारायण, भक्तपुरलगायत सम्पदा स्थलहरूमा पर्यटकलाई घुमाउँछु । सबै सिजनमा हिमाल पहाडमा घुम्न र घुमाउन पाइँदैन । उमेर, अवस्था र समय पनि सधैँ एकनास हुँदैन ।

कोरोना भाइरसले संसारभर नै फैलाएको महामारीका कारणले दुई वर्षभन्दा बढी समय पर्यटन व्यवसाय ठप्प जस्तै भएको थियो । फेरि पर्यटकको आगमन नेपालमा बढिरहेको छ । अहिले पाएसम्म हेरिटेज गाइड हुन्छु, नत्र ट्रेकिङ गाइड पनि गर्छु । आँट र रहर छ भने यो क्षेत्रमा रमाइलोसँगै पैसा पनि हुन्छ तर सजिलो भने पक्कै छैन । अप्ठेरो अवस्थामा धैर्य गर्न पनि सक्नुपर्छ । मनदेखि घुमघाम गर्न र गराउन चाह्यो भने यसमा रमाइलो र पैसा दुवै छ ।

प्रकाशन मिति : २०८१ जेठ  गते,  साेमवार