Home Stories जहाँ महिलाको सुनुवाइ र कदर हुन्छ

जहाँ महिलाको सुनुवाइ र कदर हुन्छ

177
0

नेपालका लोपोन्मुख १० जातिमध्येको एक कुसुन्डा जातिमा महिलाको सुनुवाइ र कदर हुँदै आएको बताइन्छ । कुसुन्डाहरू पहिले जङ्गलमै फिरन्ते जीवन बिताउँथे । विभिन्न जिल्लामा छरिएरै भए पनि अहिले सबै कुसुन्डाहरूको बसोबास गाउँमै रहेको पाइन्छ । राष्ट्रिय जनगणना २०७८ मा कुसुन्डा जातिको सङ्ख्या २५३ रहेको छ । जनगणनामा उल्लेख भए अनुसार, कुसुन्डा जातिको बसोबास दाङ, सल्यान, प्युठान, रोल्पा, गोरखा, तनहुँ, पाल्पा, अर्घाखाँची, कपिलवस्तु र सुर्खेत जिल्लामा रहेको छ ।

कुसुन्डाहरूको बसोबास गाउँमा हुन थालेसँगै सामाजिकीकरण प्रक्रियामा नयाँपन आउन थाल्यो । पछिल्लो समय उनीहरूको जातीय पहिचान भने हराउँदै गएको अनुभव यो समुदायका पाका व्यक्तिहरूले गरेका छन् । ९० वर्षको उमेर काटिसकेका प्रेमबहादुर शाही कुसुन्डा जङ्गलमा फिरन्ते जीवन बिताएर गाउँमा बस्न थालेका व्यक्तिमध्येका एउटा ज्युँदो इतिहास हुनुहुन्छ । उहाँको जन्म जङ्गलमै भएको थियो । त्यहीँ घुमन्ते भएर २५औँ वसन्त पार गरिसकेपछि उहाँ आफ्नो जातीय समूहसँगै गाउँबस्तीमा सर्नुभएको रहेछ । आफूहरूले जङ्गलमा बिताएका दिनहरू सम्झँदै उहाँले भन्नुभयो, “खानेकुराको खोजीमा जङ्गलैजङ्गल घुम्दै हिँड्ने गर्थ्याैं ।” उहाँका अनुसार, कुसुन्डाहरू जङ्गलमै बस्ने, जङ्गलमा पाइने गिट्ठा, भ्याकुर, कन्दमूल, तरुल आदि खोजेर खाने, जीवजन्तुको सिकार गर्ने र बन क्षेत्रमै फिरन्ते जीवन बिताउने गर्थे ।

कुसुन्डा पुरुषहरू सिकार गर्न र कन्दमूल, फलफूल खोज्न जङ्गलमा जाने गर्थे भने कुसुन्डा महिलाहरू आवश्यक परेको बेलामा मात्र गाउँमा पस्थे र चामल, आँटो, पीठो, गहुँ जे भेटिन्छ, लिएर फर्कन्थे । उनीहरू जङ्गलमा पनि कुनै एक ठाउँमा मात्रै बस्दैनथे । आवश्यकता र सामूहिक रुचिअनुसार स्थान परिवर्तन गरिरहेका हुन्थे । एकै ठाउँमा बसिरहँदा त्यहाँ पाइने फलफूल र कन्दमूल खाएर सकिन्थ्यो । गाउँमा खानेकुरा माग्न जाँदा पनि सजिलै पाइने अवस्था थिएन । यसैले पनि आफूहरूले जङ्गलमा बस्दा समय समयमा बासस्थान परिवर्तन गर्ने गरेको प्रेमबहादुरले बताउनुभयो ।

कुसुन्डाहरू जङ्गलको बसाइँदेखि गाउँघरतिरको जीवनयात्रामा अघि बढिरहँदा कहिल्यै पनि घरेलु हिंसाले भने ठाउँ पाएन । यही समुदायकी महिला फणी कुसुन्डाले आफ्नो समुदायमा महिलामाथि हिंसा नहुने बताउनुभयो । साथै, पहिलेदेखि अहिलेसम्म नै घरमा हुने हरेक क्रियाकलापमा महिलाहरूको बोलीको सुनुवाइ र भावनाको कदर हुने गरेको उहाँको आशय थियो । “हाम्रो परिवारमा महिला पुरुष मिलेर काम गर्ने बस्ने सबै छ,” उहाँले भन्नुभयो ।

फणीको विचारमा आर्थिक अवस्था कमजोर हुनाले कुसुन्डाहरूले शिक्षाबाट वञ्चित हुन पर्‍यो । पहिले जङ्गलमा चामल, पीठो मागेर जीवनयापन गर्ने गरेको भए पनि अहिले आफूहरूले आयआर्जनका लागि बङ्गुर र कुखुराको चल्ला पाल्ने र बेच्नेतर्फ पनि ध्यान दिन थालेको उहाँले बताउनुभयो । आफू र परिवारको आर्थिक सशक्तीकरणमा कुसुन्डा महिलाको भूमिकाबारे उहाँले भन्नुभयो, “महिलाहरूले पनि आत्मनिर्भर बन्ने प्रयास गर्दै आएका छन् ।”

नेपाल कुसुन्डा विकास समाज केन्द्रीय समितिका अध्यक्ष धनबहादुर कुसुन्डाका अनुसार, २०२९–३० सालतिर कुसुन्डाहरू गाउँ पसेर जता मिल्छ त्यतै बस्न थालेका हुन् । त्यति बेलादेखि जङ्गलमा डुलेर गुजारा चलाउन नसक्ने अवस्था आएको र आफ्नो सम्पत्ति पनि नभएको हुनाले गाउँमा जता मिल्छ त्यतै छरिएर बस्न थालेको उहाँले जानकारी दिनुभयो । विभिन्न जिल्लामा छरिएर रहेका कुसुन्डाहरूको एकीकृत बस्ती छैन । “विभिन्न बस्तीमा मिसिएपछि कुसुन्डाहरूको बिहेबारी अन्य जातिका व्यक्तिहरूसँग हुन थाल्यो । यसले गर्दा कुसुन्डा भाषा, संस्कृति, भेषभूषा तथा जातीय पहिचान नै सङ्कटमा पर्न थाल्यो र अहिले क्रमशः हराउँदै गएको छ,” धनबहादुरले भन्नुभयो । आफूहरूको जातीय पहिचान हराउँदै जान थालेकामा उहाँ चिन्तित पनि देखिनुभयो ।

‘सन्धान’ ले लोपोन्मुख जातिको बसोबास रहेका विभिन्न ठाउँमा पुगेर उनीहरूको अवस्था, जीवनभोगाइ र भावनालाई सङ्कलन गरी अभिलेखन गर्दै आएको छ । यसै क्रममा २०८० कात्तिकमा सन्धान टोली दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित कुसुन्डाहरूको बसोबास भएको ठाउँमा पुगेको थियो । त्यही बेला ९१ वर्षीय प्रेमबहादुर शाही कुसुन्डा र फणी कुसुन्डासँग भेट भयो । उहाँहरूसँग कुसुन्डाहरूको पछिल्लो अवस्था, पुख्र्यौली पेसा, जातीय पहिचानका साथै रहनसहनमा आएको परिवर्तनका विषयमा कुराकानी पनि भएको थियो । प्रस्तुत छ, दाङकी पत्रकार सरिता चौधरीको समन्वयमा ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले प्रेमबहादुर शाही कुसुन्डाफणी कुसुन्डासँग गर्नुभएको कुराकानीको भिडियो अंश :

प्रकाशन मिति : २०८१ साउन २१ गते, साेमवार

याे पनि पढ्नुहाेस्