कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका सात गाउँमा यस वर्ष माघमा सात जना महिला भलमन्सा बन्न सफल भए । उनीहरू थारू जातिमा रहेको परम्परागत कार्यविभाजन र बडघर प्रथाको अनुसरण गर्दै २०८०–८१ को एक वर्षका लागि आ–आफ्नो गाउँको भलमन्सा भएर नेतृत्वमा पुगेका हुन् ।
धनगढी उपमहागरपालिका वडा नम्बर ९ वनगाउँका समाजसेवी रामनारायण चौधरी यस वर्ष भलमन्साको जिम्मेवारीमा पहिलेका वर्षहरूभन्दा धेरै महिला हुँदा आफूलाई खुसी लागेको बताउनुहुन्छ । उहाँका अनुसार, महिलाले नेतृत्व गरेको सङ्घसंस्था पारदर्शी र सङ्गठित तरिकाले सञ्चालन गरेको देखिएकाले केही वर्षयता थारू समुदायमा भलमन्साको जिम्मेवारी पनि महिलालाई दिने गरिएको हो ।
महिला नेतृत्वबारे धनगढी उपमहानगरपालिका अन्तर्गत नगर भलमन्सा समितिका सचिव बिन्तिराम चौधरी पनि भन्नुहुन्छ, “पालिकाभित्र महिला पनि क्षमतावान् छन् भन्ने लागेर नेतृत्व दिइएको हो । समाजका बारेमा बुझेका महिलाले नेतृत्व गर्नुपर्छ भनेर पनि भलमन्साको जिम्मेवारी दिइएको हो ।”
नेपालको आदिवासी जनजातिमा चिनिने थारूहरू कुल १८ लाख सात हजार १२४ जना छन् भने यसमा थारू महिलाको सङ्ख्या आधाभन्दा बढी छ । कुल नौ लाख २६ हजार ६११ को सङ्ख्यामा रहेका थारू महिलामध्ये केहीले परम्परागत पुरुष नेतृत्वका ठाउँमा आफ्नो पनि स्थान बनाउँदै आएका छन् ।
नगर भलमन्सा समितिका सचिव बिन्तिराम माघको चौथो साताको सुरुसम्ममा धनगढी उपमहानगरपालिकाका १९ वटा वडाका केही टोलबाहेक अन्य ठाउँमा भलमन्सा चयन भइसकेको बताउनुहुन्छ । यसै सम्बन्धमा रामनारायण भन्नुहुन्छ, “माघ महिनाभरि भलमन्सा चयन गर्ने र फागुनमा पद हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।”
राष्ट्रिय जनगणना २०७८ मा नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ । जातीय आधारमा हेर्दा नेपालको चौथो ठुलो जनसङ्ख्या थारू जातिको रहेको देखिन्छ । नेपालको आदिवासी जनजातिमा चिनिने थारूहरू कुल १८ लाख सात हजार १२४ जना छन् भने यसमा थारू महिलाको सङ्ख्या आधाभन्दा बढी छ । कुल नौ लाख २६ हजार ६११ को सङ्ख्यामा रहेका थारू महिलामध्ये केहीले परम्परागत पुरुष नेतृत्वका ठाउँमा आफ्नो पनि स्थान बनाउँदै आएका छन् । यसरी थारू महिलाले गाउँमा परम्परागत नेतृत्व लिने परिपाटी बढ्दै पनि छ ।
बडघर प्रथाका भलमन्सा
थारू जातिमा बडघर प्रथा पुरातनकालदेखि नै रहेको मानिन्छ । कतिपय ठाउँमा बडघरलाई बरघरिया भन्ने गरिन्छ । सामूहिक सङ्गठन व्यवस्थापनका लागि गाउँको प्रमुख वा मुखिया रहेका हुन्छन् । ‘थारू संस्कृतिको सङ्क्षिप्त परिचय’ नामक पुस्तकका लेखक तथा सम्पादक गोपाल दहितका अनुसार, तिनैलाई कैलालीतिर भलमन्सा भन्ने गरिन्छ ।
नेपालमा थारू जातिको बसोबास पूर्वदेखि पश्चिमका जिल्लाहरूसम्म रहेको पाइन्छ । कतिपय ठाउँका थारू गाउँमा भलमन्साको घरलाई बडघर भन्ने चलन पनि छ । २०६२ सालमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट प्रकाशित गोपालको सोही पुस्तकमा उल्लेख छ, “हरेक साल माघमा नयाँ या सोही पुरानै बडघर राख्ने भन्ने निधो गरिन्छ ।” बडघर भनेको पनि भलमन्सा नै हो । भलमन्साको कार्यावधि एक वर्षको हुन्छ ।
थारू समुदायमा भलमन्सालाई समुदायको काम नगरी पद मात्र ओगट्न भने छुट छैन । यसैले भलमन्सा भएर काम गर्दै आएका व्यक्तिको अंशबण्डा भएमा निजलाई जिम्मेवारीबाट मुक्त गर्ने पनि चलन छ । उनलाई बडघरबाट अंश लिएपछि अर्कै घर बनाएर बस्नुपर्ने हुन सक्छ ।
भनिन्छ, सामूहिक नेतृत्वकर्ता भएकैले थारू गाउँमा भलमन्साको बेग्लै महत्त्व र सम्मान हुने गर्दछ । भलमन्साले लाए अह्राएका काम गाउँका अन्य सदस्यले मान्नुपर्ने हुन्छ । यस्तो मान्यताका कारण गाउँमा अनुशासन कायम हुने र सामूहिक रूपमा समुदायको काम गर्न सकिने विश्वास थारू जातिमा छ । यसै आधारमा पुरातनकालदेखि थारू गाउँमा सामुदायिक काम हुँदै आएको पनि देखिन्छ ।
नेतृत्वकर्ता भएर गाउँको सेवा गरेबापत भलमन्सालाई गाउँका किसानले धान रोप्न, काट्न सघाएर बेगारी दिने चलन छ । स्थानीयवासीका अनुसार, भलमन्साको आदेशमा गाउँवासीले गाउँका यावत काम गर्नुपर्ने हुन्छ । भलमन्साले बेला बेलामा ‘बेगारी’ दिन आदेश गर्छन् । यसो गर्दा कुनै कारणले बेगारी जान नसक्ने गाउँवासीले उनलाई जरिवाना समेत तिर्नुपर्ने परम्परागत नियम छ ।
थारू समुदायमा भलमन्सालाई समुदायको काम नगरी पद मात्र ओगट्न भने छुट छैन । यसैले भलमन्सा भएर काम गर्दै आएका व्यक्तिको अंशबण्डा भएमा निजलाई जिम्मेवारीबाट मुक्त गर्ने पनि चलन छ । उनलाई बडघरबाट अंश लिएपछि अर्कै घर बनाएर बस्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा निजले एकातिर भलमन्सा र अर्कोतिर आफ्नो घरको दोहोरो जिम्मेवारी बहन गर्न नसक्ने हुन सक्छ । यही ठानेर निजलाई भलमन्सा पदबाटै मुक्त गर्ने गरिएको तर्क थारू अगुवाहरूको छ ।
भलमन्साको काम
भलमन्साले ‘एक गाउँको प्रशासनिक, न्यायिक, पूजापाठ तथा विकास निर्माणको कार्य पनि गराउनु पर्ने’ कुरा गोपालको पुस्तकमा उल्लेख छ । सो पुस्तकमा उहाँले गाउँका सानातिना झगडा मिलान गर्ने तथा कहिलेकाहीँ छिनोफानो गर्नुपर्ने काम पनि भलमन्साकै हुने जनाउनुभएको छ । भलमन्साले सामान्यतः गाउँको संरक्षण गर्ने, सरसफाई गर्ने, विकास निर्माणका काम गर्ने, कुलोपानी, बिजुलीबत्ती आदिको व्यवस्था गर्ने, गाउँघरमा आइपर्ने दुःखसुखमा सहभागी हुने, सामूहिक सरसहयोग गर्ने गराउने जस्ता कामको अगुवाई गर्दै आएको पाइन्छ ।
स्थानीय जानकारका अनुसार, थारू समुदायमा ससाना झैझगडा भएमा गाउँमै मेलमिलाप गराउने, अंशबण्डा, लेनदेन, साँधसँधियार आदिको विवाद भयो भने पनि गाउँमै मिलाउने काम भलमन्साको जिम्मेवारीमा पर्छ । भलमन्साले गाउँ समुदायको रोहवरमा सामाजिक न्याय निसाफ पनि गर्छन् । यस्तो काम न्यायोचित रूपमा गर्दै आएकाले बडघर प्रथालाई राज्यले कानुनी मान्यता दिई संरक्षण गर्नुपर्ने माग पनि उठ्ने गरेको छ ।
बडघर प्रथाबाट नेतृत्व पाएका भलमन्साले समुदायमा रहेको सामाजिक तथा सांस्कृतिक कार्यको संयोजनका साथै सामूहिक व्यवस्थापन कार्यको अगुवाई पनि गर्दै आएका छन् । माघीमा ‘माघे निवानी कर्ता’ को काम पनि भलमन्साले नै गर्दछन् ।
थारू जातिको बाहुल्य रहेको कतिपय बस्तीमा निर्वाचित जनप्रतिनिधिभन्दा बडघरका भलमन्सालाई थारूहरूले बढी विश्वास गर्ने गरेका छन् । यसैले पनि बडघर प्रथालाई कानुनी मान्यता दिनुपर्ने आवाज उठ्ने गरेको हो । नगर भलमन्सा समितिका सचिव बिन्तिरामको भनाइमा वडास्तरीय र पालिकास्तरीय भलमन्सा ऐन बनाइएको छ । उहाँ भन्नुहुन्छ, “यसलाई स्थानीय तहले मान्यता दिनुपर्छ ।” यो माग प्रदेश हुँदै सङ्घीय सरकारसमक्ष पनि पुर्याउने उहाँ बताउनुहुन्छ ।
बडघर प्रथाबाट नेतृत्व पाएका भलमन्साले समुदायमा रहेको सामाजिक तथा सांस्कृतिक कार्यको संयोजनका साथै सामूहिक व्यवस्थापन कार्यको अगुवाई पनि गर्दै आएका छन् । माघीमा ‘माघे निवानी कर्ता’ को काम पनि भलमन्साले नै गर्दछन् । ‘थारू लोकसंस्कृति र चाडबाड’ नामक पुस्तकमा लेखक फनि ‘श्याम’ थारूले उल्लेख गर्नुभएको छ, “यो माघी पर्व ५/६ दिनसम्म चल्दछ । यसै मौकामा कमैया (नोकरी) बसेकामध्ये कसैले पुरानो नोकरी त्याग्दछन् भने कसैले त्यही पुरानो नोकरीलाई नवीकरण गर्दछन् । यी काम गाउँका मुख्य मानिसले गर्दछ ।” नेपाल प्रज्ञा–प्रतिष्ठानबाट २०६९ सालमा प्रकाशित सो पुस्तकमा उल्लिखित ‘गाउँका मुख्य मानिस’ भनेका भलमन्सा नै हुन् ।
नेतृत्वमा पुरुषको एकलौटी तोडिँदै
नेपालमा थारू जातिको अस्तित्व लिच्छविकालभन्दा पनि पुरानो समयदेखि नै रहेको मोटामोटी अनुमान छ । इतिहासको कुनै पनि कालखण्डका थारू महिला सामुदायिक नेतृत्वमा थिए वा थिएनन् भन्ने बारेमा सोधखोज र चर्चा भएको पाइँदैन । थारू लोक साहित्यमा रहेका महिला पात्रको चित्रण र वर्णन प्रायः परम्परागत पुरुषमैत्री घरेलु पात्रका रूपमा गरिएको पाइन्छ । तिनमा थारू महिलालाई समुदायको नेतृत्वकर्ता र त्यसका हकदारका रूपमा उभ्याइएको पाइँदैन । यसैले अहिले थारू जातिमा नेतृत्वकर्ताका रूपमा रहेको पुरुषको एकलौटी वर्चस्व तोडिन थालेको तर्क गर्न थालिएको छ ।
यस वर्ष २०८० माघ चौथो सातासम्ममा धनगढी उपमहानगरपालिकामा सात जना महिलाले भलमन्साको जिम्मेवारी पाए । उनीहरूमध्ये कसैले विगत १३ वर्षदेखिको जिम्मेवारीलाई निरन्तरता दिने अवसर पाएका छन् भने कसैले पहिलो पटक प्रवेश पाएका छन् ।
पछिल्ला दुई दशकयता भलमन्साको रूपमा थारू समुदायको परम्परागत नेतृत्वमा महिलाको पनि प्रवेश भएको छ । थारू अगुवाहरूका अनुसार, पहिले पहिले पुरुषले मात्रै भलमन्सा हुन पाउने चलन थियो । पछिल्लो समयमा भलमन्साको जिम्मेवारी महिलाले पनि पाएका छन् । कैलालीको धनगढीले पनि यसको प्रतिनिधित्व गर्दछ । गाउँवासीले महिलालाई पनि भलमन्सा मान्ने गरेका छन् । यसमा लैङ्गिक समानताको साथै समावेशी सिद्धान्तले स्थान पाउन थालेको तर्कलाई पनि जोड्ने गरिएको छ ।
जे होस्, भलमन्साको नेतृत्व लिनका लागि समयले पनि गाउँघरका महिलालाई साथ दिएको छ । भलमन्सा समितिका सचिव बिन्तिराम भन्नुहुन्छ, “हिजोआज पुरुषहरू गाउँघरभन्दा बाहिरको काममा जाने भएकाले गाउँघरका टोल र अन्य समूहमा पनि महिलाहरू सक्रिय हुने गरेका छन् ।”
कैलालीमा भलमन्सा भएर गाउँको परम्परागत नेतृत्वको जिम्मेवारी लिन थारू महिलाका अतिरिक्त गैरथारू महिलाहरू पनि अघि सरेको देखिन्छ । यस वर्ष २०८० माघ चौथो सातासम्ममा धनगढी उपमहानगरपालिकामा सात जना महिलाले भलमन्साको जिम्मेवारी पाए । उनीहरूमध्ये कसैले विगत १३ वर्षदेखिको जिम्मेवारीलाई निरन्तरता दिने अवसर पाएका छन् भने कसैले पहिलो पटक प्रवेश पाएका छन् ।
तेह्र वर्षदेखि निरन्तर रीतादेवी
धनगढी उपमहानगरपालिका वडा नम्बर १६ ओझा टोलका रीतादेवी चौधरी ३६ वर्षको हुनुभयो । उहाँले विगत १३ वर्षदेखि लगातार भलमन्साको जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ । उहाँको गाउँमा ५८ घरधुरी रहेकामा अहिले ५५ घरधुरी मात्रै बाँकी छन् । गाउँका मानिस सहरमा बसाइँ सर्न थालेपछि घरधुरी सङ्ख्या घट्दै आएको उहाँ बताउनुहुन्छ । श्रीमान्, एक छोरा र एक छोरी गरी चार जनाको सानो परिवार छ उहाँको । श्रीमान् र छोराछोरीले काममा आफूलाई सहयोग गर्ने गरेको बताउनुहुन्छ । उहाँले सामान्य लेखपढ मात्रै गर्न जान्नुभएको छ ।
आफू नेतृत्वमा आएपछि गाउँसम्म विद्युत् विस्तार गरिएको र गाउँवासीलाई बिजुलीबत्तीको सुविधा प्राप्त भएको उहाँको भनाइ छ । “गाउँघरमा अझै समस्या छ,” उहाँ भन्नुहुन्छ, “कालोपत्रे बाटो नहुँदा यात्रा गर्न असहज छ । खोलामा पुल नहुँदा वर्षामा जोखिम हुने गरेको छ ।” विकास निर्माणका सामाजिक कामलाई प्राथमिकतामा राखेर आफूले आगामी दिनमा काम गर्ने रीतादेवीको लक्ष्य छ । गाउँको विकासका लागि यस वर्ष पनि भलमन्साको जिम्मेवारी पाएकाले आफूलाई वडा, नगर र अन्य कार्यालयमा समन्वय गर्न सजिलो भएको उहाँको बुझाइ छ ।
सातौँ पटक मायाको निरन्तरता
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ फूलबारी टोलकी ३८ वर्षीया माया चौधरी सातौँ पटक भलमन्सा बन्नुभएको छ । विगत छ वर्षको आफ्नो अनुभवलाई सदुपयोग गर्दै यो वर्ष काम गर्ने उहाँको योजना छ । उहाँ सामान्य लेखपढ गर्न जान्नुहुन्छ । उहाँको श्रीमान् र तीन छोरी गरी पाँच जनाको परिवार छ । उहाँलाई घरको काममा श्रीमान् र छोरीहरूको सहयोग हुने गरेको छ । यसैले घर बाहिरको काममा हिँड्न आफूलाई सजिलो भएको उहाँ बताउनुहुन्छ ।
“गाउँघरमा अझै समस्या छ,” उहाँ भन्नुहुन्छ, “अनुभवका आधारमा काम गर्ने छु । १३६ घरधुरी रहेको हाम्रो टोल छ । सबैलाई समेटर काम गर्ने छु ।” उहाँका अनुसार, गाउँदेखि बजार जानका लागि बाटोको खासै सुविधा छैन, कच्ची ग्राभल बाटो छ । खानेपानीको पनि सुविधा छैन । समुदायभित्रका काम त छँदैछन्, यस्ता सामाजिक कामलाई पनि प्राथमिकतामा राखेर काम गर्ने उहाँको सोचाइ रहेको छ ।
माया पहिले बडघरकी महिला पनि हुनुहुन्थ्यो । उहाँका श्रीमान् गरिबु डंगौरा थारूले छ वर्ष अघिसम्म भलमन्साको जिम्मेवारी सम्हाल्नुभएको थियो । श्रीमान्लाई सामुदायिक काममा सघाउँदासघाउँदै आफूले पनि सबैका लागि काम गर्न सिकेको माया बताउनुहुन्छ ।
“कति कुरा उहाँ (श्रीमान्) ले गरेको देखेर सिकेँ, कति कुरा उहाँको सट्टामा काम गर्न जाँदाजाँदै पनि सिकेँ । सबै कामको अनुभव छ,” उहाँ भन्नुहुन्छ, “अहिलेसम्म राम्रो गरेको छु । गाउँले सबैले मलाई विश्वास गरे । मैले अब काम गरेर देखाउने छु ।” उहाँका अनुसार, भलमन्साले गाउँको कुरा वडामा र वडाको कुरा पालिकामा पुर्याउनुपर्छ ।
निरन्तर दोस्रो कार्यकालमा गीता
धनगढी उपमहानगरपालिका वडा नम्बर ११ बासखेराका गाउँबासीले ३७ वर्षीया गीता चौधरीलाई यस वर्ष पनि भलमन्साको रूपमा निरन्तरता दिएका छन् । २०७९ सालको माघ महिनामा पहिलो पटक भलमन्सा बनेकी गीताको नेतृत्वलाई गाउँबासीले मन पराए । उहाँभन्दा पहिले रोहित चौधरीले भलमन्साको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
गीताले सामान्य लेखपढ गर्न मात्रै जान्नुभएको छ । श्रीमान् र दुई छोरा गरी उहाँको पनि चार जनाको परिवार छ । घरको काममा परिवारको सहयोग भएकैले आफूले घरबाहिरको काम पनि गर्न पाएको उहाँको बुझाइ छ । भन्नुहुन्छ, “दुई छोरा र श्रीमान्काे साथ सहयोगले मलाई काम गर्न सहज भएको छ ।”
“गाउँघरमा अझै समस्या रहेको छ,” उहाँ भन्नुहुन्छ, “गाउँमा गत वर्ष राम्रो काम गरेकाले गाउँलेले यसपालि पनि मलाई नै जिम्मेवारी दिनुभएको छ ।” भलमन्सा भएर ठुलो स्वरले नबोल्ने, सबैको कुरा सुन्ने र गाउँलेले गरेको सही निर्णयलाई उहाँहरूको मन बुझाउने तरिकाले आफूले काम गरेको उहाँको भनाइ छ ।
गीताका अनुसार, भलमन्साले गाउँघरमा हुने सबै काममा सहभागी हुनुपर्छ । बिहे, भोज र मृत्यु संस्कारका काममा पनि जानुपर्ने हुन्छ । उहाँ भन्नुहुन्छ, “कसैको मृत्यु भयो भने रातभर कुर्नुपरे पनि तयार हुनुपर्छ । कहिलेकाहीँ रातभर जाग्राम बस्न पनि पर्ने हुन्छ ।” अघिल्लो कार्यकालमा थारू समुदायसँग सम्बन्धित सबै काममा आफू सहभागी भएको उहाँको दाबी छ । यस वर्ष पनि त्यस्तै काम दोहोरिने छ ।
मीना, असरानी र फूलकुमारीको प्रवेश
धनगढी उपमहानगरपालिका वडा नम्बर १४ कुसुमडाँडा टोलका ३९ वर्षीया मीना चौधरी २०८० माघ २ गते पहिलो पटक भलमन्सा छनोट हुनुभयो । उहाँको गाउँमा जम्मा १४ घरधुरी रहेका छन् । गाउँवासीले आफूलाई विश्वास गरेकाले भलमन्साको जिम्मेवारी पाएको उहाँ ठान्नुहुन्छ । उहाँले यसअघि भलमन्सा भइसकेका साथीहरूको सहयोग लिएर आफू सामाजिक र सामुदायिक काममा अगाडि बढ्ने सोचिरहनुभएको छ ।
मीना विगतमा घरको काम मात्रै गर्नुहुन्थ्यो । उहाँको श्रीमान् भारतमा कमाउन गएकाले अहिले घरमा दुई छोरा मात्र छन् । श्रीमान्लाई अब गाउँमै बोलाएर चार जनाको परिवार सँगै मिलेर बस्ने र गाउँकै काम गर्ने उहाँको विचार छ । भन्नुहुन्छ, “छोराहरू साना छन् । घरको काम आफैँले व्यवस्थापन गरेर बाहिर हिँड्ने गरेको छु ।” उहाँले सामान्य लेखपढ गर्न जान्नुभएको रहेछ । यसैले भन्नुहुन्छ, “पढाइ कम भएकै कारण आफू पछाडि पर्छु कि भन्ने डर बेला बेलामा लाग्ने गर्छ ।” जे भए पनि अब काम राम्रोसँग गर्ने अठोट भने उहाँको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १५ कनरी गाउँकी ४८ वर्षीया असरानी चौधरीले पनि यस वर्ष पहिलो पटक भलमन्साको जिम्मेवारी पाउनुभयो । गाउँका सबैको साथ सहयोग लिएर आफूले राम्रो काम गर्ने उहाँ बताउनुहुन्छ । गाउँवासीले आफूलाई जिम्मेवारी दिएकामा उहाँ खुसी हुँदै भन्नुहुन्छ, “गाउँघरमा हुने सबै काममा सहभागी हुने गरेको छु । सबैको मन राखेर काम गर्ने योजना पनि बनाएको छु ।”
असरानी गाउँमा प्रौढ कक्षामा पढेर आफू साक्षर भएको बताउनुहुन्छ । अहिले सामान्य अक्षर पढ्न र लेख्न सक्ने हुनुभएको छ । भलमन्सा हुनुभन्दा पहिले उहाँ खेतीपाती र घरभित्रको काम गर्नुहुन्थ्यो । घरमा श्रीमान्, छोरा, बुहारी, नाति र नातिनी गरी छ जनाको परिवार छ । उहाँका दुई छोरीको बिहे भइसकेको बताउनुहुन्छ । उहाँका अनुसार, श्रीमान्ले उहाँलाई काममा सहयोग गर्ने गर्नुहुन्छ । उहाँभन्दा अघि कालुराम चौधरीले भलमन्साको रूपमा काम गर्नुभएको थियो ।
असरानीका अनुसार, गाउँको साझा काम गर्नु नै भलमन्साको मुख्य जिम्मेवारी हुन्छ । सामाजिक काम कसरी गर्ने भन्ने बारेमा छलफल हुन्छ । समुदायका मानिससँग छलफल गरेर काम हुने गर्छ । “प्रायः पुरुषले मात्रै नेतृत्व गर्ने गरेको यो काम यसपालि मेरो काँधमा आएको छ,” उहाँ भन्नुहुन्छ, “मैले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने सोचाइ राखेको छु ।” भलमन्सा भएपछि गाउँको सम्पूर्ण कामको बारेमा अब आफूलाई जानकारी हुने उहाँको बुझाइ छ ।
धनगढी उपमहागरपालिका वडा नम्बर ६ मटियारी गाउँकी ३६ वर्षीया फूलकुमारी चौधरीले पनि यस वर्ष पहिलो पटक भलमन्साको जिम्मेवारी पाउनुभयो । उहाँको गाउँमा ६५ घरधुरी रहेका छन् । उहाँ साधारण लेखपढ गर्न मात्रै जानेको बताउनुहुन्छ । श्रीमान् र दुई छोरी गरी उहाँको चार जनाको परिवार छ ।
श्रीमान् र छोरीहरूले घरको काममा सहयोग गरेकाले आफूलाई घरबाहिर काममा हिँड्न सजिलो भएको उहाँ बताउनुहुन्छ । उहाँ गाउँघरको काममा सक्रिय भएर काम गर्ने र सबैको मन जितेर अर्को वर्ष पनि भलमन्सा भएर गाउँको नेतृत्व गर्ने इच्छा राख्नुहुुन्छ । उहाँको विचारमा स्थानीय स्तरमा अहिले महिला नेतृत्वप्रति विश्वास बढ्दै गइरहेको छ । गाउँमा महिलालाई नेतृत्वमा ल्याउँदा राम्रो काम हुने भएकाले आफूले भलमन्साको काम गर्ने जिम्मा पाएको उहाँको भनाइ छ ।
गैरचौधरी महिलाको पनि प्रवेश
धनगढी उपमहागरपालिका वडा नम्बर १६ केराबारी टोलकी ४२ वर्षीया चित्रादेवी जोशी पनि यस वर्ष भलमन्सा बन्नुभयो । केराबारी टोलको अध्यक्ष समेत रहेकी चित्राले भलमन्साको जिम्मेवारी कुशलतापूर्वक निभाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ८० घरधुरी रहेको सो टोलमा यसभन्दा अघि सोही गाउँका भागिराम चौधरी भलमन्सा हुनुहुन्थ्यो ।
चित्रादेवीका अनुसार, गाउँमा भएको भूराखेल वा ‘खोज्नीबोज्नी’ मा चिट्ठा तान्ने कार्यक्रम गरिएको थियो । त्यसमा उहाँ पनि सहभागी हुनुहुन्थ्यो । यसैले उहाँ भलमन्सामा छानिनुभएको हो । उहाँले १० कक्षासम्म पढ्नुभएको छ । उहाँको घरमा सासू, ससुरा, श्रीमान्, तीन छोरी र दुई छोरा गरी नौ जनाको परिवार छ । घरमा सासू, ससुरा, श्रीमान् र छोराछोरीले आफूलाई काममा सघाउने गरेको उहाँ बताउनुहुन्छ । बैतडी जिल्लामा माइतीघर भएकी चित्रादेवी धनगढीमा विवाह गरेर आउनुभएको रहेछ ।
चौधरी र अन्य थरका मानिसको बसोबास रहेको केराबारी टोलमा आफूले सबैको मन राखेर काम गर्ने सोचाइ लिएको चित्रादेवी बताउनुहुन्छ । गाउँघरको सरसफाइ, सामूहिक कुलोपानी, विकास निर्माणका कामदेखि चाडपर्व, जन्म, मृत्यु, बिहेबारी आदिसम्मका गाउँघरका सबै कार्यक्रममा भलमन्साले सहभागी हुनुपर्ने उहाँको भनाइ छ ।
समाजसेवी रामनारायणका अनुसार, महिलालाई नेतृत्व दिनुपर्ने मान्यताका साथ गैरचौधरी महिलाले भलमन्सा भएर गाउँमा आफ्नो क्षमता देखाउने अवसर पाउनुभएको छ । गाउँघरमा साझा काम हुने भएकाले यो जात वा त्यो जात नभनी टोलबासीका नाताले गैरचौधरीलाई नेतृत्व दिइएको उहाँको भनाइ छ ।
यस्तै, नगर भलमन्सा समितिका सचिव बिन्तिराम चौधरी गैरचौधरी समुदायलाई भलमन्साको जिम्मेवारी दिँदा समानताको अनुभव भएको विचार व्यक्त गर्नुहुन्छ ।
भलमन्सा नै स्थानीय नेतृत्वको जग
धनगढी उपमहागरपालिका उपप्रमुख कन्दकलाकुमारी रानाले २०६५ देखि २०७८ सालसम्म भलमन्साको नेतृत्व सम्हाल्नुभएको थियो । ती दिनहरू सम्झँदै उहाँ भन्नुहुन्छ, “सामाजिक काम गर्दागर्दै जनताको दुःख बुझ्ने मौका मिलेको थियो । भलमन्सा हुँदा गाउँघरका समस्या लिएर वडा कार्यालय, जिप्रका र अन्य सम्बन्धित कार्यालयमा जाने गर्दथेँ । त्यसरी काम गर्दा क्षमता विकास भएको थियो ।”
भलमन्सा भएर गाउँमा सामाजिक काम गर्दा आफूले सबैको मन जित्न सकेको हुनाले नै अहिले आफू उपमहानगरपालिका उपप्रमुखसम्म हुनसकेको हुँ भन्ने उहाँलाई लाग्छ । उहाँले २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा उपमेयर पदमा प्रतिस्पर्धा गरी निर्वाचन जित्नुभयो । उहाँको विचारमा महिलाहरूका लागि हरेक क्षेत्रको नेतृत्व गर्न सक्ने क्षमता विकासको सुरुआत हो, भलमन्साको नेतृत्व । भन्नुहुन्छ, “सामुदायिक वन, टोलका समूह र अन्य गाउँघरमा हुने सबै समूहमा महिला उप वा दोस्रोे पदमा मात्रै नबसी पहिलो पदमा बस्नुपर्छ ।”
भलमन्साले गाउँघरका सानातिना झैझगडाको मेलमिलाप पनि गराउने भएकाले महिलाले भलमन्साको नेतृत्व गर्नु भनेको आगामी दिनमा स्थानीय तहको नेतृत्व गर्ने जग बसाउनु पनि हो ।
नगर भलमन्सा समितिका सचिव बिन्तिरामको भनाइमा अझ धेरै महिलालाई नेतृत्व दिन खोज्दा पनि यसपालि सम्भव भएन तर आगामी वर्षबाट महिला नेतृत्व बढाउँदै जाने विचार रहेको छ । उहाँ भन्नुहुन्छ, “कतिपय ठाउँमा पुरुषले नेतृत्व गरिरहेको भलमन्साको काम यो पटक महिलालाई दिइएको छ । त्यसमा पनि गैरचौधरी समुदायका महिलालाई दिँदा समानताको अनुभव पनि भएको छ ।”
यस्तो अवस्थामा उपप्रमुख राना सबैतिरका महिलाहरू आआफ्नो गाउँ तहबाटै नेतृत्वमा आउनुपर्ने र राजनीतिक दाउपेचको आकलन गर्दै खारिएर अघि बढ्नुपर्ने विचार राख्नुहुन्छ । उहाँको अनुभवमा भलमन्साले गाउँघरका सानातिना झैझगडाको मेलमिलाप पनि गराउने भएकाले महिलाले भलमन्साको नेतृत्व गर्नु भनेको आगामी दिनमा स्थानीय तहको नेतृत्व गर्ने जग बसाउनु पनि हो ।
नेतृत्वको जग बसाउने कार्यक्षेत्र र जिम्मेवारी भएकाले भलमन्साको नेतृत्वमा प्रवेश गरेका महिलालाई नेतृत्वसम्बन्धी तालिमको पनि व्यवस्था हुनुपर्छ । उनीहरूको नेतृत्व विकासमा जोड दिँदै समाजसेवी रामनारायण सुझाव दिनुहुन्छ, “स्थानीय तहबाट नेतृत्व विकासका तालिम प्रदान गरेर भलमन्सा भएका महिलाको क्षमता विकास गराउन सकिन्छ ।”
प्रकाशन मिति : २०८० फागुन ११ गते, शुक्रबार
यो पनि पढ्नुहोला
- भलमन्सा भएर काम गर्दाको खुसी (भिडियो सहित)
- मेरो प्राथमिकता शिक्षा र स्वास्थ्य – स्यानी चौधरी (भिडियो सहित)
- कमलरी प्रथा : मुक्तिको इतिहास र वर्तमान
- परिवार धान्न नसकेपछि छोरीलाई कमलरी पठाउँथे – कौशिला चौधरी (भिडियो सहित)