फेवातालमा डुङ्गा चढ्ने आठ वटा घाटमा सबै गरेर ३५६ वटाभन्दा बढी डुङ्गा चल्छन् । ती डुङ्गाहरू फेवा डुङ्गा व्यवसायी संगठनको मातहतमा आलोपालो प्रणालीमा सञ्चालित छन् । उक्त संगठनबाट प्राप्त जानकारी अनुसार, तीमध्ये चार–पाँच जना महिलाले मात्र नियमित डुङ्गा चलाउने काम गर्छन् ।
पालो परेका दिन बिहान ६ बज्नुअघि नै फेवातालको छेउमा पुग्ने शान्ता जलारी तिनैमध्येकी एक हुनुहुन्छ । हल्लनचोकस्थित घाटमा ५७ वर्षीया शान्ताले चलाउने डुङ्गा राखिएको हुन्छ । तालमा घुम्न आउने र तालबराही मन्दिरको दर्शन गर्न चाहने यात्रुलाई उहाँले आफ्नो डुङ्गामा राख्नुहुन्छ र काठको बहनाले खियाउँदै मन्दिरतिर सोझ्याएर अघि बढाउन थाल्नुहुन्छ ।
मन्दिरको ढिकमा पुगेपछि मन्दिरमा दर्शन गरिसकेर फर्कन तयार भएका नयाँ यात्रुलाई उहाँले आफ्नो डुङ्गामा राख्नुहुन्छ र उसैगरी हातपाखुराले बहना खियाउँदै तालको किनारतिर सोझ्याउँदै फर्काउन थाल्नुहुन्छ । हरेक पटक यसरी नै बहना खियाउँदै यात्रुलाई वारपार गराउने उहाँको काम हुन्छ ।
आफू छ वर्षको हुँदा २०२९ सालमा फेवातालको छेउमा बस्न आएको सम्झँदै शान्ता जलारी भन्नुहुन्छ, “त्यति बेलादेखि नै ताल र डुङ्गालाई देख्दै आएँ र तिनैसँग खेल्दै हुर्किएँ ।”
फेवातालको छेउमै हुर्किएकी शान्ताले डुङ्गा चालकको काम भने जीवनको पछिल्लो चरणमा आएपछि मात्रै गर्नुभयो । उहाँले यो काम गर्दै आएको चार वर्ष मात्र भएको छ । अहिले आफू बिरामी हुँदा पनि डुङ्गा चलाउन आउने गरेको बताउँदै उहाँ भन्नुहुन्छ, “डुङ्गा खियाउनु बाध्यतासँगै बानी पनि परिसक्यो ।”
जलारी समुदायको परम्परागत पेसासँगको शान्ताको जन्मजात सम्बन्ध र बाल्यकालदेखिकै संलग्नता रहेको पाइन्छ । कास्की जिल्लाको पोेखरास्थित नयाँबजारमा २०२३ सालमा जन्मिएकी उहाँ छ वर्षको उमेरमा फेवाताल छेउमा बस्न पुग्नुभयो । आमाबुबासँगै बसाइँ सरेर उहाँ फेवातालको छेउमा पुग्नुभएको रहेछ । न्युरोड भनेर पनि चिनिने नयाँबजारमा पहिलेदेखि जलारी समुदायका मानिस बस्थे । भनिन्छ, पछि उनीहरू बसाइँ सर्दै फेवातालको छेउमै बस्न पुगेका हुन् । आफू छ वर्षको हुँदा २०२९ सालमा फेवातालको छेउमा बस्न आएको सम्झँदै उहाँ भन्नुहुन्छ, “त्यति बेलादेखि नै ताल र डुङ्गालाई देख्दै आएँ र तिनैसँग खेल्दै हुर्किएँ ।”
जलारी समुदायका अरू जस्तै शान्ताको परिवार पनि ताल र माछामै निर्भर थियो । माछा मार्ने र बेच्ने गरेरै जीवन धान्ने गरिन्थ्यो । यसैले उहाँले सानैदेखि डुङ्गामा चढेर तालमा माछा मार्न सिक्नुभयो । उहाँका अनुसार, दाजुले चलाएको डुङ्गामा दाजुसँगै बसेर आफूले पनि माछाको जालो हाल्ने काम गरेर बाल्यकाल बिताएको हो ।
फेवातालका सन्दर्भमा डुङ्गा चालक महिलाको इतिहास खोतल्दै जाँदा सबैभन्दा पहिले तीन जना महिलाले व्यावसायिक तरिकाले डुङ्गा चलाएको बताइन्छ । उमेर र स्वास्थ्यका कारण उहाँहरू तीनै जनाले डुङ्गा चलाउने काम छाडिसक्नुभएको छ ।
पोखरा र फेवातालको सन्दर्भमा भन्ने हो भने घाँसदाउरा गर्नेहरूले तालपारि नामको वनमा आउजाउ गर्नुपर्ने हुन्छ । वारिबाट तालपारिको वनमा जानेआउने स्थलमार्ग छैन । उनीहरूले प्रयोग गर्ने यातायातको साधन नै डुङ्गा हो । शान्ता भन्नुहुन्छ, “बुवा र दाजुले डुङ्गा नचलाएको दिन हुँदैनथ्यो । डुङ्गा चढ्दाचढ्दै चलाउन सिकेँ । मैले डुङ्गा नखियाएको दिन हुँदैनथ्यो ।”
उहिले अनजानमै सिकेको त्यो सिपले अहिले उहाँलाई काम दिएको छ । शान्ता जस्तै फेवातालमा निरन्तर डुङ्गा चलाउने डुङ्गा चालक महिला अहिले चार–पाँच जना मात्र भएको बताइन्छ । त्यसमध्ये पनि हल्लनचोकस्थित घाटबाट डुङ्गा चलाउने शान्ता मात्र हुनुहुन्छ ।
कुनै समय फेवातालमा नियमित डुङ्गा चलाउने महिलाको सङ्ख्या २५ थियो भने अहिले त्यो सङ्ख्या घटेर चार–पाँच जनामा सीमित भएको छ ।
फेवातालका सन्दर्भमा डुङ्गा चालक महिलाको इतिहास खोतल्दै जाँदा सबैभन्दा पहिले तीन जना महिलाले व्यावसायिक तरिकाले डुङ्गा चलाएको बताइन्छ । उहाँहरू ७५ वर्षीया लक्ष्मी हिराचन, ६५ वर्षीया चन्द्री भुजेल र ५७ वर्षीया लक्ष्मी कार्की हुनुहुन्छ । उमेर र स्वास्थ्यका कारण उहाँहरू तीनै जनाले डुङ्गा चलाउने काम छाडिसक्नुभएको छ ।
नयाँ पुस्ताले देखाएन रुचि
कुनै समय फेवातालमा नियमित डुङ्गा चलाउने महिलाको सङ्ख्या २५ थियो भने अहिले त्यो सङ्ख्या घटेर चार–पाँच जनामा सीमित भएको छ । डुङ्गा चालक प्रमाणपत्र (लाइसेन्स) लिनका लागि डुङ्गा चलाउन अभ्यस्त हुनुपर्छ । जानकारका अनुसार, यो नै प्रमुख मापदण्ड हो र रुचि लिएर अभ्यास गर्नेहरूले यो मापदण्ड सहजै पूरा गर्न सक्छन् । तर पनि नयाँ पुस्ताका महिलाले यस काममा रुचि देखाएका छैनन् ।
नयाँ डुङ्गा चालक महिलाको प्रवेश नहुनुमा नयाँ पुस्ताको रुचि घट्दै जानु, पुरानो पुस्ताका चालकहरूलाई नै दैनिक पालो नपुग्नु र डुङ्गा चलाउने सिपको हस्तान्तरण र पुस्तान्तरण हुन नसक्नुलाई प्रमुख कारण मानिएको छ ।
फेवा डुङ्गा व्यवसायी संगठनका संस्थापक अध्यक्ष बुद्धि जलारी भन्नुहुन्छ, “पुराना पुस्ता स्वास्थ्य र उमेरका कारण छोड्न थाले, नयाँ पुस्ताका महिला आएनन् । त्यसैले चालक महिला अचेल कम छन् ।”
फेवा डुङ्गा व्यवसायी संगठनका कोषाध्यक्ष बुद्धिनाथ पाण्डेका अनुसार, कास्कीका बेगनास, रुपा र फेवातालमा गरेर डुङ्गा चलाउन जान्ने महिला दुई सयको हाराहारीमा रहेका छन् । तर, उनीहरूमध्ये अधिकांश महिलाले डुङ्गा चलाउने काम गर्दैनन् । उहाँ भन्नुहुन्छ, “व्यावसायिक रूपमा नियमित डुङ्गा चलाउने महिला निकै कम छन् ।” फेवातालमा डुङ्गा चालकहरू धेरै भएकाले एक त पाँच छ दिनमा मात्र एक जनाको पालो आउँछ । त्यसमा पनि महिलाहरू प्रायः घरायसी काममा नै व्यस्त हुनुपर्ने हुनाले व्यावसायिक रूपमा नियमित हुन नसकेका हुन् भन्ने तर्क बुद्धिनाथको छ ।
फेवा डुङ्गा व्यवसायी संगठनका संस्थापक अध्यक्ष बुद्धि जलारी भन्नुहुन्छ, “पुराना पुस्ता स्वास्थ्य र उमेरका कारण छोड्न थाले, नयाँ पुस्ताका महिला आएनन् । त्यसैले चालक महिला अचेल कम छन् ।” साथै, “पुरानो पुस्ताका महिलाले स्वास्थ्य समस्या लगायतका कारणले डुङ्गा चलाउन छाड्दै गएका र नयाँ पुस्ताका महिला नआएकाले सङ्ख्या घटेको हो,” संस्थापक अध्यक्ष बुद्धि भन्नुहुन्छ ।
कोषाध्यक्ष बुद्धिनाथका अनुसार, डुङ्गा चालक बन्नका लागि लाइसेन्स पत्र सङ्गठनले नै दिने गरेको छ तर नयाँ डुङ्गा चालक महिलाहरू नै कम भएको र अहिलेसम्म पुरानै डुङ्गा चालकले धानेको अवस्था छ ।
जलारी समुदायका पाका व्यक्तिहरूका अनुसार, अहिले नयाँ पुस्ताका महिलाहरू प्रायः पढालेखा नै छन् । उनीहरूले डुङ्गा चलाउने काम त छोडौँ, यसको सिप सिक्नमा पनि रुचि राखेका छैनन् । यसैले फेवातालका विभिन्न घाटमा हेर्दा अहिले ६५ वर्षीया माया भुजेल, ५७ वर्षीया लक्ष्मी कार्की र शान्ता जलारी र ४४ वर्षीया तारा विक आदि मात्र नियमित देखिने गर्नुहुन्छ ।
लैङ्गिक विभेदको अनुभव
डुङ्गा चालक महिला देख्दा पर्यटकले अचम्म मान्दै हेरेका दृश्यहरू शान्ता, माया, लक्ष्मी र तारासँग नमिठोसँग गढेको छ । उहाँहरूका अनुसार, डुङ्गा चढ्न आउने सबै त उस्तै हुँदैनन् तर चालक सिटमा महिला देखेपछि नजाने भन्नेहरू पनि भेटिन्छन् । कोहीले महिलाले चलाउन सक्दैन भन्छन् । कोहीले महिलाकोमा जाँदैनौँ, पुरुषकोमा जाने पनि भन्छन् ।
रामेछापमा जन्मिएकी लक्ष्मी कार्कीले पोखरामा श्रीमान्सँग डुङ्गा चलाउन सिकेपछि २०४७ देखि २०७३ सालसम्म डुङ्गा चलाउनुभयो । कहिले एकैदिन करिब एक सय जनासम्मलाई गरी हजारौँ पर्यटकलाई फेवाताल घुमाएको र तालबाराही मन्दिरको दर्शन गराएको बताउने उहाँले डुङ्गा चलाउने कामको प्रशंसा गर्ने पर्यटक पनि थुप्रै भेट्नुभयो । “यही काम गरेर एक सन्तान हुर्काएँ, घर चलाएँ,” लक्ष्मी भन्नुहुन्छ, “तर कतिले तपाईंले ‘यस्तो काम गरेको’ पनि भने ।” डुङ्गा चलाउने महिला भनेर कसैले हेप्दा र होच्याउँदा भने उहाँको मन चसक्क दुख्ने गर्छ ।
कतिपय यात्रुले महिला भनेर नपत्याएको देख्ता र नजाने भनेको सुन्दा शान्तालाई नराम्रो लाग्छ । चालक महिला रहेछ भनेर केही यात्रुले डुङ्गामा नजाने भनेको अनुभव माया भुजेलसँग पनि छ । २०५० सालअघि नै डुङ्गा चलाउन थालेकी उहाँलाई पर्यटकहरूले आमा, बज्यै भनेर सम्बोधन गर्छन् । यसैले सिधै आफैँसँग भन्नेलाई उहाँ विश्वास दिलाएरै आफ्नो डुङ्गामा राखेर लैजानुहुन्छ । उहाँको अनुभवमा महिलाले चलाएको डुङ्गामा नजाने वा जान नखोज्नेहरूमा धेरैजसो नेपाली हुन्छन्, विदेशीले जान्न भन्दैनन् ।
सिन्धुलीबाट पोखरा पुगेर श्रीमान्सँग डुङ्गा चलाउन सिकेकी तारा विकले २०५८ सालमा डुङ्गा चलाउन थाल्नुभयो । उहाँले पनि महिला भएकै कारण आफू र आफ्नो चालकीय क्षमतामाथि अविश्वास गर्नेहरू थुप्रै भेट्नुभयो । “महिलाले चलाउन सक्छन् र ? भनेको थुप्रै पटक सुन्नुर्यो, कतिले मुखले नभने पनि शङ्काको भाव व्यक्त गर्थे,” उहाँ भन्नुहुन्छ, “कतिले त छोरीमान्छेले चलाएकोमा जान्नम् पनि भन्थे, दुःख लाग्थ्यो तर जवाफ फर्काउँदिनथेँ ।”
महिलाले चलाएको डुङ्गामा भएका यात्रुलाई मात्रै बढी डर र खतरा हुने होइन । यसैले शान्ता थप्नुहुन्छ, “छाल उठेका बेलामा महिला पुरुष दुवैलाई उत्तिकै डर र खतरा हुन्छ ।”
आफ्नो पालो आउँदा पर्यटकले महिलाकोमा चढ्दैनौँ भनेर पुरुष चालक भएका डुङ्गामा गएका घटनालाई तारा बिर्सिन सक्नुहुन्न । “मेरोमा चढ्दिनँ भनेपछि मभन्दा पछिको पालोमा पुरुष चालक भएको डुङ्गा थियो, त्यसमा जान्थे,” उहाँ भन्नुहुन्छ, “एक त महिला भनेर विश्वास गरेनन्, अर्को, आफ्नो हातमा आएको पैसा अरूसँग गयो । यस्तो हुँदा मन दुख्छ ।”
यात्रुको ठाउँमा उभिएर हेर्दा तालमा सुरक्षाको सवाललाई नजरअन्दाज गर्न मिल्दैन । यो कुरालाई पनि ध्यानमा राख्दै शान्ता भन्नुहुन्छ, “सबैको आ–आफ्नै रोजाइ र विचार त होला तर, डुङ्गा चलाउनेका लागि पानीको जोखिम महिला वा पुरुष भनेर फरक हुँदैन ।”
डुङ्गा चालक महिलाहरू चैत, बैशाखतिर हावाहुरी चल्ने हुनाले वर्षको दुई–तीन महिना फेवातालमा डुङ्गा चलाउन बढी डर हुने बताउँछन् । हावाहुरी चलेका बेला तालमा छाल उठ्छ । डुङ्गा चालक महिलाहरूको भनाइ छ,– त्यस्तो बेला महिलाले चलाएको डुङ्गामा भएका यात्रुलाई मात्रै बढी डर र खतरा हुने होइन । यसैले शान्ता थप्नुहुन्छ, “छाल उठेका बेलामा महिला पुरुष दुवैलाई उत्तिकै डर र खतरा हुन्छ ।”
महिलाहरू डुङ्गा चलाउने प्रतियोगितामा अब्बल ठहरिएका उदाहरण पनि छन् । २०७९ सालमा प्रदेश खेलकुद परिषद्, डुङ्गा व्यवसायी समिति र नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ एशोसिएसनले डुङ्गा चलाउने प्रतियोगिता आयोजना गरेका थिए । त्यसमा सहभागी हुँदा शान्ताका साथै शोभा जलारी र मीना जलारी गरी तीन जना महिलाको समूह विजेता बनेको थियो । त्यति बेला नगद, प्रमाणपत्र र सम्मान पाउँदा भने शान्ता र साथीहरूलाई निकै खुसी लागेको थियो । त्यो खुसी आफ्ना ठाउँमा छ तर महिलाको क्षमतामाथिको लोक अविश्वासलाई अझै चिर्न सकिएको छैन । त्यसलाई झेल्दै अघि बढिरहेकी शान्ता भन्नुहुन्छ, “महिला भनेर विश्वास त गर्दैनन् तर डुङ्गा चलाउन महिला वा पुरुषको क्षमता कम र बढी भन्ने हुँदैन ।”
आफ्नै कमाइको बाटो
फेवातालमा नियमित डुङ्गा चलाउने कामलाई महिलाहरूले आफ्नै कमाइको बाटो पनि मान्ने गरेका छन् । डुङ्गा चलाउने महिलाको अवस्था र पृष्ठभूमि एकै खालको भने छैन । माया र शान्ताले सानैदेखि डुङ्गा चलाउन सिक्ने वातावरण पाउनुभएको थियो भने लक्ष्मी र ताराले बिहेपछि मात्र । कसैले बिहेपछि श्रीमान्बाट सिकेर युवावस्थादेखि नै डुङ्गा चलाएको पाइन्छ भने कसैले सानै उमेरमा सिकिसकेर पनि वृद्धावस्थामा प्रवेश गरेपछि मात्र व्यावसायिक रूपमा डुङ्गा चलाउने काम थालेको पाइन्छ ।
कतिपय महिलाहरूले उमेर र स्वास्थ्यको कारण अचेल आफैँ डुङ्गा नचलाए पनि डुङ्गा चलाएरै किनेको डुङ्गा भाडामा लगाएर घरव्यवहार चलाउँदै आउनु भएको छ ।
“सानोमा घाँस दाउरा गर्न, पानी भर्नका लागि डुङ्गा चलाइयो, अहिले कमाइको बाटो यही हो,” माया भन्नुहुन्छ । एक हातको औँलामा गन्न सकिने सङ्ख्यामा सीमित भए पनि महिलाहरूले डुङ्गा चलाउने कामलाई नै आफ्नो पेसा पनि बनाइरहेका छन् । माया, शान्ता, लक्ष्मी र ताराको आयआर्जन डुङ्गा चलाउने व्यवसायबाटै हुने गरेको छ । डुङ्गा चलाउने काम र डुङ्गा व्यवसायबाटै परिवारिक खर्च चलेको छ, छोराछोरीको पढाइ खर्च जुटेको छ । यसैबाट कतिपयको व्यावसायिक साख बढेको छ र घरजग्गा जस्ता अचल सम्पत्ति जोडिएको छ ।
लक्ष्मीले अहिले उमेर र स्वास्थ्यको कारण आफूले डुङ्गा नचलाए पनि उहाँका आफ्नै पाँच वटा डुङ्गा छन् । उहाँ भन्नुहुन्छ, “स्वास्थ्यले साथ दिउन्जेल डुङ्गा चलाएँ, त्यहीबाट कमाएको पैसाले डुङ्गा किनेँ । हिजोआज डुङ्गा भाडामा लगाएर आएको पैसाले घरव्यवहार चल्छ ।” शान्ताका अनुसार, मान्छेको चाप हेरी दिनमा कम्तीमा एक र बढीमा तीन–चार ‘ट्रिप’ सम्म पाइन्छ । त्यसबाट दिनको आठ सयदेखि १५ सय रुपैयाँसम्म कमाइ हुने गरेको छ ।
फेवा डुङ्गा व्यवसायी संगठनमा सदस्य समेत रहेकी ताराको आफ्नै डुङ्गा छ । उहाँका अनुसार, हप्तामा एक–दुई पटक आफैँले डुङ्गा चलाएर देशविदेशका पर्यटकलाई फेवाताल घुमाउने पनि गर्नुहुन्छ । २०६० सालतिर त उहाँले दिनको २२ ट्रिपसम्म पाउनुभएको थियो ।
उति बेला दिनको सय रुपैयाँसम्म कमाइ हुन्थ्यो । सोही रकम बचत गरेरै उहाँले पोखरा लेकसाइडमा घर नै बनाउनुभयो । महिलाहरू आर्थिक रूपमा परिवारका अरू सदस्यको भर नपरी आत्मनिर्भर बन्नुपर्ने मान्यतामा ताराको विश्वास छ । “अरूको भर पर्ने होइन,” उहाँ भन्नुहुन्छ, “आफैँले कमाउनुपर्छ अनि श्रीमान् वा अरू कसैसँग पैसा देऊ भनेर हात थाप्न पर्दैन ।”
अन्ततः शान्ताको सोचाइ र व्यवहार पनि आत्मनिर्भरतासँगै सम्बन्धित हुन पुगेको छ । ५२ वर्षको उमेरमा व्यावसायिक रूपमा डुङ्गा चालक बनेकी उहाँ अविश्वासको विषलाई पचाउँदै पनि दृढ भएर भन्नुहुन्छ, “कतिपय मानिसले महिला भनेर विश्वास नगरे पनि आफ्नो स्वास्थ्यले साथ दिउन्जेल फेवातालमा डुङ्गा चलाइरहने सोच छ ।” यस्तै खालको सोच अरू डुङ्गा चालक महिलाको पनि पाइन्छ ।
प्रकाशन मिति : २०८० चैत्र २० गते, मङ्गलवार