Home Insight म नै हो ‘हेडसर’ (भिडियो सहित)

म नै हो ‘हेडसर’ (भिडियो सहित)

700
0

अप्सरा खड्का सिन्धुपाल्चोक जिल्लाको धुस्कुन आधारभूत विद्यालयको प्रधानाध्यापक हुनुभएको १० वर्ष जति भयो । उहाँ सोही जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ की बासिन्दा पनि हुनुहुन्छ । प्रधानाध्यापक भइसकेपछि अप्सराले शैक्षिक क्षेत्रसँग जोडिएका गाउँ समाजका वास्तविकतालाई नजिकबाट नियाल्न र अनुभव गर्न पाउनुभयो ।

अप्सराका अनुसार, २०७१ सालतिर ११२ जना विद्यार्थी भए पनि अहिले विद्यालय आउने विद्यार्थीको सङ्ख्या झन्डै आधा घटेको छ । २०७२ सालको भूकम्पको असर र बाँदरको बिगबिगीले जिल्लाका मानिसको बसाइँसराइ बढेकाले गाउँघरका विद्यालयमा विद्यार्थी सङ्ख्या निरन्तर घट्दै आएर अहिले यो स्थितिमा पुगेको उहाँको ठम्याइ छ । अप्सरा भन्नुहुन्छ, “अलि सम्पन्न परिवार काठमाडौँ नै बस्न थाले, खेतीपाती र मजदुरी गरेर जीविका चलाउँदै आएकाहरू पनि बाँदर आतङ्कले गर्दा घरगाउँ छोडेर परिवारै हिँडेका छन् । यसरी बसाइँ हिँड्दा गाउँघरमा बालबालिका नै छैनन् ।”

कुनै पनि ठाउँ, संस्थाको नेतृत्वमा रहेर काम गर्दा सम्बन्धित क्षेत्रमा रहेका साझा चुनौतीहरू त सबैमाथि आइपर्छन् नै । अप्सराले झेल्नुपरेका चुनौती भने महिला हुनुसँग पनि जोडिएका छन् । प्रधानाध्यापक भइसकेपछि उहाँले पितृसत्तात्मक सोच र दृष्टिकोण भएका कतिपय व्यक्तिहरूले महिलामाथि गर्ने अविश्वासजन्य व्यवहारका कारण थपिएका चुनौती पनि भोग्नुभयो । भोग्ने क्रम जारी छ । यसमा प्रधानाध्यापक भनेको पुरुष नै हुन्छ भन्ने मानसिकता पनि पर्छ । समाजका कतिपय व्यक्तिमा रहेको ‘त्यस्तो’ मानसिकता उहाँले अझै फेरिएको पाउनुभएको छैन । त्यसैले आफू प्रधानाध्यापककै कुर्सीमा बसेका बेला पनि ‘हेडसर खोई ?’ भनेर सोध्ने अभिभावकहरूलाई उहाँले ‘म नै हो’ भनेर जवाफ दिँदै आउनुभएको छ र यस्तो घटना बेला बेलामा दोहोरिने गरेको उहाँको अनुभव छ ।

सन्धान टोलीले २०८० कात्तिकमा धुस्कुन आधारभूत विद्यालयमै गएर अप्सरालाई भेट्दा प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्थ्यो । त्यति बेला उहाँसँगको कुराकानी शैक्षिक संस्थाको नेतृत्वमा महिला, ग्रामीण परिवेशमा भएका विद्यालयका अवसर र चुनौतीसँग जोडिएका विषयमा केन्द्रित थियो । उहाँसँग हालै मात्र टेलिफोन सम्पर्क गरी जानकारीलाई अद्यावधिक पनि गरिएको छ । प्रस्तुत छ, क्यामेरामा मुकुन्द बोगटीको साथमा लक्ष्मी बस्नेतले गर्नुभएको भिडियो कुराकानीको अंश :

प्रकाशन मिति : २०८१ असार १० गते, साेमवार

याे पनि पढ्नुहाेला