रामपतिदेवी चौधरी र रविता चौधरीले यही २०८० माघमा भलमन्सा भएर गर्नुपर्ने एकवर्षे नेतृत्वको जिम्मेवारी पूरा गर्नुभयो । रामपतिदेवीसँग दुई चरण गरी भलमन्सा भएर काम गरेको दुई वर्षको अनुभव छ भने रवितासँग एक वर्षको ।
कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ४ मनहेरा टोलकी रामपतिदेवीका अनुसार, भलमन्साले आफ्नो जिम्मामा परेको गाउँ वा टोलभरिको अवस्था बुझेर समुदायमा कुनै समस्या परेको छ भने त्यसलाई सुल्झाउन पर्छ ।
यस्तै भनाइ सोही वडाको पश्चिम खेडाटोल टोलकी रविताको पनि छ । उहाँहरूका अनुसार, भलमन्साको काम गाउँ वा टोलमा बैठक राख्ने, गाउँ वा टोल समुदायका लागि बाहिरबाट कुनै खबर आएको भए जानकारी गराउने, कहीँकतै झैझगडा प¥यो भने मेलमिलाप गराउने हो । यस्तै यस्तै अरू काम पनि हुने गर्छ । गाउँ वा टोल सरसफाइ, विभिन्न संस्कारदेखि चाडपर्व तथा उत्सव जस्ता कुुनै पनि सामाजिक सांस्कृतिक कार्यक्रम गर्नुपर्दा त्यसको व्यवस्थापकीय काम पनि भलमन्साको जिम्मेवारीमा पर्ने उहाँहरूको अनुभव छ ।
हरेक वर्ष माघ महिनामा थारु समुदायमा भलमन्सा छनोट गर्ने चलन छ । यस्तो चलन परम्परादेखि नै चलिआएको बताइन्छ । भलमन्साले आफ्नो गाउँ वा टोलका मानिसको सामूहिक सरोकारका विषयमा नेतृत्व गर्नुपर्ने मान्यता छ ।
भलमन्सा भनेको एक वर्षका लागि सम्बन्धित गाउँ वा टोलको नेतृत्व गर्ने मान्यता प्राप्त मुख्य व्यक्ति हो । थारु समुदायको स्थानीय मुखिया हो । यसको आफ्नै चयन प्रक्रिया छ । पछिल्लो समय प्रतिस्पर्धाका कारण चयन प्रक्रियामा विकल्पको पनि प्रयोग हुन थालेको छ ।
स्थानीय जानकारका अनुसार, भलमन्साको चयन प्रायः सहमतिको आधारमा हुने गर्छ । भलमन्सा चयन गर्ने बेला सम्बन्धित गाउँ अथवा टोलका मानिसले बितेको एक वर्ष भएका कामको लेखाजोखा गर्छन् । एक वर्षसम्म भलमन्साले आफ्नो गाउँ वा टोलमा समुदायका लागि गरेको कामकाजको लेखाजोखाका आधारमा नयाँ भलमन्सा हुन पाउने कि नपाउने भन्ने कुराको तय पनि गर्छन् । राम्रो काम गरेकालाई फेरि एक वर्षका लागि जिम्मेवारी दिने सहमति पनि हुन सक्छ । यो काम त्यही गाउँ वा टोल समुदायले गर्छ ।
कतिपय स्थानमा समुदायका प्रत्येक घरले पालो गरेर पनि भलमन्साको जिम्मेवारी निर्वाह गर्ने अभ्यास रहेको छ । भलमन्सा चयनमा समुदायका मानिसहरूबिच सहमति हुन नसके कहिले चिठ्ठा त कहिले मतदान नै गर्ने अभ्यास पनि हुन थालेको छ ।
भलमन्साको चयन प्रत्येक वर्ष माघीपर्वको अवसर पारेर गर्ने गरिन्छ । माघ महिनाको खासगरी ३, ४, ५ र ६ गतेका दिन भलमन्साको चयन गर्ने चलन छ । कुनै कुनै ठाउँमा माघ महिनाभरी कुनै पनि दिन पारेर भलमन्सा चुन्ने गरेको पनि पाइन्छ ।
नेपालका आदिवासी जनजाति अन्तर्गत पर्ने थारु जातिको जनसङ्ख्या २०७८ को जनगणना अनुसार १८ लाख सात हजार १२४ रहेको छ । त्यसमध्ये महिलाको सङ्ख्या नौ लाख २६ हजार ६११ रहेको छ ।
परम्परादेखि लामो समयसम्म पुरुषहरू मात्र भलमन्सा भइरहे । महिलाहरू ओझेलमा परिरहे । पछिल्ला केही वर्षदेखि भने महिलाले पनि भलमन्सा भएर थारु समुदायको सरोकारका काममा नेतृत्व गर्दै आएका छन् । भलमन्सा हुनका लागि महिला आफैँले आफ्नो ठाउँमा दाबी पनि गर्न थाले । यस्तो दाबी गर्नेलाई समुदायले पनि भलमन्सा चयन गरी महिलालाई नेताका रूपमा मान्न सकिने उदाहरण दिन थाल्यो ।
समुदायले नै महिलालाई नेतृत्वको जिम्मेवारी दिन थालेपछि महिलालाई हेर्ने दृष्टिकोण पनि सकारात्मक हुन थाल्यो । आफू भलमन्सा भएपछि घर, परिवार र समाजले हेर्ने दृष्टिकोण पनि फरक भएको अनुभव भलमन्सा महिलाहरूको छ । पहिले पहिले बाहिरतिर हिँड्दा कुरा काट्ने समाज अहिले भलमन्सा भएपछि कुरा काट्न छोडेको मात्र होइन, महिलाको नेतृत्वलाई स्विकार्न पनि थालेको छ । आफूले भोगेको यस्तो अवस्थालाई आफ्नो समाज सकारात्मक रूपमा परिवर्तन हुँदै आएको ठान्नुहुन्छ, रामपतिदेवी ।
नेतृत्वमा महिलाहरू कुनै पुरुषभन्दा पछि छैनन् भन्ने उदाहरण भलमन्सा महिलाहरूको कामबाट देखियो । काम गरेरै समाजमा स्विकार्य हुन थालेपछि नेतृत्व लिनका लागि महिलाहरूले प्रतिस्पर्धा गर्ने दिन पनि आयो ।
पछिल्ला वर्षहरूमा महिलाले भलमन्साको जिम्मेवारी लिन आफैँ अघि सर्नाको पछाडि बदलिँदो सामाजिक अर्थव्यवस्थालाई मुख्य कारण मानिएको छ । समुदायका पुरुषहरू कि त उच्चकक्षा पढ्न कि त कमाउनका लागि गाउँघरबाट टाढा हुने अवस्था भयो । पुरुषहरू प्रायः गाउँघरमा नबस्ने भए । यस्तो भएकाले पनि समुदायको परम्परागत नेतृत्व लिई भलमन्सा हुने महिलाको सङ्ख्या बढ्दै गएको विचार कैलालीका भलमन्सा महिलाहरूको पनि छ ।
भलमन्सा भएर समुदायको नेतृत्व गर्दै रहेका महिलालाई भेट्न ‘सन्धान’ टोली २०८० मङ्सिरको तेस्रो साता कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ का विभिन्न टोलमा पुगेको थियो । त्यही बेला मनहेरा टोलमा रामपतिदेवी र पश्चिम खेडाटोल टोलमा रवितालाई भलभन्साका रूपमा काम गरिरहेको भेटियो । कुराकानीमा उहाँहरूले आफ्नै घरव्यवहारको मात्रै काम गर्दै आएका कतिपय महिलालाई सुरुसुरुमा भलमन्साको जिम्मेवारी निर्वाह गर्न गाह्रो भएको कुराको स्मरण पनि गर्नुभयो । तैपनि जिम्मेवारी पाएर काम गर्दै जाँदा आफूमा आत्मविश्वास बढ्दै आएको अनुभव उहाँहरूको छ ।
‘सन्धान’ ले नेपालका लोपोन्मुख, सीमान्तीकृत, आदिवासी लगायत विभिन्न कोणबाट अहिलेसम्म पछाडि रहेका जातजातिका महिलाको जीवनभोगाइ तथा इतिहास झल्काउने वास्तविक कथा सङ्कलन गरिरहेको छ । यसै शृङ्खला अन्तर्गत भलमन्सा भएपछिको जिम्मेवारी, अनुभव र चुनौतीका बारेमा रामपतिदेवी र रवितासँग कुराकानी गरिएको हो ।
प्रस्तुत छ, भलमन्सा भएर समुदायको नेतृत्व गर्दै सामाजिक काम गरेको अनुभव सँगालिसक्नुभएका रामपतिदेवी चौधरी र रविता चौधरीसँग ‘सन्धान’ का तर्फबाट मुकुन्द बोगटी र समीक्षा गाहाले गर्नुभएको भिडियो कुराकानीको सम्पादित अंश :
सन्धान, प्रकाशन मिति : २०८० माघ १६ गते, मंगलवार