Home Insight स्वरोजगार बन्न खोज्दैछन् हायु महिलाहरू (भिडियो सहित)

स्वरोजगार बन्न खोज्दैछन् हायु महिलाहरू (भिडियो सहित)

399
0

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरण भएपछि नेपालमा लोपोन्मुख जातिका केही महिलाहरू पनि जनप्रतिनिधि भए । २०७४ सालमा भएको पहिलो स्थानीय निकाय निर्वाचनमा जमुना हायु जनप्रतिनिधि हुनुभएको थियो । उहाँ रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ मा रहेको वादी भन्ने ठाउँकी बासिन्दा हुनुहुन्छ । वडा नम्बर ८ मै नेपाली कांग्रेसकाे तर्फबाट उम्मेदवार भई वडा सदस्यमा निर्वाचित भएर कार्यपालिका सदस्य बनिसकेकी जमुना लोपोन्मुख जातिकी महिला हुनुहुन्छ ।

नेपालका १० लोपोन्मुख जातिमध्ये हायु पनि एक हो । राष्ट्रिय जनगणना २०७८ मा हायुहरूको जनसङ्ख्या तीन हजार ६९ रहेको उल्लेख छ । हायुहरूको बसोबास सबैभन्दा बढी सिन्धुलीमा र त्यसपछि रामेछापमा रहेको पाइन्छ । अन्य जिल्लाहरू इलाम, झापा, सुनसरी, भोजपुर, उदयपुर, सप्तरी, सिराहा, सर्लाही, काभ्रेपलान्चोक तथा काठमाडौँमा हायुहरूको बसोबास रहेको पनि राष्ट्रिय जनगणनाले देखाएको छ ।

जमुनाले हायु महिलाको जीवनमा आएको परिवर्तनलाई नियाल्दै पनि आउनुभएको छ । उहाँका अनुसार, पहिले पहिले श्रीमान्‌काे कमाइमा भरपर्ने हायु महिलाहरू हिजोआज आफैँ आयआर्जनको बाटोमा लागेर स्वरोजगार बन्दै गएका छन् ।

जमुनालाई सन्धान टोलीले केही समयअघि रामेछाप जिल्लाको हायु बस्तीमै भेटेको थियो । भेटमा उहाँसँग जनप्रतिनिधि भएको बेलाको अनुभवका साथै हायु जातिका महिलाको आर्थिक, सामाजिक, शैक्षिक अवस्थाका बारेमा कुराकानी भयो । प्रस्तुत छ, स्थानीय तहमा जनप्रतिनिधिको भूमिका निर्वाह गरिसक्नुभएकी जमुना हायुसँग ‘सन्धान’ का तर्फबाट मुकुन्द बोगटीसमीक्षा गाहाले गर्नुभएको कुराकानीको सम्पादित भिडियो अंश :

सन्धान, प्रकाशन मिति : २०८० पुस २५ गते, बुधबार

यो पनि पढ्नुहोला


Previous articleवादी महिलाको अवस्था सुधार्ने सङ्घर्ष अझै बाँकी (भिडियो सहित)
Next articleअपाङ्गतामैत्री भौतिक संरचना र सेवामा पहुँच