मेरी माइली दिदी पूर्णा जोशी र मैले एकै वर्ष एसएलसी पास गर्यौँ। २०४४ सालमा तत्कालीन कैलपालमान्डु गाविसमा एसएलसी पास गर्ने छात्रा हामी दुई जना मात्र थियौँ । दुवै दिदीबहिनी पास भएको भन्ने जानकारी हुलाकबाट आएको चिठी हेरेपछि मात्र थाहा पाएका थियौँ । हुलाकबाट चिठी आउँथ्यो त्यति बेला । टेलिफोन सहज थिएन । सार्वजनिक टेलिफोन सेवा (पिसिओ) हुन्थ्यो । त्यो पनि एक–डेढ घण्टा हिँडेर गएपछि बल्ल भेटिन्थ्यो ।
डडेल्धुरा जिल्लाको एउटा मध्यम वर्गीय ब्राह्मण परिवारका छोरी हामी । गाउँसमाजमा कसैले पनि आफ्ना छोरीलाई पढ्न पठाएका थिएनन् । दिदीबहिनी नै एसएलसी पास भएको खबरले आफन्त मात्रै होइन, छरछिमेक र गाउँका मानिस पनि खुसी भए । गाविसमै पहिलो एसएलसी पास गर्ने महिला बन्न पाउँदा हामीमा झन् खुसीको सीमा नै थिएन । हामीले एसएलसी पास गर्नु भनेको उच्च शिक्षा पढ्न पाइने भयो भन्ने मात्रै थिएन । त्योभन्दा पनि समाजमा छोरीले गर्न हुँदैन भनिएका थुप्रै मान्यतालाई तोड्दै एसएलसीको खुड्किलो पार गरेको कुरा महत्त्वपूर्ण थियो ।
एक त छोरीलाई किन पढाउनु पर्यो र भन्ने समाज ! त्यसमा पनि १० कक्षासम्म पढाइ हुने स्कुल डडेल्धुरास्थित हाम्रो घर नजिक थिएन । जहिले पनि समाजको दबाब हुन्थ्यो, बढेका छोरीलाई घरबाट टाढा एक्लै स्कुल पठाउनु हुन्न । हामी अर्को जिल्लाको स्कुलमा पढेर एसएलसी पास भएपछि भने घरदेखि टाढा छात्रावासमा राख्दा छोरी बिग्रन्छन् भन्ने मान्यता तोडिन कर लाग्यो । अर्को, पढाएपछि छोरीले एसएलसी पास गर्छन् भन्ने विश्वास दिलाउन सकियो ।
धन्य लाग्छ, हामीलाई आमाबुबाले छोरी त हुन् नि यिनले किन पढ्न पर्यो भनेर कहिल्यै पनि भन्नु भएन । हामीलाई पढाइमा विभेद गर्नु भएन । यसैले हामीले आमाबुबाबाट विनाभेदभाव पढ्न पायौँ । होस्टेलमा राखेर भए पनि हामीलाई पढ्ने अवसर दिनुभयो । यस्तो अवसर धेरैका छोरीले पाएका थिएनन् । यसैले हाम्रो स्कुलमा केटीहरू थोरै थियौँ । भएका केही पनि ब्राह्मण परिवारका छोरी मात्रै ।
४०–४१ वर्षअघि सुदूरपश्चिममा छोरीले सामान्य लेखपढ गर्न पाउनु पनि ठुलो कुरा हुन्थ्यो । मेरो जेठी दिदीको सात कक्षासम्म पढेर बिहे भयो । माइली दिदी र मैले पछिसम्म पढ्न पायौँ ।
गाउँमा हामीसँगैका दिदीबहिनी दिनभरि गाईबाख्रा चराउन गोठाला जान्थे । हामी सोच्थ्यौँ, दिउँसो स्कुल जान नपाएकालाई पनि राति हामी पढाऊँ भनेर ! उनीहरूलाई दिनभरिको काम सकिएपछि बेलुका बेलुका कहिले हाम्रै घरमा बोलाएर पढाउँथ्यौँ त कहिले हामी उनीहरूको घरमा पढाउन जान्थ्यौँ । विद्यालयमा जान नपाएका फुपूदिदी नाता पर्नेहरूलाई पनि पढ्न सिकाउँथ्यौँ । उहाँहरूले राम्रोसँग सिक्नुभयो पनि । एक जनाले त मातृशिशु कार्यकर्ता भनेर डोटीमा काम पनि गर्नुभयो । अन्य दुईचार जना साथीहरू आफ्नो नाम लेख्न जान्ने र सामान्य अक्षर पढ्नसम्म जान्ने भए । यस्तो कुरा याद आइरहन्छ । साथीहरूले पनि तिमीहरूले गर्दा पढ्न पायौँ भन्छन् । फुपूदिदीले पनि यसै भन्नुहुन्छ ।
आजभन्दा झन्डै ४०–४१ वर्षअघिको सुदूरपश्चिमको कुरा हो यो । छोरीले सामान्य लेखपढ गर्न जान्न पाउनु पनि त्यो बेला ठुलै कुरा हुन्थ्यो । मेरै ठुली दिदीको सात कक्षासम्म पढेपछि बिहे भएको थियो । माइली दिदी र मैले पछिसम्म पढ्न पायौँ । पढ्नलाई दुई दिनको बाटो हिँडेर डोटीको सिलगढी जानुपथ्र्यो । युनिसेफको सहयोगमा त्यहाँ ‘गर्ल्स होस्टेल’ खुलेको थियो । केटीहरूका लागि २० वटा कोटा छुट्ट्याइएको थियो । उक्त होस्टेलमा बस्ने हामी पहिलो ब्याचका विद्यार्थी थियौँ । सबैलाई निःशुल्क खाने, बस्ने, पढ्ने सुविधा थियो । हामीले त्यहाँ निःशुल्क खान, बस्न पाएका थियौँ । स्कुलको शुल्क पनि तिर्नु पर्दैनथ्यो । असुरक्षाको वातावरण थिएन । त्यसरी पढेर पास पनि भयौँ ।
माइली दिदी र म सँगै पढेको, पढाएको र बिहे पनि एउटै घरका दाजुभाइसँग भयो । हामी दिदीबहिनीको यो एउटा संयोग नै हो जस्तो लाग्छ ।
एसएलसी पास भएपछि शिक्षकको दसमहिने तालिम लिन भनेर सुर्खेत गएँ । त्यसलाई बी लेभलको तालिम भनिन्थ्यो । त्यो पनि नेपाल सरकार र कुनै विदेशी संस्थाको सहयोगमा थियो जस्तो लाग्छ । त्यहाँ एसएलसी पास भएका महिलाहरू मात्र हुन्थे । तालिम सकिएपछि डडेल्धुरास्थित आफ्नै गाउँमा फर्किएर भुवनेश्वरी माध्यमिक विद्यालयमा पढाउन थालेँ । त्यो मैले सानो उमेरमा पढेको विद्यालय थियो । २०४७ सालमा स्कुल पढाउन थाल्दा म १९ वर्षको थिएँ ।
मेरो बिहे २०५० सालमा भयो । त्यसपछि मेरो घर डोटी भयो । आफैँ पढेको स्कुलमा चार वर्ष पढाएपछि मैले सरुवा मिलाएर डोटीमै पढाउन थालेँ । त्यति बेलासम्म अस्थायी कोटामै पढाइरहेको थिएँ । २०५० सालमै शिक्षक सेवा आयोगले लिएको परीक्षा पास गरेकी थिएँ । त्यसपछि स्थायी शिक्षक भएर पढाउन पाएँ । दिदी र म दुवै जनाले डोटीमै पढाउन थाल्यौँ । दिदी र म सँगै पढेको, पढाएको र बिहे पनि एउटै घरका दाजुभाइसँग भयो । हामी दिदीबहिनीको यो एउटा संयोग नै हो जस्तो लाग्छ ।
दिउँसो पढाइ बाहेक विद्यार्थीहरूलाई मैले नाचगान सिकाउनेदेखि विभिन्न खालका अतिरिक्त क्रियाकलापमा सहभागी गराउँथेँ, सिकाउँथेँ । साथै, साँझमा प्रौढ शिक्षा पढाउँथेँ । बेलुका खाना खाएपछि पढाइदिनु पर्यो भनेर महिलाहरू हामीलाई भन्न आउँथे । यसो भन्नेमा आफन्त र गाउँघरका दिदीबहिनी हुन्थे ।
गाउँमा विद्यालय जान नपाएका १४ वर्षमुनिका बालिका र किशोरीहरू थिए । उनीहरूलाई बिहानमा चेलीबेटी शिक्षा पनि पढाउँथेँ । यसरी शिक्षण पेसामा समर्पित जस्तै हुन पुगेको थियो मेरो दैनिकी । यसले मभित्र समाजमा चेतनशील भएर सही बाटामा अघि बढ्न सक्नुपर्छ भन्ने भावना जगाइरह्यो । साथै, यसले मलाई मान्यता र चालचलनका नाममा व्याप्त विभेदकारी सोच र महिलामाथि हुने गरेका दुर्व्यवहारका विरुद्ध दह्रो गरी उभिने उत्प्रेरणा र आँट दिइरह्यो ।
रक्सीविरुद्धको हामीले चलाएको अभियान र आन्दोलनले महिलामाथि श्रीमान्बाट हुँदै आएको घरेलुहिंसा हुनुहुँदैन भन्ने भावनालाई बल दियो । र, रक्सी खाने श्रीमान् वा परिवारका पुरुष सदस्यसँग बोल्नु पनि ठूलै कुरा थियो त्यो बेला ।
लाग्छ, नेपाली समाजमा रहेको लैङ्गिक विभेद, अशिक्षा, गरिबीका कारणले महिलाहरू पछाडि पर्दै र पारिँदै आए । यो अवस्था अहिलेसम्म पनि केही हदसम्म छ । म सुदूरपश्चिमको मान्छे, त्यहाँको कुरा गर्ने हो भने महिनावारी हुँदा गोठमा बस्नुपथ्र्यो । सुत्केरी भयो भने नवजात बच्चालाई पनि आमासँगै गोठमा लग्थे । धेरै पछि मात्र घरमा राख्ने गर्न थालेका हुन् ।
अझै पनि सबै ठाउँमा त घरमै राख्छन् भन्न सकिँदैन । सम्झन्छु, सुत्केरी अवस्थामै सकिनसकी आफ्नो काम आफैँले गर्नुपर्ने, लुगा पोको पारेर खोलामा धुन जानुपर्ने, बच्चाको सम्पूर्ण स्याहार त गर्नै परिहाल्यो । घरपरिवार र समाजले छोरीमान्छेलाई समान र उदार भावले नबुझिदिँदा महिलाले निकै नै सकस झेल्नुपर्ने हुन्थ्यो ।
त्यसमाथि रक्सीको कुलतमा फसेका पुरुषका दुर्व्यवहारले पनि महिलाको जीवनमा समस्या थपेको थियो । यस्तो देखे र बुझेपछि दिदी र म दुवै जनाले स्कुलमा पढाउने मात्र होइन, गाउँघरमा रक्सीको कारोबार बन्द गर्नुपर्छ भनेर अभियान पनि चलायौँ । रक्सी बन्द गर्ने आन्दोलन पनि गर्यौँ । रातको समयमा सबै महिलालाई उर्लाएर प्रहरी गस्ती अघिअघि गएर हामीले रक्सी लुकाएको ठाउँ हेथ्यौं, कतिलाई प्रहरीकोमा बुझाउँथ्यौँ । त्यसरी एक वर्षसम्म रक्सी बन्द गराउन हरप्रयास गर्यौँ तर सफल भएनौँ । गाउँघरतिर बनाउने खाने बन्द गरेर मात्र के गर्नु ? बाहिरबाट रक्सी ल्याएर लुकाएर खानेको अगाडि हाम्रो केही लागेन ।
रक्सी बनाउनेले पनि झन् महँगो बनाएर बेच्न थाले । एक वर्ष अभियान र आन्दोलन दुवै रूपमा चलायौँ तर सकिएन भनेर छोड्यौँ । त्यसले महिलालाई भने एक फड्को अगाडि नै ल्यायो भन्ने लाग्छ । कम्तीमा पनि घरका मान्छेलाई रक्सी नखाऊ भनेर भन्नुपर्ने रहेछ भन्ने आँट महिलाहरूमा आएको पायौँ ।
रक्सी खाएर घरमा आउने श्रीमान्लाई गाली गर्न थाले । आफूमाथि हुने गरेको दुर्व्यवहार र घरेलुहिंसाको प्रतिरोध गर्न सिके । एक हिसाबले भन्दा महिलाहरूमा श्रीमान्बाट हुने गरेको हिंसा र ज्यादतीको प्रतिकार गर्नुपर्ने चेतना आयो । एक प्रकारले क्रान्ति आयो । यसका साथै, रक्सी खानेका घरपरिवारका धेरै सदस्यबाट रक्सीविरुद्धको अभियान र आन्दोलनलाई मौन साथ र सहयोग भयो ।
रक्सीविरुद्धको अभियान र आन्दोलनले खासमा महिलामाथि श्रीमान्बाट हुँदै आएको घरेलुहिंसा हुनुहुँदैन भन्ने भावनालाई बल दियो । हामीले महिलाहिंसा विरुद्धका जनचेतनामूलक कार्यक्रम गर्ने र महिलालाई चेतनाका कुरा सिकाउने पनि गथ्यौं । यसका लागि रेडियो नाटक बनाउने र महिलाहिंसा विरुद्धका गीत गाउने गरिन्थ्यो । स्टुडियोमा गएर महिलाहिंसा विरुद्धका नाटक र गीत रेकर्डिङ गर्ने गथ्यौं । विद्यालय बाहेकको समयमा हामी दुई दिदीबहिनीले त्यस्तै काम गथ्यौं । महिलाहिंसा विरुद्ध बोल्नुपर्छ, घरेलुहिंसा र महिलामाथि दुर्व्यवहार गर्नु हुँदैन भनेर पुरुषहरूलाई पनि भन्थ्यौँ ।
चालचलनका नाममा रहेका असमान र अवैज्ञानिक व्यवहार हटाउन परिवारकै कुनै व्यक्तिले कुरा बुझेर अगुवाइ गर्यो भने पनि सफल भइने रहेछ ।
यी र यस्ता खालका क्रियाकलापले एक तहमा महिलाहरू सचेत हुँदै अगाडि पनि आए । उनीहरू सङ्गठित भए । विभिन्न दिवसका कार्यक्रममा सहभागी हुनका लागि घरबाहिर निस्कन थाले । कार्यक्रममा खुलेर आफ्ना समस्या राख्न पनि थाले । यस्तो देखेपछि सकारात्मक परिवर्तनका लागि राम्रो भावनाले काम गरे राम्रै हुने रहेछ भन्ने पनि लाग्छ ।
चालचलनका नाममा रहेका असमान र अवैज्ञानिक व्यवहार हटाउन परिवारकै कुनै व्यक्तिले कुरा बुझेर अगुवाइ गर्यो भने पनि सफल भइने रहेछ । यस्तै एउटा घटना मेरो माइतीमा भएको थियो । २०४५ सालमा मेरो दाइको जेठो छोरा अथवा मेरो जेठो भदा जन्मियो । त्यति बेलासम्म सुत्केरीलाई गोठमा नै राख्ने चलन थियो । तर, हामी दिदीबहिनीले परिवारलाई मनायौँ र त्यसलाई तोड्यौँ । सुत्केरी भाउजूलाई घरभित्रै राख्यौँ । भाउजूलाई खोलामा नुहाउन पनि पठाएनौँ । बरु, पाइपमा पानी लगेर नुहाउन सजिलो बनाइदियौँ । हामीले त्यस्तो गरेको छरछिमेक र गाउँकाले पनि देखे । माछा, मासु, साग सुत्केरीलाई खान दिन हुँदैन भन्ने गरिन्थ्यो तर हामीले त्यो कुरालाई पनि तोड्यौँ । आमा र शिशुको स्वास्थ्य र पोषणको सवाल थियो । यसैले भाउजूलाई त्यस्ता सबै कुरा खान दियौँ ।
आमा पहिलेको पुस्ताको भए पनि हामीले सम्झाएपछि उहाँले मान्नुभयो । छिमेकीहरूले त्यो पनि हेरिरहेका थिए । त्यसपछि छिमेकीहरूले पनि सुत्केरीलाई घरमै राखेर पोषणयुक्त खाना दिन थाले । सुत्केरीलाई गोठमा राख्न र नुवाउन भनी खोलामा पठाउन छोड्दै गए । त्यो बेलासम्म बच्चालाई खोप लगाउने चलन खासै थिएन । तर पनि हामी डेढ घण्टाको बाटो हिँडेर, सानो बच्चालाई बोकेर खोप लगाउन जान्थ्याैँ । छोरी बच्चा भए खोप लगाउन मतलब गर्दैनथे । हामी भने छोरा र छोरीमा भेदभाव गर्ने पक्षमा कहिल्यै पनि रहेनौँ ।
पीडित दिदीबहिनीले कानुनी उपचार खोज्ने क्रममा सल्लाह माग्नुहुन्छ । यहाँ जानूस्, यस्तो कानुन छ भन्नलाई पनि सजिलो हुने भएकाले कानुन पढ्न मन छ ।
कुरा २०४३–४४ सालतिरको हो । यो पनि सम्झन लायक छ । महिनावारी हुँदा चार दिनसम्म नुहाउन नमिल्ने । त्यसपछि नुहाउन खोलामै जानुपर्ने खालको चलन थियो । मलाई घरसँगै जोडिएको घरको तल्लो छिँडीमा बस्न भन्नुभयो । र, नुहाउन टाढाको खोलामा जानैपर्ने भयो । गएँ । तर, डर लाग्थ्यो । पारिपट्टि जङ्गल छ, वारि खोलामा जानैपर्ने । अरू विकल्प मैले केही देखिनँ । तर, मनमनै मैले अब मान्दिनँ यो बार्दिनँ भन्ने सोचेँ । महिनावारी भएको भनेर अब कसैलाई भन्दिनँ भन्ने पनि लाग्यो ।
बिहे, घर र अन्य काम
कतिले बिहे भएपछि पढाइ र घर बाहिरको काम रोकिन्छ पनि भन्छन् । मैले चाहिँ घरपरिवार, बच्चा र घर बाहिरको कामलाई सँगसँगै लगेँ । बिहेपछि नै पढेर मैले स्नातकोत्तर तह पूरा गरेँ । दुई जना बच्चा जन्माएर हुर्काएँ । छोरो दुई वर्षको थियो । पढ्नका लागि दैनिक आउने जाने होइन तर परीक्षा दिन जान्थेँ । त्यहाँ पुग्नका लागि बाटामा एक रात बस्नुपर्ने हुन्थ्यो । त्यसैले छोरालाई बोकेर आफूसँगै लान्थेँ । यसरी पढ्ने र पढाउने कामलाई सँगसँगै निरन्तरता दिएँ । सङ्घसंस्थाका काम पनि गरेँ । घरको काम पनि गर्नै परिहाल्यो ।
आफूले आँटेपछि जस्तोसुकै अवस्थामा पनि काम पूरा गर्न सकिने रहेछ भन्ने लाग्छ । आफैँप्रति गर्व पनि लाग्छ । त्यसो भनेर मैले सबै जानेको छु भनेको होइन । अझै धेरै कुरा जान्न र बुझ्न बाँकी छ । त्यसमा पनि सबैभन्दा जान्नुपर्ने कुरो त कानुन पो रहेछ । सङ्घसंस्थामा काम गर्दा कानुनी अड्चनहरू पनि आउने रहेछन् । पीडित दिदीबहिनीले कानुनी उपचार खोज्ने क्रममा सल्लाह माग्नुहुन्छ । यहाँ जानूस्, यस्तो कानुन छ भन्नलाई पनि सजिलो हुने भएकाले कानुन पढ्न मन छ । हामीले वकिलतिर जानू भनेर बाटो त देखाउँछौँ तर उहाँहरूसँग वकिललाई दिने पैसा हुँदैन, विपन्न हुनुहुन्छ । वकिलकहाँ जान त पहिला पैसाकै कुरा आउँछ । त्यसैले आफूसँग कानुनी अध्ययन र ज्ञान भएको भए निःशुल्क कानुनी लडाईंमा पीडित महिलालाई साथ दिन सक्थेँ होला भन्ने लाग्छ ।
म जन्मेको कालखण्ड, भूगोल र परिवेशबाट म अहिलेको स्थानसम्म आउनुलाई ‘भाग्यमानी’ ठान्छु । हामीसँगैका कतिपय अरू दिदीबहिनीको अवस्था अझै उस्तै र उही खालको छ । तर, आफैँले केही परिवर्तन गर्छु भनेर लाग्यो भने सम्भव हुने रहेछ जस्तो लाग्छ ।
अहिले पनि अवस्था सामान्य भइसकेको छैन । एउटा शिक्षित परिवारमै पनि विभेद देखिरहेको हुन्छु । हाम्रो परिवारमा भने म र मेरो दिदीले गर्दा छोराछोरीमा विभेद नगर्न सबैलाई सजिलो भयो । पहिले छोराले घरभित्रको काम गर्नै हुँदैन, छोरीले घरबाहिर निस्किनै हुँदैन भन्ने सोच थियो । त्यस्तो सोचमा आधारित व्यवहारलाई तोड्दै गर्दा अचेल हाम्रो परिवारमा कुनै पनि काम कसले गर्न हुन्छ वा हुँदैन भन्ने छैन । मेरा छोराहरूको हुर्काइ पनि त्यस्तै भएर होला राम्रो व्यवहार छ । सन्तोष लाग्छ ।
म जन्मेको कालखण्ड, भूगोल र परिवेशबाट म अहिलेको स्थानसम्म आउनुलाई ‘भाग्यमानी’ ठान्छु । हामीसँगैका कतिपय अरू दिदीबहिनीको अवस्था अझै उस्तै र उही खालको छ । तर, आफैँले केही परिवर्तन गर्छु भनेर लाग्यो भने सम्भव हुने रहेछ जस्तो लाग्छ । मेरो जीवनका सुरुवाती पाटाहरू सङ्घर्षशील भए पनि समानताको यात्रामा यहाँसम्म आउन पाएको र सकेकोमा खुसी लाग्छ । त्यही सङ्घर्षले आफ्नो पहिचानलाई यहाँसम्म ल्याउन सकेँ र सकारात्मक छवि बनाएर चिनिन पाएँ भन्ने लाग्छ ।
विभेदको अन्त्य र समानताको कुरा सबैभन्दा पहिले आफैँले आफ्नो घरबाटै सुरु गर्नुपर्छ भन्ने लाग्छ । घरमा ज्येष्ठ नागरिक हुँदा उहाँहरूलाई सम्झाउन बुझाउन भने अलि गाह्रो हुने रहेछ । जसरी भए पनि विभेदपूर्ण चालचलन, सोच र व्यवहारलाई हटाउँदै अघि बढ्ने क्रम जारी नै छ ।
प्रकाशन मिति : २०८० चैत्र १५ गते, बिहीवार