Home Stories कामले सम्मान पाएकामा खुसी

कामले सम्मान पाएकामा खुसी

244
0

– कल्पना बुढा, अटो चालक

कल्पना बुढाले अटोरिक्सा चलाउन थालेको करिब पाँच वर्ष भयो । उहाँको कर्म क्षेत्र जुम्ला र कालिकोट हो । जुम्लाकै पातारासी गाउँपालिका वडा नम्बर ७ (साबिकको पातारासी गाविस वडा नंं.२) पटमारामा जन्मिएकी कल्पनाको बालविवाह भएको रहेछ । उहाँका अनुसार, मायाको लहरमा लागेर १४ वर्षको उमेरमा २२ वर्षका रतन रावतसँग बिहे भयो । त्यो सम्बन्ध तीन वर्षभन्दा बढी टिकेन । श्रीमान्‌ले अर्को बिहे गरेर आफू र १७ दिनको बच्चालाई छाडेर हिँडेपछि आफूले पाएको दुःख र सङ्घर्षका अनुभव भनिनसक्नुका छन् भन्ने लाग्छ उहाँलाई । १७ वर्षको उमेरमै आफूलाई अप्ठेरो अवस्थामा पारेर हिँडेका श्रीमान्‌सँग कल्पनाले पछि सम्बन्धविच्छेद रोज्नुभयो । त्यसपछि श्रीमान्‌सँगै समाजले पनि महिलालाई एक्लो बनाउँदो रहेछ भन्ने अनुभव गर्नुभयो । त्यस्तो बेला माइतीले साथ दिएकाले कल्पनाले आत्मविश्वास गुमाउनु भएन । आफ्नै सिप र श्रममा विश्वास गर्दै उहाँले जीवनलाई एक्लै अगाडि बढाउन विभिन्न क्षेत्रका काममा हात हाल्दै आउनुभयो । अन्ततः उहाँका हातले अटोरिक्साको स्टेयरिङ घुमाउन थाले र जसरी भए पनि त्यसमै उहाँ टिकिरहन चाहनुभयो । त्यसपछि बिस्तारै उहाँ आर्थिक रूपमा आत्मनिर्भर हुन थाल्नुभयो । त्यति मात्र होइन, अहिले त जुम्लामा अटोरिक्सा चलाउने एक मात्र महिलाका रूपमा कल्पनाको पहिचान पनि बनिसकेको छ ।

भनिन्छ, अहिले जुम्लामा करिब छ सय वटा अटोरिक्सा चल्छन् । सामान्यतः जुन अटोरिक्सा देखे पनि पुरुषले मात्रै चलाएका छन् कि जस्तो लाग्छ । तर, त्यस्तो भिडमा नबिराइकन हेर्ने हो भने एउटा अटोरिक्साको सिटमा महिला बसेको देखिन्छ । अटोरिक्साको स्टेयरिङमा पनि महिलाकै हात रहेको देखिन्छ । करिब छ सय अटोरिक्साका भिडमा देखिने एक जना मात्र अटो चालक महिला कल्पना नै हुनुहुन्छ । उहाँले जुम्लाको सार्वजनिक यातायात क्षेत्रमा अटोरिक्साका माध्यमबाट स्थानीय महिलाको इतिहास पनि बनाइरहनुभएको छ । प्रस्तुत छ, जुम्लाका अटो चालक कल्पना बुढाले २०८० पुसमा पत्रकार दिलमाया शाहीसँग व्यक्त गर्नुभएको सङ्घर्षपूर्ण जीवनभोगाइको स्वकथन :

म जुम्ला सदरमुकाम खलङ्गाबाट कर्णाली राजमार्ग हुँदै कालीकोटको नाग्मा र नाग्मा बजारबाट जुम्ला सदरमुकामसम्म अटोरिक्सा चलाउँछु । अटोरिक्सा देख्नेहरू एकैछिन रोकिन्छन् । कारण चालक सिटमा महिला बसेको देखेर । मैले चलाएको अटोरिक्सामा पहिलो पटक चढ्नेहरू पनि छक्क मान्छन् । नमानुन् पनि किन ? जुम्लामा झन्डै छ सय वटा अटोरिक्सा चल्छन् । यीमध्ये म एक्ली चालक महिला ।

मैले अटोरिक्सा चलाउन थाल्दा जुम्लामा अटो चालक पुरुष मात्र थिए । महिला म एक्लो । मलाई देखेर उनीहरू ‘यो महिलाले कसरी हाँक्ली ?’ भनेर कानेखुसी गरेको पनि सुन्थेँ ।

मेरो जन्म २०४९ साल जेठमा भएको हो । अहिले ३१ वर्ष हुन लागेँ । मेरो आमाको नाम रतनकली बुढा हो । उहाँकोे पालामा छोरीलाई पढाउने चलन थिएन । तर, आमाले सात कक्षासम्म पढ्न पाउनुभएको रहेछ । मेरो बुबा पनि हुलाक कार्यालयमा जागिर खानुहुन्थ्यो । अहिले अवकाश पाउनुभएको छ । आमा, बुबा दुबै शिक्षित भएकाले मलाई पढ्न पठाउनुभयो । हाइस्कुलसम्म पढेको हुनाले पनि मलाई यो पेसामा आउन अलि सहज भयो ।

मैले अटोरिक्सा चलाउन थाल्दा जुम्लामा अटो चालक पुरुष मात्र थिए । महिला म एक्लो । मलाई देखेर उनीहरू ‘यो महिलाले कसरी हाँक्ली ?’ भनेर कानेखुसी गरेको पनि सुन्थेँ । कतिले त ‘तिनले यसो भन्छन्’ भनेर मलाई सुनाउँथे ।

दुःख र सङ्घर्षका मोड

अटो चालक हुनुअघि मैले गरेका अनेकन् दुःख र सङ्घर्षका अनुभव छन् । १४ वर्षको उमेरमा एसएलसी (हालको एसइई) दिएर घरै बसेका बेला पातारासी गाउँपालिका ७ वडाको पटमारा गाउँकै रतन रावतसँग मेरो विवाह भयो । त्यति बेला श्रीमान् २२ वर्षका थिए । मायाको लहरमा लागेर बिहे भयो ।

बिहे गरेको तीन वर्षपछि हाम्रो छोरा जन्मियो । १७ वर्षकी म १७ दिनकोे सुत्केरी अवस्थामा भएको बेला श्रीमान्‌ले छोडेर हिँडे । त्यो पनि पटमारा गाउँकै एक जना केटीलाई दोस्रो श्रीमतीको रूपमा लिएर । त्यसपछि मेरो जीवनमा नसोचेको दुःख, पीडा र सङ्घर्षको यात्रा सुरु भयो । छोरा र मलाई यत्तिकै छोडेर हिँडेका श्रीमान् वर्षौंसम्म पनि घर फर्केनन् । त्यति बेला मेरो जीवनमा मैले त्यसअघि कहिल्यै नसोचेको दुःख पाएँ । त्यस्तो दुःखबाट पार पाउनका लागि मैले गरेका सङ्घर्षका अनुभव पनि भनिनसक्नुका छन् ।

अर्को श्रीमती लिएर हिँडेका श्रीमान् घर फर्केकै भए पनि के हुन्थ्यो होला र ? त्यही भएर श्रीमान्‌सँग मैले २०७५ सालमा अदालतबाट छोडपत्र गरेँ । त्यसपछि अब आफूले एक्लै केही गर्नुपर्छ भन्ने आँट बटुलेर अटोरिक्सा सिक्न लागेँ । आफ्नै कमाइको बलमा उभिने सङ्कल्प गरी जीवनमा नयाँ यात्रा सुरु गरेँ ।

भाइ सुवासले ‘अटो चलाउनू दिदी’ भन्यो । उसका कुराले मलाई ठुलो हौसला मिल्यो र म अटोरिक्सा सिकेर चलाउनतिर लागेँ ।

सुरुमा मैले जुम्लाको राजासिमाको चौरमा हरेक दिन पाँच सय रुपैयाँ तिरेर आधा घण्टा अटोरिक्सा चलाउन सिकेँ । अलिअलि चलाउन जान्ने भएपछि म अझै अटोरिक्सा सिक्नकै लागि सुर्खेत गएँ । सुर्खेतमा दिदीको डेरामा बसेर २० दिन अटोरिक्सा चलाउन सिकेँ ।

राम्ररी चलाउन जानेपछि २०७६ सालमा आफैँले एउटा अटोरिक्सा किनेँ । नेपालगन्ज पुगेर झन्डै छ लाख रूपैयाँ पर्ने अटोरिक्सालाई तीन लाख दिएँ, बाँकी किस्ता तिर्ने गरी लिएँ । अहिले सबै किस्ता चुक्ता भइसक्यो ।

अटोरिक्सा चलाउनुभन्दा १० वर्षअघि मैले चन्दननाथ नगरपालिकाको वडा नम्बर ४ भारतीमा बसेर चियापसल गर्थें । तर, टिक्न सकिनँ । त्यो नटिकेको कारण दुई वटा थियो, एउटा दुई आमा छोरा मात्रै भएकाले मान्छेहरूले मलाई अर्कै नजरले हेर्ने । अर्को, केटाहरू आउने, चिया खाने तर पैसा नदिई जाने । यस्तो भएपछि करिब पाँच महिनामा मैले पसल नै छोडेँ ।

श्रीमान् मरेकोलाई, ‘बिचरा, त्यसको श्रीमान् मरेको छ’ भनेर दया गर्ने रूपमा गाउँ समाजले हेर्दाे रहेछ तर मैले सम्बन्धविच्छेद गरेको । ‘सम्बन्धविच्छेद गरेर आफैँ एक्लिएकी’ भनेर मलाई नराम्रो सोच्थे ।

दुई पटक लेकतिर यार्सागुम्बा टिप्न पनि गएँ । थाहै होला, अति नै गाह्रो हो त्यो काम पनि । एक प्रकारले ज्यानै माया मारेर माथि लेकतिर जानुपर्छ । धन्न त्यस्तो केही भएन मलाई र फर्किन पाएँ । तेस्रो पटक पनि त्यता जान मेरो मनले मानेन । त्यसपछि विदेश जाने सोचमा थिएँ । यत्तिकैमा भाइ सुवासले ‘अटो चलाउनू दिदी’ भन्यो । उसका कुराले मलाई ठुलो हौसला मिल्यो र म अटोरिक्सा सिकेर चलाउनतिर लागेँ ।

मैले भोगेको त्यो समाज

सुत्केरी श्रीमतीलाई यत्तिकै अलपत्र पारेर घरै छोडेर अर्की लिएर हिँड्ने पुरुषभन्दा एक्लै छोरा हुर्काएर बसेको महिलालाई नै समाजले नराम्रो गरी हेर्दो रहेछ । श्रीमान् मरेर एकल (विधवा) भएका महिलाभन्दा पनि श्रीमान्‌ले अलपत्र पारी छोडेकी महिलालाई हेर्ने समाजको दृष्टिकोण नराम्रो रहेछ । मैले यस्तै भोगेँ ।

श्रीमान् मरेकोलाई, ‘बिचरा, त्यसको श्रीमान् मरेको छ, एक्लै भई’ भनेर दया गर्ने रूपमा गाउँ समाजले हेर्दाे रहेछ तर मैले सम्बन्धविच्छेद गरेको । ‘सम्बन्धविच्छेद गरेर आफैँ एक्लिएकी’ भनेर मानिसहरूले मलाई धेरै नै नराम्रो सोच्थे । आफैँले श्रीमान् छोडेको, चरित्रहीन, बानी गतिलो नभएर श्रीमान्‌ले अर्की ल्याउनुपरेको जस्ता कुरा समाजमा गरिँदो रहेछ । मैले यस्तै कुरा सुन्नुपर्‍यो र नराम्रो गरी भोग्नु पनि पर्‍यो ।

हुन त श्रीमान् हुँदा पनि मलाई माया, साथ, सहयोग मात्रै होइन, शान्ति पनि थिएन । मदिरा खाएर उनले मलाई पीडा, यातना दिन्थे । म उमेरमा उनीभन्दा आठ वर्ष सानो थिएँ । मायामा बहकिएँ । तर, बिहेपछि श्रीमान्‌ले मलाई पे्रम गरेको कुनै सम्झना नै भएन । त्यस्तो सम्झना नै छैन । प्रेमभन्दा पनि शारीरिक र मानसिक यातना दिएको कुरा धेरै सम्झिन्छु । त्यो भएर विगतको कुरा सम्झिँदा अहिले पनि मेरो चित्त दुख्छ । मनमा नरमाइलो अनुभव हुन्छ । त्यति बेला बिहे गरेर नगर्नुपर्ने काम गरेछु जस्तो पनि लाग्छ ।

हार नखाने र आत्मनिर्भर बन्ने

मैले अहिले हरेक महिनामा ३० देखि ३५ हजार रुपैयाँ जति अटोरिक्सा चलाएरै कमाउँछु । सुरुसुरुमा मान्छेले मलाई विश्वास गरेनन् । त्यति बेला मैले यात्रु नपाएर खाली अटोरिक्सा पनि गुडाउनुपर्‍यो । मलाई चालक सिटमा देखेपछि ‘महिलाले ठाउँमा पु¥याउँदैन होला’ भन्दै मेरो अटोरिक्सामा चढ्न लागेकाहरू पनि नचढ्ने ।

मलाई लाग्छ, श्रीमान्‌काे साथ, सहयोग नै पाएको अवस्थामा पनि सबभन्दा पहिला महिलाले आफू आत्मनिर्भर हुनुपर्ने रहेछ । बिहे गर्नुअघि नै छोरीमान्छेले यी कुरा सोच्नुपर्ने रहेछ ।

ती मान्छेहरू मेरै अगाडिबाट अर्को अटोरिक्सामा चढ्न जान्थे । कतिले त्यो कुरा मुखैले भन्थे । कतिले डराए जसरी यत्तिकै मेरो अटोरिक्सालाई छोडेर हिँड्थे । तैपनि मैले हरेस खाइनँ । खाली नै भए पनि अटोरिक्सा गुडाइरहेँ । महिला चालकमाथिको त्यस्तो अविश्वास चिर्न मलाई झन्डै तीन वर्ष लाग्यो ।

मलाई लाग्छ, श्रीमती, घर, बच्चा छोडेर हिँड्ने श्रीमान् समाजमा धेरै हुन्छन् । सँगै भए पनि श्रीमतीलाई दुःख र यातना दिनेहरू पनि गाउँ र सहर जताततै हुन्छन् । त्यस्ता श्रीमान्‌बाट पीडित महिलालाई ‘हार नखानुस्’ भन्न चाहन्छु । हामी महिलाहरू श्रीमान्‌विना पनि बाँच्न सकिन्छ । श्रीमान्‌ले थपेका पीडा सहनुभन्दा मलाई त एक्लै केही गरेर आफ्नो खुट्टामा उभिने कोसिस गर्नु राम्रो हो भन्ने लाग्छ । सानै भए पनि व्यापार, व्यवसाय गर्न सकिन्छ ।

मलाई लाग्छ, श्रीमान्‌काे साथ, सहयोग नै पाएको अवस्थामा पनि सबभन्दा पहिला महिलाले आफू आत्मनिर्भर हुनुपर्ने रहेछ । बिहे गर्नुअघि नै छोरीमान्छेले यी कुरा सोच्नुपर्ने रहेछ । हतारिएर बिहे गर्दा आफूले कहिल्यै नसोचेको दुःखमा नराम्ररी फसिने धेरै सम्भावना रहेछ ।

आफूले पढेको छ र आर्थिक रूपमा आफू बलियो भएको छ भने श्रीमान् त के कसैको साथ नभए पनि जिन्दगी काट्न आफूलाई अप्ठ्यारो हुँदैन भन्ने बुझेको छु । अहिले म पहिले जस्तो कमजोर छैन । यो उमेरमा आइपुग्दासम्म जे जति बुझ्नुपर्ने हो, ती कुरा बुझेको छु जस्तो लाग्छ । १७ वर्ष नपुग्दैदेखि नसोचेको दुःखमा परियो । त्यस्तो बेलामा पनि मैले आफूलाई सम्हालेको छु र आफ्नो बच्चालाई जोगाएको छु । उसलाई स्याहारेर हुर्काएको छु । सन्तानप्रतिको जिम्मेवारी मैले बुझेको छु ।

हिले मेरो अटोरिक्सामा चढ्न डराउनेहरूले पनि अहिले ‘महिलाले चलाएको अटो पो सुरक्षित हुँदो रहेछ’ भन्न थालेका छन् । कतिले त मेरो उदाहरण दिएर ‘कल्पनाले जस्तै तिमीहरू पनि आफैँ केही गर’ भनेको पनि सुन्छु ।

अहिले त आर्थिक रूपमा पनि बलियो हुँदैछु । अटोरिक्साबाट दिनमा एक हजारदेखि १५ सय रुपैयाँसम्म कमाउँछु । म सबै दिदीबहिनीलाई भन्छु, लगनशील र इमान्दार भएर काम गरे जुनसुकै पेसाबाट पनि कमाउन सकिन्छ । आफूले गरेको इमान्दार कामले आफूलाई सन्तुष्टि पनि दिन्छ । साथमा आफूलाई पीडा दिने कोही छैन भने पनि मनमा शान्ति मिल्ने रहेछ ।
मैले देखेको परिवर्तन

मैले बिहेपछि भोगेको करिब १५ वर्षको अवधिलाई फर्केर हेर्दा मसँगै मेरो वरिपरिको समाज पनि परिवर्तन हुँदैछ भन्ने लाग्छ । म आफैँ कमाउने, केही बोल्ने र केही गर्न सक्ने भएर पनि मलाई यस्तो लागेको हो कि भन्ने पनि लाग्छ । हिजो महिला भनेर मलाई ‘पुरुषले गर्ने काम किन गरेको ?’ भन्नेहरू पनि आज ‘तपाईंले राम्रो गरिरहनुभएको छ’, ‘तपाईं आत्मनिर्भर हुनुभयो’, ‘राम्रो काम गर्नुभएको छ’ भन्छन् । पहिले मेरो अटोरिक्सामा चढ्न डराउनेहरूले पनि अहिले ‘महिलाले चलाएको अटो पो सुरक्षित हुँदो रहेछ’ भन्न थालेका छन् ।

अझ कतिपयले त ‘पुरुष चालकले मदिरा सेवन गरेर अटो चलाउँछन्, महिलाले चलाएको अटोमा चढ्नुपर्छ’ पनि भन्छन् । मैले चलाएको अटोरिक्सा एकचोटि चढिसकेकाले फेरि फेरि चढ्न खोज्छन् । परेका बेला कसै कसैले त फोन गरेरै पनि बोलाउँछन् । कतिले त मेरो उदाहरण दिएर ‘कल्पनाले अटो चलाएकी छ, तिमीहरू पनि आफैँ केही गर’ भनेर महिलालाई भनेको पनि सुन्छु ।

अब मेरो सपना छ, छोरालाई राम्रो शिक्षा दिने र आफ्नै घर बनाउने । अटोरिक्साको सट्टा जिप अथवा ठुलो बस पनि चलाउने । लाग्छ, मेरो सपना एक दिन कसो पूरा नहोला !?

मैले अटोरिक्सा चलाएकै कमाइले छोरालाई एक निजी विद्यालयमा कक्षा ५ मा पढाइरहेको छु । बिहे गरेपछि नसोचेको दुःख पाएँ । दुःख दिने मान्छेसँग सम्बन्धविच्छेद गरेपछि मैले एक्लै आफ्नो जीवनको बाटो लिएँ । छोराको जिम्मेवारी पनि लिएँ । त्यसपछि आमा, बुबा र भाइको साथ, सहयोग पाएँ । केही न केही पढेकै थिएँ । त्यसमा मेरो सिप र आत्मविश्वास जोडियो । यसले गर्दा अहिले नयाँ काम गरिरहेको छु । पहिले महिला भनेर ममाथि विभेद र अपमान भए पनि मैले गरेको कामले अहिले सम्मान पाइरहेको छ । यसैमा खुसी भएर बाँचिरहेको छु ।

अब मेरो सपना छ, छोरालाई राम्रो शिक्षा दिने र आफ्नै घर बनाउने । यसका लागि अटोरिक्साको सट्टा जिप अथवा ठुलो बस पनि चलाउने । लाग्छ, मेरो यस्तो सपना एक दिन कसो पूरा नहोला !?

सन्धान प्रकाशन मिति : २०८० माघ २५, बिहीवार ।


Previous articleसाथीहरूकै घरमा लुकेर गरेको हो सडक आन्दोलन
Next articleओझेलमै छन् आन्दोलनमा अपाङ्गता भएका महिलाहरू