Home Stories विधवा विवाहप्रति उदार बन्दै नेपाली समाज

विधवा विवाहप्रति उदार बन्दै नेपाली समाज

1557
0

पतिको मृत्यु हुँदा पत्नीले एकै चितामा जल्नुपर्ने सतीप्रथा उन्मूलन भएको एक शताब्दीभन्दा बढी भयो । १९७७ असार २५ गते तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले नेपालबाट सतीप्रथा अन्त्य भएको घोषणा गरेपछि आम रूपमा विधवाले बाँच्न पाए । त्यसो त इतिहासलाई हेर्दा ‘मुलुकी ऐन, १९१०’ मै ‘सती जान्याको’ व्यवस्था गरी सतीप्रथामा केही बन्देज लगाइएको देखिन्छ । त्यसपछि १९४४ सालमा सतीप्रथा नियन्त्रण गर्ने इस्तिहार पनि जारी भएको पाइन्छ । सतीप्रथाको उन्मूलन नै भने १९७७ मा मात्र हुन सक्यो ।

राज्य तहको नीति निर्माण, कानुनी व्यवस्था र घोषणाबाट भौतिक रूपमा महिलाहरूको ज्यान त जोगियो तर विधवाको यौनिकता र गतिशीलतामाथि परिवार र समाजले अघोषित आगो लगाउन थाल्यो । विधवा अवस्थाका महिलाले श्रीमान्‌काे चितामा आफ्नो जिन्दगीको रातो रङ चढाएर आफूलाई सेतो र सादा रङमा बदल्नुपर्ने बनायो । भौतिक रूपमा बाँच्न पाए पनि विधवा महिलाहरू मरेतुल्य हुनुपर्ने भयो । उनीहरूका रहर, आवश्यकता र चाहनाहरूको कदर भएन । कुरा सुन्ने पनि कोही भएनन् । उनीहरूले आफूलाई मानिसका रूपमा बुझ्ने मानिस पनि परिवार र समाजमा कोही भेटेनन् ।

पुरुषका लागि सामान्य र अत्यावश्यक देख्ने त्यो विवाह महिलाका लागि भने असामान्य, अनावश्यक र अमान्य हुन्छ । कसैको हकमा मान्य भइहाले पनि समग्रमा त्यो अपवाद हुन्छ ।

नेपाली समाजमा आफ्ना मानवीय रहरहरूलाई कठोरतापूर्वक श्रीमान्‌काे चितासँगै जलाएर फर्किएपछि मरेतुल्य भएर बाँचिरहेका महिलाका कथा र व्यथा धेरै पटक धेरै विधा र माध्यमबाट प्रकाशित, प्रसारित हुँदै आइरहेका छन् । कुनै पुरुषको मृत्यु हुँदा अब उनकी पत्नीले एक्लै सन्तानलाई कसरी हुर्काउलिन् भन्ने आशयका अभिव्यक्तिहरू घरदेखि घाटसम्म र घाटदेखि घरसम्मै सुनिन्छन् । तर, त्यही घर र घाटमा कुनै महिलाको मृत्युले फरक अभिव्यक्ति पाउँछ ।

महिला चितामा जल्दै गर्दा उनका सन्तानलाई अभागी ठानिन्छ र पतिलाई भने अर्को लगनगाँठो कस्न दुलहीको चर्चा र खोजी सुरु भइसकेको हुन्छ । पुरुषका लागि सामान्य र अत्यावश्यक देख्ने त्यो विवाह महिलाका लागि भने असामान्य, अनावश्यक र अमान्य हुन्छ । कसैको हकमा मान्य भइहाले पनि समग्रमा त्यो अपवाद हुन्छ ।

नेपाली समाजमा महिलाको दोस्रो विवाहको परिकल्पना सकभर गरिँदैन । गर्नै परे पनि त्यसलाई फरक आँखाले हेरिन्छ र त्यस्तै व्यवहार गरिन्छ । यस्तो लामो समयदेखि चल्दै आयो । यस्तो चालचलन बदल्नलाई अहिले व्यक्ति र परिवार अग्रसर हुन थालेको देखिन्छ । सामाजिक स्वीकार्यता पनि बढ्दैछ । व्यक्ति र परिवार समानताको बाटामा हिँड्छ भने समाज पनि बदलिन करै लाग्छ ।

पहिले विधुरले जस्तै गरी अहिले विधवाले बिहे गर्न चाहेमा तिनका परिवारले नै केही सहज बनाइदिएका घटनाहरू महत्त्वका साथ सार्वजनिक हुने गरेका छन् । यस लेखमा पतिको मृत्युपछि अभिनेत्री श्वेता खड्का, विपना योगी, पूजा गजुरेल, आरती श्रेष्ठ र अम्बिका पोखरेल कार्कीले गरेका विवाहलाई समेटिएको छ ।

श्वेताको प्रेरक कदमलाई साथ

अभिनेत्री श्वेता खड्काले २०७७ मङ्सिर २२ मा कैलाली धनगढीका विजयेन्द्र सिंह रावतसँग दोस्रो बिहे गर्नुभयो । विवाह काठमाडौँको एक पार्टी प्यालेसमा भव्यतासाथ भएको थियो । ‘रमाइलो छ’ नामक युट्युब च्यानलको लागि अन्तर्वार्ता दिँदा विजयेन्द्रकी आमा स्नेहलता रावतले ‘बुहारी हैन, छोरीका रूपमा’ श्वेतालाई भित्र्याएको बताउनुभएको छ । श्वेताले विजयेन्द्रसँग गरेको विवाहलाई साथ दिँदै दर्शकले उदाहरणीय जोडी र क्रान्तिकारी कदम भनेका छन् । कतिपयले त अभिनेत्री श्वेताको दोस्रो बिहेलाई गाउँमा रहेका विधवा चेलीबेटीको जीवनमा रङ छर्न उत्प्रेरणा पनि हुने भन्दै बधाई पनि दिएका छन् ।

श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ असार २३ मा विवाह गर्नुभएको थियो । विवाह भएको एक महिनापछि नै श्रीकृष्णको निधन भएकाले श्वेता २५ वर्षको उमेरमै विधवा हुन पुग्नुभयो । श्वेतालाई श्रीकृष्णको शोकबाट बाहिर आउन झन्डै एक वर्ष लाग्यो । त्यसपछि अर्को बिहे गर्ने नयाँ सोच र वातावरण बन्यो । उहाँको दोस्रो विवाहले सञ्चार माध्यममा स्थान नपाउने कुरै थिएन, निकै ठुलो स्थान पायो । विधवाको सम्मानजनक विवाहका लागि प्रेरणाको स्रोत पनि बन्यो । श्वेताको दोस्रो बिहेले आफू जस्ता धेरै एकल महिलाका लागि निकै ठुलो आँट र हिम्मत दिएको बताउनुहुन्छ, विपना योगी ।

परिवारलाई पूर्णता दिने कदम

बाँके जिल्ला कोहलपुर घर भएकी विपना योगीले २०७९ असार ७ गते ललितपुर घर भएका कविन्द्र श्रेष्ठसँग बिहे गर्नुभयो । यो विपनाको दोस्रो बिहे हो । १९ वर्षको हुँदा पहिलो बिहे गरेकी विपना २२ वर्षमा विधवा हुनुभएको रहेछ । २०६६ सालमा विपनाले सुर्खेत घर भएका श्रीमान् दिलबहादुर ओलीलाई गुमाउनुभयो । श्रीमान्‌काे निधनपछि विपनाले १२ वर्ष एकल महिलाका रूपमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आफ्नो एक्लो सन्तानको रेखदेख र लालनपालन गर्दै आउनुभयो ।

कहिलेकाहीँ विपनाको विवाहका लागि भन्दै प्रस्ताव आउने गर्थे तर उहाँलाई असह्य हुन्थ्यो । विपना भन्नुहुन्छ, “सायद हामीलाई तिम्रो श्रीमान् नै सर्वस्व हो भनेर हुर्काएको भएर होला, मलाई त्यो शब्दले गालामा थप्पड हाने जस्तै हुन्थ्यो ।” विपना भन्नुहुन्छ, “श्रीमान् नहुनु भनेको संसार नहुनु हो, सँगै हाँसिदिने मान्छे नहुनु हो, घुर्काउँदा फकाउने मान्छे नहुनु हो, गल्ती गर्दा सच्याऊ भन्ने मान्छे नहुनु हो, अनि राम्रो काम गर्दा ताली दिने मान्छे नहुनु हो ।” विपनाले अरू बेला आफूलाई जसोतसो सम्हाले पनि बितेका श्रीमान्‌लाई पारिवारिक जमघट र चाडबाडमा निकै सम्झनुहुन्थ्यो । आफ्नो पनि पूर्ण परिवार भए हुन्थ्यो भन्ने लागि रहन्थ्यो । विपनाले कतिपय सामाजिक कार्यक्रममा सहभागी हुँदा त आफू विधवा भएको कुरा खुलेर भन्नै सक्नुभएको थिएन ।

श्रीमान् बितेपछि आफ्नो निधारमा रातो टीका लगाउने आँट जुटाउन पनि विपनालाई पाँच वर्ष लाग्यो । “मेरो साथमा मलाई धेरै माया गर्ने श्रीमान्‌काे परिवार थियो, ससुराबुवाले केही नभनी मलाई अंश दिनुभएको थियो, हुर्कंदै गरेकी छोरी थिई, मेरो संसार त्यहाँभन्दा पर थिएन,” विपना भन्नुहुन्छ, “बिहेका प्रस्तावहरू आइरहन्थे ।

अभिनेत्री श्वेता खड्काको दोस्रो बिहे भएको खबर फैलिएपछि भने मलाई पनि यस विषयमा सोच्नु पर्छ भन्ने जस्तो लाग्यो, कविन्द्रजीसँग बिहे गर्ने निर्णय गरेँ ।” यो निर्णय गर्दा विपनाले आफ्नी छोरीलाई प्रहरी स्कुल साँगामा कक्षा ९ मा पढ्ने बनाइसक्नुभएको थियो । उता कविन्द्रले पनि कोभिड–१९ महामारीका समयमा आफ्नी श्रीमती गुमाउनुभएको रहेछ ।

जीवनसाथीलाई सँगै पाएको अनुभव

झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नम्बर ४ बिर्ताबजारकी पूजा गजुरेलले २०८० जेठ १८ गते झापाकै कनकाई नगरपालिका वडा नम्बर ३ सुरुङ्गाका उमेश सिटौलासँग दोस्रो बिहे गर्नुभयो । १७ वर्षको उमेरमा पहिलो बिहे गरेकी पूजा २२ वर्षमै विधवा हुनुभएको थियो । त्यति बेला उहाँको साथमा चार वर्षको छोरा थियो । २०७४ सालमा हृदयाघातबाट श्रीमान्‌काे निधन भएपछि परिवार चलाउने जिम्मेवारी पूजामाथि नै आइपरेको रहेछ । पूजाका अनुसार, त्यही भएर श्रीमान् बितेको एक महिना नबित्दै आफू रोजगारीका लागि कतार गएको, श्रीमान्‌काे वर्षदिनको काममा छोटो छुट्टी मिलाएर नेपाल फर्किए पनि फेरि कतार नै फर्किएको हो । “बेला बेला मलाई लाग्थ्यो, लामो जिन्दगी छोराको साथमा बिताउने छु, तर समय सधैँ एकै कहाँ हुन्छ र ?” पूजा भन्नुहुन्छ, “जीवनका सुखदुःख साट्न कोही न कोही त चाहिन्छ ।” पूजा कतारमै हुँदा उहाँको परिवारले विवाहको प्रस्ताव ल्यायो । सासू ससुराले हेरेको केटासँग फेसबुकमा पूजाको कुराकानी हुन्थ्यो ।

२०८० जेठमा उहाँ दुई महिनाको छुट्टी लिएर नेपाल आउनुभयो । त्यही बेला पूजाले उमेशसँग विवाह गर्नुभयो । दुई सन्तानका पिता उमेश पनि विधुर हुनुहुँदो रहेछ । २०७७ सालमा श्रीमती बितेपछि उहाँले एकल जीवन बिताउँदै आउनुभएको थियो । बिहेपछि दुवै जना खुसी हुनुहुन्छ । खुसीको कारण देखाउँदै पूजा भन्नुहुन्छ, “सन्तानलाई आमा र बुवा दुबैको माया चाहिन्छ, म अहिले तीन सन्तानको आमा भएको छु, मेरो छोराले बुवाको माया पाएको छ, उहाँका छोराछोरीले आमाको, यी तीन सन्तान अब हाम्रा भएका छन् ।” आफूले श्रीमान्‌विनाका एक्ला र अत्यासलाग्दा दिन र रातहरू गुजारेको बताउने पूजाले विवाहपछि आफूलाई सहज र पूर्ण भएको ठान्नुभएको छ । भन्नुहुन्छ, “भोलि के हुन्छ भन्न सकिन्न तर आजका दुःख र सुख, चाहना र रहरका बारेमा निर्धक्क भन्ने नयाँ साथीलाई सँगै पाएको छु ।”

बुहारी ‘सुहाउँदो ज्वाईं’ पाएपछि

क्यान्सर रोगसँग लडिरहेका आफ्ना प्रेमी सुबिन श्रेष्ठसँग २०७३ वैशाखमा दाङ जिल्ला, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ की आरती श्रेष्ठले भागेर बिहे गर्नुभएको रहेछ । क्यान्सरको चौथो चरणमा रहेका सुबिनलाई साथ दिएर आरतीले आफ्नो प्रेमजन्य दायित्व निभाउनु पनि भएछ । २०७४ कात्तिकमा सुबिनको मृत्यु भयो । बिहे गरेको डेढ वर्षमै त्यस्तो घटना भोगेकी आरती भन्नुहुन्छ “मैले प्रेमी मात्रै हैन, श्रीमान् गुमाएँ, बुवाआमाले आफ्नो एक्लो सन्तान गुमाउनुभयो, हामी परिवार नै एक्लो, एक्लो भएका थियाैँ ।”

श्रीमान्‌काे मृत्युपछि आरतीले परिवारको दरिलो साथ पाए पनि भन्नेहरूको मुख थुन्न सक्नु भएन । “मर्छ भन्ने थाहा पाई पाई सम्पत्ति खान आई भनेर भन्थे, कसै कसैले श्रीमान् मरेको वर्ष दिन पुग्या छैन, रम्रिएर हिँड्छे भन्ने,” आरती ती दिनहरू सम्झँदै थप्नुहुन्छ, “आफ्नो इच्छा अनुसारका कपडा लगाउँदा पनि अपमानका शब्द सुन्नुपर्‍यो । सासू र ससुरासँग ‘बुहारी पोइल जाली है !’ भन्नेहरू पनि थिए ।”

आरतीको बुझाइमा श्रीमान्‌काे मृत्युको शोक उहाँको मात्रै थिएन, परिवारकै थियो । भन्नुहुन्छ, “मलाई बुवाआमाले शोक मान्न हैन, शक्ति मान्न हौसला दिनुभयो ।” यसको राज खोल्दै आरतीका ससुरा शिव श्रेष्ठ भन्नुहुन्छ, “हामीले छोरा गुमायौँ तर आरतीलाई हाम्रो छोरीका रूपमा पायौँ । आफ्नो जन्म दिने परिवारलाई त्यागेर मर्न लागेको मेरो छोराको सासमा अलिकता आँट भर्न आएकी आरती हाम्री बुहारी हैन, छोरी हो ।”

आरतीका सासू र ससुरालाई छोराले आफू मरेर गए पनि उहाँको प्रेम जिम्मा लगाएर गए झैँ लाग्छ । त्यही भएर उहाँहरूले आरतीलाई स्टाफ नर्स पढाउनुभयो । आरतीको लामो जिन्दगी एक्लो हुने हो कि भन्ने डरले उहाँका सासू र ससुरा ‘योग्य ज्वाईं’ को खोजीमा लाग्नुभयो । आरतीका ससुरा भन्नुहुन्छ, “हामी ७० को हाराहारीका छौँ । छोरी ३० पुग्न लागेकी थिई । उसको लामो जिन्दगी एक्लै कसरी काट्ली भन्ने लाग्थ्यो । अहिले उसलाई सुहाँउदो ज्वाईं पाएका छौँ, ढुक्क छ ।”

आरतीका अनुसार सुबिनका बुवाआमा आरतीलाई स्टाफ नर्स पछिको थप पढाइ पूरा गर्न अस्ट्रेलिया पनि पठाउन चाहनुहुन्थ्यो । आरतीले परिवारलाई नछोड्ने सर्त अगाडि सार्नुभयो । त्यसपछि आरतीलाई बिहे गरिदिने सोच उहाँहरूले बनाउनुभयो । परिवारबाट कुरा आएपछि नै दाङ जिल्ला बर्दघाट नगरपालिका वडा नम्बर ५ पालडाँडाका चन्दनध्वज केसीसँग आरतीको चिनजान भयो । त्यही चिनजानलाई आरतीका सासूससुराले आफ्नै घरबाट अन्माएर २०७९ फागुनमा बिहेमा परिणत गरिदिनुभयो ।

छोरीको बिहेपछि आफूले पनि …

चितवन जिल्ला माडीकी अम्बिका पोखरेल कार्कीले श्रीमान् ओम कार्की बितेको २५ वर्षपछि २०८० मङ्सिर १ गते कुञ्जर ज्ञवालीसँग विवाह गर्नुभएको रहेछ । ४५ वर्षको उमेरमा दोस्रो विवाह गर्नुभएकी अम्बिकाका अनुसार, सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ६ बस्ने ओम कार्कीसँग उहाँको पहिलो विवाह भएको थियो । २०५९ वैशाख १९ गते राती श्रीमान् ओमको तत्कालीन विद्रोही समूह माओवादीले हानेको गोली लागेर ज्यान गयो । त्यति बेला छोरी अर्पणा एक वर्षकी मात्र थिइन् । २०७९ वैशाखमा छोरीको बिहे गरेपछि आफूलाई एक्लो महसुस हुन थालेको उहाँको भनाइ छ ।

अम्बिकाले आफ्नो दोस्रो विवाहका सम्बन्धमा फेसबुक स्टाटस पनि राख्नुभयो । त्यसमा लेख्नुभएको थियो– मैले दोस्रो विवाह गरेँ । जिन्दगी सोचे जस्तो नहुने रहेछ । १६ वर्षको उमेरमा मैले पहिलो विवाह गरेकी थिएँ । २० वर्ष पूरा हुँदै गर्दा म विधवा भएँ । नेपाल प्रहरीमा कार्यरत ओमजीलाई देशको द्वन्द्वले लग्यो । यसरी प्रेम वियोगमा मैले २५ वर्ष गुजारेँ ।

अम्बिकाले आफ्नो दोस्रो विवाहका सम्बन्धमा फेसबुक स्टाटस राख्नुभयो । उहाँको यो कदमप्रति सामाजिक सञ्जालमा धेरैले प्रशंसा र शुभकामना व्यक्त गरेको देखियो । यसलाई अहिलेको नेपाली समाज महिलाका हकमा पनि पुरुषकै सरह सोच्न र व्यवहार गर्न सक्ने हुन थालेको प्रमाणका रूपमा लिन सकिन्छ ।

यो दौरानमा आर्थिक, सामाजिक, राजनीतिक उतारचढावहरू मेरो जीवनमा आए । व्यवस्था परिवर्तनको नाममा मच्चिएको उत्पातले म जस्ता कैयौँ दिदीबहिनीहरूले वियोगमा जिन्दगी जिउनुपरेका सत्यताहरू हाम्रा आँखा अगाडि छन् । सन्तानको लागि मैले जानी नजानी, सकी नसकी आफ्नो कर्तव्य पूरा गर्न लागिपरेँ र उचित शिक्षा दिएर कुटुम्बको जिम्मा लगाएँ । त्यसपछि म बिल्कुल एक्लो भएँ । अबको यो उमेरमा झन् कसैको साथको आवश्यकता खड्किन थाल्यो ।

“जीवन सङ्गिनीको अभाव कस्तो बेलामा महसुस गर्नुहुन्छ ?” भन्ने प्रश्नको जवाफमा मदनकृष्ण श्रेष्ठ भन्नुहुन्छ, “एकदम अभाव हुन्छ, अभाव जतिखेर नि हुन्छ, जिन्दगी अधुरो फिल हुन्छ ।”

अम्बिकाले सामाजिक सञ्जाल फेसबुकमा यसरी पोस्ट गरेपछि केही दिनमै हजारभन्दा बढीले प्रतिक्रिया जनाए । उहाँको यो कदमप्रति सामाजिक सञ्जालमा धेरैले प्रशंसा र शुभकामना व्यक्त गरेको देखियो । यसलाई अहिलेको नेपाली समाज महिलाका हकमा पनि पुरुषकै सरह सोच्न र व्यवहार गर्न सक्ने हुन थालेको प्रमाणका रूपमा लिन सकिन्छ ।

‘मेरो (बितेकी) श्रीमती फर्काइदेऊ !’

कान्तिपुर टेलिभिजनबाट २०८० कात्तिक ८ मा प्रसारित अन्तर्वार्ता कार्यक्रम ‘टफटक’ मा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई कार्यक्रम प्रस्तोता दिलभूषण पाठकले सोध्नुभयो, “फ्याट्ट भगवान् भेटिनुभयो भने के माग्नुहुन्छ ?” त्यसको जवाफमा मदनकृष्ण भन्नुहुन्छ, “मेरो श्रीमती फर्काइदेऊ !”

मदनकृष्णले २०३० सालमा यशोदा सुवेदीसँग प्रेमविवाह गर्नुभएको तथ्य धेरै पटक सार्वजनिक भइसकेको छ । उहाँले २०७४ सालमा श्रीमती यशोदालाई गुमाउनुभएको थियो । मदनकृष्णको जीवनका लागि यशोदा श्रेष्ठ के हो भन्ने प्रश्नको जवाफ अमूर्त छ । ‘टफटक’ अन्तर्वार्तामा उहाँलाई ‘यशोदाको बारेमा के भनौँ ?’ भन्दै मौन रहेको देखिन्छ ।

मदनकृष्णकै अर्को टेलिभिजन अन्तर्वार्ता न्युज ट्वेन्टीफोर (नेपाल) बाट २०८० भदौ २३ गते प्रसारण हुन्छ । ‘जीवनका रंगहरू’ नामक उक्त टेलिभिजन कार्यक्रममा उहाँले आफ्नो मौनता तोड्नुभएको पाइन्छ । प्रस्तोता रीमा विश्वकर्माको प्रश्न हुन्छ, “जीवन सङ्गिनीको अभाव कस्तो बेलामा महसुस गर्नुहुन्छ ?” जवाफमा मदनकृष्ण भन्नुहुन्छ, “एकदम अभाव हुन्छ, अभाव जतिखेर नि हुन्छ, जिन्दगी अधुरो फिल हुन्छ, जिन्दगी जिन्दगी नै हो कि हैन जस्तो फिल हुन्छ, मेरो मिसेजले छोडेर गएको कमसेकम अब पाँच वर्ष क्रस भइसक्यो हैन ? त्यही पनि अझै पनि बोल्दा म अकमकिन्छु, बोली बन्द हुन्छ, गाह्रो छ ।”

मदनकृष्णका यी वाक्यहरूले श्रीमान् र श्रीमती बिचको असल सम्बन्धको गहिराइ देखाउँछ । उहाँले दिनुभएको जवाफ केही समयसम्म सामाजिक सञ्जालमा ‘भाइरल’ भएर तरङ्गित भइरह्यो । यसको अर्थ बुढ्यौली लाग्दै गरेको उमेरमा श्रीमान् र श्रीमतीको एकअर्कालाई साथ कत्तिको जरुरी हुन्छ भन्ने कुरामा धेरैलाई घत लागेको पनि हुनुपर्छ ।

त्रिभुवन विश्वविद्यालय लैङ्गिक अध्ययन विभागका प्राध्यापक डा. मीरा मिश्रको विश्लेषण छ, “पुरुषको यौनिकता र महिलाको यौनिकतालाई समाजले फरक ढङ्गले बुझ्दा महिलाहरूमाथि एक्लोपनाको जोखिम बढी हुन्छ ।

यस प्रकारका घटना परिघटनाहरूको साङ्केतिक महत्त्व पनि हुन्छ । यसलाई श्रीमतीको मृत्युपछि एकल हुन पुगेका पुरुषलाई जस्तै श्रीमान्‌काे मृत्युपछि एकल हुन पुगेका महिलालाई पनि समानुभूतिक आँखाले हेर्नुपर्ने र सोही अनुरूप व्यवहार गर्नुपर्ने भावना समाजमा विकसित भएर फैलिन थालेको सङ्केतका रूपमा लिन सकिन्छ भन्नेहरू पनि छन् ।

विधुर जस्तै हुन् विधवा पनि

पितृसत्तात्मक समाजमा महिलाहरूलाई भावनात्मक रूपमा कमजोर मानिन्छ, ठानिन्छ पनि । कोमल हृदय भएका भन्दै साहित्यिक पुस्तकहरूमा धेरै नै व्याख्या र वर्णन गरिन्छ । यस्ता असमान लैङ्गिक मापदण्डलाई पक्षपोषण गर्ने सिद्धान्त, दर्शन, साहित्य, सोच र व्यवहारहरू क्रमशः इतिहासको पानामा सीमित हुँदै आएका छन् । पतिवियोगमा दरिलो मुटु बनाएर एक्लै जीवन काटिरहेका महिलाहरूले विगतलाई भुले जस्तो देखिन्छ, तर श्रीमान् साथ नहुँदाको एक्लोपनाले उनीहरूलाई पनि गाँज्दै गएको हुन्छ ।

एक्लोपनाका सम्बन्धमा त्रिभुवन विश्वविद्यालय लैङ्गिक अध्ययन विभागका प्राध्यापक डा. मीरा मिश्रको विश्लेषण छ, “पुरुषको यौनिकता र महिलाको यौनिकतालाई समाजले फरक ढङ्गले बुझ्दा महिलाहरूमाथि एक्लोपनाको जोखिम बढी हुन्छ । विधवा महिलाको पुनर्विवाहलाई बिटुलो भएको भनेर हेरिन्छ भने पुरुषलाई त जीवन चलाउन अर्को साथी चाहिहाल्छ नि भन्ने दृष्टिले हेरिन्छ, जसले गर्दा महिलाले खाएको, लगाएको, बोलेको विषयलाई पितृसत्ताले चियो गर्दा महिलाहरू एक्लिन पुग्छन् ।”

सासू र ससुराले नै बुहारीलाई बिहे गरिदिनु भनेको विधवा बुहारीप्रति नेपाली समाज उदार हुँदै गएको सङ्केत हो भन्ने विचार प्राध्यापक डा. मीराको छ ।

एक्लोपनाबाट मुक्त हुने चाहना राख्नेहरूले नयाँ जीवनसाथी रोज्न सक्छन् । समाजमा आफ्नो परिवारले पनि पूर्णता पाओस् भन्ने चाहना जीवनसाथी गुमाएका कतिपय एकलहरूमा हुन सक्छ । विवाह गर्ने अधिकार श्रीमती गुमाएका एकल पुरुषलाई मात्र होइन, श्रीमान् गुमाएका महिलालाई पनि छ । विधुरले जस्तै विवाह गरेर परिवारलाई पूर्णता दिने चाहना विधवाले पनि राख्न सक्छन् । अहिलेको नेपाली समाजमा मानव अधिकार र समतावादी सोचका साथ दुवैको कदर हुँदै जान थालेको देखिन्छ ।

त्यसमा पनि सासू र ससुराले नै बुहारीलाई बिहे गरिदिनु भनेको विधवा बुहारीप्रति नेपाली समाज उदार हुँदै गएको सङ्केत हो भन्ने विचार प्राध्यापक डा. मीराको छ । उहाँ भन्नुहुन्छ, “विधवा बुहारीको इच्छा अनुसार विवाह गरिनु अरू परिवारका लागि पनि उदाहरण हो । यस्तो विवाहलाई छिमेकी, नातेदार र समाजलाई नै पनि सार्वजनिक रूपमा विधवा महिलाको पुनर्विवाहप्रति सकारात्मक हुन प्रेरणा मिल्छ ।” यसो भन्दै गर्दा उहाँ यसको अर्को पाटोतिर पनि ध्यान दिनुपर्ने ठान्नुहुन्छ । उहाँ भन्नुहुन्छ “विधवा बुहारीको दोस्रो बिहेलाई परिवारले सम्पत्तिको अधिकारबाट वञ्चित गराउने चलखेलका रूपमा पो लिन्छन् कि ? त्यसतर्फ भने सजग हुन जरुरी छ ।”

सम्बन्धित व्यक्तिको भावना बुझेर मात्रै विवाहको निर्णय हुनुपर्छ । पितृसत्ताले पूर्णतः समताको धार नपक्डिएसम्म विवाह गर्ने वा नगर्ने रोजाइ एकल महिलाकै हातमा छोडिदिनुपर्छ भन्ने मान्यतालाई किनारीकृत गर्न मिल्दैन ।

स्वार्थ बाझिन सक्ने हरेक सवालमा सजगता जरुरी हुन्छ । कुनै कुनै घरमा एकल भए पनि विवाह गर्न नचाहने बुहारी पनि हुन सक्छन् । आफू एकल रहेरै सन्तानको लालनपालन गर्न चाहने महिला पनि हुन सक्छन् । त्यस्ता पुरुष पनि नभएका होइनन् । यसैले सम्बन्धित व्यक्तिको भावना बुझेर मात्रै विवाहको निर्णय हुनुपर्छ । पितृसत्ताले पूर्णतः समताको धार नपक्डिएसम्म विवाह गर्ने वा नगर्ने रोजाइ एकल महिलाकै हातमा छोडिदिनुपर्छ भन्ने मान्यतालाई किनारीकृत गर्न मिल्दैन ।

सजगताकै कारण परम्पराका नाममा पितृसत्ताले निषेध गरी थिचेका महिलाहरूले परिवार र समाजमा समान हैसियतमा नयाँ मान्यता पाउन थालेका हुन् । यस क्रममा श्रीमान्‌काे निधनको शोकबाट माथि उठेर आफ्नो नयाँ परिवार बनाउन आँट गरेका श्वेता, विपना, पूजा, आरती, अम्बिका जस्ता महिलाहरू अरु एकल महिलाको जीवनसाथी पाउने अवसर सिर्जनाका लागि प्रेरणा र हिम्मत बनेर उभिनुभएको छ । उहाँहरूको चाहनालाई निःस्वार्थ भावले साथ, आडभरोसा र आधार दिने परिवार सदस्य, नातासम्बन्ध र कुटुम्बहरू मानवता र समतावादी समाजका लागि उदाहरणीय र कदरयोग्य हुन पुगेका छन् ।

सन्धान, प्रकाशन मिति : २०८० माघ २ गते, मंगलबार

यो पनि पढ्नुहोला