मेरो जीवन कथा सुन्नेहरूलाई मात्र होइन, भोग्ने म स्वयंलाई पनि अनौठो लाग्छ । आफ्नो जीवन आफैँलाई अचम्मको नलाग्नु पर्ने हो । कोइलीले कागको गुँडमा आफ्नो बचेरा कोरल्छ, स्वयं कोइलीलाई अनौठो लाग्छ र ? सुँघ्ने क्षमता मान्छेमा भन्दा कुकुरमा एक लाख गुणा बढी हुन्छ रे ! स्वयं कुकुरलाई अनौठो लाग्छ र ?
तर, मेरो जीवन मलाई अनौठो लाग्छ । केही वर्षअघिसम्म मेरा सन्तानले मलाई बुबा भन्थे, अहिले ‘ममी’ भन्छन् । यस्तो कुरा धेरैका लागि दन्त्यकथा जस्तो लाग्छ होला । अज्ञातवासमा अर्जुनलाई पत्नी द्रौपदीले समेत ‘वृहन्नला’ भन्थिन् ।
मेरो जीवन यस्तै यस्तै छ । २२–२३ वर्ष अघि उनीसँग मेरो भेट गराइयो । हजुरआमा भन्नुहुन्थ्यो, जीवनको उत्तरार्धमा । ‘नातिको बिहे गरिदिन पाए चिन्तारहित भएर परलोक सुधार्न पाउँथेँ’ भन्ने चाहना उहाँमा थियो । हजुरआमाको त्यही चाहनाले उनीसँग मेरो भेट गराएको थियो ।
त्यो बेला म थिएँ २२–२३ को युवक । उनी पनि त्यस्तै उमेरकी । त्यो उमेरमा त सबै सुन्दर लाग्छन् । फूलको सुन्दरतामा हेर्नेको यौवन चमक भरिँदा कस्तो हुन्छ ? त्यस्तो बेला थियो त्यो ।
केटाले केटी हेर्यो, केटीले केटा हेरिन् । बोली मुस्किलले फुट्यो । मन नपर्नुपर्ने के थियो र ? मन पर्यो । दुवैले विवाहका लागि मञ्जुरी दियौँ । कुनै प्रेमविवाह थिएन । एक अर्काेलाई बुझेका थिएनौँ । तर, हामी एकले अर्काेलाई मन परायौँ । खासमा ‘हुन्छ’ भनेछौँ वा भन्यौँ । मान्छेको जात ! दुनियाँ बुझ्दै हिँडेको हुन्छ । भन्छन् नि– तर मान्छेले आफैँलाई बुझेको हुँदैन । आफ्नो अन्तस्करण थाहा पाएको हुँदैन । आत्माको पुकार सुनेको हुँदैन । म के हुँ ? त्यो थाहा पाउँदैन । कहाँबाट आएँ ? किन यो धर्तीमा आएँ ? त्यो पनि थाहा पाउँदैन ।
एक दिन मैले भनेँ, “म त म जस्तो छैनँ । तिमीले ममा म पाउँछौ ?” उनले मेरो कुरा बुझिनन् । फेरि भनेँ, “म पुरुष नै होइन । म तिमी जस्तै हुँ । मेरो शरीरमा पुरुष अङ्ग छन् तर पनि म तिमी हुँ ।” यो कुराले उनी थचक्क बसिन् । उनका आँखामा टिल्पिएका आँसु देखिरहेको थिएँ ।
आजको मान्छे स्वयंको ठेगाना छैन तर अन्तरिक्षमा अर्काे ग्रहमा ‘एलियन’ खोज्दै हिँडेको छ । हजुरआमाको अन्तिम इच्छा नातिको विवाह गर्ने थियो । मैले विवाह गरेँ । उनी दुलहीका रूपमा मेरो घरमा भित्रिइन् । दुई वर्षको अन्तरमा दुई सन्तान जन्मिए । उनी आमा भइन् । म बा बनेँ । हाम्रा दुई सन्तानले हाम्रो परिवार पूर्ण गरिदियो– देख्नेहरूले यस्तै भन्थे ।
बाहिरबाट जे देखिन्छ, त्यो सधैँ सत्य हुँदैन । जे देखिँदैन, कतिपय अवस्थामा त्यो सत्य हुन्छ । प्रत्येक बिहान पूर्वबाट सूर्य उदाएको देखिन्छ । पृथ्वीभन्दा एक दुई हजार किलोमिटर माथि गएर हेर्यो भने, कता पूर्व, कता पश्चिम ? विवाह भयो, सन्तान जन्मिए । उनी सायद खुसी नै थिइन् । वा सायद अलिकति दुःखी थिइन् ! यहीबिच मेरो भेट भयो, सुनिलबाबु पन्तसँग । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार प्राप्तिको लडाइँमा पन्तको ठुलो योगदान छ । उनले संविधानसभा सदस्यका रूपमा यो समुदायको अधिकार स्थापित गर्न भूमिका निर्वाह गरेका थिए ।
पन्तकै कारण मैले मेरो यौनिकता थाहा पाएँ । मैले पुरुषका रूपमा व्यवहार गरिरहेको भए पनि भित्रबाट म महिला हुँ भन्ने बुझेँ । मलाई सधैँ महिलाको शृङ्गारले आकर्षित गर्थ्यो । महिलाका कपडासँग म आफूलाई मैत्री पाउँथे । पुरुष पर लाग्थे; महिला निकट लाग्थे, सङ्गी लाग्थे । हित्तचित्त सुनाउने सङ्गिनी जस्ता लाग्थे । तर फेरि पनि मलाई यो समाजले पुरुष र दुई सन्तानको बाबु भनेर चिनेको थियो । उनीसँग मेरो शारीरिक सम्बन्ध नहुने होइन, हुन्थ्यो तर निकै कम । सुरुदेखि नै नियमित हुँदैन थियो । हाम्रो आलिङ्गनमा दुरी शून्य हुन्थ्यो तर त्यसमा माधुर्य हुँदैनथ्यो । फूलमा सुवास नभए जस्तै हुन्थ्यो सायद !
एक दिन मैले भनेँ, “म त म जस्तो छैनँ । तिमीले ममा म पाउँछौ ?” उनले मेरो कुरा बुझिनन् । फेरि भनेँ, “म पुरुष नै होइन । म तिमी जस्तै हुँ । मेरो शरीरमा पुरुष अङ्ग छन् तर पनि म तिमी हुँ ।” यो कुराले उनी थचक्क बसिन् । उनका आँखामा टिल्पिएका आँसु देखिरहेको थिएँ । उनको निधारमा देखिएका पसिनाका हल्का कणहरूले उनमा के बितिरहेको थियो, त्यो मैले जति अरू कसैले अनुमान गर्न सक्थ्यो होला र ?
“हामी साथी भएर रहन सक्छौँ । पतिपत्नीकै झैँ अभिनय गरेर बस्न सक्छौँ । आखिर यो दुनियाँमा हामी सबै पात्र त हौँ । हामीलाई निर्देशन त कहाँ छ कहाँ ? जसरी पनि हामी मिलेर बस्न सक्छौँ । तर, शारीरिक सम्बन्धचाहिँ हुन सक्दैन,” मैले यो कुरा गरेँ । उनी अवाक भइरहिन् । यस्तो कुराको जवाफ के हुन्छ ? यस्तो अनौठो अवस्थामा के जवाफ दिने भनेर कसले पूर्वतयारी गरेर बस्छ र ?
उनलाई लाग्यो, मेरो बाहिर कुनै युवतीसँग सम्बन्ध छ । रेस्टुराँमा खाना खान थालेपछि मान्छेलाई घरको खाना किन चाहिन्छ र ? उनले मेरो विवाहेत्तर सम्बन्ध रहेको ठानिरहिन् । उनी र म एउटै घरमा, एउटै कोठामा, एउटै ओछ्यानमा हुन्थ्यौँ तर पनि हामीबिच सात समुद्र बराबरको दुरी हुन थाल्यो । मैले मेरो साथी गुमाउँदै गएँ । उनले पनि मलाई गुमाउँदै गइन् ।
छोरीमान्छेको जात न पर्यो ! कसै न कसैको साथ त खोजी हाल्छ नि ! उनी अरू नै कसैसँग नजिक हुन थालिछन् । यसमा उनको के दोष ? मै दोषी हुँ भनौँ भने मबाटै यी दुई सन्तान जन्मेका हुन् । म दोषी होइन भनौँ भने आखिर कुरा त मेरो तर्फबाट सुरु भएको हो । यो दोष कसको हो ? रहेछन् भने ईश्वरले थाहा पाउलान् ! तर म यति भन्छु, उनी जहाँ छिन्, खुसी रहून् । यी सन्तान उनी र मेरा साझा हुन् । मेरो कारणले सन्तान उनीबाट टाढा नबनून् । उनी आमा हुन्, घर्ती हुन् । यसकारण ती आमासँग उनका बालबच्चा टाढा बनाउने प्रयास म कहिले पनि गर्दिनँ ।
तर, अब म पनि आमा भएकी छु । उनीसँग मेरो सम्बन्ध विच्छेद भएपछि दुई सन्तानको शिक्षादीक्षाको जिम्मेवारी मेरो काँधमा आएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका लागि काम गर्ने संस्थामा पनि मैले डेढ दशक जति काम गरेँ । अहिले आफ्नै ‘मायाको संसार’ भन्ने संस्था पनि खोलेकी छु । यो संस्थाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, महिला र पुरुष यौन श्रमिकको समस्या सुन्ने र उनीहरूको अधिकारका लागि लड्ने काम गर्छ । मेरो सन्तानले मलाई पहिले बुबा भन्थे । अहिले ममी भन्छन् । मैले सर्ट पाइन्ट लगाउन छाडेको धेरै भयो । म महिला नै हुँ । महिलाकै सज्जामा रमाउन चाहन्छु । यो किन ? कसरी ? केका लागि ? भन्नेहरू समाजमा कत्ति छन् कत्ति ?
यो प्रश्नको जवाफ मेरो जीवन होइन । बाँकी सात पुस्ताको जीवनले एकोहोरो भनिरहे पनि समाजले ढुक्कले बुझिसक्दैन जस्तो लाग्छ । तर, मेरा बच्चाहरूले बुझेका छन् । म ड्याडी थिएँ, अब ममी भएँ । मेरो परिवार भन्नु नै यी दुई सन्तान हुन् । यिनले मेरो कुरा बुझे त भइगयो ।
मसँग छुटेपछि उनले दोस्रो विवाह गरिसकिन् । त्यो ठिकै पनि छ । निकटहरूले सोध्छन्, “सुनिता, तिम्रोचाहिँ पार्टनर छैन ?” तर मैले पार्टनर बनाइनँ, एकल छु । यसमै खुसी छु । जीवनमा कोही भेटियो भने सायद पार्टनर बन्छ पनि होला । भएन भने नभएको कुरामा चिन्ता गरेर म जीवनलाई दुःखी बनाउन चाहन्नँ ।
(विगतदेखि नै विभिन्न सङ्घसंस्था, व्यक्ति र समूहहरूबाट प्रकाशित/प्रसारित महिलाहरूको जीवनकथालाई ‘सन्धान सहकार्य’ अन्तर्गत हामीले साभार गरी प्रकाशन/प्रसारण गर्दै आएका छौँ । यसै क्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको विविध मुद्दालाई समेटेर काम गर्दै आएको संस्था मितिनी नेपालद्वारा प्रकाशित ‘सधैँ सँगै : विविधतामा एकता’ पुस्तिकामा समेटिएको सुनिता लामाको ‘म बाबु, म आमा’ शीर्षकको कथालाई सामान्य सम्पादनसहित साभार गरिएको हो ।)
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका थप कथाहरू
- लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक आन्दोलनमा दोस्रो पुस्ताको प्रवेश
- महिलावादी आन्दोलनले यौनिक तथा लैङ्गिक समुदायको मुद्दा उठाएको भनेको ‘टोकनिज्म’ मै सीमित छ । –गौरी नेपाली
- लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूद्वारा ‘प्राइड परेड’ नेपाल गौरव यात्रा (फोटो फिचर/भिडियाे)
- लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार नै मुख्य मुद्दा (अडियो सहित) – शिल्पा चौधरी
- सम्मानपूर्वक बाँच्न पाउने अवस्था बनाउनु छ –राधा मौसी (भिडियो सहित)
सन्धान, प्रकाशन मिति २०८० जेष्ठ २४ गते बुधवार