Home Opinion ओछ्यान : पितृसत्ताको ढलिमली

ओछ्यान : पितृसत्ताको ढलिमली

3351
1

आफ्नो आफ्नो उमेर सम्झनुस् । आजसम्म कति पटक ओछ्यानमा निदाउनुभो होला ? उमेरका आधारमा हिसाब गरी हेर्नुस् । अँ, साँच्ची ! ओछ्यानमा पल्टिएर निदाउनुअघि ओछ्यानको पनि इतिहास छ भनेर सोच्नुभो कहिल्यै ? हामीलाई वास्ता हुँदैन तर बेवास्ता गरेका कैयन् चिजको इतिहास हुन्छ । ओछ्यानको पनि छ । पाषाणकालमै ओछ्यानको आविष्कार भएको मान्नुहुन्छ, ब्रिटिश लेखक तथा इतिहासकार ग्रेग जेनर ।

जेनरको भनाइमा ओछ्यान ७७ हजार वर्ष पहिले अस्तित्वमा आएको प्रमाण छ । त्यतिबेला दक्षिण अफ्रिकाको गुफामा मानिसहरू हातैले चट्टान कुँदेर ओछ्यान जस्तो बनाउँथे र त्यसैमा सुत्थे रे । ढुङ्गाको ओछ्यान आरामदायी त पक्कै थिएन । ओछ्यानको यो इतिहास अहिले सम्पन्नता झल्काउने मात्र होइन खानदान, वर्ग र हैसियत छुट्याउने तहसम्म आइपुगेको छ । आधुनिक कालको प्रारम्भिक अवधि ‘राज्यको ओछ्यान’ का लागि प्रसिद्ध छ । फ्रान्सका लुइस चौधौँ र बेलायतका राजा चार्ल्स द्वितीयले ‘शाही दरबार’ हरूमा त्यो संस्कृतिको विकास गर्नुभएको थियो । त्यसबेला ओछ्यान राजनीतिक जीवनको केन्द्र थियोे ।

ओछ्यानको आँखिझ्यालबाट पनि पितृसत्ताको संरचना नियाल्न सकिन्छ । महिलालाई दमित र पुरुषलाई दमन गर्ने पात्रको रूपमा हुर्काउने पितृसत्ताले ओछ्यानलाई धरि ‘कन्ट्रोलिङ मेकानिज्म’ बनाएको छ ।

आज आम मानिसको निम्ति पनि ओछ्यान थकान हटाउने, शान्तसँग आराम गर्ने र निदाउने फर्निचरको एक ‘पिस’ मा मात्रै सीमित छैन । एकल मान्छेदेखि दम्पतीको लागि ‘ओछ्यान’ आराम, निद्रा, न्यानोपन र मायाको ‘स्पेस’ हुँदै शक्तिको विम्ब बनिसकेको छ । ओछ्यान कमजोरमाथि बलियाले मनाएर या जबरजस्ती गरेर शक्ति प्रदर्शन गर्ने स्थलसमेत बनिसकेको छ । त्यही ओछ्यान पुरुषलाई आनन्दको स्रोत बन्न सक्छ भने महिलालाई त्यस्तो नहुन पनि सक्छ । ओछ्यान ‘शक्तिको विम्ब’ बनेसँगै पितृसत्ताको शक्तिले राज गर्न थालेको यथार्थ सबैका अगाडि खडा छ । ओछ्यान पुरुषले महिलामाथि ‘सत्ता जमाउने अनेकमध्ये एक साधन’ बनेको छ भन्दा अत्युक्ति हुँदैन ।

डा. अर्चना थापा पुरुष सत्ता रहेको राजनीतिमा जसरी शक्तिको सङ्घर्ष चलिरहेको हुन्छ, त्यसैगरी घरमा पनि कसै न कसैको प्रभुत्व हाबी भैछाड्ने बताउनुहुन्छ । लेखक, सम्पादक तथा प्रकाशन गृह अक्षर क्रियसन्सका संस्थापक अर्चना घर र बेडरुम एउटा त्यस्तो निजात्मक ‘स्पेस’ हो जहाँ बाहिरी मानिसको प्रवेश हुँदैन । उहाँ खासगरी श्रीमान् श्रीमतीको कोठामा एउटा शक्तिको शासन चल्ने कुरा स्वीकार गर्नुहुन्छ । राष्ट्रिय महिला आयोगको दोस्रो पञ्चवर्षीय रणनीतिक योजनाको मस्यौदा टोलीका सदस्यसमेत रहिसक्नुभएकी अर्चनाको विचार छ, “दुई जना सुत्ने त्यो ओछ्यानमा पितृसत्ताको शक्ति त छँदै छ तर अहिलेको समयमा सबै जनाको बेडमा पितृसत्ताको नियन्त्रण छ कि छैन त्यो खोजी र बहसको विषय हुन सक्छ ।”

ओछ्यानको आँखिझ्यालबाट पनि पितृसत्ताको संरचना नियाल्न सकिन्छ । महिलालाई दमित र पुरुषलाई दमन गर्ने पात्रको रूपमा हुर्काउने पितृसत्ताले ओछ्यानलाई धरि ‘कन्ट्रोलिङ मेकानिज्म’ बनाएको छ । यो तथ्य स्वीकार गर्नुहुन्छ माला राई । त्रिभुवन विश्वविद्यालयको लैङ्गिक अध्ययन विभागका लेक्चरर माला भन्नुहुन्छ, “समाज पितृसत्तात्मक छ अनि अधिकांशतः हिन्दु दर्शन, मूल्य, मान्यतामार्फत प्रशिक्षित छ । यी सबै पुरुषलाई बलियो र महिलालाई कमजोर रूपमा प्रस्तुत गर्ने द्वैतवादमा आधारित छन् ।” महिला र पुरुषको सम्बन्धलाई द्वैतवादको सिद्धान्तमा आधारित भएर व्याख्या गर्दा उनीहरूबिच असमान शक्तिसम्बन्ध रहेको पाइन्छ । मालाकै भनाइमा यसखाले सम्बन्धमा ‘हाइरार्की’ हुन्छ, जसमा पुरुष उपल्लो श्रेणीमा हुन्छ अनि शक्तिशालीसँगै एकदमै प्रभुत्वशाली पनि । महिलालाई आफूभन्दा तल्लो श्रेणीमा राखेर कमजोर बनाइएकाले शक्तिशाली पुरुषले ‘डोमिनेसन’ गरिरहन चाहन्छ । पुरुषले पितृसत्ताको मद्दतद्वारा आफ्नो शासन लाद्ने काम ओछ्यानमा पनि जारी राख्छ, उहाँको भनाइ छ ।

नयाँ ओछ्यानको पीडा

‘एगोनी अफ दि न्यु बेड’ चिरपरिचित तर अधिकांशले पिठ्यु फर्काएका यथार्थहरू समेटिएको एउटा कला प्रदर्शनी ! कलाकारले सांस्कृतिक, मनोवैज्ञानिक र सामाजिक दृष्टिबाट कला सिर्जन्छ र प्रदर्शन गर्छ । दृश्य कलाकार तथा सांस्कृतिक आयोजक शीलाशा राजभण्डारीले पनि एक विवाहित स्त्रीको मनोविज्ञान र आफू बाँचेको समाजको सांस्कृतिक सामाजिक मान्यतालाई आधारभूमि बनाउनुभयो अनि आफूमा रहेको रचनात्मकता, कौशल र मनोभावनालाई ‘दि एगोनी अफ दि न्यु बेड २०१८’ मा पोखिदिनुभयो । उहाँको यो ‘थिम’ ले सारा मानिसबिच चिरपरिचित तर अधिकांशले बेवास्ता गरेको यथार्थहरूलाई उजागर गरेको छ । विशेषतः ‘विवाह’ संस्थासँगै निर्माण भएका लैङ्गिक विभेद र निषेध (ट्याबुज) बारे उहाँको कलाले बोलेको छ ।

महिलाले हीनताबोध गर्दै अपमानजनक विवाह र हिंसा सहँदै आएका छन् । यिनले आफूमा बचेखुचेको नगण्य शक्ति, साहस, आँट पनि अपमानजनक विवाहमा लगानी गरेका छन् ।

विभिन्न उमेर समूहका महिला र किशोरीहरूका तस्बिरलाई साना ‘सुनौला वैवाहिक ओछ्यान’ मा सुताइएको छ । “सुनौला खाट नै किन ?” प्रश्नको जवाफमा उहाँ भन्नुहुन्छ, “दक्षिण एसियाली विवाहहरूमा सामाजिक र सांस्कृतिक दुवै हिसाबले सुन अनिवार्य र बाध्यात्मक मानिलिइन्छ । खर्चिलो उपहार र महँगो भतेरसँगै मान्छेको भेलाविनाको बिहेलाई बिहेजस्तो मानिँदैन । दुलहीहरू सुन र महँगा गरगहनाले सजाइन्छन् ।” शीलाशाका अनुसार, दुलही सजाइने त्यो सुनका साथै चम्किला चहकिला सांस्कृतिक तानाबानाहरूले बेहुलीको अस्तित्व र परिचयलाई अवमूल्यन गरेको छ । उहाँको भनाइ छ, “मैले यही देखाउन खोजेँ ।”

पितृसत्तात्मक राज्य व्यवस्था भएका मुलुकमा मात्रै होइन संसारभर बहुसङ्ख्यक महिलालाई शक्तिको किनारामा हुत्त्याइएको र मानव मूल्य नै खोसिएको पीडा छ । महिलाको जमात यस्तो पीडाबाट गुज्रिँदै आएको छ । यी सङ्ख्यामा अधिक छन् तर यिनले अर्थात महिलाले हीनताबोध गर्दै अपमानजनक विवाह र हिंसा सहँदै आएका छन् । यिनले आफूमा बचेखुचेको नगण्य शक्ति, साहस, आँट पनि अपमानजनक विवाहमा लगानी गरेका छन् । विवाहको बन्धनले थुनिराख्ने घर, भान्सा र ओछ्यानबाटै आफ्नो नगण्य शक्ति, साहस, आँट पनि यिनले गुमाएका छन् ।

भारतीय महिलावादी लेखक तथा राजनीतिशास्त्रका प्राध्यापक निवेदिता मेननले ‘सिइङ लाइक अ फेमिनिष्ट’ नामक पुस्तकमा चाहे वैवाहिक (विवाहपछि) होस् वा प्रसव (जसमा छोरीको जन्म हुन्छ) को समय, पितृसत्तात्मक परिवार महिलाका निम्ति हिंसात्मक शक्ति खेल्ने र बहिष्करणमा पार्ने थलो भएको उल्लेख गर्नुभएको छ । कलाकार शीलाशाले यिनै बहिष्करणमा पार्ने गरिएका छोरीमान्छेहरूका गुनासा, वेदना आदिका साथै समग्रमा महिलाहरूको जीवन दर्शाउने कलाको सिर्जना गर्नुभएको बुझिन्छ । महिलाका तस्बिरमाथि जथाभावी कोरिएको छ, लेखिएको छ र सुनौलो रङका धागाहरूको कलात्मक शिल्पले तस्बिर बुनिएको छ । यस्तो कोराइ, लेखाइ र बुनाइमा प्रकट सिर्जनाले नबोलेरै पनि धेरै कुरा बोलिरहेका हुन्छन् । शीलाशाको कलात्मक प्रयोगले सामाजिक मूल्य मान्यताका कारण महिलाले अनुभूत गर्ने कमजोर र लचिला भावनाहरूको दायरा प्रकट गरेको छ । यो एउटा प्रतिरोधपूर्ण आक्रोशको अभिव्यक्ति पनि हो ।

 ‘माइतीघरको ओछ्यान’ मा रहँदा नियन्त्रण केही खुकुलो हुन सक्ला तर माइतीले नै दिएको भए पनि ‘नयाँ घरमा लोग्नेसँगको ओछ्यान’ मा नियन्त्रणको ‘नटबोल्ट’ अझै कसिइन्छ ।

अन्य मुलुकमा जस्तै नेपालमा भएको परम्परागत वैवाहिक प्रचलनमा पनि महिलाको ‘स्वामित्व’ ‘बाबुबाट श्रीमान्‌मा स्थानान्तरण’ गरिन्छ । विवाहमा सुनसँगै  चम्किला राता साडीमार्फत गरिएको साजसज्जाले महिलालाई मान्छेभन्दा ज्यादा ‘पुतली’ देखाउँछ । बाबुबाट श्रीमान्‌मा जिम्मेवारी सारिनासाथ श्रीमान्‌ले आफू अनुकूल नसधाएर मनखुसीले उड्न दिन्छ र ‘पुतली’ लाई ? नदिएकै घटना असङ्ख्य छन् । छोरालाई प्राथमिकतामा राखेर छोरीलाई द्वितीयक श्रेणीमा धकेल्ने पारिवारिक र सामाजिक अभ्यासले स्त्रीजातिको बुहारी जीवनलाई झनै नियन्त्रणमा राख्छ । ‘माइतीघरको ओछ्यान’ मा रहँदा नियन्त्रण केही खुकुलो हुन सक्ला तर माइतीले नै दिएको भए पनि ‘नयाँ घरमा लोग्नेसँगको ओछ्यान’ मा नियन्त्रणको ‘नटबोल्ट’ अझै कसिइन्छ ।

आफ्नो कलामार्फत ‘विवाह संस्था’ मात्रै नभएर विभिन्न विवाहिताहरूको अनुभूतिलाई नियाल्न खोेजेकी शीलाशाले अन्ततः सम्पत्ति, भूमि, स्वअधिकारसँगै महिलाको पहिचानमाथिको नियन्त्रण नै ‘विवाह’ रहेछ भन्ने निष्कर्ष बटुल्नुभएको छ । राज्य, समाजको नीति र मान्यताले एक महिलाको परिचयलाई कसरी ढाकिदिन्छ ? सन्तानको वैधता पनि उसलाई आर्जिएको ‘थलो’ कुन पुरुषको ओछ्यान हो भन्ने कुराले निक्र्योल गर्दछ । आमाको कोखको मूल्य भिल्लाका देशको मणिसरह कौडीको भाउमा झर्छ । परिवार जस्तो सानो एकाइमा छिरेर पितृसत्तात्मक राज्य संयन्त्रले रणनीतिक चालबाजीमार्फत नियमबद्ध रूपमा आम महिलाको मानव अधिकारलाई कुण्ठित र नियन्त्रण गर्न सक्छ भन्ने उदाहरण दिन खोजेको छ शीलाशाको ‘दि एगोनी अफ दि न्यु बेड’ ले ।

विवाहले निम्त्याएको बसाइँसराइपछि महिलाको लागि ओछ्यान डर र सुरक्षा दुवैको ‘स्पेस’ हुन जान्छ ।

विवाहले निम्त्याएको बसाइँसराइपछि महिलाको लागि ओछ्यान डर र सुरक्षा दुवैको ‘स्पेस’ हुन जान्छ । डरको कारण हो, जुन व्यक्तिसँग वैध रूपमा विवाहित स्त्रीले ओछ्यान ‘शेयर’ गर्छिन् त्यही ओछ्यानबाट पुरुषको वंशीय निरन्तरता हुने गरी आफ्नो कोख भरिन्छ कि भरिन्न भन्ने भाव । पेटमा बच्चा बसिहालेमा पनि अर्को चरणको डर पैदा हुन्छ, छोरा होला कि छोरी भनेर । ‘श्रीमान्‌लाई ओछ्यानमा सन्तुष्ट पार्न सकिनँ भने ?’ यस्तो खालको डर पनि हुन्छ महिलालाई । विवाहित स्त्रीका लागि ‘ओछ्यान’ विशेषतः ‘बोझिलो थलो’ हुने बुझाइ छ शीलाशाको । महिलाका पीडाहरू जन्मघर छोड्नेदेखि कर्मघरको ओछ्यानमम्म पुग्छन् । त्यही पीडा ओछ्यानबाट जीवनभर झेल्नुपर्ने गरी विस्तारित पनि हुन्छन् । सुनको ओछ्यानमा सुताइदिएका युवतीदेखि वृद्ध महिलाका भोगाइसँग जोडिएका विम्बहरूले यही भावना प्रकट गर्छन् । शीलाशाको प्रश्न पनि छ, “अनेकौँ विषयमा हक र अधिकारको कुरा गर्ने महिलावादीहरू ‘महिलाले बलिदानी दिनुपर्ने चिज’ को सूची पुरुषको भन्दा धेरै हुन्छ भन्ने बारेमा किन नबोलेका ?” 

विवाह संस्था र ओछ्यान

नेपाली बृहत् शब्दकोशमा स्त्री र पुरुषका बिचमा पति–पत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कृत्यलाई विवाह भनिएको छ । अधिकांश पुरुषले जीवनसाथीभन्दा पनि सहयोगीका रूपमा विवाह गर्न खोज्छन् भन्ने धारणा युवतीहरूमा पाइन्छ । यसकारण युवतीहरू विवाहपछि आफ्नो जीवनबाट स्वतन्त्रता, सम्मान र परिचय नै गुम्ने सम्भावना बढी रहेको आकलन गर्ने र विवाह संस्कारबाटै बिच्किने गरेको पाइन्छ ।

शृङ्गार, चम्किला आभूषण, सिताराजडित आकर्षक वस्त्रभित्रकी बेहुलीभित्र पलाएको ‘मनोवैज्ञानिक पीडा’ लाई समानुभूतिशील महिलाबाहेक दोस्रो पक्षले न बुझ्न सक्छ न त बुझ्ने प्रयत्न नै गर्न चाहन्छ ।

विवाहलाई अवलम्बन गर्नेले सकेसम्म ‘उत्सव’ देखाउन खोज्छन् । खर्चिलो र रवाफिलो शैलीमा विवाह गर्नसक्नेले यसलाई उत्सवका रूपमा बुझ्छन् । झकिझकाउ विवाह समारोहमा दुवै पक्षले आफ्नो हैसियत ‘कम नभएको’ देखाउने सारा प्रयत्न जारी राख्छन् । यस्तो बेला एउटा मुख्य पात्र ‘बेहुली’ ले भने अनिश्चितता भावबाट गुज्रिनुपर्छ । शृङ्गार, चम्किला आभूषण, सिताराजडित आकर्षक वस्त्रभित्रकी बेहुलीभित्र पलाएको ‘मनोवैज्ञानिक पीडा’ लाई समानुभूतिशील महिलाबाहेक दोस्रो पक्षले न बुझ्न सक्छ न त बुझ्ने प्रयत्न नै गर्न चाहन्छ । छोरीको वास्तविक ‘पहिचान र स्वत्व’ लाई पर राख्दै पितापक्षले घरपक्षलाई दिएको दाइजोले पनि महिलाको अवमूल्यन गरेको छ ।

दाइजो वा उपहारस्वरूप दिइएको ओछ्यानले महिला परनिर्भर हुनु र नयाँ घरमा उसको आफ्नो भन्ने केही र कोही नहुनु वा हुँदैन भन्ने अर्थ दिन्छ । उसलाई बाल्यावस्थादेखि नै पछि गएर एउटी आज्ञाकारी अनि बफादार श्रीमती र असह्य पीडा झेल्नसक्ने आमा हुनका लागि हरतरहले प्रशिक्षित गरिन्छ । यस्तो चरित्र दाइजो दिइएको ओछ्यानमा पनि प्रदर्शन गरोस् भन्ने अव्यक्त अपेक्षा राखिन्छ । पितृसत्ताले महिलालाई आफ्नो पतिलाई ‘देव’ मान्नु  र उसलाई खुसी पार्नु नै उनीहरूको सच्चा ‘धर्म’ हुने भनेको छ । छोरीलाई ‘चेली’ बनाएको छ । नेपाली बृहत् शब्दकोशका अनुसार, ‘चेली’ भनेको अह्राउपह्राउ मान्ने आइमाई पनि हो । यसखाले वैचारिकीबाट महिलाहरू ‘बनाइएका’ मात्र होइन, ‘मनाइएका’ पनि छन् । यसको सुविधा श्रीमान् नातामा रहेको पुरुषले ओछ्यानबाट पनि उपभोग गरिरहेको हुन्छ । महिलाको तुलनामा पुरुषकै यौनिक सर्वोच्चता जो कायम छ ।

श्रीमान्‌ले २४ घण्टामा कति पटक शारीरिक–सुख चाहला ? उसले चाहे जति पटक महिलालाई सहभागी हुन मन पर्ला र ? नपर्न पनि त सक्छ । कसले बुझ्न चाहेको होला र ? यसैले पतिको सन्तुष्टिको नाममा आफ्नो शरीर पसारिदिने, दाँत किटेरै सही पत्नीले आफूमाथि भएका अत्याचार सहनुपर्ने हुन सक्छ । चितवनकी एक पत्रकार प्रतिमा सिलवाललाई रिपोर्टिङका क्रममा एक महिलाले ‘श्रीमान्‌को परिवारलाई माया र सम्मान दिन सक्ने तर उसँग ओछ्यान बाँड्न नसक्ने’ बताउनु भएकाे थियाे ।

यस्तै, केही महिलाले पङ्क्तिकारसँगको अन्तरङ्ग कुराकानीको सारमा ‘ओछ्यानमा लोग्नेमान्छे भोग्न कम गाह्रो नभएको’ अनुभव सुनाएका छन् । ओछ्यानमा भएको जबरजस्तीलाई कुनै महिलाले न्यायिक निकायसम्म पुर्‍याउने आँट गरिहालिछन् भने पनि ओछ्यानको बलात्कारलाई ‘झुटो आरोप’ लगाउन सक्ने, सन्देहको नजरले पुष्टि गर्न मिल्ने छिद्रहरूलाई नियाल्छ कानुन । समाजदेखि इजलाशसम्म महिलाकै ‘पवित्रता’ बारेको विचारविमर्श चल्न सक्छ । यसै कारण हो, महिलाहरू ओछ्यानमा भएको हिंसा र अन्यायबारे बोल्न नसक्ने । समाजकै कारण हो, पुरुषले ओछ्यानमा हिंसा र अन्याय गर्नुअघि काँप्नु पनि नपर्ने ।

सन् २०१५ मा तुर्की चलचित्र ‘मुजिजे’ (द मिराकल) प्रदर्शनमा आएको थियो । सत्य घटनामा आधारित भनिएको सो चलचित्रमा बिहे भएकै साँझ दुलहा पुरुषले दुलही महिलाले देख्ने गरी परेवाको मुन्टो मर्काएको दृश्य देखाइएको छ । अर्को दृश्यमा बेडरूममा दुलहा हामफालेको देखाइएको छ । यसले नवदुलही श्रीमतीमाथि श्रीमान्‌को ‘शक्ति’ हाबी हुनुपर्छ भन्ने भावलाई ‘सिम्बोलाइज’ गरेको छ । रुखो बोली र कठोर व्यवहार गरेर श्रीमतीमा डर पैदा गर्दै शक्ति प्रदर्शन गरिन्छ । विवाह संस्थामा सहअस्तित्व र महिलाका भावनाहरूको कदर हुँदैन भन्ने कलात्मक विम्बको बलियो उदाहरण मानिन्छ ‘द मिराकल’ लाई ।

टर्कीमा पुरुषत्वको निर्माण सम्बन्धमा डुइगु आसेनाको ‘कदनन अद योक’ (द विमिन ह्याज नो नेम) अर्थात् ‘महिलाको कुनै नाम छैन’ पुस्तक सन् १९८७ मा प्रकाशित भयो । पुस्तकको नामले नै महिलाको कुनै नाम नहुने जनाउँछ । लेखक डुइगुको पहिचान तुर्की पत्रकार, ‘बेस्ट सेलिङ’ लेखक तथा महिला अधिकारका अभियन्ताका रूपमा स्थापित छ । उहाँको पुस्तकमा पुरुषत्वको निर्माणमा तुर्केली मोडलको उल्लेख भएको कैनसुन सेबनेमले जनाउनुभएको छ । सामाजिक आन्दोलन, लैङ्गिक मामिला र तुर्की राजनीति विषयका स्वतन्त्र अनुसन्धाता तथा लेखक कैनसुनले आफ्नो लेख ‘एन एक्जाम्पल फर द कन्स्ट्रक्सन अफ म्यास्कुलिनिटी इन टर्की : द वुमन ह्याज नो नेम’ मा डुइगुको कृतिको हवाला दिँदै टर्कीमा पुरुषत्वको सामाजिक निर्माणको क्रममा महिलाहरूविरुद्ध मनोवैज्ञानिक, शारीरिक र यौनहिंसा गरिँदै आएको जो कोहीले देख्न सक्ने उल्लेख गर्नुभएको छ । “पुरुषहरूले महिलाको आलोचना गर्ने, उनीहरूको स्वतन्त्रता कति हुने भनेर सीमा कोर्ने, पिट्ने अनि महिलाको सहमतिबेगर शारीरिक सम्भोग गर्ने गर्छन्,” लेखकको भनाइ छ । उहाँका अनुसार यस प्रकारको पुरुषत्वले टर्कीमा आधुनिक रूप लिँदैछ । यसर्थ महिलाको विरुद्धमा दमनकारी पुरुषत्व जहाँतहीँ फुक्काफाल छ भन्न सकिन्छ ।

दमनकारी पुरुषत्व वा ‘माचो’ मर्दाङ्गी ! यसले पितृसत्तात्मक सम्बन्धलाई आदर्श रूपमा वैधता दिन्छ । शक्ति, आदेश, अख्तियारी वा अधिकार, समवेदना र भावनाहीन, विषमलैङ्गिकता (हेटेरोसेक्सुआलिटी), समलिङ्गी मानिसहरूविरुद्ध घिन वा पूर्वाग्रह (होमोफोबिया), प्रतिस्पर्धा, जागिरमा स्वामित्व, प्रतिस्पर्धी खेलमा मग्न, यौन गतिविधि, जोखिम वहन गर्ने आदि सबै पुरुषत्व जनाउने तत्वहरू हुन् । यी तत्वहरूको सहारामा पुरुषवादले पुरातनदेखि अघोषित रूपमै महिलामाथि शासन जारी राख्दै आएको छ ।

ओछ्यान अहिले पितृसत्ताले ढलिमली गर्ने ठाउँमा मात्रै सीमित छैन । पुंसत्वले ‘पावर एक्सरसाइज’ गर्ने ‘स्पेस’ पनि बनेको छ । ओछ्यानबाटै पुरुषले महिलालाई नियन्त्रण गर्छ ।

डुइगुले आफ्नो पुस्तकमा पुरुषहरू आफूले भने विवाहेतर सम्बन्ध खोज्ने तर आफ्ना पत्नीबाट कौमार्यको माग गर्ने उल्लेख गर्नुभएको छ । यसले महिलामा डर पैदा गराउँछ र एकै पुरुष, एकै ओछ्यानमा आफूलाई आत्मसमर्पण गरिरहन कर गर्छ । यस्तो भयावह परतन्त्रलाई शरीरमा योनी होइन, लिङ्ग लिएर जन्मिएकै कारण कुनै पुरुषले भोग्नुपर्दैन ।

पितृसत्ताको संस्कृतिले विवाह गरेर ल्याइएकी नवयौवना दुलहीको कुमारीत्व परीक्षण गर्न अनौठो परीक्षा पनि लिन्छ । पहिलो सहवासमा तन्नामा रगतको टाटो भएमा उनी कुमारी भएको ठहरिन्छ नत्र उनको कुमारीत्व सन्देहको घेरामा पर्छ । यस्तो अवधारणा इतिहासको गर्तमा हराइसकेको छैन अझै । बरु यस्ता परीक्षणहरू समाजमा यो वा त्यो रूपमा जारी छन् । यो पनि त्यही ओछ्यानसँगै सम्बन्धित पुरुषवादी बखेडा हो ।
ओछ्यान अहिले पितृसत्ताले ढलिमली गर्ने ठाउँमा मात्रै सीमित छैन । पुंसत्वले ‘पावर एक्सरसाइज’ गर्ने ‘स्पेस’ पनि बनेको छ । ओछ्यानबाटै पुरुषले महिलालाई नियन्त्रण गर्छ । ‘सेक्सुआलिटी’ मा पुरुषहरूले महिलाको इच्छा र खुसीलाई महत्त्व दिँदैनन् । दिन हुँदैन भन्ने पुरुष मानसिकता छ । शक्ति असन्तुलन भइसकेपछि दुई जनाका बिच समान सहभागिता हुुनु कल्पनाबाहिरको कुरा बन्छ । यसो हुँदा यौन क्रियामा बराबर ‘अन्तरक्रिया’ सम्भव हुँदैन । सम्भोगमा ‘सम–भोग’ हुँदैन । पुरुषले महिलालाई दैनिक जीवनमा सम्मान गर्दैन, एउटै ओछ्यानमा निदाउँदा पैतालाले छोइएका भए पाप नलागोस् भनेर श्रीमतीले श्रीमान्‌लाई ढोग्नुपर्ने बाध्यात्मक मनोदशा खडा गर्छ भने त्यहाँ समान सहभागिताको कुरा कसरी चिताउन सकिन्छ ? बोलीमा जीवनको एकै डुङ्गामा सवार सहयात्री भनिए पनि सम्बोधनमा ‘तँ’ र ‘हजुर’ को खानदानी विभेद कायम छ । बोलीदेखि व्यवहारसम्मको शक्तिसम्बन्ध ‘असन्तुलित’ भएपछि यौनसम्बन्धमा समान सहभागिता हुनै सक्दैन । ओछ्यानको सम्बन्धमा समसत्ता त कागताली परे मात्रै स्थापित हुने सत्य हो ।

भनिन्छ, महिलाले आफ्नो इच्छा भन्न नसक्ने, धक मानिदिनुपर्ने, लजाइदिनुपर्ने परिस्थितिमा कामोत्तेजना (अर्गाज्म) को नक्कली भाव उतार्छन् । विषमलिङ्गी सम्बन्ध (हेटेरोसेक्सुअल रिलेसन) ले ओछ्यानमा पुरुषले जुनसुकै प्रकारको पागलपन देखाओस्, अपराधपूर्ण व्यवहार गरोस् ती सबै क्रियाकलापलाई प्राकृतिक मान्छ । ऊ छोरामान्छे हो र बहादुरी प्रदर्शन गर्ने पुरुष व्यक्ति श्रीमान् हो भन्ने कठोर मान्यता छ । यो मान्यताले श्रीमान्‌को ओछ्याने हिंसा र दुव्र्यवहारलाई पनि जायज ठह¥याउँछ । त्यही ठाउँमा श्रीमतीको हैसियतमा रहेकी महिलाले यौनक्रियामा सक्रियता देखाउँदा भने त्यसलाई अप्राकृतिक र अनैतिक मानिन्छ ।

ओछ्यानमा महिलाहरूले खोज्ने समानताको हक कम महत्त्वपूर्ण छैन । ओछ्यानको सन्दर्भमा महिलावादको सङ्घर्ष खासमा पितृसत्ताविरुद्धको सङ्घर्ष हो ।

पिता, पति र पुत्रको एकलैङ्गिक सत्ता भएको पारिवारिक एकाइमा महिलाको भावलाई कसले बुझोस् ? महिलाको बोलीलाई कसले सुनोस् ? समाजले त झन् सुन्न चाहेकै होइन, बुझ्न खोज्नु त परको कुरा । यसरी महिलाको यौनिकतालाई ‘सीमान्तकृत र किनाराकृत’ बनाइएको छ । समाजमा महिलाहरूको ‘यौन सन्तुष्टि र असन्तुष्टि’ लाई अझै पनि गोप्य राख्नुपर्ने वा लज्जाको पर्दाले ढाक्नुपर्ने अवस्था छ । फलतः महिलाहरूको यौनिकता र यौनसुख ‘दमित’ आवाज र ‘गलत बुझाइ’ को विभेदित मिथक बनेको छ ।

ओछ्यानमा समानताको बहस

विभेदित मिथकका सिकार बनाइएका महिलावादीले ओछ्यानमा समानता हुनुपर्ने बहसलाई आवाज दिइरहेका छन् । ओछ्यानमा महिलाहरूले खोज्ने समानताको हक कम महत्त्वपूर्ण छैन । यो सोझै पितृसत्ताको राजनीतिसँग ठोकिएको छ । निःसन्देह विवाहित जोडीको यौन सम्बन्धमा पितृसत्ता बलियो रूपमा उपस्थित छ । ओछ्यानको सन्दर्भमा महिलावादको सङ्घर्ष खासमा पितृसत्ताविरुद्धको सङ्घर्ष हो ।

सन् १९५० को दशकसम्म पनि ‘ओछ्यानमा लैङ्गिक समानता’ को अवधारणा नै बनेको थिएन । महिलावादी आन्दोलनले महिलालाई आफ्ना यौन चाहनाबारे ‘मेरो पनि चरमसुख, तिम्रो पनि चरमसुख’ भन्न सक्ने गरी आवाज दियो । ओछ्यानमा महिलाको यौन चाहना प्राथमिकतामा पर्छ त ? यस सम्बन्धमा लेखक तथा नागरिक अभियन्ता डा. अर्चना थापाको अभिव्यक्ति छ, “महिलाहरू शिक्षित भएपछि आफ्नो विवेकले आफ्नै नियन्त्रणमा छन् उनीहरू । आजको समयमा स्वआर्जन गर्दै आफ्नै गोडामा अडिन सक्षम र आफ्नो जीवनलाई आफ्नो निर्णयअनुसार चलाउन सक्ने महिलाले बेडमा पनि आफ्नो निर्णय लिन सक्ने हैसियत बनाएका छन् ।” उहाँका अनुसार, सन् १९६० मा आएको नारीवादको लहरसँगै एउटा चेतना आयो । त्यसले ‘महिला पनि एक सक्रिय एजेन्ट (कर्ता) हो, निष्क्रिय शरीर मात्रै होइन’ भन्छ । उनीहरूको पनि मस्तिष्क हुन्छ अनि एजेन्सी हुन्छ भन्न सुरु गरियो । उहाँ थप्नुहुन्छ, “त्यसैले अहिलेको जमानामा पुरुषले मात्रै महिलाको शरीरमाथि या पुरुषको यौन सन्तुष्टिका लागि मात्रै बेडमा महिलाको शरीर प्रयोग हुन्छ भन्ने कुरा अब मिथ भयो भन्ने लाग्छ मलाई चैँ ।

त्रिभुवन विश्वविद्यालयकी लेक्चरर माला राई भने समाज पुरुषवादी भएकाले महिलाको यौनिकतालाई समेत पुरुष दृष्टिकोणबाट हेरिने बताउनुहुन्छ । “महिलाको त कुनै भ्यालु छैन, उसको कुरा सुन्ने भन्ने नै छैन । जहिले पनि यौन क्रियाकलापमा र यौन सम्बन्धमा पुरुषको ‘आनन्द’ लाई प्राथमिकता दिइन्छ,” उहाँको भनाइ छ, “पुरुषकै निर्णयलाई शिरोपर गर्ने र पुरुष मान्यताकै ‘स्ट्यान्डर्ड’ हुने भएकाले पुरुष खुसी भयो वा भएन, पुरुषले सन्तुष्टि पायो वा पाएन भन्ने कुरा नै महिला–पुरुषको यौन सम्बन्धमा ठुलो हुन्छ ।”

मालाका अनुसार, महिलालाई आफू जस्तै सास लिने मानवका रूपमा भन्दा यौन वस्तु (सेक्सुअल अब्जेक्ट) को रूपमा लिइन्छ र महिलाको शरीरलाई पुरुषको निजी सम्पत्ति मानेर एक ‘भोग्य वस्तु’ सरह उपयोग गरिन्छ । “यसबाट के भन्न सकिन्छ भने महिला पुरुष (विवाहित या अविवाहित) विपरीत लिङ्गीबिचको यौन सम्बन्धमा महिलाको सहभागिता कस्तो छ ख्याल गरिँदैन,” उहाँ भन्नुहुन्छ, “न त यौन सम्पर्कमा चरम उत्कर्षमा पुगेको नपुगेको सोधिन्छ, न उसको शरीरको यौन आवश्यकताबारे नै सचेत छन् यौनमा सहभागी अधिकांश पुरुष । बरु ओछ्यानमा महिलाका यौन चाहनाहरू पुरुष पार्टनरद्वारा कुल्चिइन्छ ।”

यौन विशेष गुणहरू समाज निर्मित हुन् भन्ने महिलावादीहरूको तर्क छ । मर्दाङ्गी र आत्मविश्वासलाई ‘मर्दाना वा पुरुष’ को रूपमा र संवेदनशीलता र लज्जालुपनलाई ‘जनाना वा महिला’ को रूपमा हेरिन्छ । यो दृष्टिकोण समाजले महिला र पुरुषलाई दिन्छ । यसलाई सामाजिक मूल्यमान्यता र संस्थामार्फत उत्पादन गरिन्छ अनि केटा र केटी अवस्थामै सोहीअनुरूपको प्रशिक्षणमा हुर्कन मद्दत गरिन्छ । यसले दुवैलाई एकदमै भिन्न तरिकाले सामाजिकीकरण गर्छ । यस प्रकारको सामाजिकीकरणले पुरुषमा मर्दपन वा पुंसत्व प्रदर्शन गरेर आफू हक्की र शक्तिशाली छु भन्ने देखाउनै पर्ने मनोविज्ञान निर्माण गरिदिन्छ । यो मनोविज्ञान ओछ्यानमा पनि प्रकट हुन्छ र बल प्रयोग गरेरै भए पनि हैकम जमाउन खोज्छ । महिलामा लज्जाशील हुनुपर्ने दबाब हुन्छ । उसमा यौन असन्तुष्टि वा पीडाको कुरा पोखियो भने ‘सरमछाडा र गतिछाडा मानिन्छु कि’ भन्ने त्रास हुन्छ । महिलाभित्र आफ्नो नैतिकता र चारित्रिक गुणबारे प्रश्न नउठोस् र शङ्का नउब्जियोस् भन्ने सामाजिक मनोविज्ञानलाई गहिरो गरी जमाइन्छ । यसैलाई मलजल गरी यौन सम्बन्धमा महिलालाई चुपचाप सहभागी हुन बाध्य पारिन्छ । यहाँनेर सिमोन द बोभ्वाको ‘कोही जन्मिँदै महिला हुँदैन, बरु बनाइन्छ’ भन्ने भनाइ स्मरणीय हुन आउँछ ।

निवेदिताले ‘सिइङ लाइक अ फेमिनिस्ट’ पुस्तकमा विज्ञानका इतिहासकार इमिली मार्टिनद्वारा यौन सम्बन्ध र महिलाको यौनिकतालाई लिएर ‘सक्रिय र ऊर्जावान नायक, निष्क्रिय अनि प्रतीक्षारत नायिका’ जस्ता भाष्यहरू रचिएकातर्फ पनि ध्यानाकर्षण गरिएको उल्लेख गर्नुभएको छ । जीवविज्ञानका पाठ्यपुस्तकहरूमा ‘सक्रिय शुक्राणु, निष्क्रिय डिम्ब’ पदावली प्रयोग गरिएको पाइन्छ । यस्तै, ‘डिम्ब यानी अण्डा निष्क्रिय ढुवानी’ भनिएको पाइन्छ । यो भनेको फेलोपियन ट्युबको साथ ‘स्विप्ट’ हुन्छ, वा ‘बहाउँछ’, जहाँ सक्रिय शुक्रकीटले पहल गर्न र उसलाई आफ्नो काम पूरा गर्न पर्खिरहेको हुन्छ भन्ने हो । स्तरीय पाठ्यपुस्तकहरूमा एक पटक मुक्त भएपछि, जबसम्म शुक्राणुले बचाउँदैन, डिम्ब मर्छ भन्ने उल्लेख गरिएको पाइन्छ । निवेदिता विज्ञानका इतिहासकार इमिलीको भनाइ उद्धृत गर्नुहुन्छ, “कस्तो असामान्य ? ‘स्त्रीत्व’ लाई डिम्ब व्यवहार, ‘पुरुषत्व’ लाई शुक्राणु व्यवहार ?’

निवेदिताले आफ्नो कृतिमा मलायालम महिलावादी लेखक ललिता अन्तरजनमले सन् १९६० मा प्रकाशित एक लघुकथामा डिम्बलाई ‘देवीको मन्दिर’ को रूपमा परिकल्पना गर्नुभएको कुरालाई पनि उल्लेख गर्नुभएको छ । कथामा हजारौँ चिन्तित शुक्राणुहरू तीर्थयात्रीको रूपमा यात्रा गर्छन् । तिनमा केवल एकले आत्मपूर्ति पाउने कुरा छ । कथा एक शुक्राणुको उच्च र थरथर आवाजमा रचिएको छ ।

एक अध्ययनले ८० प्रतिशत महिलाहरूले सम्भोगको समयमा ‘फेक अर्गाज्म’ गर्ने गरेको खुलासा गरेको छ । ‘फेक अर्गाज्म’ भनेको ‘सम्भोगबाट प्राप्त नभए पनि चरमसुख पाएको भनेर दिने ढँटुवा अभिव्यक्ति’ हो ।

एघारौँ शताब्दीका इस्लामिक विद्वान् इमाम गजाली र अष्ट्रियन मनोविश्लेषक सिग्मन्ड फ्रायडले ‘महिला यौनिकता’ लाई सामाजिक व्यवस्थाको ‘विनाशकारी रूप’ मा हेर्नुभएको छ । इमामको तर्कमा महिला यौनिकता सक्रिय प्रकृतिको रहेको छ भने फ्रायडको तर्कमा यो निष्क्रिय प्रकृतिको छ । फरक संस्कृतिमा महिलाको यौनिकतालाई फरक ढङ्गले बुझिन्छ तर ‘यौनिक एजेन्सी’ बारेको बुझाइमा समानता पाइन्छ । यसले ‘सामाजिक विरूपता’ बढाउँछ ।

नेपाल जस्तै साँघुरो सामाजिक सांस्कृतिक लैङ्गिकसँगै वर्गीय मूल्यमान्यता भएका मुलुकहरूमा महिलालाई कम बोल्ने, मनभित्र जे छ त्यो व्यक्त नगर्ने, इच्छाहरू भित्रभित्रै पालिरहने व्यक्ति हुन सिकाएको छ संस्कृतिले । यस सन्दर्भमा यौनको चाहना जस्तो विषयको सामाजिकीकरणलाई व्यक्ति र समाजले ध्यानमै राख्दैन ।

युनिभर्सिटी अफ सेन्ट्रल लन्काशायरका डा. गेल ब्रेवर र लिड्स युनिभर्सिटीका डा. कोलिन ए. हेन्ड्रीको नेतृत्वमा १८ देखि ४८ वर्ष उमेरका महिलासँग सोधपुछ गरी गरिएको एक अध्ययनले ८० प्रतिशत महिलाहरूले सम्भोगको समयमा ‘फेक अर्गाज्म’ गर्ने गरेको खुलासा गरेको छ । ‘फेक अर्गाज्म’ भनेको ‘सम्भोगबाट प्राप्त नभए पनि चरमसुख पाएको भनेर दिने ढँटुवा अभिव्यक्ति’ हो । सन् २०१० मा सिबिएस न्युजमा सार्वजनिक भएको सो अध्ययनसम्बन्धी समाचारमा महिलाहरूले चरमसुखको विन्दुमा पुग्दा ‘भोकलाइजेसन’ मार्फत सन्तुष्टि र आनन्दको ‘कामुक’ आवाज निकाल्ने जनाइएको छ । तर अधिकांश समय ‘फेकिङ अर्गाज्म महिलाहरूको महत्त्वपूर्ण समर्पणको कथा’ भएको छ ।

ओछ्यान र शयनकक्षसँग ‘फेकिङ अर्गाज्म’ को नाता कस्तो छ त ? डा. अर्चना भन्नुहुन्छ, “पुरानो पुस्ता जो संयुक्त परिवारमा रहेर बाँच्यो, उसलाई अर्गाज्म थाहा थियो कि थिएन ठुलो प्रश्न हो । त्यस समय यौनको एउटै उद्देश्य सन्तानोत्पादन थियो । छोरा जन्माउने र वंश चलाउने कुरा प्राथमिकतामा रहँदा यौनलाई खासगरी महिलाले आनन्द र सन्तुष्टिको रूपमा लिने भन्ने नै थिएन ।” यसो भनिसकेपछि उहाँ जोड दिँदै भन्नुहुन्छ, “तर त्यहीँ चैँ पुरुषको ‘हक’ हुन्थ्यो । यदि ऊ श्रीमतीसँग सन्तुष्ट हुन सकेन भने बहुश्रीमती राख्ने, भित्र्याउने छुट पनि थियो ।”

आजसम्म आइपुग्दा महिलाको शरीर प्रयोग गरेर पुरुषले सन्तुष्टि पनि लिने र आफ्नो वंशको धागो पनि लम्ब्याउनेमा मात्रै सीमित छैन यौन सम्बन्ध । अर्चना पुनः उल्लेख गर्नुहुन्छ, “१९६० को दशकपछि पश्चिमा मुलुकमा महिलाको शरीर र सन्तुष्टिको कुरा उठ्न थाले । गर्भनिरोधक औषधिको उपलब्धतापछि अब यौन बच्चा जन्माउने मात्रै नभएर शारीरिक सन्तुष्टिको विषय बन्न पुगेको छ ।” उहाँको बुझाइमा महिलाले सन्तुष्टिका निम्ति श्रीमान्‌मा मात्रै आश्रित हुनुपर्ने नत्र अनैतिक हुने भन्ने बन्धन र डरलाई मेडिकल साइन्सले भत्काइदियो । अनि महिलावादी सङ्कथन (डिस्कोर्स) ले यौनलाई बच्चा जन्माउने माध्यम नभएर शारीरिक सुखको माध्यमको रूपमा हेर्न थाल्यो । “त्यसैले श्रीमान् या पुरुष सहकर्मीलाई नकार्न नसकेको परिस्थितिमा ‘बाध्यतावश’ यौनसम्पर्क भए पनि सधैँ त्यो ‘फेक अर्गाज्म’ को स्थिति नहुन सक्छ,” उहाँ थप्नुहुन्छ ।

लेक्चरर मालाको बुझाइ भने भिन्न छ । उहाँका अनुसार, महिलाको शरीरले सुखानुभूति गरोस् नगरोस् तर पुरुषलाई आनन्द दिलाउनकै लागि शरीर रिझाएर ‘फेक अर्गाज्म’ गरेकै हुनुपर्छ । आर्थिक हिसाबले श्रीमान्‌मा पूर्ण आश्रित महिलाहरू पुरुषको भावनामा चोट पुर्‍याइयो भने वा श्रीमान्‌लाई सन्तुष्ट पारिएन भने मेरो के होला भन्ने डरमा गुज्रिएका हुन्छन् । लामो समयसम्म पनि महिलाले यौन सन्तुष्टिको प्रतिक्रिया प्रकट नगरे उनीहरूले सुन्नुपर्ने चुत्थो शब्द कानमा नपरोस् भनेर शरीर जबरजस्त सुम्पिने र त्यसमै सन्तुष्टि मिलेको नक्कल गर्नुपरेको हुन्छ । ‘चुत्थो शब्द’ भनेको ‘कस्तो मुढो’ र ‘लासजस्तो शरीर’ आदि आदि हो । उहाँ भन्नुहुन्छ, “महिलावादी धारणा आएका औँलामा गनिन सक्ने केहीले मात्रै ‘फेक अर्गाज्म’ र महिलाको यौन आनन्दबारे ‘कुनामा’ बहस थालेका छन् । तर समाजका शिक्षित भनिने वर्गमै महिलाको ‘अर्गाज्म’ लाई ‘ट्याबु’ कै रूपमा लिइन्छ ।” महिलालाई ‘सेक्सुअल अब्जेक्ट’ ठानिने र पुरुष ‘सेक्सुअल एजेन्ट’ को रूपमा प्रस्तुत हुने हुनाले यौन क्रियामा महिलाबाट हुने अर्गाज्म ‘फेक’ नै हुन जाने उहाँको भनाइ छ ।

छोरा र छोरी के हुने भन्ने कुराको निक्र्योल पुरुषबाट निक्लने क्रोमोजमले गर्छ भन्ने सत्यलाई बेवास्ता गरेर समाजले छोरा पाइदिनुपर्ने गुरुत्तम ‘भार’ को दोष महिलालाई लगाउने गरेको छ ।

महिलाको प्रजनन अङ्गबारे न्यूनतम चेत पनि नभएका यौन सहकर्मी श्रीमान् आफ्नो पुरुषत्व र बहादुरी महिलालाई सन्तुष्ट पार्न सकेमा मात्रै झल्किने भ्रममा हुन्छन् । योनीको एउटा भाग भङ्गाकुर (क्लिटोरिस) नै यौन आनन्दको खास विन्दु हो तर यसबारे अनभिज्ञ पुरुषले आफ्नो शक्ति ‘उसले सम्भोग गर्छ र ऊ भोगिन्छे’ भन्नेमै छ जस्तो गर्छ । यसमा पुरुषको अहम् मात्रै प्रकट भएको हुन्छ ।

ओछ्यान र बच्चा

विवाहितका लागि ओछ्यान ‘छोरा’ पाउन ‘उत्सव’ गर्ने ठाउँ समेत हो । एक्स (X) र वाई (Y) क्रोमोजोमले लिङ्ग निर्धारणमा भूमिका खेल्ने तथ्य जैविकविद्ले वर्षौं पहिले पत्तो लगाएका हुन् । छोरा र छोरी के हुने भन्ने कुराको निर्यौल पुरुषबाट निक्लने क्रोमोजमले गर्छ भन्ने सत्यलाई बेवास्ता गरेर समाजले छोरा पाइदिनुपर्ने गुरुत्तम ‘भार’ को दोष महिलालाई लगाउने गरेको छ । सन्तान नभए ‘बाँझी’ को आरोप सहनुपर्ने, छोरी मात्रै जन्मिएमा श्रीमान् र परिवारबाट ‘छोरा पाइदिइन’ भन्ने टोकसो सुन्नुपर्ने । यसैले भन्न सकिन्छ, ओछ्यानको सहवासले महिलामा एक प्रकारको ‘तनाव’ भरिदिन्छ । वंश अघि बढ्ने छाँट देखिएन भने ‘यो बुहारी हुन्न बाबु, अर्की बिहे गर् !’ अझै पनि पुरुषसत्ता राज गरेको ‘परिवार’ भित्र तारन्तार महिलाबाटै निस्कन्छन् यस्ता बोली ।

स्त्रीको शरीरमा बच्चादानी त हुन्छ तर बच्चादानी प्रयोग गर्ने उनको स्वतन्त्रता पितृसत्ताले खोसेको छ । यसैले ओछ्यानले र पुरुष (वैध) सँगको संसर्गले उसलाई मातृत्व सुख दिनलाई के गर्छ भन्ने त्रासमा बस्नुपर्ने हुन्छ ऊ । यसै सन्दर्भमा विष्णु माझीको गीत ‘फरर फरिया’ भित्र को एउटा टुक्का;

“ओल्टै नि ज्यु ज्यु, पल्टै नि ज्यु ज्यु, दुध दिने गाई भइयो,
पहिला पो छोड्लान्, भन्ने डर लाउँथ्यो, अब त स्थाई भइयो !”

विवाहित महिलाले पितृसत्ताको वंश धान्ने छोरा जन्माएपछि मात्र आफ्नो घरजम पाको भएको ठान्दै निश्चिन्त भएर दिने अभिव्यक्ति हो यो ।

‘आदर्श परिवार’ को अवधारणाले पितृसत्तात्मक समाजभित्र महिलाको स्वायत्तता, खुसी, स्वाभिमान, निजत्वलाई समेट्दैन । यस अवधारणाले पुरुष र उसको निर्णय, सन्तुष्टि, आनन्द, ऊद्वारा रचित नियमलाई मात्र प्राथमिकीकरण गर्छ । महिलालाई ‘धर्ती’ को उपमा भिराइदिएर एकातिर फुर्काए जस्तो गरी अर्कातिर ‘जे पनि सहनुपर्ने’ एउटा भावनाहीन र संवेदनाहीन मानवका रूपमा सधैँ नै माटोमुनि गाडिइरहन बाध्य पारिदिन्छ । बिहेपश्चात् ‘पुरुषको मानप्रतिष्ठा’ ‘श्रीमतीको चरित्र’ मा निर्भर हुने उद्घोष गर्छ । यसले महिलालाई आदर्श बन्न, नैतिकवान, गुणी र शीलवती बन्न प्रेरितभन्दा पनि बढी कर गर्छ । यसैका कारण महिलाले आफ्नो जीवनमा ‘लगाम’ लाएर रहनुपर्ने हुन्छ । यौन कुण्ठित बनेर नबसेमा ‘अनैतिक’ को संज्ञा दिइन्छ । कुनै महिलाले लगामविहीन भएर बाँच्ने चेष्टा गरी भने उसलाई ‘चरित्रहीन’ बनाउँदै परिवार र समाजबाटै एक्ल्याइन्छ । आदर्श ठानिएका, बन्नुपर्ने भनिएकाहरूबाट यस प्रकारको (यौन) इच्छा व्यक्त हुनुलाई स्वाभाविक र सामान्य रूपमा लिइँदैन पुलिङ्गी समाजमा । हरेक कुरामा जस्तै महिलाको यौन जीवनमाथि नियन्त्रण यसरी गरिन्छ र गरिँदै आएको छ ।

सबैखाले महिलाहरूमा यो कुरा लागु हुन्छ । ‘एकल महिला’ पनि स्वतन्त्र छैनन् । निवेदिताका अनुसार, तनिका सरकारले सन् २००९ मा ‘विकेड विडोज’ (दुष्ट विधवाहरू) शीर्षकमा एउटा निबन्ध लेख्नुभएको छ । निबन्धमा एकल महिलाहरूलाई पतिव्रता भइरहनुपर्ने र शारीरिक पवित्रता र शुद्धता कायम राखिरहनुपर्ने बोझ थमाइदिएर उनीहरूको ‘सेक्सुअल एजेन्सी’ लाई नियन्त्रण गरिएको उल्लेख गरिएको छ । “एकल महिलाहरूको यौनिकताको शोषण अधिकांश उनीहरूकै परिवारका सदस्य विशेषतः पुरुषबाटै हुन्छ, जुन कहिल्यै मनन गरिँदैन, न त त्यो सजायकै विषय बन्छ,” उहाँ लेख्नुहुन्छ ।

विज्ञहरू सुखद यौन जीवनले मानिसमा आत्मविश्वास र इच्छाशक्ति वृद्धि हुने बताउँछन् । अधिकांश महिलाको यौन जीवन भने साँघुरो घेरामा कैद छ ।

समाजको मापदण्ड दोहोरो छ । यो युवा उमेरकी ‘एकल’ महिलाको यौनिकतालाई लिएर अति कठोर बन्न सक्छ भने ६०/७० वर्षको वृद्ध ‘एकल’ पुरुषको यौनिकताको सवालमा उदार हुन्छ । यसले त्यो उमेरमा पुरुषले गर्ने विवाहलाई न्यायोचित ठह¥याउन कैयौँ तर्क दिने गर्छ । तसलिमा नसरीनको उपन्यासको नेपाली अनुवाद ‘आइमाइको हकमा’ हुन आउँछ । त्यस पुस्तकमा लेखिएको छ, “५० वर्ष पार भइसकेपछि पुरुषमा प्रोस्टेड ग्रन्थि ठुलो हुन सुरु गर्छ । अचानक पुरुषहरूको कामोत्तेजना बढ्दछ । यद्यपि, यसको अन्त्य स्थायी पुंसत्वहीनतामा हुने हो । आश्चर्यको कुरा हो, बुढा कुकुरमा पनि प्रोस्टेड ग्रन्थि ठुलो हुने लक्षण बकाइदा देख्न सकिन्छ । प्रोस्टेड माथि चढ्न थालेपछि कुकुरहरू मल त्यागको लागि प्रयत्न गरी रहन्छन् । यसले गर्दा निकै दुख्ने पनि गर्दछ ।” उपन्यासमा “प्रोस्टेडको रोगले ग्रस्त भएपछि अचानक ६०–७० वर्षका बुढा पनि कामोद्दीपनको कारण बिहा गर्न आतुर हुन्छन् । कैयौँ मानिसहरू बुढो भएपछि हेरचाहको लागि जरुरत पर्छ भन्दै उक्त बिहे उचित देखाउन लागिपर्छन् । पुरुष भएको कारणले धार्मिक सामाजिक सुविधाको पूरा छुट प्राप्त भएको हुँदा उमेरले पनि फरक पार्दैन” लेखिएको छ । आफ्नो लालसा, अस्वस्थताबाट बढेको कामोत्तेजना प्रकट गर्दा पुरुष निन्दनीय हुँदैन बरु उसको पौरख झल्किन्छ । महिलाको योनीमा आफ्नो लिङ्ग जसरी घर्षण गराओस् त्यहाँ मर्दपन नै देखिन्छ भन्ने स्थापित गराएको छ पुरुष सत्ताले ।

विज्ञहरू सुखद यौन जीवनले मानिसमा आत्मविश्वास र इच्छाशक्ति वृद्धि हुने बताउँछन् । अधिकांश महिलाको यौन जीवन भने साँघुरो घेरामा कैद छ । यसले अवसाद, चिन्तासुर्ता, मनोविकारजन्य सोच र आत्महत्याको प्रवृत्ति जस्ता मानसिक स्वास्थ्य समस्याहरू जन्माउँछ । शारीरिक कष्ट र मनोवैज्ञानिक भयबाट मुक्ति दिलाउन यो समाजमा महिलाको साथमा कोही हुँदैन । न त उनले ओछ्यानमा आर्जिएर जन्माएको बच्चाले नै ठुलो भएपछि उनलाई बुझ्ने र साथ दिने ल्याकत राख्छ ।

शयनकक्ष र घरेलु हिंसा

महिलावादले महिलाको ‘यौनिकता’ बारे चुप रहने नरहनेभन्दा पनि उनीहरूको यौन अभिव्यक्ति वा सन्तुष्टिबारे सोचिनुपर्ने मान्यता राख्छ । व्यावसायिक हिसाबले सफल र स्वनिर्भर महिला केही हदसम्म आफूले चाहेअनुरूप ओछ्यान प्रयोग गर्छन्, निदाउँछन् र ब्युँझन्छन् । यसमा अर्चना थापा र माला राई दुवै सहमत हुनुहुन्छ । मतलब, पितृसत्तात्मक व्यवस्थामा महिलाहरू ओछ्यानमा के चाहन्छन्, के पाउँछन् भन्ने निर्धारण गर्ने कुरा महिलाको शक्ति कति छ र त्यसको उपयोग कति गर्छन् भन्नेमा निर्भर गर्दछ ।

महिलाहरू दैनिक जीवनमा जसरी परनिर्भर भएर अधीनस्थ भूमिका निर्वाह गर्छन् त्यसरी नै तिनले ओछ्यानमा पनि अधीनस्थ भूमिका नै प्रदर्शन गरिरहेका हुन्छन् भन्ने बुझाइ धेरैको छ । ओछ्यान र शयनकक्षमा अधिकांश समय र सन्दर्भमा महिलाको शरीर र मनमाथि पुरुषको नियन्त्रण रहन्छ ।

निवेदिताका अनुसार, वरिष्ठ कथाकार तथा महिलावादी विचारक अर्चना वर्माले ‘स्त्री विमर्श के महोत्सव’ मा यौन निष्ठाका सन्दर्भमा महत्त्वपूर्ण पक्ष उठाउनुभएको छ । कथाकारले महिला पुरुष सम्बन्धमा यौन निष्ठा (सेक्सुअल फिडेलिटी) को धारणा नै सन्दिग्ध रहेको र यौन निष्ठाको अपेक्षा सधैँ एकतर्फी भएको तर्क गर्नुभएको छ । शरीरमा प्राकृतिक रूपमा प्रवाह हुने यौन इच्छालाई विवाह र लोग्नेमार्फत संस्थागत र कानुनी रूपमै नियन्त्रण गर्न पाइने स्थितिमा बाँधिएको छ । यस्तो धारणासँगै उहाँले सन्तान र सम्पत्तिमाथि पुरुषको नियन्त्रण सुनिश्चित गर्ने प्रक्रियामा महिलाहरू पनि निष्ठाको साङ्लाले कसिएको तर्क गर्नुभएको छ । अतः ओछ्यानमा पुरुषले महिलालाई एक्लै पाउँछ र उसले महिलाको शरीर ‘मनमगन’ शैलीमा उपभोग गर्छ ।

लोग्नेले चाहेअनुरूप महिलाले आफ्नो शरीर ‘नछोडिदिएमा’ ऊ हिंस्रक बन्ने सम्भावना नरहला भन्न सकिन्न । उसो त घरेलु हिंसामा परेका महिलाहरूमध्ये धेरैजसो घटना ओछ्यान र शयनकक्षमा नै ‘प्लेआउट’ हुने गरेको पाइन्छ । पुरुषले आफूखुसी गरेकै कारण घरेलु हिंसाका घटनाहरू ओछ्यानसँग जोडिन पुगेका छन् । यसबारे अर्चना थापा भन्नुहुन्छ, “अहिले पनि बहुसङ्ख्यक महिलाहरू बेडरूममा पनि एकदमै असहाय छन् । किनकि बेडरूममा गरिने हिंसालाई राज्यको सुरक्षा संयन्त्रले सम्बोधन गरिहाल्न सक्दैन । महिलाहरूलाई ‘मनको बह कसैलाई नकह’ भन्ने उक्ति शिरमा राख्न बानी पारिएको छ; घरभित्र र ओछ्यानको पीडालाई हिंसा नभन्न, चुपचाप सही बस्न लगाइएको छ । महिला आफैँ ओछ्यानमा भएका हिंसाबारे बोल्न चुनौती अनुभूत गर्ने र कानुनले व्यक्तिगत ओछ्यानमा गरिने हिंसा नदेख्ने भएकाले बेडरूम हिंसाको ‘स्पेस’ भएको छ ।” माला राईलाई पनि ‘विषाक्त पुरुषत्व’ र ‘हानिकारक पुरुषार्थ’ भएका कारण ओछ्यान र शयनकक्षलाई हिंसाको थलो हो भन्ने लाग्छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सन् १९७४ देखि यौन स्वास्थ्यसँगै यौन अधिकार बुझ्ने र यी विषयलाई परिभाषित गर्ने काम गरेको छ । सन् २००० मा पान–अमेरिकन स्वास्थ्य संगठन र यौन स्वास्थ्यका लागि वल्र्ड एसोसिएसनले शारीरिक अखण्डता, कामुकता र लैङ्गिकता जस्ता यौन स्वास्थ्यसम्बन्धी विषयहरूमा ध्यान केन्द्रित गर्न थालेको अकिया ए.एफ. बेनार्डले ‘कोलोनाइजिङ ब्ल्याक फिमेल बडिज विदिन पेट्रिआर्किअल क्यापिटलिज्म : फेमिनिस्ट एन्ड ह्युमन राइट्स पर्सपेक्टिभ्स’ शीर्षक लेखमा उल्लेख गर्नुभएको छ ।

विश्व स्वास्थ्य संगठनको यौनिकतासम्बन्धी परिभाषामा भनिएको छ– “यौन स्वास्थ्यको सन्दर्भमा यौनिकता वा कामुकताप्रति सकारात्मक र सम्मानजनक दृष्टिकोण आवश्यक छ, सँगसँगै सुखद र सुरक्षित यौन अनुभवहरूको सम्भावना, जबरजस्ती, भेदभाव र हिंसामुक्त हुनु पनि उत्तिकै जरुरी छ, साथमा शारीरिक अखण्डताको सम्मान पनि ।”

पुरुषको आनन्दी र वैध पुरुषको विर्यबाट पुरुषलाई नै जन्म दिने साधन बन्न पुगेपछि महिलाका लागि ओछ्यान न्यानो र प्रेमको विम्ब रहँदैन ।

व्यवहारमा भने महिलाको यौनिकतालाई सकारात्मक भई सम्मानपूर्वक हेर्नु त कता हो कता स्वीकारसम्म पनि गरिएको अवस्था छैन । महिलाको शरीरले संरचनात्मक र प्रतीकात्मक हिंसा भोगिरहेकोे छ । अधिकांश तथ्याङ्कहरूले यही देखाउँछन् ।

अकियाले ब्रिजेट हान्ना र आर्थर क्लेनम्यानलाई उद्धृत गर्दै संरचनात्मक हिंसा सामाजिक पीडाहरूको एक रूप भएको, जो संरचनागत रूपमा इतिहासदेखि हस्तान्तरण हुँदै आएको र आर्थिक रूपमा कहिले सहजै त कहिले बलपूर्वक चलायमान बनेको हुन्छ भनी उल्लेख गरेको पाइन्छ ।’ अब भन्न सकिन्छ, विभिन्न नियम, रीति, संस्कति, नीति र रणनीतिद्वारा महिलामाथि हिंसा हुँदै आएको छ ।

पिय बौडिउले प्रतीकात्मक हिंसालाई प्रभुत्व वा दमनको एक रूप मान्नुभएको पनि अकियाले उल्लेख गर्नुभएको छ । सामाजिक ‘कर्ता’ को आफ्नै सहभागिता र संलग्नताबाट यो प्रकृतिको हिंसा हुन पुग्छ । उहाँको भनाइ छ, “साङ्केतिक हिंसा आर्थिक रूपमा शारीरिक हिंसासँग विनिमय गर्न योग्य छ र यो बढी नै प्रभावकारी हुनसक्छ । यसर्थ महिलाको एजेन्सीलाई बाधा पार्न संस्कार, संस्कृति, इतिहास, संरचना सबै खडा गरिएका छन् । यस्तो भएकाले महिलाहरू डब्ल्युएचओको यौन स्वास्थ्यसम्बन्धी अवधारणा विपरीत र महिला यौन अधिकार विपरीतको जिन्दगी बाँचिरहेका छन् । पितृसत्तात्मक राज्य संरचना भएका मुलुकका सामाजिक पारिवारिक प्रणालीले मानव अधिकारको आधारभूत सर्तलाई उल्लङ्घन गरिरहेको छ । त्यो शारीरिक हिंसामा मात्र सीमित छैन ।

संरचनाजन्य सकसमा महिला

अन्यत्र जस्तै ओछ्यानमा समेत ‘छनोटको सिद्धान्त’ महिलाको होइन पुरुषको हकमा लागु हुने गर्छ । बिहे गरेर आफ्नो बनाएपछि महिलाको शरीर जसरी चलाउँ ‘आफ्नै मर्जी’ भन्ने मनोविज्ञानले पुरुषमा काम गर्ने हुँदा उनीहरू यौन क्रियामा हिंसात्मक र शोषणकारी शैलीले पशुवत व्यवहार गर्दै महिलाको शरीर ‘सेपिङ’ गर्न खोज्छन् । यसरी गरिने अन्धाधुन्ध प्रणय (?) क्रीडाले श्रीमान् र श्रीमतीबिचको भावनात्मक निकटतालाई नै कम गर्न सक्छ ।

पुरुषको आनन्दी र वैध पुरुषको विर्यबाट पुरुषलाई नै जन्म दिने साधन बन्न पुगेपछि महिलाका लागि ओछ्यान न्यानो र प्रेमको विम्ब रहँदैन । महिलाको चुपचाप शरीर समर्पणले त्यो विम्ब नियन्त्रणको ठिँगुरो बन्छ । त्यहाँ थुनाको अपराधी जस्तो भाग्न उम्कन नपाउने कैदी जस्तै गरी महिलालाई निरीह र लाचार बनेर बस्न बाध्य बनाइन्छ ।

परनिर्भर व्यक्तिलाई छनोटको स्वतन्त्रता हुँदैन, बाध्यता हुन्छ । ओछ्यानमा छनोटको व्यवहार त महिलाको शक्तिभन्दा बाहिर छ । त्यहाँ छनोट विपरीत पुरुषको निरङ्कुश बलले काम गर्छ । आफ्नो आम्दानी, जीविकाको स्रोतसाधन नभएका महिलाले सामान्य खाना, नाना र छानाका लागि पुरुषमै निर्भर हुनुपर्ने संरचना छ । संरचनाले थिचेका महिलाको जीवन स्वतः पुरुषकै निगरानीमा परिचालित छ । आफ्नो बलबुताले चलेको जीवन आफ्नो नियन्त्रणमा राख्न सजिलो हुन्छ भने आश्रित महिलाहरूको जीवन माइती होस् या घर दुवैतर्फ कसैले भाउ नदिने पेन्डुलम जस्तो बन्न पुग्छ । उसको आफ्नै श्रम र कमाइमा उकासिइरहेको भए पनि पराइघर कहिल्यै आफ्नो हुँदैन ।

विवाहयोग्य महिलाहरू सामाजिक रूपमै विवेकहीनता र अनभिज्ञताका खानी मात्र भइरहून् भन्ने अभिप्रायले सिर्जना गरिन्छन् । उनीहरू नैतिक र चारित्रिक रूपमा विनम्र र कोमल बनून् अनि पुरुषसत्ताको चालबाजी पत्तो नपाइकनै त्यही जालमा जेलिन जाऊन् भन्ने अभिप्रायले हुर्काइन्छन् । यस्तो सामाजिक संरचनाले महिलालाई सीमित राख्न भान्छा र ओछ्यानलाई ‘व्यक्तिगत’ ठानेको छ । महिलाको आर्थिक हैसियत उकास्न सक्ने सम्पत्ति, तलबी काम, नागरिकता आदिलाई सार्वजनिक मानेको छ । यो राजनीति पनि हो । सार्वजनिक ठाउँमा महिलाको पहुँच हुन नदिन घरभित्रकै मूल्यहीन भूमिकामा व्यस्त राखिएको हुन्छ । यति भएपछि पुरुषले महिलाको शरीर र यौनिकतालाई ‘उपनिवेश’ बनाउन पाउँछ । यही क्रममा ओछ्यान पितृसत्ताले ढलिमली गर्ने शक्तिशाली मैदान साबित हुन जान्छ ।

मानिसमा बदलिनुपर्छ महिलाको जीवन

बिसौँ शताब्दीका प्रमुख उपन्यासकारमध्येकी एक भर्जिनिया वुल्फले आजभन्दा झन्डै एक शताब्दीअघि लेखेको ‘अ रूम अफ ओन्स ओन’ निबन्धात्मक कृतिमा महिला लेखकको स्थितिबारे चर्चा गरेको पाइन्छ । पहिलो पटक सन् १९२९ मा प्रकाशित सो कृतिमा महिलावादी लेखक भर्जिनियाले सधैँ झैँ आफ्नो शैलीको स्वतन्त्रतालाई प्रदर्शन गर्नुभएको छ । उहाँले उक्त पुस्तकमार्फत शेक्सपियरकी बहिनी किन केही लेख्न सक्षम भइनन् ? एक्लै खेल्न किन पाइनन् ? भन्ने प्रश्नलाई सम्बोधन गर्दै “शेक्सपियरकी बहिनीसँग भौतिक संसाधनहरू नहुनु, फराकिलो मानव अनुभवहरू सँगाल्ने अवसर प्राप्त नगर्नु, न अर्थ न त समय नै हुनु आदि कारणहरू थिए जसले उनलाई निरुत्साहित गर्थे,” भन्ने तर्क गर्नुभएको छ । उहाँले महिलाहरू चमेरा वा उल्लु जस्तै बाँच्छन्, जनावरहरू जस्तै श्रम गर्छन् र कीरा जस्तै मर्छन् भन्ने अर्को एक प्रसङ्गलाई पनि उल्लेख गर्नुभएको छ ।

ओछ्यान अलग बनाएर जिउन सक्ने तागत जुगाड नगरेसम्म महिलाको यौनिकता र जीवनमाथि पुरुषको नियन्त्रण पनि रोकिँदैन ।

भर्जिनियाको पुस्तकका विभिन्न पात्रहरूमध्ये एक २४ वर्षकी महिला बोल्छिन्, “महिलाहरूले लेख्नु छ भने उनले साझा बैठक कक्षमै भएनि लेख्न तयार हुनै पर्छ । महिलाहरूसँग कहिल्यै पनि आधा घण्टाको समय हुँदैन, जसलाई उनीहरूले आफ्नो भन्न सकून् । उनी सधैँ हस्तक्षेप गरिरहन्छिन् । त्यो हस्तक्षेप पनि गद्य र कथा लेख्न अनुकूल मान्नुपर्छ । यसकारण कि यिनका लागि कम एकाग्रता भए पुग्छ ।”

जति पनि महिला लेखकहरू छन्, उनीहरू सबैबाट उस्तै प्रकारको जवाफ मिल्छ । आफ्नो छेउको साथीलाई असर नपर्ने गरी र घरमा पाहुना बोलाउने कार्यक्रम भएमा लेखनको काम सक्ने गरी उनीहरूले सामान्य कोठामै लेखे अनि त्यसरी लेखिएको कति लेखाइबाट उनीहरूले नाम र इनाम दुवै कमाए । अध्ययन मनन, विचारका लागि अलग्गै कोठा खोज्ने पुरुषका लागि महिलाको यो यथार्थ आश्चर्यको विषय हुन सक्छ ।

जब ‘आफ्नो’ भन्ने केही चिज नभएर दोस्रो पक्षमा निर्भर हुनुपर्छ तब ‘घुलमिल’ हुनैपर्छ । अरूको स्रोतको उपयोग उनीहरूकै अनुकूल गर्नुपर्दा आफ्नो दैनिकी, जीवनशैली साँघुरिन्छ र कुँजिदै जान्छ । आफ्नो जीवन आफ्नो रहँदैन बरु दैनिकीको तालाचाबी जसले ‘पुर्‍याउँछ’ उसैले मुठ्याउँछ । आफ्नो आर्जनको घर, आफ्नो कोठा नहुँदा महिलाका लागि ‘मेरो शरीर मेरो अधिकार’ बोलीमै सीमित हुन जान्छ । ‘मेरो जिन्दगी मेरो विश्वास’ फगत शब्दमा परिणत हुन पुग्छन् । ओछ्यान अलग बनाएर जिउन सक्ने तागत जुगाड नगरेसम्म महिलाको यौनिकता र जीवनमाथि पुरुषको नियन्त्रण पनि रोकिँदैन । जबसम्म कब्जा गरिएको शरीर फुत्काउन सकिँदैन तबसम्म मुक्त श्वास लिने चाहना कल्पनामै सीमित हुने निश्चित छ ।

यौनिकतालाई लैङ्गिक समानतासँग जोडेर विमर्श सुरु गर्दै गर्दा ‘ओछ्यानमा पनि लैङ्गिक समानता खोज्ने ?’ जस्ता प्रश्न गरिन्छ भने त्यो भुल हुनेछ ।

आधुनिक इतिहासमा भर्जिनिया उल्फले निजी कोठाको खोजी गरे जस्तो वर्तमानमा महिलाले स्वतन्त्र मानवको हैसियत बनाउने हो भने निजी ओछ्यानको खोजी गर्नुपर्ने हुन्छ ।

अमेरिकी महिलावादी लेखक सुसान जे. डग्लसको पुस्तक छ, ‘इनलाइटेन्ड सेक्सिज्म : द सेडक्टिभ म्यासेज द्याट फेमिनिजम्स वर्क इज डन’ । ‘इन्लाइटेन्ड सेक्सिज्म’ भनेको प्रबुद्ध लिङ्गवाद वा यौनवाद हो । पुस्तकमा उहाँले “प्रबुद्ध यौनवाद एउटा प्रतिक्रिया हो, जानाजानी वा अन्जानमै, एक नयाँ लिङ्गीय शासनको कथित खतराको लागि” भनेर उल्लेख गर्नुभएको छ । प्रबुद्ध यौनवादले महिलाले महिलावादको कारण धेरै नै प्रगति गर्न सफल भएका छन् भन्नेमा जोड दिन्छ । वास्तवमा महिलावादकै कारण कथित पूर्णसमानता हासिल भएको छ । महिला र युवतीको स्टेरियोटाइप यौनिकतामा पुर्नजीवन दिनका लागि भने प्रबुद्ध यौनवाद नै ठिक छ ।

बिहेपश्चात महिलाका भावना, उसको आफ्नो जीवनप्रतिको जिम्मेवारी, जन्म दिने अभिभावक प्राथमिकतामा पर्नै पाउँदैनन् । न त उसको व्यक्तित्व बनाउने तीव्र चाहना नै पर्छ प्राथमिकतामा । यौनसम्बन्धी शारीरिक आवश्यकतालाई ध्यान दिने विषय त कल्पनातीत नै भयो । यसैले अब ‘महिलाको यौन चाहना र सन्तुष्टि’ लाई लिएर सामाजिक विचारहरू विचलित र डरलाग्दो हुनु जरुरी छैन भन्न ढिला गर्न हुँदैन । महिलाको यौनिकतालाई ‘यौन सशक्तीकरण’ सँग मात्रै जोडेर बहस थालियो भने त्यो गलत हुनेछ । बरु ‘यौन सशक्तीकरण’ पनि ‘महिला सशक्तीकरण’ को एक अंश हो भनेर बुझ्न जरुरी छ ।

महिलाले लोग्नेसँगै निदाउने ओछ्यानबाट ‘महिलाको यौनिकता वा फमिनाइन वाइल्स महिलाले सफलता प्राप्त गर्ने सूत्र होइन बरु यो हामीभित्रको एक हिस्सा हो, तिम्रो जस्तै’ भन्न आँट गर्नुपर्छ अब । यौनिकता आम महिलाले मनखुसी चल्न पाउने सूत्र पनि त होइन । न त महिला यौनिकता महिलाको स्वतन्त्रता मात्रै हो ।

ओछ्यानको जन्जिर तोड्ने भनेको महिलालाई वस्तुकरण गर्ने विवाह संस्था र पितृसत्ताको नियन्त्रण तोड्ने हो ।

महिलाको शरीरलाई वस्तुकरण गरी मजा लिने साधन मात्रै ठानेको पुंसत्ताको विचारधाराले ‘महिला यौनिकता : मानव अधिकार र यौन अधिकार’ दुवै हो भनेर स्विकार्नुपर्छ । यौनिकतालाई लैङ्गिक समानतासँग जोडेर विमर्श सुरु गर्दै गर्दा ‘ओछ्यानमा पनि लैङ्गिक समानता खोज्ने ?’ जस्ता प्रश्न गरिन्छ भने त्यो भुल हुनेछ ।

महिलाको शरीरमार्फत वंश वृद्धि गर्ने र महिलामाथि ढुक्कसँग, बेफिक्री, वैधसम्बन्धको आधारमा हिंसा गर्ने साधन बनेको ओछ्यानको जन्जिरलाई तोड्न सक्नुपर्छ अब । ओछ्यानको जन्जिर तोड्ने भनेको महिलालाई वस्तुकरण गर्ने विवाह संस्था र पितृसत्ताको नियन्त्रण तोड्ने हो । यसका निम्ति ‘ओछ्यानले सिर्जना गर्ने मनोविज्ञानबाट मुक्ति’ पहिलो सर्त हुनुपर्छ र बनाउनुपर्छ ।

सन्धान, प्रकाशन मिति २०७९ फागुन १० गते बुधवार

याे पनि पढ्नुहाेला


Previous article‘ओछ्यान’ मै यौनहिंसाको यो रूप: आमाछोरी नै जोखिममा भएपछि उजुरी
Next article‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह

1 COMMENT

  1. गजब। प्रणेताले यसरी लेख्छ भनी कल्पना पनि गर्न सक्दिन वाह क्या शानदार लेख।

Comments are closed.